मेरी आमा !
भालेको तेस्रो डाँकसँगै उठ्नुहुन्छ
भाइलाई पिठ्युँमा बोकेर
पँधेरा कुद्नुहुन्छ
आगो फुक्नुहुन्छ
वस्तुभाउलाई कुँडो पकाएर
बा र हाम्रालागि खाजापानी बनाउनुहुन्छ ।
बा भने–
पाइखाना जानुहुन्छ
हातमुख धोएर
अँगेनामा बस्नुहुन्छ
अगुल्टो ठोसठास पारेर
कङकटको धुँवा उडानुहुन्छ
र पनि
आमा भन्नुहुन्छ–
“आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न ।”
मेरी आमा !
भाइलाई पिठ्युँमा बोकेर
कुखुरालाई चारो हाल्नुहुन्छ
घरआँगन बढारकुँडार पारेर
गोठको भकार सोहोर्नुहुन्छ
घाँस हाल्नुहुन्छ
बा भने
वल्लोपल्लो टोल घुम्नुहुन्छ
गफको मेसो नपाएर
आगामी मौसमबारे अड्कलबाजी गर्नुहुन्छ
घामले शीत ओभाएपछि
बल्ल गोरु नार्न
बारीको पाटोमा झर्नुहुन्छ
र पनि
आमा भन्नुहुन्छ–
“आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न ।”

मेरी आमा
भाइलाई पिठ्युँमा बोकेर
हामीलाई ख्वाइवरी स्कुल पठाउनुहुन्छ
बाख्रा चरनमा पुर्याएर
बालीनाली गोड्दै
दाउराको मेसो मिलाउनुहुन्छ
आफ्नै छायाँलाई हेरी
समयको मापन गर्नुहुन्छ
हतार हतार घर फर्केर
भातभान्सा मिलाउनुहुन्छ
बालाई मेलामा पुर्याउनुहुन्छ
बा भने–
आमाले ढिला गर्नुभएकोमा ठुस्किनुहुन्छ
रिस पोख्न गोरुलाई अनावश्यक चुट्नुहुन्छ
र पनि
आमा भन्नुहुन्छ–
“आइमाईको लोग्ने मान्छेको जस्तो बल हुन्न ।”
मेरी आमा !
भाइलाई पिठ्युँमा बोकेर
दिनभरि डल्ला फोर्नुहुन्छ
घाम अस्ताउने बेला
घाँसको भारी बोकेर
बाको पछिपछि लागेर घर फर्कनुहुन्छ
बा भने–
सुसेली मार्दै
गोरुलाई अघिअघि धपाएर
विश्रामको लामो सास फेर्नुहुन्छ
र पनि
आमा भन्नुहुन्छ–
“आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न ।”
मेरी आमा !
भाइलाई पिठ्युँमा बोकेर
वस्तुभाउलाई थान्को लाउनुहुन्छ
आगो बालेर
साँझको भान्सा तयार पार्नुहुन्छ
जुठा भाँडाकुडा माझ्नुहुन्छ
ओछ्यान मिलाउनुहुन्छ
बा भने–
हामी केटाकेटीलाई वरपर राखेर
अर्ति उपदेश दिनुहुन्छ
मनखुसी भएको दिन
दन्त्यकथा सुनाउनुहुन्छ
गर्भवती आमाको थकित शरीरमाथि
रसलीला मच्चाएर
निस्फिक्री निन्द्रादेवीको काखमा पर्नुहुन्छ
र पनि
आमा भन्नुहुन्छ–
“आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न ।”
मेरी आमा !
सिङ्गो पृथ्वीलाई पिठ्युँमा बोकेर
यसरी जिन्दगीभरि शक्तिकी देवी बन्नुहुन्छ
र पनि
भन्नुहुन्छ–
“आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न ।”
बा भने
आमाको विशाल बल देखेर
भित्रभित्रै डराउनुहुन्छ र भन्नुहुन्छ–
हो, “आइमाईको लोग्ने मान्छेको जस्तो बल हुन्न ।”
जामेकोलाला जाकोलाला ह्राङ बाङ आत
तामाङभाषाको कविताबाट नेपालीमा अनुवाद
अनुवादक : कवि ईश्वर थोकर