गगनभेदी चित्कार
अनि मर्मभेदी आर्तनादहरूसितै
लिएर आफ्नो धमिलो परिचय
ओर्लिएकी छु म पनि आज मूल सडकमा।
देखिरहेछु कसरी एक चक्रवाती हुरीले
धुलिसात् हुन लागेको छ एक अस्पष्ट आकार
मात्र अग्लाइ छ जसको अरू आयाम छैन
मात्र तीक्ष्णता छ कुनै विस्तार छैन
पुरूषत्वको त्यो विखण्डित दम्भ
चूर चूर भएर भुइँभरि पोखिएको छ
भर्खरै एउटा हुरीले विद्रोह गरेको छ।
सुनिरहेछु कसरी तिम्रा दर्पका अवशेष
आफैमा ठोक्किँदै चोइटिरहेछ
कसरी नर पशुताका झिना मसिना अणुहरू
ब्ल्याकहोलले निलिरहेछ
कसरी तिम्रा सौष्ठवको खोक्रोपना
दावानलमा हुर्हुर जलिरहेछ
भर्खरै एउटा ज्वालाले विद्रोह गरेको छ।
लज्जा र भय रोपिएका निस्तेज आँखाहरू अब रक्तिम हुनेछन्
सत्ताका क्रूर पञ्जाबाट लुटिएको ज्योत्सना खोस्नेछन्
वेदनामा रमाउने अवरूद्ध कोमलता
अब लम्किनेछन् अनन्त नीलो विस्तारतर्फ पखेटा फिँजारेर।
रूँदै, लुक्दै, भाग्दै गरेका फ्लेमिङ्गोका गुलाफी बगाल होइन यो
भूकम्पको ताल हो
प्रकम्पको राग हो
अनि सामूहिक गीत हो हुरीको ।
बौलाहट हो, आफैलाई आफूअघि उभ्याउने
उडान हो, आफ्नो आकाश पहिल्याउने
आऊ,
हाम्रा शरीरका भूगोलमाथि हैकम जमाउने
हाम्रो उज्यालो खर्लप्पै निलेर सभ्यता उमार्ने
समातेर षडयन्त्रकारी समयको कठालो
च्यातिदिऔं त्यसको कपटी मखुण्डो
झुन्ड्याइदिऔँ चोकबीच उधोमुण्टो
अनि गरौं घोषणा
तेस्रो महासमरको।।