घामको प्रथम किरणसँगै
नव वर्ष
सबभन्दा पहिले तिमी त्यहाँ जानू
जहाँ मनहरू थाकेका छन्
जाडो यामभरि पत्र पत्र हिउँ झैँ जमेका निराशाहरूले
जहाँ आस्थाको छानु ढाकेका छन्
भित्र कतै संघर्षको जोश कठ्याग्रीएको होला
राम्रोसंग हेर्नू कतै अठोटले हरेस खाएको होला
अर्थ नपाएर उद्देश्यले बाटो विराएको छ कि ?
तिमी एकछिन बस्नू त्यहाँ र
मनहरूका सुख दुःखका कुरा सुनिदिन्
एकछिन सेक्न सकून् तिम्रो न्यानोमा
आस्था र जोशहरूले
आफ्ना चिसिएका हात खुट्टाहरू
अठोटले देख्न सकोस्
वसन्तको उमंग समेटेर भर्खरै टुसाउँदै गरेका पालुवाहरू
र उद्देश्यलाई सम्झाउनू परिवर्तनको निरन्तरतासंग जुडेको जीवनको अर्थ !
अन्धकारको हैकम अझै जारी नै छ यो बस्तीमा
त्यसैले
विहानी पखको संदेश लिएर नव वर्ष,
सबभन्दा पहिले तिमी त्यहाँ जानू
जहाँ मनहरू थाकेका छन् ।
( ‘भोकका कैदीहरू’ कविता सङ्ग्रहबाट साभार। )
💞🙏🏼💞