Asmita Magazine

#

तिमी मानुषी

हृदयशील गायिका सुसन मास्केको शब्द रचना र उहाँकी प्रसिद्ध गायक छोरी आस्था तामाङ मास्केसँगकाे सहगायनमा

सुसन मास्के गीत रचना र गायनका माध्यमबाट नेपाली समाजका कैयन् सङ्कुचित सोच र परम्परालाई नयाँ पथ र गति दिन निरन्तर समर्पित स्रष्टा हुनुहुन्छ। अस्मिता पत्रिका (२०४५ वैशाख)को परिकल्पना गरी संस्थापक सम्पादक/लेखकका रूपमा सुसन मास्के/अन्जु क्षेत्री र उहाँको टिमले गर्नुभएको योगदान नेपाली समाजका निम्ति अनुकरणीय रहेको छ । यही क्रमको निरन्तरता हो, ‘तिमी मानुषी ‘ गीत !! गीत मार्फत आम नेपाली महिलाका जीवनमुखी गहिरो आवाजलाई सम्बोधन गर्ने सुसन मास्केले सङ्गीतमा प्रतिभा सम्पन्न आफ्नी छोरी आस्था तामाङ मास्केसँग गरिरहनुभएको सहकार्य अर्को महत्त्वपूर्ण पक्ष रहेको छ । सामाजिक चेतनाको हस्तान्तरणमा सुसन – आस्थाको यो परिपूरक यात्रा अभूतपूर्व छ, उल्लेखनीय रहेको छ । तिमी मानुषीले परिवर्तनकामी महिला पथको मार्ग निर्माणमा अर्को कोसेढुङ्गाको प्रतिष्ठान गरेको छ ।हृदयशील गायिका सुसन मास्केको शब्द रचना र उहाँकी प्रसिद्ध गायक छोरी आस्था तामाङ मास्केसँगकाे सहगायनमा सजिएको गीत ‘तिमी मानुषी’ महिला सशक्तीकरणको अनुगुन्जन गर्ने एउटा सुन्दर सिर्जना हो ।  धर्ती र आकाशको आधा भाग ओगटेकी नारीले आफ्नो विद्घता, क्षमता, सीप, कला र आफ्नो सिङ्गो अस्तित्वलाई आफैले पहिले चिन्नुपर्ने तब मात्र संसारले चिन्ने वास्तविकतालाई यस गीतले सारै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । नारीले आफू को हो, आफ्नो प्रतिभा र क्षमता के हो, चिनारी के हो भन्ने कुरामा आफै जागरुक हुनुपर्छ भन्ने सन्देश दिएको यस गीतले बिसौँ शताब्दीको  विकसित विश्वमा पनि नारीलाई आफ्नो स्वआर्जन गरी परिचय निर्माण गर्न तथा अस्तित्वको लडाइमा खरो उत्रिन ठुलो चुनौती रहेको तितो वास्तविकतातर्फ सङ्केत गरेको छ । यसका साथै जस्तो चुनौती पनि पार गर्न सक्ने क्षमता उसमा निहित रहेकोले त्यसलाई पहिचान गर्न र आफूलाई कत्ति पनि कमजोर नठानी हरेक परिस्थितिको डटेर सामना गर्न यस गीतले सम्पूर्ण नारीहरूलाई आव्हान गरेको छ ।

पुरुष जसरी नै नारी पनि आफैमा पूर्ण क्षमतावान् स्वतन्त्र मानव हो तर पितृसत्ताले अझै पनि समष्टिमा नारीलाई त्यस रूपमा स्विकार्न सकेको छैन । त्यसैले त उसकालागि समाजले निर्माण गरेको अनेकौँ नीति नियमरूपी साङ्ला तथा डोरीहरूले उसको उडान क्षमतालाई खुम्च्याइदिएको छ अनि अघि बढ्ने खुट्टाहरूमा अङ्‌कुस लगाइदिएको छ । यसै तथ्यतर्फ इङ्‌गित गदै ती अङ्‌कुस तोड्न नारी आफैँ अघि सर्नुपर्छ, ‘मेरा पङ्‌खहरू काटिएका छन्, पाइलाहरू बाँधिएका छन्’ भनी गुनासो मात्र गरेर आफूभित्रको प्रज्ञा र सिर्जन क्षमता मार्न हुँदैन भनेर गीतले नारीहरूमा चेतना जगाउने काम गरेको छ । नारी सिर्जनाकी मूल हुन्  । सिर्जनशीलता, समृद्धि, स्वतन्त्रता, निर्भयता, स्वअस्तित्वको खोजी, ममता उसका विशेषता हुन् । नारीले आफूलाई पुरुषको छायामा मात्र सीमित राख्न हुँदैन भन्दै नारीको गरिमा, मर्यादा तथा शानमा आँच आउने कुनै पनि कुराको विरोध गरी आफ्नो स्वतन्त्र परिचय कायम गर्न अघि बढ्ने प्रेरणा यस गीतले दिएको छ ।

गीतले नारीलाई कि त देवीका रूपमा मन्दिरमा सजाएर राख्नु कि त दासीका रूपमा घरभित्र थन्काइराख्नु भन्नु समाजको अतिवादी दृष्टिकोण हो भन्छ । यी दुवै स्थानमा नारीलाई राख्नु उसको एउटा स्वतन्त्र मानव भई बाँच्न पाउने अधिकारलाई कुण्ठित गर्नु हो त्यसैले नारीले समाजको यो सङ्कीर्ण सोचलाई भत्काउनु पर्छ र स्वतन्त्र मानुषीको रूपमा आफ्नो अस्तित्वको खोजी गर्नुपर्छ भन्ने क्रान्तिकारी धारणा गीतले प्रस्तुत गरेको छ। नारीले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन आफै नै अघि सर्नुपर्ने, आफू हिँड्ने गोरेटो आफैँ कोर्नुपर्ने, र आफ्नो शरीर र मनको निर्णय आफैले गर्नुपर्ने अनि आफ्नो लक्ष्यलाई भेट्न आफै अग्रसर हुनुपर्ने जस्ता भावलाई समेटेको यस गीतले नारीजातिलाई आफ्नो अस्तित्व बोध गर्नमा निकै सहयोग पुर्‌याएको छ । आफ्नो अधिकार , कर्तव्य तथा सीमालाई पहिचान गरी नारीले आफनो अस्मितालाई समाजसामु प्रस्तुत गर्नुपर्ने जस्तो गहन विचार बोकेको यो गीत नारीमा चेतनाको दीप बाल्न सक्षम छ । साथै सरल, सहज तथा भावपूर्ण शब्द अनि सुमधुर स्वर र सङ्‌गीतमार्फत सम्पूर्ण नारीजातिमा सकारात्मक ऊर्जा भर्न सफल ‘तिमी मानुषी’ गीत-सङ्‌गीत सिर्जना तथा गायनका निम्ति सततः नमन ।

• • •

Author

  • नेपाली भाषा साहित्य विषयमा दर्शनाचार्यसम्मको अध्ययन गरी अध्यापन पेशामा संलग्न पूनम अधिकारीका विभिन्न पत्रपत्रिकामा कथा , कविता ,पुस्तक समीक्षा , संस्मरण तथा समालोचना प्रकाशित छन् । मूलत: नारी स्वतन्त्रता र सहअस्तित्वको केन्द्रीयतामा कलम चलाउँदै आउनुहुने अधिकारीको मुख्य विधा कथा सिर्जना रहेको छ ।

    View all posts

One Comments

  1. पुरुषोत्तम उपाध्याय दाहाल(गोठालो अन्तरे) says:

    वर्तमान देशका नारीहरूले विभिन्न उच्चस्तरीय गरिमामय विभिन्न प्रशासनिक पदहरूमा आफ्नो क्षमता देखाउन सफल हुनुभएको छ। ग्रामीण क्षेत्रदेखि सहरका विभिन्न प्रान्तमा जागिर गर्न नारी वर्ग प्रस्तुत भएको देखिन्छ।यो एउटा शुभ लक्षण हो। गीतको बोल राम्रो छ। गायन पनि राम्रो छ तर संगीतमा बाँसुरी मादल र सारङ्गीको युगलबन्दी भए अझै मन छुने थियो कि जस्तो आभास भएको छ। शब्दहरू बोलेका छन्। उच्चारण स्पष्ट छ।
    गीत प्रस्तुत गर्ने सम्पूर्ण टोलीलाई बधाई। गीतलाई समाजमा ल्याइदिने पत्रिकाका सम्पादक साथै टोली वर्गलाई हार्दिक अभिनन्दन साथै हार्दिक नमन। आगामी दिनहरूमा अझै उत्कृष्ट शब्दहरूले भरिएको गीत र लोक संगीतले भरिएको यस्तै सुरिलो स्वरको अङ्कार धरातलमा गुन्जियोस्।
    पुरुषोत्तम उपाध्याय दाहाल
    गुवाहाटी, असम,भारत।

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के