Asmita Magazine

#

माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो

सामाजिक सम्बन्ध के हो ? यसको स्वरूप कस्तो हुन्छ ? यसको महत्त्व र अर्थ के कुराले निर्धारण गर्छ ? श्रीमान् र श्रीमतीको सम्बन्ध, अभिभावक र छोराछोरी, महिला र पुरुष ,राष्ट्रियता, जातीयता, क्षेत्रीय यी विभिन्न प्रकारका सामाजिक सम्बन्धहरू हुन्छन् । समाजिक सम्बन्धहरूको निर्माण हुने आधार महिला र पुरूष हुन् । यिनीहरू बिचको अन्तरक्रिया र एकअर्का बिच गरिएको प्रतिक्रियाले सामाजिक सम्बन्ध बन्दै जान्छ । एक सिक्काका दुई पाटामध्ये एउटा पाटामा खोट देखियो भने पूरा सिक्काको मूल्यमा असर पर्छ । जब केवल महिलाहरूको वा पुरूषहरूको मात्र एकोहोरो संवाद हुन्छ, त्यतिबेला सामाजिक सम्बन्ध अधुरो हुन्छ अर्थात् त्यसको कुनै मूल्य हुँदैन । यसै सन्दर्भमा प्रस्तुत आलेखमा लैङ्गिक सम्बन्धका वैचारिक सन्दर्भहरूलाई पनि जोड्ने प्रयास गरिएको छ ।

म नोकरीका क्रममा एउटा शिक्षा र विकास ट्रेनिङको लागि भारतको उडिसामा गएकी थिएँ । त्यहाँ करिब ३५ देशका सहभागीमध्ये एकजना महिला र एक जना पुरुषको सहभागिता थियो । नेपालको तर्फबाट म पनि सहभागी भएकी थिएँ । तालिमका क्रममा एउटा अभ्यास गराइएको थियो, त्यो यहाँ जोड्न सान्दर्भिक लाग्यो । करिब ७० जनाको सहभागितामा सहजकर्ताले हामी सबैलाई महिला र पुरुष दुई समूहमा विभाजित हुने भन्नुभयो । हामी दुई समूहमा विभाजित भयौँ । हामी ३५ देशका महिलाहरूको एक समूह बन्यो । त्यसैगरी ३५ देशका पुरूषहरूको अर्को समूह बन्यो । पुरूष र महिलाको अलग अलग सङ्ख्याका आधारमा महिला र पुरूष आआफ्‌नो समूहमा बस्नुभयो । देश फरक फरक भए तापनि हामी महिलाहरू एउटा समूहमा थियौँ । अमूक देशको ऊ भन्ने भावना भन्दा पनि हामी सबैको जात महिला हो भन्ने भावना थियो । यो भनेको जैविक/लैङ्गिक भिन्नता हो । यसै गरी पुरूषहरूको समूहमा पनि फरक फरक देशका भए तापनि हामी सबैको जात पुरुष हो भन्ने भावना थियो तर दुबैको सामाजिक जात भने मानव नै हो । यसको तात्पर्य यस दुनियाँमा महिला र पुरुषको अलग अलग जैविक समाज बनेको छैन र त्यसको अस्तित्व पनि हँुदैन भन्ने बुझिन्छ । त्यसपछि राष्ट्रका आधारमा महिला र पुरूष आफ्‌नो आफ्‌नो राष्ट्रको समूहमा बस्ने काम भयो । यतिबेला महिला र पुरूषको फरक फरक राष्ट्र भन्ने कुरा थिएन । हामी एउटै राष्ट्रका हौँ भन्ने भावना थियो । यसलाई नै सामाजिक लैङ्गिक सम्बन्ध भनिन्छ । राष्ट्रको पहिचान महिला र पुरूष दुबैको सहअस्तित्वबाट बनेको हुन्छ । माथि उल्लिखित खेलको औचित्य त्यतिबेला पुष्टि हुन्छ, जब महिला र पुरूषको अलग अलग सङ्ख्याको वा प्रतिनिधित्वको कुरा उठ्छ । जात, देश, राष्ट्रियताका सन्दर्भमा महिला र पूरूषको जैविक अर्थात् प्राकृतिक भिन्नताको सम्बन्ध हुँदैन । उनीहरूको सामाजिक पहिचान भनेको व्यक्ति हो । यो महिला वा यो पुरूष भनेर प्राकृतिक लैङ्गिताका आधारमा पहिचान हुँदैन । हामी एउटै देश, राष्ट्र, जात, धर्म भनेर बुझ्‌छौँ तर जब शक्तिको, जिम्मेवारीको र भूमिकाको कुरा आउँछ, त्यतिबेला सामाजिक लैङ्गिताका आधारमा नहेरी प्राकृतिक लैङ्गिताका आधारमा मात्र मोलमोलाइ गर्ने कुरा उठ्छ । यस्तो प्रकृतिको सम्बन्ध सत्ता, शक्ति र हिंसात्मक क्रियासँग जोडिएको देखिन्छ किनभने क्रियाकलापको स्वरूप असमानता र अन्यायमा आधारित हुन्छ । महिलाले गर्ने काम यो, पुरूषले गर्ने काम त्यो भनेर प्रकृतिले कहीँ कतै पनि विभेद गरेको छैन । उनको भूमिलाई महिला र पुरूषको जैविक आधारमा छुट्याएर व्यवहार गरिन्छ भने त्यो लैङ्गिक हिंसा हो । यस विषयमा मैले मेरा श्रीमान् (प्रा.डा. ताराकान्त पाण्डेय) को अभिमत पनि लिएकी थिएँ, “खास प्रयोजनका लागि मात्र महिला र पुरूषलाई प्राकृतिक लैङ्गिकताका आधारमा छुट्टयाउन आवश्यक हुन्छ । जस्तो जनसङ्ख्या विभाजन गर्दा, तालिमहरूमा सङ्ख्या देखाउनुपर्दा अर्थात् महिला र पुरूषको अलग अलग प्रतिनिधित्व देखाउनुपर्दा मात्र लैङ्गिक भिन्नता देखाउन सकिन्छ । यीबाहेक बाँकी सबै किसिमका कामहरू सामाजिक लैङ्गिक सम्बन्धमा पर्दछन्, यसमा प्राकृतिक लैङ्गिक कुरा आउँदैन । समाजिक गतिविधिहरू अर्थात् सामाजिक, आर्थिक, राजनीतिक तथा विकास महिला र पुरूषका साझा सवाल हुन् । यसमा जैविक सम्बन्ध हुँदैन भने महिला र पुरूषको भनेर नापतौल किन गर्ने ?”। उहाँको यस्तो विचार सुनेर मलाई चित्त बुझ्यो किनकि धारणागत रूपमा उहाँको विचार स्पष्ट थियो । वास्तवमा सङ्ख्या देखाउनका लागि मात्र महिला यति, पुरूष यति भनिन्छ तर अरू कुरामा किन फरक ? भन्ने कुरा नै लैङ्गिक चेतना हो । यसमा तर्कको कुरा आउँदैन । यो प्राकृतिक लैङ्गिकता होइन । क्षमता, जिम्मेवारी, भूमिका यी व्यक्तिको रुचि र आवश्यकताले निर्धारण गरिने कुरा हुन् । महिलाले दश महिना पेटमा बच्चा राख्छिन्, दुध चुसाउँछिन्, यो प्राकृतिक लैङगिता हो, जसलाई बदल्न सकिँदैन । पुरूषले यसबाहेक अरू सबै काम गर्न सक्छन् ।

महिला र पुरूषको माटो तथा धर्तीसँगको सम्बन्धलाई हेर्दा पुरूषको सम्बन्ध स्वामित्वसँग जोडिएको पाइन्छ भने महिलाको सम्बन्ध संरक्षण र प्रयोगसँग मात्र जोडिएको पाइन्छ । यो सामान्य जस्तो लाग्छ तर महिलाको माटोसँग बडो गहन र सुन्दर सम्बन्ध छ । पहाड, हिमाल, तराई र विश्वकै परिवेशमा हेरियो भने पनि महिलाको जीवनको दैनिकी माटोसँग सुरु हुन्छ । उनीहरूको कुनै न कुनै रूपमा माटोसँग प्रेमपूर्ण सम्बन्ध रहेको हुन्छ । घर बडार्ने, पोत्ने, करेसाबारी र वरिपरि माटो खन्ने, तरकारी र अन्य विरुवा रोप्ने (गमलामा विरुवा रोप्ने समेत), गोड्ने जस्ता कामहरूमा महिलाहरूको रुचि, आवश्यकतासँगै उनीहरूको संस्कार बनेको पाइन्छ ।

सहरका पढेलेखेका महिलाहरूले पनि माटोलाई धेरै प्रेम गरेको देखिन्छ । भान्साको छाक टार्ने मात्र होइन, भान्सामा खेर गएका वस्तुहरू मल बनाएर गमलामा राख्ने, फुल रोप्ने, गोड्ने र तरकारी, फल फलाएको र फूल फुलाएको देख्दा घरको सुन्दरता, परिवारमा खुसी मात्र होइन, वातावरणीय स्वच्छतामा पनि सहयोग पुगेको हुन्छ । उनीहरूको पर्यावरणीय स्वच्छता र सौन्दर्य निर्माणमा पनि गहिरो सम्बन्ध देखिन्छ । जग्गा नभए पनि माटो बोकेर रोप्ने, फलफूलका बिरुवा लगाउने र घर पोत्ने काम महिलाहरूले परम्परादेखि निरन्तर गरिआएको देखिन्छ । यसलाई कस्तो सम्बन्ध भन्ने ? हेर्दा साधारण लाग्छ तर यसले परिवारमा महिलाको सम्बन्धलाई मात्र देखाउँदैन, सिङ्गो सामाजिक वातावरणलाई सुन्दर र सम्पन्न बनाउन समेत सहयोग पुगेको देखिन्छ । तर, यो सम्बन्ध समाजमा, परिवारमा र राज्यमा कहीँकतै महान् वाणी बनेर आएको देखिँदैन । उनीहरूले माटोका सुन्दर भाँडा बनाएर घरायसी राखनधरनका साधन बनाउने मात्र होइन, यसबाट आयआर्जनको मूख्य स्रोतका रूपमा माटोलाई आफ्‌नो जीवनको आधार बनाएका छन् । माटाका सुन्दर भाँडाहरू, अनाज राख्ने भकारीहरू (डहरी) बनाउने महिलाका यी सीपहरूको समाजमा न त कतै उखान र प्रेरणाका स्रोत बनेर हौसला दिने काम गरेका छन्, न त कतै सामाजिक जीवनमा सौन्दर्यको स्रोत नै बनेका छन् तर उनीहरूका यी सिपहरूले परिवार र समाजको पहिचान भने बनाएका छन् ।

आमाको मन, धर्तीमाता, आमाको काख सायद यी शब्द सबैलाई मनपर्छ । बडो खुला मन, सम्मान तथा आदरभावले भनिने गरिन्छ । यसमा शक्तिको कुरा छैन, स्नेह प्यार त्यो पनि विना सर्तको, खुला हृदयको, स्वच्छ मन । धर्तीमाता भनेको माटो नै हो, देशको माटो तर जब शक्तिको कुरा आउँछ, निर्देशन दिने कुरा आउँछ, निर्णय गर्ने कुरा आउँछ, त्यतिबेल यस्तो महान सोच किन आउँदैन ? यो महिला, यो पुरूष भन्ने सङ्कीर्ण सोचको दवाब पर्न थाल्छ । महिलाको क्षमताको लेखाजोखा गर्ने काम हुन्छ, महिला र पुरूषको सामाजिक अस्तित्व एउटै हो भन्ने भाव स्वभाविक प्रवृत्तिका रूपमा बाहिर अझै आउन सकेको छैन । महिला र पुरूषको राष्ट्रियता अलग अलग नभई एउटै हुन्छ । व्यक्तिको क्षमता, दक्षता र व्यवहार नभनेर पूर्व अनुमानका आधारमा महिला र पुरूषले गर्न सक्ने, नसक्ने भनेर हेर्ने सङ्कीर्ण प्रवृत्ति अझै पनि विद्यमान छ । यो प्रवृति विद्यमान रहनु भनेको समानता नचाहनु हो । समानता नचाहनु भनेको हिँसा गर्नु हो । यस्ता प्रवृत्तिले असमानतालाई हटाउन सम्भव छैन । प्रकृतिले विभेद यति मात्र गरेको छ कि महिलाले १० महिना पेटमा बच्चा राख्छिन् र स्तन पान गराउँछिन् तर पुरूष यस कुरामा बन्चित छन् । बाँकी सबै कुरामा फरक छैन, एउटै छ । बच्चा जन्माउने आमालाई महान् भन्ने चलन हाम्रो समाजमा छ तर महिलामा भएको क्षमता र उसमा भएको विशेषतालाई सहज रूपमा स्विकार गर्ने प्रवृति साँगुरो छ । यो दोष कुनै एउटा व्यक्तिको मात्र नभई सिङ्गो संरचना र संस्कारगत सवाल हो, जसलाई परिवर्तन ल्याउनका लागि सांस्कृतिक सङ्घर्ष अपरिहार्य छ । यसको जिम्मेवारी महिला र पुरूष दुबैको हो । महिलाहरूको महिनावारी हुँदा, बच्चा पेटमा भएको अवस्थामा विशेष रेखदेख तथा ख्याल गर्ने समय हो । यसका लागि केही समय उनीहरू घरमा बस्नुपर्ने बाध्यता हुन्छ । यस सन्दर्भमा पुरूषहरू स्वतन्त्र हुन्छन् तर यसको मतलब यो होइन कि महिलाहरू सधैँ नै मानसिक र शारीरिक रूपमा कमजोर नै हुन्छन् र सुरक्षाका नाममा सदा संरक्षण खोजिरहन्छन् । यो सोच यथार्थमा आधारित छैन । यही चिन्तन सामाजिक सँंस्कार र व्यवस्था बन्न पुग्यो, जसले गर्दा उनीहरू सदा कमजोरका पात्र बनिरहे । यसरी महिलाहरूको अन्तरक्रिया केवल परिवार र वरिपरिसँग मात्र सीमित भयो । बाहिर उनीहरूको आवागमन विस्तारै कम हुँदै गयो, जसले गर्दा महिलाहरूको मनोबललाई कमजोर बनायो । इज्जत, सम्मान, समानता, आदर, स्नेह, प्रेम आदि गुण परिवारमा हुँदा शान्तिको अनुभूति हुन्छ, यो सबैका लागि आवश्यक हुन्छ तर यसको ठाउँमा असमानता, विभेद, दमन भयो भने परिवारमा अशान्ति हुन्छ । खुसी, सम्मान र आदर सबैलाई मनपर्छ । आखिर हामी किन लेख्छौं, किन पढ्छौँ, किन बोल्छौं भन्ने कुराको निचोड आपसी खुसी र सम्मानका लागि नै त हो ।

पितृसत्तात्मक सोच समाजमा, परिवारमा, राज्य सत्तामा सक्रिय रूपमा रहेको छ भन्ने पक्षमा तालिमकै क्रममा सबैको विचार उठ्यो । महिलामाथिको शोषणको जड पितृसत्तात्मक सामाजिक संरचना हो भन्ने निष्कर्षका रूपमा आयो तर म भने यस कुरामा पुरै सहमत भइनँ । पितृसत्तात्मक सोच भनेको पुरूषप्रधान अर्थात् पुरूषको बर्चस्व नै हो तर निरपेक्ष रूपमा यो मात्र शोषणको जड भने होइन । यो सत्य हो, धेरै महिलाहरू पुरूषबाट शारीरिक र मानसिक रूपमा शोषित छन् तर पितृसत्तात्मक संरचनाको आधार आर्थिक प्रणाली हो । महिला र पुरूष मात्र होइन, कथित पानी नचल्ने जात, अछुत जात, ब्रहामण, क्षेत्री तथा विभिन्न जातीय वर्गको संरचना समेत बनेको छ । हाम्रो आर्थिक प्रणालीको स्वरूप शक्तिसँग जोडिएको छ । आर्थिक रूपले सम्पन्न (हुने) र आर्थिक रूपले विपन्न वर्गका (नहुने)े बिच समाजमा ठुलो विभेद छ । हुनेकोे भाषा शक्तिशाली हुने र नहुनेको भाषा पनि नबिक्ने भनेको विभेदकै दृष्टान्त हो । दुनियाँमा आर्थिक पकड कसको हातमा छ ? पुँजीवादीको हातमा छ । उसको संख्या ठुलो छैन तर शक्तिशाली छ । गरिब वर्गको संख्या ठुलो छ तर कमजोर छ । आर्थिक रूपले सम्पन्नले कमजोरलाई नियन्त्रण गर्छ अर्थात् उनको बर्चस्व हरेक क्षेत्रमा हुन्छ । आज हामी अमेरिकालाई देख्न सक्छौं, उसको भाषा, उसको भेष, उसको संस्कृतिलाई हामी अनुसरण गर्छौ र हाम्रा भाषा र दैनिक व्यवहारलाई अङ्ग्रेजीकरण गरेका छौं । अहिलेसम्मको अनुभवमा जो आर्थिक रूपमा कमजोर छन्, उनीहरू दलित हुन् । समाजमा उनका स्वर साना छन्, दबेका छन् र कमजोर छन् । दलित केवल जात मात्र होइन, दलित महिला पनि हुन्, दलित गरिब पनि हुन् । जातले ब्राह्मण भएर के गर्ने ! गरिबीका कारण उनीहरू पनि शोषणको सिकार बनेका छन् । पद र प्रतिष्ठाका तहमा विभेदको सामना उनीहरूले पनि गर्नुपर्ने हुन्छ । फेरि पितृसत्तात्मक सोच महिला र पुरुष दुबैमा विद्यमान छ । शक्ति, स्थिति र मनोविज्ञानको कुरा लामो समयदेखि महिला र पुरुषको दिमागमा भरिएको छ । यो कुरा बुझ्‌न आवश्यक छ कि यो महिला र पुरूषबिचको लडाइँ मात्र होइन । पितृसत्ता शब्द नै तानाशाही जस्तै बुझिन्छ । सत्ता, जसद्वारा शासन गरिन्छ, हुकुम चलाइन्छ । शक्तिशाली भएर नै हुकुम चल्छ ।

पितृसत्ताको स्वरूप हुकुम चलाउने र दबाउने प्रकृतिको हुन्छ । यदि पुरूषमाथि हुकुम चलाउने र उनीहरूमाथि शासन गर्न सक्ने अवस्था हुने हो भने फेरि पितृसत्ताका ठाउँमा हुन्छ, मातृसत्ता । अर्को असमानता आउने भयो । नसोचीकन भन्ने हो भने माता, बहिनी वा स्त्रीहरूलाई खुसी लाग्ला तर पुरूषहरूमाथि दमन गर्ने प्रणाली सुरु हुन्छ । दमन, शोषण, असमानता यी विभेदका विभिन्न रूपहरू हुन् । त्यसैले पितृसत्ताको विरोधको लडाई भनेको संसदीय व्यवस्था जस्तै लाग्छ । जसरी संसदीय प्रणालीमा किनबेच हुन्छ र आफ्‌नो स्वार्थ सिद्धि अवस्थामा अधिकारका दुइचार कुरा गरेपछि समानता भइहाल्छ । मन परेन भने असमानताको अवस्था सिर्जना हुन्छ र द्वन्द्व पैदा हुन्छ । एक अर्कालाई गिराउने र उठाउने प्रवृत्तिका कारण पितृसत्ताको बुझाइ बराबरीको नाममा पुरूषको नक्कल गर्ने र बदलाको भावले हेर्ने दृष्टिकोणको विकास हुन्छ । त्यो भनेको अधिकारको नाममा गरिने विभेद हो । तर, सामाजिक लैङ्गितकाको बुझाइ भनेको लोकतन्त्र हो, समाजवाद हो किनकि यहाँ व्यक्तिको विचार, सृजनात्मक क्षमता, रुचि, बुद्धि र विवेकको समुच्चयबाट सामाजिक सम्बन्ध बन्छ । सम्बन्ध बदलिन पनि सक्छ अर्थात् परिवर्तन गर्न सकिन्छ ।

महिला र पुरूषको सामाजिक र सांस्कृतिक आधारमा गरिएको परिभाषा भनेको उनीहरूले के के गर्ने र के के नगर्ने भन्ने सामाजिक मान्यताबाट स्थापित रहेको छ तर त्यो प्राकृतिक नियम होइन । त्यसैले यसमा परिवर्तन हुन सक्छ र भएको पनि छ । यस किसिमको बुझाइले मात्र महिलाहरूको क्षमता र प्रतिनिधित्वलाई स्वीकार गर्न सकिन्छ । समाजको सुन्दरता समानतामा देखिन्छ किनभने यसले समान व्यवहार गर्छ । यसमा कसैको कृपाको कुरा हुँदैन । सम्मान, आदर, समानता यी साझा कुराहरू हुन् । यस्तो भएपछि सामाजिक वातावरण स्वच्छ हुन्छ र सुन्दर देखिन्छ । यो सुन्दरता त्यतिबेला देखिन्छ, जतिबेला सबैलाई सम्मान र स्वीकार गर्न सकिन्छ । यो नै अहिलेको यथार्थ हो ।

भाषा एउटा ठुलो शक्ति हो । अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको छ । यसको मुख्य कारण अर्थशक्ति हो । आर्थिक रूपले सम्पन्न देशको भाषा पनि सम्पन्न र शक्तिशाली हुन्छ । यसको गहिरो सम्बन्ध समाज, परिवार र व्यक्तिसँग जोडिएको छ । समाजमा आर्थिक रूपले सम्पन्न वर्गको भाषिक व्यवहारको सिको गर्ने चलन पनि देखिन्छ, जसले उत्पादनमा नियन्त्रण गर्छ, उसले विनाहिचकिचाहट जोसुकैलाई पनि यो गर्ने वा यो नगर्ने भनेर निर्देश गर्न सक्छ । अतः कहिलेकाहीँ भाषाले निर्बलतालाई प्रश्रय दिएको पनि पाइन्छ । दबिएका, हेपिएका, पछाडि पारिएकाहरूलाई कमजोर बनाउने साधन हामीले बोल्ने भाषा पनि हो । समाजमा कतिपय यस्ता उखान र भनाइहरू छन्, जसले महिलाहरू असहाय नै हुन् भनी स्थापित गर्न सघाएका पनि छन् । त्यति मात्र होइन, यस्ता उखानहरू हाम्रो समाजमा संस्कार नै बनेको पाइन्छ ।

लैंगिकता भनेको विचार हो । बच्चादेखि वृद्धसम्मले बुझ्‌नै पर्छ किनकि यो मानवीय जीवन व्यवहार र समाजसँग प्रत्यक्ष रूपमा जोडिएको छ । प्रकृतिले विविधता जन्माएको छ तर मानवीय विभेद जन्माएको छैन ।

केही क्रान्तिकारी महिलाहरूले नेपालमा २०४४ सालतिर भएको सुन्दरी प्रतियोगिताकोे विरोध गरेका थिए । यसका बारेमा ठुलो विवाद भएको थियो । तर मिडियाले सुन्दरी प्रतियोगिताको सर्मथन गरेर आन्दोलनकारी महिलाहरूले उठाएका महत्त्वपूर्ण सवालहरूलाई खासै महत्त्व दिएन । अधिकारका नाममा गरिएको यस्तो कार्यक्रमले दुइचार महिलाहरूलाई मिडिया मार्फत चर्चामा आउने वातावरण तयार त भयो भने केही महिलाहरूले दाम र नाम पनि कमाए । नेपाल सुन्दरीका नाममा हुनेखाने र पहुँच भएकाको उपस्थितिमा गरिएको सुन्दरी प्रतियोगिता कार्यक्रममार्फत सीमित महिलालाई सुन्दरीमा दर्ज गर्नु भनेको नेपाली समाज र आम नेपाली महिलामाथि भएको विभेद वा महिलाको समग्र अस्तित्वको मोलमोलाइ तथा बेचबिखन समेत हो । यस प्रकारको विभेदको विरोध गर्दा आयोजकले महिला अधिकार हनन् भएको, अराजकता सिर्जना भएको भन्ने आरोप लगाएको र तत्कालीन सरकारद्वारा आन्दोलनकारीहरूलाई गिरफ्तार पनि गरिएको थियो । तर सुन्दरी प्रतियोगिताको मुख्य आधारका रूपमा शारीरिक बनोटको नापतौल र अङ्ग्रेजीमा महिला अधिकार र सामान्य ज्ञानका दुइचारवटा प्रश्नहरू मात्र सोधिने गरिन्छ । अनि यसकै आधारमा नेपाल सुन्दरी भनेर घोषणा समेत गरिन्छ । यसबाट आम महिलाले के सिक्छन् ? के प्रेरणा पाउँछन् ? यसले गरिब, शारीरिक रूपमा फरक क्षमता भएका महिलालाई बल होइन, निर्बल बनाउँछ, खुसी होइन, खिन्नता प्रदान गर्छ । सशक्तीकरण होइन, बञ्चितीकरण गर्छ । नेपाल सुन्दरी प्रतियोगिता कार्यक्रम आयोजकको सर्तमा बाँधिएको हुन्छ । विजित नेपाल सुन्दरीका बिच के गर्ने नगर्ने कहाँ जाने, के लगाउने, के नलगाउने र के बोल्ने भन्ने बारेमा पूर्वसहमति गरिएको हुन्छ । आयोजकको निर्देशनमा विज्ञापनको साधन बन्नुपर्छ । यी नेपाल सुन्दरी भनेका विकसित बँधुवा मजदुर जस्तै हुन् । प्रकृतिले मानव सुन्दरताको सुचक बनाएको छैन । यो सुन्दरताको सुचक मानिसको विवेकले निर्धारण गरेको हो । यो प्रतियोगिता मानव खरिदबिक्री गर्ने एउटा प्रक्रिया जस्तै हो । यस्तो अधिकारले समाज रूपान्तरण गर्न सहयोग पुग्छ वा बहुराष्ट्रिय कम्पनीहरूलाई सहयोग पुग्छ ? यस्तो प्रवृत्ति समानता हो वा असमानता, पितृसत्ता कि मातृसत्ता ? के हो भन्ने प्रश्न उठ्न सक्छ । बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाउने अनुरूप मानिसको बाह्य आकृति सुन्दर बनाउने, जवान बनाउने लगायतका विभिन्न साधनहरू, उपकरणहरू बनाएका छन् । एकातिर यस्ता कार्यक्रमलाई प्रोत्साहन दिने अर्कातर्फ कसरी आर्कषणको केन्द्र हुने, जवान देखिने भनेर महिलाहरूलाई सुन्दरीका नाममा लोभ्याउने र अल्मल्याउने गरिएको छ । यस्ता सुन्दरी प्रतियोगिताका कारण समाज, देश र विश्वका बिचमा विभिन्न प्रकारका द्वन्द्व तथा विकृतिहरू ल्याउने काम पनि भएको देखिन्छ । यो एउटा व्यापार हो, उपभोगतावादी प्रक्रिया हो । अन्ततः यसले पुँजीपतिहरूलाई नै फाइदा दिएको छ । यसबाट आम नेपाली महिलाहरूलाई उनीहरूका सामु आइपर्ने समय, परिस्थितिसँग डटेर सामना गर्न आत्मबल मिल्दैन । जो सुन्दरी प्रतियोगितामा सुन्दरी घोषित हुन्छन्, उनलाई छालामा चाउरी पर्ला कि भन्ने, लुगा कस्तो लगाउने, शरिरको बनावट बिग्रिने अर्थात् सोसल मिडियामा आफ्‌नो सुन्दरताको चर्चा हुँदैन कि भन्ने चिन्ताको विकास भइरहन्छ । यसरी उनले जीवन र जगत्‌को सुन्दर भविष्यको कल्पना कसरी गर्न सक्छिन् ! सधँै उनीहरू आप्‌mनो स्तर र शारीरिक बनोट चुस्त र फुर्तिलो राख्ने क्रियामा व्यस्त रहन्छन् । जीवनको यथार्थ मूल्य, समाजको विकासको चेतनाभन्दा पनि आधुनिकीकरणका नाममा आएको पुँजीवादी बजार व्यवस्थाले हामीजस्ता गरिब मुलुकका युवाहरूलाई परिवार र समाजबाट अलग्याएको छ ।

बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेको वस्तुहरूको बजारीकरण गरी विचारभन्दा पनि भौतिक सुख र सुन्दरतामा हामीलाई अलमल्याइदिएको छ किनकि सुन्दरीले लगाएको कपडा, गहना आदिको डिजाइन, उनले प्रयोग गर्ने कस्मेटिक सामानहरू किन्न र प्रयोग गर्नमा आजका युवायुवतीहरूमा ठुलो प्रतिस्प्रर्धा हुनेगरेको छ । यही प्रतिस्पर्धाका कारण आजको बजारमा मानिसको जीवनशैलीको मोलतोल भइरहेको छ । यस्ता प्रतियोगिताले आजका युवाहरूमा सृजनशील बन्नेभन्दा पनि उनीहरूलाई शरीरको बाह्य आकार प्रकारका चिन्तामा अलमल्याएको छ । सुन्दरीजस्तै म पनि कसरी सुन्दरी बन्ने भनेर समाजको चिन्ताभन्दा पनि आफ्‌ना बारेको चिन्ता बढाइदिएको छ अर्थात् व्यक्तिवादी प्रवृत्तिको विकास बढ्दै गएको छ । सुन्दरता त व्यक्तिको रङरूपमा हुन्छ र ? उसको चरित्रमा हुन्छ । प्रकृतिले भनेको छैन, यस्तो मानिस सुन्दर हुन्छ । प्रकृतिले थरि थरिका मानिसहरूका रूप बनाएको छ । कसैको कसैसँग मिल्दैन । यति विशाल छ, प्रकृतिको संरचना । तर मानिसको विचार कति साँघुरो छ । यस्ता सुन्दरी प्रतियोगिताले सुन्दरीको मानकभित्र मात्र सुन्दरता अटाउँछ, बाँकी सबै कुरूप हुन्छन् भन्ने सन्देश प्रवाह गरेर विभेद खडा गरेको छ । अहिलेको पुँजीवादी/विश्वव्यापीकरणको दुनियाँमा महिला अधिकार अर्थात् मानव अधिकार अधिकांशतः एउटा ठुलो नारा अर्थात् मजबुत हतियार बनेर आएको छ, जसले मानिसहरूका बिचमा भ्रम पैदा गरेको छ । अधिकारका नाममा जति पनि सम्मेलन भए तापनि विभेद घटेको छैन । विभेदको स्वरूपमा परिवर्तन आएको छ अर्थात् स्वरूप फरक भए तापनि यो झन् झन् बढ्दै गएको छ । लैङ्गिक समानता भनेको एउटा जिम्मेवारी र केही गर्ने सपना हो । महिलाको सम्बन्ध परिवारमा मात्र सीमित छैन, बरु आसपासको परिस्थितिसँग पनि जोडिएको छ ।

एकचोटि हाम्रा बिचमा सिनेमाको कुरा चलिरहेको थियो । त्यो भनेको हिन्दी सिनेमा गुन्जन थियो । गुन्जन छोरीको नाम हो । एउटा परिवारमा बाउ, आमा, छोरी र छोरा हुन्छन् । गुन्जन पाइलट बन्न चाहन्थिन् । यसमा आमा र दाइले गुन्जनलाई सहयोग गर्दैनन्, कमजोर बनाउँछन किनकि गुन्जन एयर फोर्सको पाइलट बन्न चाहन्थिन् । लैङ्गिक सम्बन्धको राम्रो उदाहरण बनेको छ गुन्जन सिनेमा । मनोरन्जनभन्दा पनि यसमा सामाजिक लैङ्गिकतासम्बन्धी द्वन्द्व देख्न सकिन्छ । वास्तवमा उक्त सिनेमा भारतको कार्गिल लडाइँमा आधारित थियो । यो भारत र कास्मिरको सीमा विवादसम्बन्धी लडाइँ हो, जुन अहिलेसम्म पनि समाधान नभएको लडाईं हो । यसै युद्धमा चारैतिरबाट गोली चलिरहेका बेला लड्दै गरेका घाइते आर्मी जवानहरूलाई आफ्‌नो ज्यानसमेत जोखिममा राखी हेलिकप्टरबाट उद्धार गर्छे गुन्जनले । आफ्‌नो सुरक्षाको वास्ता नगरी बहादुरीपूर्वक देशको माटोको सुरक्षाका लागि आप्‌mनो ज्यानलाई हत्केलामा राखेको देखिन्छ । यो सत्य घटनामा आधारित सिनेमा हो । महिला र पुरुषमा आखिर फरक छैन । महिलाले पनि पुरुषसरह ज्यानको बाजी लगाएर देशको सुरक्षाका लागि लड्ने जवानहरूको रक्षार्थ आफूलाई समर्पण गर्न सक्छिन् । पुरुषका तुलनामा महिलाको सङ्ख्या कम भए पनि कार्य क्षमतामा कमी देखिँदैन । कुनै पनि यस्तो कार्य छैन, जो महिलाले गर्न नसकेका हुन् । एकातिर देश अर्थात् आफ्‌नो माटोप्रतिको प्रेम, अर्कातर्फ प्राकृतिक लैङ्गिक विभेदका बिचमा पनि देशको सेनाको पुरुष सरह नै योगदान गरेको देखिन्छ । यसो भए तापनि गुन्जनले अध्ययन तथा तालिमका क्रममा धेरै लैङ्गिक विभेदको सामना गरेकी छिन् । उनले तालिममा परेड गर्दा, हेलिकोप्टर सिक्दा केटीका हात र खुट्टाका औंला साना भए भनेर थुप्रै विभेदका गौंडाहरू पार गर्नुपरेको थियो । उनी यसका लागि धेरै पटक असफल बनाइएकी थिइन् ।

चलचित्र हेरिसकेपछि हाम्री छोरी, उहाँ र मेरा बिचमा लैङ्गिकताका दृष्टिबाट छलफल पनि चलेको थियो । “गुन्जनका बाबाले आफ्‌नो छोरीको सपना पूरा गर्न सहयोग मात्र गरेनन्, मानसिक र भौतिक दुबै रूपले छोरीलाई तयार हुन र पाइलट बन्न सहयोग समेत गरेका छन्, नेपाली समाजमा त्यस्तै बाबाहरूको खाँचो छ, हैन त बाबा !” अनेक अप्ठ्याराहरूमा साथ र प्रेरणा दिने आफ्ना बाबाप्रति कृतज्ञ हुँदै हाम्री छोरीले भनेकी थिइन् र उहाँको प्रतिक्रिया थियो, “यो प्राकृतिक लैङ्गिकता होइन । गुन्जनलाई गरिएको विभेद सामाजिक लैङ्गिकता हो । यो सोच र व्यवहारलाई बदल्न सकिन्छ ।”

छोरीलाई आर्म फोर्सको पाइलट बनाउने कुरा व्यक्तिको इच्छा हो, गुन्जनलाई आमा र उनको दाजुले पाइलट बन्ने कुरामा सहयोग गर्ने त परै जाओस्, बरु मजाक उडाउने गर्थे । राम्रो परिवारमा विवाह गर्ने कुरामा भने उनकी आमाले जोड दिन्थिन् तर उनको बाबाले छोरीको इच्छामा सहमत जनाउँथे । यहाँ आमा महिला भए पनि आफ्‌नी छोरीलाई सहयोग गरेकी छैनन्, यो भनेकोे पितृसत्तात्मक सोचको परिणामले छोरीप्रतिको अविश्वास हो । तर बाउले पुरुष भएर पनि छोरीको आत्मविश्वास बढाउने कुरामा मानसिक र भौतिक सहयोग गरेका छन् । यो हो, सामाजिक लैङ्गिकताको बुझाइ किनकि सामाजिक लैङ्गिकता भनेको बदल्न सकिन्छ । सेना भन्ने बित्तिकै पुरुष भन्ने सोच आउँछ तर महिला पनि सेना भएर देशका लागि लडेका छन् र ज्यानको बाजी लगाएर बहादुरी देखाएका छन्, यो सामाजिक लैङ्गिकता हो । गुन्जनका बाबाले गुन्जनलाई यो केटा वा यो केटीभन्दा पनि व्यक्तिको रुचि हो भन्नेमा विश्वास गरेका छन् । सम्बन्ध बाउ–छोरीको भए तापनि उनले छोरीलाई एउटा सक्षम व्यक्तित्वका रूपमा हेरेका छन् । तसर्थ

नाताको जैविक सम्बन्ध हुन्छ तर व्यक्तिलाई प्राकृतिक लैङ्गिकताका रूपमा हेरिनु हुँदैन । मानिसको दिमागमा व्यक्ति होइन, जैविक नाता सेट भएको छ, जसले गर्दा परिवार, समाजमा यो सम्बन्ध हाबी भएको छ र अवचेतनमा भएर कहिलेकाहीँ जानी नजानी बाउले वा आमाले छोरीलाई माया गरेर बोलाउँदा ‘छोरो’ भनेर पनि बोलाउने गरेको पाइन्छ । यो अवचेतनमा भएर नै निस्केको शब्द हो ।

हामीले विश्वमा भएका युद्ध र आफ्‌नै देशमा भएको विगतको जनयुद्धमा महिलाहरूको भूमिकालाई नजिकबाट हेर्दा कुनै पनि सवालमा महिलाको योगदानमा कमी रहेको देखिँदैन । लड्ने कुरामा बहादुरीको प्रशंसा त गरिन्छ तर सत्ताको कुरा आउँदा भने सक्ने र नसक्ने क्षमताको कुरा उठाई विभेद गरेको देखिन्छ । लोकतान्त्रिक व्यवस्थामा समेत यो विभेद अभ्यासमा रहेको छ । धरै महिलाहरू क्षमता हुँदाहुँदै पनि उनीहरू जैविक लैङ्गिकताका नाममा पछाडि पारिएका छन् । संसदीय व्यवस्थाले अधिकार र समानताका बारेमा जतिसुकै भने तापनि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सामाजिक लैङ्गिकतालाई सहज र सरल रूपले स्वीकार गरेको देखिँदैन ।

युद्धमा महिलाको भूमिका र उनीहरूले सामना गरेका चुनौती र समस्याहरू अर्थात् उनीहरूमाथि भएका मानसिक र शारीरिक प्रताडनाजस्ता विषयमा द्वन्द्व व्यवस्थापन र शान्तिप्रक्रियामा सामाजिक लैङ्गिकताका आधारमा सूक्ष्म छलफल तथा व्यवस्थापन भएको देखिँदैन । यसबाट के थाहा हुन्छ कि

केवल महिला सशक्तीकरणको नारा मात्र गरेर हुँदैन, पुरुष पनि यस विषयमा व्यवहारतः सचेत हुन आवश्यक छ । उनीहरूमा यो सत्यलाई स्वीकार गरेर लैङ्गिक विभेद भनेको मानव मानव बिचको विभेद हो, अमानवीय व्यवहार हो भन्ने चेतना जागृत हुनु वा यस कुरामा सचेत हुनु भनेको पुरुष स्वयम्‌को सशक्तीकरण हो । सामाजिक लैङ्गिकता भनेको महिला र पुरूषका बिचको सामाजिक सम्बन्धलाई स्वाभाविक रूपमा बुझ्नु भनेको हो ।

यस्तै अर्को लैङ्गिकतासँग सम्बन्धित प्रसङ्ग यहाँ जोड्न आवश्यक देखिन्छ । यो बोलीचालीको भाषासँग जोडिएको विषय हो । हाम्रो बोलचालीको भाषाले परिवारको सम्बन्धमा पनि प्रभाव पार्दछ । एउटा घट्नाबाट यो कुरा बुझ्‌न सकिन्छ:

एकचोटि २०४७ सालतिर, म छोरीको स्कुल बस कुरिरहेकी थिएँ । मेरो साथमा नर्सरीमा पढ्दै गरेकी मेरी छोरी थिइन् । केहीबेर पछि स्कुल बस आयो । छोरीलाई बोकेर बसभित्र राख्दै गरेका बेला मेरो आँखा साथीको छोरीमा पर्‍यो । उनी मेरी छोरीभन्दा अलि ठुली थिइन् । मैले उनलाई छोरी ! भनेर हाँसे तर तिनी हाँसिनन्, अँध्यारो मुख लगाएर मलाई हेरिन् । रिसाएजस्तो वा नचिनेको जस्तो गरिन् । मैले फेरि छोरी ! छोरी भन्दै हाँस्दै बोलाउन खोजेँ तर उनी झन् झन् रिसाए जस्तो लाग्यो । यत्तिकैमा स्कुल बस गयो । ती छोरीकी आमा र म विचार मिल्दा पुराना साथी थियौं । दुःख सुखका कुराकानी भइरहन्थ्यो । केही दिनपछि रिसाएकी छोरीकी आमासँग सुन्धारामा भेट भयो र मलाई आफ्‌नो कोठामा जाऊँ भन्नुभयो । म पनि हुन्छ भनेर उहाँसगै लागेँ । कोठामा पुगेपछि उहाँले मलाई हाँस्दै भन्नुभयो, “मेरो बाबु तपार्इंसँग रिसाएको छ । त्यो शीलालाई हाम्रो घरमा पस्न नदिनु, मलाई त्यसले छोरी भनी भनेर मसँग गुनासो गरेको छ । किन भन्नुभयो त नि बाबुलाई छोरी” भनेर अलि जोड दिएर भन्नुभयो । सायद उहाँलाई पनि मैले छोरी भनेको मन परेनछ किनकि उहाँको प्रस्तुतिमा पनि रिसाएको आभास थियो अर्थात् मन नपरेको जस्तो आभास हुन्थ्यो । “छोरीलाई छोरी नभनेर के भन्ने ? माया गरेर भनेको हो । मेरो छोरीलाई पनि हामी दुबैले छोरी भनेर नै बोलाउँछौं” भनेर जवाफ दिएँ । तर उहाँलाई यो कुरा मन परेन । उहाँहरूले सानैदेखि छोरीलाई बाबु भन्ने, उसलाई केटाकै लुगा लगाइदिने गर्नुहुन्थ्यो । त्यसले गर्दा छोरीले पनि आफूलाई सबैले बाबु भनेर बोलाउन् र त्यस्तै व्यवहार गरून् भन्ने इच्छा राख्दिरहिछन् । मेरो विचारमा हामीले वास्तवमा जे हो त्यो स्वीकार गर्नुपर्छ । यो भनेको फेरि पनि अवचेतनमा छोरा र छोरीबिच गरिएको विभेद नै हो । छोरीलाई जबर्जस्ती ‘छोरा’ भन्नु या ‘बाबु’ भन्नु भनेको छोरा र छोरी बिच भेदभाव गर्नु हो । कहिलेकाहीँ मायाले भन्ने कुरा अर्को हो तर छोरीलाई ‘छोरी’ भनेर बोलाउँदा मन नपर्ने भनेको त पुरुष प्रधान व्यवस्थालाई प्रश्रय दिनु हो । यस्तो व्यवहारले आफू महिला भएकामा हीनताबोध गरेको बुझिन्छ । महिला भएर पनि आफूलाई महिलाका रूपमा स्वीकार गर्न नचाहनु भनेको केटी भएर केटीलाई घृणा गर्नु पनि हो । त्यसैअनुसार बच्चाले समेत यो संस्कार सिक्दै जान्छ । तर, एकदिन परिवारभित्रै आफू मानसिक रूपले हिंसामा परेको बोध पनि हुनजान्छ किनकि प्रकृतिलाई हामीले लुकाइरहन सक्दैनौँ । त्यसैले यो बच्चाको दोष नभएर हाम्रो दोष हो । छोरीलाई ‘छोरो’ भनेर वा बाबु भनेर ऊ सशक्त हुँदैन, बरु उसलाई अझ बढी मानसिक दबाब हुन जान्छ ।

लैङ्गिकतासम्बन्धी प्रशिक्षक प्रशिक्षणमा मैले एउटा अभ्यास गराएकी थिएँ । सबैजना सहभागीहरूको दुई समूह बनाएर लैङ्गिक विभेदका उखान–टुक्काहरूको सूची तयार गर्न लगाएँ । त्यो सूची तयार भइसकेपछि लैङ्गिक समानता देखाउने सूची पनि तयार गर्न भनेँ । सबैले तयार गरिसकेपछि पालैपालो प्रस्तुत गर्नुभयो । बडो रोचक अभ्यास थियो । समानता देखाउने उखानहरू र प्रयोग, असमानता तथा विभेद देखाउने उखानहरूको प्रयोग समाजमा कहाँ र कसरी भएको छ भन्ने बारेमा छलफल भयो । अब यसबाट लैङ्गिक समानतालाई कायम राख्ने र विभेदलाई हटाउने भन्ने सवाल उठ्यो । सहभागीहरू बडो रोचक र उत्साहित भएर छलफलमा सहभागी हुनुभएको थियो । उहाँहरूले बनाएको सूचीका आधारमा एउटा लैङ्गिक समानता देखाउने उखानका बारेमा बताउन भनेँ । सबैले लैङ्गिक समानता देखाउने उखान छनौट गर्नुभयो । सबैको विचार आइसकेपछि उहाँहरूले सङ्केत गरेको एउटा बडो सुन्दर र सशक्त उखानलाई रेखाङ्कन गरेँ । आखिर महिला र पुरुषको सामूहिक सहयोगबाट समाज र सामाजिक सम्बन्ध बन्छ र त्यसको अस्तित्व पनि हुन्छ । एक अर्काको भरमा समाजको संरचना अडिएको छ, हैन र ? भनेर सोधेँ । सबैले “हो… हो…” भनेर ठुलो आवाजमा भन्नुभयो ।

महिला र पुरुषको सामाजिक सम्बन्ध पनि “माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो नै त रहेछ !”

Author

  • सपनाको मेघमाला (२०७५) कविता सङ्ग्रहका कवि शीला योगी सामाजिक रूपान्तरणका सम्वेदनशील अभियन्ता हुन् । जनगीतका माध्यमबाट विभिन्न किसिमका सांस्कृतिक विभेदको अन्त्यको अनुभूतिसँगै समानताका पक्षमा चेतना अभिवृद्धि गर्न पिछडिएका समुदायमाझ पुगेर जागृति ल्याउने एक कटिबद्ध प्रशिक्षक समेत रहेकी छन्। उनका सामाजिक सांस्कृतिक समानताका पक्षमा लेखिएका वैचारिक लेखहरू विभिन्न पत्रिकामा प्रकाशित हुँदै आएका छन्।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के