Asmita Magazine

#

मुन्धुमी आमा

उँभैउँभो त पुप्पुसेन तागासेन गाउँ जाने बाटो
उँधोउँधो त तेल्लारा लालोतिम फर्किआउने बाटो
जोगिएर हिँड्नू, लाभ्रेकिरा खस्ला
सम्हाली टेक्नू, पाइताला भासिएला
थैया बाबु थैया…
यो जङ्गल तिम्रै
जल, जमिन तिम्रै
जमिनमाथिका सबै सृष्टि तिम्रै
अअइ… अअइ… !

म मुजिङ्ना खेयङ्ना
सृष्टिको पहिलो मान्छे
पहिलो शिकारी सुसुवेङ लालावेङकी आमा ।

हामी
उडिहिँड्थ्यौँ उँभो फक्ताङलुङ
पक्लुङ हानिहिन्थ्यौँ मेन्छ्यायेम धाप
शिकार खेलिहिँड्थ्यौँ तक्सङ तेम्भो
बाजको कब्जामा पर्नुअघि ।

उता… पर
समुद्रपारि पखेटा उम्रिएको
‘ऐन’ नामक बाज
उड्यो शिकारको खोजीमा
गङ्गा नदीको बाटो हुँदै
एक दिन आइपुग्यो तमोर

उसको नजर खस्यो सङ्लो पानीभित्र
उन्मुक्त पौडिरहेको ‘म’ लाई देखेपछि
फिंजार्यो पखेटा, फैलायो नङ्ग्रा
कोपऱ्या पाठेघर
घिसार्दै घिसार्दै
ल्याइपुऱ्यायो उसको गुँडमा
र, पल्टाउन थाल्यो थरी थरी किताबहरू
म हुँ
चट्टान फोडेर उभिएको रुख
तर, गुजुल्टिए मैमाथि कागजै कागजका ऐंजेरु
ढपक्कै ढाकियो मेरो अस्तित्व ।

पाँच हजार वर्षदेखि
गुजुल्टिएका ऐंजेरु बोकेर
हेर्छु यो गुँडबाट
पर परसम्म फिँजाइएका कोटैकोटका दोकानहरू
जहाँ राखिएका छैनन् मेख्ली, तागाबा र हाञ्जाङ
छैनन् मुन्धुमसावा
त्यहाँ चिरफार गर्छन् मेरो गर्भको इतिहास
नाङ्गै उभ्याएर ।

म त
यो सृष्टिकै पहिलो मान्छे
वनमा उड्ने वनचरी
थाक्याक् कुम्मा सुनुयुमा
तिम्रा संस्था स्थापित हुनुअघि
तिम्रा कागजहरू आविष्कार हुनुअघिदेखि नै
सृष्टि थाम्दै ल्याउने शक्ति
आज कागजै कागजमा लपेटिंदा
अङ्गभङ्ग भएको छ
– मेरो मातृत्व
– मेरो गौरव
– मेरो अस्तित्व
– मेरो अधिकार

कस्तो निर्लज्ज !
मेरै योनिमार्ग हुँदै धरती टेकेकाहरू
मेरै छाती चुसेर बाँचेकाहरू
मेरै आँला पक्रिएर हिँड्न सिकेकाहरू
आक्रमणमा उत्रिए मैमाथि ।

सुन
पाठेघरका कथित शासकहरू
सिमलीको झ्याङमा बेरिएका लहराजसरी
गुजुल्टिएका तिम्रा कागजी ऐनहरूले
बेस्सरी डामिरहेका छन् मेरो शरीर
हलचलाउन सकिरहेको छैन म
आऊ
आजाद गर मलाई
र, अघि बढाऔं समानान्तर पाइलाहरू
इन्कार गरे त
मेरै हातमा आइपुगेको छ आज
हामी दुवैको जिन्दगीको रिमोट ।
_______________________________

पुप्पुसेन तागासेन – तागेरा निङ्वाफुमाङ (ईश्वर) कहाँ जाँदा भेटिने गाउँ
तेल्लारा लालोतिम – फर्किंदा भेटिने गाउँ, जहाँ बास बस्न मिल्दैन भनिएको छ
मुजिङ्ना खेयङ्ना – मुन्धुमअनुसार सृष्टिको पहिलो पूर्ण मान्छे
सुसुवेन लालावेन – मुजिङ्ना खेयङ्नाको छोरा, शिकारीमध्येको जेठो
फक्ताङ्लुङ – कुम्भकर्ण, मुन्धुममा धेरै प्रयोग हुने ठाउँ
पक्लुङ – छेलो
मेन्छ्यायेम धाप – तेह्रथुम जिल्लामा अवस्थित मेन्छ्यायेम डाँडा
मेख्ली, तागाबा र हाञ्जाङ – महिलाले लाउने गाउन, पुरुषले लाउने कपडा र राजकुमारले लगाउने कपडा
मुन्धुमसावा – मुन्धुमबारे बताउने मान्छे
थाक्थाक् कुम्मा सुनुयुमा – मुन्धुममा वर्णित तानसहितकी एक महिला, जसलाई युमा माङको रूपमा पूजा गर्ने गरिन्छ ।
तक्सङ तेम्भो – लेकबेसी

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के