धेरैअघि चेखबको ‘गाँठो’ कथा पढेकी थिएँ । मेरा दिदीदाइ पुस्ताको क्याम्पसको पाठ्यक्रममा थियो, त्यो कथा । त्यस कथाका प्रमुख पात्र घोडागाडी चलाउँथे । केही समयअघि मात्र उनको छोराको मृत्यु भएको थियो र उनी छोराको मृत्यु कसरी भयो भनेर आफ्ना यात्रुहरूलाई सुनाएर आफ्नो मनको बह पोख्न चाहन्थे । तर उनको कथा सुन्ने फुर्सद कसैलाई थिएन । अन्ततः उनको व्यथाकथा सुन्न कसैले चासो नदेखाएपछि उनले आफ्नै घोडालाई सुनाएर मनकोे गाँठो फुकाउने सोचे । सइसले घोडालाई भनेर भए पनि आफ्नो मनको गाँठो फुकाए । तर सइसको संसारमा उनी मात्र पक्कै थिएनन्, उनकी जहान पनि थिइन् होला । तिनले पनि आफ्नो छोरा गुमाएकी थिइन् । तिनको मनमा पनि त गाँठो थियो होला । तर चेखबको नजरमा उनी परिनन्, उनको व्यथा परेन ।
महिला र उनको मनको गाँठो यसरी नै युगौँदेखि अव्यक्त भएर बसेको छ । त्यो गाँठो नफुकाइए के होला ? के त्यो व्यथा ‘गाँठो’ मात्र बनेर बसिरहला या कुनै न कुनै बेला डाइनामाइट भएर विस्फोट होला ?
आज हामी सबैको मनमा कति कति गाँठागुठी छन् । उकुच पल्टिएका कति घाउहरू छन् । त्यसैले हामीले सुनाएर मनको गाँठागुठी फुकाउन चाहेका कथा पनि बेहिसाब छन् । कथा सुनिदिने समाज रहेसम्म आँसुको व्यवस्थापन केही सहज होला । जुन दिन समाजले कथा सुन्न छाडिदिन्छ, त्यसपछि कति छ्यालब्याल होला आँसु ? सोचेरै कहाली लाग्छ ।
सुखका कथा हामीसित कति छन्, थाहा छैन । तर हाम्रा अधिकांश कथाहरू सुखकै चाहनामा भौँतारिँदै दुःखको दलदलमा भासिएका पात्रहरूका कथा बनेका हुन् । हाम्रा वरिपरि चिन्ता, समस्या र बेथितिका यति धेरै स्पिडब्रेकरहरू छन् कि हाम्रा कथाहरूले आफ्नो स्वाभाविक गतिमा निकास पाउँदै पाउँदैनन् र कतै न कतै गाँठोको रूप धारण गरेर हाम्रा मनलाई बिथोल्न थालेका छन् ।
जतिसुकै स्पिडब्रेकरको बाधा भए पनि हामी एउटै बाटो पटकपटक हिँडिरहन्छौँ तर हरेक यात्राको समय फरक हुन्छ । हाम्रा सोच बेग्लाबेग्लै हुन्छन् । हामीले छेउछाउमा देख्ने पात्र र तिनका अनुहारहरु भिन्दाभिन्दै हुन्छन् । बेग्लाबेग्लै अनुहारहरूका बेग्लाबेग्लै गन्तव्य । यस्तो यात्रामा अनुहारहरूबिच केहीबेरलाई भेट हुन्छ र फेरि यात्राहरू फरक हुन्छन् । कतिपय अनुहारहरू स्मृतिबाट हराइहाल्छन् । तर कति यात्रा, कति पात्र र कति अनुहारहरू भने जीवनको लामो कालखण्डसम्म दिमागको हार्डडिस्कमा बसिरहन्छन् । सदाका लागि । हाम्रो राज्य र हामीमाथि शासन गरिरहेको सत्ताले कुन बेला हाम्रो हार्डडिस्क ह्याक गर्छ र हाम्रा प्रिय स्मृतिहरूलाई डिलिट गरिदिन्छ भनेर अब त हुनसम्म डर लाग्न थालेको छ ।
००
यसपटकको तिहार मोरङमा मनाउने निधो भएको थियो । हामी पाँच दिदीबहिनीको एक माइती । सबै एक ठाउँमा भेला भएर दाजुलाई टीका लगाइदिन नपाएको पन्ध्र वर्ष भएको रहेछ । यसपटक सबैको सल्लाहअनुसार साइँली दिदीको घरमा भेला भएर भाइटीका मनाउने निधो भएको थियो । म भाइटीकाको अघिल्लो दिन बिहान विराटनगरका लागि प्लेन चढ्न एयरपोटतर्र्फ लागेँ ।
काठमाडौँको जाम छिचोल्दै एयरपोर्ट पुगेर हतारहतार बोर्डिङ पास लिँदासम्म म चढ्ने विमानको उडानका लागि पूर्वनिर्धारित समय घर्किनै लागेको थियो । तर मौसमको प्रतिकूलताले होला, प्लेन समयमा उड्ने छाँट थिएन । म गेट नम्बर पाँचतर्फ लागेँ । यताउता सिट हेरेँ । अलिक पछाडि खाली सिट रहेछ । बसेर चारैतिर नजर घुमाएँ । एकजना खिरिलो र सानो ज्यान गरेकी वर्ष सत्तरी–बहत्तर हाराहारीकी एक वृद्धा हातमा सानोसानो ब्याग र अर्को हातले सारी उचाल्दै यात्रुहरुको भिड छिचोल्दैै आइन् । उनको सास बढेर गाह्रो भएको देखेर मैले मेरो छेउको सिटमा अर्को यात्रीले राखेको ब्याग हटाउन अनुरोध गरेँ र उनलाई बस्ने ठाउँ बनाइदिएँ । एकछिनपछि हल्का सास फुलेकै आवाजमा मसँग पूर्व परिचितजस्तो गरी बोल्न थालिन्, “म मात्तै यता काठमान्डुमा छु नानी । मेरा आमाका सात जना सन्तान । भगवान्का कृपाले सातै जना जिउँदै छौँ । अरू सप्पै झापा, मोरङतिरै छन् । सास छउन्जेल कामैकाम । अरू बेला त कामले छोड्दै छोड्दैन । छ्या, आइमाईका बित्थाका काम ! तिहारमा चीँ म सधैँ जान्छु । भग्वान्ले रच्छे गरे भने अर्को वर्ष पनि जान्छु । पछि क्या हो क्या हो ! गोडा लागुन्जेल त हो आफन्तसँग भेट हुने । त्यति मात्तै हो र ! एकफेर भए पनि आफू जन्मेको ठाउँ, हुर्की खेलेको आँगन देख्ता न्यास्रो पनि मेटिन्छ ।”
हो, त्यतिबेला पनि मैले चेखबको कथाको पात्रलाई सम्झेकी थिएँ । अचेल मनमा गाँठो लिएर हिँडिरहेकाहरू बेलाबखत भेट भइरहन्छन् । त्यस्तै गाँठो भएकी एकजना वृद्धासित त्यो दिन मेरो भेट भएको थियो । नाकमा अलिक मैलो र ठुलो ढिके फुली । निधारमा ठुलो रातो टीका । कानमा पुराना खाले मैला मारवाडी । घाँटीमा रातो पोतेको पातलो माला । दाहिने हातको साइँली औँलामा श्रीराम लेखेको सुनको औँठी र नाडीमा राता चुरा ।
बुढ्यौलीले पनि धमिल्याउन नसकेका आँखाले उनी घरी मलाई र घरी त्यहाँ भएका मान्छेतिर नियाल्दै थिइन् । सास बढ्न छोडेपछि झोलातिर फर्किन् ।
सानो सानो लुगाको पोको एउटा पुरानो ब्यागमा कोचेकी थिइन् । त्यही लुगाको पोको खोतलेर आमैले एउटा थैली झिकेर हातमा च्यापिन् ।
हातमा च्यापेको थैली पोटिलो थियो । मैले त्यसभित्र रुपियाँ पैसा भएको अनुमान लगाएँ । त्यसैले मैले सल्लाह दिएँ, “यो थैली त तपाईंले आफूसँगै बोक्ने त्यही ब्यागभित्रै सुरक्षित हुन्छ आमा । हातमा बोक्दा कतै खस्न सक्छ ।” उनले मेरो कुरा मानिन् । हत्तपत्त लुगाको ब्यागभित्र जतनसाथ लुकाइन् र ब्याग काखैमा च्यापिरहिन् ।
काठमाडांँैमा जाडो उक्लिने क्रममा थियो । त्यसमाथि बिहानको समय । तर आमैले भने एउटा फलाटिनको चौबन्दीमात्र लगाएकी थिइन् । आफैँले भनिन्, “मधेस जाँदा लुगा पनि भारी हुन्छ भनेर मजेत्रो, स्विटर केही बोकिनँ । एकछिन त हो नि । यस्तो जाडो त कति पचाइयो पचाइयो । अहिले त काठमान्डुमा के जाडो हुन्छ र ! उहिले धाराको पाइपमै पानी जम्थ्यो । आगो बालेर पाइप तताउनुपर्थ्यो । उमेराँ पनि लुगलुग काम्दै ठमठमी हिँड्थिऊँ हामी । अहिले यो उमेराँ पनि त्यतिको जाडो हुँदैन ।”
आमै हाँसिन् । उनी हाँस्दा उनको मुजा परेको अनुहार र पातला ओठ पनि एकसाथ हँसिलो भएका थिए । उनीसँगै म पनि मुस्काएँ । त्यतिबेलै मलाई आभास भइसकेको थियो । अब फुक्न सुरु हुन्छ चेखबको गाँठो ।
सायद मेरा जिज्ञासु नजर आमैले देख्ने बित्तिकै पढिछन् र त निर्धक्क खोल्दै गइन् आफ्ना जिन्दगीका अध्याय, पाना र अनुच्छेदहरू । उनको कथा सुन्दै गर्दा मैले घरी उनको अनुहार देख्थेँ, घरी त्यही अनुहारमा मिसिन्थ्यो चेखबको कथाको सइस ।
अनुहार । अर्थात् एउटा मास्क, जसभित्र कति सजिलै कति कति कुरा लुकाउन सकिन्छ । र, त कतिको अनुहारबाट दुःखको भेउ पनि पाउन सकिन्न । यी आमैको अनुहार त्यस्तै थियो । लाग्थ्यो, यिनले आफ्नो जीवन सुख र सन्तोषमै बिताइरहेकी छिन् ।
“सबै उता रहेछन् । तपाईँ मात्र कसरी आइपुग्नु भो यो काठमाडौँमा ? त्यो बेला यति टाढा कसरी घरजम भयो आमा ?”
मेरो प्रश्नसँगै आमैका उमेरले ताछेर चाउरिएका गाला राता भए ।
“मावल जान्छु भनेर सुटुक्कै भागेकी नि नानी । के के भोग्यो भोग्यो यो ज्यानले ।”
अनि उनी कल्पनाको रुमानी संसारमा हराइन् । मानौँ अब उनको देह मात्र मनिर छ । मन र मुटुलाई एउटै पोको पारेर कतै सुदूरतिर लगिसकिन् ।
“चौध वर्षकी थेँ । पँधेरो टाढा’थ्यो । ऊ बेला झापा, मोरङ जङ्गलै जङ्गल जस्तो’थ्यो । घरहरू पातला’थे । औलाले सखाप भइन्छ भनेर डराउँथे पहाडका मान्छे, तराई झर्न । तर हाम्रा बा सारै सुरा । लालाबाला च्यापेर झरे मधेस । हाम्रा गाउँमा बाटो खन्ने काम धमाधम सुरु हुँदैथ्यो । बाटो खन्दाखन्दै एउटा तन्देरीको खुट्टो फरुवाले छ्वाप्पै पारेछ । हाम्रो घर नजिकै भएकाले रक्ताम्य भएका उनलाई उनका साथीहरूले दुईपट्टि समातेर हाम्रा सिकुवामा ल्याइपुर्याए । मेरा बाले झार जङ्गल टिपेर औँलो बाँधिदिए । दुई दिन हाम्रैमा बसे । तिनै दुई दिनमा उनले मलाई राम्री देखे । मैले पनि उनलाई आमाले सुनाउने कथाका राजकुमार देखेँ । उनी हाँसे । म पनि उनीसँग लजाएँ । उनले मलाई मोहनी लाए । तेस्रो दिन घरभन्दा अलिक परको वरपिपलको चौतारोनिर एक्लै भेटेर भने, ‘हिँड मसँग’ ।”
“म लाजले डल्लो परेँ । भाग्दै भाग्दै घर पुगेँ । तर त्यो रातभरि तिनै तन्नेरीको आवाज गुन्जियो कानमा । उनी थिए नेवार, म क्षेत्रीकी छोरी । उनी उमेरले पनि मभन्दा दोब्बर । तर, पिरिमलाई केको जात, केको उमेर ! क्यै कुराको छेकबार नहुँदोर’छ । उनको पिरिमले बसिखान देन । आमा मनकारी थिन् । मावली खोलापारि’थे । आमालाई मात्तै मावल पुगेर आउँछु भनेर सुटुक्कै भागेँ नि ! कति हिम्मत आ’को हेर त नानी । बाआमा सानैमा मरे । एक्लो ज्यान छ भन्थे नानी तर माँका ढँटुवा र’छन् । घराँ पुुग्दा त बाघजस्ता दुुई सौता । चिथोरिहाले नि नानी । कसो कसो भगाए उनैले । रुँदै रुँदै उनी जताजता गए, उतै उतै लागेँ । उनीसँग मन भाँच्चिगो । आफ्नै पुर्पुुरोलाई दोष दिँदाँदिँदै चार सन्तान जन्मे । अब काँ’जानु ? तीन तीनवटी स्वास्नी पाल्ने औकात नभको लोग्नेको भरै भएन । मिलिक्क दुुईचार मैनाँ झुल्किन्थे र भागिहाल्थे । भक्तपुराँ तो बेला जग्गा जताततै खाली । अर्काको बाँझो बारी अध्याँ लिएँ । खनेर छोराछोरीका पेटाँ माड हाल्न थालेँ । खन्दाखन्दै सागपात बेच्न थालेँ । सागपात बेचेरै छोराछोरी पढाएँ हुुर्काएँ । लोग्ने हुुँदा नि एक्ली जस्ती थेँ । उनको उता नि घरबार । एक्ली आइमाईलाई समाजमा कति गाह्रो छ नानी बाँच्न । तर जताततै लोग्नेमान्छेका सिकारी आँखासँग जुधेरै गरिखाएँ । पछि ता मैसँग मुन्टे उनी पनि । भक्तपुरमा टेको गाडेको पनि धेरै वर्ष भो नानी । कति दुक्खले टेको गाडेको उः बेला ।”
उनी फेरि हाँसिन् । उनका मुजैमुजा परेका गाला पनि हाँसे । अनि गालासँगै चाउरिएका तर चम्किला आँखा पनि हाँसे ।
तर, के उनी साँच्चै हाँसेकी थिइन् ?
मभित्र एउटा विशालकाय संशय उब्जिएको थियो । अचेल समग्र समाजको हाँसोप्रति मलाई संशय हुन्छ । लाग्छ, यो मेरो युगको अन्तिम हाँसो हो । त्यसपछि यो हाँसो कतै अनन्तमा विलीन हुनेछ या फेरि कतै गाँठो भएर मानिसको अन्तरमा कोच्चिएर बसिरहनेछ । के थाहा, त्यसपछि मानिसहरू आफ्नै हाँसोसित डराउने पो हुन् कि !
००
हाम्रो प्लेनको उड्ने समय भएछ । आमै मभन्दा पहिले उठेर पोको परेको ब्याग काखीमा च्याप्दै फुत्रुक फुत्रुक अगाडि लागिन् । उनको पछि पछि लागेँ म । गाडीले प्लेनसम्म पुर्यायो । आमैको र मेरो सिट सँगै थिएन । तर आमैले उनको छेउमा बसेका युवालाई अनुरोध गरेर मलाई आफूसँगै बसाइन् ।
“तपाईँसँगको यात्रा सधैँ सम्झनामा रहनेछ आमा ।”
नाकका पोरा फुले आमैका । मख्ख पर्दै फेरि सुरु भइन्—
“कुरा त कति छन् कति नानी ! मन फुकार कति कुरा सुनाऊँ सुनाऊँ त लाग्छ नि । तर सुनिदिने कोही भेटे पो !”
आवाजसँगै उनको अनुहारको भाव पनि परिवर्तन भयो । “भएका तीन छोरीमध्ये एउटी यतै छे । दुइटी अम्रिका पुगे । एउटा छोरो जापान पुगेको छ । घरमा श्रीमान् र म मात्र । उनी अचेल बिर्सिन्छन् । सुद्धि हरा’को छ । खाना खानै पनि बिर्सिन्छन् । तर पनि उनीसँग नबोले कोसँग बोल्नु ? कान त सुन्छन् नि । भलै सुन्ने बित्तिकै बिर्से पनि । तिनैसित कति गनगन गरिरहनु नानी ! छोराछोरीले फोन गर्नै भ्याउँदैनन् । बल्ल बल्ल गरे भने पनि उनीहरूका कुरा बुझिसक्ना हुँदैनन् । हाम्रो कुरा सुन्न पनि भ्याउँदैनन् । आफन्तलाई आफ्नो कुरा सुनाउन खोज्यो, उनीहरूका आफ्नै दुःख । कहिलेकाहीँ त यो नेपालमा कोही सुखी छैन जस्तो लाग्छ नानी ।”
आमैको कुराले मलाई जोरसँग झट्का दियो । उनी सजिलो किसिमले हाम्रो जीवन र हाम्रो समयको सबैभन्दा गाह्रो कुरा अभिव्यक्त गरिरहेकी थिइन् । म आफैँ पनि छरछिमेकतिर नियाल्छु । कसैका छोरा विदेश, कसैका छोरी । कसैका त सबै विदेश र बुढाबुढी मात्र यता । सायद त्यसैले अचेल मैले जताततै चेखबको कथाको बुढो सइसलाई देख्न थालेकी छु । लाग्छ, सबै अनुहारमा अलिकति उज्यालो देखाएर अँध्यारो जति मनभित्र लुकाएर गुम्सिरहेछन् । अनुहार मानौँ चुकुल लागेको ढोका हो । खोल्यो भन्ने बाक्लो अँध्यारो ह्वार्र बाहिर आइहाल्छ ।
“छोराछोरी बाहिर छन् भनेपछि त तपाईं पक्कै पनि विदेश जानुभएको छ”, मैले सोधेँ ।
“गएकी छु । तर मनै अडेन त्याँ । थाहा छ नानी, मैले त जाँदा एक मुठी माटो पनि लुकार लगेकी थिएँ नि ।”उनको कुरा सुनेर चकित भएँ । सोधेँ, “माटो किन नि ?”
“केही गरी उतै मरिहालेँ भने छातीमा आफ्नै मुलुकको माटो परोस् भनेर ।”
उफ् ! माटोप्रतिको यो कस्तो मोह ? कस्तो आसक्ति ? मलाई सोध्न मन लागेको थियो, “यो माटोले तपाईंलाई दियो चाहिँ के ? माटोको मोह तपाईंलाई मात्र किन ? भन्न त राज्यका हाकिमहरूले पनि आफूलाई यही माटोको सन्तान भन्छन् । तर तिनीहरू किन सधैँ आफू उभिएको माटोको बेइज्जत गरेर बस्छन् ? के माटोको माया तपाईंजस्तै बुढी आमैलाई मात्र लाग्ने हो ?”
तर, प्रश्न मेरो मनमै अड्कियो र त्यो पनि गाँठो बनेर बस्यो । उनी भन्दै थिइन्, “बेला बेला नातिनातिनाको मुख हेर्न मन लाग्छ । तिनीहरू नेपाली बोल्न नजान्ने, म अङ्ग्रेजी भट्याउन नजान्ने । एकअर्काको अनुहार हेर्यो, बस्यो । अचेल त आफ्ना मनका गाँठागुठी फुकाउनै गाह्रो । भगवान्ले रच्छे गरेका छन् आजसम्म । भोलिको कुरो कल्लाई के थाहा र नानी ! बोल्न नपाउँदा नपाउँदै अब त बोल्नै बिर्सिन्छु कि जस्तो भइसको ।”
आमैले कति गम्भीर कुरो उक्काइदिइन् । हाम्रा आपसी संवादहरू घट्दै छन् । भेट्ने र बोल्ने क्रम घट्दै छ । यसरी के हराउँछ ? भाषा या संवेदना ? यसको उत्तर छैन मसित । हाम्रो समाजविज्ञानले यसको कति अध्ययन गरेको छ, मलाई थाहा छैन ।
तर वार्तालापका क्रममा उनले पटकपटक भगवान्ले रक्षा गर्छन्, भगवान्को कृपा, ईश्वरको लीलाजस्ता शब्दहरू उच्चारण गरिरहन्थिन् । आफूले देख्दै नदेखेको, आफूलाई कुनै विपत्तिबाट जोगाउँदै नजोगाएको ईश्वरप्रतिको यो चरम विश्वासको अर्थ के हो ? कतै यो विश्वास समाज, सरकार वा राज्यसितको अविश्वासबाट उब्जिएको त होइन ?
००
विराटनगरबाट हाम्रो यात्रा छुट्टियो । यात्रामा पो छुट्टियौँ तर आमैले आफ्नो अनुहार र दुःखको पोको मलाई जिम्मा लगाइदिइन् । मसँग पनि मनभरि पोकैपोका थिए । म बाँचेको समाजभित्र तहैतह परेका दुःखका पोकाहरू । पोकैपोकाका बिचमा आमैले जिम्मा लगाएको दुःखको पोको पनि जतनसाथ लिएर हिँडेँ ।