Asmita Magazine

#

नारीवादी चेतनाको संवाहकका रूपमा ‘मानुषी’ कविता

१. पृष्ठभूमि र परिचय

वि.सं. १९९४ मा दार्जिलिङमा जन्मिएकी विष्णुकुमारी वाइबा नेपालमा बस्न थालेपछि र साहित्यतिर सक्रिय हुन थालेपछि ‘पारिजात’ मा रूपान्तरित भइन् र यही नाम नै उनको स्थायी परिचयको माध्यम बन्यो । कविताविधामार्फत लेखनारम्भ गरेकी पारिजातले लेखनका प्रारम्भिक वर्षहरूतिरै उपन्यासलेखनमा समेत अभ्यास गर्दै कथातर्फ पनि कलम चलाइन् । आफूले प्रारम्भमा कलम चलाएका यी तीनैओटा विधामा लेखकीय विशिष्टतासमेत हासिल गर्न सफल पारिजातले सङ्ख्यात्मक दृष्टिले सबैभन्दा बढी योगदान दिएको विधा उपन्यास, त्यसपछि कथा र त्यसपछि कविता रहेको देखिन्छ । कवितातर्फ उनका आकाङ्क्षा, पारिजातका कविताहरूबैँसालु वर्तमान गरी तीनओटा सङ्ग्रह प्रकाशित भएका छन् जसमध्ये तेस्रो कवितासङ्ग्रह उनको कवि जीवनको विशिष्टतम उपलब्धि हो । यस सङ्ग्रहभित्र सबै कविता उत्कृष्ट रहेका छन् र तीमध्ये पनि अझ विशिष्ट मान्न सकिने तीन-चारओटा कवितामध्येको एउटा हो ‘मानुषी’ शीर्षकको कविता ।

प्रारम्भतिरका लेखनमा व्यक्तिवादी प्रवृत्ति बढी देखा परेको भए तापनि लेखनले निरन्तरता पाउँदै जाने क्रममा पारिजातको लेखन शोषित-पीडित-निमुखा मानवका पक्षतर्फ नै झुकेको छ र खास गरी कथा र उपन्यासमा यस प्रवृत्तिको प्रारूप उनको लेखनको अस्तित्ववादी चरणमा नै देखा परिसकेको हो । समस्त शोषित-पीडित-निमुखाका दुःखले उनलाई पिरोल्छ र उनी तिनका दुःख निवृत्तिका पक्षमा कलम चलाउँछिन् । सबै पुरुष शोषित-पीडित-निमुखा छैनन्, शोषक-पीडक पनि यिनैमध्येका छन् र यी आफूअनुकूलका सामाजिक-धार्मिक-सांस्कृतिक रूढिहरूका आडमा उभिएका छन् । नारीहरू अधिकांश शोषित-पीडित-निमुखा छन् र जो यस्तामध्येमा नपर्ने सीमित नारीहरू छन् तिनको उभिने आधार सामाजिक-धार्मिक-सांस्कृतिक रूढि नभएर तिनद्वारा सञ्चालित र संरक्षित पुरुषसाम्राज्यको हैकम हो । यस कारण तिनको शोषित-पीडित-निमुखा नहुनुको कुनै अर्थवत्ता छैन । यसैले मूल रूपमा नारीहरू शोषित वर्गमा नै पर्छन् । पुरुषमाथि जति शोषण थोपरिएको छ त्यसबाट त महिलाहरू पनि मुक्त छैनन् नै । त्यसका अतिरिक्त महिलाहरू ‘महिला हुनु’ का नाताले पितृसत्तात्मक हैकमका जाँतामुनि पनि उत्तिकै चेपिनुपरेको छ । यसैले सबै मानवको मुक्तिमा महिलासमुदायको समग्र मुक्ति सम्भव छैन । महिलाहरूले जसरी लैङ्गिक भिन्नताले गर्दा अर्को छुट्टै खाले शोषण खप्नुपरेको छ त्यसै गरी उनीहरूले महिलामुक्तिका निम्ति अर्को छुट्टै सङ्घर्ष गर्नु पनि जरुरी छ । यसैलाई पश्चिमाहरूले ‘नारीवादी आन्दोलन’ को संज्ञा दिएका छन् जुन प्रत्यक्षतः पितृसत्ताका विरुद्ध केन्द्रित छ । कतै कतै यसले पुरुषविरोधी धारको रूप पनि लिएको देखिन्छ तापनि यस आन्दोलनलाई महिलामुक्तिसँगै गाँसेर सामाजिक आन्दोलनका रूपमा अगाडि बढाउनेहरूले यसलाई व्यक्ति पुरुषका विरोधमा नभएर पितृसत्ताका विरुद्ध लक्षित गरेका छन् । पारिजात यसै वर्गमा पर्छिन् । उनले पितृसत्ताका चेपमा पेलिएका महिलालाई त्यस स्थितिबाट मुक्ति दिलाउनका लागि पुरुषसँगै सहयोगको कामना गरेकी छन्, किनभने महिलाको मुक्ति महिलाकै मात्र नभएर समग्र मानवसमुदायकै सुख-शान्ति-समृद्धिको कामनासँग जोडिएको कुरा हो । पारिजातको ‘मानुषी’ शीर्षकको कविता यसै कोटिको महिलामुक्ति आन्दोलनसँग जोडिएको स्पष्ट नारीवादी चेत अभिव्यक्त भएको कविता हो ।

२. ‘मानुषी’ कविताको विश्लेषण

प्रस्तुत कवितामा सम्बोधक र सम्बोधित गरी दुई पक्ष उभिएका छन् । यो कविता नारीका पक्षबाट लेखिएकाले नारी पक्ष स्वयं सम्बोधकका रूपमा उभिएकी र पुरुष चाहिँ प्रतिपक्षमा सम्बोधितका भूमिकामा उपस्थित गराइएको छ । यहाँ पुरुषको नकारात्मक भूमिकाको उद्घाटन गरिएको छ र नारीपक्षद्वारा त्यस भूमिकाको अन्त्यको चाहना व्यक्त गरिएको छ । यसरी नारीचरित्रले पक्षको र पुरुष चरित्रले विपक्षको (पुरुष नकारात्मक भूमिकामा आएकाले) भूमिका निर्वाह गरेका छन् । यहाँ पुरुष मौन-निष्क्रिय सम्बोधितका रूपमा आएको छ । यस कवितामा उपस्थित पुरुष व्यक्ति नभएर सिङ्गो समुदाय हो र महिला पनि व्यक्ति नभएर समुदायकै रूपमा आएकी छिन् । यस कवितामा मानवका इतिहास र वर्तमान दुवै उपस्थित छन् । नारी र पुरुष दुवैको भूमिका इतिहासका सापेक्षतामा वर्तमानमा परिवर्तित अवस्थामा रहेको छ । दुवै आआफ्ना ऐतिहासिक भूमिकाबाट तिरोहित बनेका छन् । इतिहासमा रहेको नारीको भूमिका वर्तमानमा पुरुषले ग्रहण गरेको छ र आफूमा स्वाभाविक रूपमा रहेको ऐतिहासिक भूमिकालाई पुरुष स्वयंले यत्न र सचेततापूर्वक परिवर्तित अवस्थामा पुऱ्याएको छ । यति हुँदाहुँदै पनि नारीको हृदय पक्षमा भने पुरुषको स्थानान्तरण हुन सकेको छैन । जीवनका अन्य सन्दर्भमा जस्तै नारीको हृदय पक्षलाई पुरुषले न त आफूमा ल्याउनु जरुरी ठानेको छ न त त्यसको कदर गर्न नै जानेको छ । नारी-पुरुष दुवै यहीँनिर दुर्घटित भएका छन्; पुरुष स्वयंद्वारा दुर्घटित बनेको छ स्वयंले समेत थाहै नपाईकन र नारीचाहिँ पुरुषको स्वार्थान्धताले दुर्घटित बनेकी छिन् । पुरुषलाई यो स्वार्थान्धता पितृसत्तात्मक सामाजिक संरचनाको सहुलियतस्वरूप प्राप्त भएको हो । नारीले वर्तमानमा भोगेको शोषण, उत्पीडन जीवनको यही बिन्दुसँग सम्बन्धित छ । जुन दिनसम्म नारीको हृदय पक्षको समुचित मूल्याङ्कन गर्नमा पुरुष आफूलाई सक्षम तुल्याउँदैन त्यस दिनसम्म महिलामुक्ति आन्दोलनको सफलता सम्भव छैन । यही सुझबुझ आर्जन गर्नका निम्ति पारिजात ‘मानुषी’ कवितामार्फत पुरुषसमुदायलाई आग्रह गरिरहेकी छन् । पुरुषले यो सुझबुझ आर्जन गर्नासाथ पचास प्रतिशत महिलामुक्ति प्राप्त भइसक्छ र बाँकी प्रतिशत मुक्ति समग्र शोषित, पीडित जनताको मुक्तिआन्दोलनको सफलतासँगै प्राप्त हुन्छ ।

कविताको कलेवरमा प्रस्तुत मध्यम संरचना, विशिष्ट भाव एवं गद्य लय तथा सरल सम्प्रेष्य भाषाशैलीका वैशिष्ट्यले ‘मानुषी’ शीर्षकको कविता उत्कृष्ट रहेको छ । यस कवितामा कविताका अन्य पक्षहरूसमेत उत्कृष्ट छन् तापनि यसको प्रमुख उत्कृष्टता भने भावमा झल्किन्छ । यस कविताको भावका केन्द्रमा नारी रहेकी छिन् र यो नारीप्रधानतालाई कविताको शीर्षकदेखि नै परिलक्षित गरिएको छ । कविताले शीर्षकदेखि नै नारीवादी चेतना-उत्प्रेरित विद्रोह प्रारम्भ गरेको छ । नारीलाई ‘मान्छे होइन’ भन्ने र ‘मान्छे’ भन्दा पुरुष मात्र बुझिने परम्परामा नारीलाई यस कविताले ‘मान्छे’का रूपमा प्रस्तुत गरेको छ । मनुका सन्तानलाई मानव भनिन्छ । मानवको पुलिङ्गी स्वरूप मनुष्य भएझैँ स्त्रीलिङ्गी स्वरूप मानुषी हो र त्यसैलाई नारीको पहिचान ठानिनुपर्छ भन्ने आग्रहलाई यस कविताले अगाडि सारेको छ । पुरुषको व्यक्तित्वको पहिचानका निम्ति ‘मान्छे’ शब्दका अगाडि अरू शब्द जोड्न आवश्यक नठानिएझैँ नारीको पहिचानका निम्ति पनि ‘मान्छे’ शब्दको अगाडि अरू शब्द थप्नु आवश्यक नठानिने संस्कृतिको विकास आवश्यक ठानेर पारिजातले नारीका निम्ति ‘मानुषी’ शब्दको प्रयोग गरेकी छन् । ‘मान्छे’ शब्दमाथि पुरुषले एकलौटी अधिकार जमाउने परम्पराको विद्रोहको प्रकटीकरण हो नारीका निम्ति प्रयोग गरिएको ‘मानुषी’ शब्द ।

नारी नरका तुलनामा पछाडि परेकी छ भन्ने तथ्यबोध पारिजातलाई पनि भएको छ तर उनको ठहर त्यसको कारण नारीको निष्क्रियता वा अक्षमता होइन भन्ने छ । क्षमताका दृष्टिले नारी नरभन्दा कम छैन । यति हुँदाहुँदै पनि नारी किन पछाडि परेकी छ त? भन्ने प्रश्न आफैँ अगाडि सरेको छ । नारीमा विद्यमान कुन विशिष्टताले उसलाई पछाडि धकेल्यो र नरमा विद्यमान कुन विशिष्टताले उसलाई अगाडि पुऱ्यायो भन्ने प्रश्नको जबाफ खोजाइ हो ‘मानुषी’ कविता । पुरुषले मानव हुनुका नाताले जेजति अनुभव गर्छ त्यति नै र त्यस्तै अनुभव गर्छ महिलाले पनि । पारिजात मानव-इतिहासका प्रारम्भमा उसको जीवनको स्थिति यति हीनतर छँदा पनि थिएन तर आज महिला किन जीवनको यो दारुण परिस्थिति भोग्न बाध्य भएकी छिन् भन्ने कुराको चिन्तनमा मग्न बनेकी देखिन्छिन् ।

उक्त कवितामा महिला र पुरुषका बिचका भिन्नता र तिनका आआफ्ना मौलिकता पर्ग्याइएका छन् । एकलकाँटेपन पुरुषको मौलिकताका रूपमा र सहअस्तित्वप्रेम महिलाको मौलिकताका रूपमा आएको छ । मानव-इतिहासका प्रारम्भमा पनि ऊ एकलकाँटे थियो, उसको कुनै ठेगाना थिएन । महिलाले नै उसलाई आफ्नो ओडारमुनि ल्याएर एउटा ठेगाना प्रदान गरिन्, सहअस्तित्वको मन्त्र पढाइन् तर ऊ पटक-पटक विचलित भइरह्यो । नारीले पुरुषलाई आफूसहित संयुक्त अधिकारमा प्रदान गरेको ठेगानामा आधिपत्य चाहिँ आफ्नो कायम गरी त्यसको बन्धन चाहिँ नारी एक्लैको काँधमा थोपरिदिएर पुरुष आफू चाहिँ बन्धनमुक्त भएर एक्लै अगाडि बढिरहेको छ र ऊ महिलाभन्दा कोसौँ टाढा पुगिसकेको छ । पुरुष एक्लै जहाँ पुगेको छ त्यहाँ उसको अहङ्कारलाई मात्र तृप्ति मिलेको छ । जीवनको यो अवस्थितिमा सुखी त पुरुष पनि पक्कै छैन । जीवनको सुख त उसले त्यहाँ पटक्कै भेटेको छैन, किनभने त्यो त नरनारी दुवैको सहभागितामूलक सहअस्तित्वमा मात्र प्राप्त हुन्छ; तर यो कुरा पुरुषले सभ्यताको यस मोडमा आइपुग्दासमेत पनि बुझ्न सकेको छैन । नत्र त अद्यापि ऊ किन पो एकलकाँटे भइरहन्थ्यो र? यसैले नै सायद पारिजातलाई यो कविता लेख्नैपर्ने भन्ने आवश्यकताबोध भएको हो । यस कवितामा परिलक्षित नारी र नरका दुई छुट्टाछुट्टै विशिष्टतामध्ये उनले पुरुषको आचरणमा निहित एकलकाँटेपनका विरोधमा महिलाका आचरणमा निहित सहअस्तित्वको प्रेममाथि आफ्नो आस्था बिसाएकी छन् ।

नारी र नर एउटै नभएर फरक छन् । यही फरक हुनुमा नै ती दुवैको अस्तित्व सुरक्षित छ । अन्यथा एउटाको अस्तित्व उहिल्यै समाप्त भइसक्ने थियो । नारी र नर एकअर्काका पूरक हुन्, दुवैका गुणहरू एक ठाउँमा राख्दा मात्र जीवनले पूर्णता प्राप्त गर्दछ । यसैले नरनारी दुवै एकअर्काविना अपूरा र अधुरा छन् । एउटाले अर्काको अस्तित्व नामेट गर्न खोज्दा उसले आफ्नै अस्तित्वमाथि कुठाराघात गरिरहेको हुन्छ । महिला पुरुष होइन, पुरुष महिला होइन तर हाम्रो सामाजिक पर्यावरणमा पुरुषको विशिष्टता सम्मानित छ र महिलाको विशिष्टता चाहिँ अपमानित छ । महिलाको विशिष्टताको अपमानमा पुरुषको विशिष्टता बढी सम्मानित भएको सम्झने परम्पराले सिङ्गो मानवसमुदायको हित गरेको छैन । नरनारीका बिचका समानताभन्दा विशिष्टताले बढी महत्त्व प्राप्त गर्नुपर्ने हो भन्ने मान्यतालाई पारिजातले यस कवितामार्फत अगाडि सारेकी छन् ।

पारिजातले मानव-अस्तित्वका सन्दर्भमा महिलाका विशिष्टतालाई बढी टड्‌कारो रूपमा महसुस गरेकी छन् । महिलाका सबै अनुभूतिको भागीदार पुरुष हुन सक्तैन । महिलाका मौलिक अनुभूतिहरू छन् जसका सुख र दुःखको पुरुषले अनुमान मात्र गर्दछ । रजस्वलाको कष्ट, गर्भधारणको कष्ट र प्रसवको पीडा पुरुषले भोग्नु पर्दैन । यी कुराहरू नारीको मातृत्वसँग सम्बन्धित छन् । यी नारीका नितान्त वैयक्तिक अनुभूति हुन्, जसलाई पुरुषले बुझ्नै सक्तैन तापनि त्यसलाई आफ्नै किसिमले अर्थ्याउने प्रयत्न भने गर्छ । यहीँनिर पुरुष आफूलाई सर्वज्ञ देखाउन चाहन्छ र यहीँनिर मानवजीवनका विकृति र विसङ्गतिले जन्म लिइराखेका हुन्छन् ।

पुरुष उत्पीडक छ र नारी उत्पीडित छ । यस परिस्थितिको सिर्जना पुरुषको एकलकाँटेपनले गरेको हो । पुरुषको दृष्टिकोण सङ्कुचित छ, ऊ आफ्नो व्यक्तिगत स्वार्थलाई बढी महत्त्व दिन्छ । आफ्नो स्वार्थपूर्तिका क्रममा अर्को पक्षलाई कति हानि पुगिरहेको छ भन्ने कुराको ऊ अनुमान पनि गर्न सक्तैन । यसैले त ऊ नारीमाथि बलात्कार, अझ सामूहिक बलात्कार गर्छ; आफू पनि मान्छे भएर अर्को मान्छे (नारी) लाई बेच्छ र आफू मरेर गएपछि आफ्नी पत्नीको व्यक्तिगत अस्तित्वसमेत समाप्त गर्नका निम्ति सतीदाहको प्रावधान खडा गर्छ तर महिला एकलकाँटे छैन, ऊ नरनारीको सहअस्तित्वलाई प्रेम गर्छ, ऊ नरको विशिष्टताको सम्मान गर्छ । यसैले त ऊ पुरुषलाई बलात्कार गर्दिनन्, ज्यादती आफूले गरेर कलङ्कको टीका चाहिँ पुरुषलाई लगाइदिने काम पनि गर्दिनन्; आफ्नो भौतिक सुखप्राप्तिका निम्ति पुरुषलाई बेच्दिनन् पनि । यसैले गर्दा नै महिला मानवताको सिँढीबाट तल ओर्लिएकी छैन तर पुरुष आफ्नो स्वार्थी एकलकाँटे स्वभावले उक्त सिँढीबाट धेरै तल झरिसकेको छ । यस्ता कामहरू सत्ताधारीले गर्छन् । समाजमा पुरुषको सत्ता (पितृसत्ता) स्थापित छ । नारी प्रतिपक्षको भूमिकामा छिन् । सत्तापक्षले प्रतिपक्षमाथि दमन गर्छ । पुरुष सत्ताधारी हुनुका नाताले नारीमाथि यावत् अत्याचारहरू गर्छ । यसैले एकअर्काका पूरकका रूपमा सिर्जिएका नर र नारीका बिचमा पक्षता र प्रतिपक्षता नहुनु नै बेस हुन्छ । यो भावको सम्प्रेषणद्वारा पारिजातले एउटा त्यस्तो सुनौलो समाजको परिकल्पना प्रस्तुत गरेकी छन् जहाँ न कसैले शासक हुन पाओस् न त कसैले शासित नै हुनु परोस् ।

एकलकाँटे स्वभावले नै पुरुष नारीको अस्तित्वको पहिचान गर्न असमर्थ बनेको छ । यही कारणले नै मातृत्वशक्तिजस्तो नारीविशिष्टताले पनि सम्मानको बदला अपमान र तिरस्कारको माध्यम बन्नुपरेको छ । नारीलाई आमा बनाउने पुरुष हो, यसमा शङ्का छैन तर पुरुषलाई बाबु बनाउने पनि नारी हो भन्ने तथ्यलाई भने सधैँ भूमिगत राखिएको छ । पुरुष आफूमा निहित पितृसत्तात्मक अहंले गर्दा आफूलाई बाबु बनाउने कामको श्रेय महिलालाई दिने आँट गर्दैन । यही पुरुष नारीलाई आमा बनाउने श्रेय भने आफैँ अग्रसर भएर लिन्छ मात्र होइन, त्यसै श्रेयका परिधिमा नारीका जीवनको नियतिको निर्माणसमेत गर्दछ । पुरुष आफूसँग भएको वीर्यले मात्र बाबु बन्न सक्तैन यदि त्यसलाई नारीले आफ्नो गर्भमा राखेर मानवाकार नदिने हो भने । पुरुषले निश्चित रूपमा नारीद्वारा नै बाबु बन्ने श्रेय पाएको हुन्छ । यसै बिन्दुबाट प्रारम्भ भएको पुरुषको ठुलाइ जीवनका हरेक सन्दर्भमा व्याप्त बन्न पुगेको छ । ऊ फुक्किएर पनि नारीको मातृत्वको कदर गर्दैन । उसले नारीलाई आमा बन्ने मौका दिएर कृपा गरेको हो जसका लागि नारीका जीवनका हरेक पक्षले पुरुषप्रति कृतज्ञता जाहेर गर्नैपर्छ भन्ने किसिमको व्यवहार प्रदर्शन गर्नमा पुरुष प्रायः चुक्तैन । यहाँनिर पुरुष आफ्नै कुचक्रद्वारा आफैँ वीर्यको मूल्यमा मात्र सीमित हुन पुगेको तथ्यसँग भने अपरिचितझैँ लाग्दछ । खेतबारीलाई खनजोत गरेर वीर्य रोपेको भए पनि सन्तान त फल्थे नै तर बिचरा नारीहरू पनि आमा बन्न पाऊन् न त भनेर पो कृपा गरिदिएको भन्ने किसिमको पुरुषको व्यवहार र नारीका जीवनको नियति नै आजको नेपाली समाजको स्वरूप बनिसकेको छ । सहअस्तित्वको प्रेमले नारी भने पुरुषको अस्तित्व मात्र होइन, पीडाको समेत पहिचान गर्न समर्थ छिन् । ऊ यो क्षमता पुरुषमा पनि सञ्चारित होओस् भन्ने चाहन्छिन् । प्रस्तुत ‘मानुषी’ शीर्षकको कविता रचिनुका पृष्ठभूमिमा यही भावको उत्प्रेरणा झल्किन्छ ।

मानव-अस्तित्वका प्रारम्भतिर आश्रयदाता नारी थिइन् । ऊसँग मातृत्व थियो जसले गर्दा शिशुको पालनपोषणका निम्ति छानोको जरुरत पर्थ्यो । यसैले ऊ ओडारमा बस्थिन् । यसरी जीवनको व्यवस्थापन उसैले सुरु गरेकी थिइन् । पुरुषले ईर्ष्या र झगडा गर्न मात्र जानेको थियो । ऊ आवारा थियो । उसको जीवनको कुनै निश्चित टुङ्गो थिएन । नारीले नै पुरुषलाई आफ्नो ममताको छहारीमुनि भित्र्याइन्, जीवनको पाठ सिकाइन् । एउटा वनमान्छेलाई मान्छे हुने तालिम उसैले दिइन् । ऊ जे गर्थ्यो केवल आफ्ना लागि गर्थ्यो, उसलाई सहअस्तित्वको कुरै थाहा थिएन । मातृत्वशक्तिका कारण सहअस्तित्वको अस्तित्व र उपादेयतालाई नारीले नै पहिले बुझेकी थिइन् । उसले आफूले यो कुरा बुझेपछि पुरुषलाई पनि बुझाएर उसलाई सहअस्तित्वमा ल्याउनुपर्ने महसुस गरिन् । यसरी नारीले नै पुरुषलाई सामाजिक बन्न सिकाइन्, उसको सामाजिकीकरण गरिन् । पुरुष आफ्नो सामाजिकीकरणका प्रारम्भमा नारीको घरभित्र भित्रिएको थियो । नारीको छहारी र सहारामा उसले सहअस्तित्वको पहिलो पाठ पढेको थियो । कविताको यो भाव ऐतिहासिक भौतिकवादी समाजको विश्लेषणमा आधारित देखिन्छ । समूह-समूहमा हुने लडाइँ-झगडाले नारीको अस्तित्वलाई विस्थापित गर्ने र पुरुषको अस्तित्वलाई स्थापित गर्ने क्रमको प्रारम्भ गर्‍यो । सहअस्तित्वकी पुजारी नारीलाई लडाइँ-झगडा कहिल्यै प्रिय भएन र त्यो उसको प्रकृतिअनुकूल पनि थिएन । पुरुषको प्रकृतिअनुकूल रहेको लडाइँ-झगडाको मात्राको वृद्धिले बिस्तारै समाजको स्वरूप र नारीको भूमिकामा परिवर्तन ल्याउन थाल्यो; नारी बिस्तारै घरपरिवारभित्र सीमित बन्न थालिन् ।

पुरुष बैगुनी छ । उसको अस्तित्व निर्विकल्प भएकाले मात्र जोगिएको हो । नारीका सौजन्यमा सामाजिक बन्न पाएको पुरुषले नारीको ममताको गलत फाइदा उठाएर उल्टै उसैमाथि हैकम जमाउन थाल्यो । उसले आफूलाई क्रमशः यति हैकमशाली तुल्यायो कि अब घरको मालिक्याइँसमेत उसले नारीको हातबाट खोसेर आफ्नो हातमा लियो । नारीलाई घरमा भित्र्याउने र घरबाट निकाल्ने निर्णायकका रूपमा ऊ स्वयं स्थापित हुन पुग्यो, त्यसमा नारीको इच्छा-अनिच्छाको कुनै ख्याल गरिएन । आज त्यही बैगुनी पुरुषले नारीलाई दाइजोको लावालस्करसहित घुम्टोभित्र लुकाएर, पशुलाई झैँ व्यवहार गरेर, रुवाउँदै आफ्ना घरमा भित्र्याउने गरेको छ । यो सहअस्तित्वका निम्तिको भित्र्याइ होइन । त्यति गरेर भित्र्याएर पनि ऊ एक्लै छुट्टै अहङ्कारको सिंहासनमा विराजमान हुन्छ र नारीलाई आफूभन्दा अलग्गै सेविकाको स्थान प्रदान गर्दछ । पुरुषले नारीलाई बुझ्दैन, अझ भनूँ बुझिरहनुपर्ने आवश्यकता नै देख्तैन तर नारी पुरुषलाई बुझ्छे र बुझ्ने आवश्यकता देख्छे । यो कुरा भन्न पनि पुरुष अग्रसर भएको छैन, नारीले नै अग्रसर हुनुपरेको छ । जसरी हिजो सहअस्तित्व नै नबुझेको पुरुषलाई नारीले त्यसभित्र वरण गरिन्, त्यसै गरी आज सहअस्तित्वबाट टाढिँदै गएको पुरुषलाई ऊ फेरि त्यसको सम्झना गराउँदै छिन्, पाठ पढाउँदै छिन् । पुरुष एक्लो सम्राट् बन्ने धुनमा अगाडि बढिरहेको छ । नारीले पनि त्यसै गरी एक्लिनुमा गौरव गर्न थालिन् भने यो संसार र यो सृष्टि के होला? आज त सम्पूर्ण उत्पीडन एक्लै पिएर पनि उसले सृष्टिको अस्तित्वलाई धानिरहेकी छ, तर के सधैँ यत्तिकै जीवन चल्ला त? नरनारीबिचको यो मानसिक दूरी उचित होला? यस्तै यस्तै प्रश्नहरूले थङ्थिलिएकी छिन् आजकी नारी । जीवनप्रतिको पहिलो जिम्मेवारी सधैँ नारीले नै सम्हालेकी हो । यसैले आज पनि पुरुषलाई जीवनप्रति जिम्मेवार हुन ऊ नै आमन्त्रण गर्दै छिन् । उसले नै पुरुषलाई बुझाउनुपरेको छ नारी र पुरुष एकअर्काविना बाँच्न सक्ने प्राणी नै होइनन् भनेर । सत्ताको उन्मादले सायद पुरुष यस कुरालाई साँचो मान्दैन पनि होला । नत्र त ऊ नारीलाई एक्लै छाडेर आफू मात्रै कता-कता पुग्ने नै थिएन । के पुरुष एक्लै खुसी र सुखी होला त? उसले यतातिर कहिल्यै गहिरिएर सोचेको छ? पारिजात यस्तै अनगिन्ती प्रश्नलाई भावका पृष्ठभूमिमा राखेर ‘मानुषी’ कविताको रचना गरिरहेकी छन् ।

हिजो पुरुष नारीकै सहयोगले अगाडि बढ्न सकेको हो । नारीले सकेका बखतमा, आफू अगाडि भएका बखतमा, उसले पुरुषलाई मायासाथ नै आफू भएका ठाउँमा पुऱ्याइन् । यसका लागि नारीलाई कसैले अनुरोध गर्नुपरेन तर आज पुरुषलाई त्यही कामका लागि अनुरोध गर्नुपरिराखेको छ । यस परिस्थितिले प्रश्न गर्न बाध्य गरिराखेको छ- पुरुषको संस्कारमा किन सहअस्तित्वबोध छैन? ऊ किन एक्लै अगाडि बढ्नुमा आनन्द देख्छ? सृष्टिको जिम्मेवारी सम्पूर्ण नारीकै मात्र हो त? यस्तो एककाँधे जिम्मेवारी लिन उसले अस्वीकार गरिन् भने यस सृष्टिको स्थिति के होला? सृष्टिका बारेमा सोच्नेसम्मको जिम्मेवारीबोधसमेत पुरुषले किन पन्छाएको होला? सोच्ने अर्को पक्ष भेट्टाएर हो कि?

जीवनको सृष्टि र स्थितिका बारेमा सोच्ने काम सम्पूर्ण नारीले जिम्मा लिइन् । यसैले उसलाई त्यसैमा रस बस्यो, ऊ त्यसैमा अलमलिइन् र व्यक्तित्वविकासमा पछाडि परिन् तर पुरुषले यी सब टन्टा छाडिदियो र एक्लै अगाडि बढ्यो; उसले आफ्नो व्यक्तित्वविकास खुब गऱ्यो । व्यक्तित्वपरिचयका सन्दर्भमा नारी र पुरुषको भेटै नहुने भइसक्यो । यता नारी एक्लै भइन्, उता पुरुष एक्लै भयो । सुख र शान्ति दुवैले पाएनन् । सुख, शान्ति र समृद्धिभन्दा पर मानवजीवनको अर्को ठुलो प्राप्ति हुँदैन । यसका लागि नरनारी दुवैले अग्रसर हुनु आवश्यक छ र यो आवश्यकताबोध पनि पारिजातको कवि स्वरूपमा एउटी नारीले नै गरिराखेकी छिन्, ऊ नै यसका निम्ति पुरुषलाई अनुरोध गरिरहेकी छिन् ।

नारीले आदिकालदेखि नै नरलाई सहयात्रा र सहअस्तित्वका निम्ति आग्रह गर्दै आएकी छिन् । जीवन नरनारी सहकारितामा मात्र सफल हुन्छ । दुवैको गति समान हुनुपर्छ, अनि मात्र यात्रा सुरम्य हुन्छ । अहिलेको स्थितिमा नरनारी दुवै समान लक्ष्यमा पुग्नका निम्ति नारीलाई नरको साथ र सहयोगको जरुरत छ । पुरुष आफैँ नारीको गुनको पैँचो तिर्न अग्रसर भएन । ऊ बैगुनी निक्लियो तर नारीले उसलाई बैगुनी हुन नदिने अठोट गरेकी छिन् । यसैले त ऊ पुरुषलाई भन्छिन्- “तिमी जहाँ पुगेका छौ मलाई पनि त्यहाँसम्म पुग्नु छ । यसैले म प्रयत्न गर्छु, तिमी सहयोग गर ।”

र, यो नारीको असहाय याचना होइन । नरनारी एकअर्काको सहयोगविना कोही कहीँ पुग्नै सक्तैन । आज पुरुष जहाँ पुगेको छ, त्यस लक्ष्यप्राप्तिका निम्तिको यात्रारम्भ नरलाई नारीले मानवसभ्यताको आदिकालमा नै गराएकी हो । त्यस वेला नारीले सहयोग नगरेकी भए, उसलाई तानेर आफू पुगेको ठाउँमा नपुऱ्याएकी भए आज पुरुष कहाँ हुन्थ्यो? नरनारी गरी मान्छेका जम्माजम्मी दुईओटा जात छन्, जसको अस्तित्व एकअर्काविना सम्भव छैन । प्राकृतिक तहदेखि नै यी दुई एकअर्कासँग आबद्ध छन् । जहिले जो अगाडि बढिसकेको हुन्छ उसैले पछाडि रहनेलाई अगाडि तान्नुपर्छ । दुई असमान बलबुताका गोरुलाई एउटै जुवामा नारियो भने बलियो गोरुले बढी मेहनत पुऱ्याउनुपर्छ । आज पुरुष अगाडि छ, यसैले उसले नारीलाई अगाडि आउन मद्दत गर्नुपर्छ । यो पारिवारिक, सामाजिक र राष्ट्रिय सबै आवश्यकताभित्र पर्छ तर विडम्बना के देखिएको छ भने नारी आफू अगाडि परेमा स्वयं नै सचेत भएर पुरुषलाई तानेर अगाडि ल्याउँछे तर पुरुष अगाडि भयो भने यो कर्तव्यको पाठ नारीले उसलाई पढाउनुपर्छ । सायद पुरुषमा कसैको सहअस्तित्वको जरुरतै छैन भन्ने घमन्ड छ ।

समाजमा कुनै मान्छे पुरुष भएर जन्मनासाथ ठुलो ठानिन्छ । पुरुषजस्तो हुन खोजेपछि वा उसका क्रियाकलापको अनुकरण गरेपछि नारी पनि ठूली हुन्छे भन्ने मनसाय यस कवितामा आएको छैन । नारीले कतै पनि ‘पुरुष हुनु’ को अनुकरण गरेकी छैन, बरु ‘नारी हुनु’ कै गौरव वरण गरेकी छिन् ।

‘मानुषी’ कवितामा समानान्तर रूपमा दुईओटा कार्यसूची आएका छन्- एउटा सूची ‘पुरुष हुनु’ को चारित्रिक वर्णनमा आएको छ र अर्को सूची ‘नारी हुनु’ को चारित्रिकतासँग जोडिन पुगेको छ । समष्टि अर्थमा नरनारी दुवैलाई एकअर्काका पूरकका रूपमा अर्थ्याइएको छ । समाज, संस्कृति, इतिहास र विकासका पाइलाहरूले पुरुषलाई निकै अग्रस्थानमा स्थापित गरे तापनि हृदयको उदारताले भने नारी नै अग्रस्थानमा रहेकी छिन् भन्ने तथ्यलाई यस कवितामा प्रस्तुत हरेक सन्दर्भले उद्घाटन गरेको देखिन्छ ।

समग्रमा यो कविता नारीका पक्षमा उभिएको छ । यस अर्थमा यस कवितालाई नारीवादी चेतनाले ओतप्रोत कविताका रूपमा लिन सकिन्छ । पुरुषवाद पुरुषका पक्षमा एकलकाँटे ढङ्गले उभिने गरेको छ । नारीवाद पुरुषवादमाथिको चुनौतीका रूपमा प्रकट भएको वाद हो र यसले पुरुषवादलाई ऐना देखाउने काम गरेको छ । सर्वत्र फैलिएको पुरुषवादी हैकमले समाज र संसारलाई विखण्डनतिर धकेलेकाले त्यसैका प्रतिकारका निम्ति, नारीको अस्तित्वको जगेर्नाका निम्ति, समाज र संसारमा सम्झौतापूर्ण वातावरण कायम गर्नका निम्ति र संसारलाई कुरूप बनाउँदै लगेको पुरुषको एकलकाँटेपनको उच्छेदका निम्ति सिर्जिएको नारीवादको नमुनालाई ‘मानुषी’ कविताले प्रस्तुत गरेको छ । नारीमुक्ति अभियानमा सरिक हुनका निम्ति पुरुषलाई आह्वान गर्ने यो कविता मानवसमाजको सुख, समृद्धि र शान्तिका निम्ति समर्पित छ ।

३. ‘मानुषी’ कवितामा नारीवादी चेतनाको स्वरूप

‘मानुषी’ शीर्षकको कविता नारीलेखकद्वारा नारीमुक्तिको कामनासहित नारीका पक्षबाट लेखिएको छ । यस कविताले आफ्नो सिर्जनायुगको पितृसत्तालाई बोकेको छ र त्यसलाई चुनौती दिएको छ । यो कविता नारीको निरपेक्ष मुक्तिमा मात्र केन्द्रित नभएर समाजवादी मुक्तिको आन्दोलनसँग जोडिएको छ । समाजवादले समग्र शोषितहरूको मुक्तिमा मात्र नारीको मुक्ति सम्भव छ, यस कारण समाजबाट हरेक किसिमको शोषण समाप्त हुनुपर्छ भन्ने मान्यता राख्छ । नारीसमुदाय, पुरुषसमुदाय भनेका लिङ्गका आधारमा बनेका समुदाय हुन् ।

लैङ्गिक शोषण पनि अन्य सामाजिक शोषणका समानान्तरमा उभिएको हुन्छ । शोषणको समानान्तर हैसियतले गर्दा वर्गीय मुक्तिपश्चात् पनि नारीको ‘अमुक्तता’ बाँकी नै रहन्छ । यसका लागि नारीवादी आन्दोलनको आवश्यकता पर्दछ । नारीवादी आन्दोलनका पनि विविध प्रकृति हुन्छन् । यस प्रकृतिको निर्धारणमा उक्त आन्दोलनलाई सामाजिक मुक्तिको आन्दोलनको अंश बनाउने कि नबनाउने भन्ने विषयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नारीमुक्तिको आन्दोलनलाई उक्त ढङ्गको बनाउने नारीहरूको आन्दोलन समाजवादी प्रकृतिको हुन्छ । यो मार्क्सवादी चिन्तनद्वारा निर्देशित हुने हुनाले यसलाई मार्क्सवादी नारीवाद पनि भन्ने गरिन्छ ।

‘मानुषी’ कवितामा अभिव्यक्त नारीवाद उग्र नारीवाद (Radical Feminism) होइन । एक थरी पश्चिमा नारीवादीहरू समानताका नाममा पुरुषले गरेका हरेक कुराको अनुकरण गर्दै उसले नारीलाई जसरी उत्पीडित तुल्याएको छ, पुरुषलाई त्यसरी नै उत्पीडित तुल्याउन किन नहुने? भन्ने तर्क राख्छन् । यस प्रकृतिका नारीवादीलाई उग्र नारीवादी भन्ने गरिन्छ । यिनीहरूको मूल ध्येय यौनोत्पीडनका विरुद्ध सङ्घर्ष गर्नु हो । यस कवितामा पुरुषले नारीलाई दिएका तीन किसिमका उत्पीडनको चर्चा गरिएको छ । उनीहरू नारीमाथि बलात्कार गर्छन्, आफ्नो अपराधको सजाय नारीलाई दिँदै उसैलाई कलङ्कको टीका लगाइदिन्छन् र यौनप्रयोजनकै लागि नारीको बेचबिखन गर्छन् । पारिजात नारीलाई यसरी उत्पीडित तुल्याउने पुरुषमाथि पनि यस्तै उत्पीडन थोपर्नुपर्छ भन्ने दृष्टिकोण राख्दिनन् । उनी नारीले कहिल्यै पनि पुरुषलाई यस्तो उत्पीडन नदिएकामा गौरव गर्छिन् र यस अर्थमा नारीको उच्चताबोध गर्छिन् ।

उपर्युक्त कवितामा व्यक्त पारिजातको नारीवादी दृष्टिकोण समलैङ्गिक किसिमको पनि छैन । यो दृष्टिकोण पनि उग्र नारीवादीहरूकै हो । पुरुषले दिएको उत्पीडनले नारीका मनमा उमारेको विक्षोभको परिणामस्वरूप उनीहरू आफ्ना जीवनमा पुरुषको कुनै भूमिका नै नस्विकार्ने अवस्थामा पुग्दछन् । त्यसको चरम परिणतिस्वरूप नै उनीहरू वैवाहिक सम्बन्धसमेत नारीसँगै कायम गर्छन् । पारिजात नारीवादी सोचको यो चरम स्थितिमा पुगेकी छैनन् । उनी पुरुषले दिएका उत्पीडनलाई त घृणा गर्छिन् तर मान्छेका रूपमा भने उसको सहअस्तित्वलाई नकार्दिनन् । पुरुषहरूले यौनबाहेक अन्य सन्दर्भमा नारीको अस्तित्व नस्विकार्ने सन्दर्भकै चरम स्वरूप हो स्त्री समलैङ्गिक नारीवाद, जहाँ पुरुषको अस्तित्व यौनका सन्दर्भमा समेत अस्वीकार्य छ । नारीवादको यो अप्राकृतिक प्रकृति पारिजातलाई स्वीकार्य छैन । उनी नर र नारी दुवैलाई एकअर्काविना बाँच्नै नसक्ने प्राणीका रूपमा स्विकार्छिन् ।

नारीवादी भाषावैज्ञानिक दृष्टिकोणप्रति पारिजात सचेत छिन् । नारीवादीहरू प्रचलित भाषालाई शोषकको भाषा, यौनवादी भाषा, अमूर्त भाषा भनेर पन्छाउन चाहन्छन् । यो दृष्टिकोण पारिजातको यस कवितामा आंशिक रूपमा मात्र लागू हुन्छ र त्यो शीर्षकका सन्दर्भमा प्रकट भएको छ । ‘मानुषी’ शब्दका नारी, आइमाई, स्त्री, स्वास्नीमान्छे आदि वैकल्पिक स्वरूपको प्रयोग नगरी मान्छेका रूपमा निषेध गरिएको स्त्रीलिङ्गलाई ‘मानुषी’ शब्दमार्फत मान्छेकै अर्थ प्रदान गरेकी छन् ।

जीववैज्ञानिक दृष्टिले पनि पारिजातले नारीलाई अर्थ्याउने काम गरेकी छन् । नारीमा निहित प्रजननक्षमताले गर्दा पुरुषले आफ्नो वंशपहिचान गर्न र आफ्नो सम्पत्तिको उत्तराधिकार अन्य पुरुषका सन्तानमा नजाओस् भन्ने ध्येयले निजी सम्पत्तिको उदयका साथसाथै नारीलाई घरभित्र मात्र सीमित बनायो । यसरी नै समाजमा पितृसत्ताको प्रादुर्भाव हुन पुग्यो । “पितृसत्तात्मक व्यवस्थाअन्तर्गत परिवारको रूप सानो हुन गयो र महिलाहरूको घरधन्दाले एङ्गेल्सका शब्दमा, आफ्नो सार्वजनिक चरित्र गुमायो ।” नारीवादी चिन्तनकी अग्रणी केट मिलेट ‘शरीर नै नारीको भाग्य हो’ भन्ने मान्यताको विरोधी भए पनि उनी इतिहासविरोधी मानवशास्त्रबाट प्रभावित छिन् र मातृसत्तात्मक समाज थियो भन्ने कुरामा आफूलाई विश्वास नभएको धारणा व्यक्त गर्दछिन् । हिसिला यमी नारी शारीरिक रूपले कमजोर छे भन्ने कुरा नै स्विकार्दिनन् । उनका अनुसार जैविक दृष्टिले नारीशरीर बलियो छ र भौतिक दृष्टिले पुरुषशरीर बलियो । नारी पाठेघरले भन्दा पनि समाजको पितृसत्तात्मक संरचनाले चाहिँ घरभित्र सीमित हुन पुगेकी हो भन्ने उनको विश्वास छ, किनभने “त्यस वेला (आदिम युगमा) बच्चा स्याहारसुसार गर्ने, हुर्काउने आदि सबै काम सामूहिक किसिमले हुने भएकाले गर्भवती हुँदा, बच्चा जन्मिँदा महिलाहरूको काममा कहिल्यै पनि बाधा आउँदैनथ्यो । … पुँजीवादी संरचनामा आएर पाठेघर महिलाहरूका लागि शक्तिस्रोत नभएर कमजोरीस्रोत हुन आयो ।” पारिजातले नारीका शारीरिक भिन्नतालाई हीनताका रूपमा नलिई तिनले नारीविशिष्टताको महत्त्व पाउनुपर्ने कुरालाई अगाडि सारेकी छन् । नेपाली सामाजिक परम्पराले पाठेघरसँग सम्बन्धित हरेक सिर्जनप्रक्रियालाई हीन रूपमा अर्थ्याई तिनै कारणले नारीमा हीनभावना जागृत गराई मनोबल लत्र्याउने काम गरे तापनि पारिजातले ती कुराको महत्त्व प्रशस्त भएको तर पुरुषले कहिल्यै पनि त्यसलाई बुझ्न नसकेको तथ्य प्रकट गर्दै यो विशिष्ट अनुभूतिलाई उनले आढ्यताका रूपमा लिएकी छन् । यति मात्र होइन, पुरुषले गर्न सक्ने सम्पूर्ण श्रम गर्न नारी सक्षम छे भन्ने अवधारणालाई कविताका प्रारम्भमा नै अगाडि सारेर नारी कमजोर हुन्छन् भन्ने सामाजिक परिभाषालाई चुनौती दिँदै उनले आफ्नो नारीवादी सोचको परिचय दिएकी छन् ।

“लामो प्रजनन समय र लामो समयसम्म शिशुस्याहारमा समय लाग्ने भएकाले नै महिलाहरूमा सामुदायिकताको भावना स्वतः विकास हुन्छ र यही सामुदायिक संरचनाभित्र तिनीहरूले पुरुषलाई सामुदायिक किसिमले बस्न सिकाए ।” पारिजातले पनि यही मान्यतालाई अघि सार्दै पुरुषलाई बनमान्छेबाट आजको मान्छेमा रूपान्तरण गर्ने श्रेय नारीलाई प्रदान गरेकी छन् । समाजविकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई स्विकार्ने पारिजात समाजको सांस्कृतिक विकासका क्रममा नारीलाई क्रमशः पछाडि पारिँदै गएको तथ्यलाई स्विकार्छिन् । निजी सम्पत्तिको संरक्षणका नाममा नारीलाई घरभित्र सीमित गरी पुरुषले आफूअनुकूलको संस्कृतिको निर्माण गर्‍यो । यही परिवर्तित संस्कृतिअनुरूप उसले नारीलाई दुलहीका रूपमा आफ्ना घरमा भित्र्यायो । स्वाभिमानी नारीहरूले यस संस्कृतिलाई स्विकार्न सकेका छैनन् । दुलही भएर अन्मिँदा ऊ रुन्छे । यस परिपाटीको विरोध गर्ने शब्द ऊसँग छैन । आँसुका प्रत्येक थोपा नै उसका अभिव्यक्तिका एक-एक शब्द हुन् । यसरी यहाँनिर पितृसत्तात्मक संस्कृतिविरोधी स्वरले अभिव्यक्ति पाएको छ ।

‘मानुषी’ कविताको ४७ पङ्क्तिको छोटो संरचनाभित्र पनि समाजको आदिमदेखि वर्तमान अवस्थासम्मको विश्लेषण गरिएको छ र त्यो आध्यात्मिक दृष्टिकोणबाट नभई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट भएको छ । आध्यात्मिक विश्लेषकहरूले इतिहासमा कतिपय नारीमा देखिएको शक्ति र शौर्यलाई वर्तमान नारीबाट भिन्न देखाई उनीहरूमा जाग्न सक्ने आत्मविश्वासको तेजोवध गर्नका लागि दुर्गा, काली, पार्वती, सरस्वती आदि चरित्रमार्फत देवी भएकाले मात्र उनीहरूमा त्यस्तो सामर्थ्य देखिएको हो, मनुष्य नारीमा त त्यो सम्भव छैन भन्ने दृष्टिकोणलाई अगाडि सारेका छन् । पारिजात यस दृष्टिकोणसँग सहमत छैनन् । उपर्युक्त नारी चरित्रलाई उनी अलौकिक रूपमा स्विकार्दिनन् । ‘मानुषी’ शीर्षकको कविताको पूरकजस्तै भएर आएको छ उनको ‘मानुषी’ शीर्षकको निबन्ध पनि । उनी ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणअनुसार नारीको परिवर्तित अवस्थाको विश्लेषण गर्न रुचाउँछिन् । “तेस्रो विश्वका हाम्रा जस्ता मुलुकहरूमा भने नारीहरू जतिसुकै शक्तिरूपा भए पनि, साक्षात् भगवती भनिए पनि पुरुषहरूका पैतालामुनि नै छौँ । अब हामीले भनिदिनुपर्छ, नारी तिमी भगवती, काली केही पनि थिइनौ । मानवसभ्यताको आदिकालमा तिमी नारी थियौ, केवल नारी । तिमी गुफा, कन्दरामा एक्लै बस्थ्यौ जसरी बघिनी, सिंहिनी, पोथी चितुवा आदि बस्ने गर्छन् । तिमी त्यत्तिकै खुङ्खार, शक्तिशाली र आत्मनिर्भर थियौ ।… नारी तिम्रो असीम प्राकृतिक शक्ति, साहस र आत्मनिर्भरताको अवशेष अझै पनि तिमीसँग छ, केवल आत्मबोध भइदिनुपर्‍यो ।… महिषासुरजस्ता शक्तिशाली वन्यजनावरसँग तिमी कुनै समय जुधेकी थियौ ।” बनमान्छे पुरुषलाई मान्छे बनाउने काम नारीले गरेकी हो भनेर स्विकार्ने काम ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले गर्दछ । पारिजातले पनि सोही काम गरेकीले उनको समाजविश्लेषणको आधार ऐतिहासिक भौतिकवादी किसिमको रहेको देखिन्छ ।

प्रस्तुत कवितामा समाजविश्लेषणको आर्थिक आधार पनि प्रस्तुत गरिएको छ । व्यक्तिगत सम्पत्ति राख्ने प्रचलन र त्यो पनि पुरुषमा मात्र केन्द्रित रहेकाले समाजमा विकृतिहरू सिर्जिएका छन् भनेर उनले अर्को सन्दर्भमा पनि मार्क्सवादी विश्वदृष्टिकोणलाई प्रस्तुत गरेकी छन् । नारीले नरलाई बेच्दिन, किनभने उसलाई पैसा चाहिँदैन । नारीलाई पैसा यसर्थ चाहिँदैन, किनकि त्यसमा उसको आधिपत्य हुँदैन । नरले पैसा कमाउनका लागि नारीलाई बेच्छ, किनभने आफूमा आधिपत्य रहने भएकाले उसमा पैसाको असीमित तृष्णा पनि छ । नरनारी दुवैसँग आर्थिक अधिकार भएको भए वा समाजमा व्यक्तिगत सम्पत्तिको अस्तित्व नभइदिएको भए शक्तिसन्तुलनले गर्दा नारीको बेचिने सम्भावना रहने थिएन । व्यक्तिगत सम्पत्तिको दबदबा र आर्थिक अधिकार पुरुषसमुदायमा मात्र सीमित भएकाले पुरुष भर्ता भयो र नारी भार्या भई । यसैले उसले कुकुर, बिराला, गाई, बाख्रा पालेकै पारामा नारीलाई पनि पाल्ने भयो । आफ्नो आधिपत्यको, आफैँले पाल्ने जीव (नारी) लाई उसले आफ्ना गोठ (घर) मा भित्र्याउने र पोतेका दाम्लाले बाँध्ने काम गर्छ । अनि तिनै पशुलाई जस्तै आफ्नो वैयक्तिक सम्पत्ति ठानेर नरले नारीलाई बेच्छ । आफ्नो खोरको बाख्रो बेच्दा कसले के भन्न पाउँछ र? पोतेरूपी दाम्लोले बाँधिएकी नारीलाई पनि ऊ बेच्छ, मानौँ बेचिनु नारीजीवनको स्वाभाविकता हो । “अरस्तू कतिपय गुणको अभावले आइमाई आइमाई भएकी हो भन्ने मान्थे ।” फ्रायड पनि नारीलाई जीववैज्ञानिक दृष्टिले अर्थ्याउँदै ऊ पुरुषजस्तै हुन नसकेकीले हीन भएकी हो भन्थे । “नारी धनी होस् वा गरिब, गोरी होस् या काली, उसले आफ्नो युद्ध आफैँ गर्नुपर्छ । यो दुनियाँ पुरुषले बनाएको हो तर नारीलाई नसोधीकन । फ्रान्सको राज्यक्रान्ति होस् या विश्वयुद्ध, पुरुष नारीको सहारा लिन्छ र पछि उसलाई घर फर्कने आज्ञा दिन्छ । नारीले हासिल गरेको स्वतन्त्रता पुरुषले आफ्नै सुविधाका लागि दिन चाहेभन्दा बढी छैन ।” समालोचक कृष्ण गौतम पनि आफूलाई परिवर्तनका पक्षमा उभ्याउँदै नारी निर्बल ठहरिनुलाई यसरी विश्लेषण गर्छन्- “नेपाली नारी आफ्नो पातिव्रत्य जोगाउनमा सबल देखिन्छे तर अन्यत्र निर्बल । समाजको अनुमोदन पाउने हो भने ऊ अन्य क्षेत्रमा पनि सक्रिय हुन सक्छे, सबल हुन सक्छे ।” “विकासोन्मुख देशका स्त्रीहरू नरमूल्यकै परिधिभित्र पौडी खेल्दै छन् । तर पारिजातले धेरै मात्रामा आफूलाई यस परिधिबाट बाहिर निकाली नारीमूल्यको खोज गरेकी छन् ।” यसै क्रममा उनले समाजको उन्नयनका लागि पुरुषको मात्र उन्नति भएर पुग्दैन, त्यसकै हाराहारीमा नारीको पनि उन्नति हुनुपर्छ भन्ने समाजवादी सोच अगाडि सारेकी छन् । उनले आफूलाई स्पष्ट रूपमा आधा आकाशका पक्षमा उभ्याएकी छन्, बाँकी अर्को आधा आकाशलाई हानि नहुने गरेर । व्यक्तिगत रूपमा पुरुषहरू पितृसत्ताकै पक्षमा उभिएका हुन्छन् तापनि मार्क्सवादी दर्शनका अनुयायी भएकाहरू भने सार्वजनिक रूपमा आफ्नो उक्त दृष्टिकोण सार्वजनिक नगर्न बाध्य छन् । यसैले नेपाली नारीमुक्तिको आन्दोलनसँग पुरुषसमुदायको एउटा ठुलो हिस्सा गाँसिन पुगेको छ । नारीमुक्तिको आन्दोलनलाई यथार्थ धरातल प्रदान गरेर सर्वाधिक सहयोग पुर्‍याउने राजनीतिक दर्शनकै रूपमा चिनिन्छ मार्क्सवादी दर्शन र पारिजातले पनि नारीलगायत समग्र शोषणका विरुद्ध आफूलाई उक्त दर्शनसँग आबद्ध गरेकी छन् । यसैले उनी नारीमुक्तिका सन्दर्भमा सुधारमाथि विश्वास नगरी आमूलपरिवर्तनकै पक्षमा उभिएकी छन् । त्यसका लागि उनले पुरुषसँग नारीसमुदायको सहयात्राको अपेक्षा गरेकी छन् ।

“पितृसत्तावाद भनेको पुँजीवादजस्तै हो, जो स्त्रीपुरुषको अर्थात् निर्धो र बलियोको विभेद खडा गरेर श्रमिक आदिमा झैँ स्त्रीमा पुरुषको नियन्त्रण जमाउँछ ।” नियन्त्रण नै शोषणको आधार हो । मार्क्सवाद मूल रूपमा शोषणका विरोधमा रहने हुनाले यसले शोषितहरूका बारेमा आवाज उठाउने क्रममा नारी पनि शोषित भएका नाताले उसका बारेमा पनि कुरा उठाउँछ, नारीमाथि हुने शोषणको विरोध गर्छ तर जति नै नारीमाथिको शोषणको विरोध गरे तापनि, यो त पितृसत्ताकै उदारउपज हो । यसैले त्यसको व्यावहारिकीकरणमा त्रुटिहरू फेला पर्दछन् । मार्क्सवादको समाजवादी लक्ष्य हासिल गरेपछि नारीमाथिका वर्गीय शोषण र उत्पीडनहरू त समाप्त होलान् तर नारीमाथिको शोषण भनेको वर्गीय मात्र छैन, लैङ्गिक पनि छ । नारीको मनोबललाई लैङ्गिक शोषणले ध्वस्त पारेको छ । परिवार र निजीस्वामित्वको प्रारम्भसँगै लैङ्गिक शोषणको जसरी उत्थान भयो त्यसै गरी पतन हुने सम्भावना छैन; यसको एउटा लामो इतिहास मेटाउनु आवश्यक हुन्छ । यसैले समाजवादको प्राप्तिमा पनि नारीमुक्ति पूर्ण रूपमा प्राप्त हुन सक्तैन । यद्यपि नारीमुक्तिको सर्वाधिक प्राप्ति अन्य राजनीतिक व्यवस्थाका तुलनामा समाजवादी व्यवस्थामा नै हुन सक्दछ । समाजवादबाट पनि प्राप्त हुन बाँकी रहेको अधुरो नारीमुक्तिलाई पूर्णता दिनका लागि अर्को युद्ध लड्नुपर्दछ । त्यही बाँकी युद्धको पूर्वाभास दिएको छ ‘मानुषी’ कविताले । यही बिन्दुमा मार्क्सवाद मात्र पर्याप्त नभएर मार्क्सवादी नारीवादको आवश्यकता महसुस भएको हो ।

नारीवाद अर्थसँग मात्र गाँसिएर पूर्ण रूपमा अर्थिन सक्तैन । यसको सम्बन्ध मनोविज्ञानसँग पनि रहेको हुन्छ । मनोविज्ञानले अनुभवका कुरालाई तान्दछ । भिन्न प्राकृतिक जिम्मेवारीका कारणले महिला र पुरुषका अनुभूतिमा भिन्नता छ । यसैले विशुद्ध नारीवादीहरूको ‘महिलाहरूले मात्र नारीसमस्याको साँचो प्रकृति बुझ्न सक्दछन् । नारीमुक्तिको विषय खास गरी महिलाविषयमा केन्द्रित रहन्छ’ भन्ने मत पनि असत्य लाग्दैन । नारीवादी आन्दोलनको सामाजिक पक्षलाई मार्क्सवादी नारीवादले सही रूपमा अर्थ्याउँछ र यस आन्दोलनका विशेषज्ञ पुरुष पनि बन्न सक्दछन् तर मनोवैज्ञानिक पक्षलाई भने विशुद्ध नारीवादले मात्र अर्थ्याउन सक्छ र यसका विशेषज्ञ नारी मात्र हुन सक्छन् । पारिजातले ‘मानुषी’ कवितामा ‘तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ, त्यो मेरो, नितान्त मेरो अनुभूति हो’ भनेर यही कुरा भन्न खोजेकी छन् । पुरुष यो मनोवैज्ञानिक सत्यलाई बुझ्ने कोसिस गर्दैन । उसलाई आफ्नो अभाव पक्ष देखाएको मन पर्दैन । ऊ आफूमा कुनै पनि खोट देखाएको सहन सक्तैन । उसमा पितृसत्ताको सहयोगमा यो अवगुण मौलाएको छ । खास गरी मार्क्सवादी दर्शनका अनुयायीहरू पुरुष नारीका हरेक समस्याको पहिचान र विश्लेषण गर्न नारीजत्तिकै सक्षम छ भन्दछन् । यसो भनेर उनीहरू नारीवादी आन्दोलनको मनोवैज्ञानिक पक्षको उपेक्षा गरिरहेका हुन्छन् । उनीहरूका अनुसार नारीवादी आन्दोलनलाई नारीमुक्तिको आन्दोलनसँगै गाँस्तागाँस्तै पनि मार्क्सवादको लिकको दायाँबायाँ हुनु भनेको “नारीमुक्तिका पक्षधरहरूको ठुलो सङ्ख्यालाई नारीमुक्तिको आन्दोलनबाट अलग गराउनु हो ।”

नारीवादी आन्दोलन निरपेक्ष रूपमा अगाडि बढ्दा त्यसले सफलता हासिल गर्न सक्तैन भन्ने कुरा निश्चित छ यद्यपि त्यसले समाजमा हलचल भने ल्याउन नसक्ने होइन । निरपेक्ष नारीवादी आन्दोलनले नारीसमस्याको जग भेटेको हुँदैन । एकातिर बनायो अर्कोतिर भत्किन्छ, अर्कोतिर बनायो फेरि अर्कोतिर भत्किन्छ । यो अनन्त समस्या समाधानका लागि पुराना संरचनाको मर्मत गर्नतिर नलागी ‘थोत्रो घर’ भत्काएर जगैदेखि ‘नयाँघर’ को निर्माणारम्भ गर्नुपर्छ । यसैले नारीवादी आन्दोलन पनि सम्पूर्ण समाजव्यवस्था (अव्यवस्था) का विरुद्ध लक्षित हुन सक्नुपर्छ ।

कुन खायल ढल्कियो, कुन ढोका सानो भयो, कुन दलिन बाङ्गो भयो, छानाको कुन अंश चुहियो, भर्‍याङको कुन खुड्किलो बिग्रियो भन्नेतिर सोच्न थाल्यो भने टालटुल गर्दैमा जिन्दगी बित्छ, अपेक्षित लक्ष्य प्राप्त हुनै सक्तैन ।

विशुद्ध (निरपेक्ष) नारीवादले समाजको एउटा हिस्सा (नारी) लाई मात्र नवीन सम्भावनातर्फ डोर्‍याउने प्रयास गर्दछ तर मार्क्सवादी नारीवादले प्रथम महत्ता नारीसमुदायलाई दिँदादिँदै पनि नारीसहितको सिङ्गो समाजलाई नै त्यस गोरेटोतर्फ अग्रसर गराउँछ । यो सुधारमा होइन आमूल परिवर्तनमा विश्वास राख्छ । यसैले मनोविश्लेषिक नारीवादभित्र केही स्वीकार्य पक्ष भेटिँदाभेटिँदै पनि त्यसलाई मार्क्सवादी नारीवादजति समाजोपयोगी भने मान्न सकिँदैन, किनभने त्यसले निरपेक्ष पुरुषवादले झैँ समाजको अर्को महत्त्वपूर्ण पक्षको उपेक्षा गर्दछ ।

सिङ्गो कविताभरि पारिजातले नारीवादी चिन्तनलाई अत्यन्त सचेततापूर्वक सन्तुलित ढङ्गले अगाडि बढाएकी छन् तर कविताको अन्त्यबाट गन्ती गर्दा सातौँ पङ्क्तिमा भने उनको अभिव्यक्ति असन्तुलित बन्न पुगेको छ । उनले लेखेकी छन्, ‘आऊ आज हामी उत्पीडनहरू साटासाट गरौँ ।’ यहाँनिर उग्र नारीवादका अभिलक्षणहरू प्रकट हुन खोजेका छन् । नारीसमुदायका उत्पीडन वर्गीयबाहेक नै दुई किसिमका हुन्छन् – मानव सिर्जनप्रक्रियासँग सम्बद्ध र पुरुषद्वारा प्रदत्त । अघिल्लो किसिमको उत्पीडनको साटिने सम्भावना हुँदैन, तिनलाई नामेट गर्न मात्र सकिन्छ । पछिल्लो किसिमको उत्पीडन साट्नु भनेको पुरुषले नारीलाई दिएजस्तै उत्पीडन पुरुषलाई दिनु हो । मार्क्सवादी नारीवादको लक्ष्य उत्पीडन साट्नु होइन, समाजबाट समग्र उत्पीडनहरू समाप्त गरी सुखी र समृद्ध समाजको निर्माण गर्नु हो । यत्ति हो, नारीका उत्पीडनलाई पुरुषले स्वउत्पीडनकै रूपमा अनुभव गर्ने प्रयत्न गर्न सक्छ तर यत्तिले मात्र त उत्पीडन साटिँदैन । पुरुषलाई नारीका उत्पीडित अवस्थामा अवतरण गराउनु होइन, नारीलाई चाहिँ पुरुषको जस्तो उत्पीडनहीन अवस्थामा पुर्‍याउनु मार्क्सवादी नारीवादको अभिलक्षण हो ।

उपसंहार

नारीमाथि शोषण गर्ने नर हो । यसैले प्रारम्भमा नारीमाथिको शोषणको विरोध गर्दा स्वाभाविक रूपमा नरमाथि औँला ठडिन्छ र नारीवादीले गर्ने एउटा काम यही हो । यसैले हाम्रो समाजका पुरुषहरू ‘नारीवाद’ भन्ने शब्द सुन्नासाथ झस्किन्छन् । नारीवादका कतिपय हाँगामा पुरुषद्वेषी प्रवृत्ति पनि नपाइने होइन तापनि समग्र नारीवादमा भने यो कुरा लागु हुँदैन । नारीसमस्याको विश्लेषण गर्दै जाँदा नर नारीशोषणको प्रमुख हतियारको भन्दा अझ बढी नै हैसियत राख्छ किनभने यो शोषणमा उसको व्यक्तिगत फाइदा पनि रहेको छ । नर सामाजिक संरचनामा विद्यमान पितृसत्ताका आडमा नारीमाथि शोषण र उत्पीडन गर्छ । पितृसत्तालाई समाजका धर्म, दर्शन, संस्कृति, अर्थनीति, राजनीति आदिले आड दिइरहेका हुन्छन् । नेपालका सन्दर्भमा यी सबै कुराहरू पितृसत्तालाई आड दिने खालकै छन् किनभने यिनको नियन्ता पुरुष नै छ, नारीले त्यस्ता स्थानहरूमा निर्णायक भूमिका निर्वाह गर्न पाएकी छैन । यसैले नारीजीवनका लागि मूल बाधक पुरुषभन्दा पनि पितृसत्तात्मक हैकम चाहिँ हो । पुरुष मानवजीवनको अपरिहार्य खण्ड हो, नारीजीवनको पूरक हो जसरी नारी पुरुषका जीवनकी पूरक हो । आधा आकाशको अहित हुनु भनेको सिङ्गो समाजकै अहित हुनु हो । सामाजिक हितका दृष्टिले पितृसत्ता उपयुक्त छैन भन्ने कुरा दिनप्रतिदिन प्रमाणित हुँदै गइरहे तापनि पुरुषसमुदायलाई व्यक्तिगत रूपमा त्यसले प्रत्यक्ष फाइदा पुग्ने हुनाले ऊ त्यसलाई टिकाइराख्ने प्रयत्नमा छ र यो प्रयत्न अशिक्षित असचेत पुरुषलाई मात्र सुहाउने कुरा हो । पितृसत्तालाई सदैव जोगाइराख्न समयको बदलिँदो गतिको उल्टो प्रवाहतर्फ प्रवाहित गर्नुपर्ने हुनाले त्यो सम्भव छैन । नारीवादी दृष्टिकोण समाजको विकासक्रमको सुल्टो पाइला हो भने पितृसत्ता उल्टो पाइला हो । समाजमा पितृसत्ताका नाममा पुरुषवाद कायम छ र त्यसकै प्रतिकारका निम्ति नारीवादको उत्थान भएको हो । यसले नीतिनियम र व्यवहार दुवैतिर जरा गाडेको छ । यही पुरुषवादको उछित्तो काढ्नका निम्ति नारीवादको आवश्यकता परेको हो र यो आफ्नो उद्देश्यपूर्तिपश्चात् स्वतः समाप्त हुनेछ । समाजवादी पहुँचपछि पनि यसको निःशेष नभई केही कार्य अझै बाँकी नै रहेको हुनेछ र समाजविकासको अर्को चरणमा यो पूरा हुनेछ । मार्क्सवादले सिद्धान्तमा मात्र सीमित रहे पनि पितृसत्ताको विरोध र पितृसत्तामा हुने नारीउत्पीडनको व्याख्या गर्छ । यसले जीवनलाई वैज्ञानिक दृष्टिकोणले परिभाषित गर्दै मानव शोषित हुनुका अनेकन् कारणहरूको खोजी गर्छ र ती कारणहरू नारी शोषित हुनुका कारणका रूपमा समेत अर्थिन्छन् । यसले लैङ्गिक शोषणको जग परिवार र निजीस्वामित्वको आरम्भ हो भनेर तर्क दिएको छ, जुन सत्य हो । यसैले मार्क्सवादी नारीवादले अरू नारीवादले भन्दा नारीमुक्तिको सम्भावनालाई बढी निकट ल्याउँछ । त्यति हुँदाहुँदै पनि बाँकी अरू किसिमका नारीवादमा पनि केही सकारात्मक पक्ष भने नभेटिने होइनन् । पारिजातको ‘मानुषी’ शीर्षकको कविता आंशिक रूपमा अन्य नारीवादबाट प्रभावित र अधिकांश रूपमा भने मार्क्सवादी नारीवादमा आधारित छ ।

साभार : नारीवादको कठघरा बाट

सन्दर्भ सामग्री

  • बराल, ऋषिराज. (२०५२). मार्क्सवाद र उत्तरआधुनिकतावाद. सविता बराल.
  • गौतम, कृष्ण. (२०५०). आधुनिक आलोचना अनेक रूप, अनेक पठन. साझा प्रकाशन.
  • विस्ले, क्रिस. (२०५६). ह्वाट इज फेमिनिज्म. सेज पब्लिकेसन.
  • पारिजात. (२०५४). स‌ङ्कलित रचनाहरू (ग्रन्थ ५). निर्माण प्रकाशन.
  • पारिजात. (२०५४). स‌ङ्कलित रचनाहरू (ग्रन्थ ६). निर्माण प्रकाशन.
  • एङ्गेल्स, फ्रेडरिक. (२०४३). परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति. प्रगति प्रकाशन.
  • सिंह, मोहनविक्रम. (२०४९). अन्तर्राष्ट्रिय महिला आन्दोलन र सम्पत्तिमा महिलाहरूको समान अधिकारको प्रश्न. कल्पना पोखरेल.
  • प्रभात, विष्णु. (२०५२). मातृत्व. अनौपचारिक क्षेत्र सेवा केन्द्र.
  • बुभायर, सिमोन द. (२०५५). स्त्री उपेक्षिता (हिन्दी रूपान्तर). हिन्द पाकेट बुक्स.
  • यमि, हिसिला र भट्टराई, बाबुराम. (२०५७). माक्र्सवाद र महिलामुक्ति. उत्प्रेरक प्रकाशन.

Author

  • प्रसिद्ध निबन्धकार, समालोचक, कवि तथा त्रि. वि. का नेपाली विषयका प्राध्यापक डाक्टर सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयको रेक्टर तथा केही समय उपकूलपति समेत रहेकी थिइन् । उनले शिक्षण र साहित्यमार्फत लैङ्गिक, वर्गीय र जातीय विभेदको मुक्तिका निम्ति विशेष योगदान दिएकी छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के