दस घरपछि एउटा बुट्टा ।
फेरि पाँचपछि अर्को बुट्टा ।
धागो र काँटासँग खेलिरहेका छन् एकाउन्टेन्टकी पत्नीका औँला ।
तर ऊ औँलामा पनि छैन ।
धागोमा पनि छैन ।
ऊ त छ अन्तै कतै टाढा ।
बादल-बादल फुक्काफाल…उडेकी,
कलेज क्यान्टिन, पार्कतिर मित्रताले मग्मगाएकी ।
पुलकित हुँदै जिन्दगीसित आफ्नै अनुहारमा पूरै सिनेमा हेरेकी ।
अतीतका गल्ली-गल्छेँडा चहारेकी ।
अहिले त ऊ
मात्र एउटी तिर्खाएकी ऊँट ।
बालुवै बालुवा लमक् लमक् लम्किएकी ।
असरल्ल पोखिएको छ भुइँभरि उसको वर्तमान ।
चुकचुकाइरहेको छ भित्ते घडी ।
उसको लिलिपुट जिन्दगीलाई जिस्क्याइरहन्छ कोठाको एक कुनाबाट
एउटा बोन्साई धुप्पी ।
ऊ एउटी फर्निचर ।
एउटा पासबुक ।
लोग्नेको अर्ग्याज्मको तन्दुरुस्त एटिएम ।

उसको शरीरबाट फुटिनिस्केका छन् एल के जी, यु के जी मायावी चिचिलाहरू ।
जतासुकै टाँस्सिएको छ उसको उमेरको भुवा ।
चिचिलाहरूका टाइमा । मोजामा । जुत्तामा । टिफिन बक्समा ।
पानीको बोतलमा । टाटा बाइबाइहरूमा । सोफामाथि असरल्ल छरिएका दिनहरूमा ।
टिभी सिरियलहरूबाट निस्केर कैले हो कैले । स्वेटरमा । बरन्डामा। पल्लो घरकी सेविकाका गफमा ।
लोग्नेका उग्र लिबिडोहरूमा । यदाकदा फेसबुकका लाइक-कमेन्टहरूमा ।
ओहो चार बज्नै लागेछ ।
अब आइपुग्छन् ढल्केका घाम भएर स्कुल गएका चिचिलाहरू ।
तिनीहरू आइपुग्नअघि नै
उठाइसक्नपर्नेछ उसले तारबाट लुगा ।
भोकको सिरियल सुरु हुनअघि नै
टिपिसक्नुपर्नेछ चामलबाट बियाँ ।
एकाउन्टेनसाब आइपुग्नअघि नै
भिरिसक्नुपर्नेछ अनुहारमा एउटा हँसिलो मखुण्डो ।
हुरीजस्तै फर्किन्छ ऊ लोग्ने भएर साँझमा
र बिथोल्छ श्रीमती–संवेदनाका फूल र कोपिलाहरू ।
आगोमा नून परेझैँ बर्बराउँछ ।
सुकेको रुखझैँ ढल्छ ओछ्यानमा ।
अनि घुर्न थाल्छ ।
खै कता छ यस लोग्नेभित्र
दस वर्षअघिको त्यो ज्यूँदो प्रेमी ?
चिसो ओछ्यान र घुर्दो लोग्नेका बिचमा
उसले देख्छे एउटा समयको चिहान ।
जहाँ हरसाँझ अन्त्येष्टि हुँदैछ उसको प्रेमिल सपनाहरूको ।
ओहो कसरी हुन्छ ननिदाएर ?
भोलि त सक्खारै जुध्नुपर्छ रुटिनबद्ध खेलहरूमा ।
दल्नुपर्छ काट्न नभ्याएका नङजस्तो सम्बन्धमा पालिस ।
तयार गर्नुपर्छ वात्सल्यको नौनीमा टिफिन ।
रङ्गाउनुपर्छ अर्धबैँसको कपालजसरी उमेरका भित्ताहरू ।
गर्नुपर्छ सेकेन्ड सेकेन्ड आफैलाई अपडेट ।
खेल्न दिनुपर्छ रिमोटजसरी औँलाहरूलाई ।
बग्नुछ जगजीतका गजलहरूको प्रवाहमा,
र, टिप्नुपर्छ चामलबाट चामलजस्तै ढुङ्गा ।