आमा भन्नुहुन्छ,
कोदो रोप्दा–रोप्दै
माटोमै जन्मेकी होस् तँ ।
व्यथाको रनाहा मत्थर भएर आँखा खोल्दा
दुवै मुठीभित्र सोहोरेर माटो
रुवाइले जमिन–आकाश थर्काउँदै थिइस्,
छोरी जन्माएकी भनेर
खाटमा सुत्न नदिएपछि
न्वारान नहुन्जेल भुईँमै सुतेर
सुत्केरी उम्केकी थिएँ ।
बुझ्ने भएर आमाका कुरा पर्गेल्दा
लाग्थ्यो,
म र माटोबिच पक्कै केही सम्बन्ध छ ।
मलाई लाग्थ्यो,
यो धर्ती मेरो घर हो
यो माटो मेरो भर हो ।
अन्मिएर पराई घर जानेबेला
चिनो स्वरूप आफू जन्मेको घरको आँगनको
एक अञ्जुली माटो उठाएर आफ्नो पोल्टामा राख्न खोजेँ
तब एकाएक
माइतीमा परिणत भएकाहरूले भने,
“छोरी–चेलीले पेवामा चित्त बुझाउने हो
जमिन दावी गर्ने होइन ।”
द्रवित भएर
जब छाडिदिएँ मुठ्ठी खोलेर माटो
हावामा उड्दै गरेको धुलोमा देखेँ,
बा र हजुरबुबाका वंशावलीमा कतै नदेखिएका
फूपू, हजुरआमा र दिदीहरूका अनुहार ।
हावाको झोक्काले ल्याएको
माटोको सुवासमा
रग्मगिएको थियो,
मेरी आमा र हजुरआमाहरूको पसिनाको गन्ध ।
बा–आमाले गोदान गरेर
गोत्र सारी सारी पठाएको कर्म घरमा
मेरै औँलाका टोप्राको ल्याप्चे नलगाएसम्म
गेडो नउब्जने खेत
मैले सास फुकेर आगो नबालेसम्म उजेलो नहुने घर
अनि,
मेरो रज, रङ र रस सिँचेर जन्मेका मेरा कोखका सन्तान
अड्डादेखि ढड्डासम्म
कतै कतै नलेखिएपछि मेरो नाम
वंशावलीको नक्सा खिच्नेहरूसँग
राख्न मन लागेको छ केही जिज्ञासा—
वैदेही भेटिएको र भासिएको
विदेहको भूमि
जानकीको थियो कि जनकको ?
सृष्टिकर्ताले
पृथ्वी नामको ग्रह उत्पत्ति गरेपछि
यसको लालपुर्जा
नरलाई दिएका थिए कि नारीलाई ?
मेरा सोझा सवालको जवाफ दिन आवश्यक नठान्ने
आफूलाई बुज्रुक भन्ठान्नेहरू हो
आफूलाई श्रेष्ठ र स्त्रीजातिलार्ई दोस्रो दर्जामा राख्नेहरू हो,
जसरी यो जमिन एकलौटी बिर्ताजस्तो बनाएर
जनानाहरूलाई भूमिहीन बनाएका छौ
त्यसरी नै स्त्रीजातिहरूले
आफ्नो कोखको स्वत्वाधिकार दाबी गर्न थाले भने !!
के होला ?