Asmita Magazine

#

नीलम कार्की “निहारिका”को ‘योगमाया’ उपन्यासबाट

ओरालो झरेर सकिनेबित्तिकै हिँड्दाहिँड्दै टक्क रोकिइन् विदेशी महिला, बाटोछेउको पसलअघिल्तिर । उनीसँगै आइरहेका युवकका पाइला पनि त्यहीँ रोकिए । महिलाले अङ्ग्रेजी भाषामा बिस्तारै केही भनिन् । युवकले अघि सरेर औँलाले सङ्केत गर्दै ती महिलाका कुरा पसले साहुबाजेसम्म पुर्‌याए । भित्ताको आल्मारीबाट दुईवटा मोटा कापीहरू झिकी फु…फु… गर्दै धूलो झारिसकेपछि त्यसलाई झोलामा हाले साहुबाजेले ।

ती महिलाले सुर्केथैली खोलेर पाँच सयको नोट बुझाइन् । मूल्यअनुसारको आफूले लिनुपर्ने रकम कटाई फर्काउनुपर्ने जति हुन्थ्यो, काठको कन्तुरबाट निकाले र दुई हातले फर्काए साहुबाजेले । विदेशीसँगै आएका ती युवक, भर्खरै किनेको सामानको झोला काउन्टरबाट उठाउँदै मुसुक्क मुस्कुराए । ती विदेशी महिलाले पनि मुस्कुराउँदै साहुबाजेलाई भनिन्– ‘धन्यवाद !’

अन्दाजी पाँच फिट दुई इन्च जति उचाइकी, सर्लक्क परेकी, घुगुँरो कपाल, गोरो वर्णकी आँखामा चस्मा लगाएकी, पिठ्यूँमा गरुङ्गो झोला बोकेकी, करिब पैँतिसदेखि चालिसभित्रकी ती विदेशी महिला र औसत उचाइको, लाम्चो वर्ण, लामो नाक, छुस्स दारी भएका ती नेपाली युवक विष्णुमतीको पुललाई देब्रे पारेर खोलाको छेवैछेउ अघि बढे, खाल्टा खुल्टी र भेटिएका भुस्याहा कुकुरहरूसँग तर्कँदै । अलि अघि पुग्दा खेतको बिचबाट आएको मसिनो बाटो जोडिएको हुन्छ दाहिनेतिर, अङ्ग्रेजीको ‘टी’ आकार बनेर । उनीहरूले त्यही हाँगो बाटो समाए ।

‘अहिले त्यहाँ पुलिसको निगरानी छैन रहेछ कि क्या हो ?’ महिलाले घाँटी तानेर टाढा देखिनेजतिसम्म हेर्दै भन्छिन् ।

फेरि, बाटोछेउको खेतको आलीबाट एक हातले तितेपाती तान्दै उनी आफ्ना कुरा अझ स्पष्ट पार्छिन्, ‘म पहिलोपटक, होटलको सानो वेटर केटासँग यहाँ आइपुगेको बेला, त्यहाँ घरअघिल्तिर राइफल बोकेर पुलिसहरू तैनाथ थिए !’

‘यहाँ यस्तो भैरहन्छ ।’ ती नेपाली युवक, जसको नाम मुरारि अर्याल थियो, उनी सामान्य रूपमा अझ थप्छन्– ‘कहिले त यहाँ आउने पाहुना पनि केरकारमा परेका हुन्छन् ।’

महिलाले पुलुक्क मुरारि अर्याललाई हेर्छिन् ।

धानखेतको बिचतिर रहेको सानो एकतले घरअघिल्तिर पुगेपछि उनीहरूका पाइला रोकिन्छन् । काठको चेप्टो फलेकले घरलाई खेतबाट छुट्ट्याउन कतै कतै बार लगाइएको हुन्छ । अनि, घर अघिल्तिर लगाइएको हुन्छ, लामो बाँस तेर्स्याएर तगारो ।

मुरारि अर्याल तगारो खोल्न लाग्छन् ।

तगारो खोलेको आवाजले बाहिर कोही आएको भन्ने चाल पाएर हुन सक्छ– एक महिला भित्रबाट दगुर्दै आउँछिन् ।

‘नमस्कार !’

तीनै जनाको अभिवादनको हात–जोडाइ झन्डै एकसाथ हुन्छ ।

‘दिदीले बाटो हेरिरहनुभएको छ । आजभोलिमा त अब आइपुग्नुपर्ने हो नि भन्दै हुनुहुन्थ्यो । राम्रै पुगेर आइयो, होइन ?’ त्यो अति नै नरम र मसिनो आवाज थियो, सुकन्या वाइबाको ।

‘हो हामी राम्रै आयौँ । तर… मुढाको डुङ्गामा बसी उर्लंदो अरूणमा हेलिँदा भने राम्रै आइन्छ जस्तो लागेको थिएन ।’ घुँगुरो कपाल एक हातले मुसार्दै थोरै हाँसेर विदेशी पाहुनाले भनिन् ।

‘जाऊँ त सरासरी दिदी भा’कैमा जाऊँ !’ आफ्नो कदभन्दा लामो म्याक्सी सम्हाल्दै विदेशी पाहुनाको झोला समाउन खोज्छिन् सुकन्या ।

‘धन्यवाद, धन्यवाद !’ सहयोग गर्न खोजेकोमा धन्यवाद दिँदै, झोला आफैले बोकेर अघि बढिन् पाहुना ।

‘म यहीँबाट बिदा हुँ कि !’ उही ठाउँमै उभिइराखेका मुरारि आर्यालले आफ्नो पाइलो नबढाई त्यहीँबाटै भने ।

‘यहाँसम्म आएपछि दिदीसँग भेट नगरी जानुहुन्छ र !’ सुकन्याले भनिन् ।

‘घरबाट बिहानै निस्किएको, पसिना पसिना भएकै थिएँ; अब हेर्नुस् हिलो पनि थपियो । बरु म भोलि बिहानै आउँछु । दिदीलाई मेरो नमस्कार सुनाइदिनु होला ।’ हिलैहिलो लागेको आफ्नो जुत्ता र पाइन्टको फेरो देखाउँदै बोले मुरारि अर्याल ।

‘हुन्छ, खबर भनिदिन्छु म ।… त्यसो भए तपार्इं आठ बजेतिर आउनुहोला !’ सुकन्याले भनिन् ।

‘हुन्छ ।’ मुखले भन्ने र स्वीकृतिको शिर हल्लाउने एकसाथ गरे मुरारिले । र, पसलदेखि बोकी आएको झोलासँगै दुई पाइलो बढाए विदेशी महिलातर्फ ।

मुरारि अर्याल बिदा भएर तगारो काटेपछि विदेशी पाहुना र सुकन्या वाइबा एकै हरमा आँगनको बिच भएर घरको मूलढोकातिर बढे ।

‘म पहिला आफ्नो खुट्टाको हिलो पखाल्न चाहन्छु ।’ विदेशी पाहुनाले टक्क रोकिएर भनिन् ।

अलकत्राको ड्रममा भरेर राखेको पानी, त्यहीँनिर अन्य भाँडासँगै घाममा सुकाउन घोप्ट्याएको स्टिलको अम्खोराले उबाएर पाहुनाको खुट्टामा राखिदिन खोज्छिन् सुकन्या । तर, पाहुना आफ्ना खुट्टा पछाडि सारेर हत्तपत्त अम्खोरा पनि आफ्नो हातमा लिन्छिन् ।

सुकन्या भन्छिन्– ‘तिमीलाई थाहा छैन होला; हामी पाहुनालाई ईश्वर मान्छौँ त्यसैले उसको सेवा गर्नु ईश्वरको सेवा सम्झिन्छौँ ।’

‘दस बाह्र वर्ष भो, म पनि गाउँ पहाड डुली हिँडेको ।’ पाहुना हाँस्दै भन्छिन् अनि आफूले लगाएको कुर्कुचासम्मको जामा अलि माथि सारेर, खुट्टाको हिलो पखालेपछि अघिकै ठाउँमा अम्खोरा घोप्ट्याउँछिन् ।

उनीहरू मूलढोकाबाट निस्केर गल्लीको देब्रेतिरको सानो कोठामा पस्छन् । जहाँ ढोकाको दायाँ भित्तातिर उत्तर–पूर्व फर्किएको एउटा ओछ्यान थियो । त्यहीँ, दुईवटा सिरानीमा शरीर अड्याई दुवै खुट्टा पसारेर हातमा किताब लिई बसेकी हुन्छिन् पारिजात । पाहुनालाई दिदीको कोठासम्म पुर्‌याएपछि सुकन्या तत्काल बाहिरिन्छिन् ।

‘कस्तो छ तिमीलाई ?’ ती पाहुना, बार्बरा निम्री अजिजले आफ्नो पिठ्यूँको गह्रुङ्गो झोला नबिसाई पारिजातसँग त्यस भेटको पहिलो औपचारिक प्रश्न राख्छिन् ।

‘म ठीकै छु । तिमी आफ्नो सुनाऊ निम्री !’ पारिजातको जवाफ र प्रतिप्रश्न थियो त्यो । ‘म पनि ठीक छु ।’ अझैसम्म उभिएरै उत्तर दिइरहेकी थिइन्, बार्बरा निम्री अजिज ।

‘राम्रो । बस न ! हुन त सबैसँग यति छिटो झ्याम्मिने मान्छे होइन म । तर तिमी र म छोटो समयमै पनि लामो दूरीबाट सँगै हिँडेका साथीजस्ता भैसकेका छौँ । मैले तिमीलाई बस्ने आसन, कुर्ची या काउच देखाएर औपचारिक रूपमा बस भनिरहनु नपर्ला । अर्को कुरा, तिमी त्यसको चाहना राख्दिनौ र राख्छौ भने पनि म आज यो ओछ्यान छाडेर उठ्नसक्ने अवस्थामा छैन ।’ पारिजातले भनिन् ।

‘सियोर ! पक्कै पनि । मेरो अपेक्षा पनि त्यही हो; तिमी हामीबिच कुनै औपचारिकता नरहोस् । यो देशकै होनहार साहित्यकारलाई साथीका रूपमा पाउँदा म कति आनन्दित छु; सायद तिमी अनुमान लाउन सक्दिनौ । तर, मैले यसलाई सौभाग्यको रूपमा लिएको छु । भन, तिमीलाई अहिले कस्तो छ ?’ बल्ल पिठ्युँबाट झोला निकालेर भिता नै खोपिएर बनाएको आल्मारीछेउ टेबलको खुटामा अड्याएर राखिन् र आफू त्यही अघिको काठको कुर्चीमा बस्दै बार्बरा निम्रीले भनिन् ।

‘अघिल्लो भेटमा जस्तो छाडेर गएकी थियौ त्यस्तै छु । यो बिचमा केही पत्रिकाको लागि लेखेँ; दुई चार पुस्तक पढेँ ।… अँ भन, काम फत्ते गरेर आयौ ? अब तिमी कहाँसम्म पुग्यौ ?’ पारिजातले आफ्नो हातमा भएको किताबमा सुकेको गुलाबको चिनो राखेर बन्द गर्दै सोधिन् ।

‘अरू नयाँ मान्छेहरूलाई पनि भेटेँ । ती अघिका कुरा तिमीले सम्झेजस्ता दन्त्यकथा हुँदै होइनन् । मैले मेरा मित्र हर्क गुरूङसँग कुरा गरेँ । अब लोचननिधि तिवारीसँग भेट हुनेछ । डम्बरबहादुर बस्नेतसँग पनि गुरूङले नै भेटाउनेछन् । उत्तम पन्तले मलाई त्यस समयका बडाहाकिम माधवशमशेर राणासँग भेट गराउन राणाको प्यालेसमा लानेछन् । हुन सक्छ, म जनकलाल शर्मासँग पनि भेट गर्नेछु ।’ आफ्नो झोलाको बाहिरी खल्तीमा भएको रातो डायरी निकालेर सरर नाम हेर्दै भनिन्, बार्बरा निम्रीले ।

पारिजातले अघि आफूले राखेको पुस्तकमुनिबाट अर्को पुस्तक ‘जोसमनी सन्त परम्परा र साहित्य’ उठाएर देखाउँदै भनिन्– ‘जब तिमीले ती महिलाबारे कुरा गर्‌यौ, तिनी आशुकवि थिइन् र राणा सरकारलाई चुनौती दिएकी थिइन् भन्यौ । सुरुमा मलाई विश्वास नलागेकै हो; विदेशीलाई कसले दन्त्यकथा सुनाएछ भन्ने मेरो ठम्याइ थियो । तर, तिम्रो अटल विश्वास र तिम्रो संवेदनशीलता देखेपछि मैले त्यसबारे नसोची रहन भने सकिनँ । त्यसैले त जनकलाल शर्माको यो पुस्तकसम्म पुगेँ । मेरो आफ्नो धारणा एक ठाउँमा थन्क्याएर मैले यो पढ्न सुरु गरेँ । यसभित्र शक्तिमाईको परिचय भेटेँ । अब तिम्रो स्थलगत अध्ययन सत्यको नजिक पुग्नेछ भन्ने लागेको छ मलाई । तिमी निकै लागिपरेकी छौ । तिम्रो यसप्रकारको मिहिनेत देखेर मलाई निकै खुसी लागेको छ । म चाहेर पनि तिमीझैँ, तिमीसँगै अरूण उपत्यका पुग्न सकिनँ र कहिल्यै सक्दिनँ पनि । अबका दिन, अझ यही उपत्यकाभित्रै बन्दी हुनेछु । बढी सम्भावना, हुन सक्छ अझ यही कोठाभित्र सीमित ।’

‘तिमीले यो कोठाबाट नै विश्व पढेकी छौ । गाउँ गाउँसम्म चेतनाको गीत घन्काएकी रहिछौ । मलाई दुःख लागेको छ; यस्तो महिलासँग भेट गर्न वर्षौं लाग्यो । धन्य ईश्वर भन्छु; तिमीसँग भेट भयो । धर्म श्रेष्ठले तिम्रो नाम दिएका थिए । उनैले पहिलोचोटी भनेका थिए– काठमाण्डू पुगेर पारिजातसँग जरूर भेट गर्नू; उहाँबाट सहयोग पाउनुहुनेछ । उहाँ पनि योगमायाजस्तो क्रान्तिकारी हुनुहुन्छ र कवि हुनुहुन्छ । हुन त, मलाई साथ दिने अरू पनि छन् । तर, उनै धर्म श्रेष्ठले दोभासेको काम गरिदिएर सहयोग गरेको हुँदा बुझ्न सजिलो भएको छ । तर, ती विधुवा महिलाको अनुहारको भाका र उनीहरूले गाउने भजनको लय म कसैको भाषा अनुवादबिना नै पनि बुझ्न सक्छु भन्ने लाग्छ । अब बाँकी हजुरवाणी पूरै शब्द शब्द बुझ्न तिमीले मलाई सहयोग गर्नेछौ भन्नेमा अति आशावादी छु,’ बार्बरा निम्रीले अघि निकालेको डायरी थन्क्याउँदै भनिन् ।

‘तिमी कति वर्षकी भयौ ? म सोध्दिनँ । उमेर मात्र मित्रताको आधार हुन पनि सक्दैन । मेरो ठम्याइमा मभन्दा तीन–चार वर्षले सानै हुनुपर्छ तिमी । मलाई रोगले र शोकले पनि खायो । समयभन्दा अघि बुढी बनायो । के भन्छ्यौ तिमी ? तिमी त्यति टाढाको मान्छे आएर मेरो देशको गाउँ–कन्दरामा डुलेर यसरी काम गर्दै छ्यौ । हामी यहीँकालाई यसबारे अत्तोपत्तो छैन भन्दा पनि हुन्छ । मलाई यसमा अति लज्जा महसुस पनि भएको छ । मैले थोरै भए पनि तिमीलाई सघाउन सकेँ भने स्वयम् आफैलाई पनि खुसी लाग्नेछ ।’ पारिजातको एक हातको औलालाई अर्को हातले चलाउँदै थियो ।

‘के तिम्रा औँला अहिले पनि दुखिरहेका छन् ?’ बार्बरा निम्रीको प्रश्नमा पारिजातको स्वास्थ्यप्रतिको चिन्ता पोतिएको’ थियो ।

‘नदुख्ने दिन कहिले के हुन्छ ? सोध न ! अब त बानी भयो । दुखेन भने किन दुखेन भनी मेरा अनन्य मित्र डा.महेश मास्केलाई सोध्नुपर्ने हुन्छ ।’ पारिजातले मुस्कुराउँदै भनिन् ।

एकछिन सन्नाटा छाउँछ त्यो सानो कोठामा ।

बार्बरा निम्रीले झोलाबाट क्यामरा र रेकर्डर झिकेर टेबलमा राखिन् । अनि, चस्मा पनि खोलेर हातमा लिई रूमालले आँखा पुछिन् । बिस्तारै हावामा चस्मा घुमाउँदै भनिन्– ‘म सोच्दै छु; दोधारमा पनि छु; तिमीसँग सहयोग मागूँ कि नमागूँ ?… यतिबेला म तिमीसँग एउटा अर्को सहयोग माग्न आएकी छु ।’ बार्बरा निम्रीले अड्किएर बोलिन् ।

‘भन, निःशड्कोच भन ! मबाट हुन सक्ने, मैले गर्न सक्ने सहयोग म गर्छु । र, मलाई यो पनि थाहा छ, मेरो असल मित्र, मबाट हुन नसक्ने सहयोगको अपेक्षा तिमीले राख्ने पनि छैनौ ।’

अब मुस्कुराउने पालो बार्बरा निम्रीको । अनि बोल्ने पनि उनैको ।

पारिजात आफू एक शब्द नबोली ध्यानपूर्वक सुनेर मात्र बसिरहिन् ।

‘म तिमीले बोल्ने भाषा केही मात्र बुझ्छु तर अक्षर पढ्न ठ्याम्मै सक्दिनँ । मैले मझुवाबेँसी पुगेपछि यस्तो सामग्री पाएको हुँ । धर्म श्रेष्ठ र अरू जानकारको भनाइअनुसार यो देवनागरी लिपिमै लेखिएको हो रे; तर अक्षर चिन्नेलाई पनि पढेर सरासरी अर्थ लाउन मुस्किल छ रे !’ बार्बरा निम्रीले धागोले बाँधेको ठुलो एकमुठा पहाडी कागज आफ्नो झोलाबाट निकालेर पारिजातको छेउमा राखिदिइन् । फेरि झोलाको अर्कोतिर हात हालेर निकालिन्, पहेँलो खोल भएको एउटा पातलो किताब । त्यो पनि पारिजातकै खाटमा राखिदिइन् ।

पारिजातले पहिला पहेँलो किताब उठाइन् र पाना पल्टाइन् ।

बार्बरा निम्रीले चस्मा लाउँदै भनिन्– ‘मनकामनाकी एक भक्तिनी माता, दामोदर उनको नाम । म त्यहाँबाट बिदा हुनुअघि मेरो हात समाएर उनले मलाई आफ्नो कुटीमा लिएर गइन् । उनले यसलाई अति जतन गरी कपडाले बेरेर आफ्नो ओछ्यानमुनि लुकाइराखेकी रहिछन् । त्यहाँबाट निकालेर पहिला भक्तिभाव, प्रार्थना गर्दै यसलाई आफ्ना दुवै आँखामा लगाइन् । एकछिन निधारमा टाँसेर केही श्लोक भनिन् । अनि ठुलो विश्वासका साथ उपहारमा मलाई दिइन् ।’

बार्बरा निम्रीले अझ स्मरण गर्दै भन्दै गइन्– ‘जुन भजन उनीहरूले गाए, त्यो मैले रेकर्डरमा भरेर ल्याएकी पनि छु । तिमीसँग मलाई दिने थप समय छ भने म सुनाउनेछु उनीहरूको त्यो आवाज । उनीहरूले गाउने भजनलाई ‘हजुरवाणी’ भन्ने रहेछन् । रेकर्डरमा नभएको बाँकी पूरै हजुरवाणी यो पुस्तकमा छ रे ! हजुरवाणी सबैभन्दा पहिला विक्रम संवत् १९९५ मा भारतमै छपाएर ल्याइएको थियो रे ! तर छापी आएका ती पुस्तक राणाले जफत गरे भन्ने पनि सुनेँ । तर, अहिले राणा छैनन् । उनीहरूको शासन नहुँदा पनि त्यसरी सिरानीमुनि लुकाएर राखिएकोमा मलाई निकै आश्चर्य लागेको थ्यो । तर, अहिले भने आश्चर्यमा म छैन किनकि मैले तिम्रो घरवरिपरि पुलिसले नजर लगाएर बसेको देखिसकेकी छु । देशको एक होनहार कवि साहित्यकारसमेत नजरबन्दमा !’

‘आफ्नो अध्ययनमा तिब्बतदेखि नेपालसम्म तमाम डाँडा, पखेरा चहारिसकेकी छ्यौ । यहाँको राजनीतिक अवस्थाबारे तिमी पूर्ण जानकार छौ निम्री । एक सय चार वर्षको निरङ्कुश शासन त ढलेको छ तर… ।’ पारिजातले वाक्य बिचैमा छाडेर पहाडी कागज हातमा उठाइन् ।

एकछिन शून्यता छायो । अनि, बार्बरा निम्रीले आफ्नो हातको औँठी घुमाउँदै अघिल्लो आफ्ना कुरालाई नै निरन्तरता दिइन्– ‘ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बुको यात्रापछि पहिलोपटक मनकामनामा हामी बास बस्न पुगेको त्यो रात दामोदर माताको निर्देशनमा मेरा सहयोगी जाग्बु शेर्पालाई खुला हलमा र मलाई मनमायाको कुटीमा सुत्ने बन्दोबस्त मिलाइएको थियो । बलेको एउटा टुकी पनि निभेपछि अँध्याराको साम्राज्य हुने नै भयो कोठामा । तल बगिरहेको अरूणको सुसाहट, साथै चराको चिरबिर भने अघिभन्दा झन् टड्कारो सुनिँदै थियो । अरूणको सुसेली र चराको चिरबिरलाई जितेर म भएकै कोठामा गुन्जियो एक बिल्कुल भिन्न लयको मधुर आवाज । पछि थाहा भो, मनमायाले मध्यरातमा गाएकी रै’छन् आफ्नो गुरूको हजुरवाणी । त्यसै वाणी महेश्वरा गिरि, नन्दादेवी, दामोदर र त्यहाँका अरू भक्तिनीहरूले गाउने रै’छन् । त्यहाँ भएका केही भक्तिनी विक्रम संवत् १९९८ पछि मझुवाबेँसी कुटीबाट आएका रे ! पहिला त अझ निकै सङ्ख्यामा आएका तर पछि फेरि उतै मझुवाबेँसी नै बस्न गए भन्ने थाहा भएपछि म स्वयंले आफै एकपटक मझुवाबेँसी पुग्ने निर्णय गरेकी थिएँ ।’

बार्बरा निम्री केहीबेर सुस्ताइन् र फेरि बोल्न थालिन्– ‘पछि जब मझुवाबेँसी नै जाने योजना सुनाएँ तब मनमायाले भनेकी थिइन्– यहाँ मनकामनाबाट त्यहाँ मझुवाबेँसीसम्म पुग्न आधा दिनभन्दा बढी हिँड्नुपर्छ; त्यसभन्दा अघि डुङ्गा चढेर उर्लंदो अरूण तर्नुपर्ने हुन्छ । डराउनुहुन्छ कि ! मैले ‘डराउन्नँ’ भन्ने विश्वास दिलाएपछि उनीहरूले मलाई पुर्‌याइदिने भए । त्यहाँबाट साथै हिँडियो । सतीघाट पुग्दा माझीदाइ डुङ्गा तार्न तयार थिए । तर, साथै गएका जाग्बु शेर्पाले भने डुङ्गा चढ्न, अरूण तर्न मन गरेनन्; भन्न लागे– म यतै पर्खी बस्छु । उनको मनले नमानेको कुरामा मैले ढिपी गर्नु उचित थिएन । गरिनँ । मनमाया, दामोदरमाता, म अनि माझीदाइ जम्मा चार जना थियौँ, डुङ्गामा । एउटा सिङ्गो रुखलाई खोपेर बनाएको डुङ्गा । माझीदाइले भने भनेको ठाममा पलेँटी कसेर, दुई हातले दुईतिर समातेर लस्करै बसेम् । त्यतिबेला मेरा लामा खुट्टालाई धेरै नै असहज भो । अरूणको भेलमा अघि बढ्दै जाँदा त्यो एक मुढो डुङ्गा घुप्लुक्क होला झैँ गर्थ्यो । पानी छचल्किन्थ्यो । शेर्पाले किनाराबाट हात हल्लाइरहेका थिए । अन्तिम बिदाइ हो कि जस्तो पनि भो । डराउन्नँ भने पनि मान्छेको मन न हो ! अति सारो डर, त्रासमा साँच्ची हल्लिने रै’छ मन थरर… । धैर्य गर्नू; चलमल नगरी बस्नू भनी इसारा गर्थे माझीदाइ । आँखा बन्द गरेर ईश्वरलाई स्मरण गर्नुबाहेक अर्को उपाय पनि के ? ती भक्तिनीहरू निर्धक्क थिए । कति–कतिबेला भने पार लाइदिनू भक्तिहजुर, शक्तिहजुर भन्दै उनीहरूले आफ्नो गुरूहजुरलाई सम्झिरहेका भने हुन्थे !’

त्यतिन्जेल सुकन्याले आफ्नै बारीको गाजर उखेलेर, पखालपुखुल पारी थालमा राखेर आइपुगिन् ।

बार्बरा निम्रीले पुलुक्क हेर्छिन् पारिजातको मुखमा ।

‘सुकन्या ! यसलाई तासेर टुक्रा पारेर लिएर आऊ न ! चालीस पुग्न लागी होली; गाजर काटी ल्याउने ढङ्ग भने छैन मेरी बैनीको । सिङ्गो कोपर्न तिम्रो–हाम्रो जस्तो अभ्यस्त बलिया दाँत पनि छैनन् निम्रीसँग । नाइफले साइज मिलाई काटेर, काँटाले खोपेर खाँदै हुर्केकी हुन् यी । म ठीक भनिरहेकी छु होइन निम्री ?’ हाँस्दै भनिन् पारिजातले ।

आफ्नी प्रिय दिदी जिस्किएर त्यसरी हाँस्दा संसारभरिको खुसी आफ्नो पोल्टामा परेजस्तो लाग्छ बहिनी सुकन्यालाई ।

सुकन्या गदगद हुँदै भान्सातिर लागिन् । पारिजात र बार्बरा भने निरन्तर भलाकुसारीमा नै लागे ।

‘… आज हामीकहाँ मो मो खाने दिन । यहाँ सधैँको बुधवारको दिन मोमो पाक्छ । सोमबार आलुपुरी, शुक्रबार खिचडी र भोलि ब्रेकफास्टमा हलुवा अन्डा खानुपर्ने छ, निम्री तिमीले ।’ पारिजातले सरसरी कण्ठस्थ मेनु सुनाइन् । सुकन्या पनि गाजर टुक्रा पारेर रिकापीमा राखी काँटासमेत बोकेर आइसकेकी थिइन् ।

सुकन्याले भनिन्– ‘दिदीले बसालिदिएको नियम हो । शुक्रबार आएकी भए डिनरमा खिचडी खानुपर्ने थियो बार्बराले ।’ दिदी पारिजातले निम्री भन्थिन्, बहिनी सुकन्याले बार्बरा । त्यस रात बार्बरा निम्री त्यहीँ बस्ने निश्चित भएको पनि बुझिसक्छिन् सुकन्याले ।

गाजरको प्लेट हातमा लिई काँटा सुकन्याकै हातमा दिइन् बार्बराले । सुकन्या कोठाबाट गएपछि बार्बरा सुरु भइन्– ‘योपटक जाँदा पारि गौडेनीको गुफा हेरेर इखुवाको साँघु तरेर, खोलाको छेउ छेउ ढुङ्गा ढुङ्गा टेकेर फर्किंदै थिएम् । म सबैभन्दा पछाडि थिएँ । मनकामना आएका हामीमा मझुवाबेँसीबाट थपिएर सँगै गएका साथीहरू अप्ठ्यारो बाटोमा पनि सजिलै ढुङ्गा उक्लिँदै, सरासरी हिँड्दै मभन्दा निकै अघि पुगिसकेका थिए । उनीहरूलाई मैले बोलाएँ । बाटैमुनि सुसेल्दै खोला बगिरहेकाले होला कोहीले सुनेनन् मेरो आवाज । बरु कोही मेरो पछि पछि आएजस्तो लाग्यो । फर्की हेरेँ । हो रहेछ, सेतो पहिरनकी एउटी महिला साँघुतिरबाट एक्लै आइरहेकी । मैले उनलाई पर्खिन उचित सम्झिएँ; पाइला नचाली त्यहीँ उभिइरहेँ । मेरो नजिक आएपछि त्यो कागजको मुठा मेरा हातमा दिँदै भनिन्, ‘त्यति टाढादेखि चासो देखाएर तिमी यहाँसम्म धायौ । लेऊ गर !’ यत्ति भनी जुन बाटो आएको उतै गौडेनीतिर फटाफट फर्किइन् उनी । उनले मतिर हात बढाउनेबित्तिकै मुठा समाइसकेकी रहेछु तर मैले केही सोध्न भने भ्याइनँ या सुर नै पाइनछु । म धेरैबेर अलमलिएपछि चन्द्रकुमारी बस्नेत र पूर्णकुमारी फेरि उल्टो बाटो म भएकोतिरै फर्कंदै रहेछन् । त्यसबेला भने मलाई नै अघि लाएर उनीहरू मेरो पछि पछि हिँडे । खोलाको तीर सकिएपछि ठुलो ढुङ्गा पल्लोपट्टि पर्खंदै रहेछन् अरू साथीहरूले पनि । एक भक्तिनीलाई भेट्दा ढिला भएको बताएँ । जसलाई भेटेको बताएँ, उनका बारे मझुवाबेँसीका कुटीमा बसेका वृद्धाहरूले पनि केही भन्न सकेनन् । मैले हुलिया अझै बयान गर्दै गएँ, अग्लो शरीर, गोला डम्मका हात पाखुरा, सिलिक्कका तर पोटिला औँला, चन्द्रमाजस्तो गोलो अनुहार, सेतो पहिरन… । गोतामिनी आमै, चन्द्रकुमारी बस्नेत, तुलसादेवी, धनमाया कटुवाल्नी, महेश्वरा गिरि र पूर्णकुमारी नेउपानेले मेरा कुरा सुनेपछि एक अर्काको मुख हेर्न लागे । स्पष्ट थियो, निकै आश्चर्यमा थिए उनीहरू । ‘त्यो सुनसान ठाउँ, बाक्लो जङ्गल । ध्यानतपस्या गर्ने तपस्वी पनि कोही छैनन् आजभोलि । माथि कुलुङतिरबाट झरे भनुम् भने पनि त्यस्तो को होला त्यहाँ, त्यो भेषमा हिँड्ने ? होइन उहाँको कुरा सुन्दा त कस्तो काटिकुटी सानीहजुरजस्तो है !’ अन्तमा तुलसादेवीले आफ्ना भक्तिनी सखीहरूसँग भनिन्, ‘यस्ता मोटा मोटा अक्षर पहिला पनि देखिएको हो । आजका कागज कहाँ हुन्छन् यस्ता ? यी कागज पनि उहिलेकै हुन् । हामीले नै मसी बनाइन्थ्यो चिट्ठीपत्र, हजुरवाणी लेख्नुपर्दा । एकिनसँग भन्न सक्छु; गाजल र खयरको मसीले लेखेको हो यो । आजका हाम्रा नाति–पनातिले लेख्नेजस्तो होइन, उहीबेलाका निगालाका कलमले लेखेका हुन् यी ।’ चन्द्रकुमारी बस्नेतले भनिन्, ‘मुठा मुठा हजुरवाणी बाँड्न गाउँ गाउँ पनि हिँडिन्थ्यो । यी अक्षर पण्डित प्रेमनारायणका होइनन् । कसका थिए कुन्नि ! डम्बरबहादुर बस्नेत पनि लेखापढी गर्नुहुन्थ्यो । नैनकला निरौला पनि अलिअलि लेख्नुहुन्थ्यो । सानीहजुरको छोरी दुखुना हो लेख्न सधैँ अघि सर्ने । लेखी बस्नुहुन्थ्यो । भोजपुर राधाकृष्ण मन्दिर पाटीबाट आएपछि लेखी मात्र बस्नुहुन्थ्यो ।’ नेउपाने आमैले भनिन् ।…’

बार्बरा निम्री अजिजले बोल्न ठ्याक्कै बिसाइन् ।

एकछिन शून्य भो पारिजातको त्यो कोठा ।

पारिजातले पनि केही नबोली आफ्नी साथी निम्रीको अनुहारमा एकपटक हेरी आफूछेउको मुठाबाट एउटा कागज थुतेर मनमनै पढ्न लागिन्– “महानन्द, नरीन्द्रबहादुर, पहलमान डीलीमान्के म भक्तिको सुभो आशीर्वाद छ, मेरा वनं पालनाका निमित्त गएका थियौ, अहिले महानन्दका काको मौका नपर्ने बुझिएकाले बोल्ने मौके नराखेकोले सोका यही भेला भै सल्लाले जो ठहर्छ, सो गरौला आऊ की बस्तै गर्छौ ।’

“पण्डित यज्ञप्रसादके । तपाईंले बहुत पत्र लेखी पठाउनुभो धने गरेका छौ । अब शान्त भई आफ्ना विचारमा रही पण्डितजी (प्रेमनारायण) लाई बिदा दिनुहोस् । आशीर्वाद पूरा छ पण्डित कविप्रसादके तपाईंले गरेको भक्ति सदा बहुत खुसी छु, दयापूर्ण छ अब पण्डितजीलाई पूर्ण पूर्ण स्वरूपको दरसका निमित्त सात भै बिदा दिनुहोस्…।”

त्यो एकताउ पढिसकेको कागज घोप्टो पारेर आफ्नै छेउमा राखिन् र सबैभन्दा माथिल्लो कागज लिएर आवाजमै पढिन्— ‘ठुलीहजुर !’

अनि हेरिरहिन् पारिजातले आफ्नी मित्र निम्रीको अनुहार ।

+ + +

‘मेरो कालो चियाको समय भएको छ । तिमी त गोरो चिया नै मनपराउँछौ होला !’ बार्बरा निम्री हाँसिन् पारिजातको कुरा सुनेर ।

सुकन्याले एक किस्तीमा दिदी पारिजातलाई साबिकको झैँ कालो चिया र दुई सुख्खा रोटी अनि बार्बरा निम्रीलाई दुध राखेको चिया र पाउरोटी लिएर आइसकेकी हुन्छिन् ।

‘म अति बिस्तारै खान्छु । मसँगै खान बस्नेले खाइसकेर टुँडिखेल डुली आइसक्दा पनि म खाइरहेकै हुन्छु । मलाई कुनै हतार छैन । टुँडिखेल डुलिसक्नेमा यिनै सुकन्या पनि पर्छिन् ।’ पारिजात फेरि हाँसिन्, सुकन्याले फेरि आनन्द मानेर दिदीलाई हेरिरहिन् मुस्कुराउँदै ।

‘बार्बरा, तिम्रा दिदीबहिनी छन् कि छैनन् ? छन् भने सबैका दिदी यस्तै हुन्छन् ?’ सुकन्याले भनिन् ।

‘दिदी यस्ता हुन्छन् हुन्नन्; म भन्न सक्दिनँ तर धेरै कमका बहिनी मेरी सुकन्याजस्तो हुन्छन् । आफ्नो निर्मलको भन्दा मेरो ख्याल गर्छे । दिदीकै माया लाग्छ भन्छे रे । ल भन, मेरा ज्वाइँ निर्मललाई कति नमिठो लाग्दो हो यसका कुरा सुनेर ।’ पारिजातले कालो चियामा रोटी चोबेर भनिन् ।

सुकन्या उठेर भान्सातिर लागिन् ।

‘सुकन्या मेरी बहिनी मात्र होइन, साथी पनि हो । मेरी आमा पनि हो । अब त बाबु पनि । उमेरले आमा म हुनुपर्ने, तर सधैँ जिम्मेवारी उठाउने ऊ नै भै । मैले त्यतिबिधि मौका पाइनँ ।’ पहिला कोठाको चार भित्ता अनि आफ्नो शरीर हेरेर भनिन् पारिजातले ।

‘दुई बजेपछि तिम्रो लेख्ने समय हो क्यार । छ सात बजेसम्म तिमी लेखिरहन्छौ । त्यही सुनेकी थिएँ ।’ बार्बरा निम्रीले अलि अप्ठ्यारो मान्दै भनिन् ।

‘नियमित हो पनि र होइन पनि । समय सधैँ उस्तै हुँदैन । सुकन्या भन्छे, म लेखिदिन्छु या लेख्ने मान्छे कोही चाहिन्छ भने राखिदिन्छु । मलाई चित्त पर्दैन अरूले लेखेको । सकुन्जेल म आफै लेख्छु । यी औँला कति दिन चलिरहन्छन् हेरुँ ?’ बाथले बाङ्गिएका आफ्ना हातका औँला हेर्दै पारिजातले भनिन् ।

फेरि थपिन्– ‘मेरो बानीसँग डा. महेश मास्के, इन्दिरा दली र निनु चापागाईं भलीभाँति जानकार छन् । कुनै दिन भेट गराउनेछु उनीहरूसँग पनि तिमीलाई ।’

‘सायद मैले तिमीलाई झन् बढी काम थपिदिँदै छु । कसो गरूँ ?’ अघि आफूले दिएका पहाडी कागजको मुठो र पहेँलो पुस्तकतिर हेरेर असहज मान्दै भनिन् बार्बरा निम्रीले ।

‘नलेखी म कसरी बस्नु ? झन् कुँजिनेछन् यी औँलाहरू । लेख्दा यिनै औँलालाई कसरत हुन्छ नि ! डाक्टर पनि त्यही भन्छन् ।’ पारिजातले भनिन् ।

‘त्यसो भए म ढुक्क हुन सक्छु ? ती कागजमा लेखिएका पुराना अक्षरलाई पहिला आफैले एकपटक पढेर फेरि नयाँ, आजका बोली, आजका शैली र भाका भर्नेछौ तिमीले । त्यो पहेँलो किताबका हजुरवाणीलाई पनि अङ्ग्रेजीमा अनुवाद गरी मैले पनि आफै पढ्न सक्ने पारिदिनेछौ ?’ बार्बरा निम्रीको मुहारमा विशाल भरोसासँगै असीमित खुसी टल्किएको थियो ।

पारिजात बोलिन्– ‘योगमायाको सन्दर्भलाई लिएर पारिजातसँग भेट गर्नू’ भन्नेले नै पक्कै मेरो पूरा परिचय तिमीलाई दिइसकेको हुनुपर्छ । हाम्रो विवशता र ती दुःखका दिन कोहीबाट लुकेको छैन । दार्जिलिङको लिगिया चियाकमानबाट यहाँसम्म आइपुग्दा तरह तरहका दिनहरू देखियो । अहिले तिमी जे देखिरहेकी छ्यौ; यो हाम्रो अति सम्पन्न स्वरूप हो । सुकन्या स्कुल खोल्ने सोचमा छ । भन्छे, ऊ नानीहरु पढाउनकै लागि जन्मेकी हो । उसको सपना पूरा हुनेछ । उसले यही आँगनबाट स्कूल सुरु गर्नेछ । त्यसमा सारै खुसी छु निम्री म ।’

‘तिमी दिदी बैनीको खुसीमा म पनि खुसी छु ।’ बार्बरा निम्रीले भनिन् ।

‘दिदीको अलिकति पिउने बानी छ । सायद दुखाइ कम गर्नाकै लागि पिउँदै जानुभो ।’ एउटा किस्तीमा राखेर कोठैमा खानेकुरा लिएर आइन् सुकन्या । दुई भिन्न प्लेटमा पकौडा थियो अनि साथमा दुईवटा गिलास ।

सुकन्या फेरि भान्सातिरै लागिन् ।

‘म अलिकति पिउँछु । दुख्छ । कसरतले मात्र बाथले खाको औँला चल्दैन । बिहान छ सात नबजी उठ्न सक्दिनँ म । तिमी गाउँपहाड हिँडेको मान्छे । स्याल बाघको आवाजसँग अभ्यस्त नै हौली । हुन सक्छ, यहाँ पनि राति स्याल कराएको सुन्न सक्नेछौ । छ सात वर्षअघि पुतलीसडकबाट यहाँ आउँदा माथि एक घर थियो, नानक मठ जङ्गलमा । अहिले त त्यता अलि बस्ती बढेर स्याल पातलिएको छ । तिमी आएको बाटो विष्णुमतीछेउ घाट भैहाल्यो । राति मुर्दा पोलेको यहीँबाट अझ पनि स्पष्ट देखिन्छ । पहिला त दाहसंस्कार आँगनमै भएजस्तो लाग्थ्यो ।’

सुकन्या आएर आफ्नी दिदीको ओछ्यानछेउ बसिन् ।

धोएर सुकाएको कपडा उठाई अँगालोभरि लिएर कान्छी तामाङ भित्र पस्दै थिई ।

‘उतै पटाएर ल्या न कान्छी !’ सुकन्याले भनिन् ।

‘पहिला म साडी मात्र लाउँथे । अब समाल्न सक्दिनँ । कमिज सुरूवाल सजिलो ।’ पारिजातले भनिन् । कुरा हुँदैथ्यो, बार्बरा निम्री इसाराले अनुमति मागेर बाहिर निस्किन् ।

सुकन्या पनि पछि पछि बाहिरिन् ।

अलि परको अस्थायी शौचालय देखाएर सुकन्याले भनिन्– ‘दिदीलाई उहाँको कोठामै जोडेको ट्वाइलेट बनाउने रहर छ । उहाँको रहर पूरा गरिदिन्छु भन्नेमा छु ।’

ड्रमबाट पानी झिकेर शौचालयसम्म पुर्‌याइदिन कान्छी तामाङ्नीलाई अराइन् ।

‘म आफै लैजान्छु ।’ बार्बरा निम्रीले भनिन् ।

फर्की आएर बार्बरा निम्रीले साबुन पानीले हात धुँदा सुकन्याले नै अम्खोराको धारो बनाइदिँदै भनिन्– ‘दिदीले हरेक बिहान मुख धुँदा आफ्नो रूमाल धुनुहुन्छ । औँलालाई कसरत रे त्यो पनि !’

बार्बरा निम्रीले साबुनको हिउँजस्तो फिँज पखाल्न छाडेर सुकन्याको शान्त निर्दोष अनुहारमा हेरिरहिन् ।

सुकन्या भने बोल्दै गइन्– ‘दार्जिलिङबाट यहीँ स्थायी बस्ने गरी आएको यतिका वर्ष भैसक्यो तर पुग्न सकिएको छैन, त्यही पल्लो डाँडासम्म पनि । तिमी भने सातसमुद्रपारिबाट आएर, गाउँ–कन्दरासम्म पैदल हि“डेर पुग्छौ ।… तिमीले भनेर गएपछि अरूण किनारको त्यो घटनाबारे हामीले धेरैपटक चर्चा गरेम् । यहाँ आइरहने पूर्वतिरका पाहुनाले पनि त्यो कुरा ठम्याएर त्यो घटना यस्तो हो भनी चित्तबुझ्दो जबाफ दिन सकेनन् । अचम्म ! किन होला राणाशासन हटेको यतिकासम्म पनि त्यो कुरा छर्लङ्ग गरी बाहिर नआएको ?’

बार्बरा निम्रीले केही नबोली, केही सोच्दै रूमालले हात पुछिन् र पारिजातको कोठामा पुगेपछि भनिन्– ‘जब मैले पहिलो पटक काठमाण्डू आएर तिमीबारे सोधेँ । यति प्रख्यात मान्छेलाई पनि चिन्छु भन्ने कोही भेट्न नसक्नाले निकै आश्चर्यमा परेँ म । त्यसबेला न्युरोडको पानोरमा होटलमा बस्थेँ । एक दिन लबीमा बसेर मैले कसैसँग तिमीबारे सोधेको त्यही काम गर्ने बाह्र तेह्र वर्षको वेटर केटाले सुनेछ र उसले बरु अघि सरेर भन्यो– म चिन्छु पारिजातलाई । उहाँलाई म ठुलीआमा भन्छु । उसका कुरा सुनेर म कति ढुक्क भएँ होला ! तर जब म ऊसँग आउँदै थिएँ, घरबाहिर बन्दुक बोकेका पुलिसहरूले निगरानी गरी उभिएको देखेँ । तब, मैले दुईमा एक निर्णय लिनुपर्ने भो । यता नपसी फर्किने सोच नआएको पनि होइन । तर, हिम्मत गरेँ किनकि तिमीसँग योगमायाको सन्दर्भमा कुरा गर्नु थियो । अर्को कुरा पनि अब म तिमीलाई खुलेर भन्छु– पहिलो भेटमा तिमीले मलाई मन नपराएकै हो । तिमीले त्यसबेला मलाई होइन, साइन्सलाई हेर्‌यौ । त्यही आँखाले । अझ भनूँ भने विश्वास गरिनौ । तर, जब मेरो रुचि मानवतामा छ भन्ने बुझ्यौ त्यसले हामीलाई एक आपसमा नजिक बनायो । मैले पनि देखेको छु तिमी दुई बहिनीको मुटु । अघिल्लोपटक आउँदा आफ्नै आँखाले देखेँ; माग्न आएका ती गरिब केटाकेटीलाई तिमीहरूले भोको पठाएनौ ।’

एक हातमा गिलास थियो, अर्कोमा पकौडा लिएर बार्बराले बोल्दै गइन्– ‘जब म १९६२ देखि तीन चार वर्षसम्म भारतमा बसेँ; मलाई बुद्धिज्मबारे निकै रुचि भयो । त्यतिबेला म बिस बाइसकी मात्र त थिएँ । त्यसै सम्बन्धित विषयमा आफ्नो अध्ययन बढाउने मन भो । लन्डन युनिभर्सिटीबाट पिएचडी गर्ने अवसर पनि पाएँ । यहीबेला मैले हर्क गुरूङलाई भेटेँ । उनी पनि मझैँ त्यहीँका शोधार्थी थिए । मैले भेटेको पहिलो नेपाली मिस्टर गुरूङ नै हुन् भने पनि हुन्छ । साँच्ची भन्ने हो भने उनीबाटै मैले नेपालीप्रतिको धारणा बनाएँ । पछि त धेरैसँग भेट भो । बुद्धिज्म मेरो विषयभित्र नै भयो । अरू धेरै संस्कृतिबारे पनि बुझ्न पाएँ । धेरै अचम्मलाग्दा कुराहरू देख्न पाएँ । भक्तिनी आमा, मनमाया, दामोदर, नन्दादेवी, माहिली दिदीहरूसँग भेट गर्न मनोकामनातिर म फेरि फेरि पनि जानेछु । एक अर्को कुरा, योगमायाकै बारेमा सोधखोजको क्रममा सन्यासी माहिली दिदी, विष्णुमाया दाहालबाट एक भिन्न विषय पनि अगाडि आयो । अर्की एक अद्भुत महिलाको जन्म भएको रहेछ त्यहाँ । दुर्गादेवी उनको नाम । कम अपत्यारिलो छैन, दुर्गादेवीबारे सुनिने कुरा पनि । म ती विधुवा महिलाबारे पनि थप अध्ययन गर्ने विचारमा त छु । अहिलेलाई भने म योगमायामै बढी केन्द्रित छु ।’

पारिजात र सुकन्याले सुनी मात्र रहे । ‘…तर अहिलेलाई भने म अमेरिका फर्कंदै छु । भोलि यो महिनाको अन्तिम बिहिबार । सोमबार त मेरो फ्लाइट नै छ । बिहान मुरारि अर्याल आएपछि म यहाँबाट बिदा हुनेछु । अघि मैले भनेका व्यक्तित्वहरूसँग भेटघाट गर्न बाँकी नै छ । अहिलेसम्म मैले भेटेका सम्पूर्ण सामग्री तिमीलाई जिम्मा लाएर जाँदै छु ।’

बार्बरा निम्रीले अघि किनी ल्याएको कापीमा आफ्नो झोलाबाट कलम पनि थपिन् र पारिजातकै ओछ्यानमा राखेर बोल्दै गइन्– ‘…तर प्रिय पारिजात ! पहिला तिमी आफ्नो स्वास्थ्यको ख्याल राख्नू ! यसलाई प्रेसरको रूपमा पटक्कै नलिनू ! तिम्रो अनुकूलतामा मुरारि अर्यालले पनि आएर तिमीलाई सघाउने नै छन् । मौका मिल्यो भने मेरो फ्लाइटअघि म एकपटक तिमीलाई भेट गर्न आउनेछु । सकिनँ भने हामी हुलाकमार्फत निरन्तर सम्पर्कमा रहनेछौँ । जब हाम्रो फेरि प्रत्यक्ष भेट हुनेछ, त्यसबेला छ्याङ्ग उज्यालो पारेर ‘ठुलीहजुर’ सुन्नेछु ।’

पारिजातले भनिन्– ‘अवश्य, तिम्रो मनोकाङ्क्षा पूरा भएको बखत पक्कै म पनि तिमीभन्दा कम हर्षित हुने छैन !’ र, लामो श्वास लिँदै फेरि बोलिन्– ‘निम्री, सारै दुःखको कुरा, यस देशको इतिहासमा यस्तै महत्त्वपूर्ण कुराहरू पोखराले सेती लुकाएजस्तै लुकाइदिएको छ ।’

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के