Asmita Magazine

#

ताजमहलको नसुनिएको कथा

साँचो प्रेमको विम्व मानिएको
ताजमहलको प्राङ्गणमा मुटु बिसाएर
हृदयको आँखाले हेरी
आफू पनि गहिरो मायाको उपासक भएको दावी गर्ने
तीव्र आकाङ्क्षा थियो जीवनभरिको
व्यग्र प्रतीक्षा थियो बर्सौँदेखिको ।

समयले जुराइदिएको मौका टिपेर
व्यवधानहरूका बार भत्काउँदै
एक अँगालो कौतुहल बोकी
मायाको मन्दिर मानिएको
त्यस विशाल मुगल स्मारकसम्म यसरी पुगेँ
मानौँ, यात्राभरि हावामै मात्र टेकेर पुगेँ ।

मेरा आँखा अप्रतिम सङ्गमरमरी चिहानमा लठ्ठिरहेकै बेला
धमिलिएको चट्टानी भित्तामा ठोक्किएर
भाग्दै आएको एक झोँक्का चीसो बतासले
जसै छोयो मेरो आत्मालाई,
मुमताजको आत्मा थर्थराउँदै मभित्र पसेर
ढक्ढक्यायो मेरो अन्तरलाई ।

कति फरक थियो होला
एउटा बादशाहकी बेगम भएकी मुमताज र
कुनै साधारण महिलामा ?

कहीँ कतै थिए होलान् र उनका पनि
अपूर्ण जीजिविषा र
अपूरा कामनाहरू ?

बाँचुन्जेल उनको भागमा
कति प्रहर पर्थ्यो होला
अरूहरूसँग बाँडिएर बाँकी रहेको
एउटा बादशाहको टुक्रिएको समयबाट ?

के बाँचिन् होला मुमताजले
आफूले चाहे जति सबै सपनाहरू?
हाँसिन् होला दिल खोलेर कुनै पल
शाहजहाँको साथमा ?

कि अस्ताएकी हुन् उनी पनि
एउटा हँसिलो पलको चाहनामा
एउटा आत्मीय साथको प्रतीक्षामा
र मनभित्रै थन्क्याएका असङ्ख्य अभावका चाङहरूमा ?

के मागेकी होलिन् र, उनले !
ज्यूँदो हुँदै प्राप्त हुन सक्ने
प्रेमका अनगिन्ति स्वरूपको साटो,
मरिसकेपछि देखाइएको मिथ्या प्रदर्शनको नमूना ?

एक झोँक्का चीसो बतास
मलाई छोएर जसै गयो
मानौँ, अर्को एउटा कथा भनेर गयो –
प्रेमको वास्तविकतामा अटाउन नसक्नुको ग्लानीले थिचेपछि
आफ्नो जीवनसँग प्रेमले जोडिएकी नारीलाई
सन्तान बनाउने उपकरण ठान्नुको सन्तापले पोलेपछि
आफूले माया गरेको दावी गरिएकी स्त्रीलाई
आफ्ना कामनाको छाया मात्र ठान्नुको पश्चातापले गलेपछि
आफ्नो मनमा मल्हम लगाउनका लागि
आफैँलाई थुनेर एकान्तमा
यसरी लुके एउटा शक्तिशाली बादशाह
जसरी लुकेका छन् इतिहासमा अनगिन्ति सत्य
र बनेका छन् अनेकौँ मीथहरू ।

वर्षदिनसम्म घोत्लिएर निरन्तर
दुनियाँको नजरमा प्रेमिल देखिने उपाय खोजिरहे शाहजहाँले

सङ्गमरमरको एउटा चिहान बनाइदिए
ठ्याक्कै आफ्नै मुटुजस्तै,
कठोर, चीसो र निर्जीव !

Author

  • सानु शर्मा नेपाली साहित्यलेखनमा हाल सकृय रहिरहेकी कवि तथा आख्यानकार हुन् ।  मूलतः आफ्ना उपन्यास तथा कथाका कारण प्रसिद्धी कमाएकी सानु शर्माले काव्यविधामा पनि उत्तिकै कलम चलाएकी छन् । पुस्तकाकाररूपमा सात वटा उपन्यास र दुईवटा कथासङ्ग्रह प्रकाशित गराएकी शर्माका कविता, गीत तथा गजलहरू विविध माध्यमबाट प्रकाशित भएका छन् । उनका कथा तथा उपन्यासहरू अडियोबुकका रूपमा पनि प्रसारित भइरहेका छन् ।   शर्माका केही रचना अङ्ग्रेजी, हिन्दी, पोर्चुगाली, एवम् स्पेनीलगायतका भाषाहरूमा अनुवाद भई विभिन्न देशबाट प्रकाशित भएका छन्।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के