ओ ओकोनालुफ्टी !
तिमी ग्रेट स्मोकी पहाडमा जन्मेर
टुकासेगी-लिटल टेनेसी टेनेसी हुँदै मिसिसिपी पुग्छौ
दसौं हजार वर्षदेखि हामी
तिम्रै पोल्टामा लुट्पटिएका छौँ
हामीले तिमीमा जीवन भेटेका छौँ
निस्वार्थ तिमीबाटै पालित पोषित छौँ हामी
तिमीले हामीलाई मान्छे बनायौ
तिम्रै अमृत पिउँछौँ
तिम्रै श्वास फेछौँ
हामी साना मान्छे
हामी चेरोकी छोरीहरू
तिमी हाम्रो लामो मान्छे !
नयाँ आउनेहरूका लागि भने
तिमी फगत निर्जीव नदी होलाऊ
तिमीसँग प्राण छैन
मात्र पानी छ भनिएला
त्यो पानी जसले जे गरे पनि हुने
जसले जता लगे पनि हुने
थुने पनि हुने
धमिल्याए पनि हुने
आफ्नो सुविधाअनुसार
बेचे पनि हुने !!
तिमी बग्न पाए बग्छौ
बग्न नपाए जम्छौ
जसले जता सोझ्यायो, उतै सोझिन्छौ
तिम्रो सफेद स्वरूपमा
कसैले विष नै मिसाइदिए पनि
केही प्रतिकार गर्दैनौ।
तिम्रो छातीमाथि एल्मा बाँध उभ्याएर
थुनिदिए तिमीलाई
र हातपाउ बाँधेर चरम उपभोग गरे
घाउ बनाएर तिमीलाई
हामीलाई दुखाए !
सय वर्षदेखि रोकिएको छ समय
तिमीसँगै प्रवाहित हुने
सयौँ जलचरको गति छेकिएको छ
रोकेर पानीको बाटो
थुपारेर बालुवा र माटो
उनीहरूलाई त भयो होला नसोचेको आर्जन
तर रोकिदिए नदीको जीवन्त श्वास
मासिदिए हाम्रो जिउँदो संस्कृति र बास
तिम्रो छातीको बाँधमा
हाम्रो इतिहास बल्झेर
घाउ दुख्छ, दुखिरहन्छ ।
ओ ओकोनालुफ्टी !
उनीहरूले जति लुटे पनि, जति थुने पनि
तिमी त हाम्रा लागि
जीवनको एक धरोहर हौ
लामो इतिहास बोकेको
लामो भविष्य धानेको
एउटा सिङ्गो, एउटा लामो मान्छे हौ।
एपालाचिया, जहाँबाट तिमी जन्मन्छौ
त्यो तिम्रो शिर हो
हजारौं माइल परको समुद्र
— जहाँ तिमी मिसिन्छौ
त्यो तिम्रो पाउ हो
यस बिचमा जे छ, त्यो सम्पूर्ण भीमकाय
तिम्रो शरीर हो ।
हामी चेरोकी तिमी भित्रबाटै जन्मन्छौँ
तिम्रै रसपानमा हुर्कन्छौँ
जे छौँ, तिमीमै आश्रित छौं
जे जे गर्छौँ, तिमीबाटै निर्देशित छौँ
तिमी थियौ र त हाम्रा पुर्खा थिए
हाम्रा पुर्खा प्रत्येक बिहान
तिमीभित्र डुबुल्की मार्थे,
पवित्र हुन्थे
र, एउटा निर्मल दिन सुरु गर्थे
यही परम्पराले चेरोकी चिनायो
तिमी छौ र त हामी छौँ
तिमी रह्यौ भने हाम्रा सन्तति हुनेछन्
हाम्रो अस्तित्व हुनेछ।
ओ लामो मान्छे !
ओ ओकोनालुफ्टी !!
तिम्रो लामो इतिहास छ
र त हाम्रो चिनारी छ
तिमी स्वस्थ भयौ भने
हामी मस्त हुनेछौँ
तिमीलाई दुख्दा
हामी सम्पूर्ण चेरोकी चरक्क चिरिन्छौँ
नयाँ आउनेहरूले त
फगत नदी देख्लान्
निहित स्वार्थका लागि नयाँ नयाँ कथा
लेख्लान् तिमीलाई उपभोग्य वस्तु बनाएर व्यापार
गर्लान्
तिमीमाथि व्यभिचार गर्लान्
तर हामी चेरोकी !
हामीलाई यो स्वीकार छैन
हाम्रो लामो मान्छेसँग हाम्रो लामो सम्बन्ध छ
लामो सपना छ, लामो भरोसा छ
लामो मान्छे हाम्रो माता हो, हाम्रो दाता हो
हामीलाई हाम्रो लामो मान्छेको
लामो र स्वस्थ जीवन चाहिन्छ
ओ लामो मान्छे !
ओ ओकोनालुफ्टी !
तिमी अनन्त कालसम्म
लामो मान्छे नै रहनू
हामी चेरोकी
हामी आदिवासी
तिम्रो दीर्घ जीवनका लागि
तयार छौं सङ्घर्ष गर्न
परिआए, तयार छौं मर्न
हाम्री हजुरआमाले सिकाएझै
तिमीमै डुबुल्की मारेर
पुराना पाप पखालौँला
नयाँ सुनौला सपना सजाउँला
प्रिय लामो मान्छे
हामी चेरोकी छोरीहरू तिमीसँगै उभ्युँला
मानव स्वार्थका लागि होइन
मानवेतरसहितको सहअस्तित्व पुनर्स्थापनाका लागि
एल्मा बाँध भत्काइदिउँला
मिचिएका सिमाना साँध फिर्ता लिउँला
तिमी छौ र त हामी छौँ
तिम्रो सत्वमा हाम्रो अस्तित्व छ ।
(इस्टर्न ब्यान्ड अफ चेरोकी इन्डियन्स नर्थ क्यारोलाइनाको सङ्घीय मान्यताप्राप्त आदिवासी जनजाति हो । पन्ध्र हजारभन्दा बढी सदस्य रहेको यस समुदायका लागि ओकोनालुफ्टी लगायतका नदीहरू उपभोगको स्रोत मात्र नभई जीवित सांस्कृतिक धरोहर हुन् । सन् २०२६ जनवरी २६ मा यो चेरोकी स्वायत्त सरकारले चेरोकी समुदायको परम्परागत मान्यतालाई उजागर गर्दै नदीलाई आधिकारिक रूपमा ‘लामो मान्छे’ घोषणा गरेर नदीको अधिकारलाई आधारभूत अधिकारका रूपमा स्थापित गरेको छ। यो ऐतिहासिक प्रस्ताव संरक्षणमा समर्पित आदिवासी महिलाहरूको संस्था नर्थ अमेरिकन इन्डियन वुमेन्स एसोसिएसन (NAIWA) डटर्सले अगि सारेको थियो ।)