बीजले उम्रन र विरुवाले हुर्किन अनुकूल मौसम सम्झिए जसरी नै हामी पारिजातलाई सम्झिरहेछौँ । पारिजात धर्तीमा बिउ उम्रने मौसम ! उहाँ आउनु र जानुका बिच पनि मौसमको त्यही अन्तराल छ । हामी त्यो अन्तरालमा पारिजातको विस्तृत क्षितिज चियाइरहनेछौँ !
पारिजातको प्रिय शब्द हो, अस्मिता ! उहाँले नै जुराउनुभएको यो अर्थपूर्ण नामको पत्रिकामार्फत कैयन् जुझारू नामहरूले महिला उत्थानका निम्ति योगदान गर्नुभएको छ । इतिहास पल्टाउँदै जाँदा अस्मिताकालीन त्यो प्रारम्भिक समयका आँट, अठोट र सहभागिताको बृहत् आयामभित्र पारिजातका समुच्च भावहरू सम्बोधित भएका भेटिन्छन् । पारिजात भाव र चेतनाको गरिमामय अन्वितिको नाम भएको हामी अनुभूत गरिरहन्छौँ । चालिसको दशकको मध्येबाट आरम्भ भएको अस्मिता यात्रामा पारिजातको प्रत्यक्ष अभिभावकत्व रह्यो, उहाँको परिकल्पनालाई साकार बनाउन जीवनको ऊर्जामय दिनहरूलाई अस्मितामय बनाएर महिला अधिकार र मुक्तिका निम्ति लागिपर्नुहुने सुसन मास्के र अन्जु क्षेत्रीका निम्ति पारिजात एक प्रखर चेतना भएर अस्मिताका विविध विषयमा विचार–विमर्श गरिरहनुहुन्थ्यो । कहिले मनोरम अनुभूतिकी प्रियंवदा त कहिले भान्छा घरकी भान्साघरे काइँलीसम्म भएर पारिजातले पस्कनुभएका लेखरूपी खाना–खजानाहरू आज पनि उत्प्रेरक सामग्रीका रूपमा सुरक्षित छन् । अस्मिताको निरन्तरताका निम्ति बाटो बनाउँदै अघिबढेको अस्मिता हाम्रो यतिबेला बहुल स्वरहरूको प्रवाहमा छ । अस्मिताले पुस्ता हस्तान्तरण गरी यस पत्रिकाको निरन्तरताका निम्ति मार्ग प्रशस्त गरेपछि समकालीन महिला चेतनाका गतिशील अभिलेखहरूसहित आउनुहुने अस्मिता हाम्रोका सम्पादक मञ्जु थापा र प्रकाशक इन्दु तुलाधरका अग्रसरतामा पारिजात इतिहासको बिरासतले उसरी नै निरन्तरता पाइआएको थियो । पारिजात प्रत्यक्ष–परोक्षतः नेपाली महिला आवाजको समूल ध्वनि हुँदै आउनुभएको छ । असीको दशकमा अस्मितासँग जोडिएर यसलाई अनलाइन र छापा दुवै स्वरूपमा प्रकाशित गर्न थालिसकेपछि ‘पारिजात विशेषाङ्क’ प्रकाशन गर्न हामी अस्मिता हाम्रोको वर्तमान समूह उत्साहित भयौँ । यस विषयमा संस्थापक सम्पादकहरूमध्येबाट सुसन मास्के र अस्मिता हाम्रोका पूर्व सम्पादक मञ्जु थापा दिदीहरूसँगको सिर्जनात्मक छलफलले हाम्रो योजनालाई थप उत्साह प्राप्त भयो, हामी यसरी पारिजात विशेषाङ्कका तयारीमा लेख रचनाको निम्ति पारिजातमय हृदयका ढोकाहरू ढक्ढक्याउन पुग्यौँ र छोटो समयमै पारिजात विशेषाङ्कका निम्ति संस्मरण, समीक्षात्मक लेख, समालोचना, कविता, नयाँ पुस्ताको जिज्ञासा र सद्भावसहितका थुप्रै रचनाहरू लेखिदिएर लेखकहरूले यस विशेषाङ्कलाई गरिमामय बनाउनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । पारिजातको जीवनकालमै अस्मिताले पारिजात विशेषाङ्क निकाल्न नसकेको अभावलाई यस विशेषाङ्कले केही हदसम्म सम्बोधन गर्ने आशा पनि राखेका छौ ।
यस विशेषाङ्क प्रकाशित गर्ने सोचको पृष्ठभूमिमा पारिजातको लेखकीय र जीवनीसँगको अन्तःसम्बन्ध, त्यसको समकालीन विश्व र स्थानीय परिवेश साथै सबैभन्दा महत्त्वपूर्ण त पारिजातको स्वबोध पक्षका विविधताभित्र प्रवेश नगरी केही स्वनामधन्य जीवनीकारहरूले पारिजातलाई प्रस्तुत गर्न चाहे पनि तर न्याय गर्न नसकेका, कतिपय पाटाहरू ओझेलमा नै रहेको बोध हामीलाई भयो । पारिजातलाई उहाँको जीवनकालदेखि नै एउटा पक्षले उहाँका विषयमा अन्यायोचित किंवदन्तीहरू बनाउँदै र सुनाउँदै आएको श्रुतिपरम्परा आजपर्यन्त जीवित रहेकाले हाम्रो महिला संवेदना पारिजात–बोधको सङ्कुचित धरातलमाथि घाम ल्याउनुपर्ने अपरिहार्यतातिर अग्रसर भएको हो । अतः पारिजातका पत्र, आत्मकथा र कृतिहरूका निरन्तरको पठनबाट निस्कने निष्कर्षप्रति हाम्रा निष्पक्ष लेखकहरू सचेत हुनुभएको छ भन्ने हाम्रो विश्वास छ । पारिजात व्यक्तिभन्दा ज्यादा संस्था हुनुहुन्थ्यो भन्ने कुरा पारिजात–परिवेशमा हुर्किएर आफूले उहाँबाट आर्जन गरेका संज्ञान र सञ्चेतनाका सुखद घटनाहरूको स्मरण गरी लेखिएका रचनाहरूले पुष्टि गरेका छन् । अतः पारिजातका रचनाहरू, उहाँले चयन गरेका विषय र पात्रहरू अनि उहाँले आत्मसात गरेका समाजदर्शन र जीवनदर्शनका विविध पक्षहरूलाई वैचारिकता र निजत्वका दुवै पक्षबाट केलाउनसके मात्र उहाँका बारेमा बनेका किंवदन्ती र उहाँले बाँचे–भोगेको नेतृत्वदायी जीवन र रचनाकारिता बिचको सही तथ्य नयाँ पुस्ताका अध्येताले जान्न पाउनेछन् भन्ने अभिप्रायले पनि अस्मिता हाम्रो पारिजात विशेषाङ्क प्रकाशनका निम्ति अभिप्रेरित भएको हो ।
यस अङ्कमा पारिजातको हस्ताक्षरमा रहेको एउटा अप्रकाशित पत्र महत्त्वपूर्ण प्रकाशनका रूपमा रहेको छ, जुन हामीले पारिजातलाई वैचारिक र व्यवहारिक रूपमा नजिकबाट चिन्नुभएका र पारिजातले गहिरो विश्वासका साथ आफ्ना आन्तरिक र बाह्य जटिल अनुभूति र परिस्थितिहरूलाई पत्रमार्फत उहाँसँग सुरक्षित गर्नुभएका डा.महेश मास्केबाट प्राप्त गरेका हौँ । यो पत्र यतिबेला प्रकाशन गर्नु किन आवश्यक पर्यो भन्ने सन्दर्भमा यसै अङ्कमा प्रकाशित डा.महेश मास्के र डा. अमृता शर्माबिच भएको अन्तर्वार्तामा प्रस्ट पारिएको छ । यी दुवै सामग्री महत्त्वपूर्ण रहेका छन् । यसरी नै साहित्यसदनले स्थापना गरेको ‘पारिजात साहित्य सम्मान’ (२०८१) साहित्यकार सुकन्या वाइबालाई प्रदान गरेको समारोहमा ‘पारिजात अन्तरसंवाद’ आयोजना गरिएको थियो र यहाँ मार्क्सवादी सौन्दर्यशास्त्री निनु चापागाईं र समालोचक अनुपमा रेग्मीद्वारा पारिजातका विविध पक्षमाथि विचार–विमर्श गरिएको थियो । यस अङ्कमा प्रकाशित भएको उक्त सामग्रीले पनि पारिजातका सङ्घर्ष र योगदानका विविध पक्षमाथि बनाइएका संशयपूर्ण अड्कलहरूलाई तथ्यपूर्ण किसिमले बुझ्न मद्दत गर्ने विश्वास हामीले लिएका छौँ ।
यस अङ्कमा पारिजातबारेका महत्त्वपूर्ण आलेखहरू प्रकाशित छन् । अग्रलेखका रूपमा सुसन मास्केले लेख्नुभएको लामो संस्मरणले अस्मिता र पारिजातसँगको इतिहासलाई ताजा बनाएको छ । पारिजातको जीवनदृष्टि, सामाजिक भूमिका, लेखकीय विशिष्ट स्वभावका साथै आपसी सम्बन्धको गहिराइ र सुसन मास्केको माफीनामा अर्थात् रियलाइजेसन अर्थपूर्ण छ, यी विषयहरूले नयाँपुस्ताका अध्येतालाई रहस्यमयजस्ता लाग्ने तथ्यहरूसँग अझै आकर्षित गर्नेछन् । प्रा.डा. हेमनाथ पौडेलद्वारा पारिजातको जीवनी र कृतित्वको अन्तःसम्बन्धमाथि गरिएको तटस्थ विश्लेषणमा उहाँका लेखनसम्बन्धी विशेषतालाई समग्रतामा प्रस्तुत गरिएको छ । पारिजातसँगका निकटताका स्मृति आलेखहरू निकै लेखिएका छन् । बारबरा निम्री अजिज पारिजातको अनन्य मित्र हुनुहुन्छ । उहाँले आफ्नी प्रखर साथी पारिजात र आफूले देखेको पारिजातको परिवेशमाथि महत्वपूर्ण तथ्य र अनुभूतिसहितको लेख तयार पार्नुभएको छ । यो लेखको नेपाली अनुवाद अस्मिता हाम्रोले अर्को ‘पारिजात विशेषाङ्क’मा प्रकाशित गर्नेछ ।
यस सन्दर्भमा प्रा.डा. सुधा त्रिपाठीले पारिजातको ‘मानुषी’ कवितामाथि नारीवादी चेतनाका केन्द्रीयतामा तयार पार्नुभएको महत्त्वपूर्ण समालोचना साभार गरी प्रकाशन गरेका छौँ । यसरी नै भारतीय नेपालीभाषी समालोचक नवीन पौड्यालले पर्खालभित्र र बाहिर उपन्यासको वैचारिकपक्षमा केन्द्रित रही तयार पार्नुभएको समालोचना यहाँ प्रकाशित छ ।
यस अङ्कमा अविनाश श्रेष्ठको आलोचनात्मक चेतसहितको विस्तृत संस्मरण प्रस्तुत छ । शोभा दुलाल, भारती श्रेष्ठ, ज्योति जङ्गल, नीला राईका लेखले पारिजातबोधलाई विस्तार गरेका छन् । रमेश श्रेष्ठ, हरि श्रेष्ठ, ललिजन रावल, मोहन दुवालका आलेखले पाठकलाई पारिजात इतिहाससँग अन्तरङ्ग बनाउँछन् । लक्ष्मी उप्रेतीको कवितामा समर्पण भाव पोखिएको छ । यस विशेषाङ्कको आवरण चित्र धुलिखेलका पूर्णमान श्रेष्ठको नवरङ होटेलबाट प्राप्त गरेका हौँ । उसले रोजेको बाटो उपन्यासमा पारिजातले जसलाई मुख्य पात्र बनाउनुभएको छ, तिनै पूर्णमान श्रेष्ठले पारिजातप्रतिको अगाध श्रद्धा र साक्षात्कार रहिरहने अभिलाषामा २०५४ सालमा चित्रकार चिरञ्जीवी माकजुलाई बनाउन लगाएर आफ्नो सामुन्ने भित्तामा राख्नुभएको त्यो तस्विर पहिलोपटक अस्मिता हाम्रोको आवरणमा सार्वजनिक गर्ने स्वीकृति दिनुभयो, हामी अस्मिता हाम्रो परिवार उहाँप्रति कृतज्ञ छौँ ।
भर्खरै नारी अस्मिताको अपमान गर्ने बहुविवाहसम्बन्धी विधेयक तीव्र र व्यापक विरोधका कारण फिर्ता लिन सरकार बाध्य भएको छ । यसलाई हामीले नेपाली नारीजातिको अग्रगामी चेतनाको बलियो दसीका रूपमा लिएका छौँ । पारिजात जीवित हुनुभएको भए निश्चित रूपले त्यो चेतनाको एक अग्रणी स्वर बन्नु हुने थियो र उक्त विधेयकको हारमा महिला मुक्तिको लामो यात्रामा एक कदम अघि बढेको अनुभूतिको आनन्द लिनुहुने थियो भन्ने हामी सहजै अनुमान गर्न सक्छौँ ।
प्रिय लेखक तथा पाठकहरू ! अस्मिता हाम्रोले पारिजात विशेषाङ्कको निम्ति प्राप्त गरेका केही महत्त्वपूर्ण आलेखहरू र केही प्राप्त गर्ने मिति तय भएका सामग्रीहरूसहितको अर्को विशेष अङ्क पनि निकट भविष्यमा नै प्रकाशित गर्ने तयारीमा रहेको जानकारी गराउछौँ । हामीले अस्मिता हाम्रोमार्फत महिला स्वतन्त्रता र सहअस्तित्वको सचेतनताका निम्ति जुन प्रतिबद्धता लिएका छौँ, त्यसका निम्ति प्रयत्नरत हामीले यहाँहरूको अमूल्य सद्भाव र उत्प्रेरणा प्राप्त गरिरहेका छौँ । अस्मिता हाम्रोमा प्रकाशित सामग्रीमाथि सिर्जनात्मक सुझावहरू, आलोचनात्मक समीक्षाहरू इमेल र सामाजिक सञ्जालमार्फत हामीलाई प्राप्त भइरहेका छन् । यसबाट हामीले हाम्रा सीमितताहरू बोध गर्न पाएका छौँ र आगामी प्रकाशनका निम्ति सुधार गर्नुपर्ने र समेट्नुपर्ने विषयबारे मनन गर्ने अवसर पाएका छौँ । यसमा योगदान दिनुहुने सम्पूर्ण सहृदयी सत्जनहरूप्रति आभार व्यक्त गर्दछौँ ।
अस्मिता हाम्रोमा प्रकाशित लेख तथा विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार हुनेछन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत सम्प्रेषित हुनेछ । अस्मिता हाम्रोको यस यात्रामा आफ्ना लेख, विचार तथा कलामार्फत साथ दिनुहुने लेखक तथा कलाकारहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनको वैचारिक यात्रामा यहाँहरू सम्पूर्णको साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेका छौँ ।
अस्मिता हाम्रो परिवार