गीता त्रिपाठी (सम्पादक, अस्मिता हाम्रो)
उपस्थित सबैमा नमस्कार ! अस्मिताको २०४५ सालदेखिको यात्रालाई निरन्तरता दिँदै हामी फेरि सहयात्रामा जुटेका छौं । इतिहासदेखि वर्तमानमा जोडिएका हामी भविष्यको निरन्तरताका निम्ति यहाँहरूसँग सहकार्यमा आबद्ध हुन प्रतिबद्ध छौँ । हामीले अस्मिता हाम्रोको नयाँ आरम्भ २०८० सालको वैशाखदेखि (सुरुमा अनलाइनबाट) गर्यौँ र त्यसमा केही नयाँ थप लेखरचनासहित पछि ‘पितृसत्ता र भुईँ मान्छेहरू’विशेषाङ्कका रूपमा छापा कपीमा प्रकाशन गर्यौँ । त्यसपछिको अङ्क ‘महिला उत्पीडन र सत्ता’ रह्यो । आज हामी आगामी विशेषाङ्क ‘महिला सङ्घर्षको सौन्दर्य’ माथि अन्तरसम्वादमा जुटेका छौँ । यस विषयमा थप जानकारी र यसको उद्देश्यका बारेमा बताइदिनुहुन म सहकर्मी साथी, सम्पादक कुमारी लामाजीलाई अनुरोध गर्छु ।
कुमारी लामा (सम्पादक, अस्मिता हामो )
हार्दिक धन्यवाद गीता म्याम ! नमस्कार सम्पूर्णमा । आज यहाँ विशेष वक्ताका रूपमा हाम्रो अनुरोधलाई स्वीकार गरेर आउनुभएका छ जना व्यक्तित्वहरूका सङ्घर्ष र त्यागका आआफ्ना भोगाइ र कथाहरू छन् । यहाँहरूले समाजलाई नजिकबाट नियाल्नु भएको छ । यस अङ्कका निम्ति ‘महिला सङ्घर्षको सौन्दर्य’नै किन रोज्यौँ भने महिला सङ्घर्षको इतिहास लामो छ । प्रजातन्त्र प्राप्तिका लागि २००७ सालभन्दा अगाडि पनि महिलाहरूले लड्नुभएको थियो । त्यसअघि पनि योगमाया जस्ता पात्रहरू हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्ति पश्चात्को समयमा महिलाहरूले गर्नुभएको सङ्घर्षसँगै अस्मिता पत्रिकाले उठाएको गर्भपतनको अधिकार, आमाको नामबाट नागरिकता दिइनुपर्ने विषयहरूले आज कानुनी मान्यता पाइसकेका छन् । महिलाको सङ्घर्षको कठिन पाटो एकातिर छ भने उपलब्धिको सौन्दर्य पनि सँगसँगै आएका छन् । अतः महिलाको सङ्घर्षसँगै उपलब्धिबारे पनि छलफल गर्नुपर्छ, जसले महिलाको आगामी सङ्घर्षको बाटोलाई प्रेरणा मिल्नेछ भन्ने ठानेर त्यसै उद्देश्यका निम्ति हामीले यस छलफलको योजना गरेका हौँ । छलफल अघि बढाउन म अस्मिताका अर्का सम्पादक मित्र लक्ष्मी रुम्बाजीलाई अनुरोध गर्छु ।
लक्ष्मी रुम्बा (सम्पादक, अस्मिता हाम्रो)
नमस्कार, सबैजनालाई ! आज हामी सैद्धान्तिक पाटो भन्दा पनि महिलाका वैयक्तिक अनुभूतिहरूसँग जोडिदैछौँ, आज महिलाका सामाजिक, राजनैतिक, आर्थिक अवस्थाहरूमा सकारात्मक परिवर्तनहरू भएको छ (यद्यपि त्यो परिवर्तन पर्याप्त छैन), त्यसैका लागि हामीले सामूहिक रूपमा आवाज उठाइरहेका छौँ । परिवर्तनका निम्ति वैचारिक रूपबाट, सिर्जनात्मक रूपबाट आआफ्ना सङ्घर्षका कथासँग जोडिरहेका छौं । जति पनि सकारात्मक परिवर्तनहरू भएका छन्, ती सबै लामो सङ्घर्षका परिणामहरू हुन् । महिला सङ्घर्षको यस किसिमको उपलब्धिमय सौन्दर्यमाथि बहस र विमर्श हुन जरुरी छ भन्ने आवश्यकता बोध गरी आज हामीले यहाँहरूलाई यस बहसका निम्ति आह्वान गरेका छौँ । हामीसँग आजका वक्ताका रूपमा छ जना हुनुहुन्छ । यहाँहरूलाई क्रमैसँग (समय वचतका निम्ति¬) आफ्ना जीवनसङ्घर्षका विविध पाटाबारे उजागर गरिदिनुहुन अनुरोध गर्छु । आरम्भमा म शान्ति कुमारी राईज्यूलाई अनुरोध गर्छु ।
शान्ति कुमारी राई (अधिकारकर्मी)
सबैमा सन्ध्याकालीन नमस्कार । मैले यहाँ भन्ने भनेका मेरै जीवनका भोगाइ हुन् । यो सङ्घर्ष शब्द सबैभन्दा सुन्दर लाग्छ । म काठमाडौँ आएको ३० वर्ष भयो । त्यसबेला म १८ वर्षको मात्र थिएँ । त्यसै बेलादेखि सङ्घर्षै सङ्घर्ष गर्दैछु । तर उबेलाको सङ्घर्ष अलि फरक थियो । हामीले सत्तालाई फ्याँक्न सङ्घर्ष गर्यौँ । अहिले भने ‘कस्तो परिवर्तन ल्यायौँ’ भनेर आफैलाई प्रश्न पनि गरिराख्या छौँ । हाम्रै पार्टीका प्रचण्डदेखि एमालेका ओली, माधव नेपालदेखि लिएर शेरबहादुर, हाम्रा डाक्टर बाबुराम अब सबैले ठाउँ छोडेर युवाहरूलाई नेतृत्व दिए हुन्थ्यो र राजनीतिको सच्चा अभिभावक बने हुन्थ्यो भन्ने पनि लाग्छ ।
अस्मिता हाम्रो आएकोमा बडो खुसी लाग्यो । ‘महिला सङ्घर्षको सौन्दर्य’का बारेमा भन्नुपर्दा म पारिजात दिदीलाई सम्झन्छु । उहाँसँग २०३२ सालतिर चिनाजानी भएको थियो । त्यसपछि हामी ३४ सालमा गोरखपुरमा भएको ‘अखिल नेपाल महिला सङ्गठन’को कार्यक्रममा गयौँ । पारिजात दिदी अध्यक्ष अनि गोमा देवकोटा उपाध्यक्ष हुनुहुन्थ्यो भने म सचिव थिएँ । स्थापना पनि पारिजात दिदी र हामीले नै गरेका थियौँँ । गठन त भयो तर पञ्चायतले ‘स्वतन्त्रता’ र ‘क्रान्ति’भन्ने शब्द सुन्नै नहुने, समातेर लगिहाल्थ्यो । दिदी शारीरिक रूपले अशक्त भएको हुनाले उहाँले निर्देशन गर्नुहुन्थ्यो, मैले भने ठाउँ ठाउँ, गाउँ गाउँमा गएर समिति गठन गर्थेँ । हामीले परिवर्तनका लागि ती सबै गर्याँै तर दुःखद कुरो, हामीले सोचेजस्तो भएको छैन । अहिले नेपालको राजनीतिमा चैते बाँदरहरू धेरै छन् । कमाउने अन्न उब्जाउने चाहिँ कम, खाने बेसी ।
महिलाहरूले जहाँ सङ्घर्ष गर्छन्, त्यहाँ केही न केही प्राप्ति हुन्छ । त्यसैलाई म महिलाको सङ्घर्षको सौन्दर्य होला भन्ने ठान्छु । हामीले गोरखपुरमा अखिल नेपाल महिला सङ्घ बनाएपछि एउटा पत्रिका निकाल्ने भयौँ, जसको नाम महिला ध्वनि राखियो । त्यसलाई अखिल नेपाल महिला सङ्घको मुखपत्रको रूपमा निकाल्ने निधो गरेका थियौँ । त्यस पत्रिका पारिजात स्मृति केन्द्रबाट आउने कुरा थियो । त्यो एकदम पवित्र कुरा हो । तर राजनीतिक गन्ध आउन दिनु हुँदैन । आजकल राजनीतिले यस्तो ध्वजा बनाइसकेको छ, आजकल नेपालमा जनता छैन, सबै कार्यकर्ता मात्र । पार्टीले जस्तोसुकै खराब गरे पनि आँखा चिम्लेर थपडी बजाएकै छन् । त्यसकारण हामी जनता रहेनौँ । यसै सन्दर्भमा भन्नुपर्दा २०३३ सालतिर सरकारले चिनीमा एक सुक्का बढाएको थियो । त्यसबेला सम्पूर्ण महिलाहरू भृकुटी मण्डपमा आन्दोलन गर्न गएका थियौँ । हुन त त्यस बेलामा पञ्चायत थियो तर जागरुक जनता थिए । अब त जन्तै छैनन् जस्तो लाग्छ । कोही एमाले, कोही काङ्ग्रेस, कोही माओवादी सबै पार्टीका । यस्तो अवस्थामा महिलाहरू झन् बढी जागरुक भई अघि बढ्नुपर्छ ।
सीतादेवी बौडेल (राजनीतिकर्मी)
अस्मिता पत्रिका एकपटक मैले सभासद भएकै बेलामा प्राप्त गरेको थिएँ । विचारमुखी पत्रिका रहेछ भन्ने बारेमा एकचोटि कल्पना धमला र मबिच छलफल पनि भा’को थियो । त्यसपछि भने पत्रिका प्राप्त भएन । आज यसै पत्रिकाले गरेको आयोजनामा मलाई मेरा सङ्घर्षका कथाहरू राख्न बोलाउनु भएकोमा यहाँहरूलाई हृदयदेखि आभार व्यक्त गर्छु ।
मैले भर्खरै अरुणा उप्रेतीको लेख पढेँ, ‘अस्मितालाई फर्केर हेर्दा’ । प्रजातान्त्रिक व्यवस्था आउनुअघि पनि सचेत महिलाहरू, विशेषगरी पारिजातको अग्रसरतामा यस्तो वैचारिक पत्रिका निकाल्न पहल भएको कुरा थाह पाउँदा साह्रै खुसी लागेको छ । यस पत्रिका निकाल्नको लागि डाक्टर महेश मास्केको साथ र संस्थापक सम्पादक अन्जु क्षेत्री र सुसन मास्केको योगदानबारे थाह पाउँदा गर्वको महसुस भएको छ । यस्तो विचारमुखी पत्रिका निकाल्नका निम्ति उहाँहरूले गरेको सङ्घर्ष साथै अस्मितामै उठाइएको महिलाको प्रजनन स्वास्थ्य, गर्भपतन, आमाको नामबाट पाउने नागरिकताको कुरा लगायत कानुन बनेको कुराले उत्तिकै छोएको छ । उहाँहरूको सङ्घर्षको सुरुवात लेखनबाट भयो, जसबाट प्राप्त उपलब्धिको सौन्दर्य चाहिँ हामीले प्राप्त गर्यौँ ।
तीस वर्षको मेरो सङ्घर्षको कथा यहाँहरूलाई भन्दा निकै समय लाग्छ । मैले कलिलै उमेरमा सशस्त्र राजनीतिक आन्दोलनमा लाग्दा मैले गरेका सङ्घर्ष र प्राप्तिको विषयमा म मेरो लेखमार्फत भन्ने छु ।
(बौडेलको सङ्घर्षको विस्तत लेख यसै अङ्कमा प्रस्तुत छ ।)
डा. तारालाल श्रेष्ठ (त्रि.विका उपप्राध्यापक, साइकल अभियन्ता)
यस कार्यक्रममा आउन पाउँदा धेरै खुसी लागेको छ । एकजना पुरुषले महिलाको विषयमा बोल्दा, गैर दलितले दलितको विषयमा बोल्दा, या गैर मधेसीले मधेसीको विषयमा बोल्दा सधैँ कन्ट्रोभर्सी हुन्छ किनभने त्यस विषयको गहिराइमा पुग्न गाह्रो छ । तर गहिराइ उसको भावनात्मक रुझान या त्यस विषयप्रतिको उसको कन्डिसनल स्वार्थ छ या अनकन्डिसनल लगाव छ भन्ने विषयले पनि निर्धारण गर्छ । दलित समुदायका विषयमा पाँच सात वर्ष लागेको थिएँ, जसले गर्दा झनझन् गम्भीर लाग्यो । नजानिँदो किसिमले हामीले उखान, बोलीचाली आदिबाट पाइला पाइलामा हिंसा गरिराखेका रहेछौं । आफैंप्रति म एकदम लज्जित हुन्छु । मेरो परिवारले छुवाछुत मान्छ, मिन्सुरेसनलाई पनि स्टिगमा मान्छ तर म मान्दिन भन्या पनि हिंसा रहेछ । यसले त म अरूभन्दा महान छु भन्ने घमण्ड पो देखाउँदोरहेछ । नदेखिने गरी गरेका हिंसाहरू अझै खतरनाक हुने रहेछ ।
सांस्कृतिक–धार्मिक रूपले गरेको हिंसा अझै बढी गम्भीर हुन्छ । त्यसले त शताब्दियौदेखि पुस्तौ एउटा समूहलाई थिचेको हुँदोरहेछ । यो हैकमहरूको पत्र नउतारेसम्म उनीहरू मुक्त हुँदैनन् । महिलासँग जोड्दाखेरि योगमायाका बारेमा मैले बल्झिरहने अतीतमा उहाँको योगदानहरू हेरेको छु । तर योगमायादेखि योगमायासम्म त होइन रहेछ । त्योभन्दा पनि अगाडि प्रशस्त रेसिस्टेन्स गरेका कुराहरू कति रहेछन् कति । एउटा उदाहरण चाहिँ मेलवादेवीलाई लिऊँ । उनी रुम्जाटारतिर जन्मेको एउटा गुरुङ परिवारकी । उनकी आमाले बोकेरै चन्द्रशमशेरको दरबारमा ल्याइन् । सानैदेखि गीत गाउने, राम्रो नाच्ने पनि भएकाले दरबारभित्र उनको भविष्य देखेर बुझाइयो । हुन पनि उनले यति राम्रो गीत गाउँथिन् रे कि चन्द्रशमशेर त उनको आवाज नसुनी खाँदा पनि नखाने, निन्द्रा पनि नलाग्ने भएछन् ।

हुँदाहुँदा सिकार खेल्न जाँदा पनि मेलवादेवीलाई बोकेर हिँड्थे रे । उनको रूप, स्वर र पर्फर्मेन्स हेरेर पछाडि दौडिने थुप्रो रहेछन् । एकदिन उनी षडयन्त्रको सिकार भइन् । श्री तीनले पनि उनलाई मन पराएका कारण उनको गला बिगार्ने केही चिज खान दिएछन् । महिला पब्लिक स्पेयरमा प्रसिद्ध हुँदा झन् खतरा हुने रहेछ । मलेवादेवीको उपचारका निम्ति चन्द्रशमशेरले बेलायतदेखि पनि डाक्टर बोलाएका थिए रे तर उनको स्वर पहिलाको जस्तो हुन सकेन । यतिसम्म उनको स्वरको विषयमा केही मिथक पनि रहेछन् । उनले बाजी स्वीकार गरेर पाँच घण्टा गीत गाउँदा बादल निस्केर पानी नै परेको थियो रे ।
स्वर गएपछि भने उनको सङ्घर्षको दिन सुरु भयो । साथमा उनको तबला बाधकसँगको प्रेमले पनि समस्या निम्त्यायो । त्यस कलाकारलाई दरबारमा तबला बजाउन रोक लगाइयो र भोकभोकै बस्नुपर्ने अवस्था आयो । कस्तो निरङ्कुशता ! शुक्रराज शास्त्रीको किताबमा एउटा गीत रहेछ—
न घरलाई घर कहिन्छ
नारी नै दरबार हो
एक मात्रै धर्मसाधन
नारी घरको द्वार हो
घरको देवी नारी नै हो,
नारी घरको ज्योति हो
मेलवादेवीले शुक्राराज शास्त्रीको गीत गाएको उनको किताबमा उल्लेख छ । त्यसपछि मेलवादेवीले जीविकाका निम्त घरमा नै एउटा सङ्गीत स्कुल खोलिन् । तर टिक्नै नदिएपछि भारततिर लागिन् । वि.सं १९८५ मै उनले कलकत्ताबाट पहिलो गीत रेकर्ड गरेको देखिन्छ । गीत निकै चर्चित भयो । पछि भारतमा नै स्टोभ पड्केर उनको मृत्यु भयो । कत्रो सङ्घर्षपूर्ण जीवन !
त्यसैगरी अरुणा लामा, दार्जिलिङको तामाङ परिवारमा जन्मिइन् । सात वर्षदेखि गीत गाउन थालिसकेकी उनले १२–१३ वर्षमा त स्टेज पर्फमै गर्न थालिन् । सत्र अठार वर्षमा बिहे भइसकेपछि पनि गीतलाई निरन्तरता दिइन् । २८–३० वर्षमा श्रीमान् शरण प्रधानको मृत्यु भयो । अब झन् बढी सङ्घर्षमय समय आयो । अरुणाले प्रधान कहिले लेखिनन् । सदा अरुणा लामा नै भएर गीत गाइन् । अरुणाले प्रत्येक गीत गाउँदा दुई तीन सयभन्दा नपाउने रहिछन् । पहिला त अझ सत्तरी रुपैयाँ मात्र । गीत गाएर बाँच्नै मुस्किल । त्यसैकारण होला, इन्टरभ्यु लिन जाँदा पत्रकारलाई झपारिछन्, “तिमी पत्रकारहरू मैले कसरी खाइरहेको छु कहिले सोच्छौ ? तिमीहरूको सोध्ने आँट पनि छैन । त्यो सोध्ने बित्तिकै तिमीहरूको धेरै कुराहरू भत्किन्छ ।”
विगतमा गरेको सङ्घर्षले गर्दा नै आज नेपालका महिला दिदीबहिनीहरूले सार्वजनिक स्थल कब्जा गर्न सकेका छन् । योगमाया अर्कै पृष्ठभूमिबाट थिइन् । कला साहित्यका क्षेत्रमा पनि धेरै अगाडिदेखि सङ्घर्ष गर्दै गर्दै हामी यहाँ आइपुगेका छौं । यो सङ्घर्ष चाहिँ जारी रहोस् भन्ने मलाई लाग्छ । महिला अनि सङ्घर्षको सौन्दर्यका अनेक पाटा छन् । राजनीतिक दृष्टिकोणबाट हेर्दा अर्कै छ । कला र साहित्यबाट हामी यसरी हेर्न सक्छौँ ।
उमा तामाङ (कानुन विज्ञ)
यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा फ्याफुल्ला, लासो र नमस्कार । महिला सङ्घर्षको कुरा गर्नुपर्दा मलाई त आफ्नै सङ्घर्षको इतिहासबाट सुरु गरौं कि जस्तो लाग्यो । मलाई आमा र हजुरआमाले मामाघरमा हुर्काउनुभएको । मेरा ११ जना मामाहरू भए पनि उहाँहरूबाट मैले माया पाइनँ । मेरो हजुरआमा नपढेको भए पनि पञ्चायत कालमा तीनवटा चुनाव त हाम्रै घरमा गरा’को भनेर मैले सुनेको छु । उहाँलाई “ठुलो घरको बोजु” भनेर सबैले चिन्थे रे । नपढे पनि लिडरसिपमा एक नम्बर । मान्छेले पढेरभन्दा गरेर पो ज्यादा जान्दो रहेछ कि !
मेरो हजुरआमाले नै मलाई यहाँसम्म ल्याउनुभयो । उहाँले मलाई दरबार जानबाट पनि रोक्नुभएको हो । दरबारमा छोरीलाई चाहिँ साथी बनाउन, खेल्न लाने भन्दा मेरो हजुरआमाले “मेरी नातिनी जाँदैन, मेरै घरमा बस्छ । म तिमीहरूको अगाडि पढाएर देखाउँछु” भनेर अड्डी कस्नुभएछ । त्यसपछि मलाई पढ्न पठाउनु’भो । मैले १० कक्षासम्म पढेँ । त्यसपछि ट्युसन पढाउदै आफ्नो पढाइलाई अघि बढाएँ । आज म एउटा ख्याति प्राप्त संस्थाको लिगल अफिसर छु । आदिवासी जनजाति महिलासम्बन्धी संस्था पनि स्थापना गरियो । २० वर्ष भयो, त्यस स्थापना गरेर विशेषगरी महिला तथा बालबालिका र त्यसमा पनि आदिवासीहरूलाई निःशुल्क सहायता गर्न थालेको ।
मैले २४ वर्ष भयो, माइती नेपालमा काम गरेको । सुरुमा त म कस्तो ठाउँमा जागिर खान आएछु, बरु छोड्दिन्छु भन्ने पनि लाग्यो । जतिखेर बेचिने र बेच्नेमा तामाङ महिला देखिने । मलाई त तामाङ महिलाहरू यसरी बेचिन्छन् भन्ने पनि थाहा थिएन । अनि सङ्घर्षको सौन्दर्यको कुरा चाहिँ मलाई आमाले बुझाइदिनु’भो । “काम गर्दा आत्तिनु हुन्न, पछाडि हट्ने होइन, मौका हो, तामाङ वकिल भएर लड्नुपर्छ” भनी भनी हौसला दिइरहनुभयो ।
मैले कानुन पढ्नुको पनि एउटा कहानी छ । मेरो बोजुको एघार जना छोरा पाँच जना छोरी । म कान्छी छोरीको छोरी । मेरो इच्छा भने नर्स बन्ने थियो । मैले नर्स पढ्न नाम पनि निकालेँ तर त्यसै बेला मेरा मामाहरूले मेरो बोजुलाई मुद्दा हाले । हाम्रो जग्गा जमिन धेरै थियो काठमाडौँमा पनि । एउटै मामालाई पनि सात रोपनी खेत, छ रोपनी बारी परेको रहेछ । मेरो आमालाई पनि जग्गा दिनुभएको थियो, हजुरआमाले । त्यसलाई फिर्ता लिनका लागि मामाहरूले मुद्दा हाले । त्यही भएर मेरो हजुरआमाले मलाई कानुन पढ्न लागाउनुभयो । त्यसबेला हजुरआमा ६५ वर्षको हुनुहुन्थ्यो । अदालतमा तपाईं किन आउनुभएको भनेर सोध्दा मेरो हजुरआमाले, “मलाई कीराले टोक्यो, त्यही भएर म तपाईँहरू कहाँ बोल्न आएको” भनेर आफ्नो छोरालाई कीरा भन्नुभएको अझै सम्झन्छु । मैले मेरो हजुरआमाको २९ वटा मुद्दा लडेँ ।
अनुपराज शर्मा मेरा श्रीमान्, वकिल हुनुहुन्थ्यो । उहाँको ल फर्ममा काम सिक्दै, पढ्दै आज म यहाँ आइपुगेँ । त्यसपछि मैले माइती नेपालमा काम गर्न थाले । अहिले पनि जनजातिहरू हिंसामा परेको अवस्था छ । बेचबिखन, यौनजन्य हिंसामा उनीहरू परेका छन् । ती पीडितहरूलाई हामीले कसरी कानुनी पहुँचसम्म पुर्याउने, न्याय दिने भन्ने विषयमा म अझै पनि सोचिरहन्छु । त्यसबेला त एक बजे राति पनि फोन आउँथ्यो । मैले रातको एक दुई बजे पनि एसपी र डिएसपी साहेबलाई फोन गरेको छु, सहयोग माग्नका लागि । अहिले म अदालतमा बहस र लिगल काउन्सिलिङ पनि सँगसँगै गर्छु ।
शान्ति चौधरी (सामाजिक अभियन्ता/कानुनविज्ञ)
मलाई सङ्घर्षबाट अघि बढेका महिला सुन्दर लाग्छ । सौन्दर्य भनेको बाहिरी भन्दा पनि भित्री आत्माबाट आउने कुरा हो । आजकल सामाजिक, राजनीतिक लगायत सबैतिर महिला अघि बढेका छन् । जहाँ महिला पुग्छन्, त्यहाँ यदि महिलाको पहुँच हुनसक्यो भने त्यो सुन्दर कुरा हो । अघि सङ्घर्षको, सम्पत्तिको अधिकार र नागरिकताको कुरा भयो । छोरीलाई सम्पत्ति त हुनेले दिन्छ, नहुनेले कहाँबाट ल्याउँने ? सम्पति नहुने परिवारले पनि महिलालाई स्वतन्त्र भएर आफ्नो काम गर्न दियो भने त्यो सौन्दर्य हो । हाम्रो परिवारले हामीलाई गर्ने सहयोग महत्त्वपूर्ण हो त्यो जस्तो लाग्छ ।
अर्को कुरा अहिले एकल महिलाहरू पनि धेरै अगाडि बढेका छन् । पहिले पहिले ती एकल महिलाहरूलाई– विधुवाको अनुहार हेर्यो भने साइत पर्दैन भन्ने जस्तो कुरा हुन्थ्यो तर अहिले सङ्घर्ष गरेर कति राम्रा राम्रा कामहरू गरिरहेका छन् । त्यसका लागि विभिन्न सामाजिक आन्दोलन भए र कानुनले पनि अधिकार दियो । यी सबै हाम्रो समाजमा भएका सुन्दर परिवर्तन हुन् । योगमायाले पहिला एक्लै सङ्घर्ष गरे पनि पछि सामूहिक रूपमा अघि बढ्यो । उनले आफ्नो जीवनै अर्पण गरेर समाजमा ल्याएको परिवर्तन कस्तो बेजोड छ । महिलाहरूको लागि घरको घेराबाट निस्किन प्रेरणा दिएको छ । त्यो नै हाम्रो लागि चाहिँ एउटा मुख्य सौन्दर्य हो । महिलाको बाहिरी होइन, सङ्घर्षपछि पाएको उपलब्धि झन् सुन्दर हुन्छ । विशेषगरी महिलालाई दिनसक्ने न्याय र त्यसमा उनीहरूको न्यायिक सहभागिता बढाउन सक्यौँ भने महिलाले धेरै लामो समयदेखि गरिरहेको सङ्घर्षको विशेष अर्थ हुन्छ जस्तो लाग्छ ।
म त एक थारू समुदायको महिला । यहाँहरूलाई थाहा नै छ, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाका बारेमा । अहिले त यस्तो छ, झन् मेरो बाल्यकालीन समय त अर्कै थियो । बाल विवाह, बेमेल विवाह, के के पो झेलियो । मैले मेरो जीवनको सबै कुरा भन्न त धेरै समय लाग्छ । त्यसलाई म लेख्छु । यति मात्र भन्छु, मैले आज प्राप्त गरेको शैक्षिक योग्यता, सामाजिक अवस्था र कानुनको दख्खल सबै सबै सङ्घर्ष गरेर प्राप्त गरेको हो ।
(चौधरीको जीवन सङ्घर्षको विस्तृत लेख यसै अङ्कमा प्रस्तुत छ ।)
महेश भट्टराई (त्रि.वि.का उपप्राध्यापक)
उपस्थित सम्पूर्ण महानुभावहरूलाई सन्ध्याकालीन नमस्कार । पहिला सङ्घर्षका यी कथाहरू धेरैजसो इतिहासका किताबहरूमा पढिन्थ्यो तर आज कतिपय आफैले भोगेका त्यस्ता सङ्घर्षशील पात्रहरूसँग प्रत्यक्ष भेट्ने अवसर मिल्यो । यो मेरा लागि नयाँ खालको सन्दर्भ र सिकाइ भएको छ । मेरो बुवा म सानो छँदै बित्नुभएको थियो । मलाई आमाले हुर्काउनुभएको हो । त्यसैले महिलाको सङ्घर्ष, एउटा नपढेको महिलाले “बाबु तिमीहरू पढ्छौ भने म भएसम्म सुन बेचेर, नभए श्रम गरेर पनि पढाउँछु” भन्ने हिम्मत र आँटलाई म बिर्सन सक्दिनँ ।
मानव जातिको इतिहासमा मातृसत्ताकै प्रभाव थियो, भनिन्छ । राजनीतिक सत्ता कृषि युगमा प्रवेश गरेपछि, कानुनी राज्य स्थापना भइसकेपछि नै पितृसत्ता स्थापना भयो । पूर्व वक्ताज्यूहरूले भन्नुभइसक्यो, सन्तान उत्पादन गर्ने तथा घरायसी काममा जोतिनुपर्ने आदिका कारण महिलाहरू घरमा बस्नुपर्ने अवस्था भयो । त्यसमाथि कानुन र शासन व्यवस्थाले पनि महिलाहरूलाई पछाडि पारिएको हो । प्रकृति र मानव जातिको बनावटको कुरा त गरिन्छ तर अहिले पनि नेपालको या विश्वकै इतिहास हेर्दा पनि महिलाहरूले धेरै सङ्घर्ष गरेपछि मात्र अधिकारको उपभोग गर्न पाएका छन् ।
सुदूरपश्चिमको बझाङको सवालमा भन्ने हो भने अहिले पनि महिला हिंसाका घटनाहरू बढी देखिन्छन् । अघि शान्ति दिदीले भन्नुभएजस्तै अशिक्षाका कारणले धेरै घटनाहरू घट्छन् । त्यहाँ अज्ञानता, गरिबीका कारणले उनीहरूले पाउनुपर्ने अवसर अन्य व्यक्ति वा समूहले उठाउने गरेको देखिन्छ । अझै राजनीतिक अपराधीकरणका घटना भयो भने अदालत जानुको साटो राजनीतिक दलका नेता कार्यकर्ताहरू त्यस्तो कुराहरू घरमै मिलाउने, मन्दिरमा ढोग्न लगाउने गर्छन् । त्यसकारण राजनीतिमा अपराधीकरण र अपराधीमा राजनीतिकरण चाहिँ अझै पनि अन्त्य भएको छैन । त्यसैले आज हामीले जसरी नयाँ खालको सङ्घर्षको कथा र सङ्घर्षमय जीवनीहरूबारे सुन्यौँ, मेरा विचारमा महिलाहरू अझ सङ्गठित भएर अघि बढ्नुपर्छ । यसमा अस्मिता हाम्रो पत्रिकाले पनि स्थानीय निकायमा यस्ता छलफलहरू गर्न सक्यो भने यसको प्राप्तिको सुन्दरता अझै बढी हुन्छ जस्तो मलाई लाग्छ ।
जबसम्म समाज रहन्छ, तबसम्म अपराधहरू पनि भइरहन्छन् । अपराधको मात्रा मात्रै तलमाथि हुने हो । समाज विकसित हुँदाखेरि त्यही खालको क्राइमहरू हुन्छन् भने अविकसित समाजमा फरक प्रकृतिका । त्यसकारण समाज विकासको लागि सबैभन्दा पहिले त शिक्षालाई नै जोड दिनुपर्छ । त्यसमा पनि महिला शिक्षालाई । आर्थिक रूपमा सबल बनाउन, कानुनको पउँच बढाउन पनि शिक्षाको आवश्यकता छ । हिंसा खपेर बस्न बाध्य हुनुपर्ने एउटा स्थिति आर्थिक दुर्बलता पनि हो । २०७० सालको तथ्याङ्कमा ३०० जना महिलाले मात्रै सम्बन्ध विच्छेद गरेको देखिन्छ भने २०८० को तथ्याङ्कमा यो सङ्ख्या ३७ हजार पुगेको देखिन्छ । यसले महिलाको कानुनी चेतना, स्वतन्त्रता र अस्तित्व मननको एउटा पाटो देखाउँछ । सेनामा हामीले महिलाको सहभागिता हेर्यौं भने ७% जति मात्रै देखिन्छ । प्रहरीमा ८%, राजनीतिमा ३३% छ । महिलाको रुचि र सक्षमता हरेक क्षेत्रमा वृद्धि भएसँगै महिलाहरूले संविधानमा जसरी व्यवस्था गरिएको छ, त्यसको पूर्ण अधिकार प्राप्तिका लागि सङ्गठित ढङ्गले आवाज उठाउन जरुरी छ ।
महिलाहरू धर्ती हुन्, सृष्टि हुन्, यसकारणले कि उनीहरूमा सिर्जनशीलताको बहुआयाम हुन्छ । त्यसैले जुन परिवारमा लैङ्गिक विभेद गरिन्छ, आमा जातिलाई सम्मान गरिँदैन, त्यस्तो समाज अघि बढ्न सक्दैन । त्यसैले परिवर्तनका निम्ति सङ्घर्षको अभियान जारी रहनुपर्छ । सङ्घर्षको सीमा अवधि हुँदैन । यो निरन्तर चलिरहन्छ ।
डा. मिना पौडेल (समाजशास्त्री/महिला अधिकारकर्मी)
आयोजक मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई एकमुष्टमा अभिवादन । सर्वप्रथम अस्मिताको पुनर्जन्म भएकोमा बधाई । म त्यतिखेर विद्यार्थी राजनीति गर्थेँ । अन्जु क्षेत्री र सुसन मास्केले पत्रिका सुरु गर्दा पारिजात दिदीहरू हामीसँगै डण्डाखानेमा पनि पर्नुहुन्थ्यो । शान्ति राई दिदी पनि । उहाँहरू हाम्रो अग्रजहरू । अस्मिताको प्रकाशन रोकिँदा त्यतिखेर बारम्बार हामीलाई खड्किन्थ्यो, अब के पढ्ने ? कस्तो पत्रपत्रिका पढ्ने ? विकृत संस्कृति भित्र्याउने पत्रिका कसरी पढ्ने ? मूल्याङ्कन पनि हरायो । अर्कोतिर अस्मिता पनि हरायो । त्यसपछि पढ्ने कुरा केही पनि भएन हामीलाई । अहिले फेरि अस्मिता पढ्न पाइराखेका छौँ, त्यो आफैमा पनि सकारात्मक पक्ष हो । यसलाई हामी सबैले निरन्तरता दिनुपर्छ ।
हामीले सङ्घर्षको सौन्दर्यको कुरा गर्दा मलाई अलिकति डर लाग्यो । पूर्ववक्ताहरूले भन्नुभएको सबै कुरामा समर्थन जनाउँदै डर लागेको कुरा के हो भने, नेपालमा महिला आन्दोलनका कुराहरू गलत तरिकामा लेखिँदैछन् । अहिले महिला आन्दोलनको इतिहासको नाममा लेखिने बुलेटिनहरू जुनजुन छन्, ती कुनै व्यक्तिको स्वार्थ त कुनै दाताको स्वार्थमा केन्द्रित अनि कुनै एउटा समूहको स्वार्थ केन्द्रित भएर निस्कने गरेको छ । हिजो भएका कामहरूलाई गलत तरिकाले बङ्ग्याएर तिनको नाम निशाना मेटाएर सबै मैले गरेको हो भनेर राखिने गरिएको छ । म दुई वटा उदाहरण दिन्छु । धेरै बहस गर्नुपर्ने हुन्छ । यसमा अस्मिताले यस विषयलाई भर्चुअल्ली चलाओस् भन्छु ।
उदाहरणका लागि ‘महिला दबाब समूह’ले एउटा किताब निकालेको छ महिला आन्दोलनको इतिहास भनेर । त्यसमा यति गलत गलत कुराहरू लेखिएका छन् कि त्यसमा लेखेका अध्यायहरू नै गलत छन् । हामीले प्रतिरोध गर्यौं अब विडम्बना के भने त्यो लेख्ने, त्यसको नेतृत्व गर्ने हामीले नेता मानेका राजनीतिकर्मी महिलाहरू छन् । अब समस्या के भने, व्यक्तिगत रूपमा उहाँहरू सम्मानित हुनुहुन्छ । उहाँहरूबाट हामीले अपेक्षा पनि गरेका छौं । हाम्रा अग्रज पनि हुनुहुन्छ । तर इतिहास गलत लेख्दै हुनुहुन्छ । थुप्रै उदाहरणहरू छन् । एउटा उदाहरण मात्रै दिएँ । तर हामीले लिस्ट बनाएर नै विरोध गरिराखेका छौँ । हाम्रै अगाडि भएका २०४६ सालको आन्दोलनको । त्योभन्दा अगाडि हामी जाँदैनौँ । हामीले गरेका सबै कामहरूलाई गलत तरिकाले लेखिएका छन् त्यहाँ । एउटा सन्दर्भ यस्तो छ, त्योभन्दा अगाडि योगमायाको साधनाको पालोमा त जाँदै नजाऊँ । पारिजातहरूका पालामा त जाँदै नजाऊँ किनभने ती इतिहासहरू त लेखिएकै छैनन् । अलिअलि फाट्टफुट्ट निस्केका छन् तर गहन इतिहास लेखिएको छैन । भोलि पारिजातले गरेका कामलाई कसैले मैले गरेको हो भनेर लेख्दियो भने हामीले गर्ने के ? स्थिति त्यस्तो छ ।
र, अर्को प्रश्न राजनीतिककर्मी महिलाहरू— हाम्रो सीता बौडेल म्याडममार्फत सबैलाई, तपाईँ मूलधारको महिला आन्दोलन कहाँ छ अहिले ? त्यो इतिहासलाई जगेर्ना गर्ने र त्यो इतिहासलाई विचार दिने जिम्मेवारी कसको हो ? एउटा एनजीओको हो ? एउटा दाताको हो ? अथवा एउटा पत्रकारको हो ? अथवा कसको हो ? यी प्रश्न यहाँहरूलाई ।
मैले भेटे जति उत्तर आउँछ कि भन्ने लागेकालाई यो प्रश्न गरिराखेको छु तर मैले अहिलेसम्म जवाफ पाएको छैन । नेपालको महिला आन्दोलन कता हरायो अहिले ? बलात्कारका कुराहरूमा हामी किन बोलिराखेका छैनौं ? यहाँले भन्नुभयो, महिलाहरू अंश र वंशमा धनी भए । तर कहाँ भए ? कसरी भएका छन् ? त्यो संविधानमा लेखिँदैमा हुन्छ ? अंश र वंशको निम्ति कस्ता सम्झौता भए र महिलाहरू पीडित भइराखेका छन् ? यो कुरा महिला आन्दोलनको मुद्दा हो कि होइन ? यो कुरा कसले उठाउने हो ? राजनीतिक कर्मीहरू कहाँ गए ?
हामीले राजनीतिक पार्टीसँगसँगै लडेर समानान्तर रूपमा आन्दोलन गरिरहेका महिला आन्दोलनहरू अहिले सेलाइदिँदा यहाँहरूले गर्नुभएको महिला आन्दोलनको इतिहास मेटिँदैछ । यो एउटा गम्भीर विषय हो । अर्को के हो भने, नेपालको महिला आन्दोलनलाई अलिअलि अध्ययन गर्दा र कहिले कहिले लेख्दा आफ्नो आक्रोश व्यक्त गर्ने हो, मूलरूपमा किनभने सुन्ने कोही छैन । त्यसलाई रद्दीको टोकरीमा फालिन्छन् । अहिले यति विषाक्त भएको छ हाम्रो समाज, त्यसको समीक्षाको माहोल नै छैन । सुन्ने धैर्यता पनि छैन । आलोचनात्मक चेत त झन् छँदै छैन । खिया लाइसकेको छ । नेपालको महिला सशक्तीकरणका कुराहरू, नेपालको महिला आन्दोलनका कुराहरू, महिला सहभागिता समानुपातिकका कुराहरू, हामीले दक्षिण एसियाको माहोलमा राखेर हेर्नुपर्ने हुन्छ । हामीले पनि त महिला राष्ट्रपति पायौं । जतिबेला महिला राष्ट्रपति हुनुहुन्थ्यो, त्यतिबेला नै सबैभन्दा बढी महिला विरोधी गतिविधिहरू भएर महिला विरोधी प्रावधानहरू आएका छन् । भारतमा भएको त्यही हो । श्रीलङ्का र पाकिस्तानमा त्यही भयो । बङ्गलादेशमा ३० वर्षदेखि दुईजना महिलाले चलाइरहेका छन् (थिए) । हामीले त्यो सापेक्षित रूपमा हेर्नुपर्ने हुन्छ । हाम्रो समाज एकातिर छ, समाजको चेतना अर्कोतिर छ र महिला भएर नेतृत्वमा जाने ती महिलाहरू कसको स्वार्थमा काम गरिरहेका छन् ? भन्ने कुरा चाहिँ अर्कोतिर छ । त्यसैकारण मूलधारमा महिलाको आन्दोलन र महिला सङ्घर्षको बारेमा कुरा गर्दा हामीले अहिलेसम्म हासिल गरेका उपलब्धिहरू, जसलाई हामीले सौन्दर्यका रूपमा लिइराखेका छौं, कतै त्यो विषाक्त भइरहेको त छैन भन्ने कुरा पनि हामीले ख्याल गर्नुपर्छ । अर्को भनेको इतिहासकै कुरा गर्दा के लाग्छ भने हामीले अब अलिकति वैचारिक बहसहरू चलाउन जरुरी छ । कतिपय आर्टिकलहरू वैचारिक पनि छन्, एकदमै धारिला आर्टिकलहरू पनि छन् तर पनि हामीलाई अस्मिताको चिन्ता के हो भने, यो पत्रिका भोलि गएर बजारमा बिक्री हुने सडकमा बेचिने अरू महिला पत्रिका जस्तो नहोस् ।
भोलि त हाम्रो वैचारिक युद्ध मार्फत शिथिल भएका महिला आन्दोलन, डिले भएका अभियान र अहिले सामाजिक सञ्जालले खाइसकेको नवपुस्तालाई हामीले विकास गर्नुपर्छ जस्तो लाग्छ । हुन त अब एउटा पत्रिकाले कति गर्न सक्छ र । उसको सीमितता होला तर पनि प्रयास चाहिँ गर्नुपर्छ जस्तो लाग्छ ।
लाक्पा फुटी शेर्पा ( पर्वतारोही/पूर्वअध्यक्ष, माउन्टेन एकेडेमी)
नमस्ते मेरो नाम लाक्पा फुटी शेर्पा । म चाहिँ हिमालतिर सङ्घर्ष गर्ने परेँ । म सन् १९९३ मा पासाङ ल्हामु शेर्पासँगको सहयात्री हो । माउन्टेन एकेडेमीमा चाहिँ मैले आठ वर्ष कार्यकारी निर्देशकको रूपमा काम गरेँ र त्यो आठ वर्षको दौरानमा मैले ब्याचलर इन माउन्टेनरिङ र मास्टर्स इन एड्भेन्चर टुरिज्म गरेँ । विश्वमा यो माउन्टेन रिलेटेड कुरामा चाहिँ नेपाल ओपन युनिभर्सिटी सरह हो । त्यस कारण माउन्टेन रिलेटेड एकेडेमिक एजुकेसन हुनुपर्छ किनभने हिमाल चढ्ने र झर्ने विषय मात्रै हो भनेर सजिलै लिने गरिन्छ तर पर्वतसम्बन्धी बुझ्नुपर्ने धेरै कुराहरू हुने गर्छन् । यसमा पढ्नका लागि धेरै कुराहरू छन् । त्यसैले मैले यसैसम्बन्धी पढँे । माउन्टेन स्टडी राइट चाहिँ नेपालले पाएको छ । अहिले हामीले गर्न सकेनौँ भने भोलि अरू देशले सुरु गर्छ । त्यो चाहिँ नेपालमा आउनुपर्छ भनेर मैले माउन्टेन एकेडेमीमा हुँदाखेरि सिलेबस बनाएर युरोप पठाएर आठवटा युनिभर्सिटीबाट सल्लाह सुझाव लिएर र त्यसपछि टियुमा लगेर टियुसँग चाहिँ एफिलिएसन लिएको छ । अहिले त ब्याचलरको आठौं ब्याज आइसक्यो । मास्टर्समा चौथो ब्याच आइसक्यो ।
मैले ट्रेकिङमा महिला गाइडको लागि सरकारसँग लबिङ गरेँ । महिलाको लागि रोजगारी हुन्छ भनेर उनीहरूको ट्रेनिङको लागि बजेट दिनुपर्छ भनेर तालिम सुरु गरेको अहिले ११ वर्ष भइसक्यो । वर्षैपिच्छे भइराखेको छ । मैले नेपालमा पहिलोचोटि स्की तालिम पनि ल्याएँ । त्यो सँगसँगै मेरो आफ्नो सङ्घर्षको कुरा हिमालमा चालिस वर्ष र हिमालकी छोरी भन्ने किताबमा लेखेको छु । अरू पनि तयार हुँदै छ । आउन केही समय लाग्ला । त्यसमा मैले सङ्घर्ष गरेको सबै कुरा छ तर किताब तयार पारे पनि मेरो कथा त एउटा रिप्रिजेन्टटिभ मात्रै हो । हरेक नारीले सङ्घर्ष गरेर मात्रै अगाडि बढेको जस्तो लाग्छ । सङ्घर्ष नगरी त कोही पनि अगाडि सर्दैन । तराईको महिलाले तराईमा सङ्घर्ष गरिराखेको हुन्छ हिमालको महिलाले हिमालमा सङ्घर्ष गरेको छ । सबैले सङ्घर्ष गरिराखेको हुन्छ । सङ्घर्ष गरेको ठाउँबाट एकजना रिप्रिजेन्टेटिभ निस्किन्छ । म पनि रिप्रिजेन्टेटिभ भएर नै त्यो किताब लेखेँ । मलाई एकदमै गर्व लागेको चाहिँ यो मेरो फोर्टी इयर्स इन माउन्टेन भन्ने किताब चाहिँ बेलायतको राजा चाल्सलाई पठाइदिएको थिएँ तर मैले कहिले पनि कल्पना गरेको थिइनँ, मैले उहाँको पत्र पाउनेछु । किङ्स चाल्सको बकिमह्याम प्यालेसबाट फिडब्याकसहित पत्र पठाइदिनु भयो । मलाई धेरै खुसी लाग्यो । उहाँले मलाई मात्र नभई पुरै नेपालीलाई रिकग्नाइज गरेको जस्तो लाग्छ ।
म जुन माउन्टेनरिङ क्षेत्रबाट, एउटा शेर्पा समुदायबाट पहिलो कार्यकारी निर्देशक भएर माउन्टेन एकेडेमीमा आएँ र आज पहिलो अध्यक्ष भएर काम गर्ने क्रममा केही तीता र केही मीठा अनुभव भएको छ । कर्मचारी प्रशासनमा कति कर्मचारीहरू सहयोगी पनि छन् तर कतिपयले चाहिँ पुरुषहरूलाई आधा घण्टा समय दिँदा हामी महिलाहरूले चाहिँ १० मिनेट पनि पाउँदैनौँ । १० मिनेटभित्र हाम्रा एजेन्डाहरू पेश गर्नुपर्ने हुन्छ । त्यही क्रममा कोही मान्छे धेरै साथ दिने पनि हुन्छ भने कोही सारै खराब । महिलाको कामलाई विश्वास नगर्ने, नपत्याउने पनि हुँदो रहेछ । तर, लकिली मैले टि.यु.मा धेरै सहयोगी मानिसहरू पाएँ । मेरो सबै अनुभवहरूलाई समेटेर फेरि अर्को किताब पनि ल्याउँदैछु ।
ज्योति जङ्गल (साहित्यकार)
उपस्थित सम्पूर्णमा नमस्कार अनि हार्दिक अभिवादन । मलाई चाहिँ अब अस्मिता हाम्रोले साहित्य, समाज, आर्थिक पाटो र इतिहासलाई कसरी समायोजन र सोसलाइजेसन गरेर लैजाने भन्ने विषयमा गहन बहस गर्नुपर्छ भन्ने लाग्छ किनभने यस वैचारिक पत्रिकामाथि धेरैको अपेक्षा पनि छ । यहाँहरूले स्तरीय, एकेडेमिक र बौद्धिक लेखहरू अघिल्लो अङ्कमा दिनुभएको छ, त्यसले हामीलाई धेरै प्रेरणा दिएको छ । तर मलाई लाग्ने कुरा, यी लेखकका पाठकहरू चाहिँ महिला मात्र हुनुहुन्न । अब पुरुषहरूसम्म पुर्याउन कुन बाटो पहिल्याउने होला ? महिला मुद्दाका लागि धेरैभन्दा धेरै सपोर्ट कसरी प्राप्त गर्ने होला ? अघि भट्टराई सरले भन्नुभए जस्तै ३७ हजार डिभोर्सहरूमा ३७ हजार त पुरुषहरू पनि छन्, ती पुरुषहरूले चाहिँ ती ३७ हजार महिलाहरूको अस्तित्व स्वीकार गर्न नसकेको हो कि अथवा त्यहाँ कस्ता कस्ता कानुनी प्रक्रियाहरू भए होला ? समाजको अर्को समूहतिर पनि यी बहसहरू लैजान सक्नुपर्छ भन्ने लाग्छ ।
अमृता शर्मा (त्रि.विका उपप्राध्यापक/समालोचक)
अस्मिता हाम्रो अन्तरसंवादबाट हामीले धेरै बौद्धिक कुराहरू प्राप्त गरेका छौं । अबको अङ्क पनि सबै पक्षलाई समेट्ने गरी आओस् ।
महिलाको सङ्घर्षको सौन्दर्य राजनीतिक, आर्थिक, सांस्कृतिक, जातीय लगायत सबै पाटोबाट आउनुपर्छ भन्ने लाग्छ । हिजो मात्रै मेरो गाउँको एकजना दलित भाउजु बित्नुभयो । ५० वर्षको उमेरमा हर्ट अट्याकबाट मृत्यु भएको भनिएको थियो । कारण के रहेछ भने, कृषि विकास बैंकबाट दुई लाख लिएको ऋण त्यसको साढे तीन लाख ब्याज भइसकेको रहेछ । त्यो तिर्न सक्ने उहाँको अवस्था थिएन । घर लिलामी भनेर कृषि विकास बैंकले निकाल्यो, त्यसपछि भोलिपल्ट उहाँको देहान्त भयो ।
हिजो भर्खरैको कुरा । मेरो घर नजिकै मकैको भारी बोकेर हिँडिरहेको एकजना महिलाले मलाई बोलाएर कसैको मोबाइल नम्बर सेभ गर्दिनु भन्नुभएको थियो । कुरा गर्दै जाँदा एउटा किड्नी श्रीमान्लाई दिएकाले भारी बोक्न गाह्रो भएको कुरा बताउनुभयो । दिनभरि मकै पोल्ने गरेको तर बिहानभरि मकै बेच्दै हिँड्नु पर्दा भारी बोक्न साह्रै गाह्रो भएको भन्दै हुनुहुन्थ्यो । यो पनि सङ्घर्ष नै हो , यसको सौन्दर्य चाहिँ कस्तो हुने होला, । त्यस्ता पीडाहरू पनि अस्मिता हाम्रोले समेट्न सकोस् ।
चार–पाँच महिना पहिला घरमा घरायसी कामदारको रूपमा आएकी एकजना चौधरी महिला हुनुहुन्थया,े श्रीमान् खाडीमा । सात वर्षको छोरीलाई कीर्तिपुरको नेवार घरको छोराले (१६–१७ वर्षको) बलात्कार गरेपछि उनको शारीरिक अङ्ग एकदम बिग्रिएको अवस्थामा छ भन्दै पीडा सुनाउनुभएको थियो । विभेद, विवशता र दण्डहीनता खेपेका यस्ता धेरै सङ्घर्षरत महिलाको प्रतिनिधित्व यस पत्रिकाले गर्न सकोस् । यी र यस्तै सङ्घर्षको सौन्दर्य समेट्न सकोस् । शुभकामना ।
फरजाना बानु (शिक्षक)
सबैभन्दा पहिला त धन्यवाद र ईद मुबारक सबैजनालाई ।
यहाँ उपस्थितमध्ये म सबैभन्दा सानो उमेरको हुँलाजस्तो लाग्दैछ तर पनि आफ्ना केही कुरा राख्छु । मेरो विचारमा महिलाले आफै आफ्नाबारे बोल्न जरुरी छ । म एक मुस्लिम महिला भएकाले निकै गाह्रो छ । पहिलो कुरा त हामी दोस्रो दर्जाका नागरिकसरह छौँ । सीमान्तकृत र अशिक्षित छौँ । अल्लाहप्रति धन्यवाद भन्न चाहन्छु, कम्तीमा म यही उपत्यकाको भएकाले पढ्न पाएँ । मेरो जीवन अरूको भन्दा थोरै सहज छ । तर अरू महिलाको जीवन निकै कष्टमय देख्छु । धेरै महिला दाइजोका नाममा जलाइएका छन् । उनीहरूले पढ्न पाएका छैनन् । मैले केही समय अघि खालेद हुसेनीको किताब पढेको थिएँ । उनी भन्छन्, ¾विवाहले कुर्न सक्छ तर पढाइले कुर्दैन®, त्यसकारण पनि महिलाका लागि विवाह भन्दा पढाइ ठूलो हो । विशेषगरी मुस्लिम महिलाका लागि । मेरी भदैनी एक प्रतिष्ठित विद्यालयमा पढाउँछिन्, जसले एक प्रतिभाशाली मुस्लिम विद्यार्थीबारे भनेको कुराले निकै छोयो । उनी कक्षा टप गर्ने भए पनि उनका अभिभावक उनको पढाइप्रति खास चासो राख्दैनन् रे । उनले विद्यालय शिक्षा पनि पुरा गर्ने हो होइन शङ्का लागेको भन्दैथिइन् । किनभने उनका बुबा आमालाई छोरीको पढाइभन्दा पनि विवाहको विशेष चासो रहेछ ।
तर हिम्मतका निम्ति शिक्षा अत्यन्त आवश्यक भएकाले अघि बढ्नको लागि महिलाले पढ्न एकदमै जरुरी छ ।
डा. महेश मास्के (प्रधान सम्पादक, वामपन्थ)
आज यहाँ भएका कुराहरू सुन्दा अस्मिता कसरी सुरु भयो भन्ने पनि सम्झना आयो । सुसन र अन्जु क्षेत्री (संस्थापक सम्पादक, अस्मिता )ले भर्खरै मास्टर्स सकेका थिए । उनीहरू सँगसँगै थिए । नेपाली महिला साहित्यकारहरूमै सुसनले थेसिस गरेको थियो जस्तो लाग्छ । एकदिन सुसनले आफूलाई पत्रिका निकाल्न मन लागेको कुरा भनिन् । अन्जुसँग पनि सल्लाह भइसकेकाले केही सहयोग गरिदिनुपर्यो भन्ने कुरा राखिन् । म विद्यार्थी हुँदाखेरि हामी बाबुराम भट्टराईहरू, इन्टलेक्चुअलहरूसँग भेट्न जान्थ्यौँ । गोविन्द भट्टसँग एकचोटि भेट्न गएका थियौँ । त्यसबेला भारतबाट महिला विषयका अनेक पत्रिका निस्कन्थे । गोविन्द भट्टले के भन्नुभएको थियो भने “हेर्नुस् केही पत्रिका त्यस्तो छैन महिलाहरूको लागि, जुन पत्रिका पढेर दिमाग दुख्छ ।” सुसनहरूले भन्नुभन्दा तीन–चार वर्ष अगाडिको कुरा हो जस्तो लाग्छ । उहाँको कुरा ठीकै लाग्यो । सुसनले कुरा राखिसकेपछि हाम्रो सबैभन्दा पहिला पारिजातसँग कुराकानी भयो ।
हामीसँगको सबैभन्दा ठूलो रिसोर्स र हामीले चिनेको मान्छेहरू त भूमिगत थिए । अब रिसोर्स पर्सन नै नभए त कसरी पत्रिका निकाल्ने भन्ने कुरा चल्दा पारिजातले यो निकाल्नुपर्छ । म आफै लेख लेख्छु भनेर आश्वासन दिनुभयो । त्यस ढङ्गले यस पत्रिकाको सुरुवात भएको हो । त्यसबेला न चिनजान स्रोत, न चिनजान तर पनि उनीहरूले गाह्रो किसिमले पत्रिका निकाल्न थाले । उनीहरूले त महिना महिनामा निकाल्थे । दिन रात खट्थे । आज उनीहरूलाई जसरी यहाँहरूले सम्झनु’भो, उनीहरूको कन्ट्रिब्युसनलाई जसरी स्मरण गर्नुभयो, त्यसले साह्रै खुसी लागेको छ ।
अर्को कुरा, ‘सङ्घर्षको सौन्दर्य’ भन्ने शीर्षकको चयन किन गरियो भन्ने विषयमा केही भन्न मन लाग्यो । हामीले जहिले पनि नारीका बारेमा कुरा गर्दा केवल समस्यातिर नै बढी केन्द्रित हुन्छौँ तर ती समस्याको विरुद्धमा उनीहरूले सङ्घर्ष गरिराखेका छन् । त्यस सङ्घर्षमा धेरै पीडा, चिन्ता, बोझ अनिश्चितता र खतराहरू छन् । त्यसको सँगसँगै त्यसको सौन्दर्य पनि छ । त्यो सौन्दर्य पनि देख्न सक्नुपर्छ, जब हामीले त्यस चिजलाई परिवर्तनको लागि गर्छौं । सौन्दर्य त्यहीँनिर छ । हामी साहित्यमा एस्थेटिक्स भन्छौं । कहाँबाट आउँछ त्यो एस्थेटिक्स ? कविताको सौन्दर्य कहाँबाट आउँछ ? जीवनको जुन सौन्दर्य छ, जुन सङ्घर्ष छ, त्यो सङ्घर्षमा उसको जुन जिजीविषा छ, त्यसैले ऊ हार्दैन । उसले आशालाई जस्तो अप्ठ्यारो पर्दा पनि समातिरहन्छ ।

गाह्रो हुँदाहुँदै पनि त्यसलाई झेल्दै, सामना गर्दै जीवनलाई अगाडि बढाउनुमा नै छ सौन्दर्य । यो सौन्दर्यको खोजी यदि यसरी हेर्ने हो भने हजारौँ वर्षको इतिहासमा महिलाहरूको एउटा अचम्मको बिम्ब देखिन्छ जस्तो लाग्छ । अब त्यो बिम्बको खोजी हुनुपर्छ भन्ने लाग्छ । खोजी नगरिएको पनि होइन र हामीले अघि जुन कुरा गरियो, किन महिलाहरूलाई चाहिँ एउटा सेकेन्ड सिटिजन जस्तो पारिराख्न खोजिन्छ त ? पुरुष र महिलाहरूका बिचमा जन्मजात बायोलोजिकल त्यस्तो केही चिज छ, जसले गर्दा महिलालाई एकदमै दबाएर राखिराख्नुपर्ने ? आफ्नै आमाबाउले त्यस्तो गर्ने केही त्यस्तो चिज छ ?
हाम्रो समाज जसरी विकास भएर गयो, त्यहाँ एउटा पावर र इस्यु विकास भएर गयो । केही कारणले गर्दा महिलामाथि प्रभुत्व कायम गरिराख्नुपर्ने आवश्यकता ठानियो । यो चाहिँ समाज विज्ञानका विद्यार्थीहरूले बढी प्रकाश पार्न सक्छन् । एकछिनलाई दलितको कुरा गरौँ । समाजलाई काम गर्नुपर्ने मान्छे चाहिएको थियो, मजदुरी गर्नेहरू, शिल्पीहरू चाहिएको थियो । तर उसले त हतियारहरू पनि बनाउँछ । भोलि उसले विद्रोह गर्नसक्छ भन्ने कुरा पनि भयो । अनि त्यहाँनिर अर्को वर्ग पनि थियो । त्यो वर्गले उसलाई त्यहाँबाट उठ्नै नसक्ने कसरी बनाउने भन्ने चिन्तन गरेजस्तो लाग्छ । त्यस्तै धर्म र संस्कृतिमा हेरौँ– बारम्बार दोहोर्याईकन भगवानको नाम लिएर हुन्छ कि, कसको नाम लिएर हुन्छ, त्यसलाई रिइन्फोर्स गरिएको छ । त्यसको शिक्षा कसले दिन्छ ? पहिला त आमा–बाहरूले नै दिन्छन् । परिवार त्यस कुरीतिहरूको बाहक हुन्छ । साथै महिलाहरू एकजुट हुन्छन् कि भनेर महिलाहरूलाई कसरी फुटाल्ने भन्ने पनि यही संस्कृतिले हामीलाई सिकायो । यी लतहरू हुन्, जुन चाहिँ हामीमा लगाइसकिएका छन् । त्यसो हुँदाहुँदै पनि, त्यस्तो अप्ठ्यारो स्थितिमा पनि महिलाहरूले जुन इतिहास रचेका छन्, त्यो इतिहासको खोजी हुनुपर्छ । पश्चिमा समाजमा हुन थालेको छ । नेपालमा पनि इतिहासको खोजी हुनुपर्छ ।
म केही आदिशक्तिहरूको कन्सेप्ट पढ्दै थिएँ । हामीले ब्रह्मा, विष्णु महेश्वरबारेका कुरा सुन्दै आएका छौँ अथवा शिव र शक्तिले सृजना गर्छन् भन्ने पढेका थियौँ तर गहिरिएर अध्ययन गर्दा सृजनाको मुहान त आदिशक्तिहरू रहेछन्, जसलाई मातृशक्तिहरू भनिन्छ । ब्रह्मा, विष्णु पनि आदिशक्तिबाट निर्माण भएका हुन् भन्ने कन्सेप्ट रहेछ । यदि त्यस्तो थियो भने कतिबेला तीन वटै पुरुष भएका देवताहरू स्थापित भए त ? जतिबेला समाजमा महिलाहरूको शक्तिहरू फरक किसिमले जाँदैछ थियो, देवताहरूको शक्ति पनि परिवर्तन भएको देखिन्छ । दुर्गालाई शक्तिशाली बन्नलाई पुरुष देवताहरूले आफ्नो आयु नै दिएपछि देवी बनिन् भनिन्छ । त्यसैले जसरी एङ्गेल्सले कुनैबेला भनेका छन्, यो समाज परिवर्तनको सिलसिलामा जतिबेला मातृसत्ताको समाज परिवर्तन हुने स्थिति भयो र पुरुषहरूको सत्ता स्थापित भयो, त्यतिबेला नै भाष्यहरू बदलिदिइयो । सत्तामा आइसकेपछि भाष्य बदलिने कुरा धार्मिक ग्रन्थहरूमा पनि भएको छ । अहिले हेर्नुपर्ने कुरा चाहिँ त्यस्तरी चारैतिरबाट जकडेर राखेको समाजले पनि आफूलाई कसरी निरन्तर अगाडि बढाइराख्यो ? समाजको विकासमा कसले कसरी योगदान दिइराख्यो ? समाजको खास विकास केलाई भन्ने ? यसको खोजी गर्ने र तथ्य बाहिर ल्याउन बहसमा राख्ने कुरा अस्मिता हाम्रोले अगाडि बढाउनपर्छ । आज केही महत्त्वपूर्ण कुरा यहाँहरूबाट आएको छ, त्यसका लागि यहाँहरूलाई धन्यवाद दिन्छु ।
लक्ष्मी रुम्बा : हामीबिच निकै लामो छलफल भयो । यहाँहरूको गहन विचारका निम्ति साथै अस्मिता हाम्रो मार्फत महिलाका सङ्घर्षका विषय र उपलब्धिलाई प्रकाशमा ल्याउनका लागि दिनुभएको महत्त्वपूर्ण समयका निम्ति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।

सामाजिक असन्तुलन विरुद्ध सङ्घर्ष…(सीतादेवी बौडेल)
मैले बुझेको सङ्घर्ष आफैंमा एउटा द्वन्द्व हो । अर्को शब्दमा भन्नुपर्दा सङ्घर्ष र द्वन्द्व एउटै सिक्काका दुई पाटा हुन् । कतै केही नमिलेको सामाजिक असन्तुलनका कुरामा म सङ्घर्ष देख्छु । यसले निम्त्याउने कोलाहल कुरूप हुन्छ । त्यसैले सामाजिक असन्तुलन विरुद्ध सङ्घर्ष जरुरी छ ।
पहिलेदेखि नै महिलालाई समाजको मूलधारको सीमाबाट टाढा राखी सीमान्तकृत बनाउने हाम्रो समाज असन्तुलित नै थियो र अझै छ । त्यसैले यो समाज कुरूप र पीडादायी छ तर पितृसत्तात्मक सोच भएका मानिसहरू उनीहरूका पीडा र भेदभाव विरुद्धको आवाज सुन्दैनथे र देख्दैनथे । आधा आकाश ढाकेको अधिकारविहीन महिला भएको यो समाज चुपचाप र मुर्दा शान्ति जस्तै छ । त्यही समाजको कालखण्डमा उठेका मसिना मसिना आवाजहरूमा म विद्रोह र सङ्घर्ष देख्छु । विद्रोहका आयामहरू जति बढ्दै जान्छन् सङ्घर्ष त्यत्ति घनघोर हुँदै जान्छन् । त्यही गतिमा हामी उपलब्धितिर लम्किरहेका हुन्छौँ । घनघोर वर्षापछि कालो बादलहरू हटेपछि हामीले देख्ने सफा दृश्य नै सङ्घर्षको सौन्दर्य हो । यद्यपि सङ्घर्ष निरन्तर चलिरहने प्रक्रिया हो । हजारौँ वर्षदेखि हाम्रो समाजमा रहिरहेको मैलो हाम्रो एउटै सङ्घर्षले पखालिँदैन । त्यसैले यसलाई निरन्तरता दिइरहनुपर्छ ।
सङ्घर्षको सौन्दर्य सङ्घर्षपछि फेरि पनि हुने सङ्घर्ष नै हो । सङ्घर्ष सम्पादन हो, जसले त्रुटिहरू काट्दै जान्छ । सङ्घर्ष संशोधन हो, जसले नारीका अधिकारहरू थप्दै जान्छन् । त्यही सङ्घर्षबाट प्राप्त उपलब्धि नै हाम्रो समाजको सौन्दर्य हो । यति हुँदाहुँदै पनि सङ्घर्षले सौन्दर्यलाई चिनेको हुन्छ तर सौन्दर्यले सङ्घर्षलाई त्यति नजिकबाट चिनेको हुँदैन । सौन्दर्य देखिने कुरा हो तर सङ्घर्ष पृष्ठभूमिमा भोगिने कुरा हो । आज प्राप्त भएका विभिन्न महिला अधिकारहरू सङ्घर्षका सौन्दर्य हुन् भने यी प्राप्त गर्दै गर्दा भोगेका विभिन्न पीडाहरू र समस्याहरू सौन्दर्यका पर्दाले ढाकेका सङ्घर्षका अनगिन्ती कथाहरू हुन् । दुश्मनको गोली लागे पनि दुवै एकैपटक मर्न सकियोस्, छोरी टुहुरी नबनोस् भनेर युद्धभूमिमा छोरीलाई छातीमा राखेर अपरिचित बस्तीहरूमा घेराबन्दीबाट भागेर भौतारिँदै हिँडेको सङ्घर्ष अहिले पर्दा पछाडि छन् तर यी सङ्घर्षबाट प्राप्त गरेको सौन्दर्य सबैले उपभोग गरिरहेका छौँ । त्यही सङ्घर्षका कारणले आज सयौं महिलाहरू जनप्रतिनिधिका रूपमा आउनुभएको छ । आज तोसिमा कार्की, बालेन, हर्क साम्पाङ, सोभिता गौतम लगायतका थुप्रै, जो जनप्रतिनिधिहरू भएर आउनुभएको छ, त्यो विगतमा भएको सङ्घर्षका उपलब्धि हुन् । हाम्रा सङ्घर्षहरू पर्दा पछाडि अहिले पनि चलिरहेका छन् ।
हामीले सङ्घर्षको कुरा गर्दा महिलाहरूले विगतमा गरेको सङ्घर्ष छुटाउनु हँुदैन । उनीहरूले त कसैको लागि सती जानुपर्ने, बच्चामै विवाह गर्नुपर्ने, ठुलो उमेर भइसकेपछि अर्को जातकोसँग प्रेम बसे पनि इच्छा विपरीत परिवारको चाहनाअनुसार अर्कै मान्छेसँग विवाह गरिदिनुपर्ने । लोग्ने मरेभने बुवाआमाले दिएको रातो कपडासम्म लाउन नपाउने । बेरङ्गी भएर बाँच्नुपर्ने हाम्रा कति छन् सङ्घर्षहरू । यस्ता विकृतिको विरुद्ध धेरै सङ्घर्षहरू भएका छन् भने ती धेरै सङ्घर्षका सौन्दर्य भनेको आजका उपलब्धिहरू हुन् । यो उपलब्धि यति सजिलै आएको भने होइन । पारिजात दिदीदेखि शान्ति राई दिदीहरू लगायत थुप्रैले बलिदान दिएर प्राप्त गरेको उपलब्धि हो । महिलाले मात्र नभएर त्यसमा पुरुषले पनि सपोर्ट गरेर प्राप्ति गरिएका उपलब्धिहरू हुन् ।
खासगरी १० वर्षीय जनयुद्धलाई हेर्ने हो भने ४० प्रतिशत महिलाहरू सहभागी थिए । उनीहरू बन्दुक बोकेर, बच्चा छातीमा टाँसेर हिँडेका इतिहासहरू छन् । आज हामी जहाँ महिला, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र तथा वर्ग लगायत सबैको अधिकारको कुरा गरिरहेका छाँै । ती सब त्यसैका उपलब्धि हुन् । हिजो अस्मिताले महिलाको अधिकारको वकालत गरेको थियो । महिलाको प्रजनन् अधिकार, सुरक्षित गर्भाधारण, गर्भपतन लगायत कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज उठाई सङ्घर्षको सुरुवात गर्यो । कालान्तरमा ती सम्बोधन भए । कानुन बन्यो । कार्यान्वयनमा जाँदा त्यसको उपलब्धि हामीले पाएका छौं । त्यो नै सौन्दर्य हो, तर हामीलाई उपलब्धि/सौन्दर्यले मात्रै पुग्छ त ? पुग्दैन । के अस्मिता हाम्रोले यति लेखेर पुग्छ त ? पक्कै पुग्दैन । अझै बढी सङ्घर्ष गर्नु छ ।
हिजोको अप्ठ्यारो अवस्थामा पनि हामीले आवाजहरू उठायौँ । हामीले हिजो गरेको सङ्घर्षले हाम्रा अधिकार वैधानिक हिसाबले कानुनमा लिखित भएका छन् । संविधानमा लेखिएका छन् तर सबै कार्यान्वयनमा गएका छैनन् । अहिले पनि विभेद छ । म एउटा सानो अनुभूति सुनाउँछु । संविधान लेख्दै गर्दा यस्ता थुप्रा पुरुषहरू हुनुहुन्थ्यो, जसले दलितको अधिकार लेखिनुपर्छ, महिलाको अधिकारलाई पनि सुनिश्चित गर्नुपर्छ भन्दै गर्दा “तपाईँहरू ३३% होइन, ५०% होइन, भोलि १००% हुन सक्नुहुन्छ । महिला मात्रै होइन, भोलि दलितहरू १३% होइन ५०% आउन सक्नुहुन्छ । जनजातिहरूले अब पर्सेन्टेजको कुरा गर्ने होइन” भनेर अर्कोतर्फबाट रोकेका इतिहासहरू हामीसँग छन् । इतिहास साक्षी छ, संविधान लेख्ने बेला कस्तो माहोल देखिएको थियो तर यतिका समयपछि पनि निरन्तर सङ्घर्ष गर्न परेको छ । हिजो छोरीलाई अंशको अधिकार थिएन, आज अंश अधिकार छ । हिजो हामीसँग वंशको अधिकार थिएन, आमा आफूले जन्माएको सन्तानको अभिभावक बन्न सक्दैनथे । कस्तो विडम्बना ! नौ महिना कोखमा राख्छ, नौ महिना दुधको धारा खुवाउँछ, उसलाई पढाउँछ, लेखाउँछ र हुर्काउँछ आमाले । कतिपय बाउले बेवारिसे छोडेर जान्छ । आमाले हुर्काइ बढाइ गर्छ तर त्यही आमा अभिभावक बन्न सक्दैन, बाउ नै चाहिन्छ भन्ने कानुनलाई हामीले यतिखेर तोडेका छौं । यो सौन्दर्य हो, हाम्रो सङ्घर्षको । आज अंशको अधिकार छ, हामीसँग । तर व्यवहारिक रूपमा यो कार्यान्वयनमा आउन सकिरहेको छैन । कतिपय सन्दर्भमा त यसलाई विकृत बनाइएको पाइन्छ ।
गणतन्त्रका थुप्रै राम्रा पक्षहरू छन् । सङ्घीयता धर्म निरपेक्षता समानुपातिक समावेशीका कुराहरूदेखि लिएर हजारौँ महिलाहरू जनप्रतिनिधि हुने विषयहरू अहिले कानुनअन्तर्गत पर्दछन् । महिला अधिकारमाथि भएका विभेदमा फौजदारी मुद्दा लाग्ने विषयहरू महिला सङ्घर्षका सौन्दर्य हुन् तर अझै यतिले पुग्दैन । मैले दुई तीनवटा विषय मात्र यहाँ राख्न खोजिरहेको छु ।
हामीले महिलाको सम्पत्तिमाथिको अधिकारका कुरा गरेका छौं । कानुनमा पनि छ । वंशको अधिकार पनि भनेको छ तर कार्यान्वयनमा जाँदा अहिले पनि समस्या छ । के हामीले सम्पत्ति सजिलै पाउन सक्छौँ ? दस जना छोरा भए पनि टुक्राई टुक्राई भाग लगाइन्छ तर त्यो छोरी एउटा विवाह नगरी बसेको छ भने पनि उसलाई अंश दिँदैनन् । बरु उसलाई भाइहरूमाझ कोसँग बस्ने भनी भाग लगाइन्छ । अंश नै दिए पनि तर छोरा बराबरको अंश चाहिँ दिएको अवस्था छैन । त्यसकारण कानुनी रूपमा लिखित कुराहरू कार्यान्वयनमा जानका निम्ति अब विशेष अधिकारसहित समानुपातिक र समावेशी सहितको पहुँच हुनुपर्छ । प्रतिनिधित्व भएर मात्रै भएन । आज पार्टीभित्र ३३% महिलाहरूको व्यवस्था छ तर कार्यान्वयन गर्ने ठाउँमा कति जना महिला हुनुहुन्छ ? कि हामी ३३% छौँ त ? छैन नि ।
कार्यान्वयनका निम्ति अस्मिता हाम्रो लगायत सबै पक्षबाट निरन्तर आवाज मुखर गर्न आवश्यक छ । खासमा महिलाको प्रतिनिधित्वले मात्रै पुग्दैन, पहुँचका कुरा । निर्णायक ठाउँमा पनि महिला पुग्न जरुरी छ । एउटा उदाहरण लिऊँ, चौकीमा कुनै महिलाको मुद्दा पर्यो र त्यहाँ पुरुष छ भने उसले वास्ता गर्दैन । बलात्कारको मुद्दा पर्यो अथवा उसमाथि कुनै यौन हिंसाको मुद्दा पर्यो भने महिलाले आफूमाथि यस्तो खालको व्यवहार गर्यो भनेर त्यस पुरुषलाई सजिलै भन्न सक्दिन तर त्यही ठाउँमा महिला भयो भने त उसले सहजै आफ्नो कुरा खुलेर भन्न सक्छ । त्यसकारण पहुँच सहितको प्रतिनिधित्व हुन जरुरी छ । त्यसको लागि आवाज उठाउन जरुरी छ ।
समस्याको सही पहिचान र चेतना एवम् संस्कारमा क्रान्तिकारी जागरण ल्याउन पनि जरुरी छ । हामी संस्कारले अहिले पनि यति पछाडि छौँ, चाहे राजनीतिमा होस्, सामाजिक अथवा आर्थिक सामाजिक सत्तामा । उदाहरणका रूपमा हामीले सामाजिक सत्ता भन्दै गर्दा एउटा महिला सांसद भएर आउनुको निम्ति अथवा जनप्रतिनिधित्व हुनका निम्ति ऊ सामाजिक रूपमा स्थापित भएको हुनैपर्छ । उसले आफ्नो वडाभित्र कुनै न कुनै संस्थामा काम गरेको हुनुपर्छ तर संस्थामा के गरिन्छ भने अनिवार्य महिला राख्नुपर्ने हुँदा एउटा महिला राखिन्छ अथवा दुईटा महिला राखिन्छ । त्यसमा पनि सकेसम्म सदस्य मात्र बनाउने प्रयत्न गरिन्छ । यदि त्यहाँ आवाज उठाइहाले भने कोषाध्यक्ष वा सहसचिव राखिन्छ । अध्यक्ष उपाध्यक्ष राखिन्न । खानेपानीको एउटा उदाहरण लिऊँ, गाउँमा खानेपानी समितिमा गएर धारा हरेक घरमा छ कि छैन भनेर जोड्ने उपाध्यक्ष हुन्छ । त्यो महिलालाई गएर पानी जोड्दिनु भन्ने मान्छे कोही पनि हुँदैन । त्यहाँ को हुन्छ भन्दा पुरुषै हुन्छ । त्यसले गर्दा समाजिक सत्तामा महिला प्रतिनिधित्वका कुराहरू अहिले पनि छैन । त्यसैले जनप्रतिनिधित्व बनाएर स्थापित गर्न पनि सामाजिक सत्ताको पहुँचको जरुरी छ । यो विषय सामान्य जस्तो लागे पनि यस्ता विषयलाई उठाउनुपर्छ किनकि सानो कुराले धेरै ठुलो असर गरेको हुन्छ ।
अर्को कुरा आन्तरिक एकता, सङ्गठन र सङ्घर्षलाई निरन्तर व्यवस्थित गरेर जानुपर्छ । हामी बिचमा आन्तरिक एकता छँदै छैन । प्रतिनिधित्वको नाममा ठाउँमा उच्च वर्गका महिला पुग्छन् । हामीले समानुपातिक प्रतिनिधित्व भनेको त गरिब, पछाडि परेको, जुनसुकै जातिबाट पनि सत्ताको पहुँचभन्दा तल रहेको मान्छे भन्छौं तर जाने बेलामा नेताको आफ्नो वरिपरिका मान्छेहरू पुग्छन् । एउटा दलित प्रतिनिधित्व हुँदै गर्दा त्यो पनि धनाढ्य परिवारबाट लगिन्छ । महिलाको हकमा पनि त्यही देखिन्छ । साँच्चै त्यस महिलाले अरूलाई समेट्न सक्छ कि सक्दैन भन्ने कुरा आउँछ । त्यसकारण यस विषयमा जनजागरण ल्याउन जरुरी छ । सङ्गठनलाई व्यवस्थित गर्न महिलाहरू बिचमा पनि एकता छैन । हामी यो पार्टीको, त्यो पार्टीको, यसको, उसको भनेर आफ्नै टाउको बजाइराख्या छौं तर साझा मुद्दामा हामी केन्द्रित र एकीकृत चाहिँ एकदमै कम देखिन्छौँ । अघिल्लो संविधान सभामा हामीले ककस बनाएर सङ्घर्ष गरिसकेपछि पछिल्लो संविधानसभामा ककस बनाउनै दिएनन् । अहिले पनि ककस बनाउन दिएको छैन । त्यतिबेला जनजाति दलित महिला सबैको ककस बनेको थियो, सङ्घर्ष गर्नको निम्ति । त्यहाँ आन्तरिक सङ्गठन भएन भने पनि बाहिर अरू सङ्गठन बनाएर सङ्घर्ष गर्न सक्छौँ तर त्यसो भइरहेको छैन । महिलाको हकमा धेरै कानुन त निर्माण भएका छन् तर त्यसलाई कार्यान्वयन गर्ने कुरा चाहिँ एकदमै फितलो छ । यसले गर्दा हाम्रो सङ्घर्ष पश्चात् प्राप्त सौन्दर्यहरूलाई सही ढङ्गले कार्यान्वयन गर्नका निम्ति हामी सबैले आआफ्नो ठाउँबाट थप सङ्घर्ष गर्नु आवश्यक छ ।
सङ्घर्ष र रूपान्तरणको सौन्दर्य…(शान्ति चौधरी)
अस्मिता पत्रिकाले २०४५ सालमा गर्भपतन बारेमा आवाज उठायो । त्यस बेला महिला बेचबिखन पनि धेरै थियो । त्यसमा पनि नुवाकोट, सिन्धुपाल्चोकको तामाङ समुदायका चेलीहरू धेरै बेचबिखनमा परे । त्यही बेला यस पत्रिकाले गर्भपतनको विषयलाई बाहिर ल्यायो । गर्भपतनको कुरा निकै ठूलो थियो । मेरो गाउँमा पनि गरिबका चेलीबेटीहरू महाजनहरूबाट बलात्कृत भएर गर्भवती हुँदा गर्भपतन गर्न सक्ने अवस्था थिएन । बरु ती महिलाहरूको एउटा अल्टरनेट मात्रै थियो— नदीबाट हामफालेर सुसाइड गर्ने । यस्तो अवस्थामा अस्मिताले ठुलो कदम उठाएको थियो । त्यसको लागि आज पनि धन्यवाद दिन्छु ।
मैले आफ्नो जिन्दगीलाई पाटो पाटोमा विभाजन गरेको छु । सङ्घर्ष र रूपान्तरणको सौन्दर्य मेरो जीवनमा पनि लागु हुन्छ किनभने म थारु समुदायको हुँ । मेरो बाल विवाह भयो । त्यसमा पनि मेरा श्रीमान् मभन्दा दोब्बर उमेरको थियो । म त धेरै तरिकाले पीडित भएँ । बाल विवाह, बेमेल विवाह अझ थारुमा घुम्टो प्रथा पनि थियो । त्यसमाथि थारुभित्रको दारु प्रथाको पनि भोक्ता । चाहेको बेला खान नपाउने, श्रीमान् कतिबेला आउँछ भनेर कुर्नुपर्ने । बुहारीले समयमा कहिले खाना खान नपाउने । एउटा आए अर्को नआउने, त्यसैले पनि सधैं भोको ।
मेरो गाउँमा थारुले त नयाँ कमिज पनि लाउनु नहुने । ओहो ! कति अन्याय । अनि मेरो देवर चाहिँ देउरानी भन्दा डबल उमेरको, कालो जुङ्गे । बिहे गर्र्दा धान र पैसा दिएर १३ वर्षको केटी ल्याए । मेरो देवर ४० वर्षको । त्यो कलिली केटी डरले सधैँ भाग्ने । शारीरिक सम्बन्ध खेप्न नसकेर त होला । सबै गाउँकाहरू गएर जन्ती लगेर उसलाई झ्याँइकुटी झ्याँइ पारेर फेरि गाउँमा लिएर आउने । अर्को पटक त उसलाई डोरीले बाँधेर झुन्ड्याएर चच हुई गर्दै लिएर आए । त्यो सबै बुहारीहरूलाई पाठ पढाएको रे । अबदेखि कुनै बुहारी भाग्ने आँट कसरी गर्ने ! त्यो नाबालिका देउरानीलाई ओहो कति दुःख दिएको । अनि हामी केवल दर्शक । कस्तो लाचार हामी ।
त्यसपछि त गाउँमा भोकमरी भयो । हामीले कन्दमूलहरू ल्याएर उसिनेर खान थाल्यौँ । मलाई त्यसरी खाँदाखेरि एकदम दुःख पनि लाग्यो, रिस पनि उठ्यो । सिडिओ भन्ने चिज त होला नि कतै उसलाई उजुरी हाल्न जान्छु भनेर बल्ल बल्ल गाउँ पुगेर सिडिओलाई उजुरी हालेँ । हाम्रो गाउँको कस्तो सिडियो हो केही पनि नहेर्ने । हाम्रो गाउँमा मान्छे खान नपाएर मरिराखेको छ भन्दाखेरि त शान्ति त कम्युनिस्ट रे । अब घुम्टोमा बसेको मान्छेलाई कम्युनिस्ट भनेको कुन चराको नाम हो त थाहा थिएन । २४ घण्टे पुर्जी आयो । २४ घण्टाभित्र सिडिओ कार्यालयमा हाजिर हुनु पर्ने भो । त्यसपछि त जीवनसाथी पनि छैन । त्यस्तो दुःखको बेला साथ नदिने त्यस्तो जीवन साथी के काम भन्ने लाग्यो । साथ दिने कोही भएन । कसैले साथ दियो भने पुलिसले लगेर थुन्छ भनी ठानेर कसैले साथ दिएनन् । त्यसपछि म भागेर काठमाडौँ आएँ ।
काठमाडौँको दुःख भनिनसक्नु छ । तर पढ्नुपर्छ भन्ने भयो । । दाइ भाउजूहरूले बिहे गरेर पठाएको छोरी माइतीमा बस्दा कहिले जान्छजस्तो पनि गरे ।
अनेक ठक्कर खाएपछि भने मैले अब महिलाहरूमाथिको अन्यायको लागि लड्नुपर्छ भन्ने ठानेर एउटा सामाजिक संस्था खोलँे । काठमाडौँमा त कति धेरै पीडित महिला । कोही लोग्नेले छोडेको, कोही बहुविवाह भएको, बाल विवाह भएको आफू जस्तै पीडित खोज्दै खोज्दै अदालत धाउँदै हामीले एउटा जमात नै तयार गर्यौँ । अब जमात बनाएपछि कानुनी न्यायको लागि लड्नुपर्छ भनेर संस्था स्थापना गर्यौँ । थारुको छोरीले काठमाडौँमा संस्था स्थापना गरेको भनेपछि अलिक चर्चा पनि भयो । जब पपुलर भएँ, यसपछि फेरि आक्रमण सुरु भयो ।
मैले चन्दा लियो भनेर सिडिओमा उजुरी पर्यो । यता मुद्दा उता मुद्दा भयो । धेरै विषयमा लड्दा लड्दा दिक्क भएपछि म साहित्यमा आएँ । साहित्यमा पनि थारु कम्युनिटीका मान्छे थिएनन् । फेरि पनि सङ्घर्षै नै भयो । लक्ष्मीप्रसाद देवकोटा, पारिजातले त कति दुःख खेपेका थिए । बरु खान नपाए पनि किताब लेख्छु भन्ने भयो । त्यसपछि अब किताबमै लाग्न थालेँ । किताब लेखेपछि पनि कहीँबाट सहयोग नपाउने किनभने मैले लेख्ने विषय भनेको महिला, पीडित र तिनै महिलाको पीडा, उनीहरूले भोगेको यातना हुन्थे । पछि थाहा भो नेताहरूका बारेमा लेख्यो भने त घरघरमा पैसा पुर्याउने रहेछ । पीडितको आवाज लेख्दाखेरि कतैबाट फन्ड हुँदैन । तर जे जसरी भए’नी यो साहित्यमा चाहिँ लागिरहन्छु भनेर लेख्दा लेख्दा आफ्नो उमेरभन्दा बढी पुस्तक लेखेको महिला भनेर गोरखापत्रले पनि छापेको छ । मैले २०५६ सालमा सांस्कृतिक मन्त्रालयबाट ‘पारिजात पुरस्कार’ पाएँ । यो मेरो बहुत सौभाग्यको कुरा भयो । अहिले त साहित्यबाट नै धेरै पुरस्कार सम्मानहरू पाइसकेको छु ।
खाली उमेरभन्दा बढी पुस्तक लेखेको पुरस्कार र सम्मानहरू मात्रै भित्ताभरि झोलाभरि भयो तर पढाइ त थिएन । एसएलसी मात्रै गरेको थिएँ । त्यसपछि जीवनलाई सुन्दर बनाउनलाई त पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । महिलाको लागि सबैभन्दा ठुलो कुरा त शिक्षा रहेछ । नत्र भने त यो सामाजिक, कानुनी, साहित्यिक सङ्घर्षहरूले मात्र केही हुँदैन भन्ने भयो । मैले २०३२ सालमा एसएलसी गरेको थिएँ । ३२ सालको एसएलसीको सर्टिफिकेट खोलेर मैले ५८ वर्षदेखि फेरि पढ्न थालँे । साना केटाकेटीसँग बसेर ११, १२ सकेँ । त्यसपछि ब्याचलर इन ल ६८ वर्षको उमेरमा गरेँ । अहिले कानुनमा स्नातक छु । मेरो लाइसेन्स लिन बाँकी छ । म थारु समुदायबाट पहिलो महिला कानुनी स्नातक बनेको छु । यही हो जस्तो लाग्छ, मैले गरेको सङ्घर्षको सौन्दर्य । कलेजमा सबैभन्दा जेठो मै थिएँ क्लासमा । ६८ वर्षको उमेर बि.एल पास ।
मैले जीवनमा धेरै दुःख र सङ्घर्षबाट गुज्रनु परे पनि जिन्दगी अभिशाप होइन, वरदान नै हो भन्ने लाग्छ । सङ्घर्षपछिको जीवन साँच्चै सुन्दर हुँदोरहेछ ।