आरम्भ
अमेरिकी दक्षिणभूमि आर्कान्सस स्टेट । आर्कान्ससको उत्तरी भेगमा पर्ने स्ट्याम्स गाउँ ! यहीँको अनन्त फाँटमा बगिरहने हावामा फेरेको सासको मिठो सम्झना छ मायालाई । हरिया रुख अनि धुले चौरमा प्रकृतिको फरक सान्निध्य बाँचेकी हुन् उनले । स्ट्याम्सको आकाश र भूमि सबैभन्दा प्रिय छ, माया एन्जेलोलाई । यही भूमिमा मायाले जीवनका अविस्मरणीय स्मृति सँगालेकी छन् र जीवनभर प्रेरणाको शक्तिशाली आधार बनेकी हजुरआमालाई भेटेकी हुन् । यही भूमि हो, जहाँ उनले सानैमा विभेदको चर्को रूप देखिन् । आमाबाबु जिउँदो हुँदाहुँदै पनि अनाथ हुनुपरेको अनुभूतिसँगै उनको विद्रोहको चेत पहिलो पटक आर्कान्ससबाट नै खुल्यो । त्यति मात्र होइन, गाउँका श्वेत केटकेटीले आफ्नी साहसिली हजुरआमालाई बारम्बार गिज्याउने गरेका घटनाले मायाको स्वाभिमान अपमानको आँसुले भिजिरह्यो र त्यही भिजाइबाट उनले हृदयभूमिमा प्रतिरोधको चेतना उमार्न पुगिन् । यही भूमिमा रहेर किशोर वयसम्म हजुरआमा एनी हेन्डरसबाट मायाको सिङ्गो आकाश ओढिन् मायाले अनि श्वेतहरूले अश्वेतहरू माथि गर्ने विभेदको अनेक रूप पनि देखिरहिन् । यसै अनुभूतिलाई उनले कवितामा लेखेकी छन् –
उन्मुक्त चरो
हावाको पिठ्युँ चढेर
उन्मुक्त धारलाई छिचोल्दै
वेगको अन्तिम किनारसम्म पौडन्छ
आफ्ना पँखेटालाई
घामका सुन्तले किरणमा डुबाउँछ
र सम्पूर्ण आकास उसैको हो झैँ फुर्ति गर्छ
तर, साँगुरो पिँजडामा थुनिएको चरो, बिचरो
मुस्किलैले मात्र चिहाउन सक्छ
आफ्नो कैदखानाको झ्यालबाट बाहिर
उसका पखेटा च्यापिएका छन्
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ खोल्दछ आफ्नो गला गाउनका लागि
पिँजडाको चरो कुनै अज्ञात डरमा काम्दै गाउँछ
तर पनि
वर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ
यो स्वर दुर्गम टाकुराहरूसम्म ।
पिँजडाको चरो स्वतन्त्रताको गीत गाउँछ
स्वतन्त्र चरो
अर्को शीतल हावाको प्रतीक्षा गर्छ
सल्लेरीका मन्द सुसाइको बाटो हेर्छ
बिहानको उज्यालो चौरमा
आफ्ना आहाराहरूले पर्खिरहेको कल्पना गर्छ
र सम्पूर्ण आकास आफ्नै हो ठान्छ
तर, पिँजडाको चरो
सपनाहरूको चिहानमै उभिइरहन्छ
उसको छाया ऐठनका बर्बराहटलाई ललकार्छ
उसका पखेटा च्यापिएका छन्,
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ
खोल्दछ आफ्नो गला गाउनका लागि
पिँजडाको चरो कुनै अज्ञात डरमा काम्दै गाउँछ
तर पनि बर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ, यो स्वर दुर्गम टाकुराहरूसम्म
पिँजडाको चरो स्वतन्त्रताको गीत गाउँछ । (अनु. सुमन पोखरेल)
माया एन्जेलोको ‘पिँजडाको चरो’ कवितामा तत्कालीन अफ्रिकी अमेरिकी समाजमा व्याप्त विभेदको रूप व्यक्त भएको छ । यो कविता पढ्दा माया हुर्केको गाउँको परिवेशसँगै उनमा उठ्दै गएको चेतनाको स्वर मुखरित भएको बोध हुन्छ । एउटी संवेदनशील लेखक बन्ने वातावरण उनलाई उनकै जीवनको भोगाइले बनाएको हो । गरिब हुनु, अश्वेत हुनु, छोरीमान्छे हुनु…. यस्तै अप्रमुख परिचयले उनलाई कर्मशील भएर परिचित हुने आशा जगायो । उन्मुक्तिको सपनासँगै उनका कर्महरू निरन्तर अगाडि बढिरहे । सफलताका लागि सपना अनिवार्य हो भन्ने कुरा उनको जीवनले स्पष्ट पारेको छ । माया एन्जेलो अमेरिकी भूमिकी सुप्रसिद्ध स्रष्टा हुन् । उनका बारेमा फिल्म बनेका छन्, अनेक पुस्तक लेखिएका छन् ।
****
एउटा पुरानो रेलको स्टेसन ! तीन चार वर्षकी बालिका र चार पाँच वर्षका बालक निरीह मुहारमा उभिएका छन् । उनीहरूका आँखा भुइँतिर छन्, मुस्किलले टाढाबाट आएकी एउटी महिलालाई देख्छन् । लुगामा टाँसिएको सूचना पढ्दै ती महिलाले उनीहरूलाई समाएर लगेको दृश्य हरेक दर्शकका मनमा साह्रै गढेर बस्छ । माया र उनको दाजु बेलीलाई सेन्ट लुइसबाट रेलमा हालेर आर्कान्सस पठाइदिएको झिनो सम्झना मात्र मायासँग छ । आमाबुबा पुर्याउन समेत नगएर लुगामा नै ठेगाना टाँसेर पठाउनुको बाध्यता फिल्मले खुलाएको छैन तर ती अबोध बालबालिकाको त्यो स्थिति निकै मन छुने किसिमको छ । सन् १९७९ मा बनेको अमेरिकन टेलिभिजन फिल्म ‘आइ नो ह्वाइ द केज्ड बर्ड सिङ्स’ ले माया एन्जेलोको बालकदेखि किशोर जीवनको भोगाइलाई सटिक रूपमा उतारेको छ । सोही शीर्षकको उनको आत्मकथाको पुस्तक दश वर्ष पहिले नै पाठकमा प्रिय हुँदै आएको थियो । यस पुस्तकमा मायाले आफ्नो भोगाइसँगै अमेरिकी समाजको जातीय विभेद र दमनकारी स्वरूपलाई सूक्ष्म रूपमा चित्रण गरेकी छन् ।
व्यक्तित्व
गायिका, लेखक, कवि, नृत्यङ्गना, नागरिक अधिकारकर्मी, नाटककार र एउटी असल आमा… माया एन्जेलोका व्यक्तित्वका अनेक स्वरूप केलाउन सकिन्छ । उनले अमेरिकी भूमिको विशालताझैँ विशाल परिचय बनाएकी छन् । एन्जेलो अर्कान्ससको संसारमा हुर्किन् र हजुरआमाको मायामा बढिन् । माया र उनका दाइ बेली हजुरआमालाई सहयोग गर्थे । सानोमा उनीहरूको मुख्य काम हजुरआमाको पसलमा सहयोग गर्नु थियो । पसलमा बसेर उनीहरू बिस्कुट, अचार, पिठो, कपडा लगायतका सामग्रीहरू बिक्री गर्थे । एन्जेलो भन्छिन्, “मैले जीवनमा पसलको गन्ध सुघेँकी छु र त्यसको आवाज अनुभूत गरेकी छु । त्यहाँ बसेर मैले सामानहरू र तिनका गन्धहरूको हावालाई स्पर्श गरेकी छु ।” दिनभरिको पसलको काम सम्झँदै उनी भन्छिन्, “कपडा बिक्री गर्दा त्यसको धूलो मेरो कपालमा आएर बस्थ्यो, म थकित भएर ओछ्यानमा पल्टिन्थेँ र दिनभरिको दुःखलाई बिर्सेर निदाउथेँ ।”

Source: Maya Angelou – Caged Bird Legacy
मायालाई बाल्यकालमा उनकी हजुरआमा र दाजु बेली तथा युवा उमेरमा आमाको छाप गहिरो गरी बस्यो । “मैले हजुरआमाको शक्ति र बलिष्ठपनलाई देखेँ । तिनी अरू महिलाहरूभन्दा अग्ली थिइन् । उनका हातहरू बलिया थिए । उनको आवाज ओजिलो थियो ।” उनका दृष्टिमा हजुरआमा यस्ती एउटी अफ्रिकन अमेरिकन महिला थिइन् जसलाई सबैले ‘मिसेस’ भनेर आदरपूर्वक बोलाउँथे । उनी एउटी सफल महिला व्यापारी थिइन् । उनका पसलमा सबै खालका खाद्य सामग्रीहरू थिए र उनी आफ्ना उपभोक्ताहरूलाई सहजताका साथ यस्ता खाद्य सामग्रीहरू बेच्ने गर्थिन् । हजुरआमाको इमानदार चरित्रको प्रभाव मायामा बालककालमा नै पर्न गयो । उनीसँगको चर्चको यात्रा, चर्चमा शान्त बस्ने सन्देश र श्वेतहरूका अगाडि कसरी आफ्नो अस्तित्वलाई प्रस्तुत गर्दै बस्ने भन्ने उनको सिकाइको प्रभाव पनि मायामा परेको छ । हजुरआमाले कहिल्यै पनि श्वेतका अगाडि ग्लानिको अनुभव गरिनन् । हजुरआमा पछि मायाको जीवनका अर्का प्रेरक व्यक्तित्व उनको दाजु बेली जोनसोन थिए । मायाभन्दा एक वर्ष जेठा बेली उनको मिल्ने साथी जस्तै थिए । मागुरिटबाट माया नाम दिने काम पनि उनका दाजु बेलीले गरेका थिए, जसलाई उनले साहित्यिक नामका रूपमा प्रयोग गरिन् । बेलीको मिहिनेती, शान्त र प्रतिभाशाली व्यक्तित्वबाट माया सधैँ प्रेरित हुन्थिन् ।
अस्तित्वको यात्रा
सन् १९२८ को अप्रिल ४ मा सेन्ट लुइस, मिसौरीमा एउटी बालिकाको जन्म भयो । मागुरिट एनी जोनसनका रूपमा जन्मेकी यी बालिका पछि गएर माया एन्जेलोका रूपमा प्रसिद्ध भइन् । अफ्रिकन अमेरिकन लेखकहरू Claude McKay, Langaston Hughes, James Baldwin ले जस्तै एन्जेलोले पनि कुनै औपचारिक रूपमा उच्च शिक्षा प्राप्त गरिनन् । उच्च शिक्षा प्राप्त नगरे पनि उनले अफ्रिकी अमेरिकी सांस्कृतिक पक्षको गहिरो अध्ययन गरिन् भने घरमै उनले सङ्गीत नृत्य लगायतका विषयमा ज्ञान हासिल गरिन् । एन्जेलोको प्रतिभाले उनलाई स्वअध्ययनतर्फ प्रेरित गर्यो । उनले लेखक समूहसँग मिलेर आधारभूत सिकाइ प्रक्रियाको विकास गरिन् । यस समूहमा रहँदा उनले लेखन, रङ्गमञ्च, कला, वक्तृता जस्ता विविध विषयमा ज्ञान हासिल गरिन् । सन् १९७५ मा स्मिथ कलेज र मिल्स कलेजले एन्जेलोलाई मानार्थ शैक्षिक उपाधि प्रदान गरे । सन् १९७७ मा वेक फोरेस्ट युनिभर्सिटीसँग उनी संलग्न भइन् र सन् १९८१ देखि उनको जीवनको अन्तिम समयसम्म उनी अमेरिकी प्रथम रिनोल्ड प्राध्यापकका रूपमा रहिन् । धेरैले उनलाई सम्मानस्वरूप डा. एन्जेलोका रूपमा सम्बोधन गर्ने गरेका थिए जसबाट उनले गौरवको अनुभूति गर्थिन् ।
मायाको सुप्रसिद्ध आत्मकथा आई नो ह्वाई द केज्ड बर्ड सिङ्स उनको शक्तिशाली सिर्जना हो । उनका कविता सिर्जना सामान्य पाठकले मनपराएको हुँदा कतिपय समालोचकहरूले यसलाई लोकप्रिय कविता (पपुलर पोयट्री) भनेका छन् । उनका संस्मरणहरूमा अफ्रिकी अमेरिकी अनुभवको प्रस्तुति छ । उत्पीडित अश्वेतहरूको कथा र व्यथालाई उनले सुन्दर आख्यानात्मक शैलीमा प्रस्तुत गरेकी छन् । अफ्रिकी अमेरिकी परम्परा र उनीहरूका जीवनको अद्भूत प्रस्तुति उनको आत्मजीवनीमा छ । एन्जेलोले अश्वेतहरूका लागि लेख्दा लेख्दै पनि श्वेत र अश्वेत दुबैथरी पाठकलाई आकर्षित गरेकी छन् । उनको लेखनमा अमेरिकी सार्वभौम जीवनको अनुभवलाई प्रस्तुत गरिएको छ । “म सानो तर एउटा विशाल संसारमा छु” भन्ने उनको भनाइले अमेरिकी विशालताको परिचय दिन्छ । उनका लेखनमा जाति र जनजातीय सन्दर्भ, तिनका अनुभवहरूको आदानप्रदानलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । हरेक अनुभूतिहरू स्वअनुभूतिको गहिराइसम्म पुगेर प्रस्तुत भएका छन् । आई नो ह्वाई त केज्ड बर्ड सिङ्स किताबमा विशिष्ट (युनिक) शैलीमा आफू युवा हुँदा भोगेका अनुभूति तथा डरलाग्दो अपमानबोधको सूक्ष्म चित्रण प्रस्तुत गरिएको छ । अमेरिकी पाठकहरूले यस कृतिलाई अफ्रिकी अमेरिकीहरूको दुःखद बिम्बका रूपमा मात्रै लिएका छैनन्, अमेरिकी उत्पीडितहरूको वास्तविक जीवनचित्रका रूपमा समेत बोध गरेका छन् ।
केज्ड बर्डमा एन्जेलोले आफ्नो बाल्यकालको पुनर्निर्माण गर्दै आफ्ना दाजु र हजुरआमासँगै आफू हुर्केको बाल्यकाल अनि त्यहाँको भूमि र प्रकृतिको चित्रण गरेकी छन् । बाल्यकालमा आफ्नी हजुरआमा लगायत अश्वेतहरूमाथि गोराहरूले गरेको अपमानजनक व्यवहारहरू उनका मनमा गढेको देखिन्छ । भोगाइको सघन अनुभूतिसँग चेतनाको शक्तिशाली बहस उनको आत्मकथाले उठाएको छ । पाँच छ वर्षको उमेरदेखि हाइस्कुल पढ्ने बेलासम्मको उनको जीवनलाई यस आत्मकथाले प्रस्तुत गरेको छ । माया सानैदेखि दमन र अन्यायका विरुद्ध सचेत देखिन्थिन् । त्यसैले त उनले सानैमा रेलमा हालेर हजुरआमाको घर पठाइएका आफू र दाजुको अवस्था उनले सजिलै बोध गर्न सकेकी छन् । आमाबाबु भएर पनि अनाथ झैँ बाच्न परेकोमा, रेलमा एक्लै साना बालबालिकालाई हालेर पर पठाइएकोमा उनलाई अनौठो मात्र लागेको छैन, आमाबुवा जीवित छन् भनेर थाहा पाउँदा स्वीकार गर्न पनि सहज भएको छैन । सात वर्षको उमेरमा आमासँग पुर्याउनका लागि आएका बुबालाई स्वीकार गर्न गाह्रो भएको छ । माया सजिलै बुबासँग उनीहरूको आमाको घरमा जान मन गरेकी छैनन् । आमालाई छोडेका उनका बाबुलाई देखेर पनि उनलाई अनौठो लागेको छ । आमाको घरमा सेन्ट लुइस फर्किएपछि मायाले सबैभन्दा पीडापूर्ण जीवन भोगिन् । आमाकै केटासाथीबाट उनी बलात्कृत भइन् । उनको पीडालाई दाजु बेलीले सधैँ बुझेर साथ दिए तर मायाले आवाज निकाल्न छोडिदिइन् । धेरै लामो प्रयासपछि मायाले पाँच वर्षपछि मात्र बोली निकालिन् । उनको यो मौनता डरका कारण थियो कि विद्रोही चेतनाको निर्माणका लागि ?!
माया एन्जेलोको जीवन अत्यन्त उतारचढायुक्त भोगाइले भरिएको छ । एउटी महिला जो अश्वेत छ उसका जीवनका भोगाइ र दासता उनको अनुभव पनि हो र लेखाइको विषय पनि हो । सन् १९२८ मा जन्मेर ४ वर्षकै उमेरमा जन्मस्थान छोडेकी एन्जेलो सात वर्षकै उमेरमा आफ्नै आमाको केटासाथीबाट बलात्कृत भइन् । त्यो असह्य पीडाले उनलाई जीवनभर सताइरह्यो । सात वर्षमा उमेरमा भोग्नुपरेको त्यो यातनाले नै उनलाई नारीवादी बनायो । श्वेतहरूका दमनका विरुद्धको विद्रोहमा उभ्यायो र नारी हुनुको सचेततालाई स्थापित गर्नका निम्ति उत्प्रेरणा प्रदान गर्यो । १३ वर्षको उमेरमा उनी आमासँगै सनफ्रान्ससिस्को गइन् । त्यहाँ पनि उनको जीवन उतारचढावयुक्त रह्यो । त्यहाँ रहँदा उनले अफ्रिकन अमेरिकन पहिलो बस कन्डक्टर महिला भएर काम गरिन् । अनिच्छाकै बिचमा पनि उनको एउटा छोरो जन्मियो र त्यहीँ रहँदा रहँदै उनले हाइस्कुलसम्मको अध्ययन पूरा गरिन् । सन् १९५० मा Tosh Angelos सँग बिहे गरेकी एन्जेलोले दुई वर्षमा नै सम्बन्ध विच्छेद गर्न बाध्य भइन् । पर्पल अनियन नाइट क्लबमा उनले मनोरञ्जक भएर पनि काम गरिन् । मायाको आत्मकथाले उनलाई संसारभरि परिचित बनायो । उनी पुस्तकको नाम जस्तै परिस्थितिमा थिइन् र त प्रतीकात्मक नाम दिँदै यो किताब लेखिन् । श्वेतहरूको वर्चस्व रहेको समाजमा आफूलाई पिँजडामा बन्दी चराको प्रतिरोधी आवाज बनाइन् ।
बौद्धिक सत्सँग र सिर्जात्मक कर्म
माया एन्जेलोको लेखन अलि पछि सुरु भयो । सन् १९५९ मा उनी न्युयोर्क पुगिन् र त्यहाँ Harlem Writers Guild संस्थासँग आबद्ध भइन् । यो अमेरिकाको अश्वेत लेखकहरूको पुरानो संस्था हो । यो संस्थाको स्थापना सन् १९५० मा भएको थियो । यस संस्थाले हार्लेम पुनर्जागरणका सांस्कृतिक आन्दोलन, अश्वेत कला, साहित्य र बौद्धिकताको अध्ययन गरेको छ । अफ्रिकन अमेरिकन लेखकहरू सहभागी भएको यस संस्थाको उद्देश्य अश्वेत जातिका लेखकहरूमाथि भइरहेको विभेदको विरोध गर्दै लेखनका माध्यमबाट कालाहरूका अनुभवलाई प्रस्तुत गर्नु थियो । यस संस्थामा सहभागी भएपछि एन्जेलोले पनि सिर्जनात्मक लेखनसम्बन्धी अनुभवलाई समृद्ध पार्दै लगिन् । सन् १९६० मा उनको भेट अमेरिकी अश्वेत आन्दोलनका नेता डा. मर्टिन लुथर किङ जुनियरसँग भयो । यस भेटले उनलाई अश्वेत आन्दोलनमा लाग्नका निम्ति उत्प्रेरणा प्रदान गर्यो । सन् १९६१ मा उनी इजिप्टको कायरोमा पुगिन् । कायरोमा उनले अरब अब्जर्भर (Arab Observer) नामक पत्रिकाको सहसम्पादक भएर काम गर्ने अवसर प्राप्त गरिन् । सन् १९६२ मा उनी आफ्नो छोरासँग घानाको आक्रा (Accra) गइन् । जहाँ उनका छोरा घाना विश्वविद्यालयमा अध्यापन गर्ने गर्थे । घानामा रहँदै उनले मानवअधिकारवादी तथा अफ्रिकाली अमेरिकी अधिकारकर्मी मालपोङ एक्स (MalcolmX) सँग भेट गरिन् । समानता र अहिंसाका समर्थक एक्ससँगको भेटले उनलाई अश्वेत आन्दोलनमा लाग्नका लागि अझ बढी उत्प्रेरणा प्रदान गर्यो । सन् १९६५ मा अमेरिका फर्केर उनी मालपोङसँग मिलेर काम गर्न थालिन् । सन् १९६९ मा उनले आफ्ना कविताहरूको अभिलेख तयार पारिन् । यसै वर्ष उनको प्रसिद्ध पुस्तक आई नो ह्वाई द केज्ड बर्ड सिङ्स प्रकाशित भयो । यो पुस्तक नेसनल बुक अवार्डमा समेत छानिएको थियो । सन् १९७१ मा उनको Just Give me a cool drink of water ‘fore I Diie कविताको पहिलो किताब प्रकाशित भयो । यो पुस्तक पनि पुलित्जर पुरस्कारका लागि छनोटमा परेको थियो । सन् १९७२ मा एन्जेलो पहिलो पटक पर्दामा देखा परिन् । चलचित्र उत्पादनका दृष्टिले पर्दामा देखापर्ने उनी पहिलो अफ्रिकी अमेरिकी महिला थिइन् । यसबाट एन्जेलोले चलचित्रमा समेत ख्याति प्राप्त गरिन् । सन् १९७४ मा उनको Gather Together in My Name संस्मरण पुस्तक प्रकाशित भयो । यही सालमा उनी Wake Forest University, Wichita State University, California State University को आगन्तुक प्राध्यापकका रूपमा समेत सम्मानित भइन् । सन् १९७५ मा Oh Pray My Wings Are Gonna Fit Me Well कविताको पुस्तक प्रकाशित भयो । यो रकफेलर फाउन्डेसनले चयन गरेको एउटा बौद्धिक पुस्तक थियो । उनको आत्मकथाको तेस्रो पुस्तकका रूपमा सन् १९७६ मा Singin’ and Swingin’ and Gettin’ Merry Like Christmas प्रकाशित भयो । यस पुस्तकका आधारमा उनलाई लेडिज होम जर्नलले वर्ष महिला (वुमन अफ त एयर) का रूपमा चयन गरेको थियो । यही साल उनको All Day Long नामक नाटक पनि प्रकाशनमा आयो ।
सन् १९७८ मा उनको प्रसिद्ध कविता And Still I Rise पुस्तकका रूपमा प्रकाशित भयो । यस कृतिमा उनले नागरिक अधिकारका विषयमा विचार मुखरित गरेकी छन् । बलियो हुँदै गएको अश्वेत नारीवादी आन्दोलनको विषय पनि मायाले उठाएकी छन् । उनको आइ नो ह्यइ द केज्ड बर्ड सिङ्स पुस्तकमा आधारित टेलिसिरियल पनि बन्यो । सन् १९८२ मा उनले टेलिचलचित्र Sister for NBC को लेखनकार्य सम्पन्न गरिन् भने सन् १९८३ मा उनको Shaker, Why Don’t You Sing ? नामक कृति प्रकाशित भयो । सन् १९८६ मा All God’s Childern Need Travelling Shoes प्रकाशित भयो । कवि, नाटककार, विचारक, फिल्म निर्देशक, गायक, नृत्यङ्गना आदि व्यक्तित्वबाट उनले धेरै थरीका सिर्जन कर्म गरिन् । सातवटा आत्मकथात्मक कृति सहित उनका थुप्रै पुस्तकहरू प्रकाशित छन् ।
संवादको चित्र
समाजमा काला महिलाप्रतिको डरलाग्दो अवस्था छ नि ?
“मेरो बारेमा विद्यावारिधि हुँदैछ, म बुद्धिमान महिला हुँ । कहिलेकाहीँ म आफैलाई फर्केर हेर्ने गर्छु । धेरैजसो समयमा म आफैलाई बुझिरहेकी हुन्छु, पढिरहेकी हुन्छु । मलाई थाहा छ, म रुचिकी पात्र हुँ । मेरो जीवनमा कहिल्यै पनि उदासी अनुभव गरेकी छैन ।”
यो कसरी संभव छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, “कुनै बेला म उदास पनि थिएँ । बिस बर्षकी हुँदा मलाई मृत्युको चाहनाले समात्यो । मैले मृत्युको बारेमा सुनेकी थिएँ । मलाई कसैले यसको बारेमा भनेको थियो । म ढोका लक गरेर बस्न पनि डराउँथे । म मृत्युसँगसँगै थिएँ जस्तो लाग्छ । तर म के निष्कर्षमा आएँ भने मैले मेरो उदासीलाई त्याग्नुपर्छ । त्यसको एक वर्षपछि म सबै उदासीबाट मुक्त भएँ । म मुक्त हुनुपर्छ भन्ने सोचेँ । मेरा दुईवाट काम थिए, एकातिर मैले छोरालाई हुर्काइरहेकी थिएँ र अर्कोतिर म काममा पनि व्यस्त थिएँ । एक दिन आमासँग म घुम्न गएँ, हामी पहाडबाट ओर्लिँदै थियौँ, आमाले भन्नुभयो, छोरी तिमीलाई थाहा छ तिमी संसारकी त्यस्ती ठुली मान्छे हौ, जसलाई मैले कहिल्यै पनि भेटेकी थिइनँ । हामी रोकियौँ । यसले मलाई सधैँ अगाडि बढ्न उत्साहित बनायो ।”
एन्जेलो अश्वेत जाति र गरिबका अधिकारका पक्षमा लेख्ने स्रष्टा हुन् । उनी भन्छिन्, “म कालाहरूको अनुभवको बारेमा बोल्छु तर म सदैव मानिसको अवस्थाका बारेमा कुरा गर्छु । त्यस्ता मानिसहरू जो बाँच्नका निम्ति सङ्घर्ष गरिरहेका छन् म तिनीहरूकै सपना देख्छु र तिनीहरूकै पक्षमा गीत गाउँछु । उनी अर्को ठाउँमा लेख्छिन्, “मेरा सबै लेखनकार्यहरू मेरो जीवन बाँच्नका लागि हो । मेरा सबै कार्यहरूको अर्थ म विविध प्रतिरोधका बिच बाँचेकी छु । तपाईँले भोग्दै नभोगेका कतिपय कुराहरू मैले भोगेकी छु ।”
मायाले विलियम सेक्सपियरका पुस्तकबाट पर्याप्त शिक्षा ग्रहण गरेकी छन् । उनी लेख्छिन्, “सेक्सपियरसँग मेरो पहिलो श्वेत प्रेम थियो । उनी अगाडि लेख्छिन्, “त्यसो त मैले किपलिङ, पो, बटलर, थ्याकरे र हेन्लीलाई पनि आदर गर्छु र उनीहरूका लेखनले मलाई प्रभाव पनि पारेका छन् ।” मेरो युवा अवस्थामा पाउल लरेन्स डनबार, लङ्स्टन ह्युज, जेम्स वेल्डन जन्सन र दुबासप्रतिको आस्थालाई व्यक्त गरेँ । यति भएर पनि मैले सेक्सपियरको श्वेतपनालाई अरू कसैकोभन्दा ज्यादा मनपराएँ । माया एन्जेलोले सानैदेखि श्वेतहरूको उत्पीडनलाई देखिन् र त्यसलाई घृणा गरिन् । उनले आफ्नी हजुरआमामाथि बच्चाहरूले र ठुलाहरूले पनि अपमान गरेको नजिकैबाट देखिन् । यसको मुख्य कारण उनीहरू कालो हुनु नै थियो ।
निचोड
माया एन्जेलोको पूर्वार्द्धको जीवन सधैँ कठिनाइ र सङ्घर्षमा बित्यो । अभाव, गरिबी, रङ्ग भेदको तनाव आदिमा बाँच्नु परे पनि उनले कहिल्यै हिम्मत हारिनन् । एउटी सहासी हजुरआमाको काखमा हुर्केकी उनको आत्मविश्वास गजब लोभलाग्दो थियो । सात वर्षको उमेरमा बालात्कृत भएकी उनी पाँच वर्षसम्म मौन बसिन् । त्यो मौनतामा उनले समाजलाई चिन्दै, अध्ययन गर्दै आफूभित्र शक्तिसञ्चय गरिरहिन् । आफू विरुद्धको परिवेशलाई जित्न उनको यो मौन साधना पनि धेरै तरिकाले प्रतीकात्मक देखिन्छ । बाँच्नुको अर्थ समयको समानान्तर रेखासँगको यात्रा होइन बरु परिस्थितिलाई चिर्दै आफ्नो लक्ष्यको निर्माण हो भन्ने कुरा उनको जीवनले बुझाएको छ । सधैँ चुनौतीलाई सामना गर्न अभ्यस्त मायाले जीवनमा अकल्पनीय मोडहरू भोग्दै अगाडि बढिन् । समाजले जति लडाउन खोजे पनि उनी भागिनन् । बरू सधैँ उठिन् र आफ्ना कलम र आवाजलाई बुलन्द बनाउँदै अगाडि बढिन् । परिवर्तित समयले उनलाई चिन्दै गयो । उनको सङ्घर्षलाई बुझ्दै गयो । काला जातिको अवस्था र संवेदनालाई उठाउन उनको प्रयास सधैँ उचो रह्यो । अमेरिकाकी अश्वेत महिला माया एन्जेलोको जीवनकथा संसारभर प्रसिद्ध छ । उनी प्रेरणादायी पात्र हुन् । अभाव र सङ्घर्षमा उठेर संसारले चिन्ने मान्छे मात्र होइनन् उनी जीवनको यात्रा कसरी गर्नुपर्छ भन्ने रोचक कथा भोगेकी शक्तिशाली व्यक्ति पनि हुन् । बलात्कृत हुनु, एकल आमा हुनु, यौन पेसा अपनाएर समेत जीवन बाँच्न पर्नु उनको जीवनको सङ्घर्षका सकसपूर्ण भोगाइहरू हुन् तर तिनलाई पनि उनले सहज रूपमा लिएकी छन् । जीवनको अकल्पनीय उतारचढाव अनि लोभलाग्दो सफलताको कथा बोकेकी विशिष्ट पात्रका रूपमा मायाको जीवन सबैका लागि प्रेरणादायी छ ।
सन्दर्भ सामग्रीसूची
Angelou, M. (2009). Letter to my daughter. Random House.
Bloom, H. (Ed.). (2009). Maya Angelou (Bloom’s modern critical views). Infobase Publishing.
I Know Why the Caged Bird Sings (1979). [Television movie]. ABC.
Lupton, M. J. (2020). Maya Angelou: The iconic self (2nd ed.). Routledge.
Maya Angelou and Still I Rise (2016). [Documentary]. BBC.