Asmita Magazine

#

महिला र माटो इतिहास, अतिसयोक्ति र यथार्थ

लाखौँ बज्रहरू झरेर धरती टुक्रा परे तापनि
उठ्दैनौँ अब ताप या घुटनले आमा मरे तापनि
उठ्दैनन् किन आज मस्तकहरू नेपाल आमा रुँदा
हामी पत्थर हौँ तसर्थ चुप छौँ माटो बिरामी हुँदा

‘माटो बिरामी हुँदा’ शीर्षकको कवितामा युवा कवि रविना कँडेलको आवाजको एक अंश हो यो । कविताको लय समातेर विचारको सघन क्षितिजतिर उठ्दै गरेकी किशोर वयबाट भर्खरजस्तो निवृत्त, उनको युवानुभूतिमा सिङ्गो अस्तित्व अर्थात् धरती, आमा, नेपाल आमा र अन्ततः माटो मूल विषयका रूपमा प्रतिबिम्बित छन् । यिनै कवितांशमा आएका बज्र, टुक्रा, ताप, घुटन, मृत्युजस्ता विशिष्ट शब्दहरूले प्रकृति विनाश र पर्यावरणीय सङ्कटको समेत सङ्केत गरेको छ । नयाँ पुस्ताकी यी कविले जुन संवेदनाको गहिराइबाट माटो वन्दना गरेकी छिन्, अस्मिता हाम्रोले यस चौथौ अङ्कमा उठाउन चाहेको विषय पनि यही नै हो— इतिहास, अतिसयोक्ति र यथार्थमा माटो ।

सृष्टिको रहस्यमय सौन्दर्यमा माटो एकातिर अनेक तरहले पुज्य रह्यो र अर्कोतिर आफ्नो प्राकृतिक प्रस्रवमाथिका अप्राकृतिक आघातहरूलाई चुपचाप सहन विवश बनाइयो । महिला र माटोको इतिहासलाई कैयौँ यस्तै विधि र विधानहरूको बन्धनबाट निमुखा बनाइएपछि नै हो, माटोको आवाज लिएर कविहरू आए, महिलाका पक्षमा अभियन्ताहरू आफ्ना मागसहित उभिए र सँगसँगै चिन्तन र विचारोत्तेजक परिवर्तनगामी आवाज लिएर लेखकहरू सस्वर भए । अस्मिता हाम्रोले हिँडेको पथमा तिनै आवाजहरूको सहयात्रा छ, हामी तिनै आवाजहरूको शक्तिपुञ्ज निर्माणमा एउटा माध्यम भएर आएका हौँ र परिवर्तनका निम्ति आज उठिरहेका विचारका हतियारहरूलाई अन्ततः व्यवहारका औजारहरू बनाउने प्रयासमा हामी निरन्तर जुटिरहौँ भन्ने अनुरोध गर्दछौँ ।

जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी…, हाम्रो देश–दर्शनको सर्वोच्च अभिव्यञ्जना र आद्य स्रोत पनि हो, यो श्लोक । यसरी नै जैन दर्शनका आचार्य विद्यासागरले माटो, मातृभूमि र मातृरूपी प्रकृतिका पक्षमा महाकाव्य सिर्जना गरे र धरतीको पक्षमा लेखे— मूक माटी । उता पश्चिममा सङ अफ अर्‌थले पृथ्वीको अवगाहन गर्‍यो अनि साइलेन्ट स्प्रिङले पृथ्वीको हरियालीमाथि भएको विषादी हमलाको विरुद्ध आवाज दियो । यही देशमा मौलाएका बुद्ध दर्शन, मुन्धुम दर्शन हुन् वा ताम्बा दर्शन, यी दर्शनका उदार स्रोत प्रकृति हुन् । हाम्रा यी प्रकृतिप्रेमी दर्शनहरूले माटो प्रेमको आधारमा संस्कृति बनाए । यद्यपि संस्कृतिलाई प्रविधिले पराजित गरेको समय हो यो । हिजोका सौम्य कविताले धरतीको माटो र महिलाको अस्तित्व बचाउन नसक्ने वर्तमानमा आइपुगेपछि अभिव्यक्तिका शैलीहरू फेरिँदै गएका हुन् । माटोलाई समष्टिगत स्वरूपसापेक्ष परिभाषित गरिए पनि माटोकै अस्तित्व विपरीत अनेक प्रकारका तर्कहरू हुँदै आए । माटोसँगै महिलालाई सतहमा उभ्याउने खतरनाक कारण बन्यो पुँजीवाद । दुवैको वस्तुकरण गरिने अभ्यासमा तीव्रता आयो । स्वतन्त्रता गुमाएको माटोसँगै महिला स्वयम्‌् त्यस अर्थमा माटोको वर्गमा पारिए । यी दुवै उपभोग्य वस्तुमा परिणत गरिए । बिडम्बना ! तिनमा विद्यमान सिर्जनाको प्राकृतिक गुणकर्म नै माटो र महिला दुवैका निम्ति दासत्वको कारण हुनपुग्यो । जुन माटोका कारण महिलाको स्वतन्त्रता खोसिएको थियो, त्यही माटोमाथि महिलाको अधिकार नै एकप्रकारले समाप्त गरिएजस्तो भयो । अन्ततः आफ्नो प्राकृतिक अधिकार खोस्ने र स्वअस्तित्वमाथि चुनौती दिनेका विरुद्ध महिला सशक्तीकरणका प्रतिरोधी आवाजहरू प्रखर रूपले प्रकट हुनपुगे र हुँदै छन् ।

अहिलेको समाज प्रकृति र संस्कृतिको बिचमा छ । लोककथामा वर्णित प्राचीन प्रकृतिकेन्द्री समतामूलक संस्कृति हुँदै मानवकेन्द्री युगमा आइपुगेपछि स्थापित पितृसत्तात्मक शासन व्यवस्थाले महिलाका प्राकृतिक विषयलाई विभेदपूर्ण तरिकाले सामाजिकीकरण गर्‍यो । ती विषयहरू उत्तरोत्तर अतिसयोक्तिपूर्ण, मनोरञ्जनात्मक र वासनात्मक अभिव्यक्तिका रूपमा प्रस्तुत हुँदै गए । विज्ञापनमुखी सांस्कृतिक पक्षले आधिपत्य बनाउँदै गएपछि महिलाको शरीरलाई आत्माबाट छुट्याउने काम भयो । पितृसत्ताले तिनका शरीरको वस्तुकरण गर्ने र भाउ लगाउने प्रतिस्पर्धा बढ्दै गएपछि समाजमा महिला र प्रकृतिका विषयलाई एकातिर सिर्जनाको आधार र अर्कोतिर शोषण र दोहनका सामग्रीका रूपमा समान किसिमले विश्लेषण गर्ने क्रम सुरु भयो । महिलामाथिको विधि र व्यवहारबिच देखिँदै गएको संवेदनहीनताले हाम्रो समाज पनि भित्रभित्रै उकुसमुकुसको सामना गरिरहेको छ ।

मूलतः महिलाहरू वनजङ्गल, नदीनाला र पशुप्राणीप्रति ज्यादा सहभाव राख्ने स्वभावका हुने बताइन्छ । यस्ता प्राकृतिक स्रोतको संरक्षणमा धार्मिक र सामाजिक दुवै किसिमले महिलाहरू सहकार्य गर्न अग्रसर हुन्छन् । आज पितृसत्ता र पुँजीवादका विभेद र शोषणका विषय मात्र आएका छैनन्, यस्ता विभेद र शोषण विरुद्ध प्रतिरोधी आवाज पनि उठेका छन् । भारतमा औपनिवेशिक समयमा खेजरी रूखहरूलाई बचाउन महिलाहरूले भावनात्मक गहिराइबाट गरेको चिप्को आन्दोलन एक प्रभावशाली दस्तावेज बन्यो र भारत स्वतन्त्र भएपछि त्यसैको पृष्ठभूमिबाट प्राकृतिक स्रोतको संरक्षणमा अझै विकसित नीतिहरू बने । महिला र आदिवासीका पर्यावरणसँगको सम्बद्धता र अधिकारका बारेमा सामाजिक संवेदनशीलता सिर्जना गर्न पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

नवउदारवादी यस युगमा वातावरणीय उष्णतामा भइरहेको वृद्धि र मौसम परिवर्तनमा देखिएको असन्तुलनसम्बन्धी विषयमा संवेदनशील र सशक्त आवाजहरू प्रकट भइरहेका छन् । नेपालमा पनि कालीगणडकी बचाऊ अभियान, चुरे बचाऊ अभियान हुँदै ऐतिहासिक सङ्कथन र वास्तविकताहरूलाई सामुन्ने ल्याएर प्रतिरोधमा प्रभावशाली नेतृत्व दिन आरम्भ भएको छ । यसरी नै लप्सीफेदी बोझेनीमा स्थानीय र सत्ताबिच सङ्घर्ष चर्किनु, राज्यद्वारा दमनपूर्ण कार्यशैलीबाट निर्माणाधीन केवलकार संस्कृतिका विरुद्ध प्रतिकारमा उठेका मुक्कुम्लुङ याक्थुङ आदिवासी महिला र बालबालिकासमेतमाथि भएको प्रशासनिक कारवाहीबाट हताहत भएका महिला र बालबच्चा प्रतिकारमा उत्रिनु, सत्ताले विकासका नाममा कटानी गरेको जङ्गल बचाउन ज्यानको बाजी लगाउँदै विरोध प्रदर्शनी गर्नु र पुनः विरुवा रोप्नु, काभ्रे/रामेछाप/सिन्धुलीसम्म असरपर्ने गरी ड्याम निर्माण योजना ल्याउँदा विस्थापित हुन लागेका असी प्रतिशत माझी समुदाय प्रतिरोधमा उभिनुजस्ता विषयहरू प्रकृतिसँग स्थानीय आदिवासी र महिलाको अन्योन्याश्रित सम्बन्धगत मनोविज्ञानका कारण भएका घटनाहरू हुन् । यसै सन्दर्भमा विगतमा राष्ट्रिय निकुञ्जहरूका निम्ति अधिकरण गरिएका निकुञ्ज वरिपरिका जग्गामा बसोबास गर्ने आदिवासीमाथि सुरक्षा दिने राज्य संयन्त्रबाटै भएका दमन र महिला हिंसाका भयानक स्वरूपका तथ्याङ्कहरू पनि विस्तारै बाहिरिँदै छन् । आज सबैतिरबाट प्रश्न उठ्दै छ—  के परम्परागत रूपमा प्रकृतिसँग जोडिएका जातीय पेशा र संस्कृतिलाई संरक्षण गर्दै विकासमा समावेशी योजना ल्याउन सकिने प्रयत्न गर्नु सरकारको दायित्व होइन ??

आजको सत्ता आफूलाई हुर्काउने प्रकृतिलाई समाप्त गरेर नै उद्योगको विस्तार गरी उपभोग संस्कृतिको विकास गर्न सफल भएको कुरालाई सिमोन द बुआले आर्थिक विकाससँग मात्र नभई पुरुष मनोविज्ञानसँग समेत जोडेर व्याख्या गरेकी छन् । जुन प्रकृतिको विनाश गरी उसले उपभोक्तावादी संस्कृतिलाई अन्धाधुन्ध निम्त्याएको छ, त्यही प्रकृतिबिना आफू जीवनहीन भइन्छ भन्ने समेत बिर्सने पुरुष मानसिकताले नै नारीलाई बोल्न बाध्य पारेको विचार बुआको रहेको छ । पश्चिममा महिलावादी लेखक सेरी ओर्टनरले इज फिमेल टु मेल याज नेचर इज टु कल्चर ? (के प्रकृति र संस्कृति बिचको जस्तै हो नारी र पुरुषको सम्बन्ध ?) शीर्षकको निबन्धमार्फत नारीलाई दिइने द्वितीयक स्थानका बारेमा असहमति जनाउँदै प्रकृति खासगरी जमिनमा पुरुषको आधिपत्य भएझैँ नारीमाथि गरिने पुरुष सत्ताको नियन्त्रणको विरोध गरेकी छन् । नारीमाथिको प्रभुत्वलाई अर्थात् दबावलाई वैधता दिनु भनेको वातावरणीय विनाशलाई पनि वैधता दिइनु हो भन्ने उनको धारणा रहेको छ । नारीवादी पर्यावरणको प्रमुख चेतना मानिएको यस विचारको फैलावटसँगै इतिहासमा भएका केही प्रयासहरू स्मृतिमा आउँछन् ।

पर्यावरण संरक्षणका विभिन्न आधारहरूको खोजी हुने क्रममा महिलाको सम्भाव्य भूमिकाप्रति  खोजी केन्द्रित हुँदै गयो र सन् १९९२ मा वातावरण र विकासका निम्ति ब्राजिलमा सम्पन्न विश्वसम्मेलनले दीर्घकालीन विकासका लागि महिलाको भूमिकालाई औपचारिक स्थानबाट सम्बोधन गर्‍यो । यसरी नै सन् १९९४ मा कायरोमा आयोजित जनसङ्ख्या र विकाससम्बन्धी सम्मेलनमा पनि महिला सशक्तीकरणलाई विकासको एकीकृत हिस्सा मानिएको थियो भने सन् १९९५ मा बेइजिङमा भएको चौथो सम्मेलनमा महिला उत्थान, विकास र सशक्तीकरणमा उठाइएका १२ वटा बुँदाहरू मध्ये एउटा ‘महिला तथा वातावरण’ पनि थियो । नारीवादी पर्यावरणीय चिन्तनको यही पृष्ठभूमिसहितको वर्गीय, जातीय र लैङ्गिक विभेदयुक्त नेपाली समाज, महिलाका विविधता र तीसँग प्रकृति (जल, जमिन र जङ्गल) तथा माटो (अस्तित्वको सिर्जनशील आधार) को असमान सम्बन्धमाथि विचारहरूको प्रवाह घनिभूत हुँदै आएको हो ।

सामाजिक न्यायको विषयक्षेत्रभित्र विशिष्ट सम्बोधन गरिनुपर्ने महिला र महिलाभित्रका पनि पिछडिएका विविध समुदायका महिलाका विषयलाई अस्मिता हाम्रोको यस अङ्कमा जमिनसँगको सामाजिक–राजनीतिक सम्बन्धका आधारमा हेर्ने प्रयास गरिएको छ । यसका निम्ति हाम्रा नियमित स्तम्भभित्र पर्ने अग्रलेखअन्तर्गत डा.रोशन शेरचन, डा.कविता लामा र डा. देवचन्द्र सुब्बाका महिला र माटोसम्बन्धी स्थानीय साक्ष्यसहितका मिहीन पक्षहरूमाथिका गहन आलेखहरू प्रकाशित छन् । भूमि अधिकारका चिन्तक जगत देउजाको लेखमा किसानी कर्ममा महिला र भूस्वामित्वको सवाललाई लिएर महत्त्वपूर्ण पक्षहरू प्रकट भएका छन् । चिन्तक शिला योगीका तर्फबाट सहअस्तित्वसम्बन्धी तर्कपूर्ण विचार आएको छ भने शारदा खनाल र शान्तिप्रिय वन्दनाका लेखले महिलामाथि हुने विभेदका तहहरू उजागर गरेका छन् । यस अङ्कमा डा.ऋषि बस्ताकोटी, डा. रजनी ढकाल र राजकुमार दिक्पालद्वारा तयार पारिएका तीन सङ्घर्षशील महिलाका जीवनी र अनुकरणीय व्यक्तित्वमाथि तथ्यपरक आलेख प्रकाशित गरिएका छन् । यस अङ्कका साहित्यिक विधाहरूमा कविहरू राजेन्द्र भण्डारी, कृष्ण बाउसे, भूपिन, राधिका कल्पित तथा सुदीप पाख्रिनका महिला अस्तित्व, माटोे (भूमि/जमिन) प्रतिको अधिकार, प्रकृति र सामाजिक सांस्कृतिक विभेदमा महिला, महिलाको श्रमशीलता र जीवनदर्शनमाथि रचना गरिएका कविताहरू, इटहरीका कथाकार रीता ताम्राकारको महिला संवेदना र सशक्तीकरणसम्बन्धी सामाजिक–राजनीतिक वर्गीय कथा, स्रष्टा उमा सुवेदीको माटो स्पर्शमा आधारित अनुभूतिशील संस्मरण निबन्ध र रीता परियारको दलित सङ्घर्षको प्रतिनिधि आत्मकथा प्रकाशित छन् ।

अनुवादमा यसपटक हाम्रा मातृभाषाहरू भित्रैबाट कविहरू नेवारीमा लक्ष्मी माली र रजनी मिला, मैथिलीमा रूपा धीरू र तामाङभाषाका यकिना अगााधका कविताहरूको नेपाली अनुवादका साथै कथाकार सुलोचना मानन्धरद्वारा मूल नेवारीमा लेखी नेपालीमा अनुवाद गरिएको कथा प्रकाशित गरेका छौँ । मेरो भागमा परेको अस्मिता स्तम्भमा युगीन चेतनाकी आकाश पारिजातको ‘आँसुभन्दा महँगो पानी…’ शीर्षकको लेख आधाआकाश लेख सङ्ग्रहबाट तथा इतिहासको पानाबाट अन्तर्गत पर्यावरण अभियन्ता सरूभक्तको ‘सापेक्ष’ शीर्षकको आलेख संरक्षण यात्रा कविता सङ्ग्रहबाट साभार गरी प्रकाशित गरेका छौँ । यसरी नै आसामकी पद्मश्री सम्मान प्राप्त भारतीय नेपाली साहित्यकार गीता उपाध्यायको भारतीय नेपाली लेखक रण काफ्लेद्वारा तयार पारिएको व्यक्तिचित्र, आदिवासी माझी समुदायकी सङ्घर्ष र सद्भावकी प्रतिनिधि व्यक्तित्व चिनीमाया माझीसँगको अन्तर्वार्ता, स्वर्गद्वारी गुठी पीडित (महिला विशेष) का दाङदेखि काठमाडौँसम्मका कठिन सङ्घर्ष र अधिकार प्राप्तिको लडाईंप्रतिको प्रतिबद्धता विषयक अन्तरसम्वाद, वक्ता गौरी नेपालीको विचारप्रधान छलफलको सारसहितका सामग्रीहरू प्रस्तुत गरेका छौँ । अघिल्ला अङ्कका स्थायी स्तम्भमा हामीले यसपटक ‘साभार’ र ‘दृश्य–अदृश्य’ दुई शीर्षक थप गरी पर्यावरण चिन्तन र माटोमाथिका अनुत्तरित पक्षबारे थप सामग्री प्रकाशित गरेका छौँ । यसमा साभारअन्तर्गत प्रकृति पर्यावरण विज्ञ पीताम्बर शर्माको महत्त्वपूर्ण आलेख ‘मार्क्सवाद र पर्यावरणीय सङ्कट’ तथा दृश्य–अदृश्यअन्तर्गत् प्रणेताले तयार पार्नुभएको गौरी नेपालीका अनुभव र तथ्यमा आधारित विचारहरू प्रकाशित गरेका छौँ । यसरी नै समीक्षाअन्तर्गत अध्येता भगवती बस्नेतको समीक्षात्मक लेख प्रस्तुत गरिएको छ ।

यस अङ्कको ‘महिला र माटो’ थिममा आधारित कलात्मक आवरण चित्र तयार पारिदिनुहुने भारतीय चित्रकार सोमोयत्री चटर्जीलाई हार्दिक धन्यवाद दिन्छौँ । महिला र माटो विशेषलाई पठनीय र मननीय बनाउने हाम्रो प्रयत्न यस अङ्कमा पनि निरन्तर रहेको निवेदन गर्दछौँ । हाम्रो प्रयास सदैव महिला स्वतन्त्रता र सहअस्तित्वको सचेतनताका निम्ति प्रतिबद्ध रहनेतर्फ निर्दिष्ट रहेर सोहीअनुसारका सामग्रीहरू प्रस्तुत गर्नमा केन्द्रित रहिरहनेमा विश्वास दिलाउन चाहन्छौँ ।

अस्मिता हाम्रोमा प्रकाशित लेख तथा विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार हुनेछन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत सम्प्रेषित हुनेछ । यस यात्रामा आफ्नो लेख तथा विचारमार्फत साथ दिनुहुने लेखकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनको वैचारिक यात्रामा यहाँहरू सम्पूर्णको साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेका छौँ ।

अस्मिता हाम्रो परिवार

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के