Asmita Magazine

#

योगमायाको आन्दोलन र उनका तस्वीर

साहित्यकार पारिजातसँग प्रकारान्तरले जोडिने नाम हो – समाज सुधारको अथक अभियन्ता र राजनीतिक विद्रोहीणी योगमाया नेउपाने | नेपालको राजनीतिक,सामाजिक र साहित्यिक इतिहासमा योगमाया ‘नभूतो नभविष्यति’हुन् | योगमायाको सामाजिक जागरण अभियानको शोधार्थी मानवशास्त्र अध्येता बारबरा निम्री अजिजसँगको सानिध्यताले पारिजातलाई योगमायासँग जोडेको हो | योगमाया कृत ‘सर्वार्थ योगवाँणी’ अङ्ग्रेजी अनुवादमा बारबराले पारिजातको सहयोग लिएकी थिइन् |

आफ्नो देशको एक साहसी महिलाको बारेमा विदेशी शोधकर्ताबाट सुन्दा पारिजातलाई कुनै दन्त्य कथा झैं लागेको थियो | एउटा पत्र बारबरा निम्री अजिजको नाममा,शिर्षकको पारिजातको लेखमा उल्लेख ‘मैले पहिले विश्वास नै गरिन,कारण मैले उनको नाम  पुराना सहित्यिक चर्चाहरूमा कहिल्यै सुनेकी थिइनँ | … आफ्नै देशको यस्तो महत्वपूर्ण कुरा पनि तिमीलाई कसो थाहा नभएको भन्दा मैले लाजको अनुभव गरें तर बारबरा मजस्तै धेरैलाई यो कुरा थाहा रहेनछ | यहाँ यस्तै हुन्छ | यस देशको इतिहासमा यस्तै महत्वपूर्ण कुराहरू पोखराले सेती लुकाए जस्तै लुकाइदिएको कतै उडन्ते गन्थनहरू जतासुकै प्रदर्शित गराइएका छन् |

पारिजात,अस्मिताको स्थापनाकालदेखिको सल्लाहकार स्तम्भ लेखक हुनुहुन्थ्यो | योगमायाको कृतित्व जीवनीलाई सार्वजनीकिकरण गर्ने क्रममा अढाई दशक पहिले अस्मिताले विशेष रिपोर्टिंग सर्वार्थ योगवाँणीको पुनःप्रकाशन गरेको थियो  | अहिले योगमाया नेपाली समाजमा साहसी र विद्रोही समाज सुधारककोरुपमा परिचित स्थापित छन् | नेपाली इतिहासको महत्वपूर्ण अभिलेख तथा महिलाको नेतृत्वको जीवन्त उदाहरणहरूमा अस्मितामा योगमायाको बारेमा लेख्दै आएका लेखनाथ भण्डारीको यो लेख पारिजातको स्मृति विशेषाङ‍्कमा प्रकाशित गर्न उपयुक्त ठानेका छौं | सम्पादक

नेपाली सामाजिक जागरणको आन्दोलनकी परिचित अगुवा क्रान्तिकारी महिला योगमाया न्यौपानेको विद्रोह, भूमिका र तस्वीरहरूको बारेमा यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ । उनको जीवित अवस्थामा खिचिएका कुनै तस्वीर अहिलेसम्म भेटिएको छैन । तर विगत डेढ दुई दशक यता उनका एक दर्जनजति फरक-फरक तस्वीर सार्वजनिक भएका छन् ।

विसं १९२० को दशकमा भोजपुर जिल्लामा जन्मेकी योगमायाको जीवनकालमा तस्वीरको चलन आइसकेको थियो । नेपाल सरकारले २०७३ मा प्रकाशित गरेको हुलाक टिकटमा इतिहासकार दिनेशराज पन्तको अनौपचारिक सुझाव (अनुमान) का आधारमा योगमायाको जन्म विसं १९२४ उल्लेख छ | पन्तको यसबारे कुनै अध्ययन सामाग्री सार्वजनिक भएको छैन |

योगमायाका बारेमा विसं २०२० सालयता लेखिँदै आएको पाइन्छ | योगमायाको बारेमा जनकलाल शर्मा,ज्ञानमणि नेपाल,बारबरा निम्री अजीज,उतम पन्त र मातृका तिम्सिनाका प्रारम्भिक अन्वेषण स्मरणीय छन् | विसं २०५६–५७ सालमा उनका अनुयायीहरूलाई सोध–खोज गरेर एक स्केच(तस्वीर) बनाउने प्रयास भयो । नेपाल अध्ययन केन्द्रका अध्यक्ष कोमल भट्टराईको अनुरोधमा चित्रकार आई.बी मल्लले योगमायाका भक्तहरूले प्रचारमा ल्याएको ‘योगमायाकल्प शक्तिरुप दर्शन’मा आधारित फोटोमा आधारित स्केच बनाए | तर त्यसलाई कलाकार स्वयँले सार्वजनिक गर्न अस्विकार गरे | यसैक्रममा कलाकार लक्ष्मण भुजेलले योगमायाकी अनुयायी तत्काल ८१ वर्षीय चन्द्रकुमारी बस्नेतले बताएअनुसार एक तस्वीर बनाए । त्यो देखेपछि चन्द्रकुमारीले भनेकी थिइन्, ‘ठ्याक्कै माता हजुर ।’ यो तस्वीर शुरुका दिनमा अस्मिता प्रकाशनगृह र नेपाल अध्ययन केन्द्रका प्रकाशनहरूमा सार्वजनिक भयो । यस सम्बन्धमा ‘हिमाल खबर पत्रिका’ मा ‘ठ्याक्कै उस्तै’ शिर्षकको सामाचार प्रकाशित छ । त्यसपछि यागमायाको सोही तस्वीर अन्य प्रकाशनहरूमा पनि सार्वजनिक हुन थाले । उनलाई देखेका अन्य व्यक्तिहरूले पनि लक्ष्मणले बनाएको तस्विर योगमायासँग मिल्दोजुल्दो भएको स्विकार गरे | 

केही वर्षयता योगमायाका अन्य तस्वीर सार्वजनिक हुन थालेका छन् । योगमायालाई देवीका रूपमा ४ हात भएको तस्वीर बनाएर उनका अनुयायीहरूले पूजा गरेको पनि भेटिएको थियो । उनका सालिकहरु स्थापना भएका छन् । ती सबै लक्ष्मणले बनाएको तस्वीरमा आधारित र सामान्य परिमार्जन गरिएका हुन् । सार्वजनिक भएका ती एक दर्जनजति तस्वीरहरूको स्रोत वा कलाकार र अन्य आधिकारिकताका बारेमा भने सबैजसो प्रयोगकर्ताहरूले स्रोत उल्लेख गरेको पाइँदैन ।

नेपाल सरकारले २०७३ मंसिरमा प्रकाशित दस रूपैयाँको हुलाक टिकट ‘योगमाया, समाज सुधारक’ विसं १९२४–१९९८ मा पनि योगमायाको फोटो पनि लक्ष्मणले बनाएकैको  सामान्य परिमार्जन हो । हुलाक सेवा विभागले हुलाक टिकटहरू सार्वजनिक गर्दा कलाकार र फोटोको कला तथा प्रविधिको विवरण सार्वजनिक गर्दै आएकोमा यो भने अपवादमा परेको थियो | योगमायाको हुलाक टिकटको डिजाइन कुन कलाकारले गरेका हुन् र यसमा कस्तो कला र प्रविधिको प्रयोग भएको हो सार्वजनिक गरिएन |

नेपालको सामाजिक जागरणको आन्दोलनमा एक साहसी महिला योगमायाको भूमिक र योगदानबारे देश–विदेशका इतिहासकार,अनुसन्धादाता वा पत्रकारहरूको रुची र खोजी बढ्दै गएको छ । तर अब उनका नजिकका नातेदार जो उनलाई नजिकबाट चिन्ने, देख्नेहरू जीवित नहुन सक्छन् | यो अवस्थामा यसभन्दा पहिले सार्वजनिक भएका तस्वीरलाई सबै सरोकार पक्षहरूले आपसी समन्वयमा एकरुपता दिनु योगमायाको सम्मान र योगदानको कदर हुनसक्छ | यसलाई आ-आफ्ना तरिकाले प्रयोग गर्नु राम्रो होइन । यो पङ्क्तिकारले विसं २०५२ सालको हिउँदका केही महिना योगमायाको बारेमा अध्ययन गर्ने क्रममा पूर्वी नेपालका जिल्लाहरूमा योगमायाका समकालिन व्यक्तिहरु भेटेको थियो । त्यसरी भेटिनेहरुमा योगमायासँगै काम गरेका र जेल परेका भक्तबहादुर बस्नेत,डम्बरबहादुर बस्नेत लगायत थिए ।

विसं २०५२ साल यता यस पङ्क्तिकारका योगमायाको परिचय-जीवनी तथा भूमिका समेटिएका ३ वटा कृति र नेपाली समाजका विभिन्न क्षेत्रका ९८ जना लेखकहरूका लेख सङ्कलनको सम्पादनका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरूमा फुटकर लेखहरू प्रकाशित छन् | तीमध्ये सामाजिक जागरणमा महिला बिद्रोहको प्रस्थानबिन्दु (२०६०,विवेक सिर्जनशील प्रकाशन),जीवनी र मुल्याङ्कन योगमाया (२०७९,वैकल्पिक समूह) र योगमाया जीवनी (२०८१,बिएन पुस्तक संसार) का साथै उनको भूमिकायोगदान वा प्रभावकको बारेमा समेटिएका पूर्व प्रकाशित लेखहरू पनि समेटिएको सङ्कलन ‘सामाजिक आन्दोलनकी अग्रणी तथा कवि योगमाया’ (नेपाल अध्ययन केन्द्र २०५७ र २०८२) हुन् । यसै क्रममा केही पत्रिकाले ‘योगमाया’को नाममा गुगल सर्चमा भेटिएका कुनै अमुक विदुषीको फोटो-स्केच पनि प्रकाशित गरेका छन्  । यसरी योगमायाको नाममा गलत तस्विरको प्रयोग शुरु भयो | 

महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।

दुःखी जनले निञा निसाफ् सिधा पाउँदैनन् ।।

जागिरदार लोभी छन् निञा हेर्दैनन् ।

मर्नुपर्ने शरीर हो विचार गर्दैनन ।।

  • योगमाया न्यौपाने, सर्वार्थ योगावाँणी (विसं २०१२)

कठिन योगसाधना र धार्मिक माध्यमबाट नेपाली समाजमा विद्यमान सबै प्रकारका कुप्रथा,अन्धविश्वास, धनी–गरीबबीचको होचो अर्घेलो, जातीय र महिला विभेद विरुद्ध तथा गाई-गोरू (पशु-पंछी) र प्रकृति संरक्षणका पक्षमा तत्कालीन समाज र सत्तासँग विद्रोह गरेकी योगमायाका वाणीहरू भजन वा कविताका रूपमा ‘सर्वार्थ योगावाँणी’ मा प्रकाशित छन् । ‘सर्वार्थ योगवाँणी’का आधारमा योगमायालाई कवि व्यक्तित्वका रूपमा गणना तथा मूल्यांकन गरिन्छ। यसबारे पुनर्मूल्यांकन गरिनु र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ

‘सर्वार्थ योगवाँणी’ त्यसवेलाको विद्रोहको अर्थात् योगमायासँग सहकार्य गर्ने अगुवा र अनुयायी सबैको समान दायित्व रहेको संयुक्त दस्तावेज हुनसक्छ। उनकी छोरी नैनकलाले वर्षौं पहिले सुनेका कुरा अरुलाई सुनाइन् ? योगमायाका अनुयायी कम सल्लाहकारको बढ्ता भूमिकामा रहेका प्रेमनारायणले लेख्दा र सम्पादन गर्दा कति संशोधन गरे? यी समग्र अवस्था र प्रक्रियाका आधारमा कृतिको मूल्यांकन गरिनुपर्छ। तसर्थ ‘सर्वार्थ योगवाँणी’लाई योगमायाकृत व्यक्तिगत काव्य कृति नभएर तत्कालीन समयमा समाजसुधारका लागि गरिएको आन्दोलन (विद्रोह) को सामूहिक घोषणा पत्रका रूपमा लिनुपर्छ। योगमाया त्यो आन्दोनको अगुवा नेतृ थिइन् |

आफ्ना मागहरूलाई तत्कालीन सरकारले बेवास्ता गरेका कारण विसं १९९५ कार्तिक महिनामा सामूहिक अग्निदाह प्रयास गर्दा एक दर्जनभन्दा धेरै अनुयायीसहित पक्राउ परेर जेल सजायँ पाएकी योगमायाले अन्ततः १९९८ असारको हरिशयनी एकादशीका दिन ६८ जना अनुयायीसहित अरुण नदीमा हाम फालेर जलसमाधी लिएकी थिइन् | तिथी,गते र वारको गणना फरक पर्ने भएकाले योगमायाको स्मृति दीवस केही वर्ष यता असार २२ गते विभिन्न कार्यक्रमहरू गरेर मनाउन थालिएको छ | संयोगले गत साल (२०८२) को हरिशयनी एकादशी असार २२ गते परेको थियो ! यो वर्ष हरिशयनी एकादशि साउन ८ गते परेको छ |  सर्वार्थ योगवाँणि (२०१२) मा योगमायाले जलसमाधि लिएको सम्बन्धमा निम्नानुसार उल्लेख छ-

‘… हामी मर्ने छैनौं यदी मर्यौं भने ऐन सवाल बमोजिम बूझाउँला’ भनेर अड्डाले छोडिदियो | धर्म भिक्षा  सत्य कबोलको बदला झेलनेल मिले,धन्य प्रभु कि माया १९९८ साल अषाड ३१ गते शनिवार हरि शयनी एकादशीका दिनमा श्री भक्तिजी सहित ६८ जना जल समाधि भै परमधाम जानुभयो |’

स्मरणिय छ, योगमायाले समाज सुधारका मागहरू पुरा गराउन तत्कालिन सरकारलाई विभिन्न तरिकाले घचघच्याएकी थिइन् | आफ्ना दूतकारुपमा अनुयायी र सल्लाहकारहरू मार्फत् राणा प्रधानमन्त्रीहरू कहाँ बिन्ति पत्र पठाइन् | तत्कालिन सरकारले उनका मागहरू पुरा गरेर ‘धर्म राज्य स्थापना’ गर्ने आश्वासन दियो | तर मागहरू पुरा गर्ने तत्परता नदेखाएका कारण विसं १९९५ साल कार्तिकमा योगमायासमेत २ सय ४० जनाले अग्नि प्रवेश गरेर आत्मादाह गर्ने घोषणा गरे | सरकारले उनीहरूको योजना थाहा पाएर अग्नि प्रवेश गर्नु पहिले नै योगमायासमेत १७ जनालाई पक्राउ गरेर १९९५ कार्तिक २७ गतेबाट ६ महिनादेखि ३ वर्षसम्म कैद गर्यो | पक्राउ पर्नेहरूमा ११ जना पुरुष र ६ जना महिला थिए |  कैदबाट छुटेपछि उनीहरूले सरकारलाई घचघच्याइ रहे | सरकारले एकपछि अर्को आश्वासन दिएर माग पुरा नगरेका कारणले उनीहरूमा थप आक्रोश र निराशा बढ्दै गयो | अन्ततः ‘अधर्मी राजमा बाँच्नु व्यर्थ छ,सरकारलाई चेताउनुपर्छ,आउने पुस्ताको उध्दार हुन्छ र आफूलाई मुक्ति मिल्छ’ भन्ने संकल्प गर्दै योगमायासमेत ६८ जनाले अरुण नदीको भेलमा हाम फालेर देह त्याग गरे | 

सामाजिक जागरणको आन्दोलनकी यी अगुवा सामूहिक आत्मदाहको आधा शताब्दीसम्म गुमनामजस्तै थिइन् । सम्वत् २०५०-६० को दशकयता भने योगमाया नेपाली समाजमा एक परिचित र प्रतिष्ठित महिला योद्धाका रूपमा स्थापित भएकी छन् । उनको नाममा नेपाल सरकारले हुलाक टिकट सार्वजनिक गरेको | सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरेको | हरेक वर्ष उनको सम्झना र सम्मानमा कार्यक्रमहरू हुने गरेका छन् । उनका नाममा संघसंस्था वा प्रतिष्ठानहरू स्थापना भएका छन् । उनको जन्मस्थल, साधना वा कर्म भूमि र जलसमाधी लिएको स्थान नेपाले डाँडा,मजुवाबेंसी र भोजपुर जिल्ला सदरमुकाममा सालिक स्थापना गरिएको छ । संखुवासभा र विराटनगरमा उनको नाममा सडक छ । डकुमेन्ट्री र चलचित्र बनाउन सुरु भएको छ । योगमायाका नाममा नेपाल सरकार र विभिन्न संघ संस्थाहरुले पुरस्कार स्थापना गरेका छन् । विद्यालयस्तरको पाठ्यक्रममा उनको जीवनी राखिएको छ | उनको जीवनीमा आधारित नीलम कार्की निहारिकाको २०७४ मा प्रकाशित ’योगमाया’ उपन्यासले नेपाली साहित्यको चर्चित मदन पुरस्कार प्राप्त गरेको छ |

सामाजिक न्यायका लागि तत्कालीन राज्यका नीति, बेथिति र निरंकुशताको विरुद्ध भएका यस्ता आन्दोलनहरूको स्वामित्व ती आन्दोलनहरूबाट स्थापित सरकारले लिनु ती आन्दोलनको सफलता हो । तर त्यस्ता धेरै आन्दोलनको परिणामबाट स्थापित भएका सरकारहरूले त्यस्ता आन्दोलनहरूको स्वामित्व ग्रहण गर्नु पहिले केही न्यूनतम आधारभूत पक्षहरूको ख्याल र तिनका मान्यताहरूको पालना गर्नुपर्छ । राज्य पक्षले त्यस आन्दोलनको आधिकारिक अध्ययन र अभिलेख राख्नुका साथै त्यस क्रममा भएका हिंसा, दमन र क्षतिका बारेमा सम्बन्धित पक्षहरूसँग सार्वजनिक रूपमा क्षमायाचना तथा दुःख प्रकट गर्नुपर्छ । क्षतिको परिणामको मात्राको मापदण्ड बमोजिमको क्षतिपूर्ति,संरक्षण र अन्य विकल्प सम्बन्धित पक्षलाई उपलब्ध गराउनुपर्छ ।

योगमायाको नेतृत्वमा भएको आन्दोलनमा उनका साथै ६८ जनाले एकैसाथ जलसमाधि लिएर जीवन बलिदान गरेका थिए । उनीसँग जेल परेका रत्नमान बस्नेतको कैद अवस्थामै निधन भएको थियो । जेल परेका र जलसमाधिमा सहभागीहरू सबैको सम्मान र सम्झनामा उनीहरू सबैको नामको अभिलेख रहने सार्वजनिक पार्क–बगैंचा आदि निर्माण गर्नुपर्छ ।

योगमाया आफ्नो जीवनको पूर्वार्ध्ददेखि मध्यकालसम्म भारतको असमस्थित फूलबारी गएर बसेको, त्यहाँ घरबार गरेको, छोरी जन्मिएकी र योग साधना आदि गरेर नेपाल फर्किएकी थिइन् । तर उनी असममै फूलबारी भनिएका चार–पाँच स्थानमध्ये कहाँ गएकी थिइन्, त्यहाँ के गरिन्, उनको भूमिका र प्रभाव त्यहाँ कस्तो छ ? यसबारे अहिलेसम्म कसैलाई जानकारी छैन । असमको फूलबारीमा जन्मेकी र योगमायासँग नेपाल नफर्केकी योगमायाकी बाटुली नामकी छोरी लगायत उनका अन्य पारिवारका सदस्यहरूको खोजी र सम्पर्क हुनसकेको छैन । अबको शोध यता पनि केन्द्रित हुनुपर्छ । राज्यले उत्तेजना, आवेग वा अरूका लहैलहैमा लागेर होइन, आफ्नो स्रोत-साधनको उपलब्धताले भ्याएसम्म सबै प्रकारका अनुत्तरित प्रश्नहरूको उत्तर आफैंले खोज्न र आफ्नो मौलिक दस्तावेज बनाएर त्यसको पारदर्शी अभिलेखीकरण गर्न सक्नुपर्छ ।

नेपाली समाजको रुपान्तरण र सांस्कृतिक सुधारका मार्गमा त्यस्ता अन्य धेरै व्यक्तित्वहरूको भूमिका छ । ती सबैको जीवनकालमा नै लिइएका तस्वीर हामीसँग छैनन् । यद्यपि सबैको प्रचलनमा ल्याइएका त्यस्ता स्केच र तस्वीरहरूलाई हामी सजिलै चिन्दछौँ र आधिकारिक मान्दछौँ । योगमायाको जीवनकालमा फोटो खिचिएको भेटिएको छैन। उनलाई चिनेजानेकाहरूसँग सोधेर–बुझेर बनाइएका अनुमानित चित्र आ–आफ्ना तरिकाले परिमार्जन गर्दै प्रयोग गरिएको छ । त्यसरी अलग–अलग प्रयोग गर्नुभन्दा योगमायासँग सरोकार राख्ने संस्था र अध्येताहरूको समन्वयमा एकै प्रकारको आधिकारिक फोटो प्रयोग गर्नु राम्रो हुन्छ । यसमा उनका नाममा स्थापना भएको विश्वविद्यालयको चासो र अग्रसरता आवश्यक छ | योगमायाले हिजो जुन उद्देश्यले त्यो बाटो हिँडेकी थिइन्, ती बाटाहरू बन्द गरेर उनलाई राज्यले काखी च्याप्दैमा उनको उद्देश्यले पूर्णता पाउँदैन । उनको भूमिका र योगदान जुन पक्षलाई अगाडि बढाउने र सुधार हुनुपर्नेमा थियो, तिनलाई किनारमा राखी एकोहोरो जयजयकार मात्र गर्दा उनको आन्दोलनले सफलता पाएको भनेर खुशी मनाउन हुँदैन । योगमायाको आन्दोलन, उद्देश्य, योगदान र भूमिकाको सम्मानका लागि उनलाई खोपीकी देवी बनाएर पूजा गर्ने होइन, उनी हिँडेको बाटो हिँड्न सक्नुपर्छ ।

योगमाया, तत्कालीन नेपाली समाजमा रहेका सबै प्रकारका कुप्रथा वा यथास्थिति विरुद्ध जागरणको विगुल फुक्ने एक साहसी योद्धा र तपस्वी हुन् । उनलाई नेपाली समाजका अन्य सबै अगुवाहरू सरह गणना, सम्मान र सम्झना गरिनुपर्छ । उनी महिला त हुन् तर उनको योगदान महिला भएका कारण वा महिलाका पक्षमा मात्र भएको भनेर सीमित गरिनु हुन्न । उनी महिलाका साथै समग्र सामाजिक जागरणको अगुवा हुन् । तत्कालिन समयमा समुदायमा महिला भनेर हेपिएको अवस्थामा पनि उनले निर्वाह गरेको भूमिका वा योगदान तुलनात्मक रूपमा अझै धेरै छ ।

यध्यपि सामुहिक जलसमाधीको विषयलाई लिएर उनको यो आन्दोलन प्रश्नरहित भने छैन | एकल नेतृत्वको जयजयकार गर्ने र एकल श्रेय दिने मात्र हुनुहुन्न । योगमाया कवि नै हुन् कि होइनन् भनेर धेरैलाई जिज्ञासा लाग्छ । योगमायाको नेतृत्वमा भएको त्यो आन्दोलनमा अरुको भूमिका के ? सबै चेला र अनुयायी मात्र हुन् त ? उनको आन्दोलनका मागहरू र तत्कालिन प्रधानमन्त्रीहरूलाई ‘चढाएको’ बिन्तिपत्रका कागजात किन कुनै सरकारी अड्डामा छैनन् ? तपाईं हाम्रा बाजे-बजुहरूको समयका घरायसी काग़ज़ात सरकारी अड्डामा भेटिने तर योगमायाले सरकारसँग अर्थात् देशको प्रधानमन्त्रीहरूसँग गरेका पत्राचार,आदेश र मागहरू किन भेटिंदैनन् ?

यो आन्दोलनलाई सामाजिक,राजनीतिक र लैंगिक सबै प्रकारका विभेदका कारण दमन गरियो । त्यसैले हुनसक्छ, कुनै रेकर्ड कतै राखिएका छैनन् । गोरखापत्रमा तत्कालिन बड़ा हाकिम नियुक्ति गरेर धनकुटा गएको वा दार्चुला प्यूठान र खोटांगमा बाहुनले हलो जोतेका समाचारहरू प्रकाशित भएका छन् | तर दलबल लिएर गएका बडा हाकिमले पक्राउ गरेर ३ वर्षसम्म जेलमा राखेका १७ जना नागरिकहरूको बारेमा, सरकारले माग पुरा नगरे २ सय ४० जनालले ‘अग्निदाह गरेर मर्छौं’ भनेर गरेको सार्वजनिक अपिलको बारेमा र ६८ जनाले नदीमा हामफालेर बेपता भएको (जलसमाधी लिएको) समाचार किन छैन त ? यी विविध कोणबाट उतर आउन बाँकि छ योगमायाको आन्दोलनको बारेमा । योगमाया लामो समयस्म्म बसेको भारतको आसाम र त्यहीं छोडेर आएकी छोरी बाटुलीको बारेमा परिवार नै बेख़बर कसरी हुनसक्छ ? अझै पनि योगमाया राज्य,परिवार र सामाजिकरुपमा बेखबर हुनु राम्रो होइन |

योगमायाको आन्दोलन किन नेपाली इतिहासको मूल प्रवाहबाट अज्ञात भयो वा त्यतिका लामो समयसम्म विलुप्त गराइयो ? यो प्रश्नको पनि सन्तोषजनक उतर कसैसँग छैन | तर तत्कालिन समाज,सता र इतिहासकारहरूको महिलालाई हेर्ने दृष्टिकोण,तिनको नेतृत्व स्विकार गर्न नसक्ने वा गर्न नचाहने पितृसताको बोलबालाका कारण पनि यो ओझेलमा पर्यो | पारिवारिकरुपमा पनि उनलाई आदर्श मान्ने कोही भएनन् भने बाँकि उनका अनुयायीमा पनि त्यति धेरै मानिसले ज्यान गुमाएको अवस्थमा त्यसबाट पर्न सक्ने सामाजिक र कानुनी प्रश्नको सामना गर्न सक्ने क्षमता नभएको हुनसक्छ | यी सबै प्रश्न र निषेध पार गर्दै स्थापित भएको योगमायाको विद्रोह,उनले गरेको नेतृत्व र भूमिका नेपाली सामाजिक जागरणको विशेष र मौलिक परिणाम हो |

नेपालको सामाजिक जागरणमा महिलाको नेतृत्व र योगमायाको भूमिकालाई समकालिन विश्व परिवेशका अन्य घटनाहरू व्यक्तित्वहरूसँग जोडेर पनि मुल्याङ्कन गर्न सकिन्छ | झाँसीकी रानी लक्ष्मीबाई (सन १८२८१८५८) भन्दा ४० बर्ष कान्छी चर्चित युरोपियन वामपन्थी महिला नेतृ रोजा लक्जेम्वर्गभन्दा बर्ष जेठी थिइन् योगमाया । योगमायाको समयमा अमेरिका युरोपका महिलाहरू मतदानको अधिकारको आन्दोलनमा थिए यता योगमाया आसामबाट फर्केर अरूण नदीको किनारमा आफ्ना अनुयायीहरू जम्मा गर्दै थिइन् | उता एलिजावेथ क्याडि, सुसान बि एन्थोनी पार्कर पिल्वर्रीहरु मिलेर सन १९६८ तिर पाक्षिक अखवाररिभोलुसननिकाल्दै थिए त्यो आन्दोलनको नारा ,”Men, their rights, and nothing more; women, their rights, and nothing less” थियो |

नेपालामा योगमायाको आन्दोलन उत्कर्षमा पुगेको एक दशकपछि रुसमा अक्टोवर क्रान्ति (सन् १९१७ ) भएको थियो योगमायाले नेपालका राणा प्रधानमन्त्रीलाई भेटेर महिला शोषण सामाजिक विभेद विरुद्ध धर्म राज्य स्थापनाको माग गरेको बर्षपछि अमेरिकामा महिलाहरुले मतदानको अधिकार पाएका थिए

यी दृष्टान्तहरूले पुष्टी हुन्छ,योगमाया विश्व महिला आन्दोलनका अगुवाहरूको समकालिन मात्र होइन जेठी हुन् | तर तत्कालिन समाज र सताको कोपभाजनका कारण यो यथार्थले पाउनु पर्नेजति चर्चा र महत्व पाएन | सयौं वर्ष पुराना इतिहासको उत्खनन् गर्न र लिपी कोट्याउन ‘पावर ग्लास’ र धातु सफा गर्ने रसायन गोजीमा बोक्ने नेपाली इतिहासकारहरूले किन आफ्नै आँगनको बलिदानलाई लिपिबध्द गर्न आँखा चिम्ले ? के यो योगमाया महिला हुनु,विधुवी हुनु र समाजका किनाराकृत समुदायका आवाज बोलेकाले मात्र हो कि अरू पनि कुनै कारण थिए ? अनुतरित प्रश्नहरू अझै बाँकी छन् |

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के