चराका आवाज
जनावरका पाइला
र पातका जीवाश्मलाई थाहा छ-
‘म माटो,
सर्वश्रेष्ठ प्राणीको दावी गर्न मानिस आउनु धेरै अगाडि
मानिसले जन्माएको धर्म, भाषा, विज्ञान आउनु धेरै अगाडि
ईश्वर आउनुभन्दा पनि धेरै अगाडि
थिएँ, म यस धरतीमा ।’
बिल्कुल रित्तो शून्यमा जन्मिएको होइन ब्रम्हाण्ड पनि
पहाडजस्तो भरिलो मेरो स्तनरस पान गर्दै हुर्किँदै
मेरै जीवनरसको अमृत मसीले
लेखेका हुन् मानिसहरूले हरेक कथाहरू ।
तिम्रो प्रत्येक चैतन्यको ढोका हुँ म
तर मलाई नै ढोकाबाहिर निकालिदियो
मेरो अस्तित्वमाथि उभिएको तिम्रो चेतनाले ।
आफ्नै प्रेमकथाको पर्खालभित्र मक्ख
तिम्रो चार आना चेतनाले
बिर्सिँदै बिर्सिँदै गयो-
कि यो पृथ्वीमा सुरू भएको हो जीवनको उद्गम
मेरो र पानीको पहिलो प्रेमकथाबाट ।
पालनकर्ता सूर्यलाई थाहा छ, सृष्टिको पहिलो प्रेमकथा
गुरुत्वहीन अन्तरिक्ष
मौन वायुमण्डल
र गतिशील ऋतुचक्रलाई पनि थाहा छ, पहिलो प्रेमकथा
यस्तो लाग्छ-
बोध नभएको केवल तिमीलाई हो ।
मेरो मौन क्रन्दनमा अझै भरोसा लागेन ?
यदि कोही मानिससँग बचेको छ भने आनुवंशिक स्मृति
बकाऊ उसलाई उत्पत्तिको आदिम प्रेमकथा ।
ढ्याङ ढ्याङ ढ्याङ बजाउँदै चेतनाको बाजा
बक्न देऊ उसलाई
कि जबदेखि छिर्न थाल्यो मेरो गर्भाशयमा छङ्छङाउँदै पानी
भएकी हुँ म गर्भवती
र टुसाउन थालेका हुन् अनेक जीवनहरू धरतीमा ।

म माटो
प्रथम आमा हुँ सबैकी ।
मैले अस्वीकार गरेकी भए
मलाई सिञ्चित गर्ने पानीको प्रेम प्रस्ताव,
र नदिएकी भए पानीलाई
कणकण भिज्ने दोलनको अनुमति
सम्भव थिएन सृष्टिको सूर्योदय ।
तिम्रो आनुवंशिक स्नायुमा बग्ने
प्रत्येक बिजुली तारमा लेखिएको छ-
धरती मग्मग बसाउने सुवासमा मेरो प्रेमकथा छ
धरतीको चिरबिर आवाजमा मेरो प्रेमकथा छ
धरतीको इन्द्रधनुष रङ्गमा मेरो प्रेमकथा छ !
र, मेरो प्रेमकथामा
छैन किन्चित उचनीचको चाहना
तिम्रो रूप, रङ्ग, स्वाद र गुण दुरुस्त राखेर
म जन्म दिन्छु र हुर्काउँछु तिमीलाई ।
तिम्रो रूप, रङ्ग, स्वाद र गुणलाई उस्तै माया दिएर
म अडिने र फैलिने सहारा दिन्छु तिमीलाई ।
परन्तु दुःख लाग्छ-
कृत्रिम भोकको डरलाग्दो तृष्णाले आशक्त
तिमीले अनवरत गरिरहेको मेरो शोषण सम्झेर,
निश्चित छ सम्झिनू-
जुन दिन म मर्ने छु प्यासले तड्पिँदै तड्पिँदै
तिमी पनि जीवित रहने छैनौँ कसैगरी ।
आफूलाई बचाउँन मात्र पनि
बचाऊ मलाई मरुभूमि बन्नबाट !