तिमीलाई
लय, रङ्ग र उज्यालोमा
एकैसाथ देखें,
किरणका पाउले विस्तारै
पृथिवीमाथि टेकेर फैलियो बिहान
जब ध्वनि छर्दै यस धरामा,
त्यही बेला तिमीले
मलाई पहिलो अक्षर आरम्भ गरायौ,
त्यो अक्षरसँगै धेरै आकारहरू जन्मे
धेरै अक्षर र बिम्बहरूले मलाई स्नेहले
अँगालोमा बाँधे, हात समातेर हिँडाए,
मलाई आकाश, धरती, जङ्गल, मैदान, पर्वत,
खोला र नदी अनि आँखाले भ्याएसम्म देख्न सकिने
उचाइको चित्र हेर्न सिकायौ,
तिम्रो कविता थियो त्यो
मेरो मन र हृदयमा बसेको
आँखा, मन र विवेकले एकैसाथ वरण गरेको
मेरो पहिलो पृथिवी मन्त्र थियो त्यो।
त्यही यात्रामा निरन्तर
किरणका पाउले टेकेर
हिँड्न यो जगत्मा मलाई छोडिदियौ
म हिँड्दै गएँ तर एक्लो कहिल्यै थिइनँ,
तिमीले अरू अवतारहरूमा आउनेहरूको
परिकल्पना गरेकी थियौ।
हो, त्यहीँ भेटै मैले फेरि तिमीलाई
तिम्रा अवतारहरूमा
देखें कवितामा गाएँ,
महावर्णनहरूमा उच्चारण गरें।
तिमी सधैं व्यापक छ्यौ
आकाशमा तिम्रो लय उज्यालो
बादल, घाम जून र ताराहरूमा
चलिबस्छ एउटा नाद बोकेर,
पृथिवीमा तिमी जङ्गल र नदनदीको संवेगले
विस्तारित भएकी छ्यौ
यो मनदेखि लाखौँ मनको अनन्त उत्साह र संवेगमा ।
तिमी व्यापक छ्यौ र म
तिमीलाई वरण गर्छु
तिमी अजस्र स्नेह र रचनाका स्पन्दनले
यो जगत्मा फैलिएकी छ्यौ र म
तिम्रा व्यापक हरियालीमा बर्बर दमन चल्दा
विनाशका प्रयोग भएको देखेर
मर्माहत भएको बेला
केही शब्दहरू लेखेर सानो आँधीजस्तो उठ्छु
तिम्रा आकाशमा विषाक्त बादल उठेका बेला
उत्तर र दक्षिण ध्रुवका
हिमाच्छादित कलेबरगल्दै गएको देखेर
म क्रोध र पीडाले उठेको बेला
मेरो जीवनको बिहानीमा तिमीले
मसिनो स्वरमा गाएर
उजागर गरेको बिहानको लय
अहिले पनि मेरो र सबैको लय हो।
तिमी थियौ र छौ
अनि एकमा अनेक भएकी छ्यौ,
म तिम्रा तिनै अवतरणहरूको उपासक
आज आकाश र पृथिवीका
तरङ्गहरूमा नित्य जागरुक भएकी होली !
मेरो आधार भनेकै प्रेम हो
मेरो गीत भनेकै तिम्रो आकाश र पृथिवी,
हिमाल र सागर वन र खोला,
छहरा र लहरापहराको सिम्फोनी हो ।
हे ! महान्,
म एक अत्यन्त जीवनको माद पिएको मान्छे
तिम्रो उपासक
सधैं जीवनका तरङ्गले भरिएको मानव
यो पृथिवी र चराचरमा
पत्थरमा तिम्रो आकार बनाउनेका
छिनामा अनि नौलाख तारा उदाए सँगै
मैले आकाशमा उठ्ने तिम्रा हार्मोनी र
एकल तानमा बराबर लिने गरेको छु
यति नै भन्दा पनि भयो अहिलेलाई…
तिम्रा साना र व्यापक आकारहरूको
अनि तिमीले अनेकौँ कष्ट भोगेर पनि
सधैं दिएको मायाको आह्वानमा
आज तिमीलाई यत्ति भनिराखौँ
हामी सधैं र बलियोसँग सहभागी भइआएका छौँ
अर्को भेटसम्म !