दोहोऱ्याएर भन्दैछु फेरि
कि मान्छे माटो गन्हाउँछ
पर्फ्युमको परतमुनि थिचिराख्न खोजे तापनि
माटो गन्ध, मान्छेको रानीमासु नै छिचोलेर
भित्र हड्डीको मासीसँग मिसिएको हुन्छ
त्यसै र त, जतै गए पनि
मान्छे जहिल्यै माटो गन्हाइरहन्छ
(‘मान्छे माटो गन्हाउँछ-२’, पृ. ११२)
कवि मनप्रसाद सुब्बाद्वारा लिखित पञ्चतत्त्वको पालाम (सं २०८१) कविता सङ्ग्रहबाट उद्धृत गरिएका उक्त पङ्क्तिमा माटोसित महिलाको सम्बन्ध मात्र होइन, तर सिङ्गो मान्छेको सम्बन्धलाई देखाइएको छ। मान्छे जन्मिएपछि प्रकृतिको पहिलो स्पर्श भुइँ टेकेर हुन्छ, मरेपछि ऊ माटोमा नै समाहित हुन्छ। मान्छेको जीवनचक्र नै माटो वरिपरि परिक्रमा गर्छ। तसर्थ मान्छेजातिको सृष्टि गर्ने दुईवटा जैविक स्रोत महिला र माटो हुन्।
माटो जैविक र उर्वर। सृष्टिको अथाह विषय। असीमित सम्भावनाहरूको पुञ्ज। मिलावट बिनाको मलिलो मिठो गन्धले धरा मगमगाउने। माटोको सिर्जनशीलताले प्रकृति हरियो र जीवन्त बन्ने। प्रकृतिको रक्षक माटो।
महिला जैविक, सिर्जनशील, उर्वर र जीवन्त प्राणी। सुन्दरताको अनुपम रचना। समान जैविक कारणले महिलाको तुलना माटोसित हुने गर्छ। धरती, धरा, वसुधा विविध नामले महिलालाई सम्बोधन गरिन्छ। महिला र माटोको सम्बन्ध नङ र मासुसरह। एकार्काका पूरक। दुवै जीवन धारामा प्रवाहमय।
माटोसित जोडिएका महिलाहरू प्रकृति प्रेमी, प्रकृति संरक्षक र प्रकृति चिन्तक हुन्छन्।
प्रकृतिमा नारीत्व अन्तर्निहित भएको हुन्छ, जसलाई “आमा पृथ्वी” (Mother Earth) भनिन्छ। Earth Democracy-Connecting Rights of Mother Earth to Human Rights and Well-being of All यो पुस्तक २२ आमा पृथ्वी दिवस २०२१ को विशेष अवसरमा प्रकाशित भएको हो। यस पुस्तकले सम्बोधन गरेका विविध विषयहरू जस्तै, Earth Rising Ecological actions for Earth Democracy, Earth Democracy Living Seed, Earth Democracy Living Soil, Earth Democracy Living Water, Earth Democracy Living Food। उपशीर्षकमध्ये Earth Democracy Living Soil अध्यायमा कृषि भूमिका माध्यमद्वारा आमा पृथ्वीका प्रजातान्त्रिक अधिकारलाई संरक्षण र सम्मान कसरी गरिन्छ, त्यसबारे जानकारी दिइएको छ। यस लेखमा उक्त विषयमा विस्तृत चर्चा नगरी महिला र माटोका अन्य आयामलाई निम्न बुँदाहरूमा चर्चा गरिएको छः
धार्मिक अनि सांस्कृतिक दृष्टिले महिला र माटो सम्बन्धित मान्यता र परम्पराहरू:
पवित्रता र शक्तिका रूपक:
भारतभरि नै दुर्गा पूजा पर्व धुमधामले मनाइन्छ। हरेक वर्ष यो पर्व पश्चिम बङ्गाल राज्यका विभिन्न सहरहरूमा सुन्दर पण्डालहरू निर्माण गरी माता दुर्गाको मूर्ति स्थापना गरी मनाइने गरिन्छ। यहाँको हिन्दू मान्यताअनुसार दुर्गा पूजाका निम्ति माता दुर्गाको मूर्ति सिर्जना गर्नालाई चारवटा तत्त्व चाहिन्छ- (१) गङ्गा नदीको किनारको माटो, (२) गौमूत्र, (३) गोबर अनि (४) सोनागाछीको माटो। सोनागाछी रेड लाइट क्षेत्र हो। यहाँको वेश्यालयबाट मागेर ल्याइएको माटोले निर्मित मूर्तिलाई पवित्र मानिन्छ भने उपरोक्त चारवटा तत्त्वहरूको मिश्रणद्वारा निर्मित दुर्गा माताको मूर्तिलाई पूर्ण मूर्ति मानिने परम्परा वर्षोंदैखि चलिआएको छ। यस अनौठो परम्परापछि पनि केही मान्यताहरू छन्- पहिलो, जुन ठाउँको माटो सर्वजनले दूषित र अपवित्र ठान्छ, त्यहीँको घर आँगनबाट ल्याइएको माटोद्वारा निर्मित दुर्गा माताको मूर्तिलाई पवित्र मानिन्छ। पवित्र मानिनुका केही कारण अघि सारिएका छन्। जस्तै, पुरुषहरू जब वेश्यालयमा प्रवेश गर्छन्, उनीहरूले आफ्नो पवित्रता र असल गुण त्यस कोठाको दैलो अथवा वेश्यालयका आँगनमा छाडी राख्छन् र त्यहाँको माटो पवित्र हुन्छ। मन्दिरका पूजारी स्वयम् वेश्यालयका आँगनमा उभिएर यो माटोको भिख मान्दछन्। यो भिख माग्ने प्राचीन परम्परामा अहिले केही परिवर्तन गरिएको छ र अब पुजारी त्यहाँ नगएर मूर्तिकार स्वयम् वेश्यालयमा माटो भिख माग्न जान्छन्, जुन माटोले उनी मूर्ति सिर्जना गर्छन्।
दोस्रो मान्यता छ, वेश्यालाई समाजमा बहिस्कृत गरिन्छ तसर्थ उनीहरूलाई सम्मानजनक दर्जा दिनका निम्ति माता दुर्गाको मूर्ति निर्माणमा वेश्यालयको माटो प्रयोग गरिन्छ। वास्तवमा दुर्गा पूजा पर्व नै एउटा सशक्त माध्यम हो, जसले समाजमा बहिस्कृत, अवहेलित, किनारीकृत महिलाहरूलाई समाजको मुख्य धारमा समावेश गरेको छ। यससँग सम्बन्धित अन्य कथाहरू पनि छन्, जसलाई यहाँ उल्लेख गरेर सम्भव छैन।
महिला र माटोको अर्को सम्बन्ध धनतेरसमा सम्पन्न गरिने पूजासित पनि छ। यस दिन महिलाहरू पूजाका सर सामान- दियो, सिन्दुर, लाछा, फलफूल, जल, धुप अनि धानका रूपमा गहुँ लिएर माटोको पूजा गर्छन् । यो पूजा गर्न जाँदा बाटोमा कुनै स्थानमा रोकिएर उनीहरू स्वस्तिकको चिह्न बनाउँछन् र माता रानीलाई पूजा प्रार्थना चढाउँछन्। पुजेको यही माटोलाई घरमा ल्याई माटोमाथि दियो राखेर बाल्छन्। यसरी पूजा गर्दा धनकी देवी लक्ष्मी प्रसन्न हुन्छिन भन्ने मान्यता पनि छ। यो पूजा गर्ने परम्परा भारतका कतिपय ठाउँमा पाइन्छन्। यस दृष्टिले महिला र माटोको सांस्कृतिक सम्बन्ध रहेको देखिन्छ।
महिला र माटोको सम्बन्धबारे अध्ययन गरिएको एलिस विसेन्टको किताप Why Women Grow! अत्यन्त महत्त्वपूर्ण छ। यसको भूमिका रोचक छ। कथावाचक र पत्रकार रहेकी एलिस विसेन्टले आफ्नै कथा दैनिक रूपमा लेख्दै आफ्नो क्यारियरको थालनी गरेकी हुन् तर उनलाई अब अन्य महिलाहरूको कथा सुन्न मन लागेको कुरा यसै भूमिकामा उल्लेख गरेकी छन्। माटोसित महिलाको सम्बन्ध कस्तो होला? महिला भएर माटोलाई कसरी बुझ्नु? महिलाका निम्ति माटो भनेको के हो ? भन्ने कौतुहलताले उनी मुख्यतः फूल बगैंचा गोडमेल गरी आनन्दित हुने महिलाबाट यो अनुभव जान्न चाहन्थिन्। तसर्थ उनले कोरोनाकालमा विश्वभरिका महिलाहरूलाई केही प्रश्नावली बनाएर इमेलद्वारा पठाइन्, जसको उत्तरमा पाइएका अनुभव तथा आफ्नो अध्ययन अनुभवका आधारमा उक्त पुस्तक तयार गरेकी हुन्।
यता हाम्रो समाजका विभिन्न क्षेत्रहरूमा श्रम गर्ने, माटोसित हुर्कने र जीवन नै माटोसित उठबस गरी बिताउने महिलाहरूले नेपाली साहित्यमा आफ्नो अनुभव लिएर कुनै कथा भनेका वा लेखेका छैनन्। त्यो अन्तराल हाम्रो साहित्यमा स्पष्ट देखिन्छ। महिला र माटोको अन्तर्सम्बन्धबारे हाम्रा स्रष्टाहरूले चिन्तन गरेका छैनन्। अब यो पनि एउटा पक्ष साहित्यमा सम्बोधन हुन आवश्यक देखियो। केही कविता लेखिएका छन् तर त्यति मात्र पर्याप्त होइन । अन्य विधाहरू कथा, निबन्ध, संस्मरण? यी विधाहरूमा महिला र माटो जस्ता महत्त्वपूर्ण र संवेदनशील विषयबारे कहिले विमर्श होलान्? प्रस्तुत लेखको उद्देश्य त्यस ठुलो अन्तराललाई केही सीमासम्म कम गराउने पनि हो।
मानिसले माटो र प्रकृतिबाट प्रेरणा पाएको कुरा कसैले नकार्न सक्तैनन् तसर्थ साहित्य र कलामा यस विषयलाई निम्न रूपमा अध्ययन गर्न सकिन्छः
महिला र माटोको अन्तर्सम्बन्ध : सम्भरण अनि उर्वरता
बीजलाई बढ्न र पोसिलो बनाउन माटोको आवश्यकता पर्छ, माटोले बीजको जीवन हुर्काउँछ भने नारी मानव सिर्जनाको मूल स्रोत हो। माटो मलिलोपनाको प्रतीक हो भने महिला उर्वरताको प्रतीक। उसले गर्भाधान गर्न सक्छे, शिशुलाई गर्भमा नौ महिना राखेर हुर्काउन सक्छे। महिला र माटो दुवै सहनशक्तिका प्रतीकका रूपमा पनि चिनिन्छन्।
समाजको दृष्टि फरक छ यी दुवैलाई हेर्ने। समाज आफूलाई केन्द्र मान्छ र किनारामा राख्छ महिला र माटोलाई। “अन्य” ठान्छ महिला र माटोलाई। पितृसत्ताको अन्याय र शोषण सहने यी दुवै वर्षोंदैखि मौन बनाइएका छन्।
साहित्यमा ‘माटो’ को सम्भरण गर्ने, जीवन सिर्जना गर्ने जैविक गुणका आधारमा महिलालाई माटोको प्रतीकका रूपमा प्रयोग गरिन्छ। माटोले जीवन उत्पादन र यसलाई बचाएर राख्ने योग्यता राख्दछ भने महिलाले पनि आफ्नो गर्भबाट शिशु जन्माउने र हुर्काउने जिम्मेवारी लिँदछन्।
बीज पुरुष हो भने महिला धरा हो। धरा वा माटो महिलाको रूपक र बीज पुरुषको रूपकको मिलनबाट संसारमा कुनै प्राणीले जन्म लिन्छ वा उत्पादन हुन्छ। यसरी महिला र माटो दुवैलाई सिर्जनाका स्रोत मानिन्छ।
यस लेखमा
माटो अभिधा अर्थमा मात्र प्रयोग नभएर यो धरती, प्रकृति र परिवेश भन्ने अन्य अर्थमा लिएर पनि प्रयुक्त छ। एकातिर माटोसित रातदिन हातेमालो गर्नेहरू निम्न वर्गीय महिला, श्रमिक महिला, जनजातीय महिला, अशिक्षित महिला तथा उत्पीडित महिला बुझाउँछ भने अर्कातिर यसले शिक्षित, सचेत, र पर्यावरण संरक्षक महिलालाई पनि चिनाएको छ।
साहित्यमा नारीवाद र पर्यावरण नारीवादः सन्दर्भमा महिला र माटो
‘नारीवाद’ शब्दको निर्माण सन् १८३७ मा फ्रान्सेली दार्शनिक चाल्स फोरियर (Charles Fourier) ले गरेका हुन्। यो फ्रान्सेली शब्द feminisme बाट व्युपत्ति भएको हो। यसको अर्थ हुन्छ नारीत्व गुण वा विशेषता । यो ल्याटिन शब्द Femina -को अर्थ हुन्छ Woman वा महिला। Femina शब्दमा परसर्ग isme को योग गरेर Feminism शब्द बनिन्छ। यसको पहिलो प्रयोग १८औं शताब्दीको अन्ततिर नारीवादी आन्दोलनसित जोडिएर प्रचलनमा आएको छ।
१९औं शताब्दीको उत्तरार्धमा नारीवादको पहिलो लहर युनाइटेट किङ्डम र युनाइटेट स्टेट्स अफ अमेरिकामा सुरु भयो। यो एउटा व्यवस्थित आन्दोलन भएकाले नारीलाई उपलब्ध नगराइएका शिक्षा, समान नोकरीको मौका, अनि अन्यायपूर्ण बिहे हुने कानुनलाई यसले चुनौती दिएको थियो। मध्यमवर्गीय महिलाहरूको सहभागिता रहेको यस आन्दोलनमा श्रमिक महिलाहरूको अनुपस्थितिलाई अनदेखा गर्दै उनीहरूले यस्ता निम्न वर्गीय महिलाहरूसित कुनै सरोकार राखेनन्। यी महिलाहरूले सन् १८९५ मा निर्मित नारीवादसित जोडिएर त्यो लेभल लगाउन चाहँदैन थिए। त्यस समय समाजमा बाँचेका श्रमिक महिलाहरू मुख्यतः अन्यायका विरोधमा सङ्घर्षरत थिए।
हाम्रा माटोसित जोडिएका खटिखाने महिलाहरूको शिक्षा अधिकारका निम्ति आवाज उठाउने त्यस समय कोही थिएनन्, जब कि पश्चिममा मेरी उल्फस्टोनक्राफ्ट जस्तो स्वतन्त्र नारीवादी लेखक, जसले १९ वर्षका उमेरमा नै Thoughts on the Education of Daughters (१७८७) नामक पुस्तकमा धनी तर मूर्खहरूका निम्ति काम गर्न उनीहरूझैँ शिक्षित युवतीहरूलाई बाध्य गराइन्थे भनी वर्णन गरेकी छन्। उल्फस्टोनक्राफ्टले महिला शिक्षामा विशेष जोड दिनका साथै सार्वजनिक स्थलमा महिला सहभागिता हुनुपर्ने बताएकी छन्। “महिला शक्ति पुरुष शक्तिमाथि शासन गर्नलाई होइन तर आफैलाई सशक्तीकृत गर्नलाई हो” भन्ने उनको एउटा महत्त्वपूर्ण भनाइ माटोसित रमाउने, हाँस्ने, खेल्ने अनि माया गर्ने तर समाजले हरेक अधिकारबाट बञ्चित गरी राखिएका महिलालाई विशेष ध्यानमा राखेर काम गर्नुपर्ने भनिएको हो। पुरुष हैकमवादी समाजले महिलाहरूलाई आवाजविहीन बनाएको छ, बोल्ने अधिकार खोसेको छ। यही आवाज फर्काइ ल्याउने उल्फस्टोनक्राफ्टको प्रयास थियो। जबसम्म महिलाहरूलाई बोल्नमा रोक लगाइन्छ, तबसम्म उनीहरू स्वतन्त्र हुन सक्तैनन्। जस्तै, श्रमिक महिलाहरूको सामाजिक अवस्था छ, त्यसले महिला स्वतन्त्रता र शिक्षा अधिकारलाई हनन गरेको छ।
आफ्नो दैनिकी माटोसित हातेमालो गर्दै हुर्किएका महिलाहरू, जो हर सम्भव माटोको संरक्षण गर्न उद्यत छन्, ती माटोको क्षयप्रति चिन्ता गर्छन्, माटो नै जीवन हो भन्ने ठान्छन्। यस्ता महिलाहरू जो खेती गर्छन्, जो बारीमा रात दिन खट्छन्, मजदुरी गरेर जीवन निर्वाह गर्छन्, उनीहरू श्रमिक महिला कहलाउँछन्। चिया कमानमा काम गर्ने श्रमिक महिलाहरूको सङ्ख्या भारतमा अधिक छ। उनीहरूको जीवन आधार नै चिया कमान हो। उनीहरू शिक्षाको कमीले गर्दा सधैं समाजको मूलधारको विकासदेखि पछाडिएका छन्। देशको मानचित्रमा पर्दैन, उनीहरूको श्रमले लेखिएको कालो इतिहास। तसर्थ भर्जिनिया उल्फले भनेझै- “म महिलाका निम्ति मेरो कुनै देश छैन, म महिला भएर कुनै देश चाहँदिनँ, यो सम्पूर्ण विश्व नै म महिलाका निम्ति देश हो।” उनको पुस्तक A Room of One’s Own (१९२९)-ले पछिल्ला पुस्ताका महिला लेखकहरूमा सचेतता ल्याउने महत् कार्य गरेको छ। यस्तो सचेतता ल्याउने हामीसित कुनै पुस्तक लेख्ने महिला लेखक छैनन्। अर्का लेखक सिमोन दि बुभोद्वारा लिखित Second Sex (१९४९)-ले समाजमा नारीहरूको अवस्थाबारे सोच्ने विचारमा परिवर्तन ल्याएकाले यसलाई नारीवादी दर्शनमाथि लेखिएको पुस्तक मानिन्छ।
भुइँ सरह जीवन धान्ने आमाहरूको, दिदी बहिनीहरूको पीडा कसले जान्दछन्? शारीरिक कष्ट र मानसिक तनावका कथाहरू कसले लेखिदिन्छन्? माटो सरह चुपचाप आवाजहीन महिलाहरूको हक र अधिकारका निम्ति को लडिदिन्छन्? सामाजिक न्यायका निम्ति को अघि सरिदिन्छन्? मध्य र उच्च वर्गका महिलाहरूलाई पनि थाहा नभएका उत्पीडन कसले अनुभव गरिदिन्छन्? यी नै
किनारामा बसेर केन्द्रका सुखद जीवन देख्ने महिलाहरू आफू भुइँमा बसेर पर्यावरणको चिन्ता गर्छन्। निरक्षर आमाहरू माटोका निम्ति जुनै युद्ध पनि लड्न तयार छन, माटो संरक्षणका निम्ति तयार छन्। यही महिलाहरू नै हुन्, माटोका पर्याय, माटोका प्रतिनिधि पात्र।

Source: NPHF, FHEN
हामीसित भर्जिनिया उल्फ र सिमोद दि बुभो जस्ता सिद्धान्तगत कुराहरू लेख्ने लेखक नभए तापनि माटोसित खेल्ने र रमाउने श्रमिक आमा, माटाका डल्ला फुट्टाएर हत्केला र खुट्टाको कुर्कुच्चा पट्पट फुटाउने खटिखाने आमा, दिदी बहिनी र बारीमा खट्ने अशिक्षित आमा तर बारीको स्याहार सुसार गरेर गाउँ उज्यालो बनाउने आमाको भित्री लुकेको पीडामय ढुकढुकीलाई अनुभत गर्ने एकजना संवेदनशील कवि भिमा राई छिन्। उनले श्रमिक महिलाका निम्ति कविताहरू लेख्ने गर्छिन्। उनको मूल विधा कविता र विषय निम्न वर्गीय खटिखाने श्रमिक महिलाहरू हुन्। उनको कविता ‘मैना ज्यान मैनाको बारीमा साग छैन’ मा कवि भन्छिन्-
साँच्चै मैनाको बारीमा
रायो, तोरी, मुलाको साग छैन,
रोपाइँमा बाउसे अनि हलीले
‘पडक्क!’ टोक्ने डल्लेको स्वादै छैन,
सुनगाभा र सुनाखरी
हाइब्रिड भएर ‘डलर’ फुल्छ,
सालैपछि गोबरले लिपेको भित्तामा
काँक्री बियाँ
र बोज्यूले पोको पारिराखेको
सत बिउ, पल बिउ
कोठेबारीमा उम्रनै मान्दैनन्
बारी किन खालि छ,
सोद्धिनौ, मैना?
बारी किन रुखो हुँदै जाँदैछ
कहिले सोचेकी छौ, मैना?
(साङ्लाहरू, पृ.१३-१४)
माटोसित आत्मीयता राख्ने महिलाहरूले जति पसिना बगाएर हरियो फुलाए पनि उनी स्वयम्को जीवन रित्तो र रुखो छ। योभन्दा ठुलो विडम्बना अरू के हुन सक्छ र?
विश्वभरिका महिलाको समस्याको समाधान खोज्नु अघि हामीले आफ्नै घर आँगनमा रित्तिएका महिलाहरूको आँखामा सुकिसकेको आँसु देख्न सक्नुपर्छ भन्ने कवि भिमाको आशय हो।
महिला र माटोको जीवन कथा एउटै छ। फरक के छ भने महिलासित भाषा र आवाज दुवै छन् तर माटोसित न भाषा छ न आवाज। तर पीडा छ उस्तै उस्तै।
तसर्थ कवि सुधा एम राईको कविता ‘धरतीको पुकार’ मा यही भाव व्यक्त भएको छः
हे धरती माता !
तिमीले भोगे जस्तै
हरदिन भोगिरहेछु मैले पनि
अथाह पीडा
तिम्रो असीम ममताको ओतप्रोतमा
हुर्केको म स्वास्नीमान्छे।
(भूमिगीत, २०१३)
तृणमूल नारीवाद यस्तो आन्दोलन हो, जो सामाजिक न्याय र लैङ्गिक समानताका निम्ति सङ्घर्ष गर्दछ। माटोसित रातदिन खेल्ने र माटोलाई माया गर्ने भुइँसित जोडिएका महिलाहरू नै यसमा सहभागी हुन्छन्। ग्रामीण महिलालाई पनि माटोसित जोड्न सकिन्छ। सहरका गरिब समुदायका महिलाहरू पनि तृणमूल नारीवादसित सम्बन्धित देखिन्छन्। कारण उनीहरू जमिन अर्थात् आफ्नो भूमि सुरक्षित गर्नाका निम्ति न्याय चाहिरहेका छन्। यिनीहरू आफ्नो बासभूमि र जीवनसित सम्बन्धित छन्। पवित्र लामाको महुवा (सन् २०२२) उपन्यासकी आदिवासी महिला पात्र महुवाको सङ्घर्ष पनि आदिवासी जमिन अधिकारका निम्ति गरिएको हो। सरकारले आदिवासी जमिन कसरी हत्याउँछ र आदिवासी समुदायलाई थाहै नदिई जमिनहीन बनाइदिन्छ र सडकमा ल्याइदिन्छ। यसैका विरुद्धमा आदिवासी समुदाय आन्दोलन गर्न बाध्य हुन्छ। यसैमाथि यो उपन्यास आधारित छ।
जब माटोको सन्दर्भ आउँछ तब गोर्खाल्यान्ड आन्दोलनको पनि सन्दर्भ आउँछ। यस आन्दोलनमा सहभागी बन्ने महिलाहरू कोही श्रमिक थिए, कोही घरकी आमा, कोही शिक्षिका, कोही व्यवसायी तर थिए माटोलाई माया गर्ने र यसलाई फर्काइ ल्याउन हरेक युद्ध लड्नलाई तयार। आफ्नो ज्यान बलिदान दिने साहसिक महिलाहरू जसले लैङ्गिक हक र अधिकार प्राप्तिदेखि माथि उठेर भारतीय संविधानअनुसार नयाँ राज्य गठनको धारा 3 अन्तर्गत समान अधिकारका निम्ति लडे। राष्ट्रिय चिन्हारीका युद्धमा सहिद पनि बने। जस्तै, जीना थापा, प्रमिला शर्मा, नीता खवास र विमला खवासको बलिदानको कथा आज भारतीय इतिहासमा सुनको अक्षरले लेखिन बाँकी नै छ। यस्तै किनारीकृत आन्दोलनकारी आवाजलाई कवि तारा लोहारले आफ्नो कविता सङ्ग्रह समयको निनाद (सन् २०१२-को “आमा म पनि अनशनमा बस्छु” जस्ता कविताहरूमा अभिव्यक्त गरेकी छन्।
माटो जरा हो, माटो भुइँ हो, माटो धरती हो, माटो आमा हो, माटो आधार हो, घडेरी हो। तर मान्छे वा पितृसत्ताले यही माटोको उत्पीडनको कथा लेख्न बिर्से जसरी बिर्से महिलालाई समाजमा समानता र सम्मान दिँदै उनीहरूले भोगेको उत्पीडन र शोषणको कथा लेख बलिदानको इतिहास लेख्न।
चिया कमानका खटिखाने श्रमिक महिलाहरूलाई लिएर भारतको दार्जिलिङबाट अनेकौँ कविता सङ्ग्रह र तीनवटा खण्डकाव्य प्रकाशित भएका छन्। नन्द हाङ्ङ्खिम, भूपाल राई, शरण खालिङ, भिमा राई ‘तोलाछा’ जस्ता कविहरू चियाबारीका महिला श्रमिकको जीवन सङ्घर्ष र माटोलाई लिएर कविता लेख्ने समर्पित कवि हुन्। यी महिलाहरू चिया रोपेर विश्व प्रसिद्ध छन् तर मालिकवर्गले उनीहरूको शोषण र उत्पीडनको आवाजलाई दबाएर विश्वसम्म पुग्न दिँदैन। माटो छोएर दिनचर्या आरम्भ गर्ने यी महिलाहरू माटोझैँ मौन र चिसो जीवन बाँचिरहेका छन्।
जब महिला पर्यावरणसित जोडिए, तब महिला दह्रो उभिने भए, स्वतन्त्रताको सास लिन सिके र आफ्नो तथा पर्यावरणको संरक्षणका निम्ति लड्न प्रतिबद्ध भए। यो सन् १९९० सालको कुरा हो। महिलाहरू पर्यावरण संरक्षणका निम्ति सचेत देखिएकाले यिनीहरू सैद्धान्तिक रूपले महिला पर्यावरणवादीका रूपमा चिनिए। प्रकृति र पर्यावरण नारीवादका विषय हुन्। कारण यी दुवै नारी उत्पीडनसित सम्बन्धित छन्।
प्रकृतिको प्रतिनिधित्व गर्ने महिलाहरू प्रकृतिलाई जीवन्त मान्छन्। महिलाहरू सोच्छन् उनीहरू समाजमा भन्दा धेर प्रकृतिमा सुरक्षित छन्। प्रकृतिले महिलालाई सदैव सुरक्षा, ऊर्जा, शक्ति र प्रेरणा दिएको कुरा स्वीकार्य छ। पुरुष सत्ताको हैकमबाट उत्पीडित र किनारीकृत यी दुई विषयलाई सामाजिक न्याय र अधिकार प्राप्त गराउनलाई पर्यावरणीय नारीवाद अघि आएको छ। यी महिला र माटोले प्रकृतिको चक्रका आधारमा कार्य गर्दछन्। यस दृष्टिले पर्यावरण नारीवादले यी समान गुणका आधारमा नारीत्वको भूमिकाको उत्सव मनाउने गर्छ।
गत केही दशकदेखि मानव समाज र आमा पृथ्वी दुवैलाई पर्यावरण एउटा महत्त्वपूर्ण खतरा बन्दै आएको बोध भएको छ। परिवेश विमर्शका निम्ति प्रकृतिको आफ्नो अस्तित्त्व छ, तर हामीले यदि यससित खेलवाड गर्यौँ भने यसको क्षति हुन्छ। परिवेश विमर्श एउटा यस्तो क्षेत्र हो जसले साहित्यमा मान्छे र प्रकृतिको सम्बन्धबारे अध्ययन गर्छ। यसैको एउटा हाँगो पर्यावरणीय नारीवाद सन् १९७० मा विकास भएको सिद्धान्त हो। यस सिद्धान्तले महिला र प्रकृतिको सम्बन्धलाई निकट मान्दछ। यसो हुनाका अर्थ महिलाको उत्पादन क्षमता र प्रकृतिले गर्ने सृष्टिमा मातृत्व रहनाले हो। महिला र प्रकृतिमा हुने उत्पीडन, शोषण र दमनको यसले विरोध गर्दछ। सन् १९८० मा अमेरिकाको आमहर्स्टमा पर्यावरण नारीवादीहरूले “पृथ्वीमा महिला अनि जीवनः पर्यावरणीय नारीवाद १९८०” विषयमा पहिलो सम्मेलन राखे। सांस्कृतिक पर्यावरणीय नारीवाद, उग्र पर्यावरणीय नारीवाद, स्वतन्त्र पर्यावरणीय नारीवाद, सामाजिक र समाजवादी पर्यावरणीय नारीवाद सबैले पर्यावरण सम्बन्धी विविध आयाम र पक्षहरूलाई समेटे पनि अन्तमा महिलाको उत्पीडन र दमन प्रकृतिसित गरेको दोहन र दमन जस्तै हो, समस्या साझा भए पछि समाधान साझा गर्ने योग्यता र अधिकार महिलाकहाँ छ र प्रकृतिको संरक्षण र संभरण केवल महिलाहरूले मात्र गर्न सक्छन् भन्ने मतमा सबै पर्यावरणीय नारीवादीहरू ऐक्यबद्ध देखिन्छन्।