Asmita Magazine

#

नेपाली समाजमा महिला : विभेदका स्वरूप

प्रकृतिले मानिसलाई फरक फरक शारीरिक संरचना त दिएको छ तर पारिवारिक तथा सामाजिक गतिविधिमा कसको स्थान कहाँ रहने भन्ने श्रेणी विभाजन भने प्रकृतिबाट भएको होइन । सामाजिक दुरावस्था र पितृसत्तात्मक सोचका कारण एउटै प्रक्रियाबाट जन्मिएका लैङ्गिक दृष्टिले फरक सन्तानमध्ये महिलालाई न्यूनतम मानवीय व्यवहारसम्म नगरिएको अवस्था नेपाली समाजमा देखिन्छ । परम्परादेखि वर्चस्व स्थापित गर्दै आएको पितृसत्तात्मक सोचले छोराको जन्मलाई सुखद र छोरीको जन्मलाई दुःखको परिणामका रूपमा लिँदै आएको छ । फलस्वरूप पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक गतिविधिहरूमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा परिभाषित गर्ने भाष्य स्थापित गरिएको छ । पुरुषहरूलाई हेर्ने सामाजिक दृष्टिकोण नै सकारात्मक तथा फराकिलो रहेको छ भने महिलालाई हेर्ने दृष्टिकोण नै दोषी र सङ्कुचित रहेको पाइन्छ । छोरी भएकै कारण क्षमतावान् नारी पनि ओझेलमा परेका छन्  । समान हैसियत भएको अवस्थामा पनि कुनै संघसंस्थामा नियुक्तिका लागि पुरुष र नारीमध्ये एउटा रोज्नुपरे पुरुषलाई नै रोज्ने चलन छ । पुरुषलाई साहसी, हिम्मती तथा सबै कुरामा निपुण देख्ने विभेदकारी समाजले नारीलाई व्यवहारतः निरीह, आश्रित र कमजोर नै ज्यादा देख्दै आएको अवस्था छ । यसले गर्दा नारी र पुरुषबिच विभेदको पहाड नै खडा भएको छ । नारीले आफ्नो उत्पीडनका निम्ति प्रकृति होइन, समाज स्वयम् उत्तरदायी छ भन्ने कुराको बोध नगरुन्जेलसम्म नारीमाथि हुने विभेदको अन्त्य हुँदैन (चापागाई, २०८०, पृ. ४७) । अहिलेको सभ्य र सचेत भनिने समाजमा समेत महिलामाथि अनेक किसिमका विभेदहरू कायमै छन् । विभेदका केही स्वरूप यस्ता छन् :

पैतृक सम्पत्तिमाथि विभेद

नेपालको कानुनले छोराछोरीलाई पैतृक सम्पत्तिमाथिको अधिकारमा विभेद गरेको छैन तथापि बाबुआमाले छोरालाई वंश धान्ने, आफूहरूलाई लालनपालन गर्ने पैतृक सम्पत्तिको उत्तराधिकारीका रूपमा लिन्छन् भने छोरीलाई पराईको घर जाने, उतैको थर र गोत्रमा सम्मिलित हुने पराश्रित सन्तानका रूपमा लिन्छन् । यसले गर्दा छोराहरू जन्मजात रूपमै शक्तिसम्पन्न बन्न पुगेका छन् । छोरीलाई पैतृक सम्पत्तिबाट वञ्चित गरी जन्मघरदेखि नै निरीह तथा कमजोर बनाउने कार्य प्रारम्भ हुन्छ । यसर्थ लैङ्गिक विभेद जानीनजानी परिवारबाटै सुरु भएको देखिन्छ । पैतृक सम्पत्ति मात्र होइन बाबुआमाले कमाएर जोडेको सम्पत्तिमा पनि छोराकै हालिमुहाली देखिन्छ । छोरा ठुलो  भएपछि  हामीलाई कमाएर पाल्छ भन्ने कुरा तोतेबोली बोल्दैदेखि सुनाएर उसको आत्मबल बढाउने काम हुन्छ । फलस्वरूप उसमा सानैदेखि आफ्नै पौरखमा बाँच्नुपर्छ भन्ने धारणाको विकास हुन्छ ।  छोरीलाई भने कानुनले सम्बोधन गरे पनि व्यवहारमा वंशको उत्तराधिकारी पनि मान्दैनन् । छोरीले पैतृक सम्पत्ति पाउन पनि आजीवन अविवाहित बस्नुपर्छ । छोरी बाहिर एक्लै हिँड्न नहुने, पुरुषहरूसँग बोल्न नहुने, पराइको घर जाने जात भएकाले घरभित्रका काम सिक्नुपर्ने कुरा गरेर उसलाई मानसिक रूपमै कमजोर बनाइन्छ । छोरालाई पाल्ने र छोरीलाई पालिने जातका रूपमा परिभाषित गरिन्छ । छोरा कमजोरै भए पनि उसलाई आफ्नै खुट्टामा उभिन पे्ररित गरिन्छ भने छोरी पढेर आफ्नै खुट्टामा उभिन सक्ने भए पनि उसलाई राम्रोसँग पाल्न सक्ने केटो भेटियो भने बिहे गरेर पठाउन पछि पर्दैनन् । सानैदेखि यो गर्न हुँदैन र त्यो गर्न हुँदैन भनेर छोरीको मष्तिष्कलाई पूर्ण रूपले फक्रिन र विकसित हुन नदिएर हीनबोधबाट ग्रसित बनाइन्छ । छोरीलाई कार्य क्षमताका आधारमा अवसर नदिई लिङ्गका आधारमा विभेद मात्र गरिन्छ ।

विवाहपछि गरिने विभेद

वास्तवमा विवाह सृष्टि सञ्चालनसहित जीवनभर सँगसँगै सहयात्रा गर्ने, एकअर्काको सुखदुःखमा साथ दिने भनी नारीपुरुषबिच गरिएको एउटा सम्झौता हो । सहयात्राको यस्तो सम्झौतामा लैङ्गिक विभेद नहुनुपर्ने हो तर विवाहको मामिलामा पनि नारीपुरुषबिच ठुलो विभेद रहेको छ । सर्वप्रथम त छोराले विवाह गरेपछि बुहारीसमेत आफ्नो थर र गोत्रमा आउने शास्त्रोचित विधिविधान बनाइएको छ भने छोरीले विवाह गरेपछि ऊ नै ज्वाइँको थर र गोत्रमा जाने भाष्य स्थापित गरिएको छ । जन्म जात रूपमा प्राप्त भएको छोरीको थर, गोत्र परिवर्तन (ब्राहम्‌ण, क्षेत्रीमा)हुने कुरा नै विभेदकारी रहेको छ । छोराबुहारीको विवाह भएपछि बुहारी आफ्नै थर, गोत्रमा आउने र छोरीज्वाइँको विवाहपछि छोरी ज्वाइँको थर, गोत्रमा जाने विधान नै पितृसत्ताको एकपक्षीय निर्णयबाट बनाइएको छ । यस्तो अवस्थाबाट पुरुष र नारीको मूल्यमा पनि आकाश जमिनको अन्तर देखिन्छ । स्पष्ट रूपले भन्नुपर्दा नारीलाई मूल्यहीन वस्तु जस्तै बनाइएको छ । यसै गरी विवाहमा छोरीलाई गाईको बाच्छी जस्तै कन्यादान गर्ने, जुठो खुवाउने, पतिका खुट्टाको पानी खुवाउने जस्ता अमानवीय कार्य गरेर नारीमाथि दासत्व थोपर्ने काम गरिन्छ । समान योग्यता भएका युवायुवतीले विवाह गर्दा समेत बेहुलाको कम्मरमा खुकुरी राखिदएर त बेहुलीको शिरमा घुम्टोले छोपेर विवाह गर्ने गरिन्छ । समाजमा नारीले पतिको लामो आयुका निम्ति चुरा, पोते लगाउनुपर्ने, उसका नाममा विभिन्न किसिमका व्रत गर्नुपर्ने तर पुरुषले पत्नीका निम्ति यस्ता कुनै पनि कार्य गर्नुनपर्ने रीतिथिती रहेको छ । यसै गरी केटोलाई ससुरालीमा ठुलो मेजमानीसहित सम्मान गरिन्छ भने केटीलाई कर्मघरमा खासै मूल्य दिइँदैन । पतिले पत्नीलाई आफ्नो घरमा बस्न दिएपछि उसको दायित्व पूरा हुने अवस्था अद्यावधि कायम रहेको छ ।

घरव्यवहारमा गरिने विभेद

घरव्यवहार सञ्चालनका क्रममा पनि हरेक घरहरूमा छोराछोरी तथा नारीपुरुषमाथि विभेद गर्ने चलन छ । छोराछोरीसँगै अध्ययनमा या यत्तिकै बसेका बेलामा घरका अभिभावकले चिया तथा खाना पकाउन, कपडा धुन, झाडुपोचा लगाउन छोेरालाई होइन, छोरीलाई लगाउँछन् भने सभासमारोह, जनभेला तथा कुनै बैठकमा जानुपर्दा छोरालाई पठाउँछन् । दाजुबहिनी नै सँगै बसेका  किन नहोऊन् बाबुआमाले बाहिरबाट आएपछि छोरीसँग पानी, चिया तथा खाजा माग्छन् छोरासँग होइन । न्यायसङ्गत व्यवहार गर्ने हो भने यस्तो अवस्थामा छोरा ठुलो भएकाले उसलाई यस्ता कार्य गराउनुपर्ने हो तर उमेरले सानै भए पनि घरभित्रका  कामको जिम्मा छोरीले नै लिनुपर्ने अवस्था छ । यसै गरी छोरीलाई कतै टाढा जानुपर्ने अवस्था छ भने उसलाई एक्लै पठाउँदैनन् बरु सानो भाइलाई भए पनि उसको साथमा पठाउँछन् । यदि पतिपत्नी नै जागिरे छन् भने पनि पत्नीले घर र जागिर दुवै सम्हाल्नुपरेको हुन्छ तर विवेकहीन पुरुषको भने अफिसको काम सकिएपछि उसका सबै काम सकिन्छन् । महिलाले जागिर खाए पनि छोराछोरी हुर्काउने, खाना पकाउने, घर सफा गर्ने, कपडा धुने, भाँडा माझ्ने जस्ता काम उसका निजी कार्य जस्तै हुन्छन् । यस्ता काममा सघाउने भनेको थोरै प्रतिशत विवेकी पुरुषले मात्रै हो धेरैले त घरका काममा पत्नीलाई सघाए आफ्नो व्यक्तित्व नै घटेको महसुस गर्छन् । यसरी आयआर्जन गर्न सक्ने हैसियत भएका महिलालाई समेत दोहोरो काममा थिचिनु परेको  हुन्छ । महिलाहरूप्रति गरिने विभेद पनि जाति, धर्म र समाजैपिच्छे फरक खालको देखिन्छ । नेपालका विभिन्न जातिहरू मध्ये जनजाति (मङ्गोलियन) भित्र अन्य जातिका तुलनामा महिलाहरूप्रति कम विभेद गरेको देखिन्छ (खनाल, २०८०, पृ.३१) । कानुनी अधिकार प्राप्त गर्ने कुरामा भने सबै जाति, धर्म र समुदायका महिलाहरू उत्तिकै ठगिएका छन् ।

पुनर्विवाहका सन्दर्भमा गरिने विभेद

नेपाली समाजमा पुनर्विवाह गर्नुपरे पुरुषलाई जति सजिलो छ, महिलालार्ई त्यत्तिकै गाह्रो छ । अहिलेको अवस्थामा समेत महिलाको सहजतापूर्वक पुनर्विवाह हुँदैन । समाजमा पति गुमाएकी महिलालाई “एउटाकी पत्नी भइसकेकी” भनेर अपवित्राको छाप लगाइन्छ र उसलाई अपशकुनका रूपमा लिएर कुनै योग्य मानिएको पुरुष विवाह गर्न पनि तयार हुँदैन । पहिलो कुरा सबै एकल महिला विवाह गर्न तयार हुँदैनन् दोस्रो उनीहरूका सानासाना छोराछोरी हुन्छन् । तिनलाई पाल्ने हुर्काउने जिम्मेवारी त्यही एकल आमामाथि हुन्छ । उसले आफ्ना चाहना सबै मारेर, सुखलाई तिलाञ्जली दिएर छोराछोरीको भविष्यका निम्ति मरिमेट्छे । यदि यस्ती महिलाले पुनर्विवाह गरी भने उसले पहिलो पतिको घर, सम्पत्ति, छोराछोरी सबै छोडेर हिँड्नुपर्छ । यही अवस्थामा पुरुषलाई भने कुनै असर पर्दैन । सम्पत्ति छ भने आधा दर्जन छोराछोरीमाथि पनि उसको सहजतापूर्वक पुनर्विवाह हुन सक्छ । उसले छोरी, नातिनीका उमेरका युवतीलाई पत्नी बनाउन सक्छ । पुरुषले पाएसम्म विवाह नभएकी कन्या केटीसँग दोस्रो तेस्रो विवाह गर्न खोज्छ । सम्पत्तिलाई ठुलो ठान्ने अभिभावक छन् भने ठुलो उमेरको अन्तराल भएको विधुर पुरुषलाई पनि आफ्नी कन्या छोरी दिन सक्छन् । पुरुषले भने आफ्नै सम्पत्तिमा छोराछोरीसँगै बसेर आवश्यकतानुसार दोस्री, तेस्री पत्नी विवाह गर्न सक्छ । उसलाई कसैले पनि विवाह भइसकेको पुरुष भनेर पछाडि पार्दैनन् । उसको औकात हेरेर तँछाडमछाड गर्दै कन्या छोरी दिन्छन् ।

पतिपत्नीसँग बेमेल भएर छुट्टिएका जोडीमध्ये महिलालाई मात्र डिभोर्सी भनेर अपमान गर्छन् भने पुरुष सधैँ पवित्र भइरहन्छन् । पतिले अन्याय गरेर पत्नीलाई छोडेको भए पनि महिलालाई नै दोषी करार गर्ने चलन छ । सम्बन्ध विच्छेद भएका यस्ता महिलाहरूसँग पनि प्रायः भलाद्मी पुरुषले विवाह गर्दैनन् खराबसँग विवाह गर्ने हो भने उसले जीवनमा कहिल्यै पनि सुख पाउँदिन । यस्तो दुरावस्था सबैभन्दा बढी ब्राह्मण समाजमा हुन्छ । छोराको पुनर्विवाह सहजतापूर्वक गरिदिने बाबुआमाले छोरीको पुनर्विवाहबारे प्रायः सोच्न पनि सक्दैनन् । महिलालाई हेर्ने दृष्टि नै दोषी भएपछि जस्तो अवस्थामा पनि दोषी हुने र दुःख पाउने महिला नै भएका हुन्छन् ।

सुन्दरताका नाममा गरिने विभेद

बाह्य आवरण रूप, लावण्यलाई मात्र आधार बनाएर पनि समाजमा पुरुषको दाँजोमा महिलामाथि धेरै विभेद हुँदै आएका छन् । पुरुषको योग्यता, क्षमता, सम्पत्ति र सामर्थ्य छ भने रूपलाई आधार बनाएर उसलाई कसैले पछि पार्न सक्दैन । कालो–गोरो, होँचो–अग्लो, पातलो–मोटो जेजस्तो भए पनि उसको शारीरिक संरचनालाई धेरै ध्यान दिइदैन तर यही कुरा महिलाको हकमा भने लागु हुँदैन । जतिसुकै सक्षम र योग्य भए पनि नारीको सौन्दर्य छैन भने उसलाई पहिलो प्राथमिकतामा राखिँदैन । नारीको आन्तरिक सौन्दर्य, क्षमता, योग्यता सद्गुण, सदाचार, सहनशीलता र कार्यकुशलतालाई लत्याएर उसको बाह्य सौन्दर्यको पछि दोडने समाजले सौन्दर्यका माध्यमबाट पनि नारीमाथि अत्याचार गर्दै आएको छ । पितृसत्ताले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिको रूपमा चित्रण गर्छ । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सिर्जना गरेको विभ्रम हो (साह, २०८०, पृ. २३) । यसको फलस्वरूप साहित्यमा समेत नारीको आन्तरिक सौन्दर्यको भन्दा बाह्य सौन्दर्यको बढी चर्चापरिचर्चा भएको पाइन्छ ।

अपाङ्गताका आधारमा गरिने विभेद 

अपाङ्गताका अवस्थामा पनि पुरुषको दाँजोमा महिलाहरू नै बढी पीडित हुँदै आएका छन् । आँखा नदेख्नु, शारीरिक रूपमा अशक्त हुनु, हातखुट्टा गुमाउनु, जन्मदै विकलाङ्ग भएर आउनु अपाङ्गताका अवस्थाहरू हुन् । यस्ता अवस्थाले पनि समाजमा जेजति महिला पीडित भएका छन्, त्यति नै पीडित पुरुषलाई हुनुपरेको देखिँदैन । एउटी महिला दलित, गरिब र अपाङ्ग छन् भने उनले भोगेको उत्पीडन ब्राह्मण, धनी र सबलाङ्ग महिलाको भन्दा भिन्न हुन्छ तर महिला हुनुको विभेद भने दुवैले भोग्नुपर्छ (शर्मा, २०८०, पृ. ६) । विकलाङ्ग नै किन नहोस्, छोराको मस्तिष्कमा सानैदेखि केही गर्नुपर्छ भन्ने बालमनोविज्ञानले स्थान लिँदै ऊ हुर्केको हुन्छ । शारीरिक रूपमा सबलाङ्ग नभए पनि म छोरा हुँ त्यसैले मैले जीवन निर्वाहको कुनै बाटो रोज्नुपर्छ भन्ने विचार उसमा उत्पन्न हुन्छ । अपाङ्ग नै भए पनि उसले भरसक साङ्ग केटीसँगै विवाह गर्न पाउँछ, नभए सामान्य विकलाङ्ग नै भए पनि जीवन सहयात्रीसमेत प्राप्त गरेको हुन्छ । पर्याप्त सम्पत्ति र शिक्षा छ भने विकलाङ्ग पुरुषले पनि सबलाङ्ग पत्नी पाएको हुन्छ । पुरुषले केही आयआर्जन गर्न सक्ने अवस्थाको छ भने उसको जीवन सहज ढङ्गले अगाडि बढेको देखिन्छ । तर विकलाङ्ग नारीहरूको हकमा भने त्यसो हुँदैन । प्रायजसो शारीरिक रूपमा अपाङ्ग वा दृष्टिविहीन छोरीहरूलाई शिक्षादीक्षा तथा सिपमूलक तालिम दिनेतर्फ उनीहरूका अभिभावकको पनि ध्यान पुगेको हुँदैन । शिक्षा तथा सिप हासिल गर्न पाएका कतिपय यस्ता नारीहरूले जीवनलाई सहज ढङ्गले अगाडि बढाउने र वैवाहिक जीवनमा बाँधिने अवसर पनि पाएका हुन्छन् । शारीरिक रूपमा ठगिएका अधिकांश नारीहरूले भने मृत्युलाई पर्खदैँ नारकीय जीवन बाँचेका हुन्छन् । उनीहरू आफ्नै घरपरिवारका लागि समेत बोझ बनेका हुन्छन् । उही अवस्थाको पुरुषको जीवन सहज ढङ्गले अगाडि बढेको देखिन्छ भने त्यही अवस्थाकी नारीको जीवन भने विकराल बनेको हुन्छ । यसैमाथि महिनैपिच्छे बेहोनुपर्ने मासिक धर्मले विकलाङ्ग महिलाहरू थप पीडित बनेका देखिन्छन् । शारीरिक रूपमा सामान्य समस्या भएका छोरीहरूको समेत विवाह गर्न कठिन भएको हुन्छ ।

सन्तान जन्माउने सन्दर्भमा गरिने विभेद

नेपाली समाज परम्परादेखि पितृसत्तात्मक व्यवस्थामा चल्दै आएकाले परिवार तथा समाज सञ्चालनका नीतिनियम र विधिविधानहरू पुरुषलाई नै केन्द्रमा राखेर बनाइएको हुन्छ । एउटी छोरी जन्माइसकेका दम्पत्तिले छोराको पर्खाइका क्रममा धेरै छोरीको भु्रणहत्या गरी जन्मन पाउने अधिकारबाटै वञ्चित गर्दछन् । तर आवश्यक छोरा जन्मिएपछि छोरी जन्माउन भनेर कुनै पनि दम्पत्तिले छोराको भु्रणहत्या भने गर्दैनन् । भु्रणावस्थामा आफ्नै आमाबाबुबाट असुरक्षित रहेका छोरी न घरपरिवारमा, न समाजमा, न त राज्यमा, न साथीभाइ, नातेदारमा, न त सार्वजनिक स्थानमा, न काम गर्ने कार्यस्थलमा, कतै पनि सुरक्षित छैनन् (अधिकारी, २०८०, पृ.५९) । प्रायजसो दम्पत्तिलाई सहज र स्वाभाविक ढङ्गले सन्तान प्राप्त भएका हुन्छन् भने कतिपय दम्पत्तिलाई सहज रूपमा सन्तान प्राप्त हुँदैनन् । सन्तान (पुत्र) नभए स्वर्ग जाने बाटै नखुल्ने भाष्य स्थापित गरी जसरी पनि सन्तान जन्माउनुपर्ने उद्देश्य हरेक दम्पत्तिको रहन्छ । पुरुषका कारणबाट सन्तान नहुने अवस्था भए आफू शारीरिक रूपमा तन्दुरुस्त भए पनि महिलाले चुपचाप सहेर बस्नुपर्छ । उसले अर्को पुरुषसँग विवाह गरेर सन्तान जन्माउने कुरा कल्पनासम्म गर्न सक्दिन । प्रायजसो महिलाले एउटाभन्दा अर्को पतिको कल्पनासम्म गर्न सक्दैनन् तर पुरुषको अवस्था ठिक भएर महिलाका कारणबाट सन्तान नभएको अवस्थामा भने पुरुषले अर्की महिलासँग विवाह गरेर भए पनि सन्तान जन्माएरै छोड्छ । उसले सन्तानका लागि पत्नीमाथि सौता हाल्छ । कहिलेकाहीँ समाजमा दुर्भाग्यपूर्ण घटनाहरू घट्न पुग्छन् । पुरुष साठी वर्षको उमेर वा त्योभन्दा बढी उमेरमा पुग्दा पनि यदि उसका कुनै पनि सन्तान नबाँचेमा वा छोरी भए पनि छोराको मृत्यु भएमा उसले अर्की श्रीमती ल्याएर पनि सन्तान वा छोरा जन्माउँछ । सन्तान गुमाएर विक्षिप्त हुन पुगेकी र उमेरले साठीको नजिक पुगेकी श्रीमतीमाथि सौता ल्याइदिएर थप अन्याय गर्ने अधिकार पनि यही समाजले पुरुषलाई दिएको पाइन्छ ।

राजनीति तथा निर्वाचन क्षेत्रमा गरिने विभेद 

अहिले पनि राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति अत्यन्तै न्यून रहेको छ । प्रायः सबै परिवारमा महिलाहरूले घरव्यवहार सम्हाल्ने र छोराछोरीको लालनपालन तथा हेरदेख गरेर पुरुषहरूलाई घर बाहिरका काम (जागिर, व्यापार, राजनीति, वैदेशिक रोजगार आदि) गर्ने अवसर प्रदान गरेका हुन्छन् । महिला शिक्षित होऊन् वा अशिक्षित घरभित्रका काम उनीहरूकै ठेक्का जस्ता हुन्छन् । नेपालमा जति पनि राजनीतिज्ञ छन्, तिनीहरूको सफलताका पछाडि अधिकांशतः तिनका कुशल श्रीमतीको नै हात रहेको हुन्छ तर बिरलै पुरुष होलान् जसले घर सम्हालेर श्रीमतीलाई राजनीति गर्न पठाएका होऊन् । थोरै महिलाले अवसर पाएका भए पनि उनीहरूले उपयुक्त स्थान कहिल्यै पनि पाउँदैनन् । महिलाको क्षमता र कार्यकुशलतालाई होइन, उसको लैङ्गिकता हेरेर अवमूल्यन गर्ने काम भइरहेको हुन्छ । महिलाले निर्वाचनमा उम्मेदवारी दिने अवसर पाइहाले भने पनि “आइमाईले के नै गर्न सक्छन् र” भनेर उनीहरूलाई मत नै नराखेका अवस्थाहरू छन् । त्यही स्थानमा पुरुष उम्मेदवार छ भने उसले तुलनात्मक रूपमा बढी भोट पाउँछ । महिला घर बाहिर हिँड्ने, राजनीति गर्ने, खुलेर बोल्ने गरे भने समाजले उनीहरूको चरित्रमाथि औँलो ठड्याउने काम गर्छ । पोँथी बासेको राम्रो हुँदैन भनेर वाचाल महिलाप्रति असहिष्णु बन्दछन् तर पुरुष जहाँ जसरी बसे पनि जस्तोसुकै ठाउँमा रात बिताए पनि उसको कतै कुनै टीकाटिप्पणी हुँदैन । भारी बोक्ने र कुनै तौल उठाउने काममा महिलाभन्दा पुरुष पक्कै पनि अगाडि होलान् तर पढ्ने, जागिर खाने, राजनीति तथा व्यापार गर्ने जस्ता कामहरूमा महिला कुनै पुरुषभन्दा कम छैनन् । समाजले स्थापित गरेको महिलाद्वेषी दृष्टिकोणका कारण सक्षम महिला पनि ओझेलमा परेका छन् । महिलाहरू सक्षम हुँदा पुरुषहरूलाई केही पनि घाटा हुँदैन बरु परिवार, सिङ्गो समाज र राष्ट्रको समेत समुन्नति भई समग्रमा सबैलाई फाइदा हुन्छ (खनाल, २०८१, पृ.३७) । यथार्थमा देश बनाउने जिम्मा महिलाहरूले पाउने हो भने नेपाल भ्रष्टाचाररहित मुलुक बन्ने कुरामा दुई मत थिएन ।

कर्मथलोमा गरिने विभेद

नेपालमा अहिले पनि अधिकांश महिलाहरू गृहिणीका रूपमा सीमित भई घरको चारभित्ताभित्र मात्र सीमित रहेर जीवन बिताउन बाध्य भइरहेका छन् । आयआर्जनका काममा पुरुषहरू नै   खटिरहेका हुन्छन् । समान योग्यता भएका नारीपुरुषले जागिरको लागि दरखास्त दिएका भए पनि छनोटमा पुरुषलाई नै माथि पारिएको हुन्छ । नारीलाई निरीह देख्ने हेय दृष्टिकोण रहेसम्म महिलाको योग्यता र क्षमताले उचित स्थान नपाउने नै अवस्था देखिन्छ । लोकसेवा, त्रि.वि सेवा र शिक्षा आयोगले लिइएका स्थायी विज्ञापनमा अवसर पाएका केही महिलाहरूले नाम निकाल्न सक्षम भए पनि उनीहरूलाई कर्मथलोमा समेत विभेद गरिएको देखिन्छ । पेसागत सङ्घसङ्गठनका निर्वाचन तथा मनोनयनमा पनि महिलालाई उच्च स्थान दिँदैनन् । पितृसत्ताको आडमा आफैँलाई सर्वेसर्वा ठान्ने अधिकांश पुरुषहरूले कर्मथलोमा काम गर्ने महिलाहरूलाई समेत घरका महिलालाई जस्तै हेपाहा दृष्टिकोण राख्छन् । गलत दृष्टिकोण भएका यस्ता पुरुषहरूले प्रायः सबैतिर महिलाको सौन्दर्यको मात्र चर्चा गरेर बस्छन् न कि उनीहरूको योग्यता, क्षमता र कार्यकुशलताको । पुरुषले गर्ने आयआर्जनलाई अनिवार्य कमाइ मान्ने अवस्था छ भने महिलाको कमाइलाई ऐच्छिक रूपमा लिइन्छ । पितृसत्ताले महिलाको श्रमशक्ति, आर्थिक अधिकारलगायत अन्य सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकारलाई नियन्त्रण गरी उनीहरूको शारीरिक, यौनिक र मानसिक शोषण गरिरहेको छ (बराल, २०८०, पृ.४१) । जसले गर्दा पढेलेखेका शिक्षित महिलासमेत आफ्नै कर्मथलोमा सीमान्तकृत बन्नुपर्ने अवस्था रहेको छ ।

मृत्युसंस्कार संस्कृतिमा गरिने विभेद

नारीहरू बाँचुन्जेल विभेदको सिकार भएरै जीवनयापन गर्दछन् भने उनीहरूलाई मरेपछि पनि विभेद गर्ने परिपाटी रहेको छ । पतिको मृत्युपछि पत्नी नब्बे वर्ष पुगेकी नै किन नहोऊन्, उनले कोरो बेरेर पतिको काजकिरिया गर्नुपर्छ । पतिका नाममा बर्खी बार्ने र बाल्यकालदेखि लगाउँदै आएका रङ्गीन कपडा र शृङ्गार सबै त्याग्नुपर्छ । यसका अलावा पत्नी मरेका पतिले पत्नीका नाममा किरिया गर्न, बस्त्र बदल्न, बर्खी बार्न केही पनि गर्नुपर्दैन । पितृहरूलाई श्राद्धका माध्यमबाट स्वर्गमा भोजन पठाउने हिन्दु धार्मिक संस्कारअनुरूप वर्षमा मृत्यु भएको तिथि पारेर मातापिताका नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । सोह्र श्राद्धको तिथिमा गरिने श्राद्धमा भने आमाको तिथिमा श्राद्ध नगरेर पिताका नाममा मात्र श्राद्ध गर्ने र यही तिथिमा आमालगायत अन्य पितृहरूलाई पनि स्मरण गर्ने अवस्था रहेको छ । यसरी हामी माता र पितामा समेत विभेद गर्ने शास्त्रका पुजारी भएर त्यसैको वकालत गरिरहेका हुन्छौँ ।

विज्ञापनमा गरिने विभेद 

नेपालमा व्यापारिक तथा अन्य प्रयोजनका निम्ति गरिने विज्ञापनमा  लैङ्गिक विभेद गर्ने परिपाटी रहेको छ । साहस र हिम्मत देखाउनुपर्ने विज्ञापनमा पुरुषलाई उपयोग गरिन्छ भने सौन्दर्य पाककला तथा सरसफाइका विज्ञापनमा महिलाको उपयोग गरिएको हुन्छ । भिरपाखामा साइकल, मोटरसाइकल तथा अन्य गाडी कुदाएर खतरासँग जुध्ने र विजेता बन्ने अवस्था देखाउनु परेमा पुरुषलाई उपयोग गरिन्छ भने साबुन, सर्फ तथा झाडुको विज्ञापन, भान्सामा पकाएको विज्ञापन र सरसफाइ गरेको देखाउनुपरेमा अझै पनि महिलालाई उपयोग गरिन्छ । पुरुषहरू जन्मजात रूपमै आँटी, साहसी र हिम्मती कहलिन्छन् भने महिलाहरू पढेलेखेर माथिल्लो स्थानमा पुगे पनि उनीहरूलाई कमजोर देखिरहने मानसिकताबाट नेपाली समाज अहिले पनि गुज्रिरहेको छ (खनाल, २०८१, पृ. ३६) । समाजको नजरमा पुरुष साहस र हिम्मतका प्रतीक मानिदै आएका छन् भने नारीलाई निरीह पात्रका रूपमा हेरिने विभेदकारी दृष्टिकोण अद्यावधि कायम रहेको छ ।

पारिश्रमिक तथा ज्यालामा विभेद 

कतिपय बलयुक्त कार्यमा पुरुषलाई बढी ज्याला दिनु स्वाभाविक हुन्छ । भारी बोक्ने, ठुलो लोड उठाउने, खन्ने, जोत्ने, काठ–दाउरा काट्ने इत्यादि काम नारीले भन्दा पुरुषले धेरै गर्न सक्छन् तर नारी पुरुषले गर्ने धान काट्ने, तोरी गोड्ने, रोपाइँ गर्ने जस्ता समान काममा पनि पुरुषलाई धेरै र महिलालाई कम पारिश्रमिक दिएर महिलामाथि श्रम शोषण गर्ने चलन छ । कुनै प्राइवेट कम्पनी तथा निजी संस्थाहरूमा पहिलो कुरा पुरुष कामदार वा शिक्षक पाएसम्म महिलालाई काम नै दिँदैनन्, काम दिइहाले भने पनि एकदमै न्यून पारिश्रमिक दिएर विभेद गर्छन् ।

अन्य अवस्थामा गरिने विभेद

विवाह नगरेका, सम्बन्ध विच्छेद गरेका वा पति वा पत्नीले धोका दिएर एकल जीवन बिताएका सबै नारीपुरुष एकल हुन् । एकल अवस्था पनि पुरुषको भन्दा महिलाको अझै कहालीलाग्दो हुन्छ । पतिको मृत्यु भएर, सम्बन्ध बिच्छेद गरेर, जोडीले धोका दिएर वा अविवाहित बसेर एकल भएका नारीपुरुषमध्ये जति दोष र अबगाल नारीले सहनुपर्छ त्यसको छेउ पनि पुरुषलाई दोषी हुनुपर्दैन । जवानीमै पतिको मृत्यु भएकी महिलालाई लोग्नेटोकुवा, सम्बन्ध बिच्छेद गरेकीलाई बानीबेहोरा राम्रो नभएकी, अविवाहित बसेकी भए कसैले मन नपराएर छोडेकी,  लोग्ने बेपत्ता भएर वा लोग्नेले धोका दिएर एक्लै भएकी भए आचरण ठिक नभएकी भनेर सबैले महिलालाई नै दोषी देख्छन् । उपर्युक्त कुनै पनि अवस्थामा पुरुषलाई दोषी देख्दैन, यो समाज । जतिपटक विवाह गरे पनि समाजले उसको चरित्रमाथि औँला उठाउँदैन । छोरा भएर जन्मेकै आधारमा सबै दोषबाट मुक्त हुन पाउने र छोरी भएकै कारण सबै दोषमा भागीदार हुनुपर्ने कुरा आजको सभ्य र शिक्षित समाजका निम्ति शोभनीय कुरा होइन तर पनि समाजमा यस्ता गतिविधि अद्यावधि भइरहेका छन् । पति गुमाएकी महिलालाई त अझ अपशकुनका रूपमा लिएर शुभकार्यहरूमा संलग्न नगराउने गरेको पनि पाइन्छ तर यही कुरा पुरुषका हकमा लागु हुँदैन । पति वियोग सहँदै टुहुरा लालाबाला हुर्काउने जिम्मेवारी प्रायः धेरै महिलाले पूरा गरेका हुन्छन् ।

निचोड

समाजमा विद्यमान् महिला अमैत्री अनेकन अवस्थाले गर्दा आज पनि महिलाहरू पछाडि नै परेका छन् । पहिलेभन्दा अहिले नारीको अवस्थामा केही सुधार भए पनि अपेक्षाकृत रूपान्तरण भने हुन सकेको छैन । महिलाको अवस्था पनि समाज र समुदायपिच्छे फरक फरक देखिन्छ । अन्य जातिका तुलनामा पारिवारिक दृष्टिले जनजाति महिलाहरू कम उपेक्षित देखिन्छन् ।

नेपालको संविधानमा महिलाका अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनमा तदारूकता देखिएको छैन । वास्तविक परिवर्तन कानुनका ठेलीमा मात्र होइन, पितृसत्तात्मक मानसिकतामा हुन जरुरी छ । मस्तिष्कमा विभेदकारी सोचले जरा गाडेर बसेसम्म अपेक्षाकृत सामाजिक परिवर्तन सम्भव हुने देखिँदैन । कानुनका ठेली र संविधानका धारा मात्रै सच्चाएर, मञ्चमा घण्टौँ भाषण मात्र भट्टाएर महिलामाथि हुँदै आएका विभेद र गरिँदै आएका दुर्व्यवहारहरू हट्ने अवस्था देखिँदैन । यसका लागि युगौँदेखि नारीलाई हेर्दै आएको विभेदपूर्ण र सङ्कुचित मानसिकतालाई शुद्धीकरण गरी परम्परावादी दृष्टिकोणलाई बदल्न जरुरी छ । महिलाद्वेषी दृष्टिकोण परित्याग गरी कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अपरिहार्य देखिन्छ ।

महिलालाई हेर्ने विभेदकारी सामाजिक दृष्टिकोण, उनीहरूमाथि गरिँदै आएका दुर्व्यवहार र उनीहरूलाई दिइँदै आएको निश्चित विभेदकारी सामाजिक भूमिकामा परिवर्तन गर्न आवश्यक छ । पुरुषभित्रको सर्वेसर्वा शासक मानसिकतामा सुधार हुन जरुरी देखिन्छ । महिलाप्रतिका हेपाहा प्रवृत्ति र अठार घण्टा घरको काममा खट्ने महिलालाई ‘हामीले पालेका छौँ भन्ने दम्भ र यसैअनुकूल स्थापित भएको भाष्यलाई हटाउनुपर्ने देखिन्छ । सृष्टि सञ्चालनदेखि घरव्यवहार सञ्चालन, समाज तथा राष्ट्र सञ्चालन गर्ने कार्यमा समेत दुवैको उत्तिकै भूमिका रहेको कुरा मनन गर्न सक्नुपर्छ । अन्यथा लैङ्गिक विभेद तथा सामाजिक रूपान्तरण  किताबका पाना, नेताका भाषण र संविधानका धारा उपधारामा मात्र सीमित रहने कुरामा दुई मत छैन ।

सन्दर्भसूची

अधिकारी, ज्ञानु (२०८०). पितृसत्तात्मक समाजमा नारीका सकस.अस्मिता हाम्रो. १ (१) पृ.५८–६४ (वैशाख–असोज) ।

खनाल, शारदा (२०८१). कहाँ छ लैङ्गिक समानता. राम कुञ्जिका. रामपुर साहित्यिक प्रतिष्ठान, पृ.३१–३९ ।

खनाल, शारदा (२०८०). पितृसत्तात्मक समाज र एकल महिला. अस्मिता हाम्रो. १ (२) पृ ३०–३५ (कार्तिक–चैत्र) ।

चापागाई, निनु (२०८०). नारी मुक्तिको सन्दर्भ. अस्मिता हाम्रो. १ (१) पृ.४५–४८ (वैशाख–असोज) ।

बराल, प्रभा (२०८०). महिला उत्पीडनका अनेक आयाम. अस्मिता हाम्रो. १ (२) पृ ४०–४४ (कार्तिक–चैत्र) ।

शर्मा, बिन्दु (२०८०). नेपालमा महिलामुक्ति आन्दोलन र अन्तरसम्बद्धता. अस्मिता हाम्रो. १ (२) पृ ६–१४ (कार्तिक–चैत्र) ।

साह, रीता (२०८०). मधेसी समुदायमा पितृसत्ता, अस्मिता हाम्रो. १ (१) पृ.२२–२८ (वैशाख–असोज) ।

Author

  • प्राध्यापन पेसामा संलग्न शारदा खनाल समालोचना र साहित्यका विभिन्न विधाहरूमा सक्रिय लेखक व्यक्तित्व हुनुहुन्छ। उहाँको आख्यानकार विश्वेश्वर प्रसाद कोइराला : व्यक्ति, कृति, प्रवृत्ति (समालोचना, २०७८) र मूकदर्शक (कथासङ्ग्रह, २०७९) कृतिहरू प्रकाशित छन् । उहाँ पछिल्लो समय शोध तथा अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के