Asmita Magazine

#

वाङ्गारी माथाइको ग्रीन बेल्ट अभियान

“संसारमा धरै युद्धहरू प्राकृतिक स्रोतका लागि भएका छन् ।  यस्ता युद्धहरू अहिले झन् डरलाग्दो बन्दै गएका छन् । हामीले प्राकृतिक स्रोतको राम्रोसंग संरक्षण गर्न सक्यौं भने प्राकृतिक स्रोतकै लागि हुने यस्ता युद्धको अन्त्य हुनेछ। यसैले विश्व वातावरणको संरक्षणबाट शान्ति स्थापनमा टेवा पुऱ्याउन सकिन्छ ।  संसारका ती मानिसहरू, जसले यो अन्तर्सम्बन्धलाई राम्ररी बुझेका छन्, वातावरण संरक्षण ती मानिसको दायित्व हो। हामी यसबाट थाक्नु हुँदैन, हामी यसबाट भाग्नु हुँदैन, निरन्तर लाग्नुपर्छ ।”

–वाङ्गारी माथाइ (ग्रीन बेल्ट अभियानकी अभियन्ता तथा शान्तिका लागि नोवेल पुरस्कार विजेता पहिलो अफ्रिकी महिला)

महिला र प्राकृतिक स्रोतको अन्योन्याश्रित सम्बन्ध छ । दैनिक जीवनमा प्राकृतिक स्रोतमाथि महिलाको निर्भरता पुरुषको भन्दा धेरै हुन्छ र सामान्यतया संरक्षणमा महिलाकै भूमिका अहम् हुने गरेको देखिन्छ ।  प्राकृतिक स्रोतको  विनास  हुँदा सबैभन्दा बढी प्रताडित सायद महिला नै हुन्छन् ।  प्राकृतिक स्रोतको संरक्षणमा पनि दिलोज्यान लाएर महिला नै लागिपरेका अनेक उदाहरण भेटिन्छन् ।  नेपालको सामुदायिक वन विश्वकै लागि संरक्षणमा उदाहरणीय मानिन्छ । यो सफल उदाहरणमा महिलाहरूको महत्त्वपूर्ण योगदान र स्थानीय स्तरमा महिलाहरूको नेतृत्वको भूमिका रहेको छ । संसारका विभिन्न भागमा महिलाको नेतृत्वमा भएका वातावरण संरक्षणका अनेक सफल आन्दोलनहरू छन् । यी आन्दोलनहरूले महिला र  पर्यावरण बिचको सम्बन्धलाई मजबुत बनाएका छन् । यस्ता आन्दोलनको एउटा प्रमुख उदाहरण भारतको चिप्को आन्दोलन हो, जहाँ महिलाहरूले वन संरक्षणको पक्षमा आन्दोलन गरेर वृक्षहरूको संरक्षणका लागि आफ्नो जीवनलाई समर्पित गरे । यस्तै भारतमै मेधा पट्करको नेतृत्वमा भएको “नर्मदा बचाऊ” आन्दोलन पनि अर्को उल्लेख्य आन्दोलन हो, जसले नर्मदा बाँधका कारण स्थानीय समुदायको जीविकोपार्जनको रक्षा, पर्यावरणीय संरक्षण र सामाजिक न्यायको कुरा उठायो ।  यी  आन्दोलनका बारेमा विभिन्न सन्दर्भमा चर्चा हुने गरेको छ। अफ्रिकी महादेशको केन्यामा भएको  “ग्रीन बेल्ट अभियान” पनि यस्तै अर्को चर्चा गर्न लायक र प्रेरक आन्दोलन हो। यो आन्दोलनको नेतृत्व  वाङ्गारी माथाइले गरेकी थिइन् । आफ्नो जीवनकालमा माथाइले वृक्षरोपणलाई सामाजिक न्याय, पर्यावरण संरक्षण र महिला सशक्तीकरणको माध्यम बनाएर अन्तर्राष्ट्रिय ख्याति कमाइन् । यो आन्दोलनले  महिला सशक्तिकरण र पर्यावरणीय संरक्षणलाई जोड्ने कार्य गर्‍यो । यस आन्दोलनले महिलालाई केवल पर्यावरण र जङ्गलहरूको संरक्षक मात्र होइन, समाजका प्रभावशाली नायकका रूपमा समेत प्रस्तुत गरेको छ । केन्याको ग्रीन बेल्ट अभियानले महिला अधिकार र पर्यावरणीय न्यायको बिचको अडानलाई मजबुत बनाएको छ । र, प्राकृतिक स्रोत संरक्षण र महिला सशक्तिकरणको माध्यमबाट विश्व शान्तिको सन्देश  समेत दिएको छ ।  यो लेखमा ग्रीन बेल्ट अभियानकी अभियन्ता तथा शान्तिका लागि नोवेल पुरस्कार विजेता वाङ्गारी माथाइको नेतृत्वमा भएको अभियान र यसका सिकाइ बारे छोटो चर्चा गरिन्छ।

को हुन् वाङ्गारी माथाइ ?

वाङ्गारी माथाइको जन्म सन् १९४० मा केन्याको न्येरी जिल्लाको एक सामान्य किसान परिवारमा भएको थियो। बाल्यकालमा नै उनले आफ्नो गाउँघरको प्राकृतिक सुन्दरतासँग घनिष्ट सम्बन्ध बनाइन्। यी प्राकृतिक दृश्य र वातावरणको गहिरो प्रभाव उनको जीवन र कार्यशैलीमा स्पष्ट देखिन्छ। उनका अभिभावक शिक्षामा जोड दिने खालका थिए, जसका कारण उनले सानै उमेरमा विद्यालय गएर पढ्न पाइन्। सन् १९४० मा उनका पिताले  रिफ्ट  भ्याली भन्ने ठाउँमा गोराहरूको कृषि फर्ममा काम पाएकाले उनको परिवार त्यतै बसाइ सर्‍यो ।  कृषि फर्म भएको ठाउँमा विद्यालय नभएकाले सन् १९४७ तिर बाबुलाई काम भएतिर छोडेर उनकी आमाले दाजुहरूका साथ वाङ्गारीलाई  पनि लिएर उनीहरूको शिक्षादिक्षाका लागि न्येरी फर्किए । आठ वर्षको उमेरमा दाजुहरूसँगै वाङ्गारी पनि विद्यालय जान पाइन्।  केन्याका ग्रामीण केटीहरूले उतिबेला पढ्न पाउनु उति सजिलो कुरा थिएन। उच्च शिक्षाको अवसर पाउने अत्यन्त कम ग्रामीण केटीहरू मध्ये उनी एक हुन् ।

Source: www.africanfeministforum.com

सन् १९६० मा केनेडी छात्रवृत्ति सहित उनले अमेरिकाको कान्सास स्थित  माउण्ट  सेन्ट स्कोलस्टिका कलेजबाट जीव विज्ञानमा स्नातक र पिट्स्वर्ग विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने मौका पाइन्। सन् १९६६ मा उनी केन्या फर्केपछि युनिवर्सिटी कलेज नैरोवीमा अनुसन्धान सहायकको जागिर पाउने भइन्, तर जब यो जागिर सुरु गर्न उनी विश्वविद्यालय पुगिन्, तब उनलाई यो जागिर  त  अन्य कसैलाई दिइसकिएको रहेछ भनियो ।  अन्ततः उनले पाउने भएको जागिर पनि पाइनन् । उनलाई लाग्यो जातीय र लैंगिक भेदभावको कारणले उनलाई यो जागिर दिइएन। फेरि जागिर खोज्ने करिब दुई महिनाको प्रयत्नपछि जर्मन प्राध्यापक रेनहोल्ड हफ्म्यानले उनलाई नैरोवी विश्वविद्यालयमा स्थापित नयाँ भेटेरिनरी एनाटोमी  विभागको लागि अनुसन्धान सहायकको काम गर्ने अवसर प्रदान गरे।  त्यतिबेला यस्तो काम गर्ने महिलाहरू केन्यामा नगन्य मात्रामा हुन्थे । उनले अनुसन्धान र उच्च अध्ययनलाई निरन्तरता दिइन्।  सन् १९७१ मा भेटेरिनरी एनाटोमीमा विद्यावारिधि गरेर पूर्वी अफ्रिकामा विद्यावारिधि गर्ने पहिलो महिला बनिन्।

माथाइले आफ्नो शिक्षाको प्रभावलाई केवल व्यक्तिगत सफलतामा सीमित नगरी आफ्नो समुदाय र राष्ट्रलाई नै समर्पित गरिन्। सन् १९७७ मा सहप्राध्यापक हुँदै उनी भेटेरिनरी मेडिसिन विभागको प्रमुखसम्म बनिन्  । यसरी विभागको नेतृत्व समाल्ने उनी  विश्वविद्यालयकै पहिलो महिला बन्न पुगिन् ।

पर्यावरणीय आन्दोलनको बाटोमा

सन् १९७६ मा वाङ्गारी माथाइ केन्याको  राष्ट्रिय महिला परिषदसँग आवद्ध भइन् र छिट्टै त्यसको अध्यक्ष समेत बनिन्।   ग्रामीण महिलाहरूसँग काम गर्ने क्रममा उनले उनीहरुका समस्यालाई नजिकबाट हेरिन्, उनीहरूलाई सुनिन् र वृक्षरोपणलाई  समस्याको समाधानका रूपमा देखिन्।  वन विनाश र कृषि उत्पादकत्वमा आएको ह्रास, घनघोर वर्षाले बगाउने गरेको उर्वर माटो, नदीहरूमा थुप्रिँदै  गएको बालुवाको थुप्रो, माटोबाट ह्रास हुँदै गएको खाद्यतत्त्व जस्ता कुराले उनलाई भत्भती पोल्न थाल्यो। सुक्दै गएका खोला, कम हुँदै गएको पानी र वनजन्य स्रोतको अभावले जनजीवनमा थपेको कष्ट उनले राम्रै महसुस गरिन्।  अन्य विकासशील देशहरूमा जस्तै अफ्रिकी देशहरूमा पनि खाना बनाउने, घाँस दाउराको जोहो गर्ने जस्ता काम महिलाकै मानिन्छ। वन विनाशले मरुभूमीकरण त गर्ने नै भयो, महिलाहरूलाई यसले झन् बढी सताउने कुराले उनलाई गम्भीर बनायो। दाउरा सङ्कलन गर्न टाढा टाढा जानुपर्ने भयो।  फलतः घर वरपर बिताउने समय कम हुने भयो, खेतीपाती र बालबच्चालाई दिने समय पनि कम हुने भयो। यी सबै समस्याको समधान  वाङ्गारी माथाइले वृक्षरोपणमा देखिन्। रुख भयो भने दाउरा, घाँस र खानेकुरा प्राप्त हुन्छ, जुन ग्रामीण भेगका गरिवका लागि अति महत्त्वपूर्ण हुन्छ। रुख विरुवाले पानीको सञ्चिति बढाएर, भूक्षय नियन्त्रण गरेर र जलवायु परिवर्तनको गति कम गरेर कृषि प्रणालीमा पनि सुधार ल्याउन मदत गर्छ।  यसैले  वाङ्गारी माथाइले महिलाहरू माझ यो सन्देश दिन  लागिन्  र हाम्रा अधिकांश समस्याको समाधान पनि हामी बिचबाटै निकाल्नुपर्छ, हाम्रै हातमा समाधान छ भन्न सिकाइन् ।

सन् १९७७ मा माथाइले ‘ग्रीन बेल्ट अभियान’ सुरु गरिन्। यो अभियान वृक्षरोपण र वातावरणीय सचेतनासँग सम्बन्धित थियो। यसको उद्देश्य स्थानीय जनतालाई सशक्तीकरण गर्ने,  हाम्रो समस्याको समाधान हाम्रै हातमा छ भन्ने महसुस गराउने, वृक्षरोपण गर्ने र समुदायमा पहिचान भएका समस्याहरूको प्राथमिकीकरण गरी तिनमा काम गर्न अघि बढाउने थियो।  सन् १९८९ मा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार अफ्रिकी मुलुकहरूमा प्रत्येक १०० रुख काटिँदा जम्मा ९ वटा विरुवाहरू मात्र रोपेको पाइएको थियो, जसले गर्दा वन विनाश, मरुभूमीकरण, पानी प्रदूषण, कृषि भूमिमा मलखादको अभाव, घाँसदाउराको अभाव सामान्य जस्तै भएको थियो। यसले अफ्रिकी महाद्वीपमा वातावरणको समस्या विकराल बन्दै गएको सङ्केत गरेको थियो।  माथाइको नेतृत्वको ग्रीन बेल्ट अभियानले महिलाहरूलाई  दुइ करोड भन्दा बढी रुख विरुवाहरू आफ्ना खेतबारीमा, विद्यालय र चर्चका परिसरमा रोप्न सघायो ।

ग्रीन बेल्ट अभियानले मुलतः महिलाहरूलाई नै वृक्षरोपण र संरक्षणमा पारिश्रमिक दिएर परिचालित गर्‍यो । यसले महिलाहरूलाई आफ्नो स्वतन्त्रता र अत्मनिर्भरताको पाठ पनि सिकायो ।  घर नजिकै रहेर बोट बिरुवा रोप्दै आर्थिक उपार्जन पनि गर्न पाउँदा महिलाहरू बढी उत्पादनशील हुन पाए, बालबच्चाको हेरचाहमा समय लगाउन पाए, घर परिवारमा स्थायित्व भयो।  सन्तान  र आफ्नो समेत शिक्षा र अन्य अवसरमा ध्यान दिन  पाए।  यसरी महिला परिचालन गरेर करोडौं विरुवा रोप्ने कुरा उतिबेला वन प्राविधिक हरूका नजरमा मुर्ख अभियान जस्तो लाग्यो तर अन्तत्वगत्वा यो अभियान ग्रामीण महिलाहरू बिच लोकप्रिय बन्यो।  माटोमा विरुवा रोप्न, यसलाई हुर्काउने काम उनीहरूका लागि गाह्रो काम भएन । माथाइको ग्रीन बेल्ट अभियानको अवधारणा व्यवहारिक, समग्र (होलिस्टिक) र पारिस्थितीय अन्तरसम्बन्धलाई  राम्ररी बुझेर गरिएको थियो। रुख विरुवा रोपेपछि  रुखले  माटोलाई बाँधेर भूक्षय हुनबाट बचाउने, वर्षाको पानीलाई जमिनमा सञ्चयन गरी राख्ने, जसले गर्दा पानीको मूल दरो हुन र खोलाहरूमा पानी भइरहने, हरियाली बढ्ने, रुख विरुवा हुर्केपछि खानेकुरा, घाँसपात र दाउराका लागि सजिलो हुने फलस्वरूप त्यसबाट समुदायको जीविकोपार्जन सजिलो हुने कुरा यो अवधारणामा प्रस्ट थियो ।  यो कुरा बुझ्न र महसुस गर्न कुनै औपचारिक शिक्षा विना पनि सम्भव थियो।  यो अभियान केन्याभरी लोकप्रिय बन्यो। सन् १९८६ तिर आइपुग्दा त ग्रीनबेल्ट अभियान अफ्रिकाका अरु देशमा समेत फैलिन थाल्यो।

सरकारलाई चुनौती

काम गर्दै जाँदा  माथाइलाइ महसुस भयो कि  केन्यामा अवैध र भ्रष्टाचार युक्त  तरिकाले भैरहेको सार्वजनिक जग्गाको निजीकरण र यसको जथाभावी दोहनलाइ रोक्न वृक्षारोपन मात्र होइन।  यसलाई शक्ति सन्तुलन, सामाजिक न्याय  र अर्थराजनीतिको समग्र दृष्टिकोणबाट पनि हेरिनुपर्छ । यसले गर्दा माथाइको अभियानले सत्ता र शक्तिसँग बिस्तारै द्वन्द पनि सिर्जना गर्‍यो । ग्रीन बेल्ट अभियानको बढ्दो लोकप्रियतासँगै केन्याको सरकारले यो अभियानमाथि निगरानी राख्न थाल्यो । सन् १९८० को दशकमा सामान्यतया सहयोगी जस्तै देखिएको सरकारले एक्कासी आफ्नो रवैया फेर्‍यो । सन् १९८९ मा सरकारले उहुरु पार्क जुन राजधानी सहर नैरोवीको एउटा ठुलो मनोरन्जन पार्क मासेर ६० तले विशाल भवन बनाउने योजना घोषणा गर्‍यो ।  यो परियोजनाले पार्कको धेरै जसो भाग कव्जा गर्ने र देशलाई  विदेशी ऋणको भारमा पार्ने पक्का थियो । माथाइ  र उनका समर्थकले यो परियोजनाको उपादेयता देखेनन् र यसलाई रोक्नका लागि विरोध गर्न थाले । जनप्रदर्शन भयो, सरकारी अधिकारीहरूलाई विरोध पत्र बुझाउने काम भयो । विदेशी लगानीकर्ताहरू पनि लगानी गर्न डराए । अन्ततः परियोजना विफल भयो ।

सन् १९९० को दशकमा केन्यामा एक दलीय निरङ्कुश शासन सुरु भयो ।  अब सरकारले लोकतान्त्रिक मागको सम्बोधन गर्ने कुरै भएन ।  सरकारको आँखामा माथाइ अब एक अभियन्ता नभएर विध्वंशकारी महिलाका रूपमा चित्रित हुन थालिन् ।  माथाइ र उनका समर्थकहरू सुरक्षाकर्मीको ज्यादतीमा परे । तैपनि उनीहरू निरङ्कुश र भ्रष्ट सरकारको सार्वजनिक जग्गा हडप्ने परियोजनाहरूका विरुद्ध लागिरहे । माथाइ  र उनका समर्थकहरूलाई सुरक्षा चुनौती बढिरह्यो,  सरकारले उनीहरूलाई विवादास्पद छवि भएका मानिसका रूपमा बदनाम गर्ने काम गरिरह्यो, माथाइ र उनका समर्थकहरूले अनेक असफलता भोगे, सरकारबाट अनेक शङ्का, प्रतिशोध र क्षति बेहोरे तर पनि माथाइ  र उनका समर्थक पछि हटेनन् ।

निराशावाद, निरङ्कुशता, अनियन्त्रित उपभोक्तावाद, राज्यद्वारा प्रायोजित क्रुरता र वातावरण विनाशको बास्तविकता गहिरिँदै गएका बेला अभियन्ताहरू निराश, हतास र क्रोधित हुँदै पूर्ण रूपमा निष्क्रिय हुने डर स्वभाविक हुन्छ । तर माथाइ र उनका अनुयायीहरू आफ्नै सुरक्षालाई धारमा राखेर केन्याको प्रकृति संरक्षणमा लागिपरे । उनीहरूले वातावरण संरक्षणको मात्रै पैरवी गरेनन्, साथमा महिला अधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताको समेत प्रवर्धन गरे । यी भोगाइहरूलाई स्मरण गर्दै माथाइले लेखेकी छन्, “जसले जीवनमा केही हासिल गरेका छन्, तिनीहरू यो क्रममा धेरै पटक लडेका छन् । तर तिनीहरू सबै उठे र निरन्तर अघि बढे, र यही कुरा म पनि सधैं गर्न प्रयास गरिरहेकी छु ।”  माथाइ  र उनको यो अभियानले निरङ्कुश सत्तालाई चुनौती दिंदै यस अभियानलाई स्वतन्त्रता र शान्तिको प्रतीकको रूपमा स्थापित गर्‍यो ।

परिवर्तनकै लागि राजनीतिमा प्रवेश

सन् २००० को दशकको सुरुवातसँगै केन्याको भ्रष्ट सरकार कमजोर हुन थाल्यो ।  माथाइको लोकप्रियता बढ्दै जान थाल्यो । उनले जलवायु परिवर्तन, रैथाने संस्कृतिमा आएको ह्रास, बढ्दो वैदेशिक ऋण, वनविनाश  र महिला अधिकारजस्ता विषयमा थप बहस छेड्न थालिन् । जमिन व्यवस्थापन, रैथाने संस्कृति र मानव अधिकारका सवाल उनले संयुक्त राष्ट्र सङ्घमा पनि उठाइन् । सन् २००२ मा राजनीतिमा लागेर परिवर्तनको सारथी बन्ने निर्णय गरिन् ।  यो एउटा चुनौतीपूर्ण र साहसी निर्णय थियो ।  सन् २००३ को जनवरीमा केन्याको संसदका लागि भएको चुनावमा ९८% लोकप्रिय भोटका साथ उनी विजयी भइन् । त्यसको केही महिनामा वातावरण, प्राकृतिक स्रोत र वन्यजन्तु मन्त्रालयको सहायक मन्त्रीमा नियुक्त भइन् । विधायिकाका रूपमा  वातावरण र गरिब जनताका हितमा नीति निर्माण गर्नमा उनले भूमिका खेलिन् । विगतमा उनलाई लछार पछार गर्ने र गिरफ्तार गर्ने सेनाले उनलाई सुरक्षा दिनुपर्ने पदमा पुगिन् तर वातावरण संरक्षणको आफ्नो प्रतिबद्धतालाई भने कतै पनि डगमगाउन दिइनन्, बरु घनिभूत पारिरहिन् । उनको यो अविछिन्न योगदानको लागि उनले अनेक सम्मान समेत प्राप्त गरेकी छन् । सबै भन्दा ठुलो सम्मान चाहिँ  ‘दिगो विकास, लोकतन्त्र र शान्तिका लागि उनलाई सन् २००४ मा नोवेल शान्ति पुरस्कार प्राप्त भयो ।  उनी यो पुरस्कार प्राप्त गर्ने पहिलो अफ्रिकी महिला बनिन् । माथाइको यो सम्मान अफ्रिकाका लागि मात्र होइन, विश्वभरिका वातावरणवादी र सामाजिक अभियन्ताहरूका लागि पनि प्रेरणाको स्रोत बन्यो ।

विरासत

पाठेघरको क्यान्सरका कारण सन् २०११ को सेप्टेम्बेर २५ मा  वाङ्गारी माथाइको निधन भयो तर वाङ्गारीको विरासत भने सदाका लागि रहनेछ ।  नैरोवी विश्वविद्यालयमा उनका नाममा Wangari Maathai Institute for Peace and Environmental Studies स्थापना गरिएको छ । उनले जीवन समर्पित गरेकै विषयसँग सम्बन्धित रहेर  यस संस्थाले वातावरण व्यवस्थापन, सुशासन, शान्ति र यिनका अन्तर्सम्बन्धका बारेमा अध्ययन, अध्यापन र अनुसन्धान गराउँछ ।

वाङ्गारीको विरासतलाई जोगाउन र बालबालिकाहरूलाई उनका योगदानबाट अभिप्रेरित गरी साहसी र जनउत्तरदायी नेतृत्वमा लाग्न नेतृत्व विकास गर्ने मूल उद्देश्यका साथ नैरोवीमा वाङ्गारी माथाइ प्रतिष्ठान स्थापना गरिएको छ । वाङ्गारी माथाइको वातावरण संरक्षण र सामुदायिक जागरणको अभियानको कदर गर्दै वासिङ्गटन डिसीमा वाङ्गारी बगैँचा स्थापना गरिएको छ ।

सन् २०१५ मा युनेस्कोले वाङ्गारी माथाइ र ग्रीनबेल्ट अभियान नामको चित्र–उपन्यास प्रकाशित गरेको छ ।  यो विद्यालय उमेरका केटाकेटीहरूका लागि प्रेरक पाठ्यसामग्री बनेको छ ।  वन विनाश र विकासका नाममा पार्कहरू मास्ने सरकारी रवैयाका विरुद्ध उनले पुर्‍याएको योगदानलाई कदर गर्दै नैरोवीमा एउटा सडकको नाम वाङ्गारी माथाइ मार्ग राखिएको छ ।

वन संरक्षणका अन्तर्राष्ट्रिय मुद्धाहरूमा काम गर्ने १४ वटा संस्थाहरूको संयुक्त प्रयासमा सन् २०१२ मा वाङ्गारी माथाइ वन अभियन्ता पुरस्कारको स्थापना गरी संरक्षणका अभियन्ताहरूलाई पुरस्कृत गरिँदै आएको छ ।  नेपालमा सामुदायिक वनको अभियानमा प्रारम्भिक कालदेखि रही यस अभियानलाई राष्ट्रिय रूपमा ल्याई संरक्षणको यस पद्दतिलाई विश्वसामु परिचित बनाउन योगदान गर्नुहुने डा नारायणकाजी श्रेष्ठलाई यो पुरस्कार पहिलो पटक प्रदान गरियो ।  ग्रामीण महिला र दलित समुदायलाई  सशक्तीकरण गरी सहभागितामुलक वन व्यवस्थापनको निर्णय प्रक्रियामा उनीहरूका भूमिकालाई स्थापित गर्नेदेखि समुदायमा आधारित वन व्यवस्थापनको राष्ट्रिय नीति निर्माण र सामुदायिक वन उपभोक्ता महासङ्घ स्थापनासम्ममा डा. श्रेष्ठको अहम् भूमिका रहेको छ ।

एफएओ मुख्य कार्यालयमा आयोजित पुरस्कार वितरण समारोहमा डा. नारायणकाजीले नेपालमा गरेको काम वाङ्गारी माथाइको सपना र भावना अनुरूपको भनेर एफएओका तत्कालीन सहायक निर्देशकले उनको प्रशंसा गरेका थिए ।

माथाइको ग्रीन बेल्ट अभियानको समग्र प्रभाव

सन् २००४ देखि २०११ सम्म पनि जीवन पर्यन्त माथाइले आफूलाई प्रकृति संरक्षण र सामाजिक न्यायको लागि समर्पित गरिरहिन् ।  उनले परिवर्तनका लागि विश्वका विभिन्न भागको भ्रमण गरी अभियान चलाइन् । जलवायु परिवर्तन, वातावरणीय न्याय, वन संरक्षण, सुशासन, लोकतन्त्र र महिला अधिकारका लागि उत्रिन उनले जोडदार आह्वान गरिरहिन् ।  उनको अभियानले ग्रामीण महिलाको मन छोयो, सरकार प्रमुखहरू पनि उनका कुरा सुन्न बाध्य भए, आफ्नो समुदाय र देशका मात्र हैन, भिन्न भूगोल र भिन्न आस्था र सम्प्रदायका मानिसहरू पनि उनको कामबाट प्रभावित भए ।

माथाइको ग्रीन बेल्ट अभियानले केन्याको वातावरण संरक्षणमा ठुलो योगदान पुर्‍यायो ।  करोडौं विरुवा रोपिए, हजारौं नर्सरीहरू स्थापना भए ।  केन्या र पूर्वी अफ्रिकाको जलाधार संरक्षण, पहिरो नियन्त्रण, मरुभूमीकरणको रोकथाम, प्रदूषण नियन्त्रणमा वृक्षरोपण र हरियाली परियोजनाले विशेष भूमिका खेलेको छ । महिला  तथा ग्रामीण किसानको जीविकोपार्जनमा सुधार  ल्याउन योगदान गरेको छ ।  यस अभियानले जनचेतना, रोजगारी र आयआर्जनका माध्यमबाट  महिलाहरूलाई सशक्त र स्वावलम्बी बन्न टेवा पुर्‍याएको छ । बालशिक्षा र महिलाशिक्षा मार्फत् जन चेतना जगाएर परिवर्तनका लागि ऊर्जा प्रदान गरेको छ । अझ महत्त्वपूर्ण कुरा त माथाइको यस अभियानले केन्याको राजनीतिक परिवृत्तमै हलचल ल्याइदिएको छ । नैरोवीको उरुहु पार्कको अस्तित्व मेटिनबाट जोगियो । भ्रष्ट सरकारबाट हुने गरेका जनविरोधी र सार्वजानिक जग्गा अतिक्रमणका कामहरू रोक्नलाई खबरदारीहरू भएका छन् ।  तिनले सरकारलाई जनउत्तरदायी हुन बाध्य पारेको छ । माथाइको साहस र धैर्यले न्याय, लोकतन्त्र र मानवअधिकारको अभियानमा लाग्न केन्याबासीहरूलाई अभिप्रेरित गरेको छ ।

वाङ्गारी माथाइको जीवन, सङ्घर्ष र उपलब्धिले संसारलाई गहिरो पाठ सिकाएको छ । उनले देखाएको बाटो अहिले पनि विश्वभरका मानिसहरूलाई वातावरणीय तथा सामाजिक आन्दोलनमा सक्रिय हुन प्रेरणा दिन्छ । माथाइले आफूले गरेको प्रयासबाट संसारलाई एउटा जीवन्त उदाहरण दिएकी छन्‌— हामीले चाहेमा आफ्नै हातले धरतीको भविष्य परिवर्तन गर्न सक्छौँ । उनी हाम्रो समयकी त्यस्ती महिला हुन्, जसले आफ्नो चिन्तन, साहस र नेतृत्वद्वारा इतिहासमा अविस्मरणीय छाप छोडिन् । आज पनि माथाइको यो अभियान संसारभरका लागि एउटा प्रेरणादायी उदाहरण बनेको छ, जसले हामी सबैलाई वातावरण संरक्षण, सामाजिक न्याय र मानव अधिकारप्रति जागरुक रहन उत्प्रेरित गर्छ ।

केन्याको ग्रामीण भेगको किसान परिवारमा जन्मेकी छोरीले आफ्नो व्यक्तित्व विकासदेखि आफ्नो देशका महिला र सामान्य नागरिक अनि पर्यावरणको हितका लागि अनेक अवरोधहरूको सामना गरेकी छन् ।उनले देखाएको बाटो अहिले पनि विश्वभरका मानिसहरूलाई वातावरणीय तथा सामाजिक आन्दोलनमा सक्रिय हुन प्रेरणा दिन्छ ।

Author

  • ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुन् । सामाजिक न्याय उनको साहित्यिक लेखनको मूल स्वर हो। राष्ट्रिय कविता महोत्सव (२०५२), गजलप्रतिभा सम्मान (२०६३), अल्वर्टा ग्राजुएट सिटिजनसिप अवार्ड (२०७०), कल्पतरू अन्तर्राष्ट्रिय सम्मान (२०८०), हरि उत्कृष्ट प्रतिभा पुरस्कार (२०८०) लगायत एक दर्जनभन्दा बढी साहित्यिक पुरस्कार र सम्मान प्राप्त गरेका बस्ताकोटीका ज्वालाका रापहरू (गजल सङ्ग्रह २०५४), स्पर्श (गजल एल्बम २०७१), विसङ्गत बस्ती (मुक्तक सङ्ग्रह २०७८) र पानीको रङ (कविता सङ्ग्रह २०८१) प्रकाशित छन्। साहित्यिक लेखनका अतिरिक्त उनी वन, वातावरण, जलवायु परिवर्तन, दिगो विकास, र वातावरणीय न्यायसम्बन्धी प्राज्ञिक अनुसन्धान र अखबारी लेखनमा पनि सक्रिय छन्। उनले क्यानाडाको क्यालगेरी विश्वविद्यालय क्यानाडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका छन्।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के