Asmita Magazine

#

सीपको सुवासमा सङ्‌गीता

आदिवासी जनजाति समुदाय थाङ्मी (थामी) को उद्गम थलो दोलखा हो । उनीहरू मुख्यतः दोलखाको सुस्पाक्षमावती, खोपचागु, आलम्पु, विगु, कालिञ्चोक, लापिलाङ र लाँकुरीडाँडामा बसोबास गर्छन् । यस बाहेक सिन्धुपाल्चोक पनि थामी समुदायको बाक्लो बसोबास भएको जिल्ला हो । उनीहरूले थामी भाषा बोल्छन्, जो नेपाल भाषासँग सम्बन्धित छ । यस भाषाको लिखित लिपि भर्खरै तयार पारिएको छ । उनीहरूको आफ्नै भाषा, भेषभूषा र धर्म छ । थामी समुदायलाई सोझो, मिहिनेती जातिमा गनिन्छ ।

राष्ट्रिय जनगणना (२०७८)अनुसार थामीहरूको जनसङ्ख्या ३८,००० मात्र छ । उनीहरूमध्ये केकोही किराँत र केही बौद्ध धर्मावलम्बी पनि छन् । प्रकृतिसँगको निकटतामा रमाउँदै आएको थामी समुदायका पुरुषहरू शिकार गर्ने गर्थे भने महिलाहरू मौलिक सीपको श्रममा व्यस्त रहन्थे । तर पछिल्लो समय बढ्दो पर्यावरण विनाश तथा विकासका नवयोजनाहरूले उनीहरूको पुरानो पेशामा सङ्कट पैदा गरिदियो । बिस्तारै उनीहरू कृषिमा पनि संलग्न भए । तथापि जमिन अभाव तथा उब्जनीको बेठेगानमाझ उनीहरू दैनिक ज्यालादारीमा लाग्न बाध्य भए । यसैक्रकममा धेरैजना राम्रो काम खोज्न भारत पलायन भएका छन् । थामी कुलका केही उच्च वर्गका सदस्यहरू भुटानमा पनि बस्दै आएका पाइन्छन् । उनीहरू मुख्यतः रोजगारीको खोजीमा अन्यत्र जाने गरेका छन् ।

दोलखाको विगु गाउँपालिका–६ आलम्पूमा ढुङ्गाखानी छ । उक्त ढुङ्गाखानी नेपालकै ढुङ्गाखानीमध्ये उत्कृष्टमा गणना हुन्छ । यस वडामा थामी समुदायको मात्र ९९ प्रतिशत जनसङ्ख्या रहेको मानिन्छ । उक्त ढुङ्गाखानी पनि थामी समुदायले नै वर्षौदेखि भोग चलन गर्दै आएका छन् । उनीहरूको जीविकोपार्जनदेखि आयआर्जनको पाटो त्यही ढुङ्गाखानीलाई मानिन्छ । यही ढुङ्गाखानीमा काम गर्थे सङ्गीता र कमल थामीको परिवार । उनीहरूले ठेकेदारले अह्राए अनुसार विभिन्न गाउँमा ढुङ्गा बोकेर पुर्‌याउने काम वर्षौसम्म गर्दै आए । पछि गौरीशङ्कर संरक्षण क्षेत्रले ढुङ्गाखानीमा कानुनी प्रक्रिया खोजेपछि त्यो अहिले बन्द जस्तै छ ।

समयक्रमसँगै बिस्तार मान्छेहरूले घरमा ढुङ्गा छाउन छाडेर जस्तापातातिर आकर्षित हुन थाले । जसले गर्दा ढुंगाढुङ्गाखानीमा आश्रित थामी परिवालाई दैनिक जीविका चलाउन गाह्रो भयो । त्यसपछि रोजगारीको खोजीमा सङ्गीताका श्रीमान् कमल काठमाडौँ पसे । सहज काम र राम्रो दामको आशा बोकी काठमाडौँ छिरेका कमललाई काम पाउन निकै कठिन भयो । निकै समय कामको खोजीमा चप्पल खियाएपछि उनी एउटा ब्याग बनाउने कारखानाको सम्पर्कमा पुगे । पहिलेबाटै मेहनती कमलले निकै दुःख गरी काम सिके । बिस्तारै उनको सीप र मेहनतले नतिजा दिन थाल्यो । त्यही क्रममा उनले श्रीमती सङ्गीतालाई पनि काठमाडौँ बोलाए र त्यही कारखानामै काममा लगाए । जागरिला जोडिडी दिनरात काममा खटिए । हातको सीप र मेहनतले गर्दा उनीहरूको आम्दानी बढ्यो । लगन र इमानका साथी उनीहरू त्यही कारखानामा २० वर्षसम्म काम गरे ।

सुरु सुरुमा श्रीमान् कमल थामीले काठमाडौको ब्याग उद्योगमा काम गर्दा १३ सय तलवमा काम गरेका थिए । पछि उनी त्यस उद्योगमा काम गर्नेहरूमध्यकै दक्ष कामदार बनेपछि महिनामा ४० हजारसम्म तलब पाउन थाले ।

सङ्गीताले दुई दशक अवधिमा दजर्नौ किसिमको ब्याग बनाउन सिकिन् । बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म अर्काको उद्योगमा सिकाई र काम दुवै भएपछि ब्याग बनाउन दक्ष भइन् उनी । अर्काकोमा काम गर्दा समयमा जानुपर्ने, सानातिना कमिमीकमजोरीमा पनि गाली खानुपर्ने, कामअनुसारको दाम नपाउने जस्ता धेरै समस्याहरूको पनि उनले सामना गरेकी थिइन् ।

समयक्रकमसँगै सङ्गीताले ब्याग उद्योगमा काम गरेर प्राप्त गरेको अनुभव र सीपको सदुपयोग गर्न आफ्नै जिल्लामा व्यवसाय गर्ने निर्णय गरिन् । त्यसैले उनले २०७३ सालमा घरेलु तथा साना उद्योग विकास समिति चरिकोटमा रेणु ब्याग तथा ट्राउजर उद्योग दर्ता गरिन् । उद्योग दर्ता गरे पनि लगानी गर्ने पैसा नभएपछि उनले सहकारी, लघुवित्त आदिबाट लगभग १० लाख जत्ति ऋण निकालेर उद्योग सञ्चालनमा ल्याइन् ।

ब्यागको मोडेल हेरी फरक फरक किसिमको मेसिन चाहिने भएकाले उनले ६ वटा मेसिन किनिन् । त्यसको साथै सामान्य ब्याग तयार पार्नका लागि कपडा, रनर, जिफर, मार्सल, टेप, कैँची, प्रिन्टर, इलाष्टिक, फर्म जस्ता सामानहरू चाहिन्छ । यी सामानहरू पूरा नभईकन ब्याग तयार हुँदैन । त्यसैले सुरुकै लगानीमा यी सबै सामानहरू पूरा गर्नुपर्ने अवस्था थियो, जसले गर्दा लगानी बढेको थियो । सुरु सुरुमा ग्राहक पाउन पनि निकै गाह्रो भयो उनलाई । दुई दशक जिल्लाभन्दा बाहिर बसेकाले स्थानीयसँगको चिनजान पनि कम थियो । नयाँ व्यवसाय भएकाले ग्राहकलाई बुझाउन र विश्वास दिलाउन उस्तै मुस्किल भयो । लगानी थोरै भएकाले आएका ग्राहकको अर्डरअनुसारको सामान तयार गर्न पनि सक्ने अवस्था थिएन । अर्कोतिर नियमित रूपमा ब्याज तिर्नुपर्ने बाध्यता । यी र यस्तै समस्याले गर्दा केही वर्ष उनले चुनौती नै चुनौती मात्र भोग्नु पर्यो । तिनै चुनौतीको सामना गर्दै सङ्गीताले आफ्नो व्यवसाय टिकाउने उपयुक्त क्ने वातावरण सिर्जना गर्न थालिन् ।

नजिकैका विद्यालय र , पसलहरूमा पुगेर आफ्ना सामानहरू देखाउन थालिन् । उनले काठमाडौकै मूल्यमा आफ्ना ब्यागहरू दिन थालिन् । बजारमा भित्रिएका ब्यागहरूको कपी गरेर त्यही मोडेलमा ब्यागहरू उत्पादन थालेपछि ग्राहकहरू दिन प्रतिदिन बढ्न थाले । सामानमा केही समस्या आएमा एक पटकलाई निशुल्क रिपेयरिङ गर्न थालेपछि ग्राहक सङ्ख्यामा झन् वृद्धि भयो । उनले दुईसय पचास २५०देखि पन्ध्रसय रुपैयाँसम्म पर्ने विभिन्न किसिम र मोडलका ब्यागहरू उत्पादन र बिक्री गर्ने गर्छिन् । उनको उद्योगमा अहिले १२, १३ किसिमका ब्यागहरू उत्पादन हुने गर्दछन् । कहिलेकाहीँ त एकै महिनामा छ सय ६०० वटा ब्याग तयार पारेको अनुभव पनि छ सङ्गीताको ।

विशेषगरी चाइनिज मोडलका ब्यागहरू बढी उत्पादन गरिन्छ । स्कुल, सङ्घसंस्था, पसलहरूले थोक मूल्यमा लाने गर्दछन् । एउटै स्कुलले २५० वटाभन्दा बढी ब्याग पनि लगेका छन् । व्यक्तिहरूले पनि बजारमा भित्रिएका नयाँ मोडलका ब्यागहरू अर्डर दिने गर्दछन् । बढी मात्रामा लेडिज ब्यागहरू अर्डर आउने भएकाले आएको अर्डर धान्नै गाह्रो हुन्छ, कहिलेकाहीँ । ग्राहकको अर्डरलाई भनेकै समयमा पूरा गर्नको लागि बिहान ६ बजेदेखि रातिसम्म पनि खट्नु पर्ने बाध्यता हुन्छ । सिजनमा चार पाँच४,५ जना बाहिरको जनशक्ति प्रयोग गरे तापनि अधिकांश समय श्रीमान् कमल र उनले नै काम गर्ने गरेका छन् । अर्धदक्ष कामदार राख्दा भनेजस्तो काम नहुने र सिकाउँदा सिकाउँदै दिन जाने भएकाले प्रायः आफैले काम गर्नुपर्ने बाध्यता पनि पर्छ ।

ब्यागको साथै आजकल उनको उद्योगले जाडोमा बढी प्रयोग हुने जाकेट, ट्राउजरहरू पनि उत्पादन गर्न थालेको छन । लेडिज र जेन्स दुवैलाई हुने ज्याकेट र ट्राउजर वर्षको एक सिजनमा ६ सय सेटभन्दा बढी बिक्री गर्दै आएका छन् । सिलाईसम्बन्धी सबै खालको सीप भएकाले पनि उनलाई ग्राहकको इच्छालाइ पूरा गरिदिनने सजिलो गरेका छन् । उनको जस्तो व्यवसाय चरिकोटमा अरूको नभएकाले पनि जोकोही उनकै उद्योगमा ठोकिन आउने गरेका छन् । अहिलेसम्म थामी समुदायबाट उद्योग सञ्चालन गरेको सङ्गीता र कमल थामी मात्र हुन् ।

सङ्गीताको सीप र व्यवसाय गर्ने निर्णयका कारण आज यस थामी परिवारले छोरा र छोरीलाई स्कुलमा पढाउन सकेका छन् । छोराछोरीको भविष्य बनाउन पाएकामा आफ्नो पेशाप्रति गर्व गर्छिन् सङ्गीता । गाउँको घर छोडेर भीमेश्वर नगरपालिका–६, चोथाङमा एउटा घर पनि बनाएकी छिन् । अहिले उनलाई चरिकोटमा मासिक ८ हजार भाडा तिर्न त्यत्ति गाह्रो छैन । दिन प्रतिदिन उनको व्यवसाय फैलिँदो छ । सुरुमा चरिकोटका केही पसलमा मात्र बिक्री हुने ब्याग अहिले सिंगटी, जिरी, शिवालय, तामाकोशी बजारसम्म अर्डर र बिक्री हुन थालेका छन् ।

भविष्यमा आफ्नै ब्राण्ड लोगो आरबीटी बनाउने साथै यहाँ उत्पादन गरेको ब्यागलाई जिल्लामा मात्र नभई देशभर पुर्‌याउने लक्ष्य राखेकी छिन् । सङ्गीताको मिहिनेत र परिश्रमको उच्च मूल्याङ्कन गर्दै घरेलु विकास समितिले गत वर्ष सम्मान गर्नुका साथै एउटा मेसिनसमेत अनुदानस्वरूप प्रदान गरेको थियो । त्यसपछि झन् उनमा उत्साह, जाँगर बढेको छ । अहिले ग्राहकहरू उनलाई खोज्दै आएर अर्डर दिने गरेका छन् । सबै खर्च कटाएर पनि उनले वार्षिक दुईदेखि तीन लाखसम्म कमाई गर्न थालेकी छिन् । उनको सफलताले थामी समुदायलाई उत्साहित बनाउनुका साथैतथा सङ्गीताले जस्तै सीप विकास गरी व्यवसायमा लाग्ने प्रेरणा प्रदान गरेको छ । हातमा भएको सीप र मिहिनेतले गर्दा सङ्गीता आर्थिक रूपमा सशक्त, आत्मविश्वासी र एक उदाहरणीय पात्र बनेकी छिन् ।

Author

  • पेसाले पत्रकार जीवन लामा कालिञ्चोक सामुदायिक एफएम दोलखाका स्टेशन म्यानेजर तथा चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ । साहित्यका विविध विधामा कलम चलाउदै आउनुभएका लामाले आदिवासी जनजाति तथा सीमान्तकृत वर्ग समुदायका विषयलाई कवितामार्फत उठाउनु हुन्छ । उहाँको निर्दोषी मान्छे (२०७२) र चौसट्ठी वर्गमिटर (२०७८) कविताकृतिहरू प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के