इतिहासको कालखण्डमा
कुनै समय म ‘शक्ति’ थिएँ
अर्थात् ‘मातृशक्ति’
मबाट घुम्थ्यो मानव सृष्टिको चक्र
मबाट हुन्थ्यो सन्तानको वंश
मसँगै थियो परिवारको स्वामित्व।
समयसँगै विकास भए
कुटिल मानसिकताहरू
बनाए मेरो जैविकतालाई कमजोरी
प्रहार गरे मेरो अस्तित्वमाथि
लुटे मेरो शक्ति, स्वामित्व, आत्मसम्मान र स्वाभिमान
बनाए दोस्रोमा अधीनस्थ वस्तु
‘दोस्रो दर्जाको’ मान्छे !
परिकल्पना गरे—
एउटा त्यस्तो सत्ता संरचना
बेदखल गरे अंश र वंशको अधिकारबाट
निर्माण गरे पितृसत्ता
र भने—
यो ‘पुरुषप्रधान’ व्यवस्था हो !
पुरुष !
तिमीलाई सत्ताको उत्तराधिकारी बनाएर
उभ्याइयो मेरो अस्तित्वको प्रतिपक्षमा
तिमी पितृसत्ताको रक्षाकवच भिरेर
सदियौँदेखि आजसम्म पनि
ममाथि लगातार गरिरह्यौ चौतर्फी शोषण,
अत्याचार र हिंसा ।
आफू प्रथम हुनुको अहम् बोकेर
ममाथि थोपरिरह्यौ ज्यादती
भनिरह्यौ म प्रथम, तँ दोस्रो
म उत्कृष्ट, तँ निकृष्ट
म सक्षम, तँ असक्षम
म बहादुर, तँ कायर
म चेतना, तँ शरीर
म मालिक, तँ दास
म ईश्वर, तँ भक्त।
तिमीले आफैँसँग कहिल्यै प्रश्न गरेनौ—
एउटै रथका दुई चक्कामा
कुन प्रथम र कुन दोस्रो होला भनेर?
कुन प्रधान र कुन गौण होला?
एउटै अस्तित्वका दुई पाटामा
कुन उत्कृष्ट र कुन निकृष्ट होला?
रातविना दिनको अस्तित्व
र दिनविना रातको सौन्दर्य के छ?
आकाश र धर्तीमा कुन गौण?
पवनको बताससँग कस्तो सम्बन्ध छ?
तिमीले प्रश्न गर्दै गरेनौ
न आफैँसँग, न तिम्रो सत्तासँग ।
तिमीले बुझेनौ सहअस्तित्वको मूल्य
दियो र बातीको अस्तित्व
नङ र मासुको सम्बन्ध।
जब कि तिमीलाई थाहा छ—
दियो र बाती, नङ र मासुजस्तै
तिमीविना म र मविना अपूर्ण छ तिम्रो अस्तित्व !
अब त आँखा खोलेर हेर
निस्क पितृसत्ताको चङ्गुलबाट
आफू प्रथम हुँ भन्ने अहम्बाट
जो हाम्रो सुखको दुस्मन बनेको छ।
बरु आऊ मेरो हातमा हात राख
र गर समानताको यात्रा
त्यस्तो यात्रा—
जसले तिमीलाई ममा
र मलाई तिमीमा गर्नेछ एकाकार
निर्माण गर्नेछ लैङ्गिक द्वन्द्वरहित सुन्दर संसार
घट्नेछ पितृसत्ताको आयु
हुनेछ सधैँका लागि महिला दुःखको अन्त्य
त्यहीँ बन्नेछ एउटा समन्वयको एकाइ
मुस्कुराउनेछ सृष्टि
हाँस्नेछ आठ हजार वर्ष पुरानो दमित हाँसो
पलाउनेछ विभेदरहित कोपिला
र फक्रनेछ सधैँका लागि समताको फूल।