Asmita Magazine

#

आमाहरूले प्रश्न गर्नुपर्थ्यो !

विवाहलाई पूर्वीय दर्शनले सृष्टिक्रमलाई अगाडि बढाउनको लागि महिला र पुरुषका बिचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ ।  आधुनिक समाजले भने विवाहलाई एक  सम्झौता मात्र मान्न थालेको छ । समय परिवर्तनसँगै नयाँ पुस्ताले विवाहलाई आआफ्नै किसिमले  परिभाषित गर्दै आएका छन् । विवाहलाई जसरी परिभाषित गरे पनि नेपाली समाज विवाहको विषयलाई लिएर अझै पनि महिला मैत्री बन्न भने सकेको छैन । महिला र पुरुषको  अर्थोपार्जनमा समान भूमिका छ । र, त्यो भूमिका महिलाहरूले सजिलैसँग निर्वाह गरिरहेका छन् । यी सबै हुँदाहुँदै पनि पुरुष “पालक” र महिला “पालित” भन्ने भाष्यलाई चिर्न सकिएको छैन । छोरा मान्छे बलियो हुनुपर्छ । कमाउने र स्वास्नी छोराछोरी पाल्नसक्ने हुनुपर्छ भन्दै हुर्काइन्छ । त्यस्तैगरी छोरी मान्छेलाई अर्काको घर गरेर खाने जात हो । र, घर गरेर खानुपर्छ भन्दै हुर्काइन्छ । घर गरेर खानका लागि महिलाहरूले सबेरै उठ्ने, घरधन्दा मेलापातको काम सिक्ने, सहनसक्ने क्षमता निर्माण गर्ने, मुखमुखै नलाग्ने, आफ्नो इच्छा, चाहना भन्दा परिवारको इच्छा, चाहनाहरूलाई प्राथमिकता दिनुपर्ने जस्ता आधारभूत कुराहरू लगभग वधुशिक्षाकै  स्वरूपमा सिक्नुपर्ने देखिन्छ, भलै सिद्धान्तमा समानताको ओढ हालिएको होस् तर व्यवहारमा छोरीलाई अन्ततः परायापन राखेरै विदा गरिन्छ । कानुनले दिएको अंशसम्बन्धी अधिकारसम्म पनि अनेक अर्थ लगाएर नगण्य रूपमा प्रदान गरिएको पाइन्छ । कुनै छोरीले अंश लिए वा माग गरे भने यो उसको लाचारी हो भन्ने अर्थमा हेर्ने समाजले व्यवहारतः छोरीलाई युगौँदेखि नै निरीह बनाउने अभ्यास गर्दै आएको छ ।
समयक्रममा अवसरजन्य अवस्थामा केही परिवर्तन आएका छन् । महिलाहरू मानसिक र शारीरिक रूपमा समेत पुरुषभन्दा कम छैनन् ।  घर व्यवहार धानेर महिलाहरु घरबाहिर समेत निस्कन थालेको धेरै भइसकेको छ । तर, घरपरिवारलाई समय दिनुपर्ने, सन्तान हुर्काउनुपर्ने जस्ता अवस्थाहरूमा श्रीमान् भन्दा श्रीमती आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक आदि क्षेत्रमा अब्बल हुँदहुँदै पनि श्रीमतीले परिवारको भित्री दायित्वतर्फ ज्यादा उदार भइदिनुपर्ने हुन्छ । र, भइरहेका पनि छन् ।
अहिले आएर हाम्रो समाजमा छोरीलाई शिक्षा दिने क्रम बढेको छ । स्वावलम्बी  हुन सिकाइने पाठ स्कुले जीवनमा समान रूपले घोकाइन्छ पनि तर ती पाठ पढेका अधिकांश छोराहरू घरसमाजभित्रका पाठहरूमा लत बसाउँछन्, जब ती विवाह गर्छन्, “लोग्ने” बन्छन् । अनि छोरीहरू “स्वास्नी” हुन बाध्य बनाइने समाजको मान्यता विपरीत वैकल्पिक बाटो खोज्छन् । हाम्रो समाजमा विवाह अझै पनि महिलामैत्री नभएकै कारण छोरीहरूले सकेसम्म संयुक्त परिवारमा विवाह नगर्ने, गरी नै हाले पनि अध्ययन या वैदेशिक रोजगारीको चाँजोपाजो मिलाएर विदेशिने, संयुक्त परिवारबाट अलग हुने चलनचल्ती बढेको छ । अहिलेका पुस्ताले विवाहलाई बोझको रूपमा लिनु भनेको विवाह महिलामैत्री नहुनु नै प्रमुख कारण हो भन्न सकिने प्रर्याप्त कारणहरू छन् । नेपाली समाजमा अधिकांश विवाह महिलाका निम्ति बन्धन र  दासत्वको अनुभूति दिने संरचनामा अभ्यस्त छन्, त्यसले व्यवहारिक रूपमा नै महिलाको शारीरिक र मानसिक विकासमा बाधा पुर्‍याइरहेको छ । समाज विकासमा त यसको दीर्घकालीन असर छ नै छ, त्यतातिर हाम्रा सत्ताधारीका दृष्टि पुग्न सकेको छैन ।
*
‘तिमीलाई गतिलो रोटी पकाउन आउँदैन ?
ससुरा बाले पस्किएको थालबाट रोटी निकालेर तुन्द्रुङ्ङ झुन्ड्याउँदै मलाई नै देखाएर सोध्नुभयो । सासु आमाको अनुहारमा हेरेँ, उहाँ मौन हुनुहुन्थ्यो तर पनि उहाँको अनुहारको भावले भन्दै थियो— गतिलोसँग रोटी त बेल्न नजान्नेले अरू के जान्ली ! केहीबेर अगाडि रोटी पकाउँदै गर्दा उहाँले पनि मलाई यही प्रश्न गर्न भ्याउनुभएको थियो । उहाँलाई केही जवाफ दिएको थिइनँ । सासुलाई नदिएको जवाफ ससुरा बालाई दिने कुरै भएन, म मौन रहेँ । यसो त सानैदेखि सुन्दै आएको थिएँ, ठुली हुँदै गर्दा घरका (बिडम्बना जन्मेको हुर्केको ठाउँलाई घर भन्न पनि पाउँदैनन् छोरीहरू) ले सिकाएका थिए, आफूभन्दा ठुलालाई मुखमुखै लाग्नु हुँदैन । मुखमुखै लाग्नु हुँदैन भन्नु भनेको सहनु नै त हो । भनिएका कुराहरू न्यायसङ्गत छैन भन्ने थाहा पाउँदा पाउँदै नबोल्नु भनेको त अहिलेका पुस्ताको भाषामा त अपराध हो । म पनि अलि पुरानै परेँ, सहिदिएँ केहीदिन । “घरको माहोल नबिगार्न सहनुपर्छ”, आमाले भन्नुभएको थियो । मैंले जवाफ लगाउँदा दोष मेरो आमासम्म पुग्थ्यो । र, प्रश्न गरिन्थ्यो,
“माइतीमा आमाले केही सिकाएकी छैनन् ?”
बिहे गरेर गएको घरमा झनै मसिनो आवाज निकाल्नुपर्छ, त्यो पनि मलाई थाहा थियो । बिहे गरेर गएको घरमा यसो गर्न हुन्छ, उसो गर्न हुँदैन भनेर म जन्मिएको घरमा मलाई तालिम दिइएको थिएन । तर, छोरीले घर गरेर खान सक्नुपर्छ भन्दै दिइने अर्ति उपदेश म देख्थेँ पनि सुन्थेँ पनि । अझै बिहे गरेर ल्याएका बुहारीहरूको मेलापात, पँधेरो र घाँस दाउरामा कति कुरा काट्थे गाउँलेहरू, म त्यसको भुक्तभोगी नभए पनि आमाहरूका कथाको दर्शक थिएँ ।  सानैदेखि टोल छरछिमेकका छोरीलाई दिनेगरेको अर्तीउपदेश सुनेरै हुर्केको हुँ ।  त्यसैले आफ्नो भागको रोटी कुपुकुपु खाइरहेँ । रोटीको आकार जस्तो भए पनि सबैले थपेरै खाए ।
म बिहे गरेर गएको घरमा कहिलेकाहीँ मात्र रोटी पाक्थ्यो । नपकाएकाले हैन, कम पकाएकाले म राम्रोसँग रोटी बेल्न जान्दैन थिएँ । अभ्यास जति गर्‍यो, त्यति नै निपूण हुने हो । जन्मेको घरमा मैंले रोटी पकाउने अभ्यास गर्न परेकै थिएन । भान्छाको काम हजुरआमाले गर्नुहुन्थ्यो । हजुरआमाले नभ्याउँदाको बखत आमा र आमाले पनि नभ्याउँदा फुपू हुनुहुन्थ्यो । हामी छोरीहरूसम्म घरभित्रको काम आइपुग्नै भ्याउँदैनथ्यो ।
म रोटी राम्रोसँग बेल्न खोज्थें तर राम्रो बन्दैनथ्यो । मलाई विश्वास थियो, बेल्दै जाँदा म एकदिन राम्रो आकार दिन सक्नेछु । तर ससुरा बाले प्रत्येक पटक मैंले पकाएको रोटीलाई तुन्द्रुङ्ङ झुन्ड्याउँदै भन्न छोड्नु भएन—
“गहुँको रोटी यस्तै हुन्छ !”
म त्यो घरमा रहुन्जेल मेरा ससुरा बाले एक अम्खोरा पानी पनि आफैंले सारेर पिएको देखिनँ । खाना, त्यसमाथि रोटी नै पकाउनु त परको कुरा ।
एकदिन फेरि त्यही प्रश्न दोहरियो—
“रोटी बेल्ने तिम्रो ढङ्ग कहिल्यै नपुग्ने भयो हगि ?”
मैंले त्यसदिन हिम्मत जुटाएरै ससुरा बालाई सोधेँ,  “बा रोटी पाकेको छ ?”
उहाँले भन्नुभयो,  “पाकेको त छ नि तर कुन देशको नक्शा हो यो खै ?” रोटी फेरि उसैगरी तुन्द्रुङ्ङ झुन्डियो । मैंले फेरि सोधें,
“यी रोटीहरू रोटीकै स्वादका त छ नि बा ?”
“रोटी रोटीकै स्वादका नभएर के को स्वादमा हुन्छन् त ?”
उहाँले जवाफ त दिनुभयो तर उहाँको जवाफ सुन्दा यस्तो लाग्थ्यो, म उहाँलाई प्रश्न सोधेर कुनै अपराध गरिरहेको छु ।
यतिसम्म त प्रश्न मात्र सोधिरहेको थिएँ अथवा पृष्ठभूमि निर्माण गरिरहेको थिएँ । अब मेरो जवाफ दिने पालो थियो । मैंले भनेँ— “बा रोटी डडेको छैन, पाकेको पनि छ । रोटी रोटीकै स्वादको छ भने हरेक पटक रोटीको आकारतिर किन जानुहुन्छ तपार्इँ ? मसँग रोटी बेल्ने अभ्यास छैन । पकाउँदै जाँदा सिकिहाल्छु नि !” मैले यति भन्न भ्याएँ । त्यो पनि कैयौं दिनहरू अपमानबोधको पीडाले रन्थनिएपछि ।

https://thesun.ng/feminists-push-for-gender-equality-political-inclusiveness/

त्यसपछिका दिनहरूमा मैंले पकाएका रोटीहरूलाई लिएर कहिल्यै प्रश्नहरू तेर्सिएनन् । बिस्तारै अभ्यासले मलाई निपुण बनायो । रोटी त पहिले पनि पाक्थ्यो, अब राम्रो पनि देखिने भयो ।
अर्को एकदिन ससुरा बाले भन्नुभयो,  “तिमी किन सफा भएर बस्दिनौ ?”
उहाँको प्रश्नले छक्क परेँ, अवाक् भएर उहाँलाई हेरिरहेँ । उहाँलाई गर्ने मसँग प्रश्न थिएन । उत्तर त झनै थिएन । म हरेक दिन नुहाउँथेँ । पुरानै होस् तर सफा कपडा लगाउथेँ । किन फेरि ससुरा बाको नजरमा म सफा हुन सकिनँ ? मैंले आफैंलाई प्रश्न गरेँ । धेरै दिनसम्म जवाफ पाउन सकिनँ तर जवाफ खोजिरहेँ । अन्ततः मलाई थाहा भयो, म किन सफा भनिनेहरूको लाइनमा थिइनँ ! सासु, ससुरा चाहनुहुन्थ्यो, मेरो कपालले कम्मर छोओस् । म तेल लगाएर कपाल कोरूँ, सिउँदो छुट्याएर सिउँदोभरि सिन्दुर लगाऊँ । हातभरि चुरा र गलामा पोतेको झुत्तो होस्, सुनको गहना सहितको । म ती सबै कुराहरूबाट सधैं टाढा रहेँ । मेरो नजरमा सिन्दुर, टिका, पोते चुरा जहिले पनि श्रृङ्गारको साधन भन्दा माथि कहिल्यै पुगेनन् र पुग्दैनन् पनि । सुन आर्थिक समस्या पर्दा गर्जो टर्ने साधन भने अवश्य हो ।
“तिमी किन सफा भएर बस्दिनौं” भनेर ससुरा बाले दोहोर्‍याएर भने कहिल्यै सोध्नुभएन र मैंले पनि उहाँको प्रश्नलाई कहिल्यै बुझो लगाउनु परेन ।
जतिबेला मैंले पकाएको रोटी राम्रो देखियो, त्यतिबेला मैंले बेस्करी आमा र हजुरआमालाई सम्झिएँ । मैंले मलाई नै प्रश्न गरें, उहाँहरूले किन कहिल्यै बा र हजुरबालाई प्रश्न गर्नुभएन ? प्रश्न त धारिलो हतियार भन्दा कैयौैं गुणा बलियो पो हुँदो रहेछ !
म जन्मिएको घरमा घरका साना, ठुला सबैले आफ्नो क्षमता अनुसारको काम गर्नु अनिवार्य थियो । धेरै जसो घरभित्रको काम हजुरआमाले गर्नुहुन्थ्यो । मेलापात, घाँस, दाउरा आमा र फूपुको भागमा पर्दथ्यो । हजुर बा खेतीपाती र वस्तुभाउको रेखदेख गर्नुहुन्थ्यो । बा जागिरे । फुर्सदको समयमा हजुरबालाई सघाउनुहुन्थ्यो । त्यस समय आमाहरूलाई भने साह्रै सास्ती थियो । गाउँमा धान कुट्ने मिल थिएन । मकै पिँध्ने घट्ट पुग्न पनि लगभग आधा घण्टा लाग्थ्यो । घरमा सबैभन्दा ढिला आमाहरू नै सुत्थे । सबैभन्दा चाँडै उनीहरू नै उठ्थे । खेतीपातीको कामको चाप धेरै भएको समय आमाहरू आधा रातमै उठ्थे । ढिकीमा कहिले धान, कहिले चिउरा कुट्थे । बिहान वस्तुभाउको धन्दा, दैलो कुचो गरेर आमाहरू झिसमिसे उज्यालोमा घाँस काट्न आधा बाटो पुगिसकेका हुन्थेँ । जङ्गलबाट ल्याएको घाँसको भारी बिसाएर गाँस टिपेर आमाहरू धन्दा सकेको हात पनि नसुक्दै पर्म हिँडिसक्थे । आमाहरूले कहिल्यै पनि आफ्नो भागको काम सकेर थकाइ मार्न पाएनन् । मैंले देखेको छु, मेरी आमाले थकाइ मारेको एक एक क्षण र कहिलेकसो ती क्षणहरू सम्झन्छु । भाइ बहिनीलाई दुध चुसाउँदाको समयमा मात्र आमाले थकाइ मार्न पाउनुहुन्थ्यो । दुध चुसिरहेको बच्चालाई फुत्त दुधबाट छुटाएर आमा आफ्नो काममा लाग्नुहुन्थ्यो । दुध चुसिरहेको बच्चालाई एक्कासी दुधबाट छुटाउँदा ऊ च्याँठिएर रुन्थ्यो । बच्चो जतिसुकै रोओस्, त्यस बच्चालाई छातीमा टाँसेर फुल्याउने फुर्सद आमासँग हुँदैनथ्यो । बच्चो रोएको सहन नसकेर आमाहरू कहिलेकसो बच्चो टिप्न पुग्दा घरका ठुला भनिने बा हजुरबाहरू भन्थें—
“कसैको नभएको जस्तो तेरै मात्र छ बच्चा ?”
त्यसपछि वरपर जो फुर्सदिला हुन्थें, बच्चो उसैले फुल्याउँथ्यो । आफैं आमा भएपछि महसुस गर्रे मैंले, आफ्नो रोइरहेको बच्चालाई छातीमा टाँसेर फकाउन नपाउनुको पीडा मेरी आमाले कति धेरै सहिन् ! त्यतिबेला त्यो मेरो आमाको मात्र पीडा थिएन, गाउँका सबै आमाहरूको साझा पीडा थियो । केही गरेपनि निको नहुने ।
म सम्झन्छु, सधैं पर्म हुँदैनथ्यो । पर्म नभएको दिनमा आमाहरूको घरमा झन् धेरै काम हुन्थ्यो । आमाहरू आफ्नो भागको काम सकेपछि बाहरूलाई सघाउनुहुन्थ्यो । तर, आफ्नो भागको काम सकिएपछि बाहरूले भने आमाहरूलाई सधैं सघाउँदैनथे । कहिलेकसो सघाउँथे त्यो उनीहरूको मुडमा भरपर्थ्योे । बाहरूलाई सघाउनु आमाहरूका लागि भने अनिवार्य थियो ।
मेरी आमा छिमेकीहरूसँग जङ्गलबाट घाँस लिएर फर्कंदा बा, हजुरबा र हामी केटाकेटीहरूले खाना खाइसकेका हुन्थ्यौं । खाना खाएपछि बा र हजुरबाको केहीबेर निदाउने बानी थियो । जुनबेला उनीहरू निदाउँथे, त्यस समयमा आमा, हजुरआमा र फुपू खाना खानुहुन्थ्यो । जब आमाहरू भान्छाको धन्दा गर्न, त्यो दिन फेरेको लुगा धुन लाग्नुहुन्थ्यो, बा र हजुरबा खेतबारीमा के काम छ, त्यो कामको लागि निस्कनुहुन्थ्यो । घरका महिला सदस्यले हतार हतार आफ्नो काम सकेर पुरुष सदस्यसरह खेतबारीमा काम गर्न उपस्थिति जनाउनुपर्थ्यो । कहिलेकसो आमाहरू कपाल कोर्थे, सिउँदोमा सिन्दुर लगाउँथे । उध्र्रिएका लुगाहरू सिउँथे, केटाकेटीको कपाल कोरिदिन्थे, जसको कारण काममा पुग्न ढिला हुन्थ्यो । त्यो दिन नक्कल पारेर बसेको आरोपमा आमाहरूले बाहरूको हप्की खान्थे । फेरि कुनैबेला सिउँदोमा सिन्दुर नलगाउँदा, कपाल नकोर्दा जगल्टा फिँजाएको आरोपमा गाली खान्थे । आमाहरूले केही गरेपनि सुख पाएनन् । न आफ्नो इच्छाले कपाल काट्न पाए, न सधैं राम्रोसँग कपाल कोरीबाटी गर्न नै पाए ।
आमाहरूले आफ्नो इच्छाले केही गर्न पाएनन् । मलाई अहिले लाग्छ, आमाहरूले प्रतिरोधमा अरू केही गर्न नसके पनि प्रश्न गर्न चाहिँ सक्नुपर्थ्यो !
आमाहरूले भन्न सक्नुपर्थ्यो,
“थकाइ पुरुषलाई मात्र लाग्छ ?”
“कपाल फाल्ने या पाल्ने इच्छा कपाल भएकै मान्छेले किन राख्न पाउँदैन ?”
आमालाई आफ्नो बच्चा रोइरहँदा फकाउँदै छातीमा टाँस्ने समय किन दिर्इँदैन ?
काम, माम र आराम सबैलाई बराबर हुनुपर्ने होइन ?
आमाहरूले प्रश्न गर्नुपर्छ भनेर सिकाउनु पनि पर्थ्यो !
*

Author

  • जिल खाइरहेको एक्काइसौं शताब्दी (२०७८) कविता सङ्ग्रहका कवि शान्तिप्रिय वन्दनाको सिर्जनाको मूल विधा कविता हो । उहाँले निबन्ध र अन्य विचारप्रधान लेखहरू समेत लेख्दै आउनुभएको छ । उहाँ वर्गीय, जातीय तथा लैङ्गिक विभेद र विसङ्गति विरुद्ध सशक्त ढङ्गले कलम चलाइरहनुभएको छ ।

    View all posts

2 Comments

  1. prava Baral says:

    साधारण तर असाधारण लेख।कस्तो मन पर्याे । हार्दिक बधाई
    शान्ति प्रियवन्दनाजी ।

  2. Shruti says:

    Bitter truth dd

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के