‘तिमी मानुषी’
पारिजात, मानुषी र अस्मिता, यी तीन प्रिय शब्दभित्र अन्योन्याश्रित ध्वन्यात्मकता छ । यसमा एउटा विशिष्ट लय त्यसरी नै भेटिन्छ, जसरी पारिजात–सुसन–अन्जुका बिच थियो, पुस्ता हस्तान्तरणको एउटा अपूर्व तत्परता र उत्तरोत्तर साथ–समर्पणसहितको सहकार्य ! अस्मिता पत्रिकाको परिकल्पना र प्रकाशनको सुदीर्घ यात्रासँगसँगै प्रखर बनेको गीति चेतना र गायनको सुललिततामा अनुभूतिको गहिराइ पक्रिँदै फक्रिँदै गएको सुसन मास्केभित्रको अनमोल कलाकारिता ! त्यस लयभित्रको ऐतिहासिकताको संरक्षक र साक्षी दुवै हुनुहुन्थ्यो— स्वयं पारिजात !! ‘तिमी मानुषी’ को प्रतिध्वनिमा अनुबोध हुने पनि पारिजात स्वयम्कै प्रतिरूप ! नारीअस्तित्वप्रतिको सचेत कविता हो, मानुषी । यही मानुषीले सहअस्तित्वका निम्ति खोजी गरेको सहयात्राको सम्भाव्यतालाई अस्मिता मार्फत सुसन–अन्जुले सुदीर्घ बनाउनुभयो । महिलामुक्तिको सही पथ निर्जन राजमार्ग हुँदै होइन, यसका लागि त सशक्तीकरणको सामूहिक गीत एकैपटक गुन्जिने खुला आकाश चाहिन्छ । त्यस्तो एउटा आकाश निर्माण गर्ने अभियानको आरम्भ अस्मिता पत्रिकाबाट भएको थियो । अस्मिता फैलिएर अस्मिता हाम्रो भएको सुखद अवसरमा परिवर्तनका निम्ति सामाजिक सचेतनताको स्वर दिने गायक/गीतकार सुसन मास्के र उहाँकी छोरी गायक/सङ्गीतकार आस्था तामाङ मास्केको सहसिर्जन र गायनले सुसज्जित गीत ‘तिमी मानुषी’ उहाँहरूले अस्मिता प्रकाशनपूर्व र प्रकाशनका प्रारम्भिक दिनहरूदेखि महिला सचेतनताको मार्गमा सदैव जागरुक साथ र साहस दिनुहुने सम्पूर्ण सङ्घर्षशील महिलाहरूका निम्ति यसै पत्रिकामार्फत समर्पण गर्नुभएको छ, साथै सम्पूर्ण सहअस्तित्वका सहयात्रीका निम्ति पनि ! चेतनाको विस्तारको लागि एक गतिशील उत्प्रेरक बनेको यस्तो अभूतपूर्व सिर्जनाका निम्ति पुस्तान्तरणको अर्को जिम्मेवारी निर्वाह गरि रहेको अस्मिता हाम्रो टिम उहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।