सिराहा जिल्लाको गोलबजारमा जन्मिनुभएकी मनु लामा पञ्चायतकालीन व्यवस्थाविरुद्धको कम्युनिष्ट आन्दोलनकी एक योद्धा हुनुहुन्छ। पारिजातको अध्यक्षतामा रहेको अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य पदमा रही उहाँले तत्कालीन निरङ्कुश शासन व्यवस्थाविरुद्ध उठाउनुभएको आवाजमा नै बदलिंदो नेपालको राजनीतिक परिदृश्य अन्तर्निहीत छ। उहाँको राजनीतिक जीवनको त्याग र सङ्घर्षको फेहरिस्तलाई अस्मिता हाम्रोको यस अङ्कमा समेटेका छौं।
१. तपाईको राजनीतिक जीवन कसरी सुरु भयो ?
सुरुमा त म त्यस्तै १४-१५ वर्षको उमेरदेखि नै जानीनजानी पार्टीमा लागेको थिएँ। सिराहाको गोलबजार मेरो गाउँ। घरै छेउ सुर्यमान दाइको घरमा धेरै राजनीतिक मान्छेहरू आवतजावत गरिरहन्थे। प्राय गइरहने त्यहाँ मैले कम्युनिष्टको बारेमा लेखेका किताबहरू भेटें। पटक पटक घरमा ल्याएर ती किताबहरु पढेपछि भित्र हृदयमा यति छोयो कि निन्द्राबाट झस्याङ्ङ्ग भएर बिउँझिएँ जस्तो भो। किताब पढेपछि नै गरिब र धनीको बारेमा मैले थाहा पाएँ। संसारमा शोषण गर्ने र शोषित हुने दुईवटा वर्ग रहेछ भनेर थाहा पाएँ। आफ्नै गाउँको एउटा सामन्ती पुँजीपतिजस्तो अनि अर्को चाहिँ चमार, मुसहर, हरूवाचरुवा जस्तो उत्पीडित भएर बनुपर्ने। तामाङ भएर भोगिरहेको पीडा पनि छुट्टै रहेछ। ओहो यहाँ यस्तो अन्याय र अत्याचार भइरहेको रहेछ मेरै गाउँघरमा। मेरो आँखा छ्याङ्गै उप्रियो। अब अन्याय अत्याचारको विरुद्धमा म पनि लड्छु भनेर अगाडि बढ़ें। मलाई कसैले कन्भिन्स गर्ने परेन। किताब पढेपछि नै मेरो जीवनको त्यो उज्यालो पक्ष म भित्रैबाट आयो। मेरो बुबा पनि पार्टीमा हिड्नुहुन्थ्यो। तर त्यही किताबहरूको प्रभावले मेरो जीवन राजनीतितर्फ मोडियो। निर्मल लामा दाइ बेला बेला आएर प्रशिक्षण दिनुहुन्थ्यो। त्यसबेला पार्टीमा सक्रिय विष्णुलाल बाइबा लगायतका दाइहरूले सुरुमा मलाई जनमोर्चाको सेल कमिटिमा सदस्य बनाउनुभयो । त्यसपछि पार्टीमा जिम्मेवारीसहित अगाडि बढ्दै गएँ।
२. सानैदेखि पार्टीमा लागें भन्नुभयो। पार्टीमा तपाइँको भूमिका के कस्तो रह्यो ?
मैले पार्टीको बैठक या कार्यक्रमको सूचना एउटा सेल्टरबाट अर्को सेल्टरमा पुर्याउने, काठमाडौंबाट आउने नेतृत्व वर्गलाई सम्बन्धित ठाउँमा लिएर जाने, गाउँ गाउँ गएर सङ्गठन विस्तार गर्ने कामको जिम्मेवारी पाएको थिएँ। यो काम एकदमै सुरक्षित र गोप्य ढङ्गले गर्नुपर्थ्यो। मलाई सबैले “माया बहिनी” भनेर सम्बोधन गर्थे। यसै क्रममा सङ्गठन विस्तारको लागि म त गाउँ गाउँमा धेरै ठाउँ गएको छु। लुकेरै सक्रिय कार्यकर्ताको रूपमा एउटा सेल्टरबाट अर्को सेल्टरमा जान्थे। पछि महिला दिदीबहिनीहरूलाई जम्मा गरेर प्रशिक्षण पनि दिन थालें। पार्टीको भेला हुँदा सबैले लाठी लिएर जानुपर्थ्यो। बाँसको फट्टाहरू बनाएर राख्थ्यौँ। दुस्मनले आक्रमण गर्दा त प्रतिकार गर्नुपर्यो नि। फेरि त्यसको बारेमा पनि भिन्नै क्लास हुन्थ्यो। केन्द्रबाट आउने कमरेडहरूले हामीलाई प्रशिक्षित गर्नुहुन्थ्यो। त्यसमा पनि मुख्य रूपमा निर्मल लामा दाइ नै आउनुहुन्थ्यो। पछि म पारिजात दिदी अध्यक्ष रहनुभएको अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य भएँ।
पञ्चायतकालीन परिवेशमाझको सकस कस्तो थियो ?
कम्युनिष्ट विचार बोकेर हिड्नु फलामको चिउरा चपाउनु सरह थियो, त्यो बेला। पञ्चायतकालमा कम्युनिष्ट भनेपछि गोली ठोकेर मार्ने आदेश थियो, त्यसबेलाको सरकारको। पार्टीको सबै काम लुकेर गर्नुपर्थ्यो। ज्यान सधैं धरापमा हुन्थ्यो। हामी एकअर्कामा उपनामहरूले चिनिन्थ्यौं। यी सबैको पर्वाह नगरी विस्तारै म पार्टीमा होलटाइमर भएर खट्दै जिम्मेवारी बहन गर्दै जान थालें।
३. तत्कालीन सामाजिक परिवेशमा महिलालाई राजनीतिक व्यक्तिका रूपमा अघि बढ्न कत्तिको सहज थियो ?
त्यसबेला सार्वजनिक रूपमा सक्रिय महिलाहरू एकदमै कम हुन्थे। त्यो गाउँ वरपरकै त्यसरी हिड्ने महिलामा म एक्लै थिएँ। त्यतिबेला छोरी मान्छे एक्लै छोरा मान्छेसँग हिंड्दा कुरा काट्ने समाज थियो। पार्टीको काममा रातदिन न भनी हिड्नुपर्थ्यो। समाजले त “छोरी मान्छे भएर पार्टीमा हिँड्ने, छोरा मान्छेको बिचमा काम गर्ने” अनेक थोक भन्यो। गाउँमा पार्टीभित्र काम गर्ने महिला कोही थिएनन्। पार्टीको मिटिङमा सबै पुरुष, म एक्लै महिला। केटी मान्छेहरू त्यतिखेर कहाँ अग्रसर हुनु, केटी मान्छेमा सिराहा जिल्लाको म अनि महोत्तरीको मालती लामा बहिनी मात्रै। थुप्रै प्रश्नहरूसँग कठोर सामना गर्दै पञ्चायत कालमा म होल टाइमर भएर पार्टीमा खटिएकी थिएँ।
कम्युनिष्ट भनेको के हो? सर्वहारा भनेको के हो? यस्तो कुराहरू त जनतालाई थाहै थिएन। पार्टीमा लागेदेखि नै मैले स्वअध्ययन गरें। अध्ययन बिना त हुँदैन। माओले “जनताको सियो लिएको भए पनि फिर्ता गर है” भन्नुभएको रहेछ। त्यसबाट म अनुशासित बन्दै गएँ। जनताको काम गर्ने मान्छेले मेरो नभनेर हाम्रो भन्ने हो। कसरी त्यो समयमा समाजका प्रत्रलाई चिर्दै चिर्दै अगाडि बढ़ें, त्यो मलाई नै बाहा छ। सबै अप्ठ्यारामाझ महिला, गरिब, मजदुर शोषित उत्पीडितहरूको पक्षमा निरङ्कुश शासनको विरुद्धमा हामी हिंडिरह्यौँ। एक हिसाबले त्यो हिँडाइ काँडाको बाटोमा थियो।
४. पारिवारिक साथ र समर्थनले आन्दोलनमा उभिन कतिको भूमिका खेल्यो ?
म १२/१३ वर्ष हुँदा मेरो आमा सुकमाया मोक्तान पाठेघरको क्यान्सरले बिनुभयो। उहाँ बितेपछि मेरो पढाइ बन्द भयो र लगत्तै म कम्युनिष्ट आन्दोलनमा लागेको हो। मैले यति धेरै हण्डर खाएँ कि त्यसको बारेमा त बयान गरी साध्य छैन। तर पार्टीमा म एकोहोरो लागेको लागेकै गरें। मलाई कसैले पनि रोकटोक गर्न सकेन। मेरो बुबा लालदोर्जे लामा दुम्जन आफै पनि पार्टीमा सक्रिय हुनुहुन्थ्यो। बुबाले हैन कान्छी आमाले कहिलेकाहीं “नजाऊ” भन्नुहुन्थ्यो। उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो। उहाँले गुनासो गर्नु स्वाभाविक नै हो। सबै घरबाट हिँडेपछि काम कसले गर्ने, खाने के। म आमालाई मनमनै भन्यँडे, आमा तपाइँको छोराछोरी मात्र यसरी हिँडेको छैन। यसरी त नेपालभरि, विश्वभरिको छोराछोरी हिँडिरहेका छन् भनेर भन्थे। हिजो रुस, चीन, भियतनाममा पनि यसरी नै हिँडेको रहेछ, देशलाई आबाद गरेर समाजबाद ल्याउन। मैले मुखले भन्न नसकेर मनले भन्थे। मेरो मनको कुरा मेरो आमाको मनभित्र पुगोस् भन्ठान्यें।
५. ग्रामीण सामन्तवादको बोलवाला कस्तो थियो त्यो बेला ?
त्यतिबेला हाइवे थिएन। बिस सालमा रोडमा परेका ठुला सिमलका बोटहरूलाई एस्काभेटरहरू, डोजरहरू लगेर डाल्यो। हामी त सानै थियौँ त्यतिखेर र रमाइलो मानेर हेर्न जान्थ्यौँ। रोड बनाउने कार्यक्रम सुरु भएको रैछ। रोड बन्यो अनि पछाडि बजार बन्यो। त्यहीँ जिम्दारहरू आए। उनीहरूले हरूबाचरुवा राख्ने, नोकर राख्ने गर्दै मान्छेहरूलाई पेल्थ्यो। मुसहर, चमारहरूलाई झन् दबाउने। हामीलाई “जाँड खाने, सिनो खाने” भनेर हेप्ने। पहिलादेखि त्यही भूमिमा बसेको हामीमाथि उनीहरूले हैकम जमाउन थाले। मभित्र चेतना आइसकेपछि त्यही भोगाइहरूले विद्रोहको पाटो समाएको हो।
६. त्यत्रो जमातमा एक जना महिला। पार्टीभित्र महिला भएकोले नै कुनै किसिमको दुर्व्यवहार भोग्नुपरेन ?
मैले भने नि त्यो बेलाको कम्युनिष्ट पक्का कम्युनिष्ट हो। सबै एउटै परिवार जस्तो। एकजनालाई पर्दा सबै एकजुट हुने। हामी पार्टीको कार्यक्रममा आफ्नो गाउँ छोडेर टाढा जान्थ्यौं। म एक्लै महिला थिएँ। पछि महोत्तरीबाट मालती लामा जोडिइन्। मिचैंयाको विष्णुलाल वाइबा दाइ मेरो अभिभावक जस्तै हुनुहुन्थ्यो। निर्मल लामा दाइले देखाउनुभएको बाटोमा हामी एकदम इमान्दार र कटिबद्ध भएर हिँडेका थियौं। महिला भएकै कारण कहिल्यै मैले त्यस्तो दुर्व्यवहारको सामना गर्नुपरेन।
७. अखिल नेपाल महिला सङ्घमा तपाई केन्द्रीय सदस्यमा आबद्ध हुनुभयो। सो संस्थाका तत्कालीन अध्यक्ष पारिजात निकट रहेर महिलाको सवालमा आबाज बुलन्द गर्दाको अवस्था कस्तो थियो ?
पारिजात दिदी अखिल नेपाल महिला सङ्घको अध्यक्षको हैसियतले त्यस समय हाम्रो गाउँमा गएर प्रशिक्षण दिनुहुन्थ्यो। प्रशिक्षणकै क्रममा उहाँ सिराहा, महोत्तरी, सप्तरी, धनुषा सबै ठाउँमा पुग्नुहुन्थ्यो। उहाँको प्रशिक्षण यति प्रभावकारी वियो कि हामी सबैलाई आन्दोलनको लागि तरङ्गित बनाउने। म पार्टीमै सक्रिय रहँदा नै यस संस्थाको केन्द्रीय सदस्य भएँ। महोत्तरीकी मालती बहिनी र म क्रान्तिकारी गीत गाउँथ्यौं। दिदी खुब चाख लिएर सुष्नुहुन्थ्यो। दिदीको साथ लागेर नै नाइट बस चढेर म पहिलोचोटी काठमाडौं आएँ। दश दिन जति बस्यौँ होला दिदीको घरमा। त्यसैबेला पार्टीमा हिँड्दाहिँड्दै बुबा बिरामी हुनुभयो। काठमाडौंमा निर्मल लामा दाइ, डा. महेश मास्केले बुबाको उपचारको लागि गर्नु भएको सहयोग अविस्मरणीय छ। अठ्ठाइस सालतिरको कुरा हो, गोरखपुरमा अखिल नेपाल महिला सङ्घको सम्मेलन भएको। विष्णुलाल बाइबा, काजीलाल बाइबा, तितरियाको लक्ष्मीलाल दाइ, नन्दकुमार थापा मगर दाइ अनि म गोरखपुर गएका थियौँ। पारिजात दिदीसहित मोहनविक्रम सिंह, शशी श्रेष्ठ, पम्फा भुषाल, उर्मिला अर्याल, श्याम श्रेष्ठ, जलजला आदि त्यस सम्मेलनमा हुनुहन्थ्यो। गोरखपुरबाट फर्केपछि सङ्ङ्गठन विस्तारमा झन् सक्रिय भएर लाग्यौं। त्यहाँबाट आएपछि जिम्मेवारी अन् धेरै वपियो। मिर्चयाबाट जोडिएको चन्द्रकला रायमाझी हुनुहुन्थ्यो। विरोधीहरूले थाहा नपाउन् भनी मेरो पनि उपनाम दाइहरूले ‘मधु’ भनेर राम्नुभएको रहेछ। पारिजात दिदीबाट हामीलाई ठुलो उर्जा मिलेको थियो। सबैतिर सङ्गठन बिस्तार हुँदै गयो। महिला आवाज सामूहिक रूपमा बलियो भएर क्रान्तिमा मिसिन थाल्यो।

८. पहिला र अहिलेको कम्युनिष्ट गतिविधिलाई तुलनात्मक रूपले हेर्नुपर्दा के भनुहुन्छ ? अहिलेको राजनीतिक परिवर्तनलाई कसरी लिनुभएको छ ?
अहिलेको जस्तो होइन, पहिलाको कम्युनिष्ट। त्यतिखेरको कुरा त अहिलेको मान्छेको लागि सपना जस्तै हो। त्यतिखेरको कम्युनिष्ट त्यस्तो थियो कि कम्युनिष्ट भनेको सबै हाम्रो परिवार हो भन्ने भावना भएको।
पहिलाको जस्तो कम्युनिष्ट नै छैन अहिले। अहिलेको राजनीति, राजनीति नै हैन जस्तो लाग्छ। जनताको लागि त्यागको राजनीति नै होइन यो। यद्यपि जनयुद्धपछि सकारात्मक परिवर्तनहरू भएका छन्। तर डोङको राजनीति फस्टाउँदैछ। आफूलाई कम्युनिष्ट हो भन्ने मात्रै। कम्युनिष्ट तीन खालको हुन्छ। एउटा सच्चा मार्क्सवाद, लेनिनवाद, माओवाद। दोस्रो चाहिँ आधा कम्युनिष्ट आधा देखाउने। दिनभरि म कम्युनिष्ट भनेर हिँड्ने अनि रात परेपछि मण्डले भएर होटलमा रक्सी र मासु बजाउने। पार्टी त कमाइ खाने भाँडो पो बनाए। तेस्रो नम्बरको त त्यो कम्युनिष्ट नै होइन। त्यो त मात्र कम्युनिष्ट जस्तो बनिटोपल्ने।
बिष्णुलाल वाइवा दाइले एउटा सियो पनि नलिई पार्टीको लागि जीवन अर्पिनुभयो। पार्टीमा खट्दा खट्दा आफ्ना धनसम्पत्ति सबै त्यहींनिर लगाउनुभयो। जतिखेर पनि हाम्रो सेन्टर मित्रैयामा विष्णुलाल वाइबाको घर थियो। आफ्ना जीवनकालमा सम्पूर्ण उहाँ परिवारसहित पार्टीमा होमिनुभयो। उहाँको चार पाँच बिघा जमिन थियो। पछि पार्टीमा लागेपछि सबै सम्पत्ति सकाउनुभयो। त्यो परिवारलाई अहिले आएर कसैले पनि वास्ता गर्दैन। गर्नुभएको त उहाँहरूले हो नि। सेन्टर नै दाइको घर हो। अहिले आएर सबै स्वार्थको राजनीतिमा लागे। अहिलेको अवस्था त जनताले कति बलिदान गरेर आएको हो। अहिले घर घरमा सिंहदरबार भन्यो तर कस्तो न कस्तो सिंहदरबार। विष्णुलाल दाइ जस्ता मान्छेहरूलाई सबैले बिर्सिए। गाउँदेखि देशसम्म विचित्रको राजनीति छ। पार्टीको सिद्धान्त त राम्रो हो तर काम गर्ने तरिका भएन।
९. सत्ताको धारिलो दापमान त्यसबेला पार्टीका गतिविधिहरू कसरी सञ्चालित हुन्थे ?
निर्मल लामा दाइहरूले छ सालमा स्थापना गर्नुभएको जनमोर्चाले निरङ्कुश शासनविरुद्ध सङ्गठित हुन जसरी सिकायो, व्यवहारमा हामी त्यसै गर्दैगयौँ। ३२ सालमा ‘पचास रुपियाँको तमसुक’ नाटक गाउँमा प्रदर्शन गयौँ। धनमान दाइ, सूर्यमान लामा, रतन लामा दाइ आदि कलाकारको रूपमा हुनुहुन्थ्यो। मैले चाहिँ नाटकमा क्रान्तिकारी गीत गाएको थिएँ:
धुरुमा धुरु नरोऊ साइँला,
तिम्रो दिन आउँदैछ ।…
यो गीत गाउँदा सबैजना भावुक देखिन्थे।
अनि अर्को गीत यस्तो थियो :
मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा
हेर भाइ हो क्रान्तिवीर, छैन सहारा।
सूर्यमान दाइको ठुलो बारीमा मैन्टोल बालेर देखाइएको त्यो नाटकको अवधिभर पुलिस आउन सकेन। नाटक हुँदैछ भन्ने त उनीहरूलाई थाहा थियो। तर पनि गुटबन्दी गरेर, चारैतिर दाजुभाइहरूले संरक्षण गरेर, पुलिस आए पनि भिड्ने भनेर तयारी गरेर त्यो राति नाटक खेल्यौँ। ठुलो सङ्ख्यामा गाउँका मान्छेहरू नाटक हेर्न आएका थिए। हामीलाई पहिला पहिला वारेन्ट आयो। कतिपय बेला पुलिसले पक्रिन आउँथ्यो, हामी छेलिन्थ्यौं। एकपटक त बुबाले हलो जोत्दै गर्दा पुलिस आएको सुराकी पाएर हलो नै छोडेर भाग्नुभयो। यस्तै गरेर हामी सत्ताको आँखा छल्दै कठिनाइहरूको सामना गर्दै अघि बढेका थियौं।
१०. वामपन्थीलाई सिधै गोली ठोक्ने आदेश दिने त्यो समय तपाईं हिरासतमा रहँदाका दिनहरू कस्ता थिए ?
त्यतिखेर हामी सबैजना आफ्नो ज्यान दाउमा राखेर सङ्ङ्गठनमा हिँडेका थियौं। एक साँझ विरोधीको सुराकीले हामी समातियाँ। हामीलाई समातेको दिन बिहान दश बजेतिर निर्मल लामा दाइ पुग्नुभएको थियो रे गाउँमा। गाउँ एकदम तितरबित्तर थियो। समातेका बाहेक छोरा मान्छे पनि कोही छैन। सुनसान छ। धनमान दाइलाई भेट्नुभएछ। बनारसमा रहेका भाइ सूर्यमानको चिठी लिएर आउनुभएको रहेछ। भर्खरै सबैजनालाई लिएर गएको थाहा पाएपछि दाइ सहीसलामत निस्किनुभएछ। रहरको बोट, बाँसको झिक्राको बेरा बनाएर हामी ठाउँ फेर्दै सङ्गठनको मिटिङमा हुन्थ्यौँ। तेत्तिस सालको कुरो हो यो। त्यसदिन हामी गिरफ्तारीमा परेको ठाउँमा एकैछिनमा गाउँभरिका मान्छे आए। गोपालबाबु गौतम लगायत कम्युनिष्टलाई देखिनसहने गाउँका सामन्तहरू पनि आएका थिए। उनीहरूले नै औंला ठड्याएर समानुपर्नेहरू देखाए। इन्द्रलाल लामा, धर्मराज तामाङ, गणपत राई, गणपत सुनुवार, रतन लामा, अशोक लामा, मनोज लामा। अनि सूर्जमान लामाको बुबा सीताराम लामा, जसलाई हामी बडाबाउ भन्थ्यौं, घरमा अरू नभेटेपछि उनलाई पनि समात्यो। अनि त्यो बढाबाउलाई त “तेरो छोराहरू कहाँ गयो ? ए बुढा भन्” भनेर कस्तो अभद्र व्यवहार गरे। “थाहा छैन” भन्दा कान समातेर उठबस गर्न लगायो।
दशैंको टीकाको दिन हामीलाई गाडीमा खाँदेर लग्यो। बडाबाउ र मलाई मात्र नबाँधेको, अरू सबैको हात बाँधेर राजविराजको थानामा लग्यो। त्यही दिन सिराहाको चहका भन्ने ठाउँबाट पनि आठजना पक्रेर ल्याएको रहेछ। महिलामा एकजना चन्द्रिका श्रेष्ठ पक्राउ परेकी रहिछन्। चाइनामा लिडुलानले निभाएको भूमिका, उता भियतनाममा सानो देश भए पनि अमेरिकालाई पराजित गरेर देखाएको आदि अध्ययन गरेको कुरा सम्झिएँ। एक महिना राजविराजमा थुनुवामा राखेपछि हामी सबैलाई एक रात गोलबजारको थानामा लग्यो। त्यसपछि बाह्र बजे राति सिराहा सदरमुकामको थानामा लग्यो, गोलबजारबाट। धानखेतको बाटो, पानी परेको चिप्लो आलिछेउ हुँदै हामी हिँडिरह्यौँ। आलीको बाटो सकिएपछि डगर आयो। मेरो दिमाग शून्य थियो। केही सोचेको छैन, मार्छ, काट्छ केही पनि। यस्तै हुन्छ कम्युनिष्ट भनेर हिँडेको छु। त्यसो गर्दागर्दै राति दुई बजेतिर सिराहाको थानामा पुर्यायो। चारपाँच दिनमा फेरि त्यहाँबाट राजविराज लग्यो। अनि हाम्रो बयान सुरु भयो। फलाना फलानाको घरमा मिटिङ गर्थ्यो? राजाको विरोध गर्थ्यो रे त हो ? “मलाई केही पनि थाहा छैन भन्दा चेप्टो बलियो भाँटा हुँदो रैछ बाँसको, त्यसैले हान्दो रैछ। मलाई बयानमा तिमी त एकदमै सङ्गठन गर्न माहिर रे नि। अनि जिल्लामा हिँड्ने, केन्द्रमा जाने, एरियाभरि हिँड्ने, सङ्गठन बनाउने। राजाको विरोध गरी हिँड्ने। कसले सिकायो ? कसरी सिक्यो? कहाँबाट सुरुवात गर्यो? भन्यो। भाँटा ल्याएर हान्न थाल्यो। एकदुई चोटी हान्दाखेरि थाहा हुँदो रैछ। चौथो पाँचौ पटक थाहा नहुँदो रैछ। जति हान्यो त्यति “हेर मनु लामा तैंले त सहनुपर्छ, तैंले आफ्ना अग्रजहरूको नाम भन्नुहुँदैन” भन्छ भित्र मनले। तर पछाडि दुःखे पनि नदुखे जस्तो लाग्दो रहेछ। त्यसरी पिटेपछि जबर्जस्ती त्यो चिसो भुइँमा सुतायो। त्यही रुमाल लगेर पानी ओइर्यायो। टावेल राखेर नाकमा पानी खन्याउँदा पनि भनिनँ। फेरि ट्वाइलेटमा लग्यो। मलाई कतिसम्म गर्न सक्छन् भन्ने अनुमान थियो। त्यसपछि ट्वाइलेटमा लगेर घोप्टो पारेर पानी खन्यायो। मलाई मारे पनि मार भनेको छु मनमनै। अलिकति पनि कुरा पायो भने बटारेर भित्र पत्र खोज्छ। यस्तो खोतल्दो रैछ कि भनेर साध्य नै छैन।
बिहानदेखि लगेको दुई बज्यो। भोकप्यास नि लागेको छैन मलाई। दुई बजेपछि फेरि कोठामा ल्याएर छोडिदियो। बेहोस त म कहिले पनि भइन। कुहेको चामलको भात दिँदा मैले हामी गाइगोरु हो त्यो कुहेको चामलको भात हामीलाई दिने भर्ने। भोलिपल्ट फेरि बयान लिन सुरु गर्यो। तेस्रो दिनमा गएर मैले “हो, म कम्युनिष्ट हो” भनें। अरू मलाई केही पनि थाहा छैन। को कहाँ बस्छ, के गर्छ मलाई थाहा छैन। मैले कसैलाई पनि चिनेको छैन। मसँग आएको यो आठ जनालाई मात्र म चिन्छु मेरो गाउँको दाजुभाइ हो। गाउँको साधारण युवाहरू हो, किसानहरू हो यिनीहरू। त्यो बडाबाउ, बुडो मान्छे तपाइँहरूले अत्याचार गरेर ल्याउनुभएको हो। त्यसपछि तीन दिनको दिनमा सबैको बयान सकेपछि हामीलाई फेरि गाउँमा ल्यायो सर्जिमिन गर्नलाई। गाडीबाट उतारेर सूर्यमान दाइकै ठुलो बगैंचामा हामी बसेका छौं। बाह्र वर्षको लक्ष्मी बहिनीले छ महिनाको भाइ मेरो काखमा दियो। मेरो बुबा त अन्डर ग्राउन्ड हुनुहुन्थ्यो। विरोधीहरू सबै आएर बसेको छ। सर्जिमिनमा “यिनीहरू कम्युनिष्ट नै हो, राजद्रोही र राजाको बिरोधी हो, यिनीहरूलाई छोड्न हुँदैन” भन्ने विरोधीहरूको भनाइ थियो। गाउँलेको भनाइ “यिनीहरू राजद्रोही होइनन्” भन्ने थियो। तर गाउँलेको कुरा कसले सुने। हामीलाई राजद्रोही नै सावित गर्यो। सर्जिमिन सकाएर फेरि राजविराज जेलमा लग्यो। हामीलाई छ महिना जेलमा राख्यो। हामीहरू नक्सलाइट होइन, जनमोर्चा हो भन्ने थाह लागेपछि अलिकति सजायें कम भयो र तारिखमा छोडियो।
११. त्यसपछाडि त झन् बढी तपाइँहरूप्रति राज्यको निगरानी भयो होला ?
अँ भइरहन्थ्यो तर हामीले आफ्नो बाटो झन् कसिलो बनाउँदै गयीं। सत्ता र शक्ति दुईवटै उनीहरूको हातमा छ। त्यो तोड्नलाई त हामीले कम मेहनत गर्नुपरेन होला। एउटै लुगा लगाएर महिनौं हिँड्ने मैं हूँ। लुगा फेर्न पनि नपाउने, लुगा किन्न पनि नपाउने, त्यो बेलामा प्रशस्त लुगा पनि हुँदैनथ्यो। पैसा पनि थिएन। खेतबारी मात्रै भएर के गर्नु। खेतबारीमा अन्न उब्जाएको भए पो। काम गर्ने मान्छे त सबै हिंडेको छ पार्टीमा। हामी सबैलाई समातेर लगेको दुई चार दिन पछाडि ऋषि देवकोटा गाउँ आउनुभएछ। पछि उहाँलाई मार्यो। अन्डरग्राउन्ड मै भएको बेला इन्डियाबाट नेपालमा आउँदा सिन्धुलीको भिमानको जङ्गलमा उहाँलाई मारेको हो। यसैगरी महोत्तरीका अमर लामालाई घर घेरेर पुलिसले रातिहुँदो बन्दुकले उँडाएछ जङ्गलमा पुर्याएर। सब गाउँले मिलेर ठुलो झडपपश्चात् लास खोसेर ल्याएर जलाए। अनि त्यो काण्डमा त चालिस पचास जना किसान दाजुभाइहरू सबैलाई वारेन्ट काटेछ। त्यसमध्येको मालती बहिनीलाई चाहिँ हामीले सूर्यमान दाइको परमा लुकाएर राख्यौँ। तर आखिरमा त जनताले जित्यो। त्यो २०४६ सालको आन्दोलनमा सबै कुरा निर्मुल भइगयो।
१२. तपाईंहरूले सङ्ङ्गठित भएर महिला र पुरुष एक अर्काको सहयोगी भएर सक्रिय भूमिका निर्वाह गर्नुभयो। दमनकारी पितृसत्ताको आवरणमा महिलाको अवस्थालाई कसरी लिनुभएको छ?
त्यो समयमा बुझेको पुरुषहरूले नै हामीलाई सहयोग गरेको हो। महिला र पुरुष एक अर्काका परिपूरक हुन्। एकको उपस्थितिबिना अर्को अधुरो हुनजान्छ। सत्यको इतिहासलाई हामीले मान्नुपर्छ। यो भन्दा अरू बिकल्प छैन। कुरीतिको जुन संस्कार हो, हामीले त्यसलाई खण्डन गरेर त्यहाँ नयाँ समाजको, नयाँ दिनको सुरुवात गर्नुपर्छ। अँध्यारो पक्षलाई हटाएर, उज्यालो पक्ष ल्याउनुपर्छ। लैङ्गिक विभेदको कुरामा हामीले व्यवहारिक रूपमा नै खण्डन गर्नुपर्छ। विश्वासको जगमा शङ्का पनि गर्नुपर्छ। जोसुकै होस्, चाहे म नै पनि किन नहोऊँ। माओ र अन्य ठुला नेताहरूले “शङ्का मात्रै पनि नगर्नुहोस् र विश्वास मात्रै पनि नगर्नुहोस्, दुईवटै कुरा गर्नुहोस्” भनेका छन्। अनि मात्रै समतामूलक समाजको बाटो सहज भएर अगाडि बढ्छ। नभए धागो गुजुल्टो परेजस्तो एकदम गोलमाल हुन्छ। जस्तो पहिला थियो पञ्चायतकालमा, अहिले त्यो प्रवृत्ति फेरि आइरहेको छ, राजनीतिको नाममा।
१३. छयालिस सालको आन्दोलनमा यहाँहरूको भूमिका कस्तो रह्यो ? तत्पश्चात्को परिवर्तनले यहाँहरूलाई कसरी सम्बोधन गर्यो ?
त्यस समय हामी सबै बाँध फुकाएर लागिपरेका हौं। सबै एकजुट भएर हामीहरू आन्दोलनमा नाराबाजी गौँ। राँके जुलुस बालेर पूरै नगरपालिका घुम्र्थ्यो। अनि मेन रोडको चोकमा नै एउटा मञ्च बनाएका थियौँ। त्यहाँनिर नेताहरूले भाषण गर्थे। चक्काजाम गर्न रोडको बिचमा गएर हामी बस्थ्यौँ। महिलाहरूको नेतृत्वमा म नै भएँ। धेरै पटक कर्फ्यू लगायो। कर्फ्यू र धरपकडको पर्वाह नगरी हामी आन्दोलनरत रह्यौँ। अन्ततः एकछत्र शासनव्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको उदय भयो।
बहुदलीय व्यवस्था आएपछि सबै दलहरू स्वतन्त्र र खुलेआम भयो। अब यो खुलेआमभित्र त सबैलाई खुला भयो। अवसरवादीपन पनि साथीहरू भित्रै रहेछ। पहिलेदेखि खटेका साथीहरूले काम गर्दै जाँदा सबै ठिकै थियो। जब नयाँ मान्छेहरू त्यो भित्र पत्र थाले अनि अवसरवादी दलालहरू, पुँजीपतिहरू कम्युनिष्ट नामधारी भएर धेरै अनुहार देखापर्न थाले। हाम्रो तराई एरियामा पनि सबैभन्दा ठुलो सङ्ख्यामा जनमोर्चा नै थियो। म कतै दायाँबायाँ भइनें, जिल्ला कमिटीमा रही चौममा नै सक्रिय रहें। जनमोर्चा पनि चिरा हुँदै गयो। चौमबाट विभिन्न चिराहरू भएर गएको मध्येबाटै माओवादी बनेका हुन्। विराटनगरको राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिमा सबैजना त्यहीँबाट छानियो। विष्णुलाल वाइवालाई मनोनितमा पो राख्यो। हेर्नुहोस्, अब त्यहाँ दुर्गति सुरु भयो। उहाँ एकीकृत गर्ने पक्षमा हुनुहुन्थेन। पछि आएर चौमसँग माओवादी एकीकृत भएको हो। सिराहाको जनता दाइको पक्षमा सबै उर्लियो, “तपाइँ किन मानेको? हामी छौँ नि। तपाइँलाई त यसले त राष्ट्रिय सम्मेलनबाट तपाइँलाई केन्द्रीय समितिमा छान्नुपर्ने हो नि। तपाइँलाई किन मनोनितमा राख्यो ?” पछि दाइ आफै पछि हट्नुभयो। यसैगरी असली योद्धाहरूलाई पछाडि पारियो। चौहत्तर सालमा स्थानीय तहको चुनाव भयो। त्यो चुनावमा त दुई तिहाइ बहुमतले जितेको हो माओवादीले। मुख्य भएर आउनेले अवसरवादीको भूमिका निभाएपछि के हुन्छ, उसले चेलाहरू त्यही किसिमले नचाउने भए।
१४. अहिलेको राजनीतिक परिदृश्यमाझ आफैलाई कसरी हेर्नुहुन्छ ?
सत्य कुरा बोल्नेको जमाना छैन। अहिले निर्मल दाइ, पारिजात दिदी पनि हुनुहुन्न। आफ्ना मुख्य साथीहरू कोही हुनुहुन्न। म सम्पर्कविहीन भएको छु, पछाडि आएर। मान्छे (सत्ता) ले पन्छाएर राखेको छ, हामीलाई। हामीलाई छोपेर राख्ने जमात छ। म छोपेर छोपिन्नँ। म त्यसलाई चिरेर बाहिर निस्कँदैछु। एउटा अठोट सधैं जीवित छ। म पुनुपर्ने ठाउँ सही ढङ्गले पुग्छु, गलत ढङ्गले होइन। मैले कहिले पनि हिम्मत हारिनँ। अहिले पनि सक्रिय राजनीति गरिहेको छु। म अहिले माओवादी केन्द्र सिराहाको नगर इन्वार्ज छु। यो पदबाट हटाए पनि मलाई मतलब छैन। पदमा बसुपर्छ भन्ने पनि छैन। मैले पहिलादेखि नै पदको लोभ गरिनँ। मैले जनताको लागि काम गरें। कम्युनिष्टले एक अर्कोलाई गुलाम बनाउँदैन। हामी त समुन्द्र हौँ नि।