भारतीय नेपाली साहित्य जगत्मा नेपाली नारी हस्ताक्षरहरूमा नेपाली भाषी, जाति, नेपाली साहित्य संसारले चिनेका, मानेका र अति मान-सम्मानले उच्चारण हुने, गरिने श्रद्धेय नाम छ- डा. लक्खीदेवी सुन्दास, जसमाथि लेख्नु त्यति सहज छैन । तर उनी असहज चुली पनि होइनन् ।
सन् १९३४-साल कलकत्तामा जन्मिएकी लक्खीदेवी सुन्दासले लेखन आरम्भ गरेको समय १९४६ तिर रहेछ । जुनबेला ऐलेको जसरी पत्र-पत्रिकाहरू प्रकाशित हुँदैन थिए । हाम्रो समाज, जाति भाषी, साहित्य ऐलेको चरणमा थिएन । हस्तलिखित पत्रिकाहरूको आरम्भ भएको समय । लेख्न थालेका केही अघिनै हुनपर्छ । प्रकाशनमा आएको भने १९४८ तिर । त्यसताका निस्कने पत्रिकाहरूमा उनका प्रथम प्रकाशित कविता जो दीपक नामको पत्रिकामा प्रकाशित भयो । त्यस समय दार्जीलिङको साहित्यिक नेतृत्व सूधपा र रूपनारायण सिंहको थिएछ । सूधपासम्म पुग्ने पहुँच त्यहाँका कतिपय लेखक-लेखिकाहरूको नहुँदा जो मार्गदर्शन, चाहन्थे, लेख्न चाहन्थे । त्यस्तो केही नहुँदा १९४८ मा कवि वीरेन्द्र सुब्बाको नेतृत्वमा प्रगतिशील नेपाली साहित्य परिषद्को स्थापना, मुख्य रूपमा साहित्य सिर्जनाकै निम्ति भएको उनी आफ्ना पुस्तकको पुनर्प्रवेशमा लेख्छन् । अतः प्रथमतः उनी कवयित्री । पछिपछि उनी कथाकार, समीक्षक, आलोचक, समालोचक, चिन्तक, निबन्धकार, अनुवादक, सम्पादक आदि । यस्ता बहुप्रतिभा विभूतिबारे लेख्नु भन्ने कुरा साधारण होइन नै । लाग्छ मेरो निम्ति तर । उनीमाथि लेखिनुपर्ने धेरै पक्षहरू छन् । विविध पक्षमा लेखिनुपर्ने, देखिनुपर्ने व्यक्ति, व्यक्तित्व उनी ।
उनको लेखन आरम्भ १९४६ लाई लिँदा निकै समय पार भइसकेको छ । दीर्घ साहित्य लेखन, गहन अध्ययनले चुलिएकी आजका नारीचुली उनी । लेखनको यतिका यात्रामा उनीबाट कति लेखिए लेखिए कविताहरू, कथाहरू, लेख, समालोचना, आलोचना, समीक्षा, प्रत्यालोचना, निबन्ध, प्रबन्ध । यसबारे आफूबाट के कति लेखियो अनि तीहरू छापिए, जसको जानकारी उनीमा छैन नै जस्तो छ । लाग्छ, हामी कतिलाई किनभने उनको यति दीर्घ साहित्य लेखन, अध्ययन, पठनलाई हेरिँदा । आजसम्म उनका प्रकाशित कृतिहरूमा मात्र यति तीनवटा छन् हाम्रा हातमा । कथा सङ्ग्रह आहत अनुभूति (सन् १९९८ ), कविता सङ्ग्रह संभावित अर्थ समर्पित एकान्त (सन् २०००) र त्यसको आठ वर्षपछि मात्र छत्तीस वटा समीक्षात्मक लेखहरूका सङ्ग्रह प्रकाशित हुन्छ— समय र समीक्षणा (सन् २००८) । लेखन यात्राको बाउन्न वर्षपछि उनले आफ्नो कृति निकाल्नु निस्कनुपर्ने कुरा बोध गरिन् । हामी पाठक बोध गर्छौं यस्तो । सन् १९९८ देखि २००८ सम्ममा तीनवटा पुस्तक हाम्रो हातमा परेको छ । र, हामी पाठकहरू उनको पुस्तक यतिमात्र अहिलेसम्म प्रकाशित हुनुको विस्मात बोध गर्छौं ।
यतिखेरसम्म डा. लक्खीदेवी सुन्दासका विविध विधाका पुस्तकहरू थोरैमा एक दर्जन विज्ञ पाठकमा पुगिसक्नुपर्ने । खोइ त यतिका दीर्घ साहित्य लेखन, अध्ययनको यो चुली उभिएर उमेरको धेरपछि मात्र यति तीनवटा कृति हात पर्नु जस्ता अन्तर विस्मातले शङ्का गर्छ कहिले । किन यति अबेर र यति नै ? उनीबाट लेखिँदै आएको यति नै त हुँदै होइन । प्रकाशन, प्रकाशकको अभावबोध, स्थिति परिआएको पनि निश्चय नै होइन । यस्तै थुप्रै के के सोच उब्जिँदो छ । कोहीकोही बेला आफूमा ।
अलिकता चित्त बुझाउने ठाउँ पाउँछौं बीचमा । डा. लक्खीदेवीका तेस्रो कृति समय र समीक्षणा मा डा. इन्द्रबहादुर राई, डा. सुन्दासका पुस्तकभित्र लेख्नुहुन्छ— “साहित्य लेखन उहाँलाई कहिले त एक्लै हिँड्ने पथ भई पनि प्रधानतः सामाजिकता अलिकता हेरौं । जीवनिक व्यावहारिकतामा हेर्दा पनि उहाँको साहित्यिक विगतका सारा वर्षहरूमा अनुरोधहरू भाषण गरिदिनका भूमिका लेखाइमाग्नका, संगोष्ठीमा कार्यपत्र राख्नका, विशेषाङ्कहरूमा लेखादि दिनको, अन्तर्वार्ताका सङ्कलनहरूका सम्पादनका— नटुङ्गिँदो लाभ रह्यो । अनुरोध गरिएपछि आफ्नो कर्तव्य मान्नुभयो सधैँ सारयुक्त केही बोल्नपुग्न, लेख्नथाल्न । अनुरोधहरूले उहाँमा समालोचकलाई कति अघि सारे, बढ़ाए सकारात्मकताले हेर्न सकिएला, बिघ्नबाधा तीहरूलाई नै जलाउँदै झैं लेखन प्रज्ज्वलित बन्यो । यो महत्वमय सङ्कलन ’समय र समीक्षणा’ केही त्यस सामाजिकताबाटको प्राप्ति छ, प्रदान छ’लाई नै त होलातानि स्वीकारी दिँदा पनि चित्त बुझाउन सक्दैनौं नै अर्कोतिर ।
भारत-नेपालबाट निस्कने पुस्तक सङ्कलन पत्र-पत्रिका जतिमा उनका जति विविध विधामा लेखिएका लेख रचनाहरू प्रकाशित पढ्न पाएका छौं, त्यस्तरी त्यही हाराहारीमा कथा, कविता उनका पत्रिका, सङ्कलनहरूका कथा, कविता विशेषाङ्क, अङ्कबाहेक उति पढ्न पाउँदैनौं हामी । तर कवितादेखि लेखन आरम्भ भएको कवयित्री डा० लक्खीदेवी सुन्दासका सन् १९९८ मा प्रकाशित प्रथम कृति ’आहत अनुभूतिका सोह्रवटा कथाहरूको सङ्ग्रहले सन् २००१ मा भारतको साहित्य अकादमी पुरस्कारले सम्मानित भइन् उनी । तर उनीबाट अहिलेसम्म लेखिएका कथाहरू यति नै मात्र नहुनुपर्ने । जो यति नै परेका छन् सङ्ग्रहमा, पनि सोच्छौं । अनि सोच्छौं, समयले समयमा अन्य कथाहरूका सङ्ग्रह कृति निश्चय पाठकका अघि आइपुग्ने नै छ । आशावान् छौंँ, बन्छौं पुनः ।
डा. दयाराम श्रेष्ठ सम्भव, भारतीय नेपाली कथाभित्र लेख्छन्,
“दार्जीलिङका महिला कथाकारहरूमा लक्खीदेवी सुन्दासको नाम निकै अग्रणी रहेको छ ।“ डा. लक्खीदेवीका कथा सङ्ग्रहपछिको दोस्रो कृति ’संभावित अर्थ समर्पित एकान्त’ सन् २००० मा प्रकाशित सन् १९४६ देखि आजसम्म त्रिसठ वर्षभित्र लेखिएका उनका पैंतीसवटा कविताहरूका सङ्ग्रह छ, यो । आफ्नो कविता पुस्तकभित्र उनले आफ्नो मत यस्तो लेखेकी छिन्, “आफ्नो तरूण अवस्थामा कविता लेख्नु मेरो निम्ति दैनिकी लेखन जत्तिकै एउटा कर्म थियो- भावहरू दगुर्थे, पोखिनै हतार हुन्थ्यो, यसैले लेखिन्थ्यो रेलको प्लेटफार्ममा रेलको यात्रामा अतिथि गृहमा एउटा नौलो स्थानमा पुग्दा कविता जैले तैले लेखिन्थ्यो । विश्वमा अनगन्ती स्रष्टा सरह मेरो साहित्यिक यात्रा पनि कवितामै हस्तलिखित पत्रिका ’दीपक’ राजबाड़ी दार्जीलिङबाट आरम्भ भएको थियो । “ … मेरो निम्ति स्रष्टा जति जम्मै कवि नै महान् छन् । र, यहाँनिर पनि कुरो यस्तो छ, पाउँछौं । कविता लेख्नु दैनिकी लेखन जतिकै एउटा कर्म मान्ने कवयित्री डा. लक्खीदेवी सुन्दासका- संभावित अर्थ समर्पित एकान्त भित्र परेका पैतीसवटा कविताले मात्र हामी कविताको गम्भीर पाठक सन्तुष्ट छैनौं । हुन्नौं अहँ । किन यति थोरै कविताहरू यो सङ्ग्रहमा ? खोई अन्य कविताहरू उनको लेखन आरम्भदेखि आजसम्मको त्रिसठ वर्षसम्म उनीबाट यति पैंतीस वटा मात्र कविता लेख्न सकिए त ? खोई ती लेखिएका अन्य कविताहरू, जो यस सङ्ग्रहदेखि बाहिर रहेका छन् सोच्छु यसरी पनि । तर उनका यति कविताहरूका पुस्तकले नै डा. लक्खीदेवीलाई यौटा शिखर कविको उँचाइ उभिएको देख्छन् । कविहरू, लेखकहरू, पाठकहरू । पढिएका उनका कविताहरू गाउँ, समाज, जाति, देश, राष्ट्रसित सम्बन्धित छन् । कविता उनको कुवा जमेको छैन त्यसरी । उनका कविता समुद्राने वेग भिन्नै छ । भिन्नै गतिमा गतिमान । कविताहरूमा फगत् कोरा भावुकता, फगत् नभएर देश, राष्ट्रप्रतिको चिन्ताबोध । भोगिएको, भोगाइएको स्थितिबोध । भोलिको नव पिँढी, समाज, देशप्रतिको सोचसित मान्छे, मान्छे हुनुदेखि उता सालिग हुँदै जानुको भयबोध आवाजले हामीलाई पछ्याइरहेको देख्छन्, सोच्छन् । र, डा. लक्खीदेवी आफ्ना कवितामा आफ्नो देशलाई अन्तरबाट जति—
के भएछ मेरो देशलाई
किन आर्यभूमि म्लेच्छको देश भएछ,
किन घृणा र हिंसा
रातो रगतमा कोरिएछ ?
सोच्छिन् । देशले तर उनीबारे सोच्छ, सोच्दैन, यस्तरी । यीबारे ! उनले कस्तरी सोच्ने, बुझ्ने गरेकी छिन् अहिले । किनकि समय नै त्यो तीनदशक पूर्वको छैन, वर्तमान । वर्तमान क्षणक्षणमा परिवर्तन वर्तमान छ । हाम्रो सामु खड़ा छ, हाम्रो सोच बाहिरको वर्तमान समय । कि हामीले हाम्रो देशलाई हाम्रो अन्तर छातीमा मुटुमा राखेर हामी हाम्रो देशप्रति जतिसक्दो श्रद्धा समर्पित छौं । हाम्रो समर्पण समर्पित हाम्रो देशले पनि उसरी नै सम्झिएको, बुझेको, देखेको हुनुपर्छ निश्चय । नत्र देशप्रति एकतर्फे समर्पण, समर्पितको अर्थ, मोल, महत्व आजका हाम्रो नव पिँढी र नव पिँढी सोझोपन उचित मान्न, ठान्न सक्दैन । र, एकतर्फी समर्पण, समर्पितको परिणाम समयले समयमा कस्तो विगुल फुकेर अत्तलाउँदैछ, वर्तमानलाई । यो पनि लेखकहरूको निम्ति बड़ो गम्भीर सोचको, चिन्ताको विषय छ । यस विषयलाई किञ्चित परतिर सार्नुहुँदैन, अबका लेखकहरूले ।
डा. सुन्दासका देश, राष्ट्र र आजका सालिङ मान्छेहरूप्रतिको दृष्टि चूली होचा छैन । यसरी उनले कविता चूलीबाट वर्तमान र वर्तमान बाँचिरहनेहरूलाई गरिरहेको सतर्क घोषणा सतर्क नहुनुदेखि बाहिर छैन । यस्ता कवयित्री हुन् नेपाली साहित्य जगत्मा एउटा चूली डा. लक्खीदेवी सुन्दास ।
उनीबाट— मेरा निम्ति स्रष्टा जति जम्मै कवि नै महान् छन्,” भनिए तापनि कविता लेखन यात्रा सिर्जना डा. सुन्दास, नेपाली भाषी कवि सम, देवकोटा, अगमसिंह गिरी, ईश्वरवल्लभ, वैरागी काइँला, भूपी शेरचन, मोहन कोइराला, पारिजात, अविनाश, तोया, वीरेन्द्रसँगसँगै अन्य भाषी कवि, रवीन्द्र, जिवान, इलियट, पाउण्ड, इटस, अखेल, माइकोवस्की, नेरूदा आदिबाट प्रेरित, प्रभावित छिन् । यतिका कविहरू र उनीहरूका कविताहरूसित जति जसरी प्रेरित, प्रभावित छिन् डा. सुन्दास, त्यही काव्य समुद्रभित्र हाम्रा विदूषी कवि अमृता प्रीतमका कविताप्रति रहेको कुरा गर्न कसरी भुलिन् होला उनले । साहित्य लेखनका विविध विधामा शिखर उभिन पुगेकी डा.लक्खीदेवी सुन्दास । सम्पादन क्षेत्रमा उनीबाट गरिएका सम्पादन कार्य हुन्,
१. अकादमी निबन्धावली – १९७६
२. सम्मेलन कथा सङ्ग्रह – १९८३
३. सम्मेलन कविता सङ्ग्रह – १९८६
४. शिवकुमार राईका कथासङ्ग्रह — १९९६
५. गुमानसिंह चामलिङका कविता – १९८४
६. भारतीय नेपाली नारी लेखन – साहित्य अकादमी दिल्ली
७. भारतीय नेपाली कथा – नेसलन बुक ट्रस्ट अफ् इन्डिया
यस्ता महत्त्वपूर्ण र समय सापेक्ष कृतिहरूको सम्पादन गरेर अर्को साहित्यिक सम्पादक चूली उभिन पुगेकी छिन्, डा. लक्खीदेवी सुन्दास । डा. लक्खीदेवी जीवनकालभर दार्जीलिङमा नै रहिन् । दार्जीलिङ त्यागेर दार्जीलिङ परतिर कतै जान चाहिनन् । दार्जीलिङप्रतिको अगाध मोह थियो, उनमा । तर उनीप्रतिको मोह दार्जीलिङभित्र के, कति, कस्तो छ, त्यो त दार्जीलिङलाई नै बोध छ ।
डा. लक्खीदेवी सुन्दासले यतिका उमेरसम्म आफ्नो भाषा, साहित्यको निम्ति दिएको योगदानका कारण उनी ‘भानु पुरस्कार’, ‘साहित्य अकादमी पुरस्कार’, ‘साहित्य महारथी-उपाधि सम्मान’, ‘रत्नश्री स्वणर्पदक’ लगायत भारत र नेपालबाट प्राप्त उच्च सम्मान र पुरस्कारबाट विभूषित छिन् ।
देश, विदेशबाट मान-सम्मान र पुरस्कारले विभूषित भाषा-साहित्यका नारीचूली, विलक्षण विभूति, महारथी डा. लक्खीदेवी सुन्दासको विषय साहित्य गरिनु, लेखिनु, हेरिनुका विविध पक्षहरू छन् । जो, समयमै हुन सकिरहेको जस्तो छैन । हुन थालिएको समेत त्यस्तो केही थाहा लागेको छैन । आरम्भ हुँदैछ कि कहीँ कतैबाट । अनिवार्य कार्यहरू समयमै । उनी हाम्रा उज्ज्वल तारा, साहित्य सूर्य जो मध्याह्नदेखि उताको त्यस डाँडामा छन् । तर हाम्रा पूर्व तारा, सूर्य जो डुबे इन्द्र सुन्दास, गुमानसिंह चामलिङ विषय हुनु, गरिनुपर्ने अति अनिवार्य आवश्यकीय कार्यप्रति हाम्रा जाति, भाषी साहित्यले जुनप्रकारको अनदेखा गरिरहेको, बुझ पचाइरहेको छ, त्यस्तो हुने छैन नै हाम्रा नारीचूली डा. लक्खीदेवी सुन्दासप्रति । उहाँको योगदानप्रतिको यो सानो लेखकीय अभिव्यक्तिलाई थाम्छु यतिमै अहिलेलाई ।