Asmita Magazine

#

माटो, महिला र सौन्दर्य

माटो : सृष्टि र जीवनको आधार

ऐतिहासिक दृष्टिले माटो र महिलाको सम्बन्ध मानव सभ्यता जतिकै पुरानो छ । दुबैको नैसर्गिक उर्वरता, जीवनदायिनी कर्म, स्याहारसम्भार गर्ने कर्तव्य र करुणाभावमा त्यस सम्बन्धको सौन्दर्य प्रस्फुटित हुन्छ । पूर्वीय दर्शनले सृष्टि वा जीवनको आधार पञ्चमहाभूतलाई मानेको छ । पञ्चतत्त्व अर्थात् आकाश, अग्नि, हावा, पानी र धरती । धरती अर्थात् माटो । धरती वा माटोको उर्वरता र जीवनप्रदायक विशेषताको कारण उद्विकासका क्रममा प्राकृतिक छनौटसँग लड्दै छल्दै मानवजाति यहाँसम्म आइपुगेको छ ।
बाँच्नु (survival) नै सबभन्दा ठुलो चुनौती भएको आदिम समयमा महिलाको जीवनदायिनी भूमिका र करुणामय पालनपोषणको जगमा मातृसत्तात्मक समाजले मान्यता पाएको मानिन्छ । करिब १२ हजार बर्षअघि मानवजातिले खेतीपाती र पशु पाल्न सुरु गरेको इतिहास छ । मानवजाति नवपाषाणकाल (neo-lithic era) मा प्रवेश गरेपछि परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति भएको थियो (एङ्गेल्स, २००४) । कृषि युगभन्दा अगाडि पनि महिला र पुरुष बिचमा भूमिका विभाजन थियो, जुन कृषि युगको प्रारम्भसँगै सघन बन्यो । महिला पनि यदाकदा सिकारमा संलग्न हुन्थे भन्ने प्रमाण फेला नपरेका होइनन् तर मूलत पुरुषहरू सिकार गर्थे भने महिला कन्दमूललगायत वनस्पतिजन्य खानाको खोजी र प्रशोधन गर्थे । सिकार सफल नहुने समयमा महिलाले सङ्कलन गर्ने कन्दमुलले गुजारा चल्थ्यो । वनस्पतिसँगको सानिन्ध्य, अनुभवजनित सामूहिक ज्ञान र ज्ञानको पुस्तान्तरणमा महिलाको महत्त्वपूर्ण भूमिका रहन्थ्यो (ढकाल, २०८१) । मानवशास्त्री मार्गरेट एहनबर्ग (सन् १९९२) दावा गर्छिन्‌— कृषिको सुरुवात महिलाले नै गरेका हुन् । कन्दमूल लगायतका वनस्पति महिलाले खोज्ने भएकाले र यस क्षेत्रमा महिलाको ज्ञान बढी भएकाले कृषिको सुरुवात गर्न महिलाको भूमिका बढी थियो भन्ने तर्क विश्वसनीय देखिन्छ । तर परिवार र निजी सम्पत्तिको परिघटनासँगै बाँकी रहेको अन्न (surplus gain) र पशुधन आफ्‌नो जैविक सन्ततिमा हस्तान्तरण गर्ने होडले मातृसत्तात्मक पारिवारिक संरचना (matrilineal family structure) भत्किई पितृसत्तात्मक परिवारिक संरचना (patriarchal family structures) बन्यो (एङ्गेल्स, २००४) । नवपाषाणकालमा महिलाको भूमिका कमजोर मात्र बनेन, पितृसत्ताको उत्पीडनमा पनि पर्‍यो ।
महिलाको अर्को भूमिका जीवनलाई यथाशक्य त्यसको आनुवंशिक गुणलाई क्षय हुन नदिई वा थप उन्नत बनाउँदै निरन्तर कायम राख्नुमा छ । जीव वैज्ञानिकका अनुसार प्राकृतिक छनौटमा महिलाको भूमिका निर्णायक हुन्छ । भलै पितृसत्तात्मक संरचनाले महिलाको त्यो नैसर्गिक (तसर्थ जैविक) भूमिकालाई कमजोर बनाउन खोज्छ । प्रकृतिमा प्रजनन्‌का निम्ति साथीको अन्तिम छनौट महिला वा माउले गर्छ । पेटमा बच्चा हुर्काउनुपर्ने र जन्मेपछि लालनपालन गर्नुपर्ने भएकाले कस्तो आनुवंशिक विशेषता भएको साथी छान्ने, उद्विकासले महिला वा माउलाई सजगता वा सहजज्ञान प्रदान गरेको छ । बिउ जतिसुकै गुणस्तरको भए पनि उर्वर माटो त्यसले पाएन भने त्यहाँ नयाँ जीवन आउँदैन । यस अर्थमा प्रकृति, माटो र महिला समान विशेषताका जननी हुन्‌— कोमलता, उर्वरता र जीवनदायिनी ।
माटो सृष्टिको आधार त हो नै । जीवनको पनि आधार हो । जनसङ्ख्याका दृष्टिले नेपाल अझै पनि कृषिप्रधान देश हो । कृषिमा संलग्न जनसङ्ख्या घट्दै गएपछि अझ पनि ८० प्रतिशत महिला र ५९ प्रतिशत पुरुष कृषिमा संलग्न छन् (शर्मा र इत्यादि) । माटोसँगको सम्बन्धमा विभिन्न खाले लैङ्गिक र जातीय विभेद, कुशासन, जलवायु परिवर्तनले व्यवधान खडा गरे पनि किसानको माटोमा अझै आस्था छ र खेती किसानी गरिरहेका छन् ।

पर्यावरणकेन्द्रित विश्व दृष्टिकोण

मानवकेन्द्रित विश्व दृष्टिकोणले मान्छेलाई प्रकृतिमाथि (man over nature) राख्छ । त्यसको तात्पर्य प्रकृतिलाई, मान्छेको उपभोग र राष्ट्रको आर्थिक समृद्धिको साधन ठान्दछ । तर्क गर्ने क्षमता र आत्मा भएकाले मान्छे प्रकृतिभन्दा विशिष्ट हो भन्छ । यसै कारण मान्छेसँग मात्र नैसर्गिक गुणवत्ता (intrinsic value) हुन्छ । मानवइतरसँग नैसर्गिक गुणवत्ता हुदैन ।
मानवकेन्द्रित विश्वदृष्टिकोणको एउटा आधार जुदेयो–क्रिष्चियन परम्परा हो । बाईबलको जेनेसिसमा ईश्वरले मान्छेको रचना गर्छ । र, धरती र समुद्रका सबै प्राणीहरूमाथि राज्य गर्ने अनुमति दिन्छ । यसरी प्रकृतिलाई मानवजातिको अधिनस्थ राखिएको छ । मान्छेलाई जगत्‌कै कमाण्डर बनाएकाले पश्चिमा संस्कृतिको संरचनामा मान्छेले प्रकृतिमाथि ज्यादती गर्छ (लरेन्स, २००५) । यस विश्वासपद्धतिमा, प्रकृति स्रोतहरूको भण्डार हो, जो मान्छेकै उपभोगका निम्ति बनेको हो । फलस्वरूप वनजङ्गल धमाधम काटिए । समुद्र रित्तिदै गयो । नदीमा बाँध बाँधियो । वन्यजन्तुहरूको सिकार गरियो । मानवकेन्द्रित दृष्टिकोणमा दोष छ । जस्तै, मानवजाति सामु रहेको रित्तोको अवधारणालाई विश्लेषण गर्ने हो भने, त्यो प्रस्ट देखिन्छ । उदाहरण हेरौं— रित्तो कचौरा पनि वास्तवमा रित्तो छैन । त्यसमा हावा भरिएको हुन्छ । मान्छेले बनाएको फोहोर मैलाको अवधारणालाई पनि लिऔँ । मान्छेले फोहोर भने पनि प्रकृतिमा फोहोर मैला भन्ने हुँदैन । झरेको पात, पङ्क्षीको विष्टा, मरेको किटपतङ्ग वा सडेको काठ सबै प्राकृतिक चक्रको अन्तिममा आउने तत्त्व हुन्, जो जङ्गलको भुइँमा कुहिदै ह्युमस बन्छ र वनस्पतिलाई नयाँ जीवन दिन्छ (कटर मेकेन्जी नोएल्स र सिगेल, २०१९) ।
मान्छे र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध पूर्वीय परम्परामा अगिदेखि थियो । पूर्वीय संस्कृतिमा पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चमहाभूतको महत्त्व प्रस्ट पारिएको छ । वास्तवमा प्रकृति र प्राणीको आधार यी पञ्चतत्त्व हुन् भन्ने पूर्वीय दर्शनको विश्वास छ । पृथ्वी भनेकै भूमि अर्थात् माटो हो । माटोको महिमा स्वच्छन्दवादी समयमा रहस्यमयता र सुन्दरताका अर्थमा प्रस्तुत गरिन्थ्यो । अहिले माटोलाई जनजीवनकोे मूल विषय बनाइएको छ (त्रिपाठी, २०८०) । बोन र बौद्ध दर्शनमा पनि प्रकृतिलाई सर्वोच्च मानिएको छ । प्राकृतिक जीव–तत्त्वलाई समस्त सृष्टिको आधार मान्छ, बोन धर्म । बोन धर्मावलम्वी वा बोन्पा प्रकृति पूजक हुन् । बोन दर्शनमा प्राकृतिक शक्तिको प्रतीक अथवा मानस बिम्बका रूपमा वनदेवी अथवा झाँक्री (वनैया) नामक पात्र ठड्याएर सम्पूर्ण जगत्‌को सृष्टि, पालन र संहारको नियम, विधि र ऊर्जा झाँक्रीसँग रहेको विश्वास गरिन्छ (प्रभात, २०८१) । अनिश्वरवादी बौद्ध दर्शनले पनि प्रकृतिको महत्त्वलाई आत्मसात गरेको छ । बौद्ध दर्शनले लोकजीवनमा प्रचलित भूतचतुष्टय—पृथ्वी, जल, अग्नि र वायुमा आकाश एवम् मानस् थपेर षड्तत्त्वको व्याख्या गरेको छ (प्रभात, २०८१) । अहिंसा र करुणाको अवधारणा नै प्रकृति र प्राणीहरूको सुरक्षार्थ अघि ल्याइएको देखिन्छ । तर सामाजिक आन्दोलनको रूपमा वातावरणवाद् (environmetalism) पश्चिममा उन्नाइसौँ शताब्दीको प्रारम्भतिर प्रादुर्भाव भएको देखिन्छ । हेनरी डेभिड थोरोको पुस्तक वाल्डनले मान्छे र प्रकृतिको आध्यात्मिक सम्बन्धको कथा भन्छ । प्रकृतिविद् एवम् पर्यावरण चिन्तक जोन म्युरले प्राकृतिक ल्यान्डस्केपलाई मान्छेको गतिविधिवाट जोगाउनुपर्ने धारणा राख्छ र कानुनी संरक्षणका निम्ति अमेरिकी सरकारको ध्यान खिच्न अभियान थाल्छ ।
उल्लिखित पृष्ठभूमिमा मानवकेन्द्रित विश्वदृष्टिकोणका विपक्षमा पर्यावरणकेन्द्रित अवधारणाको बीजारोपण भयो । यस अवधारणाले मान्छेलाई प्रकृतिको इकाइ (man in nature) मान्छ । एक अर्कासँग सम्बन्धित र निर्भर । पर्यावरणविद् एल्डो लिओपोल्डले (१८८७–१९४८) पर्यावरणीय केन्द्रित नीतिशास्त्र (Eco-centrism ethics) अवधारणालाई अघि सार्नु दुरगामी महत्त्वको बन्यो । प्रसिद्ध पुस्तक अ स्याण्ड काउन्टी अलमानक (१९४९) को भूमिको नीतिशास्त्र (Land Ethic) लेखमा मानवजातिले स्वयम्‌लाई प्रकृतिको अंशका रूपमा बुझ्‌नुपर्ने बताएका छन् । समाजजस्तै भूमि, जल, वनस्पति र वन्यजन्तुसँग पनि मान्छेको सम्बन्ध नैतिक जिम्मेवारीको हुनु आवश्यक रहेको बताएका छन् । उनी आरण्यक्षेत्र (wilderness areas) लाई प्राकृतिक अवस्थामा नै रहन दिनुपर्छ भन्ने मान्यता राख्थे ।

(स्रोत बाँयाबाट: https://nonhuman-nonsense.com;  https://medium.com)

वातावरणवाद्को सन्दर्भमा उल्लेखनीय अर्को नाम छ– समुद्री जीवविद् रेचल कार्सन । र, सन् १९६२ मा प्रकाशित उनको पुस्तक साइलेन्ट स्प्रिङ । दोस्रो विश्व युद्धमा र युद्धपश्चात् अमेरिकामा डिडिटीको अत्याधिक प्रयोग भयो । डिडिटीको वातावरण र जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावले त्रस्त रेचलले डिडिटी प्रतिबन्ध लगाउन माग गर्दै अभियान छेडे । रेचल र उनका सहयोद्घाले थालेको आन्दोलन माटोलाई प्रकृतिबाट विमुख बनाउने नाफाखोरी पुँजीपति विरुद्धको युद्घ थियो ।
पर्यावरणकेन्द्रित दृष्टिकोणसँग समान विचार राख्ने अर्को दृष्टिकोण छ— पर्यावरणीय नारीवाद (ecological feminism) । यो दृष्टिकोणले महिला र प्रकृतिको सम्बन्धको खोजी गर्छ । यसको निष्कर्ष छ, प्रकृति विनाश र महिला उत्पीडन सूक्ष्मरूपमा सम्बन्धित छन् र यसको एउटै कारण छ : पितृसत्तात्मक संरचना । पितृसत्तात्मक संरचनाले प्रकृति र महिलालाई मात्र स्रोत मान्छ, जसलाई प्रयोग गर्न जरुरी छ । र, यो संरचनालाई पुँजीवादी व्यवस्थाले मलजल गर्छ (माइस र शिवा, १९९३)

गहन पर्यावरण (Deep ecology)

सन् १९७३ मा प्रादुर्भाव भएको गहन पर्यावरणका प्रणेता नर्वेजियन दार्शनिक अर्ने नेइस् हुन् । गहन पर्यावरण क्रान्तिकारी अवधारणा मानिन्छ,क कारण यसले मानव केन्द्रित विश्वदृष्टिकोणलाई वास्तविक समस्या देख्छ र वातावरणीय असन्तुलन र ह्रासको कारक मान्दछ । यो चिन्तनले सबै प्राणीहरूसँग नैसर्गिक मूल्य (intrinsic value) रहेको र सबै जैविक तत्त्व प्राकृतिक वातावरणसँग सूक्ष्मरूपमा गाँसिएको (interconnectedness) ठान्दछ । नेइस् मानवजातिले उपयोगिताका आधारमा प्रकृतिलाई दिने मूल्य (utilitarian value) लाई खारेज गर्छन् । यही उपयोगिताको मूल्यको आधारमा मानवजातिले पारिस्थितिक प्रणाली र प्राणीहरूलाई भेद गर्दै आएको छ, नेइस्‌को निष्कर्ष छ ।
गहन पर्यावरण चिन्तन समतामूलक छ । लिङ्ग, वर्ग, जातजाति, भूगोल वा जुनसुकै आधारमा प्राणी वा प्रकृति स्रोतलाई दिइने मूल्य वा गरिने विभेदप्रति विपक्षी भएकाले यो महिलामैत्री पनि छ । गहन पर्यावरणले उपयोगिताको मूल्यलाई निषेध गर्ने परिधिमा धकेलिइएको महिला, माटो र प्रकृतिका अन्य इकाइलाई हाराहारीको महत्त्व प्रदान गर्दछ । महिला र माटोको अन्तरस्वभावमा अनुभूत हुने साधना, शान्ति र सृजनालाई केन्द्रमा ल्याउन यस चिन्तन पद्धतिको महत्त्व छ । इकलजी, कम्युनिटी एन्ड लाइफस्टाइल (१९८९) मा नेइस्‌ले वातावरण समस्यालाई हल्का र सतही तौरमा लिने प्रचलनप्रति चिन्ता प्रकट गर्दै मानवजातिले पर्यावरणको गति र नियमको अनुकूल आफ्‌ना धारणा, व्यवहार र आचरण निर्माण गर्नुपर्ने बताउँछ ।

महिला र माटोको सम्बन्ध

नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान एक तिहाई छ । पछिल्लो दशकमा पुरुषहरू रोजगारको निम्ति भारत र खाडी मुलूकहरू जान थालेपछि कृषिमा ग्रामीण महिलाको संलग्नता बढेको छ । अहिले ८० प्रतिशत महिला कृषिमा संलग्न छन् जबकि पुरुषको हिस्सा ५९ प्रतिशत रहेको छ (शर्मा र इत्यादि) । नेपालको कृषि निर्वाहमूखी भएकाले कृषिमा लाग्ने अधिकांश जनसङ्ख्या परिवारको खाद्य सुरक्षा र पोषणको पूर्तिभन्दा पर जान सकेको छैन ।
खाद्य तथा कृषि सङ्गठनको अनुसन्धानमा, बाली र नश्ल छनौटमा महिला र पुरुषको बिच भिन्नता देखिएको छ । महिलाको प्राथमिकता अन्नबाली र तरकारीको विविधतामा देखियो भने पुरुषको छोटो समयमा तैयार हुने बजारमा उच्च मूल्य भएको बालीमा देखियो । परिवारको पोषणको आवश्यकता पूरा गर्ने जिम्मेवारी महिलाको भएकाले विविध र निर्वाहमुखी कृषिप्रति महिलाको जोड रहेको अध्ययनको निष्कर्ष छ । माटोसँग अन्योन्याश्रित गाँसिएका महिलाका अनगिन्ती कथाहरू छन् । इतिहासको गर्तमा विलुप्त भएका यस्ता कथाहरूको उत्खनन् आवश्यक छ । यससँग सम्बन्धी कथा तथा तथ्यको खोज, अनुसन्धान र दस्तावेजीकरण भइरहेको छ, तर पर्याप्त छैन ।

आदिवासी थारू महिला र माटो

प्रकृतिसँग महिलाको सम्बन्ध विभिन्न जनजाति र रैथाने समुदायमा देख्न सकिन्छ । आदिवासी थारू समुदायमा अझ यो स्पष्ट देखिन्छ । तराई मधेसमा शताब्दियौँदेखि बसोबास गर्दै आएका थारूहरूको संस्कृति पर्यावरणमैत्री छ । उनीहरूको घर, खाना, कपडा, कला, धार्मिक विश्वास र रहनसहनमा त्यो प्रतिबिम्बित हुन्छ । थारू समुदायले आफ्‌नो देवी (पृथ्वी) को पूजा गर्दछ, जसलाई थारू भाषामा भुमसेन भनिन्छ (वर्मा, २०१०) । थारू समुदायको सौन्दर्य, पित्तृसत्तात्मक संरचना भए पनि महिलालाई परिवारभित्र सामाजिक तथा आर्थिक अधिकार दिएको पाइन्छ ।
थारू मूलतः कृषि र पशुपालनमा आश्रित समुदाय हो । धान, गहँु, मकै, तोरी तथा दलहन (मुसुरो) लगाउन जग्गा तैयारी गर्नेदेखि लिएर बिउको जोहो, बिउ छनोट, रोप्ने, गोडमेल, सिँचाइ, प्राङ्गारिक मल बनाउने साथै त्यसको प्रयोग र बालीनालीमा रोग लाग्दा जैविक विषादी कसरी प्रयोग गर्ने भन्ने परम्परागत ज्ञान थारू समुदायमा छ । यद्यपि पछिल्लो समय यस समुदायमा पनि कृषिप्रति युवाहरूको आकर्षण कम हुँदै गएको छ । कृषिमा थारू महिलाको भूमिका महत्त्वपूर्ण रहिआएको छ । जमिन तयार गर्ने, कुटो कोदालो गर्र्ने, झार हटाउने, माटो सम्याउँने, बिउ छर्ने, गोडमेल गर्ने, बाली काट्ने र बाला छाट्ने आदि काम महिलाले गर्छन् । हलो जोत्ने र अत्याधिक शारीरिक श्रम पर्ने काम परम्परागत रूपमा पुरुषले गर्छन् । यसरी परिपूरक भूमिकामा महिलाले कृषिमा श्रम गर्ने हुँदा थारू महिलाको योगदान पुरुषको हाराहारी वा बढी नै छ भन्न सकिन्छ ।
थारू महिला पोखरी, तालतलैयासँग पनि अविछिन्न गाँसिएका छन् । थारू महिलाहरू पोखरी, तालतलैया वा घोलमा परम्परागत माछा मार्ने सामग्रीहरू प्रयोग गरेर माछा, घोँगी, गँगटा समात्छन् । ‘घोँघिया’ बाँसबाट बनाइएको परम्परागत माछा मार्ने जाल हो । यो विशेषगरी साना माछाहरू जस्तैः पोटी र देदुवा समात्न प्रयोग गरिन्छ । यो जाललाई खौकी जाल पनि भनिन्छ, जसलाई दुईवटा बाँसका डाँठमा बाँधेर बनाइन्छ र पोखरी, खाल्डा, तथा कम गहिराइ भएका नदीहरूमा सजिलै प्रयोग गर्न सकिन्छ । माछा मार्ने क्रममा, साना माछाहरू राख्न कम्मरमा बाँधिने डेली (राणा थारूहरूमा कञ्जालो भनिने) नामक बाँस वा सुनको डाँठबाट बनाइएको सानो भाँडो प्रयोग गरिन्छ थारू कल्चर ब्लग, २०१३) ।

फोटो १ः माछा, घोँगी सङ्कलन गरेर फर्कदै थारू महिलाहरू (फोटोः रोशन शेरचन)

पोखरी, तालतलैया वा घोलमा उनीहरू जलचर सङ्कलन गर्छन् र परिवारको पोषणको आवश्यकता पूर्ति गर्छन् । मनसुन सकिएपछि जब पानीको सतह कम हुन्छ वा माघी आउँछ, थारू महिलाहरू समूहमा माछा, घाँेगी र गँगटा समात्न जान्छन् । यी सामूहिक कर्म जीविकोपार्जनको माध्यम भन्दा सांस्कृतिक पर्व बढी हो । यस्ता पर्वहरूमार्फत थारू महिलाहरूले प्रकृतिसँग आफ्‌नो सम्बन्ध नवीकरण गरिरहेका हुन्छन् । प्रकृतिसँग तादात्म्यभाव स्थापित गर्न यस्ता सांस्कृतिक पर्व आवश्यक पर्दछ ।
धान, गहुँ तथा तोरी माटोबाट बन्ने डेहरीमा राख्छन् । अन्न भण्डारण गर्ने यो विधि धेरै पुरानो हो । बाँसको फ्रेममा माटो, गोबर र परालको मिश्रण लेपन गरी बनाइएका डेहरीले अन्नलाई बर्षा, किरा र वन्यजन्तुबाट जोगाउँछ । चितवनका थारूहरूले डेहरी भन्दा ठुलो अन्न भण्डार (कोठी) प्रयोग गर्छन् (शर्मा र इत्यादि, २०२१) । राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवत्र्ती क्षेत्रमा यस्ता डेहरी वरदान सावित भएका छन् । परम्परागत रूपमा डेहरी सुत्ने कोठामा राखिन्छ र यसलाई रित्तो राख्नु हुँदैन, सधँै भरिभराउ बनाउनुपर्छ भन्ने विश्वास पाल्छन्, थारू समुदाय ।

फोटो २ः डेहरीे (फोटोः रोशन शेरचन)

हिमाली क्षेत्र र महिला

अन्तराष्ट्रिय श्रम सङ्गठनको रिपोर्ट (सन् २०२०) अनुसार वैश्विक स्तरमा, महिलाले ग्रामीण कृषिको ३७ प्रतिशत हिस्सा ओगटेका छन् । न्यून आय भएको देशमा यो हिस्सा बढेर ४८ प्रतिशतसम्म पुग्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने आधा भन्दा बढी महिलाले कृषि क्षेत्रमा श्रम गर्दछन् (युएनइपि, २०१७) । हिमाली महिलाको दुःख हिमालझैँ अग्लो छ । नेपालकै सन्दर्भमा, सूचना प्रविधि गाउँ गाउँमा पुगे तापनि राजनीति बिग्रिएकाले, सार्वजनिक सेवा सुविधा कमजोर र गुणस्तरहीन भएकाले महिलाको जीवनमा हिमपहिरोहरू खस्न रोकिएको छैन । महिलाले भोगेका सनातन दुख, व्यहोर्नु परेका विभेद र सार्वजनिक स्वास्थ्य, शिक्षा र यातायातमा न्यून पहुँचले पुरुष सरहको दर्जाको हुँ भन्ने अनुभूति अझै गर्न पाएका छैनन् सायद । बढ्दो सडक सञ्जालले ल्याएको पर्यटकीय सम्भावना र अन्य आर्थिक गतिविधिको अवसर सृजना भए तापनि त्यस्ता क्षेत्र सीमित छन् । असमान शक्ति सम्बन्धले लाभ लिने महिलाको सङ्ख्या नगण्य छ । अधिकांश महिला लिङ्गका आधारमा विभाजित परम्परागत श्रमको दाम्लोमा अझै बाँधिएका छन् । घरायसी काम (पकाउने, भाडा माझ्‌ने, घर सफा गर्ने, पानी ल्याउनेदेखि बच्चा जन्माउने, हुर्काउने समेत) र व्यावसायिक कामलाई समाजले उचित कदर नगर्दा महिला राजनैतिक र सामाजिक रूपमा अदृश्य (invisible) भएर बस्न बाध्य पारिएका छन् (एफएओ, २०२२) ।
हिमाली क्षेत्र जलवायु परिवर्तनको बढ्दो जोखिममा छ । जलवायु परिवर्तनको असर विश्वव्यापी र असमान छ । भूगोल, लिङ्ग, आर्थिक तथा सामाजिक अवस्था, समुदायको अनुकूलन क्षमता, विपद् पूर्वतयारीमा राज्यको लगानी आदि कारणले असर असमान हुन्छ । सबभन्दा बढी जोखिममा हिमाली क्षेत्रका बासिन्दा र समुद्रीतटका समुदाय छन् । जलुवाय परिवर्तनले निम्त्याएको हिमपहिरोले हिमाली वस्तीहरू जोखिममा परेका उदाहरणहरू बढ्दै छन् । तापक्रम वृद्धिसँग हिमपहिरो बढेको छ । सन् २०२४ मा थासाङ गाउँपालिका, मुस्ताङ्मा मानापाथी हिमालबाट खसेको हिमपहिरो प्रतिनिधि घटना मात्र हो (शेरचन, २०२४) । त्यही साल सोलुखुम्बुको थामेमा एक्कासी भयानक बाढी आएको थियो । यस्तो जोखिमपूर्ण अवस्थामा पनि खोला किनारका वस्ती वा हिमालको फेदमा बसेर महिलाहरू फापर, जौं, कोदो, आलु फलाउन र जडिवुटी खेती (वक्स १) गर्न बाध्य छन् ।
जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता न्यून भएका अल्पविकसित राष्ट्रलगायत नेपालका विपन्न, आदिवासी जनजाति र सीमान्तकृत समूहमा जलवायु परिर्वतनको मार चर्को छ । अतिवृष्टिले अन्नवाली सडेको छ । मनसुन ढिलो हुँदा ब्याडमै बिउ सुकेको छ । बालीमा रोगव्याधी बढ्दै गएको छ । घर, गोठ पहिरोले बगाएको छ । छातीमा बच्चा च्यापेर सुरक्षित स्थानको खोजीमा महिलाहरूका आँखा थाकेका छन् । छापामा, समाचारमा यस्ता दृश्य आम बनेको छ । जीविकोपार्जनका निम्ति खाडी गएपछि अतिरिक्त जिम्मेवारी पनि बोकेर महिला जलवायु परिवर्तनको जोखिमपूर्ण ठाउँमा बसिरहनु दुखद यथार्थ हो ।

वक्स १ः मिङमार तामाङ र जडिवुटी खेती

५५ बर्षिया मिङमार तामाङ ब्रावल, गोसाईकुण्ड गाउँपालिकाका बासिन्दा हुन् । उनको परिवारमा ६ सदस्य छन् । तीन छोरा, एक छोरी, एक ज्वाई र एक नातिनी । एक छोरा वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा छन् । उनी भन्छिन्‌– “अगि म आफ्‌नो बुढालाई चौरी पालनमा सघाउथेँ । खेतमा काम गर्ने मान्छे नभएकाले हाम्रो खेत बाँझो नै हुन्थ्यो । सन् २०१२ मा बुढाको मृत्युपछि मैले चौरी बेचिदिएँ किनकि मैलै एक्लै चौरी पाल्न सकिनँ । चौरी बेचेकाले आम्दानीको बाटो बन्द भएको थियो । अब के गर्ने ? सोचिरहेको थिएँ । विदेशबाट छोराले पैसा पठाउँथ्यो तर त्यो नियमित थिएन । यस्तैमा सदरमुकाम धुन्चेमा ‘नेपाल कृषि वन प्रतिष्ठान’ भन्ने संस्थाको अफिस छ भन्ने सुनेँ । जटिवुडी खेती गर्न चाहने कृषकहरूलाई सहयोग गर्छ भन्ने गाउँलेबाट सुनेपछि एकदिन धुन्चे ओर्लें । मैले त्यस संस्थाबाट १० हजार चिराइतोको बेर्ना ५० प्रतिशत अनुदान छुटमा किनेँ र आफ्‌नो बारीमा लगाएँ । त्यस संस्थाले जडिवुटीसम्बन्धी तालिम पनि दियो । तालिमपछि मैले नर्सरी बनाउन आवश्यक केही सामग्री पाएँ । सन् २०१३ मा मैले ४० हजारको चिराइतो बेचेँ । त्यस्तै सन् २०१४ मा १७.५ हजारको । केही चिराइतो मसँग अझै स्टक छ । यो वर्ष मैले ऋण तिरेँ ।”
मिङमार भन्दै जान्छिन्‌— यस बर्ष मैले सतुवाको बेर्ना थपेँ । यी जडिवुटीलाई वन्यजन्तुले खाँदैन । लाङटाङ राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ब्रावल लगायतका गाउँहरूमा जङ्गली बँदेल, बाँदर वालीनाली खान बारम्बार आउँछन् । जटिवुटी खेतीले त्यो समस्या हटेको छ । पर्यटन मौसमी भएकाले अन्य समय मिङमार जटिवुटी खेती गरेर समय बिताउँछिन । मिङमार जडिवुटी खेती गरिरहेका १८४ जना मध्ये एक हुन् । यो गाउँ जटिवुटीको पकेट क्षेत्र भएकाले गाउँको स्वागतद्वारमा लेखिएको छ– ‘चिराइतो र सतुवाको नमूना गाउँमा स्वागत छ ।’
गाउँमा जडिवुटी सहकारी संस्था खुलेको छ– सामदियाङ्जेन जडिबुटी सहकारी संस्था लिमिटेड । मिङमार त्यस संस्थाको सक्रिय सदस्य हुन् । उनी गाउँका अन्य महिलाहरूलाई जडिवुटी खेती गर्न भन्छिन् । र, जटिवुटी खेतीसम्बन्धी आफ्‌नो अनुभव सुनाउँछिन् । मिङमार एकल महिला भएर पनि आर्थिक रूपमा आत्मनिर्भर भई आत्मसम्मानपूर्वक जीवन बिताउन सकिन्छ भन्ने राम्रो उदाहरण बनेकी छिन् । गाउँ समाजमा प्रेरणाको स्रोत बनेकी छन् । उनले माटो कहिल्यै छोडिनन् । न अघि चौरी पाल्दा, न अहिले जडिवुटी खेती गर्दा नै । पहिला चरनक्षेत्र हुँदै माटोसँग जोडिएकी थिइन् । अहिले जडिवुटी खेतीमार्फत । माटोको भर परेरै मिङमारले पति गुमाउँदा पनि जीवनलाई लयमा हिडाउँन सकेकी हुन् । प्रकृति र मान्छेको सम्बन्धको सौन्दर्य मिङमारको श्रममा अभिव्यक्त भएको छ ।

भूमण्डलीकृत पुँजीवाद र प्रभाव

अठारौं शताब्दीको (सन् १७६०–१८४०) अन्त्यतिर इङ्ग्लैन्डबाट सुरु भएको औद्योगिक क्रान्तिले मानवीय सभ्यतालाई उथलपुथल पार्‍यो । कृषिमा निर्भर अर्थतन्त्र उद्योगतर्फ सर्‍यो । कृषि लगायत यातायात, पूर्वाधार क्षेत्रमा मेसिनको प्रयोग बढ्न थाल्यो । मेसिनको प्रयोगले कृषिको उत्पादनशीलता बढ्यो तर मानवीय श्रमको माग घट्यो । टेक्सटाइल उद्योग खुल्यो । फलाम र स्टिल बन्न थालेपछि पुल, रेलवे, पानीजहाज पारवहन जस्ता पूर्वाधारको तीव्र विकास भयो । वाष्प इन्जिनको आविष्कारसँगै कोइला र खानीको माग बेस्सरी बढ्यो । औद्योगिक क्रान्तिको युगमा पनि महिलाको अवस्थामा सुधार भएन । धेरै घण्टा काम गर्नुपर्ने, फैक्ट्री जोखिमपूर्ण हुनु जस्ता कठिनाइ एकातर्फ थिए भने महिलामाथि न्यून ज्यालाको विभेद पनि थियो । साथै घरायसी काम गर्नुपर्ने र बालबच्चा पनि हुर्काउनुपर्ने भएकाले महिलाको कामको भार थपियो । समीरका शब्दमा— औद्योगिक युगमा नै साम्राज्यवादको बिजारोपण भयो । आफ्‌ना उत्पादन बेच्न नयाँ बजार र बढ्दो कच्चापदार्थको माग धान्न औद्योगिक देशले कमजोर देशलाई उपनिवेश बनाए । एकातिर यसले अन्य देशको भूमि र प्राकृतिक स्रोत तहसनहस पार्‍यो । अर्कोतिर, साम्राज्यवादी केन्द्रमा असीमित पुँजीको थुप्रो लाग्यो (अमिन, २०१४) ।
प्रकृतिसँग प्राकृतिक श्रोतको भण्डार सीमित छ तर प्रयोग र उपभोग असीमित भएको कारण पृथ्वीको जीवनदायिनी प्रणाली (Life supporting system) नै क्षीण बन्दै गएको छ । फलस्वरूप मानव जातिको अस्तित्व जोखिममा छ साथै जलवायु परिवर्तन, जैविक विविधता नष्ट हुने, स्रोतको निम्ति द्वन्द्व र स्रोतको अभावजस्ता नकारात्मक असरहरू देखिइसकेका छन् (एरो र इत्यादि, २००४; गाफने, २०१४) ।
एउटा अध्ययनमा विश्वका सबभन्दा ठुला १०० कम्पनीले औद्योगिक हरित गृह ग्याँसको ७१ प्रतिशत हिस्सा वायुमण्डलमा उत्र्सजन गर्दछन् (ग्रिफिन, २०१७) । पेरिस सम्झौताको बाबजुद औद्योगिक राष्ट्रहरू आफ्‌ना प्रतिबद्धतामा गम्भीर नहुनाले कार्बन उत्सर्जन बढ्दो क्रममा छ । सन् २०२३ मा मात्र
विश्वभर ३७.४ अरब मेट्रिक टन कार्बन डाइअक्साइड वायुमण्डलमा उत्सर्जन भएको अध्ययनले देखाएको छ (आइइए, २०२४) । भूमण्डलीय दक्षिण (Global south) र अल्पविकसित राष्ट्रहरूमा जलवायु परिवर्तनको असर चर्को देखिएको छ (बार्नवेल र वुड, २०२२) । यी असरहरूले वास्तवमा साम्राज्यवादी पुँजीवादको असली चरित्र दर्साउँछ, जो नाफाका निम्ति थप क्षेत्रलाई उपनिवेश बनाउन चाहन्छ (डेगिरमेनसिओग्लू, २०२२) । भूमण्डलीकृत पुँजीवादले लैङ्गिकद्वेषी धारणा राख्छ । पश्चिमेली गोरा पुरुष र उद्यमी वर्गलाई प्राथमिकता दिन्छ । प्रकृति र महिलालाई निष्क्रिय, निसहाय र दोस्रो दर्जाको मान्छ । महिला संवाहक (agency) होइन भन्ने भाष्य मजबुत बनाउँछ ।

निष्कर्ष

नाफामूलक पुँजीवाद क्रियाशील रहेसम्म प्रकृति र माटोको क्षय नरोकिने यथार्थ हो । प्रकृतिको क्षय, माटोको उर्वराशक्तिको ह्रास र महिला उत्पीडन पुँजीवादलाई टेको दिने पितृसत्तात्मक संरचनासँग सम्बन्धित छ । यस्तोमा सबभन्दा महत्त्वपूर्ण वातावरणीय शिक्षा हो । तर कस्तो शिक्षा ? कस्तो उद्देश्य बोकेको शिक्षा ? आदि प्रश्नको निरूपण नगर्ने हो भने समस्या ज्यूँका त्यूँ रहनेछ । ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरेले विकसित गरेको आलोचनात्मक शिक्षा (critical pedagogy) यस सन्दर्भमा उपयोगी हुने देखिन्छ । ज्ञान दिने शिक्षा भन्दा उत्पीडनमा परेका विपन्न, महिला र सीमान्तकृत समूहलाई प्रश्न गर्न सिकाउने, आलोचनात्मक दृष्टितर्फ उन्मुख गराउने शिक्षा आवश्यक छ, फ्रेरेको तर्क थियो । आफ्‌नो प्रसिद्ध पुस्तक पेडागोजी अफ अप्रेस्ड (१९६८) मा फ्रेरेले आलोचनात्मक शिक्षाको उद्देश्य, उत्पीडनको विशेषता, शिक्षण विधि (रिफ्लेक्ट) र सहभागितामूलक शिक्षणको महत्त्ववारे विस्तृतमा चर्चा गरेका छन् ।
पर्यावरणीय नारीवादको सैद्धान्तिक प्रस्तावना, विधि र केस स्टडीमाथि पनि वातावरणीय शिक्षाले विमर्श गर्नु पर्छ । महिला र प्रकृतिको सम्बन्ध, महिलाले युगांैदेखि गरिरहेको वातावरण संरक्षणको प्रयासबारे छलफल हुनुपर्दछ । यस्ता आलोचनात्मक विमर्शले समुदाय, समाज र राष्ट्रले सामना गर्नुपरेका वातावरणीय सङ्कटलाई समाधान गर्न सघाउँछ । डि चिरोले (सन् १९८७) ले यस नारीवाद र वातावरणीय शिक्षाको अन्तरसम्बन्धलाई प्रस्ट्याउँदै लेखेकी छिन्‌– वातावरणीय शिक्षा समस्याको समाधान खोज्नमा केन्द्रित हुनाले नारीवादी सिद्घान्तले वातावरणीय सवालहरूको अन्वेषण गर्न र समाधान खोज्न सघाउँछ ।
ओर (२०२२) को जोड छ, वातावरणीय समस्याको राजनैतिक पाटोतर्फ ध्यान पुर्‍याउनु अनिवार्य छ । परम्परागत वातावरणीय शिक्षाले राजनैतिक दृष्टिकोण नराखेर यथास्थितिवादलाई समर्थन गरेको हुनाले त्यो समस्याग्रस्त छ । अबको वातावरणीय शिक्षाले वातावरण समस्याका मूल कारक तत्त्वहरूको पहिचान गरेर त्यस्ता तत्त्वहरूको विरुद्धमा राजनैतिक सङ्गठन गर्न सीमान्तकृत समुदायलाई सङ्गठित गर्नुपर्छ । हामीलाई हारावे (सन् २०१६) ले भनेजस्तो यस्तो प्रकारको वातावरणीय शिक्षा चाहिएको छ, जसले हामीलाई बताओस्, हामी मानव पनि वातावरण हाँै र पृथ्वीको हरेक घटनाहरू एक आपसमा सम्बन्धित छन् ।

सन्दर्भ सामग्रीसूची

ढकाल, सुरेश (२०८१). इतिहास अघिको इतिहास, सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त. काठमाडौँ : इन्डिगो इन्क प्रा.लि. ।

त्रिपाठी, गीता (२०८०). समकालीन नेपाली कवितामा पर्यावरण. पर्या साहित्य–सिद्वान्त र सिर्जना. काठमाडौँ : सम्पूर्ण किताब ।

प्रभात, विष्णु, (२०८१). नेपाली षड्दर्शन. काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।

लरेन्स, बुएल (२००५). एन्भायरोनमेन्टल क्रिटिसिज्म : एनभायरोनमेन्टल क्राइसिस एन्ड लिटररी इम्याजिनेसन. ब्ल्याकबैल : अक्सफोर्ड ।

Amin, S. (2014). The implosion of capitalism. Pluto Press.

Angels, Fredrick (2004). The Origin of the Family, Private Property and the state. Resistance Books Australia.

Arrow, K., Dasgupta, P., Goulder, L., Daily, G., Ehrlich, P., Heal, G., Levin, S.,M¨aler, K. G., Schneider, S., Starrett, D.,&Walker, B. (2004). Are we consuming too much? Journal of Economic Perspectives, 18(3), 147–172. https://doi.org/10.1257

Barnwell, G., & Wood, N. (2022). Climate justice is central to addressing the climate emergency’s psychological consequences in the Global South: A narrative review. South African Journal of Psychology, 52(4), 486–497. https://doi.org/10.

Cutter-Mackenzie-Knowles, Amy, and Lisa Siegel. 2019. “A Critical Cartography of Waste Education in Australia: Turning to a Posthumanist Framing.” In Environmental Sustainability and Education for Waste Management, edited by Winnie Wing Mui So, Cheuk Fai Chow, and John Chi Kin Lee, 207–220. Singapore: Springer.

Degirmencioglu, S. M. (2022). Militarism or peace and justice: Psychology at the crossroads of climate change. Psychology in Society, 63, 6–28.

Di Chiro, Giovanna. 1987. “Applying a Feminist Critique to Environmental Education.” Australian Journal of Environmental Education 3: 10–17.

FAO. 2022. Mountain women of the world – Challenges, resilience and collective power. Rome.

https://doi.org/10.4060/cc3328en Haraway, Donna J. 2016. Staying With the Trouble: Making Kin in the Chthulucene. Durham, NC: Duke University Press.

Freire, Paulo, 1968, Pedagogy of the Oppressed. The Continuum International Publishing Group Inc 15 East 26,h Street, New York

Gaffney, O. (2014). Sustainable development goals: Improving human and planetary wellbeing. Global Change, 82, 20–23.

Griffin, P. (2017). The carbon majors database: CDP carbon majors report 2017.

IEA (2024), CO2 Emissions in 2023, IEA, Paris https://www.iea.org/reports/co2-emissions-in-2023

Margaret Ehrenberg 1992. Women in prehistory. (Second Impression). London: British Museum Publications.

Maria Mies and Vandana Shiva, 1993. Ecofeminism, Zed Books Ltd, 7 Cynthia Street, London N1 9JF, UK

Naess, Arne. 1989. Ecology, Community, and Lifestyle. Translated by David Rothenberg, Cambridge University Press

Orr, David W. 2020. “Democracy and the (Missing) Politics in Environmental Education.” The Journal of  Environmental Education 51 (4): 70–279. https://doi.org/10.1080/00958964.2020.1753004.

Sharma Basnet, Bipina; Livani,Talajeh; Raza,Amna; Haddock,Sarah Elizabeth; Sharma,Jaya; Reyes,Hiska Noemi; Orlando,Maria Beatriz.Women’s Non-Farm Employment in Nepal : A Landscape Review of Organizations and Interventions (English). SARTFP Gender Platform Knowledge Series Washington, D.C.: World Bank Group.

Sharma, Shaurav & Yadav, Pankaj & Dahal, Rachana & Shrestha, Suwany & Bhandari, Sagar & Thapaliya, Krishna.

(2021). Agriculture in relation to socioeconomic status of Tharu in Chitwan of Nepal. Journal of Agriculture and Food Research. 6. 100243. 10.1016/j.jafr.2021.100243.

UNEP (United Nations Environment Programme). 2017. The role of women in mountainous regions.

www.unep.org/news-and-stories/news/role-women-mountainous-regions

Verma, Subhash. (2010). The Eco-friendly Tharu Tribe: A Study in Socio-cultural Dynamics. Journal of Asia Pacific Studies.

https://www.fao.org/gender/insights/insights-detail/What-are-women%27s-crops-and-why-/en?utm_source=chatgpt.com

https://tharuculture.blogspot.com/2013/05/fishing-and-tharus.html?utm_source

https://www.theconstantrevolution.com/tharu-people-a-rural-way-of-life/

Author

  • कविता र निबन्ध विधामा कलम चलाउने रोशन शेरचन समकालीन नेपाली साहित्यका प्रभावशाली लेखक हुन् ।
    वातावरणीय विज्ञानमा विधावारिधि गरेका उनका 'शब्दहरूको देश' (२०५३,कवितासङ्ग्रह). सरुभक्तहरू (२०५६,लामो कवितासङ्ग्रह) तथा मस्तिष्कहरूको मृत्यु, चम्पारण ब्लुज र धोबीघाट एक्सप्रेस तथा गल्ली संसार निबन्धस‌ङ्ग्रहहरू प्रकाशित छन् । प्रकृति-पर्यावरण र जीवनका विविधताभित्र संरक्षण र सहअस्तित्व चिन्तन उहाँका लेखनका मुख्य विषय हुन्।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के