आन्टी !“एउटा डिउ दिनुहोस् न..”
“कान्छा एउटा डिउ दे त !”
(कान्छाले फ्रिजबाट डिउ निकालेर दिँदै )
“बहिनी तपाईँहरूले यस्तो लुगा लगाउनै पर्छ हो ?”
(हाँस्दै ) “हो नि आन्टी !. म त मुस्लिम समुदायको हो नि!
हामी मुस्लिम महिलाहरूले यस्तो लुगा लगाउँछौँ।”
“ए ए!तर तपाईँहरूकै देशमा बस्दा मात्रै लगाए हुँदैन र ?”
तपाईंको देश ?? यो शब्द सुनेपछि अकमक्क परे म !
यो मेरो र ती वानेश्वरमा ठुलो पसल खोलेर बसेकी आन्टीको बिचको संवाद हो। तिनी आफू ठुलो कुर्सीमा बसेकी थिइन् र एउटा युवकलाई सहायकका रूपमा काम गर्न राखेर आफू साहुनी बनेर बसेकी थिइन् । अचानकको उनको त्यो वाण रूपी शब्दले यो हृदयमा च्वास्स नै घोच्यो र मेरो मनमा यी प्रश्न र विचारहरू एकाएक आउन थालेँ।
“जीवनको ३५औँ वसन्त यही भूमिमा पार गरिसकेकी म, यो देशकै माटोमा हरेक असार १५ को दिनमा अन्न उब्जाउन असारे गीत गाउँदै धान रोप्ने म, हरेक पाँच वर्षमा हुने निर्वाचनमा आफ्नो प्रतिनिधि चुनिसकेकी म, श्रीमान् गम्भीरदेखि लिएर सयौं थुँगा फूलका।।..सम्मको राष्ट्रिय गान छातीमा हात राखी देशप्रति श्रद्धा भाव बोकेर शिर ठाडो परेर नेपालीत्वको भावना लिई गाउँदै आएकी म आज बिजुलीको बिल भुक्तानी गरेर घर फर्किंदै गर्दा एकाएक पसलमा भेटिएकी व्यक्तिबाट आफू देश निकाला पो भएँ…..
आदि इत्यादि विचारले म आफैंदेखि अचम्मित भएँ।
नेपाली हुन के मैले एउटा परिचय पत्र बोकेरै हिँड्नु पर्ने हो ? ती साहुनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन्।आफ्नो स्वाभिमानमाथि यस्तो प्रश्न त म जस्ता बुर्का लाउने नेपाली मुस्लिम महिलाहरूले धेरै नै भोग्नुभयो होला। एकदिन कौतुहलपूर्वक मैले मेरी सङ्गिनीलाई सोधेँ, “तिमीले तामाङ लुगा लगाउँदा तिमीलाई कस्ता टिप्पणी गर्छन्?” तिनले भनिन, “मलाई त सबैले ओहो!कस्तो आफ्नो कला संस्कृतिको जगेर्ना गरेको होला है भन्छन् ।।।”
एकछिन घोरिएर सोचेपछि मेरो मनमा एउटा विचार आयो। गर्न त मैले पनि त्यही नै गरेकी हुँ ।नेपालसँगको मेरो नाता मेरो जन्मसँगै नै सुरु भएको हो। यो देशमा हरेक विपत पर्दा अरु नेपाली जस्तै मनमा पिडा लिई अल्लाहसँग त्यसको निमित्त प्रार्थना गरेकी हुँ । देशले विश्वकप क्रिकेटमा छनौट हुँदा टोलभरिका छिमेकीलाई बिर्यानी बनाएर खुवाएँ। मात्र बुर्का र हिजाब लगाउँदा के ती दु:ख र सुखमा कमी आउँछ त? हुन त यो पनि एउटा सङ्घर्ष नै हो !
नेपाली भएर आफ्नो नेपालीत्व खोज्नुको सङ्घर्ष…..
देश २०६३ जेठ ४ गते नै धर्म निरपेक्ष राज्य घोषणा भयो तर के त्यो कागजमा मात्र थियो त?
२४० वर्ष लामो राजतन्त्र समाप्त भई गणतन्त्रको स्थापना भयो? केका लागि? यही माटोमा रगत, पसिना बगाई यही माटोबाट अपहेलित हुनुको पिडा असह्य छ।
नेपाल एक स्वतन्त्र देश हो, जहाँ सबैलाई आफ्नो अधिकार प्रयोग गर्ने स्वतन्त्रता छ । इतिहास पल्टाई हेर्ने हो भने देशको स्वभिमान बचाउन बालक, महिला, पुरुष, वृद्ध सबैको समान सहभागिता रहेको पाइन्छ । नेपालमा धर्म, लिङ्ग, जातजातिमा समानता हुनुपर्छ भन्ने कुरालाई संविधानमा नै उल्लेख गरिएको छ ।कुनै पनि व्यक्तिलाई कुनै किसिमको भेदभाव गर्नुहुन्न भन्ने कुरा उल्लेख गरिएको छ तर के यो व्यवहारमा लागु गरिएको छ त?
अरूका निम्ति जता जता गए पनि सबैभन्दा पहिलो प्रश्न, “तपाईंको शुभनाम के पर्यो होला ?” भन्ने संवादबाट अगाडि बढ्ला तर मसँगको संवाद “ तपाईं कुन देशबाट अथवा भनौँ क्या आप पाकिस्तान से है?” बाट सुरु हुन्छ! यो संवादलाई पनि सहजै लिएर अगाडि बढ्दा पनि सङ्घर्षको कथा यहीँ सकिँदैन र यो चेतना मानिसहरूमा आउन अझै समय लाग्ला त्यो पर्खाइको साङ्घर्षिक सौन्दर्यलाई आत्मसात गरी देशका लागि अघि बढी नै रहनेछु।
यो त थियो पहिचानको सङ्घर्ष तर एक मुस्लिम महिलाले के यो मात्र सङ्घर्ष भोग्नुपरेको छ र?
सामाजिक सङ्घर्ष
एक त महिला, त्यसमाथि मुस्लिम महिला, समाजको र पितृसत्ताको दोब्बर भार खेप्ने देशको सिर्जनशील, सचेत प्राणी! भन्ने गरिन्छ कि महिला र पुरुष एक रथका दुई पाङ्ग्रा त हुन् । हुन त हुन् तर रथ सम्हाल्ने, चलाउने, मिलाउने, सफा गर्ने, पाङ्ग्रा बिग्रिएमा बनाउने यहाँसम्म कि चल्दै नचलेमा जबर्जस्ती धकेल्ने अपेक्षा पनि महिलाबाट नै गरिन्छ।के यो सामाजिक पछ्यौटेपन होइन र ?
महिला सङ्घर्षको कथा त परापूर्व कालदेखि नै चलिआएको छ, जसका थुप्रै कथाहरू लेखिए, शोधपत्रहरू बनाइए, कार्यशाला गोष्ठीहरू सम्पन्न भए तर ग्रासरुटका महिलाहरूको सङ्घर्षको कथा अझै पनि उस्तै छन्, ती पहिले पनि पीडित थिए, आज पनि छन् । सहरका केही भागहरूमा जनचेतना आए, धनाढ्य र उच्च वर्गका महिलाहरू फ्रन्टलाइनमा आए तर ती सब महिलाहरू जुन आज पनि महिला भएकै कारण दबिएका छन्, तिनीहरूका सङ्घर्ष सौन्दर्यमा बदल्न अझै दशकौं लाग्नेछ।
मलाई अझै पनि झल्झली याद छ, त्यो दिन जब झमझम पानी परिरहेको थियो, मेरी एक मित्र काखमा ६ वर्षको बालिकालाई च्यापेर पानीमा दौडिदै थिइन्। “कहाँ जाने” भन्ने प्रश्नमा उनको उत्तर थियो, क्लिनिकमा बच्चालाई चिकित्सककोमा देखाउने । जब मैले सोधेँ (चिनेजानेको भएकाले) कि बच्चाको बुवा किन आउनु भएन ? उनको उत्तर थियो, “उहाँ थाकेर आउनुभएको छ, अफिसबाट त्यसैले म नै आएँ । ” तत्कालै मैले अर्को प्रश्न गरेँ, “ तिमी चाहिँ थाकेकी छैनौ, तिमी पनि त त्यहीँ बैंकमा काम गर्छौ ?” उनी केही नबोली हिँडिरहिन्।म पनि छिमेकीको कर्तव्य सम्झी उनकै साथी भइदिएँ केही क्षणलाई … हिँड्द गर्दा मनमा अनेक कुरा आए।बच्चा त दुवै जनाको हो, जिम्मेवारी पनि दुवैको हो तर तनाव किन महिलालाई मात्र ….?
यो त एउटा सानो उदाहरण मात्र हो, यस्ता कैयन् क्षणहरू छन्, जुन महिलाहरूले हरेक दिन बाँचिरहेका छन् |
मेरी अर्की मित्र जहानाशींको पनि त्यस्तै नै कथा छ, जुन सुनिदिने यो समाज छैन । तीनवटा छोरी पाइसकेकी छन् तर परिवार अझै पनि छोराको नै बाटो हेर्दछन्। आज एक्काईसौं शताब्दी पुग्दा पनि समाज आफ्नो सोचका कारण पिछडिएकै छ।
एकजना छिमेकी मलाई भन्ने गर्नु हुन्थ्यो, “नानी संसारमा दुइटा मात्र जात छ, नारी र पुरुष ! जुन एक अर्काका सारथी हुन्” उतिखेर त्यो कुरा सत्य जस्तो लाग्थ्यो तर आज लाग्छ, त्यो त तितो यथार्थले छोपिएको भ्रम मात्र रहेछ।जब ठुलो हुँदै गएँ, मैले महसुस गरेँ! यहाँ दुईवटा जात त छन् तर माथिल्लो र तल्लो; पुरुष माथिल्लो र महिला तल्लो ! जहाँ महिला निकै नै दबिएका र पिल्सिएका छन् । यस्ता कैयन् उदाहरणहरू छन्, जहाँ महिलालाई चारभित्ते कोठामा सीमित गरिएका छन्। खुलेर स्वतन्त्रताको स्वास फेर्न पाएका छैनन् ।
हिजो कै कुरा हो, मेरी एकजना आन्टीले भन्दै हुनुहुन्थ्यो “ आजकल त मलाई तरकारी पकाउन नै मन लाग्दैन, जे पकाए नि मुख बिगार्नु हुन्छ ।” मैले उनैलाई पकाउन दिए भैहाल्छ नि त भन्दा उनको उत्तर थियो, “आम्मै नि मारिहाल्छन् नि! घरबाट निकालिदिन्छन् ।”
कस्तो विडम्बना मेरो देशका नारीको, जुन घरमा त्यत्रो वर्ष दु:ख गरेर सबको स्याहार सुसार गरेर बासिन्, त्यही घरबाट निकालिने ठुलो डर छ ! झल्याँस्स सम्झिएँ, महिला सशक्तीकरणको कार्यक्रममा सहभागी हुँदा एकजना वक्ताले बोलेको “महिलाहरू सक्षम छन्, महिला सशक्तीकरणमा हामीले काँचुली फेरेका छौँ” भन्ने भनाइमा जोडदार ताली पिटेका थियौं।तर ती वाक्यहरू, ती भनाइहरू केवल रोस्टमबाट भाषण गर्न, पत्रकार सम्मेलनमा जोडदार चर्चा गर्न र कुनै कार्यक्रमको अजेन्डा बनाउनको निम्ति मात्र प्रयोगमा आएका रहेछन्। यसको मतलब यो हैन कि परिवर्तन आएको छैन, काँचुली फेरेको छैन; छ परिवर्तन आएको छ तर कुनै समुदायका सीमित महिलाहरूमा मात्र… यस क्षेत्रमा काँचुली फेर्न अझै पनि धेरै समय, मेहेनत र चेतनाको खाँचो छ।
सम्पूर्ण अपमानित नारीको सम्मानमा…यस्ता भाव उठिदिन्छन्-
लिनु जन्म भएर नारी बन्दछ किन पाप
जगत्मा किन नारीको जन्म ठानिन्छ अभिसाप
किन लाग्दैन तिनलाई श्राप !!
जननी भनी गर्छौ पूजा जसको
अपमान गर्न सक्यौ कसरी उनको,
कसरी भुल्यौ प्रवेश तिमीलाई गराउने यस संसारमा
हो!त्यही नारी
जसको संसार भत्काएर बनायौ उनकै
जीवन उनैलाई भारी।
सृष्टि कर्ताले बनाएको सबैभन्दा सिर्जनशील प्राणी
हौ! तिमी मानव
बिन्ती! नदेखाइदेउ न त्यो प्रवृत्ति
जहाँ लाग्न थालोस् कि तिमी त रैछौ एउटा दानव!
मुस्लिम महिलालाई आजको आवश्यकता : शैक्षिक सङ्घर्ष
खालेद हुसेनीको किताब, “ द काइट रनर” पढ्दै थिएँ, त्यस किताबमा लेखेको एउटा वाक्यले सार्है नै मन छोयो।हुसेनी भन्छन्: विवाहले प्रतीक्षा गर्न सक्छ तर शिक्षाले सक्दैन। अवश्य पनि विवाह एउटा यस्तो चिज हो, जसले महिलालाई उमेरको हदभित्र राखिदिएको छ र पुरुषलाई कुनै उमेरको हद छैन।मुस्लिम महिलाको साक्षरता दर अन्य सबै समुदायका महिलाको तुलनामा कम छ। २० वर्षमा टेक्ने बित्तिकै मुस्लिम घरपरिवार र समाजमा विवाहका निमित्त केटा खोज्ने प्रक्रिया सुरु हुन्छ।२८/३० पुगुन्जेल त ती महिला समाजको आँखाको कसिंगर बन्न पुग्छिन्।
मर्ने या मारिने छैनौ जब जलेर
त्याग्न छोड्ने छौ जब सम्पूर्ण आफैं ढलेर
सुरक्षित रहनेछौ ती खराब नजरबाट जब
वास्तविक नारी दिवस मनाइने छ तब
काधमा काध राखेर हिँड्न पाइने छ तहिले
सङ्कुचित समाजमा खुलेर स्वतन्त्रताको श्वास फेर्न पाइने छ जहिले
कर्तव्यको नाममा पिल्सिन छाड्ने छौ जहिले
नारीले समान व्यवहारमा उत्सव मनाउने हो कहिले
छोरी, बुहारी, आमा, दिदी, बहिनीको रूपमा
समाजमा शिर उठाउने छौ जहिले
सुनौलो बिहानीको सुरुवात हुनेछ तहिले
छोड्ने छौ ठान्न आफैंलाई जब कमजोर
तिमीलाई झुकाउन चल्ने छैन कसैको जोर
छौ तिमी धेरै महान्
नबिर्स तिम्रै कारण छ यो विश्वको उच्च शान !!
युएनडीपीको मानव विकास सूचकाङ्कको तथ्याङ्कअनुसार मुस्लिम समुदायको मानव विकास ०.४२२ छ, जुन नेपालको सीमान्तकृत दलित समुदायको ०.४३४ भन्दा कम देखिन्छ। जति खर्च अथवा ऋण लिएर विवाहको तयारी गरिन्छ, त्यति नै तयारी त्यस महिलाको पढाइ लेखाइमा अथवा उसलाई आत्मनिर्भर बनाउनमा अथवा उसमा उद्यमशीलताको विकास गर्नमा खर्चिने हो भने मानव विकास सूचकाङ्कको तथ्यांकमा केही परिवर्तन आउनसक्ने सम्भावना देखिन्छ।यसका लागि राज्यले पनि उत्तिकै नै जिम्मेवारीका साथ नियम कानुनको कार्यान्वयनमा लाग्नुपर्ने देखिन्छ।हरेक वर्ष हामी सुन्ने गर्छौं, धेरै जना महिलाहरू दाइजोका नाममा प्रताडित भइरहेका छन्। दाइजो विरुद्ध कानुन त राज्यले ल्याएको छ तर के त्यो सही ढङ्गले कार्यान्वयन भएको छ त? यो सोचनीय विषय बन्न पुगेको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार, मुस्लिमहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ४.४% रहेको छ, जसमा साक्षरता दर ४४% रहेको छ भने मुस्लिम महिला साक्षरताको दर दयनीय अवस्थामा रहेको छ, जुन २६% मात्र छ।त्योभन्दा पनि अर्को विडम्बना भनेको मात्र १२% मुस्लिम बालिकाहरूले माध्यमिक तहको पढाइ पूरा गरेको देखिन्छ भने अरु मुस्लिम बालिकाहरू विद्यालयको ढोकाभन्दा बाहिर छन् ।
तसर्थ यसको निम्ति सरकार र सरोकार वालाहरूले हातेमालो गरी शिक्षामा लगानी बढाई कुशल नेतृत्वमा दीर्घकालीन र समयानुकूल योजना ल्याई कार्यान्वयन गर्न अति नै आवश्यक देखिन्छ ।
महिला सङ्घर्षका कथाहरूले थुप्रै नयाँ आयामलाई उजागर गरेका छन् तर आधा आकाश ढाकेका महिलाहरूको वास्तविक सशक्तीकरण तब हुनेछ, जब समानता, समता र साक्षरतामा कुनै किसिमको भेदभाव गरिने छैन।