Asmita Magazine

#

महिला सङ्घर्षको सौन्दर्य : नेपाली समाज र सङ्घर्षका विविध आयाम

पृष्ठभूमि

विश्वभरका महिलाहरूले आफ्‌नो अधिकार, अस्तित्व, स्वतन्त्रता र समानताका निम्ति गरेको सङ्घर्षको इतिहास गौरवपूर्ण छ । लिङ्गद्वेषी सामन्ती पितृसत्तात्मक सामाजिक व्यवस्थाको दमन र उत्पीडनको सामना गर्दै शताब्दीऔ लड्नु चानचुने कुरा होइन । त्यसैले पितृसत्तात्मक दमन विरुद्ध उनीहरूले उठाएको आवाज र डटेर तय गरेको कठिन यात्रा गौरवशाली छ । आज महिलाहरूले जे जति अधिकार उपभोग गर्न पाएका छन्, ती सबै विषम परिस्थितिहरू माझ उनीहरूले साहसकासाथ उठाएको प्रतिरोधी स्वर र कदमकै उपलब्धि हुन् । तथापि विभेदरहित, न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि आज पनि महिलाहरूको सङ्घर्ष जारी छ ।

मानवसभ्यताको सुरुवातकालीन समयमा महिलाहरूको स्थान उच्च र सम्मानजनक रहेको धेरै समाज ज्ञाताहरूको दाबी छ । प्रकृतिसँगको तादात्म्यतामा रहेको आदिम मानव समाज समानतामा आधारित थियो,  भनिन्छ । जैविक रूपमा महिला र पुरुष दुई लिङ्गका भए तापनि उनीहरू एक अर्काको खटन र पकडभन्दा पर रही नैसर्गिक स्वतन्त्रताको उपभोग गर्ने गर्थे । समयक्रमसँगै महिला र पुरुषबिचको सन्तुलित सम्बन्धमा आएको क्षयीकरणबारे अनेक अध्ययन अनुसन्धान भइसकेका छन् । मानवशास्त्री लुईस एच. मोर्गन (सन् १८७७)ले लामो खोज अनुसन्धान पश्चात् प्रस्तुत गरेको प्राचीन समाज, सामाजिक व्यवस्था र आदिम मानव सभ्यताको इतिहासलाई समाज विकास अध्ययनको क्षेत्रमा एक महत्त्वपूर्ण दस्तावेजका रूपमा लिने गरिन्छ । त्यसैलाई आधार मानी प्रभावशाली चिन्तक फ्रेडरिक एङ्गेल्सले उजागर गरेको परिवार, निजी स्वामित्व र राज्यको उत्पतिको इतिहासले आदिम समाजमा सम्मानित स्थानमा रहेका महिलाहरूको अवस्थामा क्रमिक रूपमा आएको क्षय र उनीहरूको उत्पीडनको सुरुवातकालीन परिघटनाहरू पहिल्याउने एक ठोस आधार निर्माण गरेको छ । भलै सत्रौँ सदीका नामी दार्शनिक जन लकले मानिसको प्राकृतिक र नैसर्गिक अधिकारका विषयमा निकै अघि नै आफ्‌ना धारणाहरू प्रस्तुत गरिसकेका थिए । उनको विचार धेरै अर्थमा महत्त्वपूर्ण ठहरिए पनि निजी सम्पत्तिसम्बन्धी अधिकारको विषय भने विवादित छ । लक व्यक्तिको सम्पत्तिमाथिको अधिकारलाई केन्द्रमा राख्छन् । उनको ठिक विपरीत मार्क्सको विचारमा  सम्पत्तिमाथिको अधिकारले मानिसलाई ‘अमानवीकरण’ गर्नुका साथै नितान्त ‘अलग–थलग’ पारिदिन्छ, जसले गर्दा उसले आफ्‌नो पहिचान गुमाएर केवल एक वस्तुमा परिणत हुन पुग्छ (बार्डल, २००७, पृ. ५०) । सम्पत्तिमाथिको पुरुष एकाधिकार कायम भएसँगै सुरुवात् भएको मानिने महिलाहरूमाथिको दमनको आदिम परिघटनालाई मार्क्सको यस धारणाले केही हदसम्म साथ दिएको देखिन्छ । सम्भवत सम्पत्तिमाथिको अधिकारसँगै पुरुषहरूले मानवीय पहिचान गुमाउँदा आफ्‌ना सहयात्री महिलाहरूमाथि दमन र अत्याचार गर्न थालेको हुनसक्छ ।

कला: समोयत्री चटर्जी

मानवजातिको विकासक्रमसँगै समूहगत बसाइ, सामूहिक विवाहप्रणाली हँुदै बिस्तारै एकल परिवार र एकनिष्ठ विवाह प्रणाली अगाडि बढ्यो । साथमा निजी सम्पत्ति र स्वामित्वको अवधारणाले पनि प्रवेश पायो । त्यसअघिको अवस्थाबारे मोर्गनको कुरालाई लिएर एङ्गेल्स भन्छन्, “एक यस्तो आदिम अवस्था थियो, जब एउटा जातिभित्र स्वच्छन्द यौन सम्बन्ध प्रचलित थियो, तसर्थ प्रत्येक स्त्रीमाथि प्रत्येक पुरुषको र प्रत्येक पुरुषमाथि प्रत्येक स्त्रीको समान रूपले अधिकार रहन्थ्यो”‘‘। (एङ्गेल्स, २००४ पृ. ४७) । कुनै प्रकारको हकदावी, बन्देज र बन्धन नभएको स्वतन्त्र समय थियो । सामूहिक परिवारमा रहने त्यससमय सन्तानमाथि महिलाहरूकै अधिकार हुन्थ्यो ।

बिस्तारै एकनिष्ठ विवाह प्रणालीको थालनी र निजी परिवारको विकाससँगै पुरुषहरूले शिकार लगायतका घर बाहिरको काम सम्हाल्न थाले भने महिलाहरू बच्चा जन्माई स्याहारसुसार गर्ने र खानपानको व्यवस्था मिलाउनेजस्ता घरभित्रको काममा सीमित भए । निजी परिवार र सन्तानसँगै निजी सम्पत्तिको कुरा पनि जोडिँदै गयो । हरेक परिवारभित्र सम्पत्तिको हस्तान्तरणका सवालहरू उठ्न थाले । केहीसमय अघिसम्म आमाकै गोत्र धारण गर्ने नानीहरूले बाबुतिरको गोत्र पाउन थाले । क्रमशः महिलाको स्वतन्त्रतामा क्षयको मात्रा बढ्दै गई उनीहरू पूरापूर पुरुष अधीनस्थ हुन पुगे । यसै सन्दर्भमा एङ्गेल्स भन्छन्, “जब पितृ वंशक्रमका आधारमा उत्तराधिकार प्रदान गर्ने प्रचलन ल्याइयो, मातृसत्ताको पतनको त्यही प्राग ऐतिहासिक घटना नै विश्वभरका नारी जातिको ऐतिहासिक पराजय ठहरियो” (पृ. ६७) । त्यस ऐतिहासिक पराजयको समयसँगै अघि बढेको पितृवंशको निरन्तरताका निम्ति छोराको आवश्यता बढ्न थाल्यो । सबैतिर पुरुषको रजगज चलेसँगै महिलामाथिको दमन र अत्याचारले अनेक स्वरूप लिई अघि बढेको जगजाहेर नै छ ।

पितृसत्तात्मक सामाजिक व्यवस्थाको उदयसँगै विश्वमा लिखित इतिहास सुरु भएको मानिन्छ । तथापि इतिहास लेख्ने र लेखिने दुवैको केन्द्रमा पुरुषहरू नै रहे । यस प्रकारको सामाजिक परिस्थितिमा महिलाको इतिहास कसले लेख्ने ?

कलम, आवाज र हैसियत विमुख महिलाले आफ्‌नो इतिहास लेख्नसक्ने अवस्था नै भएन । पुरुष निर्मित इतिहासमा महिलाबारे लेखिएका थोरबहुत कुरा उनीहरूकै ज्ञान, अनुकूलता र सहजतामा लेखिए । महिलाका वास्तविक भोगाइ र अनुभूतिभन्दा पृथक विश्लेषणहरू गरिए । महिलाको खास सङ्घर्ष, विशिष्ट अवस्था, परिस्थिति र विशेष भोगाइका विविध आयाम कहिल्यै लेखिएनन् ।

इतिहासको त्यही छलपूर्ण समयदेखि नै महिला इतिहासविहीन अवस्थाको गहिरो अवसादमा रुमल्लिन बाध्य भए । जसरी पिता पुर्खा भनी दाबी गरिन्छ, कहाँ छ आमा पुर्खा भनी दाबी गर्ने ठाउँ ?

सन् १९२८ मा भर्जिनिया उल्फले उठाएको महिलाको निजी कोठाको सवाल खासमा महिला–इतिहासको रिक्ततामा नै केन्द्रित थियो । त्यस रित्तोपनालाई परिपूर्ति गर्ने काम आजपर्यन्त शुष्क अवस्थामा नै छ । पश्चिमी राष्ट्रहरूमा महिला इतिहासको खोज, लेखन, पुनर्लेखन र पुनर्विश्लेषणको काम निकै अघि बढेता पनि नेपाल, भारत लगायतका दक्षिण एसियाली देशहरू यस मामलामा अझै पछि नै छन् । तथापि यहाँका महिलाहरू तमाम असहज सामाजिक/सांस्कृतिक व्यवस्थाका बाबजुद आफ्‌नो हक, अधिकार, पहिचान र स्वतन्त्रताका निम्ति निरन्तर सङ्घर्षरत छन् ।

नेपाली सामाजिक सन्दर्भ र महिला सङ्घर्षका आयाम

मूलतः वर्ण/जात व्यवस्थामा आधारित हिन्दु सामाजिक मान्यताका कारण भारत र नेपालमा अझै महिलाहरूमाथिको पृथक पितृसत्तात्मक दमन कायमै छ । भारतमा ३५ सय वर्षअघि पेशागत समूहका रूपमा सुरु भएको वर्ण व्यवस्था कालान्तरमा जात व्यवस्थासहितको हिन्दु धर्म/हिन्दु समाजको रूपमा स्थापित हुन पुग्यो (आहुति, २०७७ पृ.१३–१७) । हिन्दु धार्मिक र सामाजिक व्यवस्था अन्तर्गतका मान्यताहरूले महिलाका निम्ति अनेकानेक दस्तुरहरू निर्धारण गरिदियो । नेपालका महिलाहरू दिनानुदिन कट्टरता पक्डँदै अघि बढेको हिन्दु मान्यताको चङ्गुलमा पर्दै गए । जसको परिणाम स्वरूप सती प्रथा, विधवा प्रथा, बाल विवाह, अनमेल विवाह लगायत महिला अमैत्री प्रचलनहरू नेपाली समाजमा फैलिएको छर्लङ्गै छ । ती विभेदपूर्ण सामाजिक कानुनका कारण हजारौँका सङ्ख्यामा हाम्रा आमा पुर्खाहरू सतीघाटमा खरानी बनेको कलङ्कित इतिहास नेपाली समाजको निधारमा कालो दागसरह छ ।

पितृतन्त्रात्मक हिन्दु समाजमा ज्ञान, दर्शन र धर्मशास्त्रहरूमाथिको पहुँचमा रहेका पुरुषहरूले बनाएका सामाजिक/सांस्कृतिक संहिताहरू महिलाविभेदी नहुने कुरै भएन । पितृसत्तात्मक सामन्ती चरित्रको नेपाली समाजमा महिलाको अस्तित्व र स्वतन्त्रताको सवाल लामो समयसम्म नेपथ्यमा नै बिलायो । महिलाका हकमा जहानियाँ राणाकालीन समय त अत्यन्त खराब थियो नै, प्रजातन्त्र प्राप्ति (वि. सं.२००७) र पुनर्स्थापना (वि.सं. २०४६) पश्चात् पनि महिलाको सामाजिक परिस्थितिमा खासै भिन्नता आउन नसकेको निकट विगत हामीसँग छ । २००७ सालको जनक्रान्तिको एक दशकमा नै नेपाली जनताले पुनः एकतन्त्रीय पञ्चायती व्यवस्था व्यहोर्नु पर्यो, जसले गर्दा नेपाली समाज फेरि तिस वर्षे लामो सङ्क्रमणकालीन समयमा प्रवेश गर्न पुग्यो । सम्भवतः त्यसैकारण समाजका विविध क्षेत्रहरूको सर्वाङ्गीण विकास र उन्नतिमा दीर्घकालीन असर पर्न गयो ।

सन् साठीको दशकमा विश्वभर तहल्का मचाइरहेको नारीवादी आन्दोलनलाई नेपालले त्यसै रूपमा व्यापक बहस र चर्चामा ल्याउने परिस्थिति बनेन । यसको प्रत्यक्ष असर नेपाली बौद्धिक बहसमा पनि परेको देखिन्छ । नारीवादजस्तो महत्त्वपूर्ण विषयले नेपाली समाजमा निकैपछि मात्र प्रवेश पाएको थियो । नेपालको बौद्धिक वृत्तमा नारीवादी अवधारणाले वि. सं. २०४० को दशकमा मात्र प्रवेश पाएको सुधा त्रिपाठीको जिकिर छ (त्रिपाठी, सन् २०१२, पृ.१७८) । चालिसको दशकसम्म बौद्धिक बहसको केन्द्रमा महिलाको सवाल नपरे तापनि नेपालका महिलाहरूले विभिन्न तरिकाले आवाज मुखर गर्ने काम भने गरेका थिए । राणाविरोधी आन्दोलनदेखि प्रजातन्त्र पुनर्प्राप्तिका निम्ति महिलाहरूको ठुलो योगदान छ । साथमा राणाकालीन समयमा नै महिलाहरू सामाजिक अभियानमा अग्रसर भएको कुरा भोजपुरकी योगमाया न्यौपाने र उनकै अनुयायी दुर्गादेवी कार्कीको अभियानले पुष्टि गर्दछ । तथापि आम महिलाको इतिहास लेखनप्रति पुरुष इतिहासकारहरूको नजर भने पर्न सकेन । लेखिएका थोरबहुतमा पनि आम महिलाको नभई महारानी या समाजका उपल्लो स्थानमा रहेका महिलाहरूका नै थिए । विगतमा राजनीतिक क्षेत्रको मात्रै इतिहास लेख्ने चलनले गर्दा यस्तो परिदृश्य देखापरेको हुनसक्छ भन्ने त्रिपाठी (सन् २०१२, पृ. १६७)को दाबी मननयोग्य छ ।

चौधौँ शताब्दीमा नै नेपालको राजकाजमा रानीको बर्चस्व रहेको कुरा इतिहासकार ज्ञानमणि नेपाल (२०५५)ले उजागर गरेका छन्, जसमा वि.सं. १३३९ मा राजा जयादित्यदेवको मृत्यु पश्चात् छोरा जयशक्तिदेवसँग मिली शासन गर्ने रानी वीरम्मादेवी हुन् या वि. सं. १३८३ मा नेपालको इतिहासमा राजगद्दीको उत्तराधिकार पाउने प्रथम महिला नायकदेवी अथवा नायकदेवीको मृत्यु पश्चात् उनकी दस दिने छोरी राजल्लादेवीलाई काखमा राखी राजगद्दीको उत्तराधिकारी हुर्काउने महारानी देवलदेवी, सबै वर्चस्वशाली रानीहरू थिए (नेपाल, २०५५, पृ.१५६–१७१) । शक्ति हत्याउने दाउमा राजदरबारभित्र निरन्तर चलिरहने षडयन्त्रका बाबजुद राजकाजमा खरो उत्रिएका नेपालका तिनै रानीहरूको सङ्घर्ष र साहसको कथा उत्तिकै स्मरण योग्य छ ।

उन्नाइसौँ शताब्दीकी राजमाता महारानी राजेन्द्रलक्ष्मीलाई एक साहसी महारानीका रूपमा लिने गरिन्छ । राज्य प्रशासनको बागडोर सम्हालेकी महारानी राजेन्द्रलक्ष्मीले शक्तिसङ्घर्षमा राजकुमार बहादुर शाह जस्ता कुटनीतिक, शक्तिशाली र महत्त्वाकाङ्क्षी व्यक्तिलाई समेत कैद गर्नसक्नु उनको “मानसिक दृढताको परिचायक” भएको इतिहासवेत्ता बाबुराम आचार्यको भनाइ छ (आचार्य, २०७५, पृ. १४) । नेपालका राजप्रासादभित्रका महारानीहरूका केही पाटाहरू इतिहासका पानामा समेटिएका छन् तर अनेक प्रतिकूल अवस्थाका बाबजुद सङ्घर्षरत नेपालका आम भुइँमहिलाको इतिहासको विस्तृत अध्ययन, अनुसन्धान, उत्खनन् र लेखनको ठुलो हिस्सा अझै खाली नै छ ।

उन्नाइसौँ शताब्दीमा अङ्ग्रेजसँगको नालापानी युद्ध (१८७१ साल कार्तिक १०–१७)मा साहसका साथ लडी वीरगति प्राप्त गरेका वीराङ्गनाहरू नेपालको मूलधारे इतिहासका सादा पानाहरू हुन् । नालापानीको लडाइँको गौरवशाली इतिहासका सम्झनाभरि छाइरहने किल्लादार, सैनिक कमान्डरहरू बाहेक गोटागन्तीमा सीमित भएकाहरूमा धेरै महिला र केटाकेटीहरू पनि थिए । त्यस लडाइँका अङ्ग्रेज कमान्डरहरू मबी र शेरउडको बयानले त्यही पुष्टि गर्छ । मैनाली (२०८०), मबीको युद्ध वर्णन अघि सार्छन्, “म बिहानै हामीले कब्जा गरेको किल्लामा पुगेँ । त्यहाँ जे देखेँ, त्यो वर्णन गरी साध्य छैन । महिला र पुरुषका लास, घाइते भएका महिला र पुरुष जताततै छरिएका थिए” (पृ.४६) । साथमा शेरउडको बयान, “घाइतेहरू सबैभन्दा खराब हालतमा थिए । …कोही ‘पानी–पानी’ भन्दै चिच्याइरहेका थिए । …खुट्टा भाँचिएकी, लासका बिचमा पल्टिएकी एउटी युवतीलाई म कहिल्यै बिर्सन सक्दिनँ । ..अर्की महिला आफैँ त घाइतेजस्ती थिइनन् । उनले छातीमा टाँसेको बच्चा भने घाइते थियो” (मैनाली, २०८०, पृ.४८) । आफ्‌नो छातीभित्रको अन्तिम धुकधुकी रहिन्जेल देशका लागि लडेका ती वीराङ्गनाहरूको इतिहास खोजिनुपर्छ । केवल गोटागन्ती या मृतक सङ्ख्याका सूचीमा मात्र सीमित हुनु पक्का न्यायसङ्गत ठहरिदैन । नालापानी युद्धमा बहादुरीका साथ लडेका सम्पूर्ण साहसी महिलाहरू नेपालको इतिहासका सौन्दर्य हुन्, जसले आगामी पुस्तालाई सधैँ प्रेरणा प्रदान गर्नेछ ।

नेपालको महिला सङ्घर्षको इतिहासमा भोजपुरकी योगमाया न्यौपानेको नाम उच्च सम्मानका साथ लिइन्छ । उनले राणकालीन समयमा नै उठाएको प्रतिरोधी आवाज र नेतृत्व गरेको सामाजिक अभियान नेपाली समाजमा बृहत् बहसमा सन् १९८० को दशकमा आएको थियो । उनलाई नेपाली साहित्यकी प्रथम यथार्थवादी कविका रूपमा परिचित गराउन उत्तमप्रसाद पन्त (चापागाईँ, २०७५, पृ. ५२) र प्राज्ञिक बहसमा ल्याउन अमेरिकी मानवशास्त्री बारबारा निम्री अजिजले अग्रणी भूमिका निभाएका छन् । तत्कालीन समयमा योगमायाले महिला अधिकार र न्यायपूर्ण समाजका लागि उठाएको आवाज अमेरिकी र युरोपेली नारीवादीहरू जन्मनुभन्दा अगाडि तथा संयुक्तराष्ट्र सङ्घले अन्तरार्ष्टि्रय महिला सम्मेलनका लागि नेपाललाई सहयोग गर्नुभन्दा चार दशकअघि नै सुरु भएको एक विशिष्ट अभियानका रूपमा अजिजले विश्लेषण गरेकी छिन् (अजिज, सन् २०२०, पृ. १५३) । उनले नेपालको सामाजिक व्यवस्था र सांस्कृतिक पर्यावरण सुहाउँदो विद्रोह गरेकी थिइन् । योगमाया हुर्केको मध्ययुगीन सामन्ती व्यवस्थामा उनले उठाएको आवाज “धार्मिक रङ्गमा रङ्मगिनु” (चापागाईँ, २०७५, पृ. ७५) स्वाभाविक मान्ने चापागाईँ उनी शासकवर्गीय मूल्य मान्यताका कट्टर विरोधी तथा एक योद्धा र विद्रोही व्यक्तित्व भएको दाबी गर्छन् (पृ. ८५) । समाजमा व्याप्त विभेदपूर्ण र अन्यायी व्यवस्थाका कारण योगमायाले सामाजिक न्याय, महिला तथा बालिकाको हकअधिकारका लागि आवाज उठाउने प्रयास गरिन् । उनले सती प्रथा उन्मुलनको मागदेखि जातीय विभेद लगायतका सामाजिक कुरीतिको विरोध गर्दै धर्मराजको माग गरेकी थिइन् । सती प्रथाजस्तो महिला अस्तित्वलाई धुलिसात् पार्ने कुप्रथा १९७७ सालमा उन्मूलन भयो । सामाजिक बहिष्करणदेखि जेलनेलसम्म खेपेर भए पनि कठोर हिन्दु धार्मिक मान्यताले व्याप्त पितृसत्तात्मक सामन्ती राणा शासनका बखत धर्मराज स्थापना, विधुवा विवाहको माग, धर्मभिरू पण्डितहरूको भ्रष्टताका विरुद्ध आवाज उठाउने लगायतका सामाजिक न्यायको लागि अग्रसर योगमाया ‘हिन्दु धार्मिक क्षेत्रभित्र पसी त्यसैको कट्टरता विरुद्ध प्रहार गर्ने एक प्रतिरोधी आवाज’(लामा, सन् २०२१, पृ. १८) हुन्, जसको सङ्घर्षको इतिहास गर्विलो र प्रेरणादायी छ । उनलाई धेरै अध्येताहरूले नेपालको सामाजिक जागरण र नागरिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रथम/अग्रणी महिलाका रूपमा उल्लेख गर्ने गरेका छन् ।

Art: Martin Travers

काठमाडौँको मखनमा सानो कन्या पाठशाला खोली १९९० सालबाट महिला शिक्षाको लागि अगुवाइ गरेकी चन्द्रकान्तादेवी मल्ल (पाँडे, २०७१); १९९३ सालमा सिराहामा महिला समिति गठन गर्न अग्रसर भएकी दिव्या कोइराला; महिला विरुद्धको कुसंस्कार अन्त्यका लागि २००३ सालमा ‘आदर्श महिला सङ्घ’को स्थापना गर्न नेतृत्वदायी भूमिका निभाउने रेवन्तकुमारी आचार्य; राणा विरोधी आन्दोलनलाई सङ्गठित रूपमा अघि बढाउन २००४ साल साउन २२ गते ‘नेपाल महिला सङ्घ’को स्थापनामा अग्रणी भूमिकामा रहेका मङ्गलादेवी सिंह र स्नेहलता; ज्यान जोखिममा राखी राजबन्दीहरूले लेखेको चिठी ओसारपसार गर्ने बन्दीगृहका सफाई कर्मचारी राममाया पोडे (पाण्डे, २०७८) सबै नेपालको महिला सङ्घर्षका सुनौला इतिहास हुन् ।

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएको २००७ सालको आन्दोलनदेखि, झापा आन्दोलन २०२८, विद्यार्थी आन्दोलन २०३५/२०३६, प्रजातन्त्र पुनर्प्राप्तिको आन्दोलन २०४६ तथा २०५२ सालपछि सुरु भएको जनयुद्ध र २०६२, २०६३ सालको दोस्रो जनआन्दोलन सबैमा महिलाहरूको उल्लेख्य योगदान रहेको छ ।

राणा शासनको अन्त्यतिर देशका विभिन्न ठाउँमा चर्किएको राणाविरोधी आन्दोलनहरूमा आम महिलाहरूको उल्लेख्य सहभागिता थियो । उनीहरू आन्दोलनका क्रममा आइपर्ने हरेक अप्ठ्यारालाई सामना गर्ने आँटका साथ सामेल थिए ।

२००७ सालमा बन्दिपुरमा भएको राणाविरोधी जुलुसमा सामेल चन्द्रमाया शर्माले घाइते छोरालाई काँधमा बोकी हिँडेको घटना होस् या बन्द विराटनगर जुटमिल खुलाउन भएको आन्दोलनमा सहभागी गर्भवती पार्वती पासवान्‌ले हडतालको मैदानमा बच्चा जन्माएर ‘हडतालीकी मा’ उपनाम पाएको घटना (पाण्डे, २०७८, पृ. ९७–१११), दुवै महिलाले देखाएको साहसका प्रमाण हुन् ।

नेपालका सन्दर्भमा २००७ सालतिर महिलाहरूमा सामाजिक र राजनीतिक विषयप्रतिको सचेतना प्रशस्त देखिन्छ । समाजमा विद्यमान् सामन्तहरूको दमन र अत्याचार विरुद्ध आवाज उठाउने सोलुखुम्बुकी डाटी भोटेनीजस्ता साहसी र सचेत पात्रहरू (पाण्डे, २०७८) २००७/०८ सालपछि सार्वजनिक वृत्तमा देखिन थाले । राणाकालको अन्त्यसँगै औपचारिक शिक्षामा बढ्न थालेको आम महिलाको पहुँच तथा समाज सुधारका अनेकन अभियानहरूले पारेको प्रत्यक्ष प्रभावका कारण त्यसो भएको हुनसक्छ । काठमाडौँमा १९९० को दशकमा चन्द्रकान्ता मल्लले छात्राहरूलाई पढाउन थालिसकेकी थिइन् भने उपत्यकाबाहिर पनि महिलाहरूले औपचारिक शिक्षा प्राप्त गर्ने वातावरण बन्न थालेको थियो । उदाहरणको रूपमा २००२ सालमा बनेपामा खुलेको सहारा शिक्षालयलाई लिन सकिन्छ, जहाँ महिलाहरूले पढ्ने अवसर प्राप्त गरेका थिए (त्रिपाठी, सन् २०१२, पृ. १६६) । शिक्षा र राजनीतिक सचेतनाका कारण प्रजातन्त्र प्राप्ति पश्चात् नेपाली महिलाहरू निर्धारित सामाजिक मान्यताहरूलाई भत्काउँदै राजनीति र सार्वजनिक क्षेत्रमा सामेल हुनथाले । परिणामतः २०१५ सालमा भएको आम निर्वाचनबाट द्वारिकादेवी ठकुरानी नेपालको इतिहासमा पहिलो निर्वाचित महिला सांसद तथा मन्त्री बन्न सफल भइन् । स्थानीय तहको चुनावमा भने २०१३ सालमा नै सर्लाहीकी विजयालक्ष्मी खरेलले जीत हासिल गरिसकेकी थिइन् (आचार्य, २०५४, पृ.१९) । ठकुरानी र खरेलहरू नेपाली राजनीतिमा देखिएको आजको महिला सहभागिता र प्राप्त सफलताका प्रस्थानविन्दु हुन्, जसको सङ्घर्षपूर्ण इतिहास नवपुस्ताका निम्ति प्रेरणाको स्रोत बनेको छ ।

प्रजातन्त्र प्राप्ति पश्चात्‌को उत्साहपूर्ण समय नेपाली जनतामाझ धेरै समय टिक्न पाएन । राजा महेन्द्रले २०१७ सालको ‘कु’मार्फत पञ्चायती व्यवस्था लागु गरेपछि पुनः देशभर जनविरोध उर्लिन थाल्यो । तथापि त्यस माहोल पहिलेको भन्दा बिलकुल भिन्न थियो । त्यसबेला पुरुषहरू मात्र नभई ठुलो सङ्ख्यामा गाउँ गाउँका महिलाहरू विरोधमा सामेल भएका थिए, जसमा जनजाति महिलाहरूको उपस्थिति उल्लेख्य रहेको थियो । काठमाडौँसँग जोडिएका धादिङ र नुवाकोटका सयौँ तामाङ महिलाहरू विरोधमा सामेल भए । राज्यको कानुनले ‘मासिन्या मतवाली’ करार गरी शताब्दीऔ गरेको दमनका बाबजुद तामाङ समुदायका महिलाहरूको त्यस उपस्थितिलाई वास्तवमै क्रान्तिकारी मान्न सकिन्छ । त्यस आन्दोलनमा महिलाहरू प्रहरी हिरासतमा पनि परेका थिए, जसमा डिल्लीबजार थुनामा राखिएका नुवाकोटकी प्रेमकुमारी तामाङ र धादिङकी लालमाया तामाङको तस्बिर नेपाल पिक्चर लाइब्रेरीको सार्वजनिक जीवनमा महिला (सन् २०२३)मा सङ्ग्रहित छ । त्यस तस्बिर भुइँ महिलाले नेपालको राजनीतिक परिवर्तनमा खेलेको महत्त्वपूर्ण भूमिकाको दस्ताबेज हो । साथै आम महिलाको योगदानलाई स्मरण गर्दै महिलाहरूको इतिहासको खोजी र अभिलेखीकरणमा साथ दिने एक उपयुक्त माध्यम पनि ।

पञ्चायती व्यवस्थाको जगजगीको समयमा नेपालका महिलाहरू राजनीतिक, सामाजिक र बौद्धिक सबै क्षेत्रमा सक्रियतापूर्वक अघि बढेका थिए । साथमा उनीहरूमाथि राज्यको निगरानी र दमनले पनि चरमता पक्डेको थियो । २०३५/०३६ सालको इलाम सङ्घर्षदेखि खोकु छिन्ताङ घटनामा धेरै महिलाहरू हताहतीमा परे । २०३६ सालको खोकु छिन्ताङ घटना महिलामाथि राज्यपक्षले गरेको दमनको पराकाष्ठा थियो, जसमा घरभित्र बसेकी सुत्केरी हाङखिम्मा साइँलीलाई प्रहरीले गोली ठोकी हत्या गरेको थियो । २०४० सालमा सिन्धुपाल्चोकको पिस्करमा भएको प्रहरी दमनमा परी इली (इले ?) थामी, पाल्कमाया थामी, सोना तामाङ मारिएका थिए भने १५ दिनको शिशु च्यापेर ओडारमा लुकेकी कान्छी थामी र लालमाया थामीको त्यहीँ मृत्यु भएको थियो (श्रेष्ठ, २०७७, पृ.१०७–१११) । पञ्चायती व्यवस्था विरुद्ध जनतालाई जागरूक गराउने पिस्करकै मसली उर्फ मीरा थामी भने त्यस घटनामा बच्न सफल भइन् । पिस्कर हत्याकाण्डपछि करिब ६ महिना तत्कालीन मङ्गलादेवी प्राथमिक विद्यालय बन्द गराएर प्रहरीहरू तैनाथ गरिएका थिए (श्रेष्ठ, २०७९, पृ.२०१) । राज्य पक्षको दमनलाई निरन्तरता दिन गाउँमा खटाइएका प्रहरीहरूको आतङ्क र दमनको सीमा नाघेपछि आम जनता गाउँमा टिक्नसक्ने अवस्था रहेन । त्यस अवस्थामा पनि गाउँ नछाडी डटेर सामना गर्ने मीरा थामीहरू नेपालको महिला सङ्घर्षको इतिहासका दर्बिला व्यक्तित्व हुन् ।

नेपालको महिला सङ्घर्षको इतिहास नियाल्दा मधेसी महिलाहरूले निभाएको भूमिका महत्त्वपूर्ण छ । उनीहरू ज्यान हत्केलामा राखेर आन्दोलनहरूमा सहभागी भएका थिए । २०४६ सालको आन्दोलनमा धनुषाको यदुकुहामा प्रहरीको गोली लागी तीन जना मधेसी महिला (जानकीदेवी यादव, भुवनेश्वरी यादव र सोनावतीदेवी यादव) सहिद भएका थिए भने नयाँ संविधान निर्माण भएपछि २०७२ साल साउनदेखि तराई–मधेसका जिल्लाहरूमा सुरु भएको आन्दोलनमा पनि तीन जना मधेसी महिला (महोत्तरीकी रामशिला मण्डल, सर्लाहीकी राधिका साह बँनिया र मोरङकी द्रौपती देवी चौधरी) ले सहादत प्राप्त गरे (साह, २०७४, २०७६ ) । मधेसी समुदायको हक, अधिकार र पहिचानका निम्ति आफ्‌नो जीवनको आहुति दिने ती मधेसी महिलाहरूको बहादुरीको गाथा सम्मानजनक तथा प्रेरणादायी छ ।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा नेपालगञ्ज नगरपालिकामा वडा अध्यक्षमा निर्वाचित भएकी मुस्लिम महिला मोहम्मदी सिद्दिकी सम्भवतः नेपालको पहिलो निर्वाचित मुस्लिम महिला भएको र त्यसपछिका वर्षमा नेपाली राजनीतिमा मुस्लिम महिलाहरूको उपस्थिति छिटपुट रूपमा देखापर्न थालेको मोहना अन्सारीको भनाइ छ (२०७०) । पछिल्लो समय निरन्तरता पाइरहेका अनेकन सामाजिक तथा न्यायिक आन्दोलनहरूमा मुस्लिम महिलाहरूको भूमिका उल्लेख्य र प्रभावकारी रहेको छ । सामाजिक विभेद विरुद्धको न्यायिक लडाइँमा सदा अग्रसर मोहना अन्सारीदेखि नकुनी धोबी र निर्मला कुर्मीको न्यायको लागि लडिरहेकी रुबि खान या एसिड आक्रमणबाट बाँचेकी अधिकारकर्मी मुस्कान खातुन सबै साहसी मुस्लिम महिला हुन् । त्यसैगरी सुडेनीदेखि सांसदसम्मको यात्रा तय गर्ने पलटीदेवी महरा (चौधरी २०७९), किसान आन्दोलमा अग्रणी भूमिका निभाएकी लहनी चौधरी (न्यौपाने, २०७९), सिनो बहिष्कार आन्दोलनमा डटेर लागेकी रामरति राम (यादव, सन् २०२४), आठ वर्षदेखि अठार वर्षसम्म कमलरी भएकी संविधान सभा/प्रतिनिधिसभाकी सदस्य शान्ता चौधरी (चौधरी, २०८१) या पत्रकारिताका माध्यमबाट मधेसी दलित महिलाको मुद्दा उजागर गरी अघि बढेकी दलित अधिकारकर्मी सोना खटिक लगायतका महिलाहरूको सङ्घर्षले नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको छ ।

फेरिँदो दृश्यपट

पछिल्लो समय महिला इतिहासको खोजी तथा अभिलेखीकरणमा सक्रियतापूर्वक काम गर्ने व्यक्ति तथा संस्थाहरूको सङ्ख्या बढेको छ । यसले बद्लिँदो सामाजिक/राजनीतिक परिस्थितिसँगै नेपाली समाज महिलाको विषयप्रति गम्भीर र संवेदनशील बन्दै गएको प्रस्ट हुन्छ । महिला सङ्घर्षका विविध पाटामाथि धेरै लेखक, पत्रकार तथा शोधकर्ताहरूले फुटकर लेखन प्रकाशनमा ल्याउने काम जारी छ ।

कतिपयले भने घनीभूत अध्ययन अनुसन्धान गरी छायामा परेका/पारिएका सीमानाका महिलाहरूको कथालाई पुस्तकाकारमा नै प्रकाशन गर्ने क्रम पनि बढ्दो छ । त्यसमा नेपालका महिलाहरूको अवस्थाबारे अनुसन्धान गर्ने मीना आचार्य; चालिसको दशकबाट महिला अधिकारका विषयमा आवाज मुखर पार्ने मीना पौडेल, अरुणा उप्रेती; हजुरआमाहरूको कथा लेख्ने अमृता लम्साल; महिला साहित्यकारहरूको इतिहास लेखन आरम्भ गर्ने सुधा त्रिपाठी, लीला लुइँटेल, रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारी; महिलाको स्वअस्तित्वको खोजमा झक्झक्याउने लेखक/सम्पादक अर्चना थापा; आदिवासी जनजाति महिला केन्द्रित पहिचानको खोजीमा लागेकी कैलाश राई; भुइँ महिलाका कथालाई प्रस्तुत गर्ने यज्ञश लगायतका प्रयास स्मरणीय छन् । त्यस्तै संस्थागत तवरमा मोतिदेवी स्मृति केन्द्र, सन्धान/द स्टोरी किचन, महिला सुरक्षा दबाब समूह, सञ्चारिका समूह, नेपाल पिक्चर लाइब्रेरी लगायतले महिला सङ्घर्षको इतिहास उजागरमा महत्त्वपूर्ण योगदान दिएका छन् । त्यसै गरी २०४५ सालबाट प्रकाशन सुरु गरेको महिला मुद्दा केन्द्रित पत्रिका अस्मिता (हालअस्मिता हाम्रो ), महिला साहित्यकारहरूको समूह गुञ्जन तथा साहित्यिक/सामाजिक विषयमा बहस गर्ने समूह आह्वानले पनि विभिन्न क्षेत्रका महिलाहरूको सङ्घर्ष, योगदान र उपलब्धिहरूलाई उजागर गरिरहेका छन् ।

आजको सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष राष्ट्र नेपाल निर्माणका निम्ति सबै जातजाति, क्षेत्र, वर्ग र समुदायका महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सराबर मेहनत, रगत र पसिना मिसिएको छ । त्यसैले

नेपालका हरेक समुदायका महिलाको सङ्घर्षको इतिहास तथा अस्तित्व र पहिचानको सवाललाई यस देशले सम्मानपूर्वक सम्बोधन गर्न आवश्यक छ, तर महिलाभित्रको विविधतालाई एकातिर पन्छाएर निर्माण गरिएको ‘नेपाली महिला’ भन्ने मूलधारे भाष्यले नेपालका महिलाहरूको खास मुद्दालाई सही ढङ्गले पहिचान र सम्बोधन गर्न सकेको छैन,

जसमा नेपालको जात व्यवस्थावादी सामाजिक संरचनाको पिँधमा पारिएका दलित समुदायको सवाल निकै संवेदनशील छ । पितृसत्तावादी चरित्रले भरिएको यस समाजमा दलित समुदायभित्र पनि महिलाको मुद्दा अझ विशेष प्रकृतिका छन् । सामन्तवादी समाजमा सबै महिला अर्धदास र भोग्या हुन् । पुँजीवादी समाजमा महिला उपभोग्य वस्तु हुन् । त्यसमध्ये हिन्दु समाजको पिँधमा भएका दलित महिलाको अस्तित्व नै नगण्य छ (सुनार, २०८०, पृ. १८ ) । दलित महिलालाई (जनजाति महिला पनि) केवल शरीरदेखि शरीरसम्म देख्ने जातवादी पितृसत्तात्मक दृष्टिले उनीहरूलाई एक ‘योनी’ मा खुम्च्याइदिएको सत्य हो ! कथित दलित महिलाको अस्तित्व नगण्य देख्ने यस विभेदी समाजप्रति सरिता परियारको प्रश्न– “अपवित्र निजी अङ्ग चाट्ने मुखचाहिँ पवित्र र दलित महिलाको शरीर चाहिँ अपवित्र, हुन्छ कसरी (परियार, २०७४) ?” यो एक व्यङ्ग्यात्मक यथार्थ हो । अनेकन विभेदको सामना गरिरहेका नेपालका दलित महिलाहरू वास्तवमै यस समाजको पिँधमा छन् । तथापि दलितभित्रको भौगोलिक, सामाजिक, आर्थिक, भाषागत र यौनिकताको अन्तरसम्बद्धतामाथि विचार गर्दा अपाङ्गतासहितका मधेसी दलित महिला, जो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि हुन्, उनी नेपाली समाजको संरचनागत तहमा सबैभन्दा पिँधमा छिन् ।

कला: समोयत्री चटर्जी

नेपालको दोस्रो जनआन्दोलन २०६२/०६३ पछि महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, सीमान्तकृत वर्ग, समुदाय तथा संरचनागत तहको पिँधमा पारिएकाहरूको अधिकार र पहिचानको विषय उठानले द्रुतता पक्डेको छ । यसमा बादी समुदायका महिलाहरूको आन्दोलन सीमान्तकृत समुदायका महिलाहरू आफैले मुखर गरेको आन्दोलनहरू मध्ये एक ऐतिहासिक घटनाका रूपमा लिन सकिन्छ । २०६४ सालमा यौन शोषण, विभेद र अपमान विरुद्ध बादी  महिलाहरूले ४८ दिने धर्ना र सिंहदरवार घेराउ कार्यक्रमहरू गरे, जसमा आन्दोलनका अगुवा उमा बादी लगायतले अर्धनग्न भई प्रदर्शन गरेर आफ्‌नो समुदायको आत्मसम्मान र पहिचानका लागि राज्यलाई दबाब दिएका थिए । यस सङ्घर्षको लागि नेपालका २६ जिल्लाबाट ५०० बादी आन्दोलनकर्मी राजधानी काठमाडौँमा आइपुगेका थिए (सुनार, २०८०) । बादी महिलाहरूले आफ्‌नो अधिकारको लागि लडेको लगभग दुई दशक पुग्न लाग्यो । यस अवधिमा निर्माण भएको नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ । तथापि बादी समुदायप्रतिको सामाजिक व्यवहार र दृष्टिकोणमा भने पूर्ण परिवर्तन हुन सकेको देखिदैन । नेपालको प्राज्ञिक निकाय पनि यस मामलामा चुकेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली शब्दकोषमा भएको ‘बादी’ शब्दको परिभाषाले निश्चय नै त्यस समुदायको आत्मसम्मान र प्रतिष्ठामा ठेस पुर्‍याउँछ । त्यस परिभाषालाई यथासक्य चाँडो परिवर्तन गर्न आवश्यक छ । प्रज्ञा प्रतिष्ठानजस्तो निकायले शब्दकोश निर्माण गर्दा सामाजिक, सांस्कृतिक र लैङ्गिक विषयप्रतिको संवेदनशीलतालाई मनन गर्दै महिला विशेषज्ञहरू पनि समावेश गर्न अति आवश्यक छ ।

नेपालको जात व्यवस्थागत संरचनाको सबैभन्दा पिँधमा रहेको बादी महिलाहरूको आन्दोलनले नेपालको सामाजिक व्यवस्थामाथि गतिलो प्रहार गर्नुका साथै उनीहरूको प्रतिरोधी चेतनाको पनि उजागर गरेको छ । तर मूलधार भनिने महिला आन्दोलन आजसम्म खसआर्य मध्यम वर्गीय महिलाको कब्जामा भएका कारण दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यक महिलाहरूको तहगत उत्पीडनको विषयलाई केन्द्रमा राखेर समाधान खोजेको पाइँदैन । त्यसैले कथित मूलधारे महिला आन्दोलन असमावेशी चरित्रको भएको दलित अधिकारकर्मीहरूको दाबी छ (सुनार, वि.सं २०८०, सोव वि.सं.२०७९) । दलित महिलाको सवाल छुवाछुत मात्र नभई जात व्यवस्थाको आधारमा निर्मित वर्गीय उत्पीडन भएकाले त्यसको सम्बोधन गर्न क्रान्तिकारी विचारसहितको संरचनागत रूपान्तरणको आवश्यकता छ भनी सुनार दाबी गर्छिन् (सुनार २०८०, पृ. २१) । सुनारले औँल्याएको क्रान्तिकारी रूपान्तरणकै एक संवाहक हुन्, वर्तमान पुस्ताकी एक सशक्त आवाज, अस्मिता बादी । उनका धारिला कविता त्यसैको सङ्केत गर्दछन्‌–

तर
माटोमा बगाएको पसिना मात्र आफ्‌नो रहेछ
यो माटोमा उब्जेको उब्जनी कसको ?
यो माटो कसको ?
अस्ति, केही थान हातहरू पहिरोमा पुरिए
केही जोर खुट्टाहरूलाई खोलाले बगायो
र बगायो
यो देशले नस्विकारेको
देशकै भविष्य
खोला बस्तीमा आएको होइन
मान्छेहरू नै किनारमा बाँचिरहेका थिए
समाजमा बाँच्न यो जातले दिएन
किनारमा बाँच्न खोलाले
त्यसैले बगाइदियो अस्तित्व
खोलाले होइन
यो व्यवस्थाले

(अस्मिता बादी, ‘लास बोकेका खुट्टाहरू’)

बादीको कवितामा चित्रित सीमान्तकृत समुदाय तथा महिलाहरूको किनारीकृत अवस्थाको निम्ति यस राज्यको व्यवस्था जिम्मेवार छ, जसको न्यायोचित सम्बोधनको विकल्प छैन । सतहमा उठिरहेका अनेकन पेचिला विषयहरूका साथमा नेपालका महिलाहरूभित्रको विविधता पहिचान र सम्बोधनको निम्ति राज्यको नीति निर्माण तहलाई हरबखत खबरदारी गर्न पछिल्ला पुस्ताका अस्मिता बादी, सीता विके, रचना मोक्तान यात्री, प्रणेताजस्ता नवयुवाहरू प्रतिरोधी आवाज बनी अघि लम्किँदै छन् ।

नेपालका विभिन्न समुदायका महिलाहरूको विशेष र विशिष्ट अवस्था वा परिस्थितिको उजागर गर्दै महिलाभित्रको विविधता र अन्तरसम्बद्धतालाई मनन गरी उनीहरूको इतिहासको खोज, लेखन तथा दस्तावेजीकरण गर्न आवश्यक छ । साथमा समानता, न्याय र सहअस्तित्वलाई प्राथमिकतामा राखी विभेदरहीत, समावेशी समाज निर्माणका लागि महिलाहरूको सङ्घर्ष र योगदानलाई सम्मान गर्नुका साथै मेटिएको/मेटाइएको इतिहासको पुनर्लेखन तथा पुनर्विश्लेषण गर्न पनि अत्यन्त जरुरी छ ।

सन्दर्भ सामग्रीसूची

आचार्य, बाबुराम (२०७५). अब यस्तो कहिल्यै नहोस्‌. फाइनप्रिन्ट बुक्स ।

आचार्य, मीना (२०५४). नेपालको पहिलो स्थानीय चुनाव जित्ने प्रथम महिला. अस्मिता, १०(४८), पृ.१९ ।

आहुति (२०७७). जात वार्ता. (सम्पा. सङ्गीत). बेला बुक्स ।

अन्सारी, मोहना (२०७०, पुष). राजनीतिमा मुस्लिम महिलाः चुनौती र सम्भावना. मधेश अध्ययन, ३, पृ. १३९–१५५ ।

उप्रेती, देवेन्द्र, सन्जिला तामाङ र प्रत्युष वन्त (२०७८). दुर्गा सोवसँगको अन्तर्वार्ता. समानताको रिले दौड. (सम्पा.

सावित्री गौतम, कैलाश राई, प्रत्यूष वन्त). मार्टिन चौतारी ।

श्रेष्ठ, रञ्जना (२०७९). गुमनाम तर सङ्घर्षशील मसली अर्थात् मीरा थामी. प्रेरणदायी महिलाहरू. (सम्पा. ममता

गिरी, लक्ष्मी बस्नेत, अमिका राजथला). मोतिदेवी स्मृति केन्द्र ।

श्रेष्ठ, सुशीला (२०७७). राजनीतिमा महिला. नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी. सम्पा. (टंक पन्त).

महिला सुरक्षा दबाब समूह नेपाल ।

चापागाईँ, निनु (२०७५). सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया. थानप्रसाद अधिकारी (भविन्द्र) ।

चौधरी, उन्नती (२०८१). कमलरी प्रथा मुक्तिको इतिहास र वर्तमान. महिला आन्दोलनको सहखोजी सन्धान सङ्ग्रह

शृङ्खला १. द स्टोरी किचन र त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन विभाग ।

चौधरी, लक्ष्मी (२०७९). सुडेनीदेखि सांसदसम्मको यात्रामा पलटीदेवी महरा. प्रेरणदायी महिलाहरू. (सम्पा. ममता

गिरी, लक्ष्मी बस्नेत, अमिका राजथला). मोतिदेवी स्मृति केन्द्र ।

नेपाल, ज्ञानमणि (२०५५). नेपालनिरूपण. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

न्यौपाने, जानुका (२०७९). किसान आन्दोलनकी योद्धा लहनी चौधरी. प्रेरणदायी महिलाहरू. (सम्पा. ममता गिरी,

लक्ष्मी  बस्नेत, अमिका राजथला). मोतिदेवी स्मृति केन्द्र ।

परियार, सरिता (२०७४, चैत्र ३). छुत योनीको अछुत कथा. कान्तिपुर कोसेली ।

पाण्डे, विन्दा (२०७८). धर्तीमाथिको दाबी अधिकारको लडाइँ. साङ्ग्रिला पुस्तक प्रा.लि. ।

बादी, अस्मिता (२०८१). लास बोकेका खुट्टाहरू. अस्मिता बादीको व्यक्तिगत वेबसाइट ।

मैनाली, मोहन (२०८०). मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान. बुकहिल पब्लिकेसन प्रा.ली. ।

साह, रीता (२०७४). मधेश आन्दोलन र महिलाविरुद्ध हिंसा. मधेश अध्ययन ५(५), पृ. ११–३२ ।

साह, रीता (२०७६, भाद्र ९). मधेसी महिलाको आन्दोलन.नेपाल  ।

सुनार, धनकुमारी (२०८०). दलित महिला : पितृसत्तात्मक दलन विरुद्ध प्रतिरोध. अस्मिता हाम्रो, १(१), पृ.१८–२१) ।

त्रिपाठी, सुधा (सन् २०१२). नारीवादी सौन्दर्य चिन्तन. भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

Angels, Fredrick (2004). The Origin of the Family Private Property and the State. Resistance Books Australia.

Aziz, Barbara Nimri (2020). Yogmaya and Durga Devi Rebel Women of Nepal. Mandala Book Point.

Birdal, Murat (2007). Locke’s Theory of Property and its Marxist Critique: Locke and Marx on Property Rights and Individual Liberties. Istanbul University Faculty of Economics Magazine, pp. 39-61).

Lama, Kumari (July, 2021). Yogmaya and Durga Devi: Different Modes of Resistance to Patriarchy.

The Outlook: Journal of English Studies. Vol. 12, pp. 16-23.

Yadav, Ranju (2024). Madhesi Women and Feminist Movement in Nepal. Nepal Journal of Multidisciplinary

Research (NJMR). Vol.7, No. 1, March, pp. 84-96.

https://doi.org/10.3126/njmr.v7i1.65252

The Public Life of Women: A Feminist Memory Project (2023). Curators- Diwas Raja KC and Nayan Tara Gurung

Kakshapati . Nepal Picture Library.

Author

  • नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर काम गरिरहनुभएका लेखक कुमारी लामा महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्नुहुन्छ । उहाँको उज्यालो अन्धकार (२०७१), दर्ज्यु संलाप (२०८१) निबन्ध संग्रह प्रकाशित छन् ।

    View all posts

One Comments

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के