अस्मिता हाम्रो को तेस्रो अङ्कको मुख्य उद्देश्य परिवर्तनका निम्ति सचेत महिलाहरूले विगतमा गरेका साहसिक कर्मको स्मरण र सम्मान गर्नु रहेको छ, जसमा महिला मुक्तिको पाइला त अवश्य भेटिने नै छ, अझ पितृसत्ताको लक्ष्मणरेखालाई नाघ्ने आँट गर्न नसकिरहेका महिलाहरूमा समेत अग्रगामी पाइला बढाउनका निम्ति साहस सञ्चार गरिदिनेछ । यस्तो साहसले दासत्वको कुरूप अतीतका अवशेषहरूलाई समाप्त गर्न सक्षम भई “महिला स्वतन्त्रता र सहअस्तित्वको सचेतनता” मूल मन्त्र रहेको अस्मिता हाम्रो को अभियानलाई सार्थक बनाउन सकारात्मक ऊर्जासमेत भरिदिनेछ भन्ने विश्वासका साथ यस तेस्रो अङ्कमा ‘महिला सङ्घर्षको सौन्दर्य’ थिममा आधारित लेख रचनाहरू प्रकाशन गरिएका छन् । महिलाका सङ्घर्षका विविध आयामहरू छन्, पितृसत्तात्मक व्याख्याले “समष्टिगत” भन्ने गरे पनि त्यसभित्रको एकपक्षीय विश्लेषणले ती आयामहरूलाई यथोचित सम्बोधन गर्न सकिरहेको छैन । महिलामाथिको विभेदका विरुद्ध तिनले गरेका प्रतिरोध र सङ्घर्षका ऐतिहासिक स्वरूपहरूका बारेमा अस्मिता हाम्रोका अघिल्ला अङ्कहरूका सम्पादकीय र गहन लेखहरू मार्फत विस्तृत रूपमा प्रकाश पारिसकिएको छ । यस अङ्कमा भने महिलाका कठिन सङ्घर्षका उपलब्धिहरूलाई समाज विकासको सौन्दर्यका रूपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ । त्यसका निम्ति महिलाप्रतिको समाजले हेर्ने परम्परागत दृष्टिकोण बदल्ने प्रयास सङ्घर्षशील महिलाका अनुभव र अनुभूतिहरूमार्फत गरिएका छन् ।
महिलाका आन्तरिक र बाह्य सङ्घर्षहरू प्रकृति र जीवनका गतिशीलताहरूमा आउने कठिनाइसँग भन्दा पनि पितृसत्तात्मक समाज व्यवस्थाले लैङ्गिक आधारमा बनाएका विभेदका पहाडहरूसँग जुध्नमा ज्यादा रहन गयो । समाज यसर्थ महिलाका हकमा असामाजिक र विभेदी बन्दै गयो । त्यस अवस्थामा “हामी पनि समान हौँ” भन्ने आवाज उठाउनु नै महिलाका निम्ति पहिलो सङ्घर्ष थियो, जुन सङ्घर्षका स्वरूपहरू अन्तर सांस्कृतिक हुँदै राजनीतिक दाउपेचको जालो पन्छाउन आज पनि प्रयत्नरत छन् । अस्मिता पत्रिकाले प्रकाशनको आरम्भ (२०४५) देखि नै महिला मुक्तिका विश्व सन्दर्भलाई दृष्टान्तमा प्रस्तुत गर्दै नेपाली समाजभित्र दृश्य अदृश्य रूपमा विद्यमान महिला समस्याहरू र तिनका कारकहरूको परिणाममुखी उत्खनन् गर्दै आएको छ । यही क्रमको यस अभियानमा अस्मिता हाम्रोले नेपाली समाजभित्र रहेका अन्तरसम्बद्धता र विविधताका पत्र पत्रमा पुगी विभेदको प्रतिरोधबाट निस्केको सफलताका साक्ष्यहरूमा सङ्घर्षको सौन्दर्य खोज्ने प्रयास गरेको छ । यस अङ्कमा समेटिएका लेख रचनाहरूमा महिलाका सङ्घर्षका केही प्रतिनिधि भोगाइ, घटना, प्रतिरोध र प्राप्तिका शब्दचित्र प्रकाशित गरिएका छन् ।
खुला आकाशबाट घरभित्रको छानोमुनि रमाउन स्विकारेका महिलाहरूलाई सुरक्षा र लालनपालनको जिम्मेवारी लिएका नाममा पितृसत्ताले वर्षौं शारीरिक र मानसिक रूपमै बन्दी बनाई त्यसको लाभ लिइरह्यो । यस अङ्कका तीन वटा अग्रलेखहरूमा सत्ता र महिलाका बिचको उक्त विषयलाई विश्लेषणसहित प्रस्तुत गरिएका छन् । ‘महिला सङ्घर्षको सौन्दर्य : नेपाली समाज र सङ्घर्षका विविध आयाम’ शीर्षकमा कुमारी लामाले विभेदयुक्त परिस्थितिको सामना गर्दै कसरी महिलामुक्तिको प्रारम्भिक बहसहरू भए र यसलाई सैद्धान्तीकरण गर्ने क्रममा विद्वान् अध्येताहरूले निकालेका के कस्ता समाजशास्त्रीय सन्दर्भ, तर्क र व्याख्याहरूले विश्वभरका महिलाहरूलाई व्यवहारिक रूपमा स्वतन्त्रताका निम्ति जागरुक हुन सघायो र अझै सङ्घर्षका के कस्ता अवस्थाहरू लक्ष्य प्राप्तिका निम्ति निरन्तर प्रतिरोध गरिरहेछन् भन्ने विषयमा इतिहास, सिद्धान्त र तथ्यहरूका आधारमा नेपाली समाज र यसभित्रका विविधतालाई सम्बोधन गरी पुष्टि गरिएको गहन लेख तयार पार्नुभएको छ । अग्रलेखका रूपमा आएको अर्को आलेख डा. विन्दा पाण्डेको ‘महिला उत्पीडन र सत्ता’ रहेको छ । यसले नेपाली महिलाका विभिन्न सत्तासँगको प्रतिरोधको स्थितिको विस्तृत अध्ययन प्रस्तुत गरेको छ । अनिता गुरुङले गुरुङ समाज र संस्कृतिको केन्द्रीयतामा रहेर तयार पार्नुभएको ‘आदिवासी तमूस्यो : भाष्य र अनुभवको विपर्यास’ शीर्षकको अग्रलेख यस अङ्कको अर्को महत्त्वपूर्ण आलेख रहेको छ ।
महिला स्वास्थ्यका क्षेत्रमा निरन्तर लागिपर्नुहुने राधा पौडेलको ‘न्यायसङ्गत समावेशी समाजको निर्माण : मर्यादित महिनावारी आधार’ शीर्षकको लेखमा महिलालाई प्रकृति विपरीत परिभाषित गर्ने कुचलनका विरुद्धमा विचारोत्तेजक विमर्श गरिएको छ । प्रगति राईको ‘मेरो जीवनमा लेखन’ शीर्षकको संस्मरणमा महिलामाथिका सांस्कृतिक विभेदको प्रतिकारसँगै जीवन भोगाइ र लेखकीय चरित्र निर्माणसँग सम्बन्धित सूक्ष्म सम्वेदना प्रस्तुत गरिएको छ । यसरी नै न्यायसेवी सत्यभामा माथेमाको प्रेरणादायी व्यक्तिचित्र तथा इतिहासको गर्तमा छोपिँदै लगभग सत्ता र समयले बिर्सिनै सकेकी नेपाली राजनीतिकी एक साहसी योद्धा मनु लामासँगको कुराकानी यस अङ्कका विशेष आकर्षण रहेका छन् । महिला सङ्घर्षको सौन्दर्यसम्बन्धी अन्तरसम्वादमा सहभागीहरूका महत्त्वपूर्ण विचारहरूले यस अङ्कको सार–सौन्दर्य वृद्धि भएको छ । यस अङ्कमा कवि निभा शाहको “धर्मपुरुष” तथा कवि पवित्रा लामाको ‘हुरीको पञ्चम स्वर’ शीर्षकका दुई सशक्त नारी चेतनाका कविताहरू प्रकाशित छन् । यस अङ्कमा हिन्दी साहित्य र चलचित्रका प्रसिद्ध व्यक्तित्व गुलजारको नेपालीमा अनुवाद गरिएको नारी संवेदनायुक्त कविता ‘कति गाँठाहरू खोलेकी छु मैले’ प्रकाशन गरिएको छ । मधु राईको “राम्री”को बदलिँदो परिभाषामा आजका छोरी’, डा. तारालाल श्रेष्ठको ‘मेलवादेवीको सङ्घर्षमा शुक्रराज शास्त्री’, अस्मिता विष्टको ‘जुन दिन म स्वतन्त्रता सेलिब्रेट गर्नेछु’, सोफिया थापाको लेख “नो” सङ्घर्ष, फरजाना बानुको ‘के हामीले साँच्चै काँचुली फेरेका छौँ ?’ लगायतका लेखमा समाजमा महिलाको अग्रगतिका आयाम, तिनमा पुरुषको मैत्रीपूर्ण उपस्थिति, विभेदका बान्की र कानुनको अपूर्ण व्यवहारिक पक्षजस्ता विषयको उठान गरिएकाले यी ऐतिहासिक महत्त्वका दस्तावेज हुन् ।
‘सीपको सुवासमा सङ्गीता’मा जीवन लामाले व्यवसायिक लगनशीलता र सफलताले उठेका महिलाको व्यक्तित्व चिनारीमार्फत आर्थिक सशक्तीकरणको राम्रो उदाहरण प्रस्तुत गर्नु भएको छ । यसरी नै पूनम अधिकारीको ‘मेरी छोरी हाकिम हुन्छे’ कथामा साहस र सफलताको प्रेरणादायी चरित्र निर्माण गरिएको छ । कृति समीक्षा अन्तर्गत यस अङ्कमा भारतीय स्रष्टा समालोचक श्री वीरभद्र कार्कीढोलीले तयार पार्नुभएको ‘साहित्यचुली लक्खीदेवी सुन्दासका केही कृति र प्रवृत्ति’ शीर्षकको लेख प्रस्तुत गरिएको छ । अस्मिता हाम्रोको यस तेस्रो अङ्कमा ‘इतिहासको पानाबाट’ स्तम्भअन्तर्गत अस्मिताको तेस्रो अङ्कमा प्रकाशित ‘गर्भपातलाई कानुनी मान्यता चाहिन्छ’ शीर्षकको लेख साभार गरिएको छ भने ‘मेरो भागमा परेको अस्मिता’ अन्तर्गत पारिजातको लेख ‘शुभकामना सङ्घर्षकारी महिलाहरूलाई’ उहाँको लेख सङ्ग्रहबाट साभार गरिएको छ । प्रसिद्ध चित्रकार भीम शर्माद्वारा तयार पारिएको श्रमजीवी महिलाको कर्मशील जीवन–बिम्बमा आधारित कला यस अङ्कमा आवरण चित्रका रूपमा प्रयोग गरिएको छ ।
दिनहुँ जसो नै धेरै युवाहरू शिक्षा र रोजगारीका निम्ति विदेश पलायन भइरहनु, ह्रासोन्मुख राजनीतिक चिन्तनका कारण नेतृत्वप्रति आम नागरिकको विश्वास समाप्त हुँदै जानु, प्रविधिको दुरुपयोगले सूचना र सञ्चार क्षेत्र अविश्वसनीय र आक्षेपकारी बन्दै जानु तथा पुँजीवादले वस्तुकरण गरेका मानव अस्तित्व सङ्कटग्रस्त देखिनु, उपभोक्तावादी बजारीकरणले पर्यावरणीय सङ्कटसँगै सम्बन्धहरूको अवमूल्यन हुँदै जानुजस्ता वर्तमानमा हावी भएका परिस्थितिहरू अस्मिता हाम्रो का निम्ति समेत चुनौतीपूर्ण बन्दै जानेछ । यस्तो विषम समयमा समेत सम्पूर्ण लेखक तथा पाठकहरूले दिनुभएको उत्साहपूर्ण सहभागिता, जिम्मेवार पठन र रचनात्मक सुझावले महिला सशक्तीकरणका निम्ति निर्वच्छिन्न क्रियाशील रहन हामीलाई हौसला प्राप्त भइरहेको छ । यसका निम्ति अस्मिता हाम्रो टिम यहाँहरू सबैप्रति कृतज्ञ छ ।
अन्त्यमा यस अङ्कमा समावेश भएका लेख रचनामा आएका विचारका निम्ति भने लेखक स्वयम् नै जिम्मेवार रहनुहुने र पत्रिकाको आधिकारिक धारणा भने सम्पादकीय मार्फत सम्प्रेषण गरिने बारे निवेदन गर्दछौँ ।
अस्मिता हाम्रो परिवार