स्त्री कै गर्भमा बास बसेका
स्त्री कै प्रस्रव पीडाले धर्ती छोएका
स्त्री कै स्तनपानले जीवन सिँचेका
स्त्री कै काखमा हुर्केका
ए ! सतीका मलामीहरू हो सुन,
ए ! आधुनिक सतीका मलामीहरू हो सुन,
के स्त्रीले बच्चा जन्माउँदा
बच्चा मात्र जन्माउँछे ?
स्त्रीले बच्चा जन्माउँदा
बच्चासँगै बच्चाका अङ्गप्रत्यङ्गहरू सबै जन्माउँछे ।
स्त्रीले बच्चा जन्माउँदा
बच्चाका हातहरू जन्माउँछे
स्त्रीले जन्माएका बच्चाका हातहरू
जब बालिग हुन्छन्
स्त्रीलाई नै जिउँदै पोलेर
सती बनाउँछन्,
यही हो पितृसत्ताको इतिहास
स्त्रीले नै जन्माएका हातहरूले
स्त्रीलाई नै जिउँदो पोलेको इतिहास
स्त्रीले नै जन्माएका हातहरूले
स्त्रीलाई नै वस्तुकरण गरेको इतिहास ।
स्त्रीले बच्चा जन्माउँदा
बच्चाका खुट्टाहरू जन्माउँछे
स्त्रीले जन्माएका बच्चाका खुट्टाहरू
जब बालिग हुन्छन्,
स्त्रीलाई नै कुल्चिएर धुलो बनाउँछन्,
यही हो पितृसत्ताको इतिहास
स्त्रीले नै जन्माएका खुट्टाहरूले
स्त्रीलाई नै कुल्चिएको इतिहास
स्त्रीले नै जन्माएका खुट्टाहरूले
स्त्रीलाई नै धुलो बनाएको इतिहास ।
स्त्रीले बच्चा जन्माउँदा
बच्चाका आँखाहरू जन्माउँछे
स्त्रीले जन्माएका बच्चाका आँखाहरू
जब बालिग हुन्छन्,
स्त्रीलाई नै जिउँदो पोलेर
स्त्री जलेको तमासा हेर्छन्,
यही हो पितृसत्ताको इतिहास
स्त्रीले नै जन्माएका आँखाहरूले
स्त्री, जिउँदै जलेको
तमाशा हेर्ने इतिहास ।
स्त्रीले बच्चा जन्माउँदा
बच्चाको लिङ्ग जन्माउँछे
स्त्रीले जन्माएका बच्चाका लिङ्गहरू
जब बालिग हुन्छन्,
स्त्रीलाई नै बलात्कार गरेर वस्तु बनाउँछन्
यही हो पितृसत्ताको इतिहास
स्त्रीले नै जन्माएका लिङ्गहरूले
स्त्रीलाई नै बलात्कार गरेको इतिहास ।
स्त्रीले बच्चा जन्माउँदा
बच्चाको मुटु जन्माउँछे
स्त्रीले जन्माएका बच्चाका मुटुहरू
जब बालिग हुन्छन्,
स्त्री कै मुटुमा किलो ठोक्छन्
यही हो पितृसत्ताको इतिहास
स्त्रीले नै जन्माएका मुटुहरूले
स्त्रीकै मुटुमा किलो ठोकेको इतिहास ।
यो पितृसत्ताको इतिहासमा
स्त्रीहरूलाई “बाँधो” हाल्न
धर्मपुरुषहरूले
अनेकौँ प्रथाहरू बनाए
जसो कि
सतीप्रथा, सीताप्रथा
किलोप्रथा, खन्टीप्रथा
छिनालप्रथा ,जारीप्रथा
अग्नीप्रथा, इन्क्विजिसनप्रथा
जालप्रथा, जलियाप्रथा
दाउप्रथा, दहेजप्रथा
डायनप्रथा, द्रोपदीप्रथा
नुनप्रथा, आधुनिक नुनप्रथा
पर्दाप्रथा, हिजापप्रथा
हरणप्रथा, चिरहरणप्रथा
सटनीप्रथा, बटनीप्रथा
बल्छीप्रथा, डडियाप्रथा
नककट्टीप्रथा, शिकारीप्रथा
बालिका बधुप्रथा, बलात्कारीप्रथा
चारोप्रथा, चरित्रप्रथा
यो प्रथै प्रथाको किलोमा “बाँधो“ हालिएकी
स्त्रीलाई हेर त !
स्त्रीले गर्भको बन्दी बच्चालाई
धर्तीमा ल्याएर फुकुवा बनाउँछे
तिनै बच्चा धर्मपुरुष भएर
लालपुर्जा भएर
कि त स्त्रीलाई गोठकी गाई बनाएर घरकिलोमा बाँध्छ
कि त स्त्रीलाई वनकी गाई बनाएर
वनकिलोमा बाँध्छ
कि त स्त्रीलाई कठपुतली बनाउँदै
सत्ताको कुर्सीमा फनफनी घुमाउँदै
एलिजावेदको नयाँ संस्करण बनाउँछ ।
तब न म भन्छु,
एकहातमा चण्डी बोक्ने
अर्को हातमा खन्टी बोक्ने
यो कृतघ्नहरूको पितृसत्तामा
एकदिन स्त्री
पितृसत्ताको दाम्लो चुँडालेर
वर्गसत्ताको किलो उखाल्नेछन्
किनकि सतीका मलामीहरूले
स्त्रीलाई जिउँदो पोल्दा त
स्त्री खरानी भएनन्
आगो भएर बाँचे
तब न म भन्छु,
वर्गसत्ताको
अन्तिम किलो बाल्ने
स्त्री भुइँ आगो हुन्
स्त्री तिमी उठ त !!
कवितामा प्रयुक्त आञ्चलिक शब्दार्थ
“धर्मपुरुष”- हजारौं वर्षको इतिहासमा मानव समाज (हरू) ले धर्मको नाममा , प्रथाको नाममा स्त्रीहरूलाई जिउँदो पोले, पोल्दैछ्न् । यद्यपि धर्मको अर्थ पात्रता हो। नदीको पात्रता बग्नु। मान्छेको पात्रता मान्छेले मान्छेप्रति समानताको व्यवहार गर्नु हो तर धर्म शब्दलाई लालपूर्जात्मक व्यवस्थाले धन्दा बनाएर स्त्रीलाई वस्तुकरण गरे , गर्दैछन् । ती प्राचीन हुन् कि आधुनिक पुरुष, ती सब धर्मपुरुष हुन् ।
बाँधो – मानसिक रूपमा बन्दी बनाउनु, गुलाम बनाउनु, मानसिक रूपमा नै वस्तुकरण गर्नु, अर्थात् बाँधोप्रथा
भुइँ आगो – ज्वालामुखी
छिनाल- वेश्या
किलोप्रथा – स्त्रीलाई वस्तुकरण गर्ने प्रथा
अग्नीप्रथा – स्त्री देहलाई एक पुरुष अधीनमा पञ्जीकरण गर्ने प्रथा
इन्क्विजिसनप्रथा – बाइबल बोक्ने धार्मिक अदालतले स्त्रीलाई डायन जादुगर्नी भन्दै सार्वजनिक स्थलमा लगि जिउँदै पोल्ने प्रथा ।
यो इन्क्विजिसनप्रथाले जोन अफ दि आर्कलाई समेत चौबाटोमा लगि नाङ्गो बनाएर जिउँदो पोलेको थियो ।
दाउप्रथा – स्त्रीलाई जुवामा दाउ राख्ने प्रथा
नककट्टीप्रथा – जारी तिर्न नसक्ने पुरुषले कुनै विवाहितालाई लग्यो भने ती स्त्रीको नाक काटने चलन थियो, तिनै स्त्रीलाई नककट्टी भन्ने गरिन्छ ।
खण्टीप्रथा – पिरामिडको अन्तिम पिँध बनाउने प्रथालाई खन्टीप्रथा भनिन्छ ।