अस्मिताका बारेमा आज पैँतिस वर्षपछि लेखिरहँदा अचम्म र रमाइलो दुवै लागेको छ । यसबिचका केही वर्ष अस्मिता प्रकाशित हुन नसकेकामा अलि अलि दुःख लागेको पनि थियो । पछिल्लो समयमा अस्मिताको प्रकाशन निरन्तर हुन सकिरहेको थिएन, यो कहिले आउने कहिले रोकिने भएको थियो । अब फेरि यसले गति लिने कुराले स्वागतका निम्ति आफ्ना अस्मिताकालीन अनुभूतिसहित म उपस्थित भएकी छु ।
म अस्मितासँग जोडिएको थिएँ, २०४६ सालमा । ‘अस्मिता’ त्यस बेला एक प्रगतिशील, वामपन्थी पत्रिका भनी चर्चित थियो । सुसन मास्के र अञ्जु क्षेत्री दुई जना भर्खर विश्वविद्यालयबाट पढेर निस्किएका थिए र त्यस्ता युवतीहरूले पत्रिका निकाल्न खोज्नु नै आपसमा एक ठूलो साहसिक कदम थियो । अस्मितासँग जोडिनमा मलाई डा.महेश मास्केको सहयोग थियो । अस्मितासँग जोडिएपछि मेरो लेखन कला सुचारु भयो । त्यस बेला लेखिएका महिला स्वास्थसम्बन्धी कतिपय विषय वस्तुहरू अहिले पनि महत्त्वपूर्ण र सान्दर्भिक रहेका छन् । त्यहाँ उठाइएका कतिपय मुद्दाहरू अहिले कानुन बनेका छन् र तिनले प्रत्यक्ष रूपमा महिलाहरूको जीवनमा प्रभाव पारेका छन् । मैले कहिल्यै बिर्सिन नसक्ने एउटा उदाहरण छ, त्यो हो— ‘गर्भपतनको मुद्दा’ । मैले अस्पतालहरूमा काम गर्दा (२०४३ सालदेखि) असुरक्षित गर्भपतन गराइएका कारणले धेरै समस्या भएर आएका महिलाहरूलाई पनि उपचार गरेको थिएँ । असुरक्षित गर्भपतनले गर्दा कतिपयको त मृत्यु नै भएका घटनाहरू पनि देखेँ । त्यसयता गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर मैले अनेक तरिकाले आवाज उठाइरहेको थिएँ । त्यसका लागि वकालत गर्न अस्मिताको आवाज पनि जोडिन पुगेको थियो ।
“किन गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ ?” भन्ने विषयमा अस्मिताका लागि मैले एउटा लेख लेखेँ । त्यस लेखको सम्पादन भयो, अञ्जु र सुसनबाट । त्यो लेख प्रकाशित भएपछि धेरै पठनीय हुन गयो, धेरै पाठकद्वारा मन पराइयो । मैले पनि विभिन्न व्यक्तिहरूबाट धेरै पृष्ठपोषण पाएकी थिएँ । कतिजनाले त “नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिनु नै हुन्न, के यस्तो नचाहिने लेखेको” पनि भन्न भ्याएका थिए ।
केही स्त्रीरोग विशषेज्ञहरू समेत नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिनु हुँदैन भन्ने पक्षमा उभिएका थिए । उनीहरू कतिपय आफ्नो निजी क्लिनिकमा धेरै पैसा लिएर गैरकानुनी तरिकाले सुरक्षित गर्भपतन गराइरहेका हुन्थे । वास्तवमा नेपालको कानुनअनुसार त गर्भपतन गर्ने–गराउने दुबैलाई १० वर्ष देखि २० वर्षको जेल सजायँ हुन्थ्यो तर कुनै पनि ठूला भनिएका, धनी र स्वास्थकर्मीहरू जेल परेका थिएनन् । जेल लगिनेमा गरिब, कमजोर महिलाहरू नै हुन्थे ।
त्यस बेला गर्भपतनलाई ‘भ्रुण हत्या’ भन्ने शब्द प्रयोग हुने भएकाले पनि गर्भपतनप्रति धेरै नकारात्मक धारणा थियो । लेख निस्केपछि धेरै जनाले “यस्तो साहसी लेखका लागि बधाई” पनि भनेका थिए ।
त्यस बेला असुरक्षित गर्भपतनले समस्या भएर अस्पतालमा आउने र मृत्यु हुने महिलाका विषयमा पनि धेरै खोजी, चर्चा–परिचर्चा हुँदैनथ्यो । त्यस्तो परिवेशमा गर्भपतनको मुद्दालाई सामाजिक र स्वास्थ्यको समस्या मानेर त्यसलाई कानुनी मान्यता दिनुपर्छ भन्ने लेखहरू आउनु आवश्यक भइसकेको थियो । यसले समाजको मानसिकता परिवर्तन गर्नमा ठूलो भूमिका खेल्यो । पेसागत रूपमा मेरा लागि त यो एक ठूलो सफलता थियो नै, आमसञ्चारमा अस्मिताको योगदानका रूपमा पनि यो विषयको प्रकाशन र प्रभाव सधैँका निम्ति विशेष हुनपुग्यो । म जब अस्मिताका ती पुराना लेखहरू हेर्छु, मलाई गर्व लाग्छ ।
अस्मिताका माध्यमबाट महिला स्वास्थ्यको मुद्दा उठाएर गर्भपतनलाई कानुनी मान्यता दिन सकिएपछि मैले महिला स्वास्थ्यसम्बन्धी अर्को गम्भीर विषय अस्मितामार्फत नै उठान गरेको थिएँ— पाठेघर खस्ने समस्याका विषयमा । यस समस्याका बारेमा पनि त्यतिबेलासम्म प्रायः बोलिएकै थिएन, पाठेघर खस्ने समस्या महिला स्वास्थ्यको मुद्दा हो भनेर जिम्मेवारीपूर्वक लिइएकै थिएन । मैले सन् १९९५ मा डोटीमा स्वास्थ्य शिविरमा गएर आएपछि सरकारी नीति बनाउन त्यो मुद्दा उठाएकी थिएँ । जब मैले त्यहाँ धेरै बच्चा जन्माएर, कुपोषण भएर महिलाहरूमा पाठेघर झर्ने समस्या भएको देखेँ (जुन काठमाडौँमा अति नै कम थियो), मैले आफ्ना ती अनुभवसमेत सँगालेर डा. इन्दिरा सत्यालसँग एउटा अन्तर्वार्ता तयार पारी अस्मितामा प्रकाशित गरेँ । महिला स्वास्थ्यको विकराल बन्दै गएको मुद्दामाथि यो मेरो अर्को आवाज थियो, जुन अस्मिताबाटै सार्वजनिक भएपछि मलाई धेरै आनन्द लागेको थियो । कसैले नउठाएको मुद्दालाई समाज समक्ष ल्याउन पाएका थियौँ । त्यस लेखको सन्दर्भ उठान गरेर पाठेघर खस्ने समस्याका बारेमा मैले धेरै ठाउँमा बोलँे । यस्ता लेखहरूले विस्तारै सचेतना फैलाएर थाह नै नपाईकन वकालत गरिरहेका रहेछन् भन्ने पछि पो बुझ्दै गएँ । अस्मितामार्फत गर्भपतनलाई कानुनी मान्यता दिने वकालत गरिएको मुद्दाले सन् २००२ मा सफलता हात पा¥यो । गर्भपतनलाई कानुनी मान्यता दिन भनेर तत्कालीन संसदले पारित ग¥यो । त्यो अस्मिताको पनि सफलता थियो । त्यसैगरी सन् २०००–२००२ सम्ममा सुदूर पश्चिमका विभिन्न जिल्लामा गएर अनुसन्धान गरी लेखिएको पाठेघर खस्ने समस्यासम्बन्धी लेखले पनि सरकारलाई झकझकाउन सफल भएको थियो । सन् २००६ मा पाठेघर खस्ने समस्या भएका महिलाहरूका विषयमा एक नीति नै बनाई सरकारले उपचार पनि सित्तैमा दिने भन्ने कार्यक्रम ल्यायो ।
अस्मिताले यसरी नै महिलाका पक्षमा आवाज उठाइरह्यो । “महिलाहरूलाई सम्पत्तिको अधिकार दिनुपर्छ” भन्ने विषयमा राष्ट्रव्यापी रूपमा छलफल चलाउन अस्मिताले निकै ठूलो भूमिका निर्वाह गरेको थियो । अस्मिताका सम्पादकहरू नै विभिन्न ठाउँमा पुगेर यसको अध्ययन गरेर पत्रिकामा निकै जोडदार तरिकाले महिलाको सम्पत्ति–अधिकार बारेमा छलफल चलाएका थिए । उनीहरू पत्रकार मात्र थिएनन्, महिला मुद्दामा अध्ययन गर्ने सफल व्यक्तित्व पनि बनेका थिए । त्यस बेला ‘अस्मिता’ मा लेख छाप्नु आफैमा निकै नै महत्त्वपूर्ण कुरा हुन्थ्यो ।
महिला मुद्दाको वकालत गर्नेहरूका लागि अस्मिताले अहम् स्थान दिएको थियो । अहिलेसम्म पनि विभिन्न युवा युवतीहरूले “हामी अस्मिता पत्रिकामा तपाईंका लेखहरू पढ्ने गथ्र्यौ” भनेर मलाई भन्ने गर्छन् । त्यो पुस्ता नै अहिले ३० वर्ष कटिसकेको छ । यसको अर्थ अहिलेसम्म पनि अस्मिताको छाप त्यो पुस्तामा यथावत् रहेछ ।
अस्मितामा छापिएका मेरो यात्रा, विभिन्न ठाउँमा भएका स्वास्थ शिविरको अनुभव, पोषण आदिका बारेका लेख अहिले पढ्दा र हेर्दा आनन्द लाग्छ । कतिपय लेखहरू त अहिले पनि त्यतिकै सान्दर्भिक छन् । मैले ती लेखकहरूलाई समयोचित परिमार्जन गरेर विभिन्न ठाउँमा छाप्न दिएकी पनि छु ।
कम्पुटरमा टाइप गरेर लेख दिने चलन त्यस बेला थिएन । त्यसैले म हातैले लेखेर अस्मितामा दिन्थेँ । अनि त्यसलाई अस्मितामा कार्यरत कर्मचारीबाट टाइप गरेपछि सम्पादन गरिन्थ्यो । धेरै मेहनतको काम थियो । तर सम्पादकहरूले राम्रोसँग काम गरेकाले अस्मिताले एउटा उचाइ हासिल गर्न सकेको थियो । त्यहाँका थुप्रै साथीहरूलाई म अझै पनि सम्झन्छु । केहीसँग समय समयमा भेट पनि भइरहन्छ ।
अहिले म यो लेखिरहँदा पनि ‘अस्मिता’ का केही पुराना अङ्क मेरा सामु छन् । तिनीहरूका बिचबाट एकत्रित आवाजले भनिरहेझैँ लाग्छ—“हामी नयाँ रूपमा आउन चाहन्छौ !!”
अस्मिताको नयाँ आगमनलाई स्वागत र शुभकामना !!