सामाजिक सम्बन्ध के हो ? यसको स्वरूप कस्तो हुन्छ ? यसको महत्त्व र अर्थ के कुराले निर्धारण गर्छ ? श्रीमान् र श्रीमतीको सम्बन्ध, अभिभावक र छोराछोरी, महिला र पुरुष ,राष्ट्रियता, जातीयता, क्षेत्रीय यी विभिन्न प्रकारका सामाजिक सम्बन्धहरू हुन्छन् । समाजिक सम्बन्धहरूको निर्माण हुने आधार महिला र पुरूष हुन् । यिनीहरू बिचको अन्तरक्रिया र एकअर्का बिच गरिएको प्रतिक्रियाले सामाजिक सम्बन्ध बन्दै जान्छ । एक सिक्काका दुई पाटामध्ये एउटा पाटामा खोट देखियो भने पूरा सिक्काको मूल्यमा असर पर्छ । जब केवल महिलाहरूको वा पुरूषहरूको मात्र एकोहोरो संवाद हुन्छ, त्यतिबेला सामाजिक सम्बन्ध अधुरो हुन्छ अर्थात् त्यसको कुनै मूल्य हुँदैन । यसै सन्दर्भमा प्रस्तुत आलेखमा लैङ्गिक सम्बन्धका वैचारिक सन्दर्भहरूलाई पनि जोड्ने प्रयास गरिएको छ ।
म नोकरीका क्रममा एउटा शिक्षा र विकास ट्रेनिङको लागि भारतको उडिसामा गएकी थिएँ । त्यहाँ करिब ३५ देशका सहभागीमध्ये एकजना महिला र एक जना पुरुषको सहभागिता थियो । नेपालको तर्फबाट म पनि सहभागी भएकी थिएँ । तालिमका क्रममा एउटा अभ्यास गराइएको थियो, त्यो यहाँ जोड्न सान्दर्भिक लाग्यो । करिब ७० जनाको सहभागितामा सहजकर्ताले हामी सबैलाई महिला र पुरुष दुई समूहमा विभाजित हुने भन्नुभयो । हामी दुई समूहमा विभाजित भयौँ । हामी ३५ देशका महिलाहरूको एक समूह बन्यो । त्यसैगरी ३५ देशका पुरूषहरूको अर्को समूह बन्यो । पुरूष र महिलाको अलग अलग सङ्ख्याका आधारमा महिला र पुरूष आआफ्नो समूहमा बस्नुभयो । देश फरक फरक भए तापनि हामी महिलाहरू एउटा समूहमा थियौँ । अमूक देशको ऊ भन्ने भावना भन्दा पनि हामी सबैको जात महिला हो भन्ने भावना थियो । यो भनेको जैविक/लैङ्गिक भिन्नता हो । यसै गरी पुरूषहरूको समूहमा पनि फरक फरक देशका भए तापनि हामी सबैको जात पुरुष हो भन्ने भावना थियो तर दुबैको सामाजिक जात भने मानव नै हो । यसको तात्पर्य यस दुनियाँमा महिला र पुरुषको अलग अलग जैविक समाज बनेको छैन र त्यसको अस्तित्व पनि हँुदैन भन्ने बुझिन्छ । त्यसपछि राष्ट्रका आधारमा महिला र पुरूष आफ्नो आफ्नो राष्ट्रको समूहमा बस्ने काम भयो । यतिबेला महिला र पुरूषको फरक फरक राष्ट्र भन्ने कुरा थिएन । हामी एउटै राष्ट्रका हौँ भन्ने भावना थियो । यसलाई नै सामाजिक लैङ्गिक सम्बन्ध भनिन्छ । राष्ट्रको पहिचान महिला र पुरूष दुबैको सहअस्तित्वबाट बनेको हुन्छ । माथि उल्लिखित खेलको औचित्य त्यतिबेला पुष्टि हुन्छ, जब महिला र पुरूषको अलग अलग सङ्ख्याको वा प्रतिनिधित्वको कुरा उठ्छ । जात, देश, राष्ट्रियताका सन्दर्भमा महिला र पूरूषको जैविक अर्थात् प्राकृतिक भिन्नताको सम्बन्ध हुँदैन । उनीहरूको सामाजिक पहिचान भनेको व्यक्ति हो । यो महिला वा यो पुरूष भनेर प्राकृतिक लैङ्गिताका आधारमा पहिचान हुँदैन । हामी एउटै देश, राष्ट्र, जात, धर्म भनेर बुझ्छौँ तर जब शक्तिको, जिम्मेवारीको र भूमिकाको कुरा आउँछ, त्यतिबेला सामाजिक लैङ्गिताका आधारमा नहेरी प्राकृतिक लैङ्गिताका आधारमा मात्र मोलमोलाइ गर्ने कुरा उठ्छ । यस्तो प्रकृतिको सम्बन्ध सत्ता, शक्ति र हिंसात्मक क्रियासँग जोडिएको देखिन्छ किनभने क्रियाकलापको स्वरूप असमानता र अन्यायमा आधारित हुन्छ । महिलाले गर्ने काम यो, पुरूषले गर्ने काम त्यो भनेर प्रकृतिले कहीँ कतै पनि विभेद गरेको छैन । उनको भूमिलाई महिला र पुरूषको जैविक आधारमा छुट्याएर व्यवहार गरिन्छ भने त्यो लैङ्गिक हिंसा हो । यस विषयमा मैले मेरा श्रीमान् (प्रा.डा. ताराकान्त पाण्डेय) को अभिमत पनि लिएकी थिएँ, “खास प्रयोजनका लागि मात्र महिला र पुरूषलाई प्राकृतिक लैङ्गिकताका आधारमा छुट्टयाउन आवश्यक हुन्छ । जस्तो जनसङ्ख्या विभाजन गर्दा, तालिमहरूमा सङ्ख्या देखाउनुपर्दा अर्थात् महिला र पुरूषको अलग अलग प्रतिनिधित्व देखाउनुपर्दा मात्र लैङ्गिक भिन्नता देखाउन सकिन्छ । यीबाहेक बाँकी सबै किसिमका कामहरू सामाजिक लैङ्गिक सम्बन्धमा पर्दछन्, यसमा प्राकृतिक लैङ्गिक कुरा आउँदैन । समाजिक गतिविधिहरू अर्थात् सामाजिक, आर्थिक, राजनीतिक तथा विकास महिला र पुरूषका साझा सवाल हुन् । यसमा जैविक सम्बन्ध हुँदैन भने महिला र पुरूषको भनेर नापतौल किन गर्ने ?”। उहाँको यस्तो विचार सुनेर मलाई चित्त बुझ्यो किनकि धारणागत रूपमा उहाँको विचार स्पष्ट थियो । वास्तवमा सङ्ख्या देखाउनका लागि मात्र महिला यति, पुरूष यति भनिन्छ तर अरू कुरामा किन फरक ? भन्ने कुरा नै लैङ्गिक चेतना हो । यसमा तर्कको कुरा आउँदैन । यो प्राकृतिक लैङ्गिकता होइन । क्षमता, जिम्मेवारी, भूमिका यी व्यक्तिको रुचि र आवश्यकताले निर्धारण गरिने कुरा हुन् । महिलाले दश महिना पेटमा बच्चा राख्छिन्, दुध चुसाउँछिन्, यो प्राकृतिक लैङगिता हो, जसलाई बदल्न सकिँदैन । पुरूषले यसबाहेक अरू सबै काम गर्न सक्छन् ।
महिला र पुरूषको माटो तथा धर्तीसँगको सम्बन्धलाई हेर्दा पुरूषको सम्बन्ध स्वामित्वसँग जोडिएको पाइन्छ भने महिलाको सम्बन्ध संरक्षण र प्रयोगसँग मात्र जोडिएको पाइन्छ । यो सामान्य जस्तो लाग्छ तर महिलाको माटोसँग बडो गहन र सुन्दर सम्बन्ध छ । पहाड, हिमाल, तराई र विश्वकै परिवेशमा हेरियो भने पनि महिलाको जीवनको दैनिकी माटोसँग सुरु हुन्छ । उनीहरूको कुनै न कुनै रूपमा माटोसँग प्रेमपूर्ण सम्बन्ध रहेको हुन्छ । घर बडार्ने, पोत्ने, करेसाबारी र वरिपरि माटो खन्ने, तरकारी र अन्य विरुवा रोप्ने (गमलामा विरुवा रोप्ने समेत), गोड्ने जस्ता कामहरूमा महिलाहरूको रुचि, आवश्यकतासँगै उनीहरूको संस्कार बनेको पाइन्छ ।
सहरका पढेलेखेका महिलाहरूले पनि माटोलाई धेरै प्रेम गरेको देखिन्छ । भान्साको छाक टार्ने मात्र होइन, भान्सामा खेर गएका वस्तुहरू मल बनाएर गमलामा राख्ने, फुल रोप्ने, गोड्ने र तरकारी, फल फलाएको र फूल फुलाएको देख्दा घरको सुन्दरता, परिवारमा खुसी मात्र होइन, वातावरणीय स्वच्छतामा पनि सहयोग पुगेको हुन्छ । उनीहरूको पर्यावरणीय स्वच्छता र सौन्दर्य निर्माणमा पनि गहिरो सम्बन्ध देखिन्छ । जग्गा नभए पनि माटो बोकेर रोप्ने, फलफूलका बिरुवा लगाउने र घर पोत्ने काम महिलाहरूले परम्परादेखि निरन्तर गरिआएको देखिन्छ । यसलाई कस्तो सम्बन्ध भन्ने ? हेर्दा साधारण लाग्छ तर यसले परिवारमा महिलाको सम्बन्धलाई मात्र देखाउँदैन, सिङ्गो सामाजिक वातावरणलाई सुन्दर र सम्पन्न बनाउन समेत सहयोग पुगेको देखिन्छ । तर, यो सम्बन्ध समाजमा, परिवारमा र राज्यमा कहीँकतै महान् वाणी बनेर आएको देखिँदैन । उनीहरूले माटोका सुन्दर भाँडा बनाएर घरायसी राखनधरनका साधन बनाउने मात्र होइन, यसबाट आयआर्जनको मूख्य स्रोतका रूपमा माटोलाई आफ्नो जीवनको आधार बनाएका छन् । माटाका सुन्दर भाँडाहरू, अनाज राख्ने भकारीहरू (डहरी) बनाउने महिलाका यी सीपहरूको समाजमा न त कतै उखान र प्रेरणाका स्रोत बनेर हौसला दिने काम गरेका छन्, न त कतै सामाजिक जीवनमा सौन्दर्यको स्रोत नै बनेका छन् तर उनीहरूका यी सिपहरूले परिवार र समाजको पहिचान भने बनाएका छन् ।
आमाको मन, धर्तीमाता, आमाको काख सायद यी शब्द सबैलाई मनपर्छ । बडो खुला मन, सम्मान तथा आदरभावले भनिने गरिन्छ । यसमा शक्तिको कुरा छैन, स्नेह प्यार त्यो पनि विना सर्तको, खुला हृदयको, स्वच्छ मन । धर्तीमाता भनेको माटो नै हो, देशको माटो तर जब शक्तिको कुरा आउँछ, निर्देशन दिने कुरा आउँछ, निर्णय गर्ने कुरा आउँछ, त्यतिबेल यस्तो महान सोच किन आउँदैन ? यो महिला, यो पुरूष भन्ने सङ्कीर्ण सोचको दवाब पर्न थाल्छ । महिलाको क्षमताको लेखाजोखा गर्ने काम हुन्छ, महिला र पुरूषको सामाजिक अस्तित्व एउटै हो भन्ने भाव स्वभाविक प्रवृत्तिका रूपमा बाहिर अझै आउन सकेको छैन । महिला र पुरूषको राष्ट्रियता अलग अलग नभई एउटै हुन्छ । व्यक्तिको क्षमता, दक्षता र व्यवहार नभनेर पूर्व अनुमानका आधारमा महिला र पुरूषले गर्न सक्ने, नसक्ने भनेर हेर्ने सङ्कीर्ण प्रवृत्ति अझै पनि विद्यमान छ । यो प्रवृति विद्यमान रहनु भनेको समानता नचाहनु हो । समानता नचाहनु भनेको हिँसा गर्नु हो । यस्ता प्रवृत्तिले असमानतालाई हटाउन सम्भव छैन । प्रकृतिले विभेद यति मात्र गरेको छ कि महिलाले १० महिना पेटमा बच्चा राख्छिन् र स्तन पान गराउँछिन् तर पुरूष यस कुरामा बन्चित छन् । बाँकी सबै कुरामा फरक छैन, एउटै छ । बच्चा जन्माउने आमालाई महान् भन्ने चलन हाम्रो समाजमा छ तर महिलामा भएको क्षमता र उसमा भएको विशेषतालाई सहज रूपमा स्विकार गर्ने प्रवृति साँगुरो छ । यो दोष कुनै एउटा व्यक्तिको मात्र नभई सिङ्गो संरचना र संस्कारगत सवाल हो, जसलाई परिवर्तन ल्याउनका लागि सांस्कृतिक सङ्घर्ष अपरिहार्य छ । यसको जिम्मेवारी महिला र पुरूष दुबैको हो । महिलाहरूको महिनावारी हुँदा, बच्चा पेटमा भएको अवस्थामा विशेष रेखदेख तथा ख्याल गर्ने समय हो । यसका लागि केही समय उनीहरू घरमा बस्नुपर्ने बाध्यता हुन्छ । यस सन्दर्भमा पुरूषहरू स्वतन्त्र हुन्छन् तर यसको मतलब यो होइन कि महिलाहरू सधैँ नै मानसिक र शारीरिक रूपमा कमजोर नै हुन्छन् र सुरक्षाका नाममा सदा संरक्षण खोजिरहन्छन् । यो सोच यथार्थमा आधारित छैन । यही चिन्तन सामाजिक सँंस्कार र व्यवस्था बन्न पुग्यो, जसले गर्दा उनीहरू सदा कमजोरका पात्र बनिरहे । यसरी महिलाहरूको अन्तरक्रिया केवल परिवार र वरिपरिसँग मात्र सीमित भयो । बाहिर उनीहरूको आवागमन विस्तारै कम हुँदै गयो, जसले गर्दा महिलाहरूको मनोबललाई कमजोर बनायो । इज्जत, सम्मान, समानता, आदर, स्नेह, प्रेम आदि गुण परिवारमा हुँदा शान्तिको अनुभूति हुन्छ, यो सबैका लागि आवश्यक हुन्छ तर यसको ठाउँमा असमानता, विभेद, दमन भयो भने परिवारमा अशान्ति हुन्छ । खुसी, सम्मान र आदर सबैलाई मनपर्छ । आखिर हामी किन लेख्छौं, किन पढ्छौँ, किन बोल्छौं भन्ने कुराको निचोड आपसी खुसी र सम्मानका लागि नै त हो ।
पितृसत्तात्मक सोच समाजमा, परिवारमा, राज्य सत्तामा सक्रिय रूपमा रहेको छ भन्ने पक्षमा तालिमकै क्रममा सबैको विचार उठ्यो । महिलामाथिको शोषणको जड पितृसत्तात्मक सामाजिक संरचना हो भन्ने निष्कर्षका रूपमा आयो तर म भने यस कुरामा पुरै सहमत भइनँ । पितृसत्तात्मक सोच भनेको पुरूषप्रधान अर्थात् पुरूषको बर्चस्व नै हो तर निरपेक्ष रूपमा यो मात्र शोषणको जड भने होइन । यो सत्य हो, धेरै महिलाहरू पुरूषबाट शारीरिक र मानसिक रूपमा शोषित छन् तर पितृसत्तात्मक संरचनाको आधार आर्थिक प्रणाली हो । महिला र पुरूष मात्र होइन, कथित पानी नचल्ने जात, अछुत जात, ब्रहामण, क्षेत्री तथा विभिन्न जातीय वर्गको संरचना समेत बनेको छ । हाम्रो आर्थिक प्रणालीको स्वरूप शक्तिसँग जोडिएको छ । आर्थिक रूपले सम्पन्न (हुने) र आर्थिक रूपले विपन्न वर्गका (नहुने)े बिच समाजमा ठुलो विभेद छ । हुनेकोे भाषा शक्तिशाली हुने र नहुनेको भाषा पनि नबिक्ने भनेको विभेदकै दृष्टान्त हो । दुनियाँमा आर्थिक पकड कसको हातमा छ ? पुँजीवादीको हातमा छ । उसको संख्या ठुलो छैन तर शक्तिशाली छ । गरिब वर्गको संख्या ठुलो छ तर कमजोर छ । आर्थिक रूपले सम्पन्नले कमजोरलाई नियन्त्रण गर्छ अर्थात् उनको बर्चस्व हरेक क्षेत्रमा हुन्छ । आज हामी अमेरिकालाई देख्न सक्छौं, उसको भाषा, उसको भेष, उसको संस्कृतिलाई हामी अनुसरण गर्छौ र हाम्रा भाषा र दैनिक व्यवहारलाई अङ्ग्रेजीकरण गरेका छौं । अहिलेसम्मको अनुभवमा जो आर्थिक रूपमा कमजोर छन्, उनीहरू दलित हुन् । समाजमा उनका स्वर साना छन्, दबेका छन् र कमजोर छन् । दलित केवल जात मात्र होइन, दलित महिला पनि हुन्, दलित गरिब पनि हुन् । जातले ब्राह्मण भएर के गर्ने ! गरिबीका कारण उनीहरू पनि शोषणको सिकार बनेका छन् । पद र प्रतिष्ठाका तहमा विभेदको सामना उनीहरूले पनि गर्नुपर्ने हुन्छ । फेरि पितृसत्तात्मक सोच महिला र पुरुष दुबैमा विद्यमान छ । शक्ति, स्थिति र मनोविज्ञानको कुरा लामो समयदेखि महिला र पुरुषको दिमागमा भरिएको छ । यो कुरा बुझ्न आवश्यक छ कि यो महिला र पुरूषबिचको लडाइँ मात्र होइन । पितृसत्ता शब्द नै तानाशाही जस्तै बुझिन्छ । सत्ता, जसद्वारा शासन गरिन्छ, हुकुम चलाइन्छ । शक्तिशाली भएर नै हुकुम चल्छ ।
पितृसत्ताको स्वरूप हुकुम चलाउने र दबाउने प्रकृतिको हुन्छ । यदि पुरूषमाथि हुकुम चलाउने र उनीहरूमाथि शासन गर्न सक्ने अवस्था हुने हो भने फेरि पितृसत्ताका ठाउँमा हुन्छ, मातृसत्ता । अर्को असमानता आउने भयो । नसोचीकन भन्ने हो भने माता, बहिनी वा स्त्रीहरूलाई खुसी लाग्ला तर पुरूषहरूमाथि दमन गर्ने प्रणाली सुरु हुन्छ । दमन, शोषण, असमानता यी विभेदका विभिन्न रूपहरू हुन् । त्यसैले पितृसत्ताको विरोधको लडाई भनेको संसदीय व्यवस्था जस्तै लाग्छ । जसरी संसदीय प्रणालीमा किनबेच हुन्छ र आफ्नो स्वार्थ सिद्धि अवस्थामा अधिकारका दुइचार कुरा गरेपछि समानता भइहाल्छ । मन परेन भने असमानताको अवस्था सिर्जना हुन्छ र द्वन्द्व पैदा हुन्छ । एक अर्कालाई गिराउने र उठाउने प्रवृत्तिका कारण पितृसत्ताको बुझाइ बराबरीको नाममा पुरूषको नक्कल गर्ने र बदलाको भावले हेर्ने दृष्टिकोणको विकास हुन्छ । त्यो भनेको अधिकारको नाममा गरिने विभेद हो । तर, सामाजिक लैङ्गितकाको बुझाइ भनेको लोकतन्त्र हो, समाजवाद हो किनकि यहाँ व्यक्तिको विचार, सृजनात्मक क्षमता, रुचि, बुद्धि र विवेकको समुच्चयबाट सामाजिक सम्बन्ध बन्छ । सम्बन्ध बदलिन पनि सक्छ अर्थात् परिवर्तन गर्न सकिन्छ ।
महिला र पुरूषको सामाजिक र सांस्कृतिक आधारमा गरिएको परिभाषा भनेको उनीहरूले के के गर्ने र के के नगर्ने भन्ने सामाजिक मान्यताबाट स्थापित रहेको छ तर त्यो प्राकृतिक नियम होइन । त्यसैले यसमा परिवर्तन हुन सक्छ र भएको पनि छ । यस किसिमको बुझाइले मात्र महिलाहरूको क्षमता र प्रतिनिधित्वलाई स्वीकार गर्न सकिन्छ । समाजको सुन्दरता समानतामा देखिन्छ किनभने यसले समान व्यवहार गर्छ । यसमा कसैको कृपाको कुरा हुँदैन । सम्मान, आदर, समानता यी साझा कुराहरू हुन् । यस्तो भएपछि सामाजिक वातावरण स्वच्छ हुन्छ र सुन्दर देखिन्छ । यो सुन्दरता त्यतिबेला देखिन्छ, जतिबेला सबैलाई सम्मान र स्वीकार गर्न सकिन्छ । यो नै अहिलेको यथार्थ हो ।
भाषा एउटा ठुलो शक्ति हो । अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको छ । यसको मुख्य कारण अर्थशक्ति हो । आर्थिक रूपले सम्पन्न देशको भाषा पनि सम्पन्न र शक्तिशाली हुन्छ । यसको गहिरो सम्बन्ध समाज, परिवार र व्यक्तिसँग जोडिएको छ । समाजमा आर्थिक रूपले सम्पन्न वर्गको भाषिक व्यवहारको सिको गर्ने चलन पनि देखिन्छ, जसले उत्पादनमा नियन्त्रण गर्छ, उसले विनाहिचकिचाहट जोसुकैलाई पनि यो गर्ने वा यो नगर्ने भनेर निर्देश गर्न सक्छ । अतः कहिलेकाहीँ भाषाले निर्बलतालाई प्रश्रय दिएको पनि पाइन्छ । दबिएका, हेपिएका, पछाडि पारिएकाहरूलाई कमजोर बनाउने साधन हामीले बोल्ने भाषा पनि हो । समाजमा कतिपय यस्ता उखान र भनाइहरू छन्, जसले महिलाहरू असहाय नै हुन् भनी स्थापित गर्न सघाएका पनि छन् । त्यति मात्र होइन, यस्ता उखानहरू हाम्रो समाजमा संस्कार नै बनेको पाइन्छ ।
लैंगिकता भनेको विचार हो । बच्चादेखि वृद्धसम्मले बुझ्नै पर्छ किनकि यो मानवीय जीवन व्यवहार र समाजसँग प्रत्यक्ष रूपमा जोडिएको छ । प्रकृतिले विविधता जन्माएको छ तर मानवीय विभेद जन्माएको छैन ।
केही क्रान्तिकारी महिलाहरूले नेपालमा २०४४ सालतिर भएको सुन्दरी प्रतियोगिताकोे विरोध गरेका थिए । यसका बारेमा ठुलो विवाद भएको थियो । तर मिडियाले सुन्दरी प्रतियोगिताको सर्मथन गरेर आन्दोलनकारी महिलाहरूले उठाएका महत्त्वपूर्ण सवालहरूलाई खासै महत्त्व दिएन । अधिकारका नाममा गरिएको यस्तो कार्यक्रमले दुइचार महिलाहरूलाई मिडिया मार्फत चर्चामा आउने वातावरण तयार त भयो भने केही महिलाहरूले दाम र नाम पनि कमाए । नेपाल सुन्दरीका नाममा हुनेखाने र पहुँच भएकाको उपस्थितिमा गरिएको सुन्दरी प्रतियोगिता कार्यक्रममार्फत सीमित महिलालाई सुन्दरीमा दर्ज गर्नु भनेको नेपाली समाज र आम नेपाली महिलामाथि भएको विभेद वा महिलाको समग्र अस्तित्वको मोलमोलाइ तथा बेचबिखन समेत हो । यस प्रकारको विभेदको विरोध गर्दा आयोजकले महिला अधिकार हनन् भएको, अराजकता सिर्जना भएको भन्ने आरोप लगाएको र तत्कालीन सरकारद्वारा आन्दोलनकारीहरूलाई गिरफ्तार पनि गरिएको थियो । तर सुन्दरी प्रतियोगिताको मुख्य आधारका रूपमा शारीरिक बनोटको नापतौल र अङ्ग्रेजीमा महिला अधिकार र सामान्य ज्ञानका दुइचारवटा प्रश्नहरू मात्र सोधिने गरिन्छ । अनि यसकै आधारमा नेपाल सुन्दरी भनेर घोषणा समेत गरिन्छ । यसबाट आम महिलाले के सिक्छन् ? के प्रेरणा पाउँछन् ? यसले गरिब, शारीरिक रूपमा फरक क्षमता भएका महिलालाई बल होइन, निर्बल बनाउँछ, खुसी होइन, खिन्नता प्रदान गर्छ । सशक्तीकरण होइन, बञ्चितीकरण गर्छ । नेपाल सुन्दरी प्रतियोगिता कार्यक्रम आयोजकको सर्तमा बाँधिएको हुन्छ । विजित नेपाल सुन्दरीका बिच के गर्ने नगर्ने कहाँ जाने, के लगाउने, के नलगाउने र के बोल्ने भन्ने बारेमा पूर्वसहमति गरिएको हुन्छ । आयोजकको निर्देशनमा विज्ञापनको साधन बन्नुपर्छ । यी नेपाल सुन्दरी भनेका विकसित बँधुवा मजदुर जस्तै हुन् । प्रकृतिले मानव सुन्दरताको सुचक बनाएको छैन । यो सुन्दरताको सुचक मानिसको विवेकले निर्धारण गरेको हो । यो प्रतियोगिता मानव खरिदबिक्री गर्ने एउटा प्रक्रिया जस्तै हो । यस्तो अधिकारले समाज रूपान्तरण गर्न सहयोग पुग्छ वा बहुराष्ट्रिय कम्पनीहरूलाई सहयोग पुग्छ ? यस्तो प्रवृत्ति समानता हो वा असमानता, पितृसत्ता कि मातृसत्ता ? के हो भन्ने प्रश्न उठ्न सक्छ । बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाउने अनुरूप मानिसको बाह्य आकृति सुन्दर बनाउने, जवान बनाउने लगायतका विभिन्न साधनहरू, उपकरणहरू बनाएका छन् । एकातिर यस्ता कार्यक्रमलाई प्रोत्साहन दिने अर्कातर्फ कसरी आर्कषणको केन्द्र हुने, जवान देखिने भनेर महिलाहरूलाई सुन्दरीका नाममा लोभ्याउने र अल्मल्याउने गरिएको छ । यस्ता सुन्दरी प्रतियोगिताका कारण समाज, देश र विश्वका बिचमा विभिन्न प्रकारका द्वन्द्व तथा विकृतिहरू ल्याउने काम पनि भएको देखिन्छ । यो एउटा व्यापार हो, उपभोगतावादी प्रक्रिया हो । अन्ततः यसले पुँजीपतिहरूलाई नै फाइदा दिएको छ । यसबाट आम नेपाली महिलाहरूलाई उनीहरूका सामु आइपर्ने समय, परिस्थितिसँग डटेर सामना गर्न आत्मबल मिल्दैन । जो सुन्दरी प्रतियोगितामा सुन्दरी घोषित हुन्छन्, उनलाई छालामा चाउरी पर्ला कि भन्ने, लुगा कस्तो लगाउने, शरिरको बनावट बिग्रिने अर्थात् सोसल मिडियामा आफ्नो सुन्दरताको चर्चा हुँदैन कि भन्ने चिन्ताको विकास भइरहन्छ । यसरी उनले जीवन र जगत्को सुन्दर भविष्यको कल्पना कसरी गर्न सक्छिन् ! सधँै उनीहरू आप्mनो स्तर र शारीरिक बनोट चुस्त र फुर्तिलो राख्ने क्रियामा व्यस्त रहन्छन् । जीवनको यथार्थ मूल्य, समाजको विकासको चेतनाभन्दा पनि आधुनिकीकरणका नाममा आएको पुँजीवादी बजार व्यवस्थाले हामीजस्ता गरिब मुलुकका युवाहरूलाई परिवार र समाजबाट अलग्याएको छ ।
बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेको वस्तुहरूको बजारीकरण गरी विचारभन्दा पनि भौतिक सुख र सुन्दरतामा हामीलाई अलमल्याइदिएको छ किनकि सुन्दरीले लगाएको कपडा, गहना आदिको डिजाइन, उनले प्रयोग गर्ने कस्मेटिक सामानहरू किन्न र प्रयोग गर्नमा आजका युवायुवतीहरूमा ठुलो प्रतिस्प्रर्धा हुनेगरेको छ । यही प्रतिस्पर्धाका कारण आजको बजारमा मानिसको जीवनशैलीको मोलतोल भइरहेको छ । यस्ता प्रतियोगिताले आजका युवाहरूमा सृजनशील बन्नेभन्दा पनि उनीहरूलाई शरीरको बाह्य आकार प्रकारका चिन्तामा अलमल्याएको छ । सुन्दरीजस्तै म पनि कसरी सुन्दरी बन्ने भनेर समाजको चिन्ताभन्दा पनि आफ्ना बारेको चिन्ता बढाइदिएको छ अर्थात् व्यक्तिवादी प्रवृत्तिको विकास बढ्दै गएको छ । सुन्दरता त व्यक्तिको रङरूपमा हुन्छ र ? उसको चरित्रमा हुन्छ । प्रकृतिले भनेको छैन, यस्तो मानिस सुन्दर हुन्छ । प्रकृतिले थरि थरिका मानिसहरूका रूप बनाएको छ । कसैको कसैसँग मिल्दैन । यति विशाल छ, प्रकृतिको संरचना । तर मानिसको विचार कति साँघुरो छ । यस्ता सुन्दरी प्रतियोगिताले सुन्दरीको मानकभित्र मात्र सुन्दरता अटाउँछ, बाँकी सबै कुरूप हुन्छन् भन्ने सन्देश प्रवाह गरेर विभेद खडा गरेको छ । अहिलेको पुँजीवादी/विश्वव्यापीकरणको दुनियाँमा महिला अधिकार अर्थात् मानव अधिकार अधिकांशतः एउटा ठुलो नारा अर्थात् मजबुत हतियार बनेर आएको छ, जसले मानिसहरूका बिचमा भ्रम पैदा गरेको छ । अधिकारका नाममा जति पनि सम्मेलन भए तापनि विभेद घटेको छैन । विभेदको स्वरूपमा परिवर्तन आएको छ अर्थात् स्वरूप फरक भए तापनि यो झन् झन् बढ्दै गएको छ । लैङ्गिक समानता भनेको एउटा जिम्मेवारी र केही गर्ने सपना हो । महिलाको सम्बन्ध परिवारमा मात्र सीमित छैन, बरु आसपासको परिस्थितिसँग पनि जोडिएको छ ।
एकचोटि हाम्रा बिचमा सिनेमाको कुरा चलिरहेको थियो । त्यो भनेको हिन्दी सिनेमा गुन्जन थियो । गुन्जन छोरीको नाम हो । एउटा परिवारमा बाउ, आमा, छोरी र छोरा हुन्छन् । गुन्जन पाइलट बन्न चाहन्थिन् । यसमा आमा र दाइले गुन्जनलाई सहयोग गर्दैनन्, कमजोर बनाउँछन किनकि गुन्जन एयर फोर्सको पाइलट बन्न चाहन्थिन् । लैङ्गिक सम्बन्धको राम्रो उदाहरण बनेको छ गुन्जन सिनेमा । मनोरन्जनभन्दा पनि यसमा सामाजिक लैङ्गिकतासम्बन्धी द्वन्द्व देख्न सकिन्छ । वास्तवमा उक्त सिनेमा भारतको कार्गिल लडाइँमा आधारित थियो । यो भारत र कास्मिरको सीमा विवादसम्बन्धी लडाइँ हो, जुन अहिलेसम्म पनि समाधान नभएको लडाईं हो । यसै युद्धमा चारैतिरबाट गोली चलिरहेका बेला लड्दै गरेका घाइते आर्मी जवानहरूलाई आफ्नो ज्यानसमेत जोखिममा राखी हेलिकप्टरबाट उद्धार गर्छे गुन्जनले । आफ्नो सुरक्षाको वास्ता नगरी बहादुरीपूर्वक देशको माटोको सुरक्षाका लागि आप्mनो ज्यानलाई हत्केलामा राखेको देखिन्छ । यो सत्य घटनामा आधारित सिनेमा हो । महिला र पुरुषमा आखिर फरक छैन । महिलाले पनि पुरुषसरह ज्यानको बाजी लगाएर देशको सुरक्षाका लागि लड्ने जवानहरूको रक्षार्थ आफूलाई समर्पण गर्न सक्छिन् । पुरुषका तुलनामा महिलाको सङ्ख्या कम भए पनि कार्य क्षमतामा कमी देखिँदैन । कुनै पनि यस्तो कार्य छैन, जो महिलाले गर्न नसकेका हुन् । एकातिर देश अर्थात् आफ्नो माटोप्रतिको प्रेम, अर्कातर्फ प्राकृतिक लैङ्गिक विभेदका बिचमा पनि देशको सेनाको पुरुष सरह नै योगदान गरेको देखिन्छ । यसो भए तापनि गुन्जनले अध्ययन तथा तालिमका क्रममा धेरै लैङ्गिक विभेदको सामना गरेकी छिन् । उनले तालिममा परेड गर्दा, हेलिकोप्टर सिक्दा केटीका हात र खुट्टाका औंला साना भए भनेर थुप्रै विभेदका गौंडाहरू पार गर्नुपरेको थियो । उनी यसका लागि धेरै पटक असफल बनाइएकी थिइन् ।
चलचित्र हेरिसकेपछि हाम्री छोरी, उहाँ र मेरा बिचमा लैङ्गिकताका दृष्टिबाट छलफल पनि चलेको थियो । “गुन्जनका बाबाले आफ्नो छोरीको सपना पूरा गर्न सहयोग मात्र गरेनन्, मानसिक र भौतिक दुबै रूपले छोरीलाई तयार हुन र पाइलट बन्न सहयोग समेत गरेका छन्, नेपाली समाजमा त्यस्तै बाबाहरूको खाँचो छ, हैन त बाबा !” अनेक अप्ठ्याराहरूमा साथ र प्रेरणा दिने आफ्ना बाबाप्रति कृतज्ञ हुँदै हाम्री छोरीले भनेकी थिइन् र उहाँको प्रतिक्रिया थियो, “यो प्राकृतिक लैङ्गिकता होइन । गुन्जनलाई गरिएको विभेद सामाजिक लैङ्गिकता हो । यो सोच र व्यवहारलाई बदल्न सकिन्छ ।”
छोरीलाई आर्म फोर्सको पाइलट बनाउने कुरा व्यक्तिको इच्छा हो, गुन्जनलाई आमा र उनको दाजुले पाइलट बन्ने कुरामा सहयोग गर्ने त परै जाओस्, बरु मजाक उडाउने गर्थे । राम्रो परिवारमा विवाह गर्ने कुरामा भने उनकी आमाले जोड दिन्थिन् तर उनको बाबाले छोरीको इच्छामा सहमत जनाउँथे । यहाँ आमा महिला भए पनि आफ्नी छोरीलाई सहयोग गरेकी छैनन्, यो भनेकोे पितृसत्तात्मक सोचको परिणामले छोरीप्रतिको अविश्वास हो । तर बाउले पुरुष भएर पनि छोरीको आत्मविश्वास बढाउने कुरामा मानसिक र भौतिक सहयोग गरेका छन् । यो हो, सामाजिक लैङ्गिकताको बुझाइ किनकि सामाजिक लैङ्गिकता भनेको बदल्न सकिन्छ । सेना भन्ने बित्तिकै पुरुष भन्ने सोच आउँछ तर महिला पनि सेना भएर देशका लागि लडेका छन् र ज्यानको बाजी लगाएर बहादुरी देखाएका छन्, यो सामाजिक लैङ्गिकता हो । गुन्जनका बाबाले गुन्जनलाई यो केटा वा यो केटीभन्दा पनि व्यक्तिको रुचि हो भन्नेमा विश्वास गरेका छन् । सम्बन्ध बाउ–छोरीको भए तापनि उनले छोरीलाई एउटा सक्षम व्यक्तित्वका रूपमा हेरेका छन् । तसर्थ
नाताको जैविक सम्बन्ध हुन्छ तर व्यक्तिलाई प्राकृतिक लैङ्गिकताका रूपमा हेरिनु हुँदैन । मानिसको दिमागमा व्यक्ति होइन, जैविक नाता सेट भएको छ, जसले गर्दा परिवार, समाजमा यो सम्बन्ध हाबी भएको छ र अवचेतनमा भएर कहिलेकाहीँ जानी नजानी बाउले वा आमाले छोरीलाई माया गरेर बोलाउँदा ‘छोरो’ भनेर पनि बोलाउने गरेको पाइन्छ । यो अवचेतनमा भएर नै निस्केको शब्द हो ।
हामीले विश्वमा भएका युद्ध र आफ्नै देशमा भएको विगतको जनयुद्धमा महिलाहरूको भूमिकालाई नजिकबाट हेर्दा कुनै पनि सवालमा महिलाको योगदानमा कमी रहेको देखिँदैन । लड्ने कुरामा बहादुरीको प्रशंसा त गरिन्छ तर सत्ताको कुरा आउँदा भने सक्ने र नसक्ने क्षमताको कुरा उठाई विभेद गरेको देखिन्छ । लोकतान्त्रिक व्यवस्थामा समेत यो विभेद अभ्यासमा रहेको छ । धरै महिलाहरू क्षमता हुँदाहुँदै पनि उनीहरू जैविक लैङ्गिकताका नाममा पछाडि पारिएका छन् । संसदीय व्यवस्थाले अधिकार र समानताका बारेमा जतिसुकै भने तापनि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सामाजिक लैङ्गिकतालाई सहज र सरल रूपले स्वीकार गरेको देखिँदैन ।
युद्धमा महिलाको भूमिका र उनीहरूले सामना गरेका चुनौती र समस्याहरू अर्थात् उनीहरूमाथि भएका मानसिक र शारीरिक प्रताडनाजस्ता विषयमा द्वन्द्व व्यवस्थापन र शान्तिप्रक्रियामा सामाजिक लैङ्गिकताका आधारमा सूक्ष्म छलफल तथा व्यवस्थापन भएको देखिँदैन । यसबाट के थाहा हुन्छ कि
केवल महिला सशक्तीकरणको नारा मात्र गरेर हुँदैन, पुरुष पनि यस विषयमा व्यवहारतः सचेत हुन आवश्यक छ । उनीहरूमा यो सत्यलाई स्वीकार गरेर लैङ्गिक विभेद भनेको मानव मानव बिचको विभेद हो, अमानवीय व्यवहार हो भन्ने चेतना जागृत हुनु वा यस कुरामा सचेत हुनु भनेको पुरुष स्वयम्को सशक्तीकरण हो । सामाजिक लैङ्गिकता भनेको महिला र पुरूषका बिचको सामाजिक सम्बन्धलाई स्वाभाविक रूपमा बुझ्नु भनेको हो ।
यस्तै अर्को लैङ्गिकतासँग सम्बन्धित प्रसङ्ग यहाँ जोड्न आवश्यक देखिन्छ । यो बोलीचालीको भाषासँग जोडिएको विषय हो । हाम्रो बोलचालीको भाषाले परिवारको सम्बन्धमा पनि प्रभाव पार्दछ । एउटा घट्नाबाट यो कुरा बुझ्न सकिन्छ:
एकचोटि २०४७ सालतिर, म छोरीको स्कुल बस कुरिरहेकी थिएँ । मेरो साथमा नर्सरीमा पढ्दै गरेकी मेरी छोरी थिइन् । केहीबेर पछि स्कुल बस आयो । छोरीलाई बोकेर बसभित्र राख्दै गरेका बेला मेरो आँखा साथीको छोरीमा पर्यो । उनी मेरी छोरीभन्दा अलि ठुली थिइन् । मैले उनलाई छोरी ! भनेर हाँसे तर तिनी हाँसिनन्, अँध्यारो मुख लगाएर मलाई हेरिन् । रिसाएजस्तो वा नचिनेको जस्तो गरिन् । मैले फेरि छोरी ! छोरी भन्दै हाँस्दै बोलाउन खोजेँ तर उनी झन् झन् रिसाए जस्तो लाग्यो । यत्तिकैमा स्कुल बस गयो । ती छोरीकी आमा र म विचार मिल्दा पुराना साथी थियौं । दुःख सुखका कुराकानी भइरहन्थ्यो । केही दिनपछि रिसाएकी छोरीकी आमासँग सुन्धारामा भेट भयो र मलाई आफ्नो कोठामा जाऊँ भन्नुभयो । म पनि हुन्छ भनेर उहाँसगै लागेँ । कोठामा पुगेपछि उहाँले मलाई हाँस्दै भन्नुभयो, “मेरो बाबु तपार्इंसँग रिसाएको छ । त्यो शीलालाई हाम्रो घरमा पस्न नदिनु, मलाई त्यसले छोरी भनी भनेर मसँग गुनासो गरेको छ । किन भन्नुभयो त नि बाबुलाई छोरी” भनेर अलि जोड दिएर भन्नुभयो । सायद उहाँलाई पनि मैले छोरी भनेको मन परेनछ किनकि उहाँको प्रस्तुतिमा पनि रिसाएको आभास थियो अर्थात् मन नपरेको जस्तो आभास हुन्थ्यो । “छोरीलाई छोरी नभनेर के भन्ने ? माया गरेर भनेको हो । मेरो छोरीलाई पनि हामी दुबैले छोरी भनेर नै बोलाउँछौं” भनेर जवाफ दिएँ । तर उहाँलाई यो कुरा मन परेन । उहाँहरूले सानैदेखि छोरीलाई बाबु भन्ने, उसलाई केटाकै लुगा लगाइदिने गर्नुहुन्थ्यो । त्यसले गर्दा छोरीले पनि आफूलाई सबैले बाबु भनेर बोलाउन् र त्यस्तै व्यवहार गरून् भन्ने इच्छा राख्दिरहिछन् । मेरो विचारमा हामीले वास्तवमा जे हो त्यो स्वीकार गर्नुपर्छ । यो भनेको फेरि पनि अवचेतनमा छोरा र छोरीबिच गरिएको विभेद नै हो । छोरीलाई जबर्जस्ती ‘छोरा’ भन्नु या ‘बाबु’ भन्नु भनेको छोरा र छोरी बिच भेदभाव गर्नु हो । कहिलेकाहीँ मायाले भन्ने कुरा अर्को हो तर छोरीलाई ‘छोरी’ भनेर बोलाउँदा मन नपर्ने भनेको त पुरुष प्रधान व्यवस्थालाई प्रश्रय दिनु हो । यस्तो व्यवहारले आफू महिला भएकामा हीनताबोध गरेको बुझिन्छ । महिला भएर पनि आफूलाई महिलाका रूपमा स्वीकार गर्न नचाहनु भनेको केटी भएर केटीलाई घृणा गर्नु पनि हो । त्यसैअनुसार बच्चाले समेत यो संस्कार सिक्दै जान्छ । तर, एकदिन परिवारभित्रै आफू मानसिक रूपले हिंसामा परेको बोध पनि हुनजान्छ किनकि प्रकृतिलाई हामीले लुकाइरहन सक्दैनौँ । त्यसैले यो बच्चाको दोष नभएर हाम्रो दोष हो । छोरीलाई ‘छोरो’ भनेर वा बाबु भनेर ऊ सशक्त हुँदैन, बरु उसलाई अझ बढी मानसिक दबाब हुन जान्छ ।
लैङ्गिकतासम्बन्धी प्रशिक्षक प्रशिक्षणमा मैले एउटा अभ्यास गराएकी थिएँ । सबैजना सहभागीहरूको दुई समूह बनाएर लैङ्गिक विभेदका उखान–टुक्काहरूको सूची तयार गर्न लगाएँ । त्यो सूची तयार भइसकेपछि लैङ्गिक समानता देखाउने सूची पनि तयार गर्न भनेँ । सबैले तयार गरिसकेपछि पालैपालो प्रस्तुत गर्नुभयो । बडो रोचक अभ्यास थियो । समानता देखाउने उखानहरू र प्रयोग, असमानता तथा विभेद देखाउने उखानहरूको प्रयोग समाजमा कहाँ र कसरी भएको छ भन्ने बारेमा छलफल भयो । अब यसबाट लैङ्गिक समानतालाई कायम राख्ने र विभेदलाई हटाउने भन्ने सवाल उठ्यो । सहभागीहरू बडो रोचक र उत्साहित भएर छलफलमा सहभागी हुनुभएको थियो । उहाँहरूले बनाएको सूचीका आधारमा एउटा लैङ्गिक समानता देखाउने उखानका बारेमा बताउन भनेँ । सबैले लैङ्गिक समानता देखाउने उखान छनौट गर्नुभयो । सबैको विचार आइसकेपछि उहाँहरूले सङ्केत गरेको एउटा बडो सुन्दर र सशक्त उखानलाई रेखाङ्कन गरेँ । आखिर महिला र पुरुषको सामूहिक सहयोगबाट समाज र सामाजिक सम्बन्ध बन्छ र त्यसको अस्तित्व पनि हुन्छ । एक अर्काको भरमा समाजको संरचना अडिएको छ, हैन र ? भनेर सोधेँ । सबैले “हो… हो…” भनेर ठुलो आवाजमा भन्नुभयो ।
महिला र पुरुषको सामाजिक सम्बन्ध पनि “माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो नै त रहेछ !”