न घरलाई घर कहिन्छ, नारी नै दरबार हो ।
एक मात्रै धर्मसाधन, नारी घरको द्वार हो ।
घरको देवी नारी नै हो, नारी घरको ज्योति हो ।…
(शुक्रराज शास्त्री, स्वर्गको दरबार)
पृष्ठभूमि
महिलाः सङ्घर्षको सौन्दर्यसँग सम्बन्धित आलेख अस्मिता हाम्रो अर्धवार्षिक जर्नलका लागि लेख्नु छ । लेख्नका लागि विषय धेरै उभिएका छन् : समाज, सभ्यता, सौन्दर्य कुन कुरा चाहिँ अलग होलान्, जुन विषय महिलाको मुद्दासँग जोडिन्नन् ? ‘अस्मिता’ पत्रिकामा छापिएका आलेखहरू पढ्न थाल्छु । मोफसलमा मेलवादेवीको स्वरसङ्गीतले सुसज्जित गीत ‘न घरलाई घर कहिन्छ’ गुन्जिरहेको छ । ‘अस्मिता’को पहिलो अङ्कको सम्पादकीय, शुभकामना, आलेखहरूले सोचमग्न बनायो । २०४५ सालमा ‘अस्मिता’ पत्रिकाको नामकरण गरिदिने पारिजातको शुभकामना अभिव्यक्तिले झस्कायो । देशका कुनाकाप्चाबाट युवा मात्र होइन, युवतीहरू पनि चुहिँदै, पोखिँदै गएको चित्रणमा सामुहिक हस्तक्षेपको उद्घोष बोध हुन्छ । शरीर बेच्ने परम्पराका विरुद्ध निडर उभिने उद्घोष छ, पारिजातको शुभकामनामा । बौद्धिक पुरुषहरूबाटै अभद्र आचरणको भुक्तभोगी आफै हुँदाहुँदै पनि पुरुष विनाको महिला आन्दोलन पारिजातले परिकल्पना गरेकी थिइनन् भन्ने कुरा अस्मितामा छापिएका केही आलेखहरूबाटै प्रस्ट हुन्छ । अझ एक शताब्दीभन्दा अघि गायन क्षेत्रमा समर्पित मेलवादेवीको अनुभव कस्तो होला, कल्पना गर्न सकिन्छ ।
सुसन मास्के र अन्जु क्षेत्री लिखित पहिलो अङ्कको सम्पादकीय ‘अस्मिताको आवाज’ पढ्दा जो कोहीको शरीर सिरिङ्ग हुन सक्छ । २०४५ साल ताकासम्म ११ प्रतिशत मात्रै नेपाली महिला साक्षर थिए, अर्थात् ८९ प्रतिशत महिला अशिक्षित, आफ्नो लक्ष्यप्रति अनभिज्ञ थिए । मेलवादेवीका पालामा कति महिला साक्षर थिए होलान् ? नेपाली महिलाहरूको ‘मानस’लाई अभिव्यक्त गर्ने शाब्दिक चित्रहरू टड्कारो रूपमा खड्किएको अभावलाई पूरा गर्ने प्रयत्नमा ‘अस्मिता’ जन्मिएको विषय सम्पादकीय पढ्दा बुझिन्छ । महिलाको अपमानजनक अवस्था फेर्न, आफूलाई आफैले चिन्न ‘अस्मिता’ अस्तित्वमा आएको देखियो । प्रभुत्वविहीन समुदायले पत्रिका थेग्न सकेन । बजारीय लयमा पूरै ढाल्न पनि मिलेन । छोरीमान्छेको असीमित उत्तरदायित्व, बहुआयामिक रुचि, पारिवारिक स्वास्थ्य, कला साहित्य, सौन्दर्यको मुद्दालाई विषयवस्तु बनाउने लक्ष्य लिएको पत्रिका बन्द हुँदै फेरि बौरिँदै अस्तित्वमा आएको पाएँ । लामो समय सुस्ताएर पुनः अस्तित्वमा आएको ‘अस्मिता हाम्रो’ (२०८०) लाई शुभकामना स्वरूप सुसन/अन्जु लेख्छन्,
अस्मितामा उसबेला उठाइएका जल्दाबल्दा नारीवादी सवालहरू थिएः पैतृक सम्पत्तिमा समान अधिकार, परिवारभित्र र राज्यसत्तामा पितृसत्ताको समाप्ति, आरक्षण, समान ज्याला, असमान कानुन र कुप्रथाको अन्त्य, गर्भपतनको अधिकार, बलात्कार र चेलिबेटी बेचबिखनमा रोक, नारी शरीरलाई वस्तु ठान्ने परम्पराको अन्त्य, अश्लील सामग्री प्रकाशन र प्रसारणमाथि बन्देज… (पृ. ५) ।
अस्मिता पत्रिका प्रकाशित भएको ३६ वर्षपछि एउटा आलेख लेख्न भनिएको छ । मलाई ३६ वर्षअघि भन्दा अझ अघि महिलाका मुद्दा कस्ता थिए होलान् ? त्यस बखत समाजमा महिलाको स्थान कहाँ थियो होला ? त्यसबारे कस्ता दस्ताबेज कहाँ पाइएला ? पारिजात जस्ता सशक्त व्यक्तित्वलाई समेत मध्यरातमा रक्सीले मात्तिएका साहित्यकार लेखक पुरुषहरू ढोका ढक्ढक्याएर डेराभित्र पस्दारहेछन् । भट्टीहुँदो मदहोश भएका पठित मान्छेहरू मध्यरातमा एउटा कविता सुनेर फर्कने भन्दै पारिजातको डेरामा पस्ने आँट गर्दारहेछन् भने आम महिलाको अवस्था अझ शताब्दी अघि कस्तो थियो होला ? गायिका मेलवा देवीले कति अपमान भोगिन् होला ? यति हुँदाहुँदै पनि पारिजात ‘एन्टिमेल’ थिइनन् । हरेक असहज परिस्थितिमा पुरुषले आँट भरोषा दिएको बताउँथिन् । परिजातलाई पुरुषहरूकै संगत मन पथ्र्यो । महिला आन्दोलन पुरुष विरुद्ध नभई पुरुषहरूलाई नै साथ लिई हाँक्नु पर्ने पारिजातको बुझाई पढ्दै गर्दा मलाई मेलवादेवीको सङ्घर्षमा शुक्रराज शास्त्रीको स्वर्गको दरबार किताबको याद दिलायो । मेलवादेवी र शुक्रराज शास्त्रीको सम्बन्ध कस्तो थियो ? कसरी शास्त्रीको किताबमा उल्लिखित गीतमा मेलवादेवीले स्वर सङ्गीत भरेकी थिइन्, जिज्ञासा लाग्यो ।
मेलवादेवीको सङ्घर्ष गाथा
मेलवादेवीको जन्मबारे विभिन्न धारणा पाइन्छ । रामशरण दर्नालका अनुसार मेलवादेवीको जन्म १९६४ सालमा भएको हो । स्वामी प्रपन्नाचार्यका शब्दमा उनको जन्म १९५६ सालमा भएको हो । मास्टर रत्नदास प्रकाशले भने उनको जन्म १९५९ सालमा भएको उल्लेख गरेका छन् । उनको जन्मस्थानका बारेमा भने अधिकांशले रुम्जाटार ओखलढुङ्गा भनेर उल्लेख गरेका छन् । सानैदेखि गायन तथा प्रस्तुतिमा अब्बल उनलाई चन्द्रशमशेरको दरबारमा उनकी आमा सप्तदेवी गुरुङले सुम्पेको बताइन्छ । त्यसबेला उनी कति वर्षकी थिइन् भन्ने कुरा पनि स्पष्ट छैन । दर्नालका शब्दमा उनी करिब सात वर्षकी हुँदा आमाले काठमाडौँ ल्याएर राणा दरबारमा बुझाएकी थिइन् । प्रपन्नाचार्यले भने उनलाई राणा दरबारमा सुम्पँदा उनी १४ वर्षकी थिइन् भनेर उल्लेख गरेका छन् । दरबारभित्र उनले चन्द्रशमशेरबाट नयाँ नाम पाइन्, मेलवादेवी । उनको बाउआमाले राखिदिएको नाम सुनमाया–सुभला गुरुङ थियो । उनी प्रतिभाको धनी मात्रै होइन, रूपवती पनि थिइन् । उनको रूप, स्वर र प्रस्तुतिले दरबारमा सबैको ध्यान खिँच्न थाल्यो । निरन्तरको साधनले उनको स्वरमा तिखारता थपिँदै आयो । उनले दरबारभित्र भव्य साङ्गीतिक प्रस्तुति दिन थालिन् । शकुन्तला प्रधान लेख्छिन्,
यसअघि धेरै सङ्गीतज्ञ महिलाहरू भए होलान् तर कसैको नाम अगाडि आएन । उनीहरू कुनाकाप्चामा हराए होलान् या भनौँ राणाहरूको दरबारमा मनोरञ्जन गराएर मात्र विलीन भए होलान् तर मेलवादेवीले आफ्नो कला चिनारी सबैलाई गराउन आफ्नो गीत रेकर्ड गरी नेपाली सङ्गीतजगत्को इतिहासमा अमर भइन्….दक्ष गायिकाका रूपमा दरबार जाँदा उनी सुनचाँदीले मोडेको पालकीमा बसेर जाने गर्दथिन् । ठुलाठुला सभा, समारोहमा आउँदा जाँदा पनि डोलेहरूले पालकीमा बोकेर ल्याउने लैजाने गर्दथे । अत्यन्त रूपवती सुरिलो स्वरकी धनी मेलवादेवीलाई श्री ३ चन्द्रशमशेरले अति नै मनपराउँदथे तर दरबारमा उनको रिस डाह गर्नेहरू धेरै थिए ।
मेलवादेवीबारे आजसम्म गम्भीर सोध भएको भेटिन्न । सङ्गीत साधकहरूको चिनारी स्वरूप टुक्राटाक्री आलेखमा मात्रै उनी अटाएकी छिन् । बेनी जङ्गम रावलका अनुसार मेलवादेवी दरबारकी एक मात्र प्रतिनिधि गायिका थिइन् । दरबारमा रहुन्जेल उनले विदेशी नामुद उस्ताजहरूसँग गायनमा टक्कर लिन्थिन् र स्यावासी एवं बक्सिसहरू पाइरहन्थिन् । दर्नालका शब्दमा, प्रधानमन्त्री र रानीहरूबाट बक्सिस पाइरहनु उनका लागि साधारण कुरो भइसकेको थियो ।
भारतबाट आएका गायक कलाकारको प्रायजसो सिंहदरबारमा सङ्गीत जल्सा (सभा) हुँदा उनैलाई गाउन अघि सारिन्थ्यो । अन्य गायिकाहरू भए पनि सबैलाई उनकै स्वर मन पर्थ्यो। यसले गर्दा भित्रभित्रै रिस गर्नेहरूले उनलाई पानमा विषादी हालेर खुवाइदिए । उनको स्वर बिग्रियो । चन्द्र शमशेरले मन पराएकी गायिकाको स्वर बिग्रिएपछि विदेशबाट चिकित्सक झिकाएर उनको उपचारमा लगाए तैपनि उनको स्वर पहिलेको जस्तै अवस्थामा आएन । अन्ततः मेलवादेवीले २२ वर्षको उमेरमा सिंहदरबार त्याग्नु पर्यो ।
दरबारमा मेलवाले गणपत, खेमचन्द्र प्रभृत्ति उस्तादहरूबाट पनि सङ्गीत शिक्षा पाएकी थिइन् । दरबारमा उनको पहिलो सङ्गीत गुरु हुन्, प्रो. उस्ताद बालाप्रसाद । पछि भारतबाट ठुल्ठुला उस्तादहरू झिकाई मेलवालाई सङ्गीतमा पारंगत तुल्याएका थिए । उनको स्वर कर्णप्रीय थियो त्यसैले चन्द्रशमशेर उनको स्वरको पुजारी बन्न पुगे । कृष्णभक्तसँग भने मेलवा नराम्ररी पछुताउनुपर्यो (प्रकाश, पृ. २२) । वि.सं. १९८५ सालमा मेलवाले दरबार छाडिन् । उनले बकसमा घर पाएकी थिइन् ।
मेलवादेवीको छोरी विमला दीक्षितको शब्दमा, चन्द्रशमशेरका साइँला छोरा केशरशमशेर पनि मेलवादेवी देखेर भुतुक्कै हुन्थे । एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले मेलवादेवीलाई भने, ‘तिमी गीत गाएर पानी पार्न सक्छ्यौ ?’ मेलवादेवीले भनिन्, ‘पानी कति मात्रामा पर्छ, म त्यो भन्न सक्तिनँ, तर कोशिस गर्छु ।’ यदि पानी परेमा पाँच हजार रुपियाँ बक्सिस दिने घोषणा भयो । उनले डेढ घण्टा लगातार गीत गाएपछि आकाशमा बादल लाग्यो, पानी पर्न थाल्यो । केशरशमशेरले ‘स्याबास’भन्दै मेलवादेवीलाई पाँच हजार रुपियाँ पुरस्कार दिएका थिए ।
मेलवादेवी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन र लोकगीत गाउने गर्थिन् । उनको स्वर सुनेर चन्द्रशमशेरले बराबर उनलाई धाप मार्थे । उनको स्वर पहिलाजस्तो हुन सकेन तैपनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न, गीत सुन्न छाडेनन् । चन्द्रशमशेर भन्ने गर्थे, ‘गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।’ बबर शमशेरचाहिँ मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे । दरबारका कारिन्दा, वाद्यवादक, उस्तादहरू मेलवादेवीको स्वर, बैंस र रूपबाट हुरुक्कै हुन्थे । तवलाबादक भक्तकृष्ण मानन्धर पनि उनको कला, साधना, रूप, यौवन र धनसम्पत्तिप्रति उस्तै आसक्त थिए । चन्द्रशमशेरले मेलवादेवीलाई विजयेश्वरीमा एउटा घर किनिदिएका थिए । अन्ततः उनी चन्द्रशमशेर महाराजसँग राजीखुशीसाथ अनुमति लिएर दरबारबाट निस्केकी थिइन् ।
भक्तकृष्णले मेलवादेवीलाई दक्षिणकाली मन्दिरमा लगेर बिहे गरे । त्यसपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लगाइयो । मेलवादेवी समाजबाट बहिष्कृत भइन् । दुई छोरा बिते, दुई छोरीको पालन पोषणको जिम्मा उनीमाथि आइपर्यो । आम्दानीको स्रोत टुट्यो । भक्तकृष्ण पनि अलग भए । अन्ततः उनी सस्तोमै घरबार बेचेर भारत गइन् । यद्यपि, ध्रुवेशचन्द्र रेग्मीको शब्दमा, उनले श्री ३ चन्द्रशमशेरले बक्सिस दिएको घरदेखि भारत रहेर धेरैलाई सङ्गीत शिक्षा दिइन्, जसमध्ये नवराज ढकाल पनि एक थिए । दुक्खसुक्ख जीवन भुक्तान गर्दै उनले दुबै छोरीहरूको विवाह गरिदिइन् । जीवनको अन्तिम क्षण एक्लो, निरस उनी कलकत्ताको ११ नं.को रोबर्ट १२ नं. कोठामा बस्थिन् । त्यहीँ खाना पकाउने स्टोभ पड्किएर २०१२ सालमा उनको मृत्यु भयो ।
छापामा मेलवादेवीको छाप
मदनलहरीझैँ सानो किताब स्वदेशी मेगाफोनके नये रेकर्डोकी तालिका जुन १९३५ मा छापिएको भेटियो । यस किताबमा मेलवादेवीको दुईवटा गीत छापिएको पाएँ । अन्तिम कभर पृष्ठमा लेखिएको छ, उस्ताद अलाउद्दीन खां साहब । पुस्तकभित्र स्वदेशी मेगाफोन रेकर्ड किन्न अपील गरेको कुरा छ, मेनेजरको कलमबाट । उक्त पुस्तकमा लेखिएको छ, ‘१० इन्च डबल साइडेड ब्ल’ लेबिल प्रति रेकर्ड किमत सिर्फ दो रूपयाँ ।’ पृ. ८ सम्म हिन्दी गीतहरू लिपिबद्ध छन् । अनि ‘श्रीमती मेलवादेवी (गिरहस्तीन) रेकर्ड नं. जे.एन.जी. ७१६’ भनी उनको दुई नेपाली गीत उक्त किताबमा लिपिबद्ध छन् । पुस्तकको अन्त्यमा रेकर्ड किन्नका लागि मिठा शब्दहरूले अपिल गरेको छ, ‘आप जितने बार इस रेकार्डको बजायेंगे, उतनी ही बार यह रेकार्ड बजानेकी दिल चाहता है…यदि आपने य रेकार्ड नहीं खरिदो तो पछुताइयेगा, अरुर जरुर खरीदिये’ भनेर पृ. १० मा उल्लिखित छ ।
विशाल उपनिवेशमा सुरक्षा खोज्दै मेलवादेवी पुगेकी छिन्, करिब एक शताब्दीअघि । दुई छोरीहरू हुर्काउँदै उनले कसरी सङ्गीत साधनामा सङ्घर्ष गरिन् होला, सोचनीय विषय हो । पुस्तकमा लिपिबद्ध दुबै गीतको रचनाकार उल्लेख छैन । रत्नदास प्रकाशले दोस्रो गीत झ्याउरे लोकगीत भएकाले मेलवाकै भइगयो भनेका छन् । पहिलो गीतको रचनाकारबारे अज्ञातझैँ देखिए तापनि खासमा यसको रचनाकार सहिद शुक्रराज शास्त्री थिए । शास्त्रीको पुस्तक स्वर्गको दरबारको अन्तिम पृष्ठमा यो रचना प्रकाशित छ । १९८६ सालमा यो किताब शास्त्रीजी आफैले सम्भवतः प्रकाशित गरेका थिए । प्रकाश भन्छन्, ‘मेलवादेवीले सोझै शास्त्रीजीबाट यो गीत लिइन् वा किताबबाट लिइन् मलाई ज्ञात छैन ।’ पुस्तकमा उनको तस्वीरसहित मेलवादेवीले गाएको दुईवटा गीत छापिएका छन् । शब्द यसप्रकार रहेका छन् :
पहला रुख
न घरलाई घर कहिन्छ, नारी नै दरबार हो ।
एक मात्रै धर्मसाधन, नारी घरको द्वार हो ।
घरको देवी नारी नै हो, नारी घरको ज्योति हो ।
राज्यलक्षी नारी नै हो, नारी मणिक मोती हो ।
राजलक्ष्मी तुल्य भै, राजमन्त्री तुल्य भै ।
स्वर्ग राज्य भोगको, प्राप्त हुनु सुयोगको । (पृ. १९)
दूसरा रुख
सवारी मेरो रेलैमा
झन् पर जान्छु लैलै झन् माया लागछ बरिलै…
सानुमा सानु लैलै कुसुमे रुमाल बरी लै,
धोइदिने कोही छैन, बिरानु देशमा लैलै
मै मरी जाउँला बरी लै, रोइ दिने कोही छैन…
सबारी मेरो रेलैमा । (पृ. २०)
प्रकाशको शब्दमा, मेलवादेवी त्यसताका प्रसिद्ध थिइन् । कलकता गई गार्हस्थ्य जीवन बिताइरहँदा, स्वर्गको दरबार कलकत्तामा प्रकाशित भएकोले शास्त्रीजीले एकप्रति उनलाई उपहारस्वरूप दिएको हुन सक्छ । दुबैजना समकालीन हुन् । शास्त्रीजी १९९७ सालमा सहीद बने । मेलवादेवीको देहान्त २०१२ सालमा कलकत्तामै भयो (पृ. २०) । प्रकाश थप लेख्छन्, ‘मेलवा दिदीले १९९३ सालमा ‘सवारी मेरो रेलैमा’ रेकर्ड भरेकी थिइन् । मैले त्यसको दुई वर्षपछि प्रथम रेकर्ड भरेँ । कलकत्तामा रेकर्ड भर्न जाँदा म प्रायः उनकैमा बस्थेँ । मलाई बडो खातिर गरेर भाइ भन्थिन्’ (२१) । उनका अनुसार मेलवादेवीले अन्यान्य गीतहरू पनि गाएर रेकर्ड भराएकी थिइन् । उनकी बहिनी पनि थिइन्, खुशबु । उनको पनि गायनप्रति रुचि थियो । मेलवाकी बहिनी बलमाया गुरुङ (मामाकी छोरी) राजा त्रिभुवनको आमाको सुसारे भएर २५ वर्षपछि १९९० सालमा दरबारबाट निस्किँदा उनलाई ‘हुश्न बानु’ नामले मात्र चिनिन्थ्यो । यसैगरी जुद्धशमशेरको दरबारमा बलमायालाई ‘चन्द्र वदना’ नामले बोलाइन्थ्यो । यिनीहरू नेपाली कलाकारसँग बिहे गर्न चाहन्थे, कलाप्रति यिनीहरूको विशेष आकर्षण थियो (पृ. २१) । प्रकाशले थप प्रमाणहरू पेश गरेका छन् :
“…भारतमा गीत गाएर आर्जन गर्न सक्दिनथिन्, तर मेलवा दिदीमा प्रशिक्षण दिने खुबी थियो । रेडियो नेपालको ‘अतीतका गीत’ कार्यक्रममा मेलवालाई मास्टर मित्रसेनपछिका कलाकार भनियो, तर त्यो होइन….मित्रसेनले १९९४ मा रेकर्ड भरेका हुन्, तर मेलवादेवीले १९९१ सालमै रेकर्ड भरिसकेकी थिइन् । नेपालका गायिकाहरूलाई इज्जतको दृष्टिले नहेरिने र भक्तकृष्णजस्ताले मात्र गायिकाहरूलाई स्वीकारेझैँ भएर मेलवादेवीले विदेशी भूमिमा आर्जन गरी खानुपर्यो । …अस्पतालले लास बुझाउने मान्छे पाएन, धर्मपुत्र रामचन्द्र गुप्ताले लाश जिम्मा लिए । लाशका साथमा प्रमाणपत्र, प्रिय बाद्ययन्त्र तानपुरा पनि जलाइसकेको रहेछ । रेकर्डले मेलवा दिदीको स्वर सुनाउँछ । यही एउटा चिनो त बाँकी छ, जसबाट हामी मेलवा दिदीलाई जीवित अनुभव गर्न सक्छौँ । नेपाली गायिकाहरूको यस्तो दुःखद गाथा कथ्नेसम्म आज कोही भइदिएनन्,…किन होला ? (प. २६, २७) ।
मेलवादेवीले भारत भासिएपछि आफ्नो जीवन सङ्घर्ष अनुभव समेटेर ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ गीत रेकर्ड गराएको बुझिन्छ, ‘सबारी मेरो रेलैमा’ गीत पनि रेकर्ड गराइन् । यस गीतमा उनले नेपाल छाडेर भारत भासिएको सन्दर्भलाई ‘सवारी’को रूपमा व्याख्या गरिएको त छ, यद्यपि उनकै रचना, स्वर र सङ्गीतमा घन्किएका गीतमा आफूलाई ‘बिरानो देशमा मै मरिगए पनि रोइदिन कोही छैन’ भन्दै आफ्नो नाजुकता व्यक्त गरेकी छिन् ।
फेरि शुक्रराज शास्त्रीको शब्दको गीतलाई उनको आफ्नो सबैभन्दा अभिन्न अभिव्यक्तिझैँ देखाइएको छ ।
विमला दीक्षितका अनुसार उक्त गीतको डिस्क ५ हजार प्रति बिक्री भएको भनिन्छ । त्यस समय त्यति धेरै रेकर्ड किन्ने श्रोता नभएकाले ५ हजार प्रति बिक्री नभई ५ सय प्रति हुनसक्ने भन्ने पनि कतिपयको दावी छ । यद्यपि, उक्त गीति रेकर्ड डिस्क भारतमा पनि पक्कै बिक्री वितरण भएको हुनु पर्दछ । त्यस गीतलाई पुस्तकमै लिपिबद्ध गरी प्रचारप्रसार समेत गरिएको ठोस प्रमाण पाइएपछि ५ हजार प्रति बिक्री भएको कुरा सत्यको निकट मान्न सकिन्छ । त्यो गीत नेपालमा मात्रै नभई प्रवासमा पनि निकै लोकप्रिय थियो भन्ने कुरा किताबमै प्रकाशित हुनुले पनि प्रस्ट्याउँछ । इलाहावादमा सङ्गीत सम्मेलन हुँदा मेलवादेवी प्रथम भएकी थिइन् । स्वर्णपदकसहित ठुमरीकी रानी पदक प्राप्त गरेकी थिइन् ।
मेलवादेवीद्वारा सङ्गीत तथा स्वराङ्कित ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ गीत थप उत्कृष्टताको चुलीमा पुग्ने नै भयो । शुक्रराज शास्त्रीको रचना भएको हुँदा यसको चर्चा अझ बढी नहुने कुरै भएन । उनी कोलकाता पुग्नु भनेको उनको जीवनमा सङ्गीतको स्वच्छन्दतावादी यात्रा थालिनु थियो । त्यतिखेर उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए, न उनका हात बाँध्ने नै कुनै बाई थिए । त्यसैले उनी घरी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरेर गीत गाइरहन्थिन र घरी इलाहावाद साङ्गीतिक सम्मेलनमा पुगिरहन्थिन् । उनी रामगढ सङ्गीत सम्मेलनमा पनि गीत गाउन बराबर पुगिरहन्थिन् । उनी जहाँ जहाँ गएर आफ्नो कौशल देखाउँथिन्, त्यहाँ त्यहाँबाट उनले पुरस्कार प्राप्त गर्थिन् । इलाहावाद सङ्गीत सम्मेलनले त अझ उनलाई ठुमरीकी रानीको दर्जा नै अर्पित गरेको थियो । उनले नेपाली, नेवारी, हिन्दी, बङ्गाली भाषामा बराबरी नै गीत गाइरहन्थिन् ।
चन्द्रशम्शेरकी प्रिय कुशल गायिकाको जवानीले पनि दरबारियाहरूलाई लोभ्याइरहेका बेला १९८५ सालमा आफ्नो रूप, कला र जवानी लिएर दरबारबाहिर निस्केकी मेलवादेवीका ‘थापा न थली’, ‘यो जिन्दगीको के भरोसा’, ‘कयौँ फूलबारी’, ‘माया मारी निष्ठुरीले’, ‘हाय मेरो परदेशी प्रितम’, ‘आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा’, ‘भूकम्प त्रास’, ‘श्री ३ जुद्धको प्रशस्ति’ आदि गीत–सङ्गीत नेपाली सङ्गीतको अभिलेखमा रहेको पाइन्छ ।
मेलवादेवीको सङ्घर्षमा शुक्रराज शास्त्री
शुक्रराज शास्त्रीका शब्दमा मेलवादेवीको स्वरसङ्गीत सजिएको गीत सुनिबस्दा स्वर्गको दरबार किताबमा मेलवाको जीवन प्रतिबिम्बित भइरहेको बोध हुन्छ । मेलवादेवीको गीत सुन्दा शास्त्रीको सम्झना स्वतः भइहाल्छ । नेपालभाषाका प्रथम प्रतिभाशाली साहित्यकार मानिन्छन्, शास्त्री । माधवलाल जोशी र रत्नमाया जोशीका छोरा उनले शास्त्री अध्ययन उत्तीर्ण गरेकाले ‘शास्त्री’ भनिन्थ्यो । पिताझैँ उनी आर्य समाजका सक्रिय सदस्य थिए । इलाहाबादस्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई समाज सुधारमा संलग्न मात्र होइन, पञ्जाब विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातक अध्ययन सकेपछि उनी नेपाल फर्किएर अभियानमा होमिएका थिए । त्यो मेलवादेवी चन्द्रशमशेर राणाको दरबारबाट बाहिरिएको बखत थियो । १९५० सालमा जन्मिएका शास्त्री मेलवादेवीको समकालीन भइहाले । एकपछि अर्को किताब प्रकाशन गर्दै राजनीतिक सामाजिक अभियानमा होमिएका शास्त्रीले महात्मा गान्धीसँग पनि भेट गरेर नेपाल फर्किएको इतिहास छ । राणा शासन विरुद्धको पहिलो आमसभामा उनले १९९५ माघ १३ गते इन्द्रचोकमा भाषण दिएपछि उनी नजरबन्द परेका थिए । राजद्रोहको अभियोग लगाई उनलाई १९९७ साल माघ १० गते सर्वस्वहरणसहित फाँसीको सजायँ भयो । उनी पक्राउ पर्नुभन्दा ४ वर्षअघि नै मेलवादेवीले शास्त्रीको ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ गीत रेकर्ड गराइसकेकी थिइन् ।
मेलवादेवी दरबारबाट निस्किएकै वर्ष १९८६ सालमा लेखक आफ्नै लगानीमा कलकत्ताबाट शुक्रराज शास्त्रीको स्वर्गको दरबार किताब प्रकाशित गरिएको थियो । शास्त्री हिन्दु सनातनी धर्मप्रति बफादार नहुने कुरै भएन । आर्यसमाजका संस्थापक स्वामी दयानन्द सरस्वतीको पुस्तक ‘सत्यार्थप्रकाश’बाट उनी प्रभावित थिए । नैतिक तथा जनमुखी परिवर्तनबाट न्याय प्रदान गरी देशको उन्नतिको परिकल्पना उनले गरेका थिए । यसर्थ किताबमा नैतिक ज्ञान व्याप्त देखिन्छ । उनले लेखेका छन्, “स्वर्गको दरबार यसै लोकमा छ ।” स्वर्गका लागि अनेकौँ कपोलकल्पित कार्यको उनी विरोधी देखिन्छन् । एउटा सुखी खुसी घरपरिवारलाई नै स्वर्गको रूपमा व्याख्या विश्लेषण गरिएको छ । शोधक नै बोधक भन्दै अनुसन्धानमा आधारित भएर किताब लेखिएको छ । त्यस बखतसम्म गोरखा भाषाको कोषै थिएनछ । गोरखा भाषामा लेख्न सहज पनि थिएन । गोरखा भाषामा अनिश्चितता, एउटै अब्द अनेक स्वरूपमा लेखिँदा रहेछन् । नेपालभाषामा लेख्न उनलाई सहज भए तापनि उनले नेपाली भाषामा किताब लेखे, स्वर्गको दरबार ।
मेलवादेवीलाई स्वर्गको दरबार किताबले प्रभाव पारेको हुनुपर्दछ । मेलवादेवीलाई पति पत्नीबिच सुमधुर सम्बन्धले सजिएको परिवारको मोह पक्कै थियो । उनको घर उनले सोचेझैँ भएन । बहुविवाहमा त्यस्तो परिकल्पना त्यसबेलाको समयमा सहज हुने कुरो पनि भएन । गीत, सङ्गीतमा समर्पित मेलवादेवीले तवलाबादक विवाहित श्रीमान् रोज्नुको पछाडि पक्कै साङ्गीतिक विकासको सपना थियो होला ।
केही समय उनीहरूले साङ्गीतिक प्रस्तुतिमा सहकार्य गरेको उदाहरण पनि छ । १९९० सालको भूकम्पले उपत्यकाका घरहरू ढलेर, धेरै जनधनको क्षति हुँदा नेपालभाषामा गीत गाउँदै सन्देश दिएर हिँडेकी मेलवादेवीलाई तवलाबादक पतिले पक्कै सघाए होलान् । यद्यपि, उनको घर राम्ररी बसेन । श्रीमान् र देश दुबै छाडेर विदेसिएकी मेलवादेवीका लागि स्वर्गको दरबार किताबले पक्कै प्रभाव पारेको हुनुपर्दछ । अनेकौँ धार्मिक तथा अन्य ग्रन्थहरूबाट प्रशस्त सन्दर्भ उद्धृत गर्दै (संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषाबाट सन्दर्भ समेट्दै) घर परिवारको मेलमिलापमा किताबको विषयवस्तु केन्द्रित छ । बाल विवाह, अनमेल विवाह, बुहुविवाह, अस्वयम्वर विवाहको दुष्परिणामका सन्दर्भहरूबारे शास्त्रीको किताबमा व्यापक चर्चा छ ।
मेलवादेवीले दुई छोरा शिशु अवस्थामै गुमाइन् । त्यसको पीडा एउटी आमालाई कति भयो होला ? शास्त्रीको किताबमा शिशुरक्षा, मातृत्व, बालमृत्युदरको विषय व्यापक रूपमा उठान गर्दै बालविवाहको दुष्परिणमाहरूमा लामो चर्चा छ । पतिसँग अलग्गिएर एकल महिला भई बस्दा कतिसम्म अपमान खेप्नुपर्यो होला ? एउटी गायिकालाई त्यस समय समाजले हेर्ने नजरिया कस्तो थियो होला ? हामी सहजै अनुमान लगाउन सक्छौँ । यस्ता कुरा शास्त्रीले पुस्तकमा स्वाधीन किसिमले सन्दर्भसहित उल्लेख गरेका छन् । सन् १९२१ ताका हिन्दु स्त्रीको जनसङ्ख्या साढे १० करोडमा विधुवाको सङ्ख्या २ करोड २ लाखभन्दा बढी अर्थात् प्रत्येक ५ हिन्दु स्त्रीपछि एक विधवा स्त्री हुन्छे, बाल र युवती विधवाको सङ्ख्या अझ बढ्दो मात्रामा रहेको तथ्य चर्चा गर्दै शास्त्रीले मिस्टर फ्लिचर (जो कलकत्ताको प्रसिद्ध दैनिकमा काम गर्थे, अनि बेलायतको संसदमा बोल्दा भनेथेः “हिन्दु विडोज आर स्लट एट होम एण्ड प्रोस्टिच्युटस् अब्रोड” (हिन्दु महिला घरमा कुकुर्नी तथा बाहिर वेश्या हुन्) (चाँद नं. १९२७ बाट उद्धृत तथा अनुवादित) भनेर उल्लेख गर्दै शास्त्रीले लेखेका छन्, “विधवाहरूको यस्तो सोचनीय दुष्परिणाम नभएदेखि किन विदेशीहरूले हामीहरूको यस्तो हँसी र ठट्टा गर्थे (पृ. ३३) ।” विधवाको दुःख दुर, मन पूरा गर भनेर लामो भजन समेत पुस्तकमा समावेश छ (पृ. ३५ देखि ४०) । शास्त्री लेख्छन् :
अहो ! विधवा बहिनीहरूको दशा पनि कस्तो हृदयविदारक तथा सुखसंहारक छ ! यी हतभागिनी बहिनीहरूको कस्तो करुणोत्पादक दुःख र लज्जाजनक दृश्य छ । यिनीहरूका सोचनीय अवस्था लेख्नलाई हात काँप्दछ, हृदय भाँचिन्छ, चित्त खिन्न हुन्छ, भाव भिन्न हुन्छ, विचार विच्छिन्न हुन्छ, बुद्धि जीर्ण हुन्छ…कलम पनि चल्दैन, आँखाले पनि देख्दैन, प्रत्युत अश्रुधाराले आँखालाई छोपिदिन्छ । अहो ! हतभागिनी बालविधवाहरूको दुःख कसले वर्णन गर्न सक्ला ? (पृ. ४१) ।
अन्ततः शास्त्रीले बालब्रम्हचर्य अति कठिन कर्म भन्दै विधुवा विवाहको प्रस्ताव पुस्तकमार्फत अघि सारेको देखिन्छ । कुनै पनि विधुवा, एकल महिला वा दुःखी नारीलाई हेला, हिंसा, अपहेलना नगर्न अपील गरेका छन् । महिला तथा उत्पीडित समुदायलाई अनैतिक कार्यमा लाग्न बाध्य बनाउने अवस्थाको विरुद्ध उनी उभिएका छन्, पहिले धार्मिक नैतिक मान्यताअनुरूप अनि विस्तारै जनमुखी सामाजिक राजनीतिक अभियानसहित । लक्ष्मीपूजाको खर्च गर्नेहरूलाई शास्त्री भन्छन्, ‘स्त्री र लक्ष्मीमा केही फरक छैन । स्त्री नै घरकी ज्योतिष्मती लक्ष्मी हुन्’ (पृ. ४४) । पण्डित शास्त्रीलाई एकातिर हिन्दु सनातन धर्मलाई बचाऊ गर्नुपर्ने बाध्यता छ, अर्कोतर्फ उत्पीडित विधुवा, बेरोजगार, र गरिब दीन दुःखीका पक्षमा क्रान्तिकारी आवाज बोल्नुपर्ने बाध्यता आइपरेको देखिन्छ । अझ अर्कोतिर राणा शासकको चाकडी पनि गर्नुपर्ने बाध्यता छँदै थियो । उनी लेख्छन् :
नेपालमा जस्तो बेकारमा बसी जीवन बिताउने मानिसहरू अन्य कुनै ठाउँमा छैनन् । हाम्रा स्व. श्री ३ चन्द्रशमशेर महाराजले रोपवे स्थापित गरी नेपाललाई उज्ज्वल गराइबक्स्यो । तर यसले हजारौ कुल्लीहरू बेकार भएर दुःखित भई हिन्दुस्तानतिर आई दरबान, चपरासी तथा कुल्लीको काम गरै येनकेन जीवन निर्वाह गर्दैछन्….नेपाल राष्ट्र सङ्गठित नभई विच्छिन्न भइरहेको छ । यो दुःखको विषय हो । अब मलाई यो ठूलो आशा छ कि नेपालका अधीश्वर श्री ३ महाराज भीमशमशेर जबराबाट यी सबै प्रकारका दुःख दुर गरिबक्सिनेछ । सरकारबाट राज्याभिषेकको शुभअवसरमा कपासको र नमकको कर माफी गरिबक्सँदा दुनियाँहरूलाई चारैतिरबाट आनन्द हुँदैछ…ती विधवाहरू जो आजन्म बह्मचर्यजस्तो कठोर व्रतलाई निभाउनमा समर्थ हुन्छन्, तिनलाई कारणवश आर्थिक कष्ट भएर अति दुःख हुने बेलामा यी देवीहरूलाई सरकारद्वारा सुरक्षाको सुव्यवस्था गरी प्रबन्ध गरिदिनुपर्छ… (पृ. ४५, ४६) ।
त्यसबखत महिलाका लागि पुनर्विवाह असम्भव प्रायः कुरा हुन्थ्यो । कुनै महिलाले पुनः विवाह गरेमा समाजमा बाँच्न सहज हुन्थ्यो ? मेलवादेवीका लागि पनि यो निकै पेचिलो प्रश्न हुने नै भयो । स्वर्गको दरबारमा शास्त्रीले लेखेका छन्, ‘पुनर्विवाहको इच्छा हुने बालविधवाहरूलाई बाटो खुला रहोस्’ (४७) । सन्दर्भको रूपमा उनले लेखेका छन्, ‘…नेवार जातिमा त पुनर्विवाहको नियम छ । गोरखा जातिमा पनि यसको आंशिक प्रचार (प्रचलन) छ’ (पृ. ४८) ।
आजभन्दा एक सय वर्ष अघि परम्परावादी शिक्षाबाट दीक्षित शास्त्रीले कतिपय सन्दर्भमा मनुस्मृति जस्ता शास्त्रको समेत सन्दर्भ लिईकन पनि महिला वर्गका लागि जति पनि विचार स्वर्गको दरबार पुस्तकमा पोख्ने हिम्मत गरे, त्यसबाट मेलवादेवी पक्कै प्रभावित भएको हुनुपर्दछ । पुस्तकमा शास्त्रीको निचोड छ, ‘स्त्रीजनको सुधार नहुन्जेलसम्म देशको कल्याण कहिल्यै पनि हुन सक्दैन’ (पृ. ४६) । उनले अझ पुरुष शासकका तुलनामा स्त्रीशासिकाहरूमा अधिक पथप्रदर्शकता देखिएको उदाहरणहरू एक शताब्दी अघि नै सन्दर्भसहित उल्लेख गरेका छन् (पृ. ६४) । अन्तमा शास्त्रीले महिलामा ‘सौन्दर्य, यौवन, माधुर्य, लज्जाशीलता, विद्या, गृहकार्य क्षमता गुणले युक्त भई विवाहित पतिसँग बसी स्वर्गीय सुखको अनुभव गरुन्’ भन्दै सबै मिली गृहस्थाश्रमको स्वर्गीय सङ्गीतगान उही गीत गाउँन आह्वान गर्छन् :
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो ।’
यही गीत लिपिबद्ध गरी आफ्नो किताब स्वर्गको दरबारलाई बीट मारेका छन् (पृ. १०९) शास्त्रीले । आफ्नो जीवन भोगाइ, आकाङ्क्षासँग मेल खाएको कारणले नै हुनुपर्छ, मेलवादेवीले आफ्नै स्वर र सङ्गीतमा यो गीत रेकर्ड गराइन् । यस ऐतिहासिक गीतको महत्त्व उच्च देखिन्छ । यही भएर पनि रेकर्डिङ बिक्रीलाई बढावा दिने उद्देश्यले छापिएको हिन्दी पुस्कतमा समेत यो गीत छापेर प्रचारप्रसार गरिएको हुनसक्छ ।
सन्दर्भ सामग्री