Asmita Magazine

#

पारिजात दिदीको सम्झनामा

पूर्वका भोजपुर, ओखलढुङ्गा वा तेह्रथुम जिल्लाबाट सयौँ पहाड छिचोलेर, खोलाका दर्जनौँ जँघारहरू तरेर काठमाडौँ राजधानी आइपुगेका हामी जल्दाबल्दा भर्खरै जुंगा पलाउँदै गरेका युवा कविहरूको साहित्यिक प्रेरणा वा ‘मेन्टोर’ नै हुनुहुन्थ्यो- पारिजात दिदी।

भोजपुरका शङ्कर श्रेष्ठ (पछि शैलेन्द्र साकार) र मसँगै लैनचौर स्थित २०२२ (१८६७) सालतिर सरस्वती कलेजमा राती बिए पढ्थ्यौँ । दिउँसो भने लालदरबारमा रहेको त्रिविवि पुस्तकालयमा म जस्तो अठार वर्षको पुस्तक प्रेमीलाई दिनभर किताबहरू बिच बिताउने काम पाउनु र १८० रुपैंया प्रत्येक महिना कमाउनु भाग्यकै कुरा थियो ।

र, शनिबारको छुट्टीमा भने हामी पूर्वेली दौंतरी साथीहरू शङ्कर, मेघराज मन्जुल (राष्ट्र बैंकमा काम गर्थे), अभि सुवेदी (एमए पढ्दै थिए) र अरूहरू बालकृष्ण सम, माधव घिमिरे जस्ता बडेबडे कवि लेखकहरू लगायत ‘रूपरेखा’, ‘तेस्रो आयाम’ का कविहरूको घर घरमा पुग्थ्यौँ । ती नयाँ कवि लेखकहरूमध्ये माथिल्ला हरफमा हाम्रो लागि आउँथे, पुतली सडकमा डेरा गरी बस्ने पारिजात दिदी र पशुपतिमा बस्ने बासु शशीदाइ। यी दुई हाम्रो कविताका तीर्थ नै थिए।

हाम्रो प्रत्येक शनिबार पुतली सडकमा सुकन्या दिदीको हातको चियाबाट सुरु हुन्थ्यो । शनिबार राती भने पशुपतिमा बासु शशिदाइसँग रक्सीको ग्लाससँग सकिन्थ्यो । सरी जुलुमदिदी, तपाईले मबाट शनिबार पनि छुट्टि पाउनु भएन । शशिदाइको श्रीमती जुलुम श्रेष्ठ त्यसबेला त्रिविवि पुस्तकालयमा क्याटलगर हुनुहुन्थ्यो र म असिस्टेन्ट क्लर्क ।

तीर्थ यात्रीहरू मन्जुल, रामेश, रायन, अरिम, नोरेम, गणेश रसिक समेत सबै राल्फा भए । विमल चापागाइँले सायद राल्फा लेखेनन् । उनीहरू बब डिलन र जोअन बायजका गीतहरू उफ्रीउफ्री गाउँथे । दुवै अहिले असी वर्ष माथिका भए । बब डिलनले बिजुली गिटार समातेर गाउन थाले, मन्जुल साहै दुखित भए, उसले अनुहार बिगारेको मलाई अझै पनि झलझली याद छ । बब डिलनको बिजुली गिटार त्यसको कारण थियो जस्तो लाग्छ।

त्यतिखेर हामी सबै वामपन्थी विचारधाराबाट प्रभावित थियौँ। पारिजात दिदीबाट नयाँ नयाँ किताबहरू पढ्ने प्रेरणा मिल्थ्यो । फ्रांज काफ्का, रेजिस देव्रे, जाँ जेने, चेग्वेवाराका किताबहरू ।

मेरो भट्टेडाँडा (धुलिखेल) स्थित घरको पुस्तकालयमा फ्रांज काफ्काको अमेरिका शीर्षकको (१८६७) पुस्तक पाएँ। यो पहेंलिएको भुत्रो किताबको कभर पृष्ठ पछिको पहिलो पृष्ठमा पेन्गुइन बुक्स २६३८ अमेरिका भनी छापिएको र त्यही पृष्ठमा मन्जुल राल्फाको हस्तलिखित नाम छ ।

दुई पृष्ठपछि विषय सूची पेजमा निनु राल्फाले आफनो नाम लेखेका छन्।

र, फेरि अर्को पृष्ठमा निनु राल्फाले अङ्ग्रेजीमा पनि आफ्नो नाम दम्काएका छन् ।

तर यो किताब दुवैले पढेका छन् जस्तो देखिन्न । हामी काफ्काको ‘दि ट्रेल’, ‘दि क्यासल’ र ‘दि मेटामफॉसिस’ पढ्थ्यों । म पनि अहिले काफ्काकै ‘अमेरिका’ पढ्दैछु पहिलोपल्ट, राम्रो लाग्दैछ ।

जाँ जेनेको एउटा किताब पनि पाएँ यहीबेला, ‘दि वाल्कोनी’ (फेवर पेपर एडिसन, १८५७)। यो चाहिँ शैलेन्द्रले मलाई प्रेमसँग उपहार दिएका थिए । उनले अङ् ग्रेजीमा लेखेका छन्, ‘टु रमेश श्रेष्ठ बाई शैलेन्द्र साकार, २०२८ १२ ।२०’

यो किताब पनि हामी कसैले पढेजस्तो लाग्दैन, सिवाय अन्तिम पेज जसमा मेरो हस्तलेखनमा पाँच हरफको चोइटे कविता छ:

Silence sink within me
the blue haze of the mountain
(somewhere beyond the mountains
in the haze lies my home)
amid the chant of three hundred school boys and girls

रेजिस देब्रेको ‘रिभोलुसन इन रिभोलुसन’ हाम्रोबिचमा एक हातबाट अर्को हातसम्म सर्ने अर्को लोकप्रिय किताब थियो । ब्रिटिस कवि टि.एस. इलिएट आधुनिक नेपाली कविहरूको अर्का प्रिय कवि थिए उनको वेस्टलैन्ड शीर्षकको कविताबाट प्रभावित भएर हामी पनि काठमाडौँ महानगरलाई त्यसरी नै चित्रित गर्थ्यो । हामी ‘होलो मेन’ भन्ने कवितात्मक भाष्यप्रखर थियौँ । हामी २०-२५ वर्षका ठिटाहरूले यी सबै किताब कति बुझ्‌यौं, कसरी बुझ्‌यौं थाहा छैन। तर मन्जुल र रामेश, अरिमहरूले क्रान्तिमाथि निकै आत्मसात गरेर देश बनाउनु भन्दै पश्चिमी ‘ट्वोडोर’ (गायक यात्री) भै जिल्लातिर देश-यात्रामा निस्किए ।

पारिजात र सुकन्या दिदीको डेरामा हामी सबै विभिन्न शैक्षिक, सामाजिक, पृष्ठभूमिबाट आफ्ना आफ्ना विद्रोह, सपना, दर्शन र भ्रमहरू बोकेर भेटियौँ। विभिन्न पृष्ठभूमिका बाबजुद हामी कताकता मिस्री र पानी जस्तै राम्रोसँग मिसियौँ जस्तो लाग्छ ।

यो समयको अर्को रमाइलो सम्झना छ । भारतबाट काठमाडौँ आएका हङ्ग्री जेनेरेसनका लेखक कविहरू सुबिमल बसाक, मलय चौधरी, अनिल करंजय आदिसँगको भेट । मलयसँग धेरै वर्ष पछि सन् २०१५मा फेसबुकमा भेट्दा थाहा भयो, उनीहरू त्यो बेला पहिलो पटक नेपाल एकेडेमीको तर्फबाट बासु शशिको निमन्त्रणामा आएका थिए । उनीहरू त्यसपछि धेरैपल्ट नेपाल आए र पारिजातदिदीसहित अरु लेखकहरूलाई पनि भेटे।

मलयको भरखरै सन् २०२३ मा देहावसन भयो भने सुबिमल बसाक अझैपनि फेसबुकमा देखिन्छन् । मलय, सुबिमलहरूलाई भेट्दा मलाई भने एलेन गिन्स्बर्गलाई नै भेटेजस्तो लाग्यो । उनीहरूले हामीलाई गिन्स्बर्गले तयार गरेको लरेन्स फर्लिनघेट्टीद्वारा सम्पादित ‘सिटी लाइट्स जर्नल’को स्पेसल इन्डियन पोयट्री इस्यूजका केही प्रतिहरू दिए। उनीहरू पछिपछि पनि नेपाल आए र हाम्रो सम्बन्ध बढिरह्यो। उनीहरूले हाम्रो कविता अङ्ग्रेजी, हिन्दी, बंगालीमा अनुवाद गरे अनि छापे । कलाकार अनिल करन्जाईले मन्त्रको तेस्रो र चौथौ अङ्कको कभर डिजाइन गरिदिए ।

अब मन्त्रतिर एक छिन जाऊँ। शैलेन्द्र साकारले अथक परिश्रम गरेर २०२६ साल (१८६८ जुलाई) तिर ‘मन्त्र’ पत्रिका शुरु गरे र ४-५ अङ्कपछि थाकेरै होला बन्द गरिदिए । म त्यतिखेर त्रिविवि कीर्तिपुरमा अङ्ग्रेजी विषय लिएर एमए गर्दै थिएँ । मन्त्रको तेस्रो अङ्कमा मैले ‘सन्त्रासको वैयक्तिक कविता’ शीर्षकमा मन्त्रको मेनिफेस्टो नै लेखिदिएँ : ‘देश, संस्कृति भाषाबाट घटाएर आफूलाई पूर्वाग्रह, भ्रम, दम्भ, मान्यता मूल्यबाट मुक्त पारेर मान्छे जो बोलिरहेछ, त्यही हो हाम्रो वर्तमान कविता । यहाँ पूर्व, पश्चिम, उत्तर, दक्षिण केही रहँदैन । सबै मान्छे हो, मान्छेको निम्ति बोलिरहेको । … नेपाली कविहरू नाङ्गिएका छन् । आफ्नो देशको जीर्ण लुगाबाट-माने सर्वदलीय, सम्पूर्ण रूपले मानवीय ।’

‘हाम्रो आधुनिक कविता आफूलाई पूर्णतया ना‌ङ्गो बनाएर जीवनबिच, जगत् बिच, कुद्दो, उफ्रदो, लड्दो, बस्दो, खाँदो सम्भोगको हो । यस संसारका हामी बालक हामी आफूलाई पूर्ण नङ्ग्याऊँ, प्राकृतिक हौँ । आधुनिक नेपाली कविता संत्रासको वैयक्तिक कविता हो ।’

अरे बाफ रे बाफ ! क्या लेखियो-अप्रिल १४, १८६८ मा लेखिएको थियो, म ठ्याक्कै १८ वर्ष भएको थिएँ। तथापि मन्त्रको चौथौ अङ्कमा त्यस लेखले पारिजात दिदी, श‌ङ्कर लामिछानेको ध्यान आकर्षण गरायो । ‘रमेश आफूलाई प्रत्येक पुराना मोडहरूमा आफैले मार्दै (डिस्ट्रक्ट) आफ्नो सशक्त पाइलाहरू अघि बढाउनू । उसका कविता हामीसम्म सम्प्रेषण (कम्युनिकेट) भै रहनुपर्दछ ।’ मन्त्रको चौथो अङ्क (४ पुस २०२६) (नोभेम्बर/डिसेम्बर, १९६८) मा पारिजात दिदीले लेख्नुभयो ।

पारिजात दिदीको ममाथि कत्रो माया, कत्रो विश्वास !

सन्त्रास र मन्त्रको कुरा गर्दा पारिजात दिदीको २०३२ सालमा साझा प्रकाशनबाट प्रकाशित सडक र प्रतिभामा एक कथा अहिले नैं पढ़ें। ‘सन्त्रास’ जुन ‘मन्त्र’मा पहिले छापिएको भनिएको छ । ‘रात, एक लास र सन्त्रास म बहन गरिरहन्छु । … भान हुन थाल्दछ कि म एउटा सम्पूर्ण सन्त्रासता आफूभरि ओढिरहेको छु… के भएको छ यो युगलाई ! हामी खुलस्त सोच्न पनि सक्दैनौँ र’ ।

सन्त्रासको भाष्य मिलेछ । मिलेको जस्तो लाग्यो ।

पारिजात दिदीको अथाह माया, सहिष्णुता र प्रेरणाबिच हामी सबै बढ्यौँ, चढ्यौँ, लेख्यौँ, गीत गायौँ, आफ्नो आफ्नो तरिकाले रमायौँ।

सन् १८७०-७१ तिर म भने कीर्तिपुरमै पढ्ने र त्यहीँ ब्वाइज होस्टलमा बस्ने, त्रिविवि पुस्तकालयमा दिनभरि काम गर्ने भएकोले यतिबेला पुतली सडकको त्यति याद आउँदैन । सन् १८७२ पछि पाटन क्याम्पसमा पढाउन थालेपछि आफ्नै चक्करमा पारिजात दिदीसँग पनि कहिले भेट भएन । दिदीको विषयमा मात्र पढ़ें, सुनें।

सन् १९८० मा त वानप्रस्थ भएँ-थाइल्याण्डमा । छुट्टिमा नेपाल आइपुग्दा हरेकपल्ट पारिजात दिदी, कृष्णचन्द्र सिंह प्रधान आदि पुराना दाइहरूलाई भेट्छु भन्दाभन्दै कहिल्यै भेट जुरेन । उहाँहरू सबै बितिसक्नुभयो । उहाँहरूलाई भेटेर पुराना बातचित गर्न नपाएकोमा मेरो अहिले पनि ठुलो चुकचुकी छ ।

अनि अन्त्यमा, स्मरणशक्ति कम हुँदै गएको, स्वदेशी भाषा/लेखन झण्डै झण्डै हराइसकेको मान्छेलाई ५५-६० वर्षअघिको कुरा सम्झने कोशिस गर्न, लेख्न नछोड्न पूरा गर्न बराबर प्रेरणा दिने साथी टेकबहादुर जिरेललाई धन्यवाद भन्छु।

Author

  • त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. तथा अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट भाषाविज्ञानमा एम.ए. गरेका रमेश श्रेष्ठ होनोलुलु, हवाईस्थित इस्ट-वेस्ट सेन्टरअन्तर्गत कल्चर लर्निङ इन्स्टिच्युटमा प्रोफेसनल एसोसिएटका रूपमा आबद्ध थिए । उनका प्रमुख कृतिहरूमा नेपाली कविताको प्रवृत्ति (२०३५), Collected Poems in English (२०१६), भोजपुर काठमाडौं कीर्तिपुर : रामेश श्रेष्ठको कवितायात्रा (२०७२), र A Nepali's American Odyssey (२०२३) पर्दछन् ।

    View all posts

One Comments

  1. रमेश श्रेष्ठको नेपाली र अंग्रेजी कविता तथा अरु कृति यहाँ पाइंछः
    https://linguae.weebly.com/ramesh-shrestha-nepali.html
    https://linguae.weebly.com/ramesh-shrestha.html

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के