“ममी म किन अरू जस्तै गोरी भइनँ ?”
प्रा.वि. तह पढुन्जेल छोरीले सोधिरहने यस्ता प्रश्नले कहिलेकाहीँ मलाई किंकत्र्तव्यविमूढ बनाउँथ्यो । पछि पछि अलि बुझ्ने भएपछि मैले उसलाई गहुँगोरो हुने छोरीहरूले धेरै पढ्न पाउँछन् र आफूले भनेजस्तो धेरै पढ्न पाएपछि खुसी भएर आफूले भनेजस्तो धेरै काम गर्न पाउँछन् भनेर सामाजिक परिवेश सापेक्ष आफूले अनुभव गरेका आधारमा उसलाई सम्झाउने कोशिस गर्थेँ । यस्तै स्कुल कलेज पढुन्जेल मैले उसलाई “छोरीहरू “गोरी” वा “राम्री” भन्दा पनि राम्रो पढेर आफ्नो व्यक्तित्व बनाएको चाहिँ राम्रो हुने कुरा भनिरहेँ । नभन्दै आज यतिका वर्षपछि मैले ऊबेला भनेका कुराहरू सतप्रतिशत लागु हुँदै र सत्य साबित हुँदै गएको देख्दा परिवर्तित समाजको नजिक पुगेको महसुस हुन्छ ।
आफूले पनि ऊबेला कलेज पढ्दाताका एकपटक फोटो स्टुडियोमा सामान्य श्रृङ्गारपटार गरी कश्मिरी पोशाक लगाएर खिँचेको फोटो आमालाई देखाउँदा उहाँले मलाई स्याबासी हैन “ल अब पढ्न पठाएको छोरी नक्कली हुने भो” भनेर लामै अर्तिउपदेश दिनु’भो । झन्डै झन्डै रिसाउनु भएकै शैलीमा उहाँले भनेपछि मैले पनि उहाँको अर्तिउपदेश गाँठो पारेँ । त्यसपछि कलेज पढुन्जेल मैले न पहिरनमा न त सौन्दर्य प्रसाधनतिर पैसा र समय खर्चेँ । छात्रावासका दिदीहरूले बजार जाँदा कहिलेकाहीँ लिपिस्टिक लगाइदिनुहुन्थ्यो, जुन बाटैमा पुछ्दै हिँड्थेँ । यसरी स्कुले जीवनमा भन्दा पनि कलेज पढ्दाताका आमाले मलाई “छोरीमान्छेले किशोरावस्थादेखि नै राम्री हैन राम्रो बन्ने प्रयास गर्नुपर्छ” भनेर दिएको अर्तिउपदेशलाई आज पर्यन्त शिरोधार्य गर्दै आएको छु ।
यस्तै केहीवर्षअघि हिमालखबर पत्रिकामा सञ्चारकर्मी अतुल मिश्रले सौन्दर्य प्रसाधनमध्ये लिपिस्टिकका बारेमा खोजमूलक सामग्री सम्प्रेषण गरेपछि यसको नकारात्मक प्रभावबारे थाहा पाएँ । त्यसबारे बेलाबेला अरूलाई पनि भन्ने गरेको छु । तथापि प्रयोगकर्ताहरूले यस्ता कुराहरू एक कानले सुन्छन्, अर्कोले नसुनै झैँ गर्छन् । को हुँदाखाने, को हुनेखाने ! पछिल्लो समय सबै वर्ग र समुदायका महिलाहरूको सौन्दर्य प्रसाधनप्रतिको आकर्षण बुझिनसक्नु छ । विशेष गरी विवाहमा सौन्दर्य प्रसाधनका साधनमा दिइने महत्त्व र सांस्कृतिक पर्वहरूमा महिलाले नै सजिनुपर्ने मान्यताको सिको आमा र सासूबाट छोरी र बुहारी हुँदै अहिले ससाना नातिनी उमेरका किशोरीहरूमा समेत सौन्दर्य प्रसाधनप्रतिको मोह बढ्दो छ ।
यसरी सौन्दर्य प्रसाधन प्रयोग गर्ने कतिपय आमाहरूले ससाना छोरी तथा किशोरीहरूलाई जन्मदिन वा कुनै बिहेमा जाँदा उनीहरूलाई आफै श्रृङ्गारपटार गरिदिन्छन् । त्यस्तो बेला छुट जस्तै हुन्छ सौन्दर्य प्रसाधन प्रयोग गर्न । यसरी आफ्नै घरपरिवारमा सानै उमेरदेखि छोरी अथवा किशोरीहरूलाई सौन्दर्य प्रसाधन प्रयोग गर्न अभ्यास गराउने संस्कार बढ्दै गएपछि यसप्रति मोह बढ्दै जानु स्वाभाविक पनि हो । आमाहरूले समाजमा स्थापित भन्दा फरक ढङ्गले सौन्दर्यको उपयुक्त परिभाषाबारे मनन गर्न पाए भने बल्ल यस्ता कुराहरू न्यून हुन थाल्नेछन् अन्यथा महिलाका व्यक्तित्व विकासका महत्त्वपूणर् समय र अर्थ अनावश्यक वस्तुहरूका निम्ति यसरी नै खर्च भइरहनेछन् ।
समाजमा आधारभूत तह पढ्दै गरेका किशोरावस्थाका छोरीलाई पढाइ लेखाइ र सीप सिकाइमा राम्रो गर्नुपर्छ भन्दा पनि रूपकी राम्री हुनुपर्छ भन्ने भाष्य खडा पार्दै लगिएको छ । यसरी वर्तमान सामाजिक परिवेशले पनि छोरीहरूको बाल मस्तिष्कमा सानै उमेरमा राम्रो गर्नुभन्दा पनि राम्री देखिनुपर्छ भन्ने मनोविज्ञान हावी हुँदैछ ।
केही वर्षयता साना ठुला सहरहरूमा सौन्दर्य प्रतियोगिता आयोजना गर्न शिक्षितहरूकै समूहसमेत लागि परेको छ । यस्ता समूहले ससाना छोरीहरूलाई लक्षित गरी सुन्दरी प्रतियोगिताहरू आयोजना गर्ने गरेको समाचार बेला बेला जनसमक्ष आउने गरेका छन् । केही वर्षयता यस्ता समूहले ‘किड क्विन’देखि ‘मिस एसइइ’ भन्ने उपाधि राखी भर्खरै स्कुलतह सकेका किशोरीहरूलाई लक्षित सुन्दरी प्रतियोगिताहरू आयोजना गर्दै आएका छन् । खासमा ससाना बालिका अथवा किशोरीहरूमा भएको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने भन्दै यस्ता प्रतियोगिताहरू आयोजना हुनेगरे पनि पछिल्लो समय विवादित समेत बन्ने गरेको छ । कतिपय हुनेखाने घरका किशोरावस्थाका छोरीहरूको एकमात्र उद्देश्य यस्ता सौन्दर्य प्रतियोगितामा भाग लिनु रहेको छ ।
वास्तवमा उमेर नपुगी यस्ता सुन्दरी प्रतियोगितामा सहभागिता जनाउनेमध्ये केहीले सफलता हासिल गरे पनि बहुसङ्ख्यकले त्यस्तो अवसर पाएका छैनन् । यी र यस्ता परिवेश तयार गर्न सौन्दर्य प्रसाधन उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरू कम्मर कसेर लागि परेका छन् । यसरी महिलाको बौद्धिकतालाई मलजल गर्नेभन्दा पनि शारीरिक सुन्दरतालाई बढावा दिने बहानामा आआफ्ना व्यापार प्रवद्र्धनमा लागि परेका यस्ता सौन्दर्य प्रसाधन कम्पनीहरूले छोरीहरूलाई राम्री देखिनुपर्छ भन्ने अघोषित अभियान सुरु गरेको देखिन्छ । विशेषगरी स्कुले जीवन मै पढाइलेखाइभन्दा सौन्दर्य प्रसाधनतिरको मोहले पनि कतिपय छोरीहरूले बिचैमा पढाइ छाड्ने गरेको देखिन्छ । यसको नकारात्मक असर स्वरूप कलिलै उमेरमा उनीहरू बजारको पासोभित्र पर्दै जीवनका अनेकन समस्याको जालोमा जेलिन्छन् ।
वास्तवमा महिलावादीहरूले ‘माई बडी माइ च्वाइस’भन्दै आए पनि पुँजीवादले महिलाको शरीरलाई वस्तुकरण गर्दै आएको धेरै भो । विश्व इतिहास हेर्ने हो भने पुँजीवादले महिलाको बौद्धिकतालाई भन्दा शारीरिक सुन्दरतालाई बढी महत्त्व दिएको पाइन्छ । यस्तै महिलाको बाह्य सुन्दरतालाई वस्तुकरण गरेर पुँजीवादले जहिले पनि पितृसत्तालाई प्रोत्साहन गर्दै आएको छ । पुँजीवादभित्र फस्टाइरहेकोपितृसत्ताले पनि महिलाको बौद्धिकतालाई भन्दा सुन्दरतालाई नै प्रोत्साहन गर्दै आएको छ ।
बजारको बदलिँदो परिवेशसँगै मानिसहरूको चाहना र जीवनशैली फेरिएको छ । यसो हुनुमा आफू वरिपरिको माहोल तथा परिवेशको महत्त्वपूणर् भूमिका रहँदै आएको छ । विशेषगरी महिलाको दैनिकी र जीवनशैलीमा यसले विशेष प्रभाव पारेको देखिन्छ । त्यसो त मानवीय स्वभाव पनि हो, कसैको राम्रो आनीबानी अर्थात् राम्रो गुण अनुसरण गर्नुभन्दा पनि बाह्यरूपमा देखिने सुन्दरताले मानिसलाई लोभ्याउँछ । ‘आहा कस्तो राम्रो मान्छे भन्दा पनि कस्ती राम्री’ भन्ने अनायासै निस्कन्छ, कुनै सौन्दर्य प्रसाधनले युक्त महिलालाई देख्दा मानिसको सांस्कारिक मनोविज्ञानबाट । यस अर्थमा राम्रो मान्छे बन्न दशकौं लाग्छ मानिसलाई र पनि निश्चित हुँदैन तर पुँजीवादी समाजले बनाएको मानक बमोजिमको राम्री हुन केही समय र अर्थ खर्च गरे पुग्छ ।
पुँजीवादले महिलालाई उत्पादनमुखी कार्यमा भन्दा पनि अनुत्पादक काममा बढी अलमलाउने गरेको इतिहास साक्षी छ । पुँजीवादले महिलाहरूको बाह्य सुन्दरतालाई वस्तुकरण गर्न थालेयता पितृसत्तात्मक समाजले पनि महिलाको बौद्धिकतालाई नजरअन्दाज गर्दै जुनसुकै क्षेत्रमा पुरुषवादी चिन्तन हावी हुन थालेको देखिन्छ । यसैको दुष्परिणाम भन्नुपर्छ, पुँजीवादले अर्थात् भनूँ पुरुषवादी चिन्तनले महिलाको विवेक तथा कार्यक्षमतालाई बन्धक बनाई उनीहरूको बाह्य सुन्दरतालाई अर्थोपार्जन गर्ने माध्यम बनाउँदै आएको देखिन्छ । हुन पनि हो, पुँजीवादले समाजलाई नियन्त्रण मात्र गरेको छैन, नियन्त्रित समाजमा महिलाको सम्पूणर् अस्तित्व नै ओझेलमा परेको छ । यी र यस्ता कतिपय कारणले महिला सशक्तीकरण तथा विकाससँग गाँसिएका यावत् कुराहरू गौण बन्दै गएका छन् ।
पुँजीवादले समाजलाई नियन्त्रण गर्न थालेयता पितृसत्तात्मक समाजमा लैङ्गिक असमानता बढेको छ भने यसले पितृसत्तात्मक संरचनालाई प्रत्यक्ष र परोक्षरूपमा मलजल गर्दैछ । यसैको दुष्परिणाम भन्नुपर्छ पछिल्लोसमय बालिका, किशोरी तथा महिलामाथिको हिंसा चुलिएको छ । यसरी महिलामाथिको जुनसुकै हिंसा बढ्दै जानमा पितृसत्तात्मक समाजको महत्त्वपूणर् भूमिका रहने गरेको छ ।
महिलाको शरीर र सुन्दरतालाई उपभोगको वस्तु बनाउन खोज्ने स्त्रीद्वेषी चरित्र हुर्कने वातावरण तयार गर्नुमा कहीँ न कहीँ पुँजीवादी चिन्तन दोषी भएको देखिन्छ । यस्तै महिलावादी चिन्तनले लैङ्गिक समानताको पैरवी गरिरहँदा पुँजीवादी चिन्तनले भने किशोरी तथा महिलाहरूको शारीरिक सुन्दरतालाई वस्तुकरण गरेर महिलाको बौद्धिकतालाई सकेसम्म नकारिरहेको छ ।
पुँजीवादी चिन्तनले परम्परागत लैङ्गिक भूमिकालाई कायम गरी समाजलाई नियन्त्रण र नियमन जारी राख्छ । यस्तो संरचनाले जनमानसमा लैङ्गिक र लैङ्गिक अभिव्यक्तिको साँघुरो बुझाई सिर्जना गर्छ र महिलाप्रति गरिने व्यवहार त्यही अनुरूप हुन जान्छ । यसरी पुँजीवादको एकमात्र अभीष्ट भनेको बढीभन्दा बढी लाभ लिने हो । समग्रमा भन्नुपर्दा फेरि पनि महिलालाई वस्तुकरण गरेर पुँजीवादले त्यो अभीष्ट पूरा गर्दै आएको छभन्दा फरक नपर्ला । वास्तवमा पुँजीवादी चिन्तन र व्यवहारले सिर्जना गरेको लैङ्गिक असमानतालाई महिलावादी चिन्तनले चिर्न खोजे पनि त्यो अझै असम्भव जस्तै छ । विकसित मुलुकहरूमा यी र यस्ता विषयहरूमा अध्ययन अनुसन्धान भइरहे पनि हामीकहाँ यस्तो अभ्यासको पूणर्तया कमी छ । बरु यहाँ महिलावादी चिन्तनलाई पुरुष विरोधी चिन्तन हो भन्ने भाष्य स्थापित गरिएको छ । खासमा पुँजीवादी चिन्तन र व्यवहारले महिलालाई वस्तुकरण गरी यसबाट लाभ लिने अभीष्ट राख्छ भने महिलावादी चिन्तन र व्यवहारले बालिका, किशोरी तथा महिलाको बौद्धिकतालाई प्रत्यक्ष र परोक्ष रूपमा मलजल गर्ने वातावरण तयार गर्छ ।
यसरी एकातिर पुँजीवादी चिन्तनले हाम्रो जस्तो पितृसत्तात्मक घरपरिवार र समाजलाई मार्गनिर्देशन गरिरहेको देखिन्छ भने अर्कातिर महिलावादी चिन्तनलाई जनस्तरसम्म पुर्याउनुपर्छ भन्नेबारे बहस सुरु हुन सकेको छैन । त्यसमाथि सञ्चारका विभिन्न माध्यमहरूले पनि पुँजीवादले कसरी महिलालाई वस्तुकरण गर्दैछ भन्नेबारे त्यति धेरै सामग्री प्रस्तुत गर्न सकेको छैन वा कतिपय यस्ता सन्दर्भमाथि जिम्मेवारीपूर्वक रुचि राखेको देखिँदैन ।
बरु उल्टै महिला शरीरको विज्ञापन लगायतका सामग्री आदिको प्रचारप्रसारमा कतिपय अवस्थामा प्रोत्साहन गरिरहेको पाइन्छ । यसो हुँदा पनि पुँजीवादले महिलाको समग्र अस्तित्वमा पारेको नकारात्मक प्रभावका विषयमा गहन बहस हुन सकेको छैन । साथै अन्य विषयमा विद्वान् लेखकहरूले आफ्ना सुविचार तथा दृष्टिकोणहरू बेलाबेला जनसमक्ष ल्याउने गरे पनि महिलावादी चिन्तन र व्यवहारले पार्ने सकारात्मक प्रभावबारे कलम चलाउन कन्जुस्याइँ गरेको देखिन्छ । समग्रमा महिलावादी चिन्तन र व्यवहारलाई मलजल गर्न सञ्चार माध्यमहरूले पनि सारथीको भूमिका निर्वाह गर्न जरुरी छ भने सौन्दर्य प्रसाधनको विज्ञापन र प्रयोगले महिलालाई कसरी वस्तुकरण गर्र्दैछ भन्नेबारे खोजमूलक सामग्री सम्प्रेषण गर्न पनि उत्तिकै आवश्यक छ ।