Asmita Magazine

#

आत्मविश्वास र विद्रोहको सामयिक विम्ब : सत्यभामा

म यज्ञशाला हुँ
अनि चिहान पनि
महलका खण्डहरहरूबाट निस्केका
अपरिचित कङ्कालहरू
निरपराध टुकुचामा फ्याँकिएका
स्त्री-पुरुषका अवाञ्छित बच्चा
सबैलाई समेटेकी छु
मेरो हृदयको यज्ञशालाबाट
मलाई घचघच्याउँदै छन्
स्वतन्त्रताको बिगुल बजाउन
हकको आवाज उठाउन

(सत्यभामा माथेमा, ‘मभित्रको यज्ञ क्षेत्र,’ २०२७)

यी कवितांश मेरा मस्तिष्कका रेशाहरूमा एक भुल्को शक्ति बनी सञ्चारित भइरहेका छन् । शोषण र दमनका विम्ब ती स्त्री, पुरुष र नवजात शिशुका अस्थिपञ्जरहरू मभित्र विद्रोहको कोलाहल मच्चाइरहेका छन् । बिस्तारै त्यही समय विम्ब एक हुङ्कार भई अघि बढ्दैछ ।

कवितामा उर्लेको जोधाहपनको मुस्लो सर्जक सत्यभामा माथेमाको जीवनमा निकै अघिबाटै उठेको हो । उनी आत्मविश्वास र विद्रोहको सामयिक विम्ब हुन् ।

भर्खरै म सत्यभामाको समीप थिएँ । पातलो शरीर तर तेजिला आँखा र दृढ हृदय बोकेकी, सत्यभामा । उनका कवितामा अभिव्यक्त विप्लवीपना भन्दा कत्ति पनि तलमाथि देख्दिनँ । उमेरले असीको उत्तराद्र्ध पक्डिसक्दा पनि बोली र व्यवहार दुवैमा पहिलेकै आँटी र खरोपना छ ।

उनको निवासका भित्ताभरि टाँगिएका बैँसालु समय नियाल्दा लाग्छ, ती समय स्थिर भइदिएको भए कति गजब हुन्थ्यो ! तर त्यसो हुँदैन । उमेर लाग्नु समयको नियम हो । स्वीकार्नै पर्छ । समय-गतिसँगै अघि बढेकी सत्यभामाले जीवनको लामो समय यस देशको न्यायालयमा एक सत्यनिष्ठ न्यायाधीशको भूमिका निर्वाह गरेकी छिन्, जसको फलस्वरूप नेपालको पहिलो (नियमित अदालत पट्टिको) महिला न्यायाधीशका रूपमा उनको नाम इतिहासमा दर्ता भइसकेको छ । आज उनकै पदचाप पछ्याउँदै सयौँ महिला न्यायाधिकारीहरू न्यायालयभित्र न्यायिक आवाज मुखर पार्न पुगिसकेका छन् ।

सत्यभामाको जीवन जन्मजातै जटिलताले जेलिएको पारिवारिक माहोलमा भयो । पिताको अनुहारसम्म देख्न नजुरेको उनको जन्म (वि.सं १९९५) बुबा बितेको तेह्रौँ दिनमा मात्र भएको थियो । उनका पिता ओमबहालका कुलीन माथेमा खलकका कान्छा छोरा, निरञ्जनभक्त माथेमा । उनी तिनै मनमोजी पिताका कान्छी श्रीमती भक्तकुमारी माथेमाकी कान्छी छोरीका रूपमा माथेमा परिवारमा जन्मिइन् । पिताको अनुहार केवल श्यामश्वेत तस्बिरमा मात्र देखेकी उनको बाल्यकालीन समय निकै सहज थियो र थिएन पनि । बुबा हुँदाको रौनक उहाँको मृत्युपश्चात ल्याइते श्रीमती र उनका सन्तानका निम्ति पहिलेजस्तो रहेन । तथापि समयको आफ्नो लय रोकिने कुरै भएन ।

थिए, मनग्गे उनका रहरलाग्दा बाल्यकालीन माहोल, जतिबेला उनी भरमार जिद्दी कस्ने गर्थिन् । उनको आँखै अघिबाट बगेको थियो मेनिन्जाइटिसले ग्रस्त दिदी राधाप्यारीले उपचार नपाई मृत्युवरण गर्नुपरेको वीभत्स समय । तथापि त्यसबारे उनी अज्ञात थिइन् । उनले कहाँ चाल पाउँनु आफ्नी आमाको निरीह समय जतिखेर उनी मर्दै गरेकी छोरीको ज्यान बचाइदिन याचनारत थिइन् । तर त्यस घरका कसैले उनको अनुनयविनयलाई सुनेनन् । उपचारको निम्ति कसैले पहल गरिदिएनन् । दिदीलाई केहीदिने ज्वरोले लगिछाड्यो ।

सानी सत्यभामालाई सुरुमा घरको व्यवहारिक पक्षबारे केही ज्ञान नभए पनि बिस्तारै केही असहजता महसुस हुन थालेको थियो । दिदी राधाप्यारी बित्नुभन्दा केही समयअघि मासको दालमा हालेको लप्सी खान खोजेको निहुँमा सौतेलो दाइले वचन लाएपछि आमाले पहिलोपटक मुख खोलेकी थिइन्- “तिमीहरूले खान हुने मेरी छोरीले एउटा लप्सी पनि खान नहुने ? के कम छु तिमीहरू भन्दा ?”

आमाभित्र दौडिरहेको प्रतिरोधका झिल्का त्यसरी ज्वालासरह बाहिर निस्केकै क्षणबाट घरमा बेमेल सुरु भएपछि उनीहरूको चुला छुट्टयाइदिइएको थियो । तत्पश्चात जहीँतहीँ उफ्रिहिँड्ने ठुलो घर उनका लागि केवल दुई कोठामा खुम्चिएको थियो । सौतेला दाजुहरूबाट प्राप्त हुने महिनावारी खर्च र रासनबाट नै उनीहरूले दैनिक गुजारा गर्नुपथ्र्यो ।

पुल्पुलिएर हुर्किएकी कान्छी छोरी सत्यभामामा जिद्दीपना भने राम्रै थियो । ठुली आमातिरकी दिदीले कौसीमा खेल्न नदिएका कारण एकदिन उनले अन्जानमै विद्रोह गरिन् । आफूलाई पनि दुईवटा कौसी भएको घर किनिदिन ठुलोबासँग अड्डी नै कसिन् । अन्ततः उनको फर्माइस अनुसारकै दुईवटा कौसी भएको घर ओमबहालभित्र किनियो, जसमा माइली आमाका छोराहरू र उनको परिवार सरे । त्यसपछिको केही समय त्यही घरमा मस्त बित्यो । त्यसैबेला उनी च्याम्पटी, गुच्चा र कौडासँगको सङ्गतमा परिन् । आमाको हिराको टप धरी थापेर कौडा खेलेर हारेपछि रुँदै घर फर्केको अचम्मको बेपर्वाह समय पनि उनले बिताएकी छिन् । भलै जीवनले असली रङ्ग भने देखाउन बाँकी नै थियो । जब आमाको अंश मुद्दा सुरु भयो, तब तीनसय साठीको कोणमा जीवन फेरियो । ओमबहालको दुईवटा कौसी भएको घर अब उनीहरूको रहेन ।

नौ दस वर्षकी सत्यभामालाई च्यापेर आमा माइती असनतिर लाग्न बाध्य भइन् । त्यहीँबाटै उनको सङ्घर्षमय समयको सुरुवात् भयो । उमेरले दस टेकिसक्दा पनि पढाइ र विद्यालयबारे उनी पूणर्रूपमा बेखबर थिइन् ।

*

मामाघरको बसाइ सत्यभामाको अनुकूल पटक्कै भएन । उमेर उक्लिँदै थियो तर कसैलाई उनको पढाइबारे केही चासो थिएन । किराना पसल चलाएर बसेका मामा ‘छोरी मान्छेको पढाइ’का विरोधी थिए । बरु सत्यभामालाई असनको डबलीमा बेलाबखत बाँडिने चामल र मट्टितेलको लाइनमा दिनभर उभिन पठाइदिन्थे । दिनभरको उभ्याइले गर्दा रातभर खुट्टा दुखेर उनलाई सुत्न गाह्रो पथ्र्यो । नाङ्लोमा गोलभेँडा खुर्सानी राखेर बेच्न लगाउँथे । उँडिहिड्ने चरीको पखेटा काटिएसरह भएको थियो, उनलाई । बिस्तारै मामाघर नजिकको हलुवाइ पसलेकी छोरी शङ्करमायासँग उनको मित्रता बढ्यो । त्यसपछि फेरि फुक्काफाल समय सुरु भयो । उनीहरू दिनभर डुलिहिँड्थे । त्यसै क्रममा उनीहरू एकदिन न्योखामा पुग्दा एउटा घरको छिँडीमा गुरुले पढाउँदै गरेको देखे । उनीहरूले झ्यालबाट चियाएर हेरेपछि मास्टर राम दाइले “पढ्ने हो ?” भनेर सोध्दा उनले झट्पट् “पढ्ने हो” भनिन् । त्यही दिन राम दाइले उनीहरूको नाम लेखाइदिनुभयो । डुल्दै पुगेका उनीहरू नेपालको पहिलो महिला केन्द्रित शिक्षालय कन्या मन्दिर विद्यालयमा भर्ना भए ।

एघार वर्षको उमेरबाट मात्र सत्यभामाले औपचारिक पढाइ सुरु गरिन् । अक्षर चिनाउने काम भने पहिले नै आमाबाट भइसकेको थियो । घरबाट दिनभर हराउने छोरी पढ्न जान्छ भन्ने कसैलाई थाहै थिएन । शिक्षकले पढाइको आधारमा कक्षा चढाइदिने हुनाले उनीहरूले चाँडै माथ्लो कक्षामा प्रवेश पाए । उनी नेपालीमा राम्रो र शङ्करमाया हिसाबमा । चार कक्षा पास भएरपछि मेडल लगाएर घर पस्दा त सबै छक्क !

पढाइका निम्ति थप सङ्घर्षमय समय अघि बढ्यो । किताब कापी किन्ने पैसाको अभाव । कापीको अभावपूर्तिका निम्ति साथीको पसलमा मिठाई पोको पार्न राखेको नेपाली कागज पनि प्रयोग गर्ने गर्थे । कक्षा पाँचमा पढ्दा तेह्र चौध वर्षको भइसकेका थिए । एउटी साथी पोइल हिँडिदिएपछि उनीहरूले पढ्दै गरेको कक्षा पाँच नै विद्यालयले काटिदियो । त्यसपछि पढाइ पुनः अनिश्चित भयो । रोकियो नै । अलिक पछि उनीहरू फेरि न्योखाको कन्या विद्यालयमा गए । एकै चोटि एसएलसी दिन लगाए । पास भएनन् । अनेक सङ्घर्ष पश्चात पद्योमदयबाट साथी शङ्करमाया र उनले प्राइभेट एसएलसी दिए । यस पटक भने दुबैले पास गरे । पढाइको लागि सधैँ अग्रसर सत्यभामा न्यासनल कलेज अब एजुकेसनमा आइ.ए.मा (साँझ सत्रमा) भर्ना भइन् । त्यसबेला त्यहाँ पढ्नेमा केटीहरू मात्र चार जना थिए, जसमा एक जना थिइन् सुकन्या वाइबा । हिसाबमा तगडा साथी शङ्करमायाले भने त्रिचन्द्र कलेजमा विज्ञान पढ्न थालिन् ।

बाल्यकालबाट नै सत्यभामाको थाप्लोमा आमाको अंश मद्दा आइपरेको थियो । सानैबाट उनले अदालत, वकिल, न्यायाधीश, न्यायालय देख्दै आएकी थिइन् । यतिसम्म बाध्यता थियो कि उनी आफै प्रधान न्यायाधीशका सामु बिन्ती चढाउन जान्थिन् । २००४ सालबाट खेपेको मुद्दाको फैसला २०२४ सालमा मात्र भएको थियो । त्यसकारण पनि उनले कानुन नजानी धरै थिएन । व्यवहारिक कारणले गर्दा पनि उनले बि.ए. पास गरेपछि पनि कानुन पढिन् तर पैसाको भने सधैँ अभाव । क्याम्पस पढ्दाताका परीक्षा शुल्क तिर्न पैसा नभएर आमाको साह्रै मन परेको साडी समेत बेच्नुपरेको थियो । त्यही गाह्रो समयमा उनको सुकन्या वाइबा र पारिजातसँग भेट भएको थियो । उनलाई पारिजातको स्वतन्त्र व्यक्तित्व र स्पष्टवादिताले निकै प्रभाव पारेको थियो । त्यसबाहेक उनीहरूका केही साझापन पनि थिए ।  खासमा उनीहरू दुःखले गर्दा नजिक भएका थिए । सत्यभामालाई मामाघरमा बस्न गाह्रो भइसकेको अवस्था थियो भने पारिजात र सुकन्यालाई दाइ-भाउजूसँग सकस बढ्दो थियो । समयक्रममा सत्यभामा र उनकी आमा मामाघरबाट निस्किएर डेरामा बस्न थाले । सुकन्या र पारिजात पनि दाइसँग छुट्टिएर पुतली सडकमा डेरागरी बस्न थाले । उनी सुकन्याका सहपाठी र मिल्ने साथी भएकाले पनि पुतली सडकको डेरामा आउजाउ गरिरहन्थिन् । त्यसैबेला पारिजातसँग उनको हेलमेल बढ्यो । उनी भन्छिन्, “पारिजात दिदी अक्कडे हुनुहुन्थ्यो । रमाइलो पनि गर्नुपर्ने उहाँलाई । दिदी मदन मेमोरियल स्कुलमा पढाउनुहुन्थ्यो । उहाँको विद्यालयमा राम्रो प्रभाव थियो । मलाई दिदीले नै त्यहाँ जागिर लगाइदिनुभयो ।” बि.एल. पढ्ने क्रममा पारिजातले नै उनलाई भूगोल विषय पढाउन मदन मेमोरियल विद्यालयमा आंशिक (पार्ट टाइम) जागिरमा राखिदिएकी थिइन् । त्यही जागिरको पैसाबाट आमाछोरीको जीवन चलेको थियो ।

उनीहरू असनको मामाघरबाट अलग बस्न थालिसकेका थिए । अप्ठ्यारैमा त हो आफन्तले फाइदा उठाउने । बिस वर्ष मुद्दा खेपेर पाएको केही जग्गा बेचेको पैसा पनि मामाले खाइदिएपछि उनीहरूले आफ्नो छुट्टै व्यवस्था गर्नुपर्ने अवस्था आयो । बि.एल. पास गरेपछि उनी मदन मेमोरियलमा पूणर्कालीन शिक्षक भइन् । तलब दुई सय थियो । त्यसैबाट आमाले घर खर्च धान्थिन् ।

बिसको दशकमा कानुन पढेका महिला एकदमै कम थिए । ती थोरै मध्येका थिए सत्यभामा र इन्दिरा राणाहरू । कानुन मन्त्रालयले कर्मचारी मागेकाले उनले केही समय अस्थायी कर्मचारी भएर काम गरिन् भने पछि लोकसेवा पास गरेरै अधिकृत भइन् । समयसँगै उनले पढाइ बमोजिमको जिम्मेवारीमा लाग्ने अवसर प्राप्त गरिन् । उनले २०२५ सालमा सर्वोच्च अदालतमा बेन्च सहायकका रूपमा काम गर्न थालिन् ।

*

सत्यभामा कर्मक्षेत्रमा अडिग भएर लागेकी एक न्यायाधीश मात्र हैनन्, पारिवारिक जीवनमा पनि उत्तिकै सङ्घर्ष गरेर अघि बढेकी एक सङ्घर्षशील महिला हुन् । जति नै अप्ठ्यारो आइलागे पनि उनले सम्झौता गरिनन् । जीवन कहिल्यै सहज भएन तर उनी कहिल्यै हच्किइनन् किनकि उनले आमाको लामो सङ्घर्षमय जीवन देखेकी थिइन् । साथमा उनी आगामी पुस्ताका महिलाका निम्ति पनि एक पथप्रदर्शक हुने क्रममा थिइन् । समयक्रमसँगै उनी सङ्घर्ष, स्वतन्त्रता र समानताको पक्षधर एक प्रतिरोधी चेतना भइन् ।

व्यवहारिक जीवनमा अनेक झमेला थिए । साथमा पेशागत जीवनमा पनि स्वास्नी मानिस हुनुका केही अप्ठेरा आइलागे । पहिलोपटक भक्तपुर जिल्ला अदालतको सहायक न्यायाधीश भई पुग्दा उनकै स्वागतमा बसेका कर्मचारीहरूको फुस्फुसाहट उनले प्रस्टै सुनिन्- “आइमाई पनि न्यायाधीश भएछ ! आइमाइले पनि मुद्दा छिन्छन् र ?”

उनी मुखले केही बोलिनन् तर मनमनै भनिन्— “छिन्छन् !”

सम्भवतः त्यहीँबाट सुरु भयो, उनको जीवनको अर्को साहसिक यात्रा । एक न्यायाधिकारीको जिम्मेवारीपूणर् यात्रा । उनको क्षमतामाथिको संशय हुनसक्छ, पहिलो मुद्दा डिसमिस हुन दिनुपर्नेमा उनका न्यायाधीशले चोरी मुद्दा थमाइदिए । मैदानमा उत्रिसकेपछि उनले जसरी पनि पार लाउनैपथ्र्यो । पुराना फाइल मगाएर अध्ययन गरेर भए पनि छिन्नुपर्ने मुद्दा छिनिदिइन् ।

छक्क पर्दै न्यायाधीशले भने, “ओहो छिनिदिनु भो ?”

उनले निर्धक्क भएर भनिन्, “तपार्इंले दिएपछि त छिन्नै पर्‍यो नि ।”

एक वर्ष भक्तपुर जिल्ला अदालतमा बस्दा उनले अनेकौँ अंश मुद्दाहरू छिनिन् । लामो समय आफूले  अंश मुद्दाको सकस खेपेको हुनाले उनी मुद्दा सकेसम्म चाँडो छिनिदिन्थिन् । भक्तपुर पछि केही समय ललितपुर र काठमाडौँ बसेपछि अचानक क्षेत्रीय अदालत गठन गर्ने व्यवस्थापन मिलाउन उनलाई पोखरा खटाइयो । समयमा नै अह्राएको काम सकेर काठमाडौँ फिर्किए लगत्तै फेरि उपसचिव सरहको बढुवा दिई उनलाई पुनः कास्की जिल्ला अदालतमा नै पठाइयो । ठाउँभन्दा पनि कामसँग सरोकार राख्ने उनलाई मात्र आमाको चिन्ता थियो । यस पटक भने उनले आमा पनि साथै लगिन् । ढुक्क भयो ।

वैवहिक जीवनको अध्याय पनि अघि बढेको थियो । आमाले नै खोजिदिनु भएको जीवनसाथीको साथ । समय राम्रै थियो तर पत्तै नपाई मिठासमय समयमा अमिलोपना पसिसकेको रहेछ, उनी धोखामा परिन् । ताप्लेजुङमा जेठी श्रीमती र ६ जना छोराछोरी भएका मानिस उनकी आमालाई समेत झुक्याउन  सफल भएछन् । सम्बन्ध जोडिसकेपछि सम्झौता गर्नुको विकल्प छैन भन्ने समय थियो, त्यस बखत । उनलाई परिस्थितिले सम्झौता गर्न बाध्य बनायो । उनी भित्रभित्र साह्रै थिलथिलो भइन् । वृद्धा आमा, समाज, परिवार सबैतिर आँखा डुलाउँदा घर सम्हालेरै अघि बढ्नु उचित देखिन् । तथापि अब उप्रान्तका हरेक पारिवारिक निणर्याधिकार भने उनले आफैमा राखिन् ।

*

सत्यभामा कामप्रति सधैँ दत्तचित्त र इमान्दार न्यायाधीश । जनताको सेवाको निम्ति खडा भएको न्यायालयले लामो समय मुद्दा नछिनिदिने ढिलासुस्तीप्रति उनको विशेष सरोकार थियो । त्यसैले पनि कास्की जिल्ला अदालतमा न्यायाधीश हुँदा तीनसय वटा मुद्दाको खातमा जम्मा पचास वटा बाँकी राखेर सबै छिनिदिइन् । एउटा ज्यान मुद्दा छिन्दा धाकधम्कीको पनि सामना गर्नुपरेको थियो उनलाई । पोखराको त्यस घटनामा मृतकको मिल्ने साथीमाथि नै ज्यान मारेको आरोप लागेको थियो । खासमा उनी निर्दोष थिए । उनले सफाइ दिइन् । पैसा र शक्तिका भरमा अदालती प्रक्रियामा प्रभाव पार्ने मनसाय बोकेकाले उनीमाथि दागा धरेका थिए । उनी त्यस्ता धम्कीलाई वास्ता गर्ने खाले भए पो ! प्रायः यस्ता केसमा सत्यतथ्य पत्ता लगाउन उनी आफै फिल्डमा गएर जाँचपडताल गरेपछि मात्र निणर्य दिने भएकाले उनको निणर्यमाथि औँला उठाउने ठाउँ नै हुँदैनथ्यो ।

उनी जहिल्यै चुस्तताको पक्षधर रहिन् । चाहे त्यो मुद्दा मामिला छिन्ने काममा होस् या अदालतभित्र गरिने विशिष्ट व्यक्तिको स्वागत या कुनै समारोह । उनी पोखरामा हुँदा राजा वीरेन्द्रले अदालत निरीक्षण गर्ने कार्यक्रम थियो । सहकर्मीहरू राजाको भव्य स्वागतका निम्ति स्वागतद्वार बनाउने योजनामा थिए तर उनले खर्चिलो कार्यक्रमको सट्टा कर्मचारीहरूलाई नै खटाएर बिना खर्च नै सामान्य स्वागतद्वार बनाउन लगाएर राजाको स्वागत गरिन् । किफायती जीवन बाँच्न र राम्रो काममा लाग्ने प्रेरणा उनले आमाबाट प्राप्त गरेकी थिइन् । उनको तलब मात्र २०० हुने बेलामा पनि आमाले राम्ररी घरव्यवहार चलाएर पशुपङ्क्षीको अन्नका लागि समेत पैसा छुट्याउने गर्थिन् । त्यसैको सकारात्मक असर हुनसक्छ, उनलाई कहिले पनि फजुल खर्च गर्न मन भएन ।

कामका लागि भने उनी जुनसुकै ठाउँमा जान पनि तयार हुन्थिन् । त्यसबेला बाटोघाटो नभएको अत्यन्त दुर्गम जिल्ला जुम्लामा पनि उनले साढे दुई वर्ष काम गरिन् । देशको विभिन्न जिल्लाको अदालतमा काम गरे तापनि अलि लामो समय उनी पोखरामा रहिन् । त्यहीँ हुँदा आमाको मृत्यु भयो । छोरीले दागबत्ती दिनु हुन्न भन्ने पारम्पारिक मान्यता र त्यसबेला धेरैले “बाहुनलाई दागबत्ती” दिन लाउनु भन्ने सल्लाहका विपरीत उनी आफैले आमालाई दागबत्ती दिइन् । उनीभित्र एकप्रकारको जब्बरता धेरै अघिबाटै पलाइसकेको थियो । समय र परिस्थितिहरूले उनलाई पाइला पाइलामा अडिग हुन सिकाइसकेको थियो । कामविशेषले बाहिर भएका श्रीमान्लाई उनले आमाको मृत्युको खबरसम्म पनि दिइनन् । सबै कुरा एक्लैले पार लगाइन् ।

अदालती काम, सरुवा अनि बढुवा भई नै रह्यो । वैवाहिक जीवनमा धेरै तिता र केही मिठा समय बिते । छोरो जन्मियो । हुर्किदै गयो । आफ्नै दुःखले आर्जन गरी किनेको म्हेपीको जग्गामा घर बनाइन् । जीवन चलेको थियो । तथापि सोचेजस्तो लयमा भने पटक्कै चलेन । उनको पीँठ पछाडि अनेक कर्तुत गरिहिँड्ने मानिस (छोराको बाबु) प्रति मन मरि नै सकेको थियो । अन्तै केही बन्दोबस्ती मिलाइसकेपछि जब उनको अघि घरछाडी जाने धम्की दिए, तब उनले मन दरो पारेर भनिन्, “यो ढोकाबाट निस्केपछि फेरि पाइला टेकिस् भने तँलाई बाँकी राख्दिनँ ।”

ती व्यक्ति फर्किआउन सकेनन् । केही समयपछि बेवारिसे अवस्थामा नै सकिगए भन्ने पनि उनले सुनिन् ।

*

म गुरुमापा होइन
एक मुरी चामलको भात
र राँगाको मासुमा चित्त बुझाउने
आफ्नो हकलाई दबाउने
मेरो कर्मक्षेत्र सङ्घर्ष
मेरो जित स्वतन्त्रता
अनि सबैलाई समानता ।

(माथेमा, ‘मभित्रको यज्ञ क्षेत्र’)

सत्यभामा माथेमाका कवितापङ्क्तिमा अभिव्यक्त भाव उनकै जीवनका दर्पण हुन् । उनले सङ्घर्षलाई आत्मसात् गरिन्, स्वाभिमान र इमानदारीलाई मन्त्रसरह जपिन् । साथमा स्वतन्त्रता र समानताका पक्षमा रहिन् । आमाको श्यामश्वेत जीवनदेखि आफ्नै जीवन मज्जाले रङ्गिन नसकेपछि मनमा गढेको खिललाई पीडितको पक्षमा न्याय दिएर परिपूर्ति गरिरहिन् । साहित्यका विविध विधामा कलम चलाएर उनले अफूभित्रको प्रतिरोधी चेतना र आफ्नो अस्तित्व वकालतमा अग्रसर भइन्, जो आज पर्यन्त जारी छ । नेपाल भाषाका कविता सङ्ग्रह ककः चा र उपन्यास इलं फ्वाः गु जीवन प्रकाशित गरिसकेकी उनले न्यायक्षेत्रका विषयमा मात्र नभई विविध सामाजिक मुद्दामा आज पनि निरन्तर लेखिरहेकी छिन् ।

आफ्नै मेहनतको कमाइले किनेको खुसिबुको चारतल्ले घरको तेस्रो तल्लाको बार्दलीबाट बाटो चिह्याइरहने ती आँखाहरू अझै चहकिला छन् । जीवनका तमाम उहापोह पार गरी अघि बढेकी उनलाई आजकल जीवन ठिकठाक लाग्छ । उनी भन्छिन्, “जीवनमा दुःख पनि पाएँ, सुख पनि पाएँ । त्यसैले आजकल त कस्तो पनि लाग्दैन ।” सुन्दा लाग्छ, हरेकको जीवन अन्ततः वैराग्यको अनुभूतिमा परिणत हुँदै जाने परिक्रम मात्र हो ।

छोरा बुहारीले बेलायतमा नै बस्न बोलाउँदा पनि उनी आफ्नो ठाउँ छाडी जान मन गर्दिनन् । सायद एक्ली आमाले सङ्घर्ष गरेर आफूलाई हुर्काएको यस परिवेशलाई छाडी अन्त जान उनलाई मन लाग्दैन । बरु आमाकै बाटो उनले लिएकी छिन् । आजकल उनी बिहानभरि परेवालाई चारो दिन व्यस्त हुन्छिन् । आमा बित्नुभएको केही दिनमा नै प्राण त्यागेको प्यारो कुकुरको झल्को मेट्न घरमा एउटा कुकुर पनि पालेकी छिन् । यिनै छन् आजकल उनको समयकटाउनी ।

नेपालको न्यायालयमा लामो समय योगदान दिएर सेवा निवृत्त भएकी सत्यभामा माथेमा नेपाली समाजले गर्व गर्न लायक एक विशेष व्यक्ति हुन् । गुनासो र रिसराग भन्दा निकैमाथि उठिसकेकी उनले गफगाफ पछि छुट्टिनेबेला सोधेकी थिइन्, “अब कहिले आउँनुहुन्छ ?”

“चाँडै आउछौँ” भन्दै बाहिरिएको पनि निकै भइसक्यो । छुट्ििहँड्दा उत्तर फर्केको बार्दलीबाट घाम पश्चिम ओर्लिरहेथ्यो । पातलिँदै गएको दिनको न्यायोपन समेटेर चाँडै पुग्नु छ, बार्दलीबाट उत्सुकतापूर्वक बाटो हेरिरहने एक जोर आँखाको ज्योतिबाट इतिहास चियाउनु छ ।

शब्दमा चिल्लो नमिसाई तटस्थ जवाफ दिने सत्यभामा दिदीसँग फेरि पनि बाँकी भलाकुसारी मज्जाले गर्नुछ !!!

Author

  • नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर काम गरिरहनुभएका लेखक कुमारी लामा महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्नुहुन्छ । उहाँको उज्यालो अन्धकार (२०७१), दर्ज्यु संलाप (२०८१) निबन्ध संग्रह प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के