Asmita Magazine

#

मेरो जीवनमा लेखनको महत्त्व

मलाई लाग्छ, जीवन एउटा यात्रा हो भने लेखन मेरो घरछेउबाट गुड्ने बस हो । मैले पैदल यात्रा छोटो दुरी मात्र गरेको छु । भन्नुको अर्थ, मेरो बाल अवस्थादेखि नै मैले लेख्नुमा मज्जा लिन थालें । आँसु, हाँसो र गम्भीरता यही लेखनका क्रममा महसुस गरेको छु । मेरा हितैषी साथी पनि प्रायः छैनन् । बसबाट देखिने रमणीय दृश्य क्षणभरमै छुटेजस्तो छोटो समयका लागि सम्बन्ध बन्छन् र ती बिस्तारै आफै बिलय हुन्छन् । त्यसको कारण म आफै हो । म लेखनतिरै ध्यानमग्न हुन्छु । सम्बन्धका बारेमा समय नदिँदोरहेछु । बोलचालको भाषामा भन्नुपर्दा म एकलकाँटे रहेछु ।

बच्चा बेलामा अति धेरै फतरफतर बोल्थेँ रे । आपाले मलाई ‘फतौरी’ नामले जिस्काउनुहुन्थ्यो । तर मेरो नाम चाहिँ सम्पूर्ण थियो । म जन्मेपछि परिवारमा सन्तानले पूर्ण भएको मानी सो नाम राख्दिनु भएको रे । हुन त पछि बहिनी पनि जन्मिई । उनको जयपूर्ण नाम राखिएछ । अहिले मेरो जीवनमा आर्थिक भरथेक उनैको छ । कहिलेकाहीं उनलाई पारिजातकी बहिनी ‘सुकन्या’ भनेर जिस्क्यााउँछु । ‘आफू पारिजात हुनुपर्यो नि’ भनेर मलाई उल्टै उल्याउँछे । आफ्नो आदर्श व्यक्तिजस्तो बन्न नसके तापनि कल्पना गर्न त कसले छेक्न सक्छ र, होइन ?

मैले थाह पाएदेखि नै आमा बिरामी हुनुन्थ्यो । क्षणक्षणमा बेहोश हुने । केहीक्षण सञ्चो हुने लाग्छाड बिरामी थियो । बहिनी ‘म त आमाको मयल पो खान्छुको’ भन्दै दुध चुस्थी । म छेउमा टुसुक्क बसेकी हुन्थें । भेट्न आउने जतिलाई आमाले भन्नुहुन्थ्यो, ‘म मरिजान्छु । यी दुई बालखालाई तिमेरको घरतिर बोलाएर एकडल्लो भात देओ है !’

नाम सुनेजानेको ओखतीमुलो, धामी खोज्ने काम दाजुदिदीको थियो । आमा थलिए पनि हामीलाई ठुली दिदीले कहिल्यै वात्सल्यको कमी हुन दिनुभएन । म सम्झन्छु उपद्रो । दिदीले नुहाइदिएर आँखा तन्किनेगरी कसिलो कपाल बाटिदिनुहुन्थ्यो । तर बहिनीसँग हामी हावामा धुलो उडाएर बाक्लो उडेको धुलोभित्र हराउँथ्यौं । त्यसो गर्दा खुब मज्जा आउँथ्यो । अनि साँझ म ठुली भएकी नाताले दिदीको पिटाइ पनि डबल थाप्नुपथ्र्यो । ‘अबदेखि त्यसो गर्दिनँ’ भन्यो, केहीदिनमा पारा उई ।

पछि आमालाई अस्पताल लगियो । अनि ठिक हुनुभो । अहिलेजस्तो रोगबारे जान्ने कुरा पनि थिएन । खास के भएको थियो आमालाई, त्यो थाहा छैन हामीलाई । आमा सञ्चो हुनुभएपछि त घरमा स्वर्ग छाइगयो नि । र, भन्छु आमा परिवारको रानी हो । परिवारको सुखको लागि सधैँ ठिकठाक रहनुपर्छ ।

म सात/आठ वर्षकी थिएँ हुँला । कलिलैमा स्कुल पठायो भने अरूले हेपेर कुट्छन् भन्ने आमाको मान्यता थियो । अहिलेजस्तो बच्चाको केयर हुँदैनथ्यो स्कुलमा । त्यतिबेला छिमेकी काका स्कुल जान अल्छी मानेर हामीसँग खेल्न आउनुहुन्थ्यो । उनले कापीमा के के लेखेर आफै मरिञ्जेल हाँस्नुहुन्थ्यो । मलाई बडो पीर पथ्र्यो । बेलुकी दिदीसँग सुत्ने भएकाले दिदीलाई पीर पोखेँ । अनि दिदीले ‘लू तँ पनि पढ्न आइज’ भनेर क, ख, ग सिकाउनुभयो । ईखले होला, त्यै राति सबै जानेँ । केही दिनमै मात्रा लागेका अक्षर पढ्न सक्ने भएँ । अहिलेसम्म पनि याद छ, ‘थैलीभरि पैसा छ । लहैलहैमा नचल ।’ यो मैले पढ्न जानेको पहिलो वाक्य थियो । पढाइ यति रफ्तारमा गयो कि, महिनादिन जतिमा जोड घटाऊ, गुनान्, भागा सबै पारा आयो । सय अङ्क चाहिँ आपाले भैंसी गोठाला गर्दै सिकाइदिनु भएथ्यो । घरमा गाईभैंसी, भेडाबाख्रा धेरै थियो । वर्षभरि जोरजोरै दुहुनो हुन्थ्यो । दाजुदिदी आमा हजुरआमा आपा सबै जवान थिए । अन्नबाली प्रशस्त हुन्थ्यो । किराँतीको घर भए पनि जाँड भन्दा गोरसतिर बढी ध्यान थियो । सान्दाजु लाहुरे हुनुन्थ्यो । घरखर्च उहाँले पठाइदिनु हुन्थ्यो । त्यस बेलासम्म मलाई अभाव भन्ने थाह थिएन सायद ।

दिदीले मलाई स्कुल पठाउने हुनु’भो । आपालाई वस्तु चरणमा छेकिदिने मान्छे भएन । त्यहाँ दिदी र आपाको निकै ठुलो चर्काचर्की सङ्घर्ष पर्यो । अन्ततः म स्कुल पठाइएँ । मेरो नाम सम्पूर्णबाट फेरिएर श्यामकुमारी भयो । घर टोलमा ठुलीकान्छी नामले बोलाइने हुँदा स्कुलमा जे नाम फेरिए पनि वास्ता लाग्दैनथ्यो ।

म हुर्किसकेकाले एकैचोटि तीन कक्षामा नाम लेख्न चाहनु’भो दाजुले । तर हेडमास्टरले दिनुभएन । अनि एक कक्षामै थन्किएँ । किताब घरमै राखेर कहिलेकाहीं मात्र स्कुल जान्थेँ । आपा मारुनी नाचको नाइके हुनुन्थ्यो । दिनभरि उहाँसँग म गीत लेख्न सिक्थेँ । पाठ्यपुस्तकमा नजान्ने कुरा केही थिएन । यता गोठालो सघाएकामा आपा पनि खुसी । मेरो पढाइ पनि त्यही पाराले चल्न थाल्यो । स्कुलको वातावरण पनि राम्रो थिएन । पुराना छात्रा साथीहरूले गुट बनाएर बिनाकारण एक्लो बनाइदिने । त्यस्ता दुईजना साथी थिए, जो पालैसाथ आ–आफ्ना गुट बनाउँथे । मलाई गुटमा रुची थिएन र मलाई एक्लो बनाइदिन्थे । स्कुल विरक्तलाग्दो हुन्थ्यो । म छुट्टी मागेर घर जान चाहन्थें । गुरुहरूले बिदा दिन्थेनन् । मेरो आँखा टिलपिल हुन्थ्यो । सायद आँसु देखेर बिदा दिनुहुन्थ्यो । त्यो अवस्था  शिक्षकलाई र घरमा पनि कसैलाई भन्न सक्दिनथें ।

केही वर्षपछि हेड सरको भतिजो एकैचोटि तीन कक्षामा ल्याइए । त्यसपछि मैले निहँु खोजेर म स्कुलै गइनँ । आपालाई वस्तु गोठालो सघाउन थालेँ । केही महिनापछि हेडसरले नै समाचार पठाउनुभएछ, ‘त्यो आओस् । जति कक्षामा पढ्न मन छ पढोस् ।’ त्यसपछि मुसुमुसु हाँस्दै गएर पाँच कक्षामा बसेँ । परीक्षामा दोस्रो भएर छ कक्षामा गएँ । मावी तहमा पुगेपछि फेरि सात कक्षामा पढ्ने भएँ । आधा पढिसकेपछि फेरि तिनै प्रा.वी.का हेड सरको चिठी पुगेछ, ‘त्यो श्यामकुमारी भन्नेलाई रोक्नू । हरेक कक्षा पढाएर पास गराउनू’ भन्ने । आधा सात कक्षा पढेर छ कक्षामा झारिएँ । त्यो बेला कम्ता रिसुट्टेको होइन ।

गाउँभरि प्रकाश कोबिदको उपन्यास चर्चामा हुन्थ्यो । मैले पनि केही पढेकी थिएँ । तिनै उपन्यास पढेर मैले नेपालीमा चिह्नहरू प्रयोग गर्न सिकेकी हुँ । तर कथा मन पर्दैनथ्यो, कोबिदको । जुन उपन्यासमा पनि एकातिर प्रेम अर्कोतिर विवाह परेर झमेलामा परेको कथा हुन्थ्यो । त्यसैको प्रभावले होला मैले प्रेमलाई एउटा झमेलाको रूपमा लिएँ । केही शिक्षकहरू, छात्र साथीहरूको प्रेम प्रस्तावले सताउन थालेको थियो । छात्रहरूसँग सरबर खेलिने खेल मैले बिस्तारै खेल्न छाडेकी थिएँ । रेडी खेल्दा मलाई मात्र छेकेको छेक्यै गर्ने, कबड्डी खेल्दा मलाई समातेपछि छोड्दै नछोड्ने, बल खेल्दा मलाई मात्र पास दिने हुन थालेपछि खेलमा पनि रेला बढी हुन थाल्यो । आकर्षण बुझ्न थालियो । कक्षामा शिक्षकको एकोहोरो प्रश्न गराइले त फाइदै गरेको थियो । तर शिक्षकसँग पनि अनुरोध गरेर ‘कसैले नजाने मात्र मलाई सोध्नुहोला’भनेर स्थिति सुधार गरेकी थिएँ । ‘श्यामकुमारी’नाम पुरानो ढाँचाको भयो भनी गुरुमाहरूले ‘शारदा’ नाम फेरिदिनुभयो । मलाई उहाँहरूको प्रिय छात्रा बन्ने सौभाग्य मिलेको थियो । पढाइमा अलिक राम्रो र अतिरिक्त क्रियाकलापमा अलिलि कमाल देखाएपछि स्कुले जीवनमा यसै स्टार भइने रहेछ । अहिले सम्झिँदा, म जुनकिरीजत्तिको स्टार थिएँ हुँला ।

चौध वर्षमा बल्ल–बल्ल सात कक्षामा पुग्न पाएको थिएँ । क्लास फट्को मार्न नपाएर यसै रिस उठिरहने भएको बेलामा पारी गाउँकी साथी नजिक भइन् । उनले एकदिन ‘पल्लो डाँडासम्म जाम, अलिक माथिसम्म जाम, अलिक तलसम्म… हुँदै हामी दिक्तेल जिल्लाको मान्छेलाई उनको फुपुको घर भोजपुर जिल्ला पुर्याइछन् । नाम मात्रको फरक जिल्ला, दुरी भने लगभग तीनचार घण्टाको होला । उनको फुपुले भोलिपल्टै मैले चाहेको कक्षामा नाम लेख्दिने भए । स्कुल पनि नजिक । दश पास गर्ने बित्तिकै काठमाडाँै पढ्न पठाउने । आई.ए. सक्ने बित्तिकै अमेरिका पढ्न पठाउने कुरा मेरो सामु राख्नुभयो, जसको लागि उहाँको छोरोसँग बिहे गर्नुपर्ने सर्त आयो । मैले जे चाहेको त्यही हुने भएपछि कहिल्यै नदेखेको केटोसँग म बिहे गर्न राजी भएँ । तर केटो मेरो नामसँग राजी भएनन् । उनैले ‘विजय, क्रान्ति र प्रगति’ तीनवटा नाम छान्न दिए । मैले ‘प्रगति’नाम छानेँ । म ‘प्रगति’भएर नौ कक्षामा पढ्न चाहन्थें, तर जिल्ला स्तरीय परीक्षा दिनु अनिवार्य भएकाले फेरि आठ कक्षामै रोकिएँ । कक्षा फड्को मार्नकै लागि पोइलो गएर स्कुल फेरेको पनि क्यै कामै भएन ।

केही दिनपछि एक बिहान उनले हरियो पोते र सिन्दुर लगाइदिए, मैले उनको गोडा ढोगेँ । हाम्रो विवाह भएछ । स्कुल जाने बेला भएकाले खाना खाएर स्कुलतिर लाग्दै गर्दा घरछेउको धारामा उनले पोते झिक्न लगाए । सिन्दुर र टीका पनि पखाल्न लगाए । उनले पनि निधारको टीका पखाले । हामी सदा झैँ भएर स्कुल गयौँ ।

तर केही महिनामै थाह भयो, विवाह भनेको त कहिल्यै हतियार नछोएको मान्छेलाई एकैचोटि गोलीगट्ठा भिराएर युद्धमा होम्नुजस्तै रहेछ । कहिल्यै नसोचेको समस्याहरूको रणमैदानी युद्धमा होमिएँ । मेरा किशोरावस्था, युवावस्था कहिले सिद्धियो, भेऊ पाइनँ । एकैचोटि उनन्तिस वर्षको हुँदा मैले आफ्नो जन्मदिन सम्झिएँ ।

मलाई बिस्तारै थाह हुँदैगयो । म पीडा र अन्यायबारे बोल्न सक्दिनँ तर चुपचाप लेख्न भने सक्दोरहेछु । यसैले म अलिअलि लेखेर आफ्नो विचार विस्तार गर्न चाहन्छु । जीवनमा कति आशा निराशा छाए, ती हरक्षणमा मैले लेखनको सहारा लिएर पीडालाई अदेखा गर्न सक्दोरहेछु । झनझन थाह हुँदैगयो, बोल्न नसक्ने, सिर्फ सहिबस्ने म मात्र होइन रहेछ, सिङ्गो मेरो जाति नै भेडाले झैँ पिडा सहेर सदियौंदेखि बाँच्दै आइरहेका रहेछन् ।

अझ भनौं, मजस्ताका जन्मले परिवारमा आशा होइन, निराशा थप्दोरहेछ । ‘छोरी अर्काको घरजाने जात’ भन्ने भाष्यले पराय हुनुको पिडा भोगिरहेको रहेछ । जसको विरुद्धमा कैयन् दिदीहरूले विवाहै नगरी बस्दिएछन् । विवाह भएकाहरूले पनि ‘छोरो जन्मियोस्’ भनेर कामना गर्दागर्दै छोरी जन्मिएपछि पीरको पहाडले थिचिँदा रहेछन् ।

अन्ततः आफ्ना जातिकै जन्मलाई गर्वमा बदल्न ‘छोरीलाई वंशाधिकार’को स्लोगन लिएर मेरो लेखन बढ्न थाल्यो । छोरीले काम नगरेर होइन, अधिकार नपाएर चाहिँ अपहेलित भएकी हुन् । हरेक छोराले राम्रो काम गरेर मात्र सम्मान पाएका होइनन् । उनीहरूबाट वंश निरन्तर हुने भएकाले उनीहरूमाथि भरोसा जागेको हो ।

यसैको बहसमा मेरा उपन्यासहरू ‘लेखककी स्वास्नी’र ‘थाङ्ग्रा’ उभिएका छन् । मलाई यो पनि थाह छ, मेरो लेखन आधाप्रतिशत महिला र छोरीका अभिभावकले नै मन पराउँदैनन् । तर पनि समाज परिवर्तनमा एक एक थोपा विचारको प्रवाहलाई पर्खन सक्नुपर्छ । यो कुरा राम्ररी थाहा छ ।

त्यसैले, छोरीले समाजमा आफूलाई स्थापित गर्न के कस्तो दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्दछ भन्ने बहसमा मेरो अर्को किताब आउने छ । त्यसैको विचार मन्थनमा मेरा समय खर्च भइराखेको छ । साथमा फतरफतर बोल्ने सात वर्षे नाति छ । मेरो फतौरी नाम आजकल उसलाई दिएकी छु । आफ्नो बालावस्था उसमाथि हेरेर मख्ख पर्छु । ‘कति हेरिरा’को ?’ भनेर ऊ झर्किन्छ । म भने जति हेरेर पनि अघाउदिनँ । ऊ देखेजति सामान मलाई देखाएर लिभिङथिङ र ननलिभिङथिङ भनी बुझाउन खोज्छ । म किताबलाई लिभिङथिङ भनेर किताबको पावर बताउँदै डेफिनेसन दिन्छु । हाम्रो चर्काचर्की बहस चल्छ । बसाइ दुईजनाको मात्रै भए पनि बिहान बेलुका हल्लाले घर थर्किन्छ । दिनमा भने म लेखनमा घोत्लिन्छु ।

फुर्सदिला साथीहरूले सोध्छन्, ‘कता लापत्ता हौ ? कसरी टाइम पास हुँदै छ त ?’

त्यसो भन्नेको मुखाँ प्वाक्क हान्नुजस्तो झोंक चल्छ । तब न एकलकाँटे मान्छे परेँ ।

Author

  • साहित्यकार प्रगति राई कवितासङ्ग्रह बादी विज्ञप्ति (२०६६) र उपन्यास लेखककी स्वास्नी (२०७०)मार्फत नेपाली साहित्य जगतमा आफ्नो बेग्लै पहिचान बनाउन सफल लेखक हुनुहुन्छ । महिला, सीमान्तकृत समुदाय तथा सामाजिक समानताका विषयलाई प्रखरताका साथ प्रस्तुत गर्नुहुने राईको पछिल्लो उपन्यास थाङ्ग्रा (२०७९) हो ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के