एकजना पुरुषले नारीका बारेमा लेखेका लेखहरू, दिएका विचारहरू, अनुभूतिहरू र निर्माण गरेका सिद्धान्तहरू नारीकै लागि भने कति सार्थक हुन्छन् र कति स्वीकार योग्य हुन्छन्? के पुरुषले नारीका बारेमा सिद्धान्त निर्माण गर्न सक्छन्? के पुरुषले नारीलाई लेख्न सक्छन्? के पुरुषीय विचार-नादमा नारीको अवधारणा उस्तै हुन्छ, जसरी पुरुषले नारीका बारेमा लेखेका हुन्छन्? के नारीको संविधान पुरुषले निर्माण गर्न सक्छ? के नारी पुरुषको अनि पुरुष नारीका विपरीत हुन्? नारी के हो? जस्ता प्रश्नहरूका आयाममा गएर चिन्तन नगरी नारी सम्बन्धी कुनै पनि विषय वा तथ्यबारे लेख्नु र बोल्नु भनेको पानीमा तेल हाल्नु जस्तै हो किनभने पानीमा जति नै तेल हाले पनि त्यो सधैँ माथि माथि नै तैरिन्छ, गहिराइमा पुग्न सक्तैन तसर्थले पुरुषहरूले लेखेका नारी विषयक विचारहरू स्वानुभूतिका भन्दा सहानुभूति परिप्रेक्ष्यका अधिक हुन्छन्। पुरुषले नारीबारे लेख्न सके तापनि सम्भवतः ‘नारीलाई’ भने लेख्नै सक्तैन, अतः पुरुषहरूद्वारा लेखिएका सबै लेखहरू ‘नारीका बारेमा’ हुन्, ‘नारीलाई’ होइनन्।
एकजना पुरुषले पुरुषका रूपमा लेखेका लेखहरू अनि दिएका विचारहरूमा उसको भाषाले नारीको संवेदना, विचार र उसको अवधारणा बोक्न सक्तैन। विचारणीय कुरो के छ भने, यहाँसम्म व्यक्त गरिएका विचारहरू पनि त कुनै पुरुष अर्थात् ‘म’(मेरो)- विचार-नादमा उठेका विचारहरू नै त हुन्। उसो भए यति लेख्दासम्म यस लेखकको लैगिङ्कता के हो? यो ‘लेखक’ कुन लिङ्गमा छ त? कुन लिङ्गको सीमामा रहेर यस लेखकले यति लेखेको हो? पुरुषको विपरीत बसेको पुरुष लेखक? नारीका पक्षमा उभिएको पुरुष लेखक? पुरुष कायामा नारी संवेदनाको लेखक? उभय लेखक? वा लोकलाई आफ्नो नारी संवेदना र उज्यालो पक्ष देखाउने लालसाको पुरुष लेखक? के लेखक नारी र पुरुष हुन्छ? यी अष्टावक्र प्रश्नहरूले अपेक्षा गरेका उत्तरहरूले खोल्ने ‘नारी दर्शन’-को आयाम हाम्रो भौतिक बुझाइ र सीमाभन्दा पृथक छ। यसर्थ यहाँ सर्वप्रथम लेखकको अवधारणा बुझ्न आवश्यक छ। के हो र को हो त लेखक? लेखकबारे पाइने थुप्रै सिद्धान्तहरू छन्।
Writer अनि Author का बारेमा उत्तरसंरचनावादमा नयाँ दृष्टिकोणबाट अध्ययन भइसकेको छ, तथापि यहाँ लेखकलाई भौतिक अनि दार्शनिक संलयनका अध्ययन विन्दुबाट बुझ्ने चेष्टा गरिएको छ। लेखकबारे अध्ययन गरेर नारी र पुरुषबिचका स्थापित भ्रमहरू भत्काउँदै अर्को सङ्कथनतिर जाने नयाँ मार्गको निर्माण गर्ने चेष्टा पनि गरिएको छ।
‘लेखक’ भनेपछि हाम्रा आँखामा नारी वा पुरुष आउँदैन। एकजना ‘कोही’ आउँछ। उनको शरीर देखिँदैन र ऊ को हो, त्यो पनि थाहा हुँदैन तर बिम्बमा केही वा कोही आउँछ। बिम्ब आएका केही क्षणपछि त्यहाँ व्यक्तिका बुद्धिले चिनेका कुनै एकजना नारी वा पुरुष लेखकले आफ्नो ठाउँ बनाउँछ। त्यहाँ कतिले पारिजात त कतिले शङ्कर लामिछाने देख्छन्। सुरुका बिम्बमा नारी वा पुरुष जस्ता कुनै लिङ्ग हुँदैन वा देखिँदैन तर पछिल्ला बिम्बमा सुन्ने (श्रोता)-का बुद्धिले कुनै एकजना बौद्धिक नारी वा पुरुषको अनुहार ग्रहण गर्छ। यस समीकरणले लेखकका दुईवटा रूप हुन्छन् भन्ने देखाउँछ, पहिलो अभौतिक दोस्रो भौतिक। अभौतिक रूप लिङ्गविहीन हुन्छ भने भौतिक रूप लिङ्गयुक्त हुँदछ। लोकले लेखक भनेर चिनेको लेखकको भौतिक रूप हो अनि लेखकको अभौतिक रूप भौतिक सत्तामा नै निहित पराभौतिक स्थिति हो। यसलाई दर्शनका शब्दमा सूक्ष्म शरीर भन्न सकिन्छ। सूक्ष्म शरीरको कुनै लिङ्ग हुँदैन, यो वैचारिक प्रमात्रा (क्वान्टम)-मा निर्मित हुन्छ (दर्शनले यसैलाई जीव पनि भनेको छ) । यी भौतिक अनि अभौतिक लेखकका दुई रूप हुन् भने लेखकको मूल स्वरूप चाहिँ कस्तो होला? अर्थात् यसलाई यसरी बुझौँ, कौशल्या नामकी एकजना युवती छन्। उनको घर दार्जिलिङको टिस्टाभेल्लीमा छ। कौशल्या काठमाडौँको पुतली सडकमा एउटा कोठा भाडामा लिएर त्रिभुवन विश्वविद्यालय पढ्छे। उसँग सरिता नाम गरेकी एकजना अर्की युवती पनि बस्छे। दुईजना साथीहरू हुन्। एकदिन दार्जिलिङको टिस्टाभेल्लीमा कौशल्यालाई बिहेका लागि माग्न केही मानिसहरू आए। कौशल्याकी आमाले कौशल्या पढ्दै छे, अहिले बिहे गरिदिँदिनँ भनिन्। आउनेहरूले कौशल्यालाई हेर्ने मन गरे अनि आमाले मोबाइलबाट कौशल्याको एउटा नक्सा निकालेर देखाइन्। सबैले कौशल्यालाई नक्साका माध्यमले देखे। कौशल्यालाई नक्सामा देखिनु कौशल्याको साकार रूप हो। यसलाई परावास्तविक रूप पनि भन्न सकिन्छ। दार्जिलिङमा यस्तो घटना भइरहेका बेला उता काठमाडौँको पुतली सडकको भाडाका घरमा कौशल्यालाई सोध्दै दुईजना मानिसहरू आए। मानिसहरूले कौशल्याकी साथी सरितालाई कौशल्या कस्ती देखिन्छे भनेर सोधे अनि सरिताले कौशल्याको शारीरिक बनावट, रङ रूप आदिको वर्णन गरेर कौशल्या यस्ती देखिन्छे भनिन्। आउने दुईजनाले पनि ‘ए हुन्छ, ठिक छ’ भनेर फर्के। ती दुईजनाले पनि कौशल्यालाई देखेकै हुन् तर यसरी देख्नु चाहिँ कौशल्याको निराकार रूप हो। यसलाई कल्पनाप्रसुत रूप भन्न सकिन्छ। विचार गर्नुहोस्, दार्जिलिङको घरमा नक्सामा देखिएकी र पुतली सडकमा वर्णन गरिएकी दुवै कौशल्याका रूप हुन्। तर वास्तविक रूपमा त्यही समय कौशल्या त विश्वविद्यालयमा आफ्नो क्लासमा लेक्चर सुनिरहेकी हुन्छे। त्यो यथार्थ वा वास्तविक कौशल्या चाहिँ उसको स्वरूप हो अनि स्वरूप चाहिँ सत्य हुन्छ। यस प्रयोगका दुईवटा अभिप्रायहरू छन्। पहिलो, यहाँ वर्णन गरिएका आख्यानात्मक उदाहरण पढेपछि पाठकले दुईजना युवती र केही मानिसहरूको बिम्ब आँखामा बनाउँछन्। ती बिम्बहरू प्रत्यक्ष रूपमा पाठकका आँखामा नाच्छन् तर कौशल्या कस्ती देखिन्थी, सरिता कस्ती थिई वा उनीहरूका अनुहार कस्ता थिए भन्ने चाहिँ देख्दैन। अनुहार नै नदेखी पाठकले कौशल्या र सरिताका बिम्ब आँखामा ल्याउँछन्। सहजानुभूतिका कारण पाठकले ती दुई युवतीहरू देख्न सक्छन्। यहाँ कौशल्या र सरिता भनिएकाले दुईजना नारीहरू (भौतिक लिङ्ग) आँखामा आएका हुन्। यसका ठाउँ मान्छे वा मानिस मात्रै भनिएको भए, कवि, लेखक मात्रै भनिएको भए बिम्ब त त्यसरी नै आउने थिए तर त्यहाँ लिङ्ग के थियो भन्ने कसैले विचार नै गरेको हुने थिएन।
दोस्रो अभिप्राय, मानिस भौतिक रूपमा निर्मित भए तापनि उसको कार्यान्विति मूलतः पराभौतिक रूपमा नै अधिक भइरहेको हुन्छ अथवा मानिसको अस्तित्व भनेको यो परिवर्तनशील भौतिक सत्ता नभएर सूक्ष्म शरीर तहको स्थिति हो, जसको कुनै लिङ्ग हुँदैन। यसर्थ नारी अनि पुरुषलाई लिङ्गका आधारमा भेद गरेर त्यसैका आधारमा संविधान निर्माण गर्ने पद्धति गलत सिद्ध हुन्छ। यस प्रयोगबाट लेखकको कुनै लिङ्ग हुँदैन भन्ने पनि सिद्ध हुन्छ।
लेखक भौतिक सत्ता होइन। भौतिक सत्ता (शरीर) लेखकको माध्यम मात्र हो; मूलतः लेखक सूक्ष्म शरीरको स्थितिमा ऊर्जावत् रूपले निहित हुन्छ। लोकमा लेखकको शरीर नरहँदा पनि लेखक रहिरहन्छ। हामीसँग भानुभक्त, देवकोटा, पारिजात अझै पनि छन् तर उनीहरू पराभौतिक रूपमा, विचार र संस्कारका रूपमा छन्।
सुन्दा वा पढ्दा नीतिका कुरा जस्तै लाग्ने यी तथ्यहरू चिन्तनका विषय हुन्। साहित्यको संवाद प्रयोगशालामा प्रमाणित गरिनुपर्छ भन्ने हुँदैन। साहित्यको संवाद साहित्यिक आध्यात्मिकतामा नै प्रमाणित हुँदछ। काव्यशास्त्रमा रसको चिन्तन गर्ने आचार्यहरूले काव्य रसका बारेमा यति गहन चिन्तन गरेका छन्, जसलाई आजको विज्ञानले क्वान्टमको नाम दिएका छन्। भौतिक पदार्थको त्यस गहिराइलाई क्वान्टम भनियो भने पराभौतिक स्थितिको गहिराइलाई चेतना भनिन्छ। चेतना को हो र यो चेतना नारी पुरुष जस्ता लिङ्गमा विभाजित छ वा छैन भन्ने विषयमा चिन्तन गर्न आवश्यक देखिन्छ।
Simone de Beauvoir को लोकप्रिय पुस्तक ‘The Second Sex’- को यो लोकप्रिय कथन “One is not born, but rather becomes, a woman” – को गहिराइमा गएर यसको प्रतीकलाई बुझ्ने चेष्टा गर्दा त्यहाँ पनि चेतनाकै सङ्केत गरिएको पाइन्छ। बुआले यहाँ नारी भनेर उसको भौतिक सत्ता वा शरीर नभएर उसको चेतनालाई एउटा संविधानका ढाँचामा लगाएर नारी बनाइन्छ भन्ने विचार राखेकी हुन्। पूर्वीय शास्त्रका दृष्टिले यसरी विवेचना गर्न सकिन्छ, वेदान्तमा “एको अहम् द्वितीयो नास्ति” – एक म मात्र हुँ अरू सबै मिथ्या हुन्, भनेर ब्रह्मको अद्वैत स्वरूपको सङ्केत गरिएको छ। यहाँ अहम् भनेर ब्रह्मको सङ्केत गरिएको हो अथवा ‘म’ उही ब्रह्मको रूप चेतना हो अनि जीवमा पनि यस ‘म’-को अनुभूति सबैलाई हुँदछ। यो ज्ञात हुने ऊर्जा वा शक्ति नै चेतना हो जुन नारी अनि पुरुष दुवैमा हुँदछ। प्राणी संसारमा यसको ज्ञान मानवलाई मात्र हुने भएकाले मानिसलाई विवेकशील, चेतनशील प्राणी भनिएको हो। ‘म’- छु भनेर सामान्य रूपमा म-को ज्ञात गर्ने पनि ‘म’ नै हो। यसैले यो ‘म’ स्वयम्मा पूर्ण छ अनि यसलाई ब्रह्म अथवा सर्वज्ञ सत्ताको एउटा अंश मानिएको हो। यही ‘म’-को भने कुनै लिङ्ग हुँदैन।
एकजना पुरुषले नारी भएर अनि नारीले पुरुष भएर विचार गर्न सक्तैन यदि कसैले त्यसरी विचार गर्छ भने त्यो हेत्वाभास मात्र हुँदछ। तर ‘म’-को स्थिति भने नारी अनि पुरुषमा एकै प्रकारले रहेको हुन्छ। त्यो ‘म’ पराभौतिक रूपमा पूर्ण भए तापनि त्यसले भौतिक रूपमा पूर्णता प्राप्त गर्नाका लागि प्रकृतिलाई ग्रहण गर्नु पर्दछ। प्रकृतिका गुणले मात्र ‘म’ भौतिक रूपमा पूर्ण हुन्छ। यसरी प्रकृतिद्वारा पूर्णता पाएको ‘म’-लाई हामी साधारणतः जीव भन्छौँ अनि यस देही जीव चाहिँ भौतिक र सामाजिक रूपमा लिङ्गमा आधारित हुन्छ, जसलाई नारी पुरुषका रूपमा चिनिन्छ। प्रकृतिबिना नै ‘म’ पूर्ण हुने सत्तालाई चाहिँ शास्त्रमा ‘ब्रह्म’ भनिएको छ, जसको कुनै भौतिक शरीर हुँदैन। तात्पर्य के भने, ईश्वर तत्त्वको पनि कुनै लिङ्ग हुँदैन।
भौतिक जीव लिङ्गमा आधारित भए तापनि उसको आन्तरिक संरचनामा निहित चेतना लिङ्ग रहित हुँदछ तर त्यस आन्तरिक संरचनालाई क्रियाशील बनाउने ऊर्जा चाहिँ प्रकृति हो। प्रकृतिको उपस्थितिबिना जीवको जीवन हुँदैन। ब्रह्म प्रकृति रहित पनि पूर्ण हुने भएकाले ऊ लिङ्गेतर भयो तर जीव प्रकृति विहीन अस्तित्वमा आउन नसक्ने भएकाले ऊ प्रकृति-धर्म प्रधान हुँदछ। इकोसफी अन्तर्गत डिप इकोलजीले पनि जीव प्रकृति हो र उसले आफूलाई प्रकृतिदेखि अलग ठान्नु हुँदैन भन्ने विचार राख्दछ। जीवले आफैलाई प्रकृतिदेखि पृथक ठानेका कारण नै मानिसले प्रकृतिलाई प्रदूषित बनाएको हो भन्ने तथ्य पनि प्रस्तुत गर्छ। साङ्ख्य दर्शनले पनि प्रकृतिद्वारा नै जीव अस्तित्ववान् छ तर त्यसमा चेतना चाहिँ पुरुष रूपमा विद्यमान हुन्छ भन्छ। जीवमा पुरुष वा ‘म’ तत्त्वको उपस्थित भए तापनि उसको कार्यशक्तिको कारक प्रकृति भएको हुँदा भौतिक तहमा जीव प्रकृतिमय छ अर्थात् चेतना वा ‘म’ लिङ्ग रहित भए पनि उसको भौतिक सत्ता प्रकृतिमा निर्भर रहन्छ। यसो हुँदा जीवको मूल लिङ्ग प्रकृतिपरक छ वा जीव स्त्री लिङ्गीय विषय हो। यसको तात्पर्य संसारमा पुरुष (तत्त्व) छैन भन्ने बुझिन्छ। जीव चेतनाद्वारा सञ्चालित भए तापनि भौतिक स्तरमा प्रकृतिबिना चेतनाको कुनै मूल्य हुँदैन यसर्थ प्रकृति र पुरुष (चेतना)-को संलयनले नै जीवन सम्भव हुँदछ। चिन्तनको विषय के छ भने, पुरुष त लिङ्गविहीन हुन्छ र त्यस पुरुषलाई भौतिक सत्तामा अस्तित्व दिने शक्ति प्रकृति हो अर्थात् जीव प्रकृति तत्त्वले बनेको हुँदा संसारमा पुरुष तत्त्व छैन। यसै कारण वेदान्तले “एको अहम् द्वितीयो नास्ति”, केवल म छु, अन्य अन्य सबै नाशवान् छन् भनेको बुझिन्छ। यहाँ “नास्ति” शब्दका विविध अर्थ हुन सक्छन्। तीमध्ये दुईवटा अर्थ मुख्य छन्। पहिलो प्रलय दोस्रो परिवर्तन। केवल ब्रह्म अमर छ, प्रकृतिको प्रलय हुन्छ अथवा केवल ब्रह्म स्थिर छ, प्रकृति परिवर्तनशील छ। जीव (नारी पुरुष) परिवर्तनशील धर्ममा बाँधिएका हुनाले यो प्रकृति हो। प्रकृति शक्ति भएकाले यो स्त्री सत्ता हो। नेपाली व्याकरणमा पनि प्रकृतिलाई स्त्रीलिङ्ग नै मानिएको छ । यसले पनि यस्तै तथ्यको सङ्केत गर्दछ।
यहाँसम्म आइपुग्दा दुईवटा मुख्य विषयहरू सम्बोधनमा आए, पहिलो चेतनाको कुनै लिङ्ग हुँदैन र यो जीवको कारक हो, दोस्रो चेतनाले भौतिक रूपमा प्रकृतिद्वारा पूर्णता प्राप्त गरेर जीवमा परिणत हुँदछ। जीवको कार्यशक्ति प्रकृति भएको हुनाले जीव मूलतः प्रकृति हो। अतः जीव आन्तिरक तहमा स्त्री लिङ्गीय रूपमा संरचित भएको हुँदछ तर भौतिक कार्यप्रणालीका लागि प्रकृति स्वयम्ले आफैलाई दुई भागमा स्प्लिट गरेर लिङ्गीय भेदमा रूपान्तरण गर्छ। यी दुवै दार्शनिक सम्बोधले संसारमा मूलतः पुरुष छैन भन्ने प्रमाणित गर्दछ। यो विमर्श देहतीत तहको हो। देह वा शरीरको जीव वैज्ञानिक परिभाषा र विश्लेषण यी सम्पूर्ण विमर्शदेखि पृथक् छन्। बुआले ‘नारी बनाइन्छ’ भनेर जीव वैज्ञानिक चर्चा गरेकी होइनन्। यसको अर्थ, ‘नारी विमर्श’-का कुरा भौतिक लिङ्ग अथवा शारीरिक लिङ्गको विमर्श होइन। भौतिक संरचना र चेतनागत तहको संरचना बिचको भेद गरेर नारी सत्ता वा संरचनालाई क्वान्टम तहमा बुझ्नु नै नारीलाई वास्तविक रूपमा बुझ्नु हो। यसदेखि इतर वा सतही रूपमा बुझ्नु चाहिँ नारीका बारेमा बुझ्नु हो। अघिल्ला सम्बोधनहरूका प्राप्तिमा संसारमा पुरुष छैन भन्ने निष्कर्ष देखाइयो। सतही बुद्धिले यस कथनलाई गलत दिशातिर लगेर व्याख्या गर्न सक्छ अनि यो सम्भव पनि छ तर जसले नारी अनि पुरुषलाई भौतिक वा शारीरिक तहमा मात्र बुझेको हुन्छ, उसले त्यसदेखि उताको संरचना बुझ्न सक्तैन। जीव वैज्ञानिक रूपमा बुझिएको पुरुष पाठक वा पुरुष वर्गले संसारमा पुरुष छैन भन्ने निष्कर्ष यस कारण स्वीकार गर्न सक्तैन किनभने उसले आफ्नो चेतनालाई पुरुष ठानेर आफूभित्रको प्रकृतिलाई पनि परुषा रूपमा स्वीकार गरेको हुन्छ। वास्तवमा उसलाई यी सबै उसको संस्कारले नै स्वीकार गर्न सिकाएको हुँदछ। व्यक्ति वा जीव जबसम्म यस संस्कारको तहबाट बाहिर आएर जीवको आन्तरिक संरचनाबारे वैचारिक रूपले विमर्श गर्ने बन्दैन, तबसम्म नारी पुरुषको मतभेद समाजमा यथावत् रहन्छ। यति विमर्शपछि केही प्रश्न यहाँ देखिन्छन्, यदि संसारमा पुरुष तत्त्व छैन भने अथवा पुरुष छैन भने, भाले पोथी, स्त्रीलिङ्ग पुलिङ्ग-को धारणा कसरी आयो? समाजमा किन नारी र पुरुषको भेद गरिन्छ। नारीलाई पुरुषको अनि पुरुषलाई नारीको विपरीत किन मानिन्छ? यी प्रश्नहरूले गम्भीर चर्चाको अपेक्षा गर्दछ।
भौतिक संरचनालाई आधार गरेर चेतनागत संरचनाको व्याख्या गर्न सक्तैन तर जीवले आफ्नो आन्तरिक संरचना जसरी निर्माण वा पोषण गर्छ, उसको भौतिक संरचना उस्तै बन्दछ। पुरुष शरीरमा जन्मेका एकजना व्यक्तिलाई आफूभित्र एउटी स्त्री लुकेकी छ भन्ने तथ्य बोध भएपछि त्यो पुरुषरूपी व्यक्ति बिस्तारै नारीगुण र स्वभावमा परिणत हुँदै जान्छ। यस प्रक्रियामा उसलाई उसको मनोविज्ञानले सहयोग गर्दछ। समकालीन परिवेशमा लिङ्ग परिवर्तन गर्ने चलन अत्यधिक बढेर गएको छ। यस चलनमा नारीले पुरुष लिङ्गमा आफैलाई परिवर्तन गरेका भन्दा अधिक पुरुषहरू नारीमा लिङ्ग परिवर्तन (sex transplant)-का घटनाहरू पाइन्छन्। भौतिक रूपमा यसरी लिङ्ग परिवर्तन गर्ने दुईवटा कारण स्पष्ट देखिन्छन्, पहिलो रहर वा चलनचल्तीका कारण, दोस्रो पुरुष शरीरमा जन्मेका व्यक्तिका चेतनामा नारी तत्त्वको प्रकटीकरण। दोस्रो परिवर्तनका बारेमा हामीले चर्चा गरेका हौँ। पुरुषलाई सदैव पुरुष नै बनाएर राखिरहने उसको पुरुषार्थ हो। पुरुषार्थले नै नारीलाई पनि नारी बनाइराखेको हुँदछ। तात्पर्य के भने, नारी अनि पुरुष दुवैका पुरुषार्थ हुन्छन् भनेपछि समाजमा ‘म पुरुष हुँ’ भन्ने भाव पुरुषहरूमा मात्र कहाँबाट र कुन उपकरणद्वारा प्रकट भएको हो? जुन भाव संसारका प्रत्येक जातिको सामूहिक चेतनामा रहेर प्रागैतिहासिक कालदेखि नै समाजको जटिल समस्या बनेको देखिन्छ। यस प्रश्नको उत्तर सहज छैन। साधारणतः सामाजिक संस्कार, संरचना अनि रूढिका कारण उक्त भावको विकास भएको हो भन्ने विमर्श देखिन्छ तर यसको उत्तर यति मात्रै होइन भन्ने सङ्केतहरू पनि थुप्रै छन्।
दार्शनिक दृष्टिले संसारमा नारी अनि पुरुषबिच कुनै भेद छैन अर्थात् यी दुवै निकायहरू एउटै चेतनाले बनेका छन्। यसका साथै ब्रह्म मात्रै अमर र एक मात्र सत्ता हो भने अन्य (प्रकृति) नाशवान् र परिवर्तनशील छ। जीव (नारी, पुरुष) प्रकृति अन्तर्गत पर्ने भएकाले संसारमा प्रकृति मात्र छ, पुरुष छैन भन्ने तथ्य देखियो। जीव प्रकृति सुलभ, सत्ता अनि शक्तिले निर्मित विषय हो। यहाँ पुरुषको अवधारणा बुझ्नु आवश्यक देखिन्छ। साधारण पाठकले पुरुष भनेर देहधारी पुरुष वा केटो बुझ्छन्। यो जीववैज्ञानिक बुझाइ हो। वास्तवमा दर्शनले पुरुष भनेर सर्वज्ञ, सर्वज्ञाता वा ब्रह्मको अनि प्रकृति भनेर परिवर्तन र सिर्जना शक्तिको सङ्केत गरेको हो। व्यवहारमा बुझिएको पुरुष भौतिक देहधारी पुरुष हो, जुन देह उसले प्रकृतिबाट प्राप्त गर्दछ। फलस्वरूप गुणात्मक रूपमा ऊभित्र पनि प्रकृति नै निहित रहेको हुन्छ भन्ने व्याख्या माथिका परिच्छेदहरूमा गरियो।
वेदका तीनवटा अङ्गहरू छन्; संहिता, ब्राह्मण अनि आरण्यक । पछि उपनिषद् वा वेदान्तलाई पनि वेदको अङ्गका रूपमा स्वीकार गरियो। संहितामा मंत्र, ब्राह्मणमा कर्मकाण्ड, अरण्यकमा संहितामा भएका मन्त्रहरूको भाष्य पाइन्छ भने उपनिषद्मा ज्ञान अथवा दर्शन छन्। इसापूर्व ६०० देखि अघिको समयलाई वैदिककाल भनिन्छ। यस कालमा तीनैवटा क्षेत्रमा नारी अनि पुरुषको समान सम्मान र अधिकार थियो। नारीहरू पनि पुरुष समान नै कर्म गर्थे अनि ज्ञान आर्जन गर्थे तर उत्तर वैदिककालीन (इसापूर्व ६०० देखि ३०० सम्म) समाजमा नारीहरूको स्थिति खस्किँदै गयो। विविध विधान, नियम नीति वा संविधानहरू बनिए अनि यस्ता अधिकतम नियमहरूले नारीहरूलाई कर्मकाण्डका साथै सामाजिक र सांस्कृतिक कर्ममा प्रतिबन्ध लगाइयो। उत्तर वैदिककालदेखि संहिता अनि उपनिषद्भन्दा ब्राह्मणको मान्यता लोकमा अधिक हुन थाल्यो। कर्मकाण्डले समाजमा एउटा नीति अनि संस्कृति नै निर्माण गऱ्यो। ब्राह्मणको प्रचार र मान्यता लोकमा परम्पराका रूपमा विकसित भएपछि यसलाई ब्राह्मणकाल भनियो। वैदिककालको सम्पूर्ण समय ब्राह्मणकाल होइन, ब्राह्मणकाल वैदिककालको त्यो समय हो, जब वेदको ब्राह्मण (कर्मकाण्ड)-ले लोकमा अत्यधिक मान्यता पायो वा लोकले स्वीकार गर्ने थाले।
ब्राह्मणवाद भनेको एकजना ब्राह्मण वा बाहुन (कुनै जात)-ले सुरु गरेको वाद होइन। यो कर्मकाण्डको युगको सङ्केत हो। यसै कालदेखि नारीहरूको सामाजिक, सांस्कृतिक आदि अधिकारहरूमा सीमा निर्धारण गरिन आरम्भ भयो। आज रूढ बनेर त्यही नियम लोकमा व्याप्त छ अनि समाजले नारीलाई उसरी नै हेर्ने गर्दछ। यही ब्राह्मणवाद वा यसका नियमहरू, संविधानहरूलाई आजको युगले पितृसत्ता भन्ने गर्दछ।
यहाँ विचारणीय कुरो के छ भने, समाजमा यसरी वाद र संविधान निर्माण गर्नेहरू पुरुषहरू (जीव वैज्ञानिक रूप) मात्र थिए वा थिएनन् भनेर किटान गर्न सकिँदैन। यो लोकको मान्यता थियो अनि वैदिक कालमा नियम, संविधान निर्माण गर्नेहरूमा नारी (जीववैज्ञानिक रूप)-हरू पनि थिए। गार्गी, मैत्रेयी, लोपामुद्रा आदि यस कालका प्रमुख नारी दार्शनिकहरू थिए। यसर्थ उपनिषद् अथवा दर्शनमा साथै संहिता वा मन्त्रमा नारीलाई जुन रूपमा हेरिएको, छ त्यो दृष्टिकोण ब्राह्मण कालमा गौण रहेको थाह लाग्दछ। वेदको गायत्रीलाई देवी भागवत्ले आदि शक्ति वा परमात्मा नै भनेर सम्बोधन गरेको छ। परमात्माको कुनै लिङ्ग हुँदैन भन्ने विमर्श माथि गरियो यसर्थ दर्शनले स्त्री अनि पुरुषबिच कुनै भेद देखाएको छैन। उपनिषद्मा नारी शिक्षकहरू रहेको पाइन्छ। नारी शिक्षकलाई ‘उपाध्याया’ भनेर सम्बोधन गरिन्थ्यो तर उत्तर वैदिककालमा ब्राह्मण (कर्मकाण्ड)-को मान्यताले धार्मिक र सामाजिक संविधान निर्माण हुन थालेपछि नारी पुरुषलाई विपरीतका दृष्टिकोणले हेरिन थालिएको बुझिन्छ।
जीववैज्ञानिक रूपमा नारी अनि पुरुषबिच विभिन्न प्रकारका भिन्नता छन्। यसमा सबैभन्दा मुख्य क्रोमोजमको भिन्नतालाई मान्न सकिन्छ। नारीमा दुईवटा X गुणसूत्र (क्रोमोजम) र पुरुषमा एउटा X अनि एउटा Y गुणसूत्र (क्रमोजम) पाइन्छन्। स्त्री अनि पुरुषका मुटु र रक्त वाहिका पनि अलग हुन्छन्। यी दुईबिचमा पाइने हर्मोन पनि अलग अलग हुन्छन् । यसका साथै शारीरिक संरचना र शरीर विज्ञान पनि अलग अलग हुन्छन् अनि स्त्री अनि पुरुषमा पाइने प्रतिरक्षा प्रणाली पनि अलग प्रकारका हुन्छन्। यस दृष्टिले नारी अनि पुरुषबिच महत्त्वपूर्ण भिन्नताहरू देखिन्छन्। जीव वैज्ञानिक रूपले नारी अनि पुरुष भिन्न हुन्। नारी अनि पुरुषबिच मनोवैज्ञानिक भिन्नता पनि रहेको मनोवैज्ञानिकहरू मान्छन्। प्रकृतिले नारीलाई कतिपय क्षेत्रमा अधिक क्षमता दिएका छन् भने पुरुषलाई कम र कतिपयमा पुरुषलाई अधिक क्षमता दिएका छन् भने नारीलाई कम। यसर्थ मनोवैज्ञानिक तहमा नारी अनि पुरुषको भेद गर्न सहज हुँदैन। स्थूल रूपमा यी दुईका स्वभाव, क्षमता, प्रवृत्ति आदिमा भेद देखिन्छन्। विकासवादी मनोविज्ञानले नारी अनि पुरुषबिचका लक्षणहरूको अध्ययन गर्दछ। यस सिद्धान्त अनुसार नारी अनि पुरुष जन्मदेखि नै विभिन्न क्रियाकलाप गर्न थाल्छन् र समाजसँग सम्पर्क हुँदै गएपछि अथवा यौवन प्राप्त गर्दै गएपछि ती प्रक्रियाहरूमा पनि अनेक भिन्नताहरू देखिँदै जान्छन्। यसमा पुरुषले गर्ने प्रतिक्रिया र नारीले गर्ने प्रतिक्रियामा स्पष्ट रूपले भिन्न भएको देखिन्छ। नारी अनि पुरुषमा पाइने हर्मोनका भिन्नताले पनि उनीहरूका विचार गर्ने क्षमतामा, प्रतिक्रिया र प्रतिरक्षा गर्ने प्रवृत्तिमा भिन्नता रहेको मनोवैज्ञानिकहरू मान्छन्।[1]
नारीमा प्रतिरक्षा गर्ने क्षमता पुरुषका तुलनामा दुर्बल रहेको मानिन्छ भने मार्ग दर्शनको क्षमता नारीमा अधिक रहेको मानिन्छ। पारिवारिक, सामाजिक अनि सांस्कृतिक प्रतिकूलता र अनुकूलताले नारीहरूलाई अधिक मात्रमा कमोजर बनाएको हुन्छ भने पुरुषले यस्ता दुवै स्थिति वा परिस्थितिको सीमा उलङ्घन गर्ने क्षमता राख्दछ। पुरुषले आफ्नो यस क्षमतालाई नै पुरुषार्थ ठान्ने भएकाले ऊ नारीभन्दा सशक्त देखिएको हो। मनोवैज्ञानिकहरू मान्छन्, छोरा र छोरीको जन्म भएपछि उनीहरूलाई एउटै परिवेशमा वा एउटै समाज र संस्कृतिमा हुर्काउँदा पनि दुईजनाले आफ्नो यौवन प्राप्त गर्ने कालमा वा उनीहरूको विकासको प्रक्रियामा आफैमा भिन्न पाउँदै जान्छन्। समाजदेखि अलग राखेर हुर्काउँदा पनि दुवैमा मनोवैज्ञानिक भिन्नता प्रकट भएर जान्छ। यसको निष्कर्ष नारी अनि पुरुष जीव वैज्ञानिक र मनोवैज्ञानिक रूपले भिन्न हुन्छन् भन्ने देखिन्छ। नारी अनि पुरुष बिचमा पाइने जीव वैज्ञानिक र मनोवैज्ञानिक भिन्नताको चर्चा गर्दा यसलाई श्रेष्ठताका आधारमा बुझ्नु गलत हुँदछ। भिन्न हुनु भनेको को श्रेष्ठ हो भनेर देखाउने प्रतिस्पर्धा होइन। यो भिन्नता जैविक रूपमा रहेको विधान हो।
नारी अनि पुरुषबिचको सामाजिक र सांस्कृतिक भिन्नता अथवा विभिन्न अधिकारका लागि बनाइएका नारी पुरुषको अलग मान्यताहरू चाहिँ श्रेष्ठताको प्रतिस्पर्धा हो। नारी श्रेष्ठ कि पुरुष श्रेष्ठ भन्ने प्रतिस्पर्धाका कारण नै समाजमा नारी पुरुषबिचमा अन्तर आएको बुझिन्छ। तसर्थ नारी अनि पुरुषबिच जीव वैज्ञानिक र मनोवैज्ञानिक भिन्नता अवश्य छ तर नारी पुरुषको अनि पुरुष नारीको विपरीत भने होइन। लोकले बुझेको नारी अनि पुरुषका बिच हुने भिन्नता अनि नारीलाई पुरुषको अनि पुरुषलाई नारीको विपरीत ठान्ने मानसिकता परिवर्तन नगरी नारी संवाद सफल हुँदैन। पुरुषको विपरीत पुरुष र नारीको विपरीत नारी पनि हुन सक्छन् , जसरी पुरुषहरू सबै प्रवृत्तिगत रूपमा एक हुन सक्तैनन् , उसरी नै नारीहरू पनि सबै एक हुन सक्तैनन्। नारी पुरुष प्रकृतिको एउटै निकायमा निहित भए तापनि भिन्नता भने रहेको हुँदछ। यहाँ विपरीतको अवधारणालाई निरस्त गरी समन्वयको धारणा स्थापित गर्न आवश्यक देखिन्छ। “नारी पुरुषभन्दा भिन्न छ” भन्ने सङ्कथन आरम्भ गर्दा नारीहरूले पुरुषको र पुरुषहरूले नारीको विरोध गर्छन्। यसले समाजमा आक्षेपको द्वन्द्व सुरु हुन्छ। “हामी नारी-पुरुष भिन्न हौँ तर विपरीत होइनौँ” भन्ने सूत्रले नै नारी पुरुषबिचको नयाँ सङ्कथन निर्माण गर्ने अवसर बनाउन सक्छ।
नारी अनि पुरुषको जैविक भिन्नताबारे सामान्य चर्चा गरियो। यसलाई भौतिकशास्त्रका केही सूत्रद्वारा पनि बुझ्ने चेष्टा गरौँ। भौतिकीको नियमअनुसार संसार दुईवटा तत्त्वले बनेको छ, पदार्थ अनि ऊर्जा। यी दुवै एउटा इलेक्ट्रोन र एउटा प्रोटोनद्वारा निर्मित हुन्छन्। इलेट्रोन अनि प्रोटोन दुई भिन्न चार्ज पार्टिकलहरू हुन्। एउटामा पोजेटिभ र अर्कामा नेगेटिभ ऊर्जा हुँदछ। यही पोजेटिभ र नेगेटिभ उर्जाका भिन्नताले पदार्थ निर्माण भएको हुँदछ। पोजेटिभ-पोजेटिभ र नेगेटिभ-नेगेटिभ ऊर्जाले पदार्थ बन्दैन। इलेक्ट्रोन र प्रोटन आपसमा भिन्न भए तापनि यी दुई विपरीत होइनन्। यी दुवै आआफ्नै धर्मका पार्टिकलहरू हुन्। दुवैका आफ्नै गुण, धर्म, कार्य छन् र यी दुवैका सन्तुलनमा पदार्थको अस्तित्व निर्भर गर्दछ। यही सूत्रले नारी अनि पुरुष बिचको समीकरण गर्दा नारी अनि पुरुष पनि प्रकृति (न्युक्लियस)-का दुई भिन्न ऊर्जाहरू हुन्, जसका आफ्नै कार्यशक्ति र जिम्मेवारीहरू छन् तर विपरीत होइनन्। यी दुवैले आआफ्नै रूपमा, स्तरमा सन्तुलित भएर कार्य गर्दा समाज वा प्रकृतिमा सन्तुलन आउँदछ। नारी अनि पुरुष भिन्न र आपस्तमा विपरीत हुन् भन्ने बुझेर गरिने प्रतिक्रियाहरूले नै प्रकृति एवम् समाजलाई क्षति भइरहेको हो।
उपर्युक्त अध्ययनका प्राप्तिहरू
नारीको दार्शनिक अनि वैज्ञानिक अध्ययन गर्दा यहाँ अलग अलग प्रकारका निष्कर्ष आएका छन्। यी निष्कर्षहरू अध्ययनको अन्त्य भने होइन। निष्कर्षले जिज्ञासाको ढोका खोल्दछ अनि अनुसन्धानका नयाँ आयामतिर सङ्केत गर्दछ।

यस विषयलाई अब सम्भावनाका आधारमा अथवा क्वान्टम दृष्टिकोणबाट चर्चा गरौँ। भौतिक वैज्ञानिकहरूले भौतिक विज्ञानलाई तिन भागमा बाँडेका छन्। क्लासिकल फिजिक्स, मर्डन फिजिक्स अनि क्वान्टम फिजिक्स। क्लासिकल अनि मर्डन फिजिक्सका नियम र सिद्धान्तहरू निश्चित हुन्छन् अनि ती नियमहरू वैज्ञानिकहरूद्वारा बनाइएका हुन्छन्। उदाहरणका रूपमा ग्रेभिटीलाई लिन सकिन्छ तर यसका ठिक विपरीत क्वान्टम फिजिक्समा निश्चित भन्दा सम्भावनाहरू अधिक हुन्छन् अनि ती सम्भावनाहरू गणितीय रूपमा नै सम्भव हुँदछन्। क्वान्टम फिजिक्सअनुसार एउटा पार्टिकल एकै समयमा भिन्न स्थिति र स्थानमा हुन सक्छ साथै एउटै समयमा भिन्न भिन्नै काम पनि गर्न सक्छ। क्लासिकल फिजिक्समा यस्तो सम्भव हुँदैन। क्वान्टम फिजिक्सले यस्तो घटना वर्तमानमा पनि भइरहेको छ भन्ने कुरा गणितीय आधारमा मान्छ।
क्वान्टम फिजिक्स अनुसार जबसम्म हामी एउटा पार्टिकललाई आफ्नो आँखाले वा कुनै उपकरणका सहायताले हेर्दैनौँ, तबसम्म त्यो पार्टिकल आफ्ना सम्भावित सबै स्तर वा पोजिसनमा पुगेर कार्य गरिरहेको हुन्छ वा अस्तित्ववान् हुन्छ। यसलाई वैज्ञानिकहरूले ‘सुपरपोजिसन स्टेट’ भनेका छन्। जब हामी त्यस पार्टिकललाई हेर्छौँ वा कुनै उपकरणले अवलोकन गर्छौँ तब त्यस पार्टिकलको सबै वेब कोल्याप्स हुँदछ अनि सम्भावित सबै पोजिसनहरू छोडेर त्यसले एउटा पोजिसन चयन गरी त्यसै स्टेट वा स्थितिमा प्रस्तुत हुँदछ। यसो हुँदा हामीलाई त्यो पार्टिकल एउटै पोजिसनमा थियो भन्ने लाग्दछ। त्यसको सम्भावित विभिन्न पोजिसन हामी देख्न सक्तैनौँ। वास्तवमा हामीले त्यस पार्टिकललाई एउटै पोजिसनमा देख्नु पनि हाम्रो आँखाको भ्रम हो किनभने क्वान्टम फिजिक्सअनुसार त्यो पार्टिकल आफ्ना सम्भावित स्थितिहरूमा नै हुन्छ तर हाम्रो अवलोकनमा ‘रिजल्ट’ मात्र देखा पर्दछ। क्वान्टम फिजिक्सको यस सिद्धान्तको खण्डन गर्दै Erwin Schrödinger -ले एउटा वैचारिक प्रयोग गरेका थिए। उनको यस प्रयोगलाई Schrödinger’s Cat Experiment भनिन्छ। यसअन्तर्गत एउटा बन्द बक्सामा रेडियोधर्मी वस्तु, एउटा सेन्सर मसिन, एउटा मार्तोल अनि एउटा बोतलमा विषालु ग्यास र एउटा बिरालो पनि राखिन्छ। त्यो रेडियोधर्मी वस्तु गल्छ वा गल्दैन भन्ने आधा आधा सम्भावना छन्। यदि त्यो गल्यो भने सेन्सर मसिनले थाहा पाउँछ र मार्तोलले विषालु बोतल फुट्छ अनि बोतलबाट निस्केको ग्यासका कारण त्यस बिरालोको मृत्यु हुन्छ तर यदि त्यो रेडियोधर्मी वस्तु गलेन भने त्यहाँ यस्ता कुनै घटना हुँदैन। त्यस बक्सालाई बन्द गरेपछि त्यहाँ भित्र केके घटना हुन्छन् त्यो हामीलाई थाहा हुँदैन। बक्सा खोल्दा त्यहाँबाट बिरालो जीवित बाहिर आउँछ वा आउँदैन भन्ने पनि आधा आधा सम्भावना हुँदछ। Schrödinger-को विचारअनुसार यदि त्यो बिरालो मर्छ भने त्यस बक्साभित्रै मर्छ र जीवित हुन्छ भने त्यहीँ भित्र हुन्छ तर एउटै समयमा मरेको र जीवित अवस्थामा हुँदैन। यदि त्यो बिरालो बक्सा खोल्दा मरेको निस्कियो भने दोस्रोपल्ट वा जति नै पल्ट बक्सा खोल्दा पनि जीवित निस्किँदैन त्यो मरेकै हुँदछ अनि जीवित छ भने बक्सा जतिपल्ट खोल्दा पनि जीवित नै हुन्छ मरेको हुँदैन। Schrödinger-ले यस प्रयोगबाट ठुला ठुला वस्तु वा जीवित प्राणीमा क्वान्टम पार्टिकल आफ्नो सुपरपोजिसनमा जान सक्तैन भन्ने प्रमाणित गर्न चाहेका थिए। यसलाई अधिकांश मानिसहरूले विश्वास गरे तर केही समयपछि क्वान्टम स्तरमा सुपरपोजिसन प्रमाणित भयो। बिरालो त्यस बक्सामा मर्ने र बाँच्ने दुवै सम्भावना आधा आधा रहेका थिए। यस्तो स्थितिमा ब्रह्माण्डको टाइमलाइन स्प्लिट हुँदछ अनि एउटा टाइमलाइनमा बिरालो मरेको हुन्छ भने अर्का टाइमलाइनमा बिरालो बाँचेको हुन सक्छ। जब त्यहाँ नयाँ टाइमलाइन निर्माण हुन्छ, तब नयाँ ब्रह्माण्डको निर्माण हुँदछ किनभने निर्णय हामीले लिऔँ वा नलिऔँ, ब्रह्माण्डका अगाडि जब दुईवटा विकल्प आउँछ, तब उसले आफैलाई दुई भागमा स्प्लिट गर्दछ र नयाँ ब्रह्माण्डको रचना हुँदछ। यसको तात्पर्य हाम्रो निर्णय लिने वा नलिने घटनाले टाइम अनि स्पेसमा प्रभाव पारेको हुँदछ अनि यसले एउटा नयाँ टाइम लाइन बनाएर नयाँ स्पेस अथवा नयाँ ब्रह्माण्ड निर्माण गर्दछ। हाम्रा सानाभन्दा साना निर्णय अनि विकल्पले पनि ठुला ठुला घटना सिर्जना गरेको हुँदछ।
आरम्भका परिच्छेदमा नारीलाई दार्शनिक रूपमा अध्ययन गर्दा चेतनाको कुनै लिङ्ग हुँदैन अनि यो एकै समयमा विभिन्न स्तरमा हुन सक्ने सर्वज्ञको अंश हो भन्ने निष्कर्ष आएको थियो। यस चेतनालाई हामी जब देहधारी जीवका रूपमा हेर्छौँ, तब यसलाई नारी र पुरुषका रूपमा लिङ्गीय भेदका आधारमा देख्छौँ। यी दुईवटा घटनालाई हामी क्वान्टम फिजिक्सको सुपरपोजिसनका दृष्टिले हेर्न सक्छौँ। लोकले संस्कार, सांस्कृतिक, सामाजिकता, नियम-विधान, अधिकार जस्ता उपकरणहरूद्वारा प्रकृतिलाई हेर्दा त्यहाँ नारी अनि पुरुषको लिङ्गीय भेद देख्छ। तर नारी अनि पुरुष मूलतः एउटै चेतनाद्वारा निर्मित त्यो विधान हो, जो एउटै समयमा विभिन्न स्थानमा रही आआफ्नै प्रकारका सामाजिक र सांस्कृतिक जिम्मेवारीहरू निर्वाह गरिरहेका हुन्छन्। यसर्थ लोकले अब सांस्कृतिक, सामाजिक, नैतिक, नियम-विधान वा रूढ दृष्टिकोणबाट नारी र पुरुषको लिङ्गीय भेद, जिम्मेवारी र उत्तरदायित्वको भेद, अधिकारको भेदका रूपमा नहेरेर नारी पुरुषलाई एउटै चेतना वा व्यवस्थाका रूपमा हेर्न आवश्यक छ। जैविक अनि मनोवैज्ञानिक भिन्नता भनेको नारी अनि पुरुषलाई प्रकृतिले दिएको जिम्मेवारी वहन गर्ने विधान हो। मानिसको जन्म भएपछि अथवा देह धारण गरेपछि उसको बुद्धिको विकास हुँदै जान्छ। विकास क्रममा बुद्धिले आफ्नो क्षमता बढाउँदै लान्छ। बुद्धिको यस विकास क्रममा बुद्धिले दुईवटा महत्त्वपूर्ण निर्णय लिन्छन्, प्रजनन् र निवृत्ति। प्रजननलाई चयन गर्नेले आफैलाई संसारमा ढाल्छ अनि जीवन आरम्भ गर्छ। यसमा उसले आफ्ना सन्तानहरूलाई आफ्नो संस्कार, संस्कृति, प्रवृत्ति आदि विषय हस्तान्तरण गर्छ र यहाँ लिङ्गीय भेद आरम्भ हुन्छ। निवृत्तिलाई चयन गर्नेले भौतिक भेद, भिन्नता, विपरीतलाई ध्यान दिँदैन। कर्म अनि प्रतिक्रियाहरूमा सचेत रहन्छ। यहाँ कुनै लिङ्ग भेद हुँदैन। लोकको प्रवृत्ति निवृत्ति नभएर प्रजनन हो भने यसको धर्म संस्कार अनि ज्ञानको हस्तान्तरण हो। लोकले नारी पुरुषबिच भेद गरेर ज्ञान, नियम, प्रवृत्ति आदि हस्तान्तरण गर्दछ तर लोकलाई निवृत्तितिर लैजाने उत्तरदायित्व पनि लोककै सचेत उपकरणहरूको हो। तर चेतनाको प्रवृत्ति निवृत्ति हो। यो सदैव भेददेखि निकास चाहन्छ।
भिन्नताका दृष्टिले विचार गर्दा जैविक र मनोवैज्ञानिक रूपमा नारी अनि पुरुषका आआफ्नै दुर्बल अनि सबल पक्षहरू छन्। यी दुर्बल र सबल पक्षहरू पनि दुवैमा समान छन् किनभने यी दुवै एउटै पार्टिकलद्वारा निर्मित निकाय हुन् तर लोकचक्षुले यसलाई भेदात्मक रूपमा देख्दछ।
नारी पुरुषको जैविक र मनोवैज्ञानिक भिन्नतालाई विपरीतका रूपमा हेर्नु लोकको सबैभन्दा गम्भीर भुल हो। लोकले यसरी हेर्ने निर्णय लिएका कारण नै आज समाजमा नारी अनि पुरुषबिच विशाल पर्खाल निर्माण भएको देखिन्छ। यदि लोकले प्रकृतिलाई एउटै व्यवस्थाका रूपमा, जीवलाई केवल चेतनाका रूपमा हेर्ने निर्णय लिएको भए आज नारी अनि पुरुषबिच कुनै भेद हुँदैन थियो अथवा यहाँ नयाँ ब्रह्माण्डको निर्माण भएको हुने थियो।
तसर्थ लोकले आफ्नो दृष्टिकोणलाई परिवर्तन गरेर नयाँ दृष्टिकोणद्वारा प्रकृतिलाई वा यसको संरचनालाई हेर्ने निर्णय लिन सके नारी पुरुषबिचको भेदरहित नयाँ ब्रह्माण्डको सिर्जना हुन सक्ने प्रशस्तै सम्भावनाहरू छन्।
नारी अनि पुरुषबिचको भिन्नता प्रागैतिहासिक कालदेखि नै थियो र थिएन जस्ता दुईधारे तर्क आज पनि समाजमा चलिरहेको छ। “भिन्नता”-को वास्तविक अर्थ नबुझी गरिएका यस्ता विमर्शमा निष्कर्ष अनि समाधानको कुनै छनक देखिँदैन। सांस्कृतिक अध्ययनको आरम्भ हुन अघि र विस्तार भएपछि नारी विषयमा अनेकौँ अध्ययनहरू भएका छन् साथै भइरहेका छन्। नारीको अध्ययन गर्दा नारीको गुण, धर्म, स्वभाव वा प्रकृति, अधिकार, मान्यता, सम्मान जस्ता उपकरणहरू लिएर अध्ययन गरिन्छ। कतिपय सिद्धान्तले नारी सुलभ वा नारीत्वको अध्ययन पनि गर्छन्। यी सबै नारीका बारेमा गरिएका विषयपरक अध्ययनहरू हुन्। नब्बेका दशकदेखि परिवेश विमर्श अथवा इकोक्रिट्रिसिज्मको अध्ययन विकास भएपछि नारीलाई प्रकृतिसँग तुलनात्मक रूपले अध्ययन गरिने पद्धतिको पनि विकास भयो। यसभन्दा अघि पनि नारीलाई प्रकृतिको प्रतीकका रूपमा अध्ययन गरिन्थ्यो। यी अध्ययनहरूको संरचना विचार गर्दा नारीलाई केन्द्र गरेर अध्ययन गर्नेहरू आफैलाई त्यस केन्द्रदेखि अलग राखेर एउटा पक्षमा उभिएको देखिन्छ अर्थात् यस्ता अध्ययनहरूको आधार नै भिन्नता रहेको बुझिन्छ। कुनै वस्तु वा विषयको अध्ययन गर्दा ती विषय अनि वस्तुलाई पृथक ठानेर अध्ययन गरिए अध्ययन पूर्वाग्रहग्रस्त भएर जान्छ। यसर्थ विषय अनि वस्तुलाई “अध्येता”-ले आफूमा आरोप गरेर अध्ययन गर्छ भने अध्ययन सार्थक हुने सम्भावना देखिन्छ। नारीको अध्ययन गर्दा नारीलाई तुलनात्मक, ऐतिहासिक, राजनीतिक, सामाजिक, सांस्कृतिक वा जीव वैज्ञानिक रूपले अध्ययन गर्नु भनेको नारीलाई एउटा बिन्दुमा राखेर अध्येता स्वयम् अर्का बिन्दुमा रहेर अध्ययन गर्नु भन्ने हो। यसर्थ अध्येताले आफूभित्रको पुरुष वा नारी पुरुषार्थ त्याग गरी आफैलाई सुपरपोजिसन स्टेटमा राखेर अध्ययन गर्न सक्छ भने लोकमा नारी पुरुषको भेद र विपरीतको अवधारणा रहँदैन। तर जीव वैज्ञानिक भिन्नतालाई लोकले मेटाउन सक्तैन किनभने नारी पुरुषबिचको जीव वैज्ञानिक भेद प्रकृतिलाई क्रियाशील बनाउने कारक पनि हो। जीवन वैज्ञानिक भिन्नता प्रकृतिकै विधान हो अनि यसै भिन्नताका आधारमा नारी पुरुषबिच प्राकृतिक कार्यहरू विभाजन भएका छन्। नारी पुरुषबिचका नियम, नीति, संविधान वा आधिकारका भेद भने लोकले निर्माण गरेको कुटनैतिक विवादहरू हुन्। यसलाई वैचारिक संवादमा साम्य बनाउन सकिन्छ।
समकालीन अध्ययनमा नारीबारे भइरहेका अध्ययनहरूको मूल आधार राजनीतिक अधिकार, सामाजिक अधिकार र सांस्कृतिक अधिकारहरू हुन्। यी सबैको मूल आधार चाहिँ रूढिगत मान्यता हो। यो मान्यता लोकको सामूहिक चेतनाले नै स्वीकार गरेको हुँदछ। लोकको गुरुत्वाकर्षण ऊर्जा नै यस्ता रूढ मान्यताहरू हुन्। यसलाई तोड्न सम्भव हुँदैन तर यसको दिशा भने अन्यतिर फर्काउन सकिन्छ। यसका लागि अध्ययन, विमर्श, चिन्तन र त्यसको अनुप्रयोगले एउटा यस्तो ऊर्जा वा विचारधारा निर्माण गरिनुपर्छ, जसले जीव वैज्ञानिक भिन्नतालाई स्वीकार गरी नारी पुरुष विपरीत होइनन् भन्ने सिद्ध गर्न सकोस्। समकालीन समाजको सामूहिक चेतनामा उक्त ऊर्जाको विकास गर्नाका लागि ‘साहित्यिक आध्यात्मिकता’-को विकास र विस्तार गर्न आवश्यक छ। यद्यपि नारी अनि पुरुषको द्वन्द्वात्मक स्थितिमा नै समाजको विकास पनि छ तर यो द्वन्द्व अधिकारको द्वन्द्व भन्ने होइन, मूलतः कार्यान्वितिको द्वन्द्व हो। समाज अथवा लोक नियम, विधान अनि मान्यताहरूद्वारा संरचित छ। यी विधानहरू लोक निर्माणका आवश्यक उपकरणहरू हुन्। यसर्थ सबै मान्यता त्याज्य छैनन् भने सबै स्वीकार्य पनि छैनन्। लोकले आफैलाई नै निफन्ने अनि अनावाश्यक रूढगत कनिकाहरू छुट्ट्याउने समय आइसकेको बोध लोकले नै गर्न सकिरहेको छैन। लोकलाई यसको बोध गराउने जिम्मेवारी अध्येता, चिन्तकहरूको हो तर उनीहरू नै नारी र पुरुषको जैविक भेदमा अल्झिएका छन् भने समस्या कसले समाधान गर्ला? भन्ने जटिल समस्या पनि अघि प्रकट हुँदछ।
अध्येताहरूले आफैमा साहित्यिक, सामाजिक, राजनीतिक आध्यात्मिकताको विकास गरेर नारी पुरुषबिचको जैविक भिन्नताको वास्तविकता लोकलाई बुझाएर नयाँ निर्णय लिने दिशातिर प्रेरित गर्न सके लिङ्ग विभेदको समाधानबारे नयाँ सङ्कथन आरम्भ हुने सम्भावना रहेको देखिन्छ।
‘नारी’ संरचनाको क्वान्टम अध्ययन भएकै छैन। संसारमा नारी (प्रकृति) मात्रै छ पुरुष त सर्वज्ञ वा सुपरपोजिसनमा रहने त्यो चेतना हो, जो भौतिक रूपमा प्रकट नभएर कारणका रूपमा विद्यमान रहेको हुन्छ भन्ने प्रज्ञान लोकले बोध गरेकै छैन। शारीरिक लिङ्गको भिन्नतालाई अध्ययनको केन्द्र बनाएर नारी पुरुषको अध्ययन गर्दा वा नारीको अध्ययन गर्दा निस्केका निष्कर्षहरू नै सामाजिक संरचनाका अर्का जटिल समस्या बन्दै जान्छन्। यसर्थ लोकले जबसम्म आफैलाई सामाजिक आध्यात्मिकताको दिशतिर लगेर जगत्लाई हेर्दैन, तबसम्म यहाँबाट ‘विपरीत’-को धारणा हटेर जाँदैन अनि भिन्नतालाई नै विपरीतको दृष्टिले व्याख्या गर्ने रूढिगत मान्यताहरू बसिरहन्छ। प्रयोगका दृष्टिले ‘स्त्री’ शब्द पुरानो हो। ऋग्वेदमा “स्त्री-सूत्रि-जन्मदात्री” (ऋग्वेद, सिंहता ४.६.७) भनेर परिवारको सूत्रधार भएकाले स्त्री भनिन्छ र जन्म दिने भएकाले जन्मदात्री भनिन्छ भनिएको छ। ऋग्वेद संहितामा लोपामुद्रा, ऋद्धा, सरमा, रोमशा, विश्ववारा, अपाला, यमी, घोषा आदिद्वारा रचित ऋचाहरू पाइन्छन्। (ऋग्वेद, संहिता १-१२६-७) वैदिककालमा स्त्री पुरुषबिच कुनै भेदभाव थिएन भन्ने प्रमाण वेदले नै दिएको छ। उत्तर वैदिककालमा नारीको स्थिति नकारात्मक बन्दै गएको हो।
आरम्भ भएका सबै विषयको अन्त्य अवश्य हुन्छ। स्थायी केही छैन यसर्थ, उत्तर वैदिककालदेखि आरम्भ गरिएको नारी पुरुषबिचको भेदभाव यस युगमा समाप्त गर्न सकिन्छ। यसका लागि समाजले आफ्ना रूढिगत मान्यता र संस्कारमा आवश्यक परिवर्तन ल्याउनुपर्छ अनि चिन्तक अध्येता र अभियन्ताहरूले यस दिशातिर लोकलाई आग्रही बन्ने प्रेरणा दिइरहनुपर्छ। लोकले पनि भिन्नता र विपरीतको अवधारणालाई गम्भीरतापूर्वक बुझेर नारी पुरुषको नयाँ सङ्कथनतिर ध्यान दिन आवश्यक छ।
सन्दर्भ
डा पुष्प (२०१८). ‘मनुस्मृतिकालीन नारी स्थिति’, JETIR, Vol. 5 issue 11, www.jetir.com
दीनदयाल (२०१०). विराट विज्ञान दर्पण. मुम्बई : श्री प्राणनाथ ज्ञानकेन्द्र ।
श्रीराम शर्मा आचार्य, (सम्पा). (२००२) .सांख्य दर्शन. बरेली : चमनलाल गौतम संस्कृति संस्थान ।
श्रीराम शर्मा आचार्य, (सम्पा), (२००२). वेदान्त दर्शन. उत्तरप्रदेश ।
रामधारी सिंह दिनकर, (२०२३).संस्कृति के चार अध्याय. (उनन्तिसौँ संस्करण). प्रयागराज : लोकभारती प्रकाशन
Michael Rea (2014). Metaphysics the basics, Routledge
Alastair I. M. Rae (2004). Quantum Physics, illusion or Reality?. Cambridge University
Press.
Margaret Walters (2006). Feminism : A Very Short Introduction. London : Oxford.
[1] https://pmc.ncbi.nlm.nih.gov (National Library of Medicine)