Asmita Magazine

#

मेरी छोरी हाकिम हुन्छे

प्रकृति घमाइलो लागिरहेछ आज । आकाश सफा र स्निग्ध छ ।मनको निलो आकाशमा सम्वेदनाका पन्छीहरू निलो विचरण गरिरहेछन् । गाडीबाट देखिने हरेक दृश्यतिर आकर्षित छु, आज मभित्रको शून्यता बाचाल हुन चाहन्छ । यो संसार यति सुन्दर थियो ? आफ्नो वरिपरि के छ भनेर हेर्न नभ्याएकी हुँ वा नचाहेकी थिएँ ? मैले आफूलाई आफैसँग गरेको प्रश्न हो यो । साइडको ऐनामा आफ्नै एक झलक देख्छु, निकै सुन्दर लाग्छ आफ्नै अनुहार ! वषौँदेखि गुम्सिरहेको भावले एकैचाटि निकास पाएजस्तो हलुका हलुका महसुस गरिरहेकी छु । घर पुग्न निकै हतारिएकी म गाडीबाट ओर्लिने बित्तिकै लगभग दौडे झै घरभित्र पस्छु। मेरा आँखाहरू माइजूलाई खोज्दै छन्, आफ्नो कोठामा बत्ती कातिरहनुभएकी उहाँलाई गम्लङ्ग अँगालोमा बेर्छु अनि उहाँको आश्चर्यचकित आँखामा हेर्दै भन्न पुगेछु, “माइजू, मैले जवाफ पाएँ !!  उत्तरहरू आज मलाई आफै पछ्याउँदै आए ! जीवनको सबैभन्दा उज्यालो अनुभूति टिपेर म तपाईंलाई स्पर्श गर्न आइपुगेँ ! मैले जितेँ माइजू, यो जितमा तपाईंप्रति सधैँ कृतज्ञ रहेकी छु !” माइजू आश्चर्य मानिरहनुभएको थियो। उहाँका हेराइ जिज्ञासाले भरिएको थियो ।

“प्रमुख जिल्ला अधिकारी श्री पूर्णिमा थापाज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गर्नका निम्ति मञ्चमा आइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।” कार्यक्रम सञ्चालकको उदघोषणसँगै तालीको फोहोरा छुट्यो । म मञ्चतिर लम्किएँ । आफूलाई छुट्याइएको कुर्सीमा बसेँ । सहिद स्मृति कलेजको सभा कक्ष खचाखच भरिएको थियो । शिक्षक, विद्यार्थी, कलेज व्यवस्थापन समितका सदस्यहरू, कर्मचारी, स्थानीय जनप्रतिनिधि आदिको बाक्लो उपस्थिति रहेको सभाहललाई मञ्चबाट उत्सुकतापूर्वक नियालेँ । कार्यक्रम नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको थियो त्यसैले विभिन्न क्षेत्रमा योगदान पुर्‌याउने तथा उच्च ओहदामा आसिन नारी व्यक्तित्वहरूलाई सम्मानका साथ मञ्चमा बोलाइँदै थियो । आसनग्रहणको क्रम चलिरहँदा अहो ! मेरो आँखा मञ्चाभिमुख एउटा व्यक्तिमा आएर अडियो । स्थानीय राजनीतिक नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूका बिचमा उसलाई अचानक देख्दा  भाउन्न होला जस्तो भयो ।  मुटुमा कम्प छुट्न थाल्यो । ऊ कहाँबाट यहाँ ? समयको लामो दौडपछि किन उसलाई देख्नुपरेको ? देखे पनि किन चिन्नु परेको ! नियतिले उसलाई किन मेरो सम्मुख उभ्याएको होला ? जसलाई मैले जीवनको एउटा अँध्यारो पाटो मानेर सधैँका लागि त्यागेकी थिएँ, उही व्यक्ति मेरो सामु अचानक यसरी आउँदा मैले परिस्थितिलाई स्विकार्नै सकिनँ । घृणाले मन भरियो । अघिसम्म म निकै उत्साहित थिएँ । खुसी थिएँ । यो एकै झट्कामा खोसिएजस्तो भयो ।  मनमा अप्ठेरो भएपछि उबाट दृष्टि हटाएँ, सहज हुने प्रयत्न गरेँ । केहीक्षणपछि देख्छु, ऊ एकटक मलाई नै हेरिरहेको थियो ।  आश्चर्य, त्रास, अत्यासको मिश्रण थियो त्यहाँ । नसोचेको, नचाहेको, कल्पना नै नगरेकोे कुरा अकस्मात् आँखा अगाडि आइदिँदा जुन झट्का मलाई लाग्यो त्यही नै उसलाई पनि लागेको मैले अनुमान गरेँ, अझ मलाईभन्दा उसलाई बढी नै भएको हुनुपर्छ । मसँग आँखा जुध्ने बित्तिकै उसले नजर झुकायो । हेर्दिन भन्दा पनि मेरो नजर उसमा परिरह्यो । उसलाई निकै उकुसमुकुस भइरहेको थियो भन्ने उसका शारीरिक हाउभाउले देखाउँथ्यो । भिजेको बिरालो झैँ कुर्सीमा बसिरहेको उसलाई मेरो नजरले भने पछ्याइ नै रह्यो । केही समयपश्चात् मेरो मनमा उठेको ज्वारभाटा मत्थर भयो । म शान्त थिएँ । मलाई यस रूपमा र यस परिस्थितिमा भेट हुन्छ भन्ने उसले पक्कै सोचेको थिएन । ऊ घोप्टिरहेको थियो । उसको अनुहारमा आउने जाने रङहरूले मलाई तानिरहेथ्यो । यो गर्विलो र सम्मानित अवस्थामा मलाई देख्दा ऊ के सोचिरहेको होला ? मेराबारेमा ऊभित्र त्यसबेला जुन सोचाइ थियो, अहिले पनि त्यस्तै होला ? मेरो मनमा यस्तै यस्तै प्रश्न उठ्न थाले ।माइजूलाई पूरा कुरा सुनाइ नसक्दै म अतीतको गर्तमा हराइसकेछु ।

जसले मलाई सधै मेरो शारीरिक रूप र रङलाई बहाना बनाएर वचनका काँढाले घोचिरह्यो, यो त्यही मानिस थियो । मेरो आत्मसम्मानमा ठेस लगाइरह्यो, मेरो नारीत्वमाथि खेलबाड गरिरह्यो, मलाई मानसिक बलात्कार गरिरह्यो, मेरो भावना मेरो चाहना अनि मेरो क्षमतालाई कहिल्यै बुझ्ने कोसिस गरेन, मेरो हृदयको सुन्दरतातर्फ आकर्षित हुनुको सट्टा ऊ मेरो बाह्य रूपलाई सुन्दरताको कथित मानक बनाएर घृणा गर्नमा नै लागिरह्यो अनि मेरो कुनै भूलबिना नै मलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‌यायो । ती दिनमा मप्रति उसको यो असाध्य व्यवहार म कसैलाई भन्न सक्दिन थिएँ । मेरो कलिलो उमेर, अपुरो पढाइ तथा कमजोर आत्मविश्वासका कारण बोल्ने आँट ममा थिएन ।  बाल्यकालदेखि नै घर परिवार, नातागोता र समाजले मेरो रूपरङ्प्रति राख्ने दृष्टिकोण मेरो आत्मविश्वासमा कमी ल्याउने प्रमुख कारण थियो । घरपरिवारमा मेरो वर्ण अरुको भन्दा भिन्न ठानिन्थ्यो । अरु गोरा ! म कालो । त्यसैले नातागोताहरू यो नानी चाहिँ किन यस्ती काली नि ? भन्थे । हेर.. छोरी मान्छे नराम्रो भए त बिकाउनै गाह्रो, बिचरी.. भन्दै चुकचुकाउँथे । तर घरमा बुबाको सबैभन्दा प्यारी मै थिएँ  । उहाँ मलाई माया गरेर ‘कालु’ भन्नुहुन्थ्यो । मलाई पढ्न प्रेरित गर्ने, अघि बढ्न हौस्याउने र हरेक कुरामा आँट भरोसा दिने दरिलो खम्बा हुनुहुन्थ्यो । आमाको निम्ति त सबै बराबर । उहाँ बेला बेला भन्नु हुन्थ्यो, “पूर्णिमा उसकी बुढी हजुरआमा पट्टि गएकी हो नत्र त हामी सबै गोरै छौँ, जेठो पनि गोरो छ अनि कान्छी पनि गोरी नै छे ।”

बाल्यकालमा त मलाई त्यति याद भएन तर जब उमेर बढ्दै गयो मलाई आफ्नो रूपरङको ख्याल हुन थाल्यो । ऐना हेर्न, आफूलाई सिँगार्न मन लाग्न थाल्यो । विद्यालयमा पनि पुरुष साथीहरूप्रति नजादिदो किसिमले आकर्षण बढ्न थाल्यो । कुनैकुनै साथीहरू केटाहरूले पठाएका प्रेमपत्रका कुरा गर्दै जिस्किन्थे । मेरो मनले पनि कसैको प्रेमप्रस्ताव र प्रेमपत्रको प्रतीक्षा गथ्र्यो तर जो पनि मलाई टीठलाग्दो नजरले हेर्थे, कोहीकोही छुल्याहाहरू त “बिहान अँगारले दाँत माझ्ने कोको छन् ?” भन्दै मपट्टि हेरेर आँखा सन्काउँथे । म त्यसैत्यसै मरेतुल्य हुन्थँे । सानैदेखि मेरो पढाइ निकै राम्रो थियो । कक्षामा प्रथम द्वितीय भइरहन्थेँ । जुनसुकै विधाको लेखन प्रतियोगितामा पुरस्कार पाउँथेँ । बुबा मेरालागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।उहाँ सबैसित मेरी छोरी हाकिम बन्छे भन्नुहुन्थ्यो अनि म पनि ठुलो अफिसर भएको कल्पना गर्थैँ । तर प्रायः नातेदार, छरछिमेक जोकोही पनि मेरो प्रतिभालाई मतलव गर्दैनथे उनीहरूको ध्यान मेरो कालो वर्णमा मात्र केँिन्द्रत हुन्थ्यो । बेला न कुबेला उनीहरूले देखाउने दया माया र गर्ने टिका टिप्पणी अनि मेरो विवाहबारे गर्ने चिन्ताका साथै मेरै अगाडि गरिने सानी बहिनीको रूपको प्रशंसाले मलाई दिनदिनै मानसिक रूपमा गलाउँदै लग्यो । अब भने मलाई आफू साँच्चै नै नराम्री लाग्न थालेको थियो । म लुकी लुकी पाउडर दल्न थालेकी थिएँ । आफूसक्दो राम्री देखिऊँ भन्ने चाहना मभित्र बढ्दै गइरहेको थियो । पढाइबाट ध्यान हट्दै थियो । तराईको ठाउँ म आफूलाई चर्को घामबाट लुकाउने कोसिस गथैँ । बाहिरी कामभन्दा भान्साको काममा आमालाई भाउजूलाई सघाउन जान्थँे । त्यस्तैमा निमोनियाको कारण बुबाको अकस्मात् मृत्यु भयो । मेरो आड, भरोसा विश्वास सबै बुबाको अस्तुसितै बिलाए । १६–१७ वर्षको कलिलो उमेरमा मैले आफूलाई सबैतिरबाट अपहेलित र कमजोर महसुस गर्न थालैँ । मैले आत्मविश्वास गुमाउन थालेँ । अब भने मेरो विवाह हँुदैन कि भन्ने त्रासले मभित्र जन्म लियो । मेरो कालोपन नै मेरालागि अभिशाप बन्ने भयो भन्ने सोच्दासोच्दै मलाई आफ्नो अनुहारको छाला ताछुँ ताछुँ जस्तो लाग्थ्यो । सुतेर उठ्दा बहिनी जस्तै गोरी भएको सपना म बारम्बार देख्थेँ । जसरी पनि दिन बित्नु नै थियो, बित्दै गयो । म आफूभित्र पीडा र कुण्ठाको एउटा पहाड बोकेर अघि बढ्दै थिएँ, जसको निम्ति म कति पनि जिम्मेवार थिइनँ । पढाइ खस्किन बेर लाग्दैन रहेछ । आखिर एस. एल .सीमा दुई विषय लाग्यो । बुबाले देखाउनु भएको हाकिम हुने सपना पनि तुहियो । समाजले दाइभाउजूमा पनि मेरो विवाहप्रति एउटा त्रास जन्माइदिएको थियो । उनीहरू मेरो  बिहेको तयारीमा लागे ।

यो अहिले मेरो अगाडि शिर निहुराएर, नजर झुकाएर बसिरहेको मानिस नै मेरो लोग्ने थियो, कुनैबेला । पढाइमा मेरो असफलता तथा मेरो तथाकथित कुरूपताबाट त्रसित भई जिन्दगीभरको बोझ सम्झिन थालेका दाजुले आफ्नो अफिसमा करारमा आएका यी श्यामबाबु भन्ने व्यक्तिसित मेरो बिहेको निर्णय गरे । अछाम घरभएका यिनी सह लेखापाल पदमा करारमा आएका रहेछन् । नयाँ ठाउँमा यिनले दाजुबाट राम्रै सरसहयोग पाएका थिए । कहिलेकाहीँ दाजुसित घर आउँदा सामान्य देखभेट भएको थियो, बोलचाल भएको थिएन । उनैसँग ‘चट मगनी पट विवाह’ भयो । सायद आमा पनि मेरो घरबार होस् भन्ने चाहनु हुन्थ्यो त्यसैले विराजी हुनुभएन । घरपरिवार छरछिमेकबाट रूपरङबारे गरिने टिकाटिप्पणीबाट आजित भइसकेकी ममा पनि पढाइ अगाडि बढाउनुपर्छ, आफ्नो खुट्टमा उभिनुपर्छ भन्ने भावना आएन । बरु ओहो ! मेरो पनि विवाह हुन लाग्यो भनेर मेरो अपरिपक्व हृदय खुसीले छचल्किन लाग्यो । मेरो कलिलो मस्तिष्कले मलाई संसारकै भाग्यमानी पो ठान्यो । देख्यौ त मलाई नराम्री भन्थ्यौ नि ! मलाई मन पराउने पनि त रहेछन् ..यी हेर मेरो  विवाह हुँदैछ त ….मेरो आँखाले समाजलाई यसै भनिरहेको थियो । म विवाहका लागि पूरै तयार थिएँ ।

दुलाहातिरका कोही आफन्तको उपस्थितिबिना नै विवाह भयो । अनि दाजुले नै बन्दोबस्त गरिदिएको नयाँ कोठामा म भित्रिएँ । म त फुरुङ्ग थिएँ । कोठामा हामी दुईबाहेक कोही थिएन । तर के अचम्म ! उसले न त मतिर हेर्‌यो, न त बोलचाल नै  भयो । ऊ एउटा पत्रिका लिएर हेर्न थाल्यो । लामो समय बित्यो, सुनसान रह्यो । कतिबेला बसेकै ठाउँमै निदाएछु थाहा पाइनँ । बिहान आँखा खुल्दा म एक्लै थिएँ । मनमा तिखो शूल पस्यो । पीडाले रन्थनिएँ । बिहानै घरबाट निस्कन्थ्यो, राति अबेर कोठामा फर्कन्थ्यो । एउटै कोठामा रहेर पनि बिल्कुलै अपरिचित थियौँ, बोलचाल थिएन । यो कस्तो उपेक्षा ? यो कस्तो तिरस्कार ? यो कस्तो विवाह ? मैले विवाहअघि देखेको सपना तासको घर झैँ पो भयो । म छटपटिन थालेँ । आत्तिन थालेँ । के भइरहेछ बुझ्न सकिनँ । मैँले खाएँ खाइनँ, उसलाई मतलब थिएन । राति खाना बनाएर राख्थेँ । आएर खाना खान्थ्यो अनि घुप्लुक्क सुत्थ्यो । उसको यो उदासीनताले मलाई अब पोल्न थाल्यो । मलाई एक्लोपनले गाँज्न थाल्यो । यसैगरी हप्ता बित्यो ।

विवाहको आठौँ दिन राति नौ बजेतिर घर आयो, सँगसँगै रक्सीको गन्ध पनि  । रक्सी खाँदोरहेछ भनेर त्यसैदिन थाह पाएँ । म मेरो ओछ्यानमा थिएँ । नजिकै आयो । घुरेर हेर्‌यो । मलाई डर लाग्यो । अकस्मात् ममाथि घोप्टियो । केही छिनपछि शान्त भयो अनि लड्खडाउँदै खाटमा गयो र घुर्न थाल्यो । म खुसी होऊँ कि दुःखी होऊँ अन्योलमा परेँ । बिहान भएपछि फेरि उस्तै उपेक्षा र शून्यता । समय यसरी नै अघि बढ्यो । कहिलेकाहीँ रातको अँध्यारोमा मात्र ऊ नजिक आउँथ्यो अनि भोक शान्त भएपछि फेरि उही दुरी । दिउँसो प्रायः आमाकहाँ जान्थेँ । एकदिन आमासित आफ्नो उकुसमुकुस पोख्न मन लाग्यो । लोग्नेले मतलब नै नगरेको कुरा बिस्तारै भनेँ । आमालाई शायद पहिले नै यो कुराको आशङ्का थियो कि, लामो सास फेरेर “के गर्नु, आआफ्नो कर्म” मात्र भन्नुभयो । यसैगरी दुई महिना बित्यो । उमेरले भर्खरै १८ मा लागेकी थिएँ । न त पूर्ण रूपमा परिपक्व थिएँ, न त पूरै अपरिपक्व । अलिअलि बुझ्ने भएदेखि नै आफ्नो रूपप्रतिको कटाक्ष र व्यङ्ग्यले गर्दा म भविष्यप्रति एकदम असुरक्षित थिएँ । एकपल्ट जिस्कदैँ छिमेकी काकीले आमासित “दिदी !तपाईँले त जानेरै  ठुली नानीको नाम पूर्णिमा राख्नु भएको रहेछ” भनिन् । यो व्यङ्ग्यले मलाई लामो समय ठुँगिरह्यो । उमेर बढ्दै जाँदा पुरुष मित्रहरूको सामीप्यको चाहना अनि उनीहरूको बेवास्ताले  ममा यति हिनताबोध सृजना भएको थियो कि मैले आफ्नो चारैतिर एउटा अदृश्य लक्ष्मण रेखा कोरेर सबैबाट  टाढा भएकी थिएँ । यस्तो परिस्थितिमा जुन पुरुष मसित बिहे गर्न तयार भयो, ऊ त मेरालागि साक्षात देवता हो भन्ने मैले ठानेँ । उसले त ममाथि ठुलो कृपा गरिरहेछ भन्ने भन्दा पर मेरो कलिलो मस्तिष्कले केही सोच्न सकेन ।

उसले देखाएको  टाढापन र चिसो व्यवहारलाई एक प्रकारले मेरो दिमागले विस्तारै स्विकार्दै थियो । आफ्नो जिन्दगीको गाडीलाई अगाडि बढाऊँ, पढूँ लेखूँ भन्ने कुरा त मेरो मगजमा आइरहेकै थिएन । बुबासित बसेर ठुलो हाकिम बन्ने जुन सपना देखेकी थिएँ त्यो त मेरो अन्तरमा कतै दबिसकेको थियो ।

समयक्रममा मेरो लोग्ने र मबिचको मौनता पनि तोडियो । एकदिन एउटा सामान्य कुरामा उसको मौनताले विस्फोटको रूप लियो । लुगा धुन थाल्दा तरकारी बसालेको कुरा भुसुक्कै बिर्सिएछु, अलिअलि डढ्यो । फेरि पकाउने समय थिएन । अफिस जाने हतारमा थियो ऊ । त्यसैले माथिमाथिको भाग निकालँे र दिएँ । कालो कालो भएको थियो । सरसर्ती थालमा अाँखा दौडाएपछि एक गाँस मुखमा हाल्यो । तुरुन्तै अ‍ोकलेर थालमा राख्यो अनि विष्फोटक नेत्रले हेर्दै भन्यो, “न रूप न रङ्ग न काम गर्ने ढङ्ग । मुख पनि कालो …। ”हात झड्कार्दै बरबराउँदै बाहिर निस्कियो  । बरर आँसु झरे , त्यहँी थचक्क बसेँ । भक्कानो छुट्यो, निकै बेर रोएँ अलि हलुका भएपछि उठी घरधन्दामा लागेँ । कहाँ जाऊँ ? कसलाई भेटूँ ?के भनूँ ?एक्ली आमालाई किन पीडा दिने ? दाजुभाउजूले त के कसो छ भनेर कहिल्यै सोध्दैन थिए, उनीहरूलाई एउटा गरुङ्गो भारी बिसाएजस्तो भएको हो कि भन्ने मलाई लाग्थ्यो । विद्यालयमा केही साथीहरू थिए ती पनि लाखापाखा लागिहाले । बहिनी आफ्नै रूपमा दङ्ग थिई, ऊ मप्रति कत्ति पनि लगाव राख्दिन थिई ।

अब दिनहरू कठिन हुन थाले । रात झन् कठिन । पहिले कहिलेकाहीँ रक्सी पिएर आउने ऊ दिनहुँजसो मातेर आउन थाल्यो । हरेक कुरामा निहुँ खोज्न थाल्यो ।  पढेलेखेको मान्छे मेरो लोग्ने मेरालागि भने त्रासदीय फिल्मको खलनायक भन्दा कम भएन । सानासाना कुरामा निहुँ खोज्ने र हात छाड्ने त दैनिकी भयो । “यस्ती काली नराम्रीसित फसेँ । यसको दाजुले फसायो । १० कठ्ठा जग्गाको लोभमा परेँ ।…मेरो भाग्य …”  केके हो केके बड्बडाइरहन्थ्यो । दाजुले जग्गा पनि दिन्छु भनेका रहेछन् भन्ने कुरा उसकै मुखबाट थाहा पाएँ । बिहे नहुँदासम्म त नातागोता  तथा छरछिमेकीले गरेको नकारात्मक टिप्पणीलाई जसोतसो पचाएकै थिएँ अब भने मलाई मेरो अनुहारको रङदेखि नै वितृष्णा हुन थाल्यो । ऐना हेर्नै छाडेँ । निराशा मात्र व्याप्त थियो चारैतिर । आफ्नो भाग्यलाई कोस्दै समय कट्न थाल्यो ।

आँखिर सहनु पनि कति सहनु ! उमेरले मात्र होइन, समय र परिस्थितिले पनि परिपक्व बनाउँदै थियो मलाई । म पनि चुप लाग्न छाडँे, जवाफ फर्काउन थालेँ । म मुख लाग्थेँ, ऊ हात लगाउँथ्यो । एक दिनको कुरा हो, दुईटा साथी लिएर रक्सी र मासु बोकेर आयो । साँझको  साढेँ नौ जति भएको थियो । उनीहरू पहिले नै कतै पिएर आएका थिए । मासु पकाउन आदेश दिएर फेरि पिउन थाले । म भान्सामा थिएँ । उनीहरू कोठामा बसेर हल्ला गर्दै थिए ।

“ओइ ! पाकेन ? कत्ति ढिलो ..”, ऊ करायो ।

“पाक्दै छ”,  जवाफमा म पनि कराएँ ।

एकछिन पछि फेरि आवाज आयो, “ओइ, पानी ले छिटो ।” पानी लगिदिएँ ।

फेरि करायो, “भटमास साँधेको ले ।” लगेर भाँडा नै राखिदिएँ ।

मातेर राता भएका आँखाले घुरेर हेर्दै  भन्यो, “मासु छिटो ले भनेको सुनिनस् ।” उसका साथीहरू मुसुमुमु हाँस्दै घुरेर मलाई हेर्दै थिए ।

“कसरी छिटो पकाउनु ? आफै पकाउनु नि”, रक्सी पिएको र हेपेको सहन नसकेर मैले जवाफ दिएछु ।

“बढ्ता हुन्छेस्” भन्दै पिट्न हात लम्काएको थियो, मलाई छुन सकेन । ऊ रिसाउँदै कराउन थाल्यो । मेरो बद्ख्वाइँ गर्दै थियो । उसले कसरी जग्गाको लोभमा परेर बिहे गर्‌यो, मेरो दाजुले उसलाई कसरी फकायो ऊ वर्णन गर्दै थियो, लरबराएको स्वरमा । साथीहरू बिचरा सर भन्दै थिए उस्तै स्वरमा । मभित्र आगो सल्किन थालेको थियो । छटपटाहट र उकुसमुकुस बढ्दै थियो । एक्लै कोठामा हुँदा भनेका कुरा त पचाउन थालिसकेकी थिएँ तर अहिले अरुको अगाडि मेरो रूपरङ्गका विषयलाई जुन तरिकाले प्रस्तुत गरिरहेको थियो, त्यसले मलाई ऊप्रति भयङ्कर घृणा उत्पन्न भइरहेको थियो । कराइमा भुटिदै गरेको मासु प्याट प्याट गरेर पड्कदै थियो, म चाहिँ विष्फोट हुन मात्र बाँकी थिएँ । उसको रोइलो बढ्दै थियो । कुनै स्पष्ट कुनै अस्पष्ट आवाज आइरहेको थियो  । थालमा मासु हालेर कोठाभित्र गएँ ।

“के गर्नु, यसको अनुहार मात्र कालो हो र सबै थोक कालो …..पनि कालो , …” अरु केके भन्दै थियो । कानमा परिहाल्यो । मलाई हजार भोल्टको करेन्टले छोएजस्तो भयो । एकैपटक कैयौँ बारुलाले चिलेजस्तो भयो । कहाँबाट शक्ति आयो कुन्नि  मेरो दाहिने हातले उसको गालामा चड्काइसकेको थियो । रक्सीले मातिसकेको मान्छे  भुक्लुक्क भुइँमा ढल्यो ।  “थुक्क ..”, मुखमै पर्ने गरी थुकेँ । उठ्ने कोसिस गर्दै थियो, सकेन । बाँकी दुई जिल्ल परेर बसिरहेका थिए, उनीहरूको नशा उत्रिसकेको थियो । म राति नै निस्किएँ त्यहाँबाट सरासर हिँडेर आमाकहाँ आएँ । रातको ११ बजे पनि रत्तिभर डर लागेन ।

सबै सुतिसकेको रातमा आमाको कोठामा सुटुक्क पसेकीले कसैले थाहा पाएनन् । भोलिपल्ट बिहान भने घरमा भूकम्प नै आयो । यस्तै हुन्छ भन्ने त मैले पूरै सोचिसकेकी नै थिएँ । “आफूसित रूपगुण केही नभएपछि त अलिअलि सहन सक्नुपर्छ क्या नानी ।” भाउजूले तितो भाषामा सम्झाइन् तर म उनलाई कसरी सम्झाऊँ कि मैले अलिअलि मात्र सहेकी थिइनँ । दाजु पनि  घर जानुपर्छ भन्दै थिए । मैले जान्न भनेँ । आमा आफ्नी छोरीको अनिश्चित भविष्यबाट व्यथित थिइन् । म टसकोमस भइनँ । अब यो सम्बन्ध केही गरी पनि अगाडि नबढाउनेमा म अडिग थिएँ तर अब के गर्ने भन्ने कुरामा चाहिँ बिल्कुलै अनभिज्ञ । यति चाहिँ पक्कै थाहा थियो, यो घरमा बस्न असम्भव छ ।

अफिसबाट घर फर्केपछि दाजुले आफ्नो रौद्र रूप देखाए । “आफ्नो लोग्नेलाई हात हाल्ने” भन्दै मलाई बेस्सरी गाली गरे । ममाथि के बित्यो भन्ने कुरा सुन्नै चाहेनन् । मेरो एक कुरा सुनेनन् । “टोलभरि हल्ला फिँजिसकेको छ । तँ यहाँ बसे परिवारकै इज्जत जान्छ” भन्न पछि परेनन् । यसको मतलब उनी कुनै पनि हालतमा मलाई घरमा राख्न तयार थिएनन्  । आमा “कहाँ जान्छे त यो ? कसरी काट्छे पहाडजस्तो जिन्दगी कुनै सहाराविना” भन्दै रुन थाल्नु भयो । मेरा सहारा भनेकै दाजुभाउजू थिए तर उनीहरूका आँखामा म नै दोषी साबित गरिएँ । आफन्त भनिनेहरू कै यस्तो व्यवहारले मलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‌यायो।

ज्यान फालिहाल्न त किन सक्थेँ र ? त्यस दिनभरि म आमासित कोठामा बसिरहेँ । वृद्ध आमाका आँखा ओभाएनन् । खाना ल्याइदिनुभयो  । त्यही नै त्यस घरमा, मेरो जन्मघरमा अन्तिम छाक थियो । बेलुका धेरैबेरको विचार मन्थनपछि मैले आमासित “जेठी माइजूकहाँ इलाम जान्छु” भनेँ । बिहेको दुई वर्षपछि ठुलो मामा भारतमा रोजगारीका निम्ति जानुभएको उतै हराउनुभयो । लामो समय बितिसकेको थियो । न सास न लास भेटियो । छोराछोरी पनि थिएनन् । कहिलेकाहीँ माइजू हामीकहाँ आउनु हुन्थ्यो । हामी दिदीबहिनीलाई नै असाध्यै माया गर्नुहुन्थ्यो । सबैले काली काली भनेर हेपेको देखेर उहाँको माया मप्रति विशेष थियो । अहिलेको यस विषादको घडीमा मैले सहाराको रूपमा उहाँलाई सम्झेँ । मेरो कुराले आमाको मुहार अलिकति उज्यालियो ।

पश्चिम तराईको उष्ण वातावरणबाट म इलाम पुगेँ। इलामको शीतल वातावरणले तनलाई मात्र होइन, जलेको मनलाई पनि शीतलता दियो । अधबैँसे उमेरकी माइजू । समय र समाजले दिएको चोटसित लड्दा लड्दा बलियो चट्टान झैँ हुनुभएको थियो । मैलै पनि सानै उमेरमा चोट पाएकी थिएँ । लामै समय लाग्यो, आफूलाई सम्हाल्न । अब के गर्ने ? यस प्रश्नको उत्तर पहिल्याउन मलाई निकै गाह्रो भयो । माइजूको मार्गनिर्देशनमा मैले आफ्नो पढाइ अगाडि बढाएँ । प्राइभेट एस.एल.सीको तयारीमा लागेँ । पढ्ने बानी छुटेको थियो । पढाइमा कमजोर भएको थिएँ तर हार मानिनँ । कडा परिश्रमपश्चात् एस.एल.सी उत्तीर्ण भएँ। बिस्तारै जीवनले एउटा गति समात्न थालेको थियो । माइजूको जीविकाको स्रोत थोरै खेती अनि अलिकति वस्तुभाउ थियो । बिहानको क्याम्पस पढ्ने अनि दिउँसो चिया फ्याक्ट्रीमा काम गरेर मैल्ौ पैसाको जोहो गरेँ । पढाइलाई मैल्ो आफ्नो साथी बनाएँ । इलामको शिक्षित खुला वातावरणले मलाई अघि बढ्न प्रेरणा दियो । मेरो कालो वर्णप्रति कटाक्ष गर्नेहरू, टिकाटिप्पणी गर्नेहरू त्यहाँ पनि नभएका होइनन् तर मलाई त्यसको कुनै असर पर्दैनथियो । मैले सानो उमेर र छोटो अवधिमै धेरै भोगिसकेकी थिएँ । आफन्तले थिलोथिलो पारेको शरीरलाई पराइको झटाराले किन पो छुन सक्थ्यो र ? जसरी भए पनि आफ्नो खुट्टामा उभिनुपर्छ, म कमजोर छैन भनेर देखाउनुपर्छ भन्ने विचार ममा बढ्दै थियो । यी कुरा पूरा गर्न पढ्नुबाहेक मैले अर्को विकल्प देखिनँ । रोकटोक गर्ने अल्झाउने बिल्झाउने कोही थिएन, वचनवाणले घोचिरहने कोही थिएन, मेरो निर्दोष छालालाई लिएर व्यङ्ग्य गर्ने कोही आफन्त त्यहाँ थिएनन् । बेलुका माइजूलाई घरधन्दामा सघाएपछि मेरो सम्पूर्ण  समय लेखपढमा नै बित्न थाल्यो । पढेलेखेका दाजु कहिल्यै प्रेरणाको स्रोत बन्न सकेनन् तर अनपढ माइजूले अघि बढ्न हरदिन प्रेरित गर्नुभयो । दिवङ्गत बुबा र उहाँको हौसलाले कताकता घच्घचाउन थाल्यो ।

त्यसबखत मेरा क्याम्पसका साथीहरू पढाइका साथै विद्यार्थी राजनीतितर्फ पनि आकर्षित थिए भने कत्ति चाहिँ लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै थिए । सुषुप्त भइसकेको चाहनाले अलिकति आँखा खोल्यो । म  पढाइसँगै आयोगको तयारीमा लागेँ ।  मन त गरेँ तर सजिलो कहाँ थियो र ? चट्टान फुटाउन बरु सजिलो होला, मैले यो यात्रा छिचोल्न निकै कडा मिहेनत गर्नुपर्‌यो । पेट पनि पाल्नु थियो, पढाइ खर्च पनि जुटाउनु थियो, पढाइ पनि अगाडि बढाउनु थियो अनि भविष्यको गोरेटो पनि कोर्नु थियो । यी सबैलाई सन्तुलित ढङ्गमा मिलाएर लान धेरै गाह्रो थियो तर असम्भव थिएन । रातमा ४ घन्टा मात्र सुतेर म पढ्थेँ । समय चापैचापमा अघि बढ्न थाल्यो । उमेरले भन्दा पनि भोगाइले मलाई परिपक्व बनाउँदै थियो । म विगतलाई बिर्सिएर आजलाई माया गर्दै अघि बढ्न थालेँ । घरका कसैसँग भेटघाट भएन । न उनीहरूले खोजे, न मैले भेट्न चाहेँ । एकपटक माइजू आमालाई भेट्न जानुभएको थियो । मेरो कुरा गर्दै आमा बेस्सरी रुनु भएछ । बुढी भइसकेकी आमाको ममताले व्यथित भएँ । लक्ष्य पूरा नगरी उहाँलाई पनि नभेट्ने मेरो अठोट थियो । लोग्ने भनाउँदोले जागिर नै छाडेर कतै गएको कुरा माइजूले सुनाउनु हँुदै थियो । मैले मतलब गरिनँ । उसलाई त मैले बाटोमा ठोक्किन आएको ढुङ्गो सम्झेर बिर्सिसकेकी थिएँ तर उसले दिएको चोट भने निकै गहिरो थियो, बेला बेला दुखाइ नमिठोसित बल्झिन्थ्यो ।

स्नातक पढ्दापढ्दै सामान्य प्रशासनतर्फको नासुमा नाम निकालेँ । घरपायक नै बसेँ  । त्यसको पाँच वर्षमा शाखा अधिकृतमा खुल्लातर्फ तेस्रो अनि महिला कोटामा पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ । पत्रपत्रिकामा पनि नाम आयो । केही राष्ट्रिय पत्रिकाहरूले मेरो  अन्तर्वार्ता छापे । अब जीवनले एउटा निश्चित बाटो समातेकोमा म ढुक्क भएँ । जताजता म सरुवा हुन्थँे, माइजूलाई साथै लान्थँे । अन्धकारमा बाटो नपाएर ढल्न लागेको बेला उहाँले बलियो साथ दिनुभएको थियो, अब उहाँको बुढेसकालमा म सहारा बनेँ । आमालाई साथमा राख्न मन थियो तर उहाँको मृत्युका कारण यो चाहना पूरा भएन । मेरो यो सफलतामा मेरो कालो रूपरङ कहीँ तगारो बनेन ।

ओहो ! म बिर्सिसकेको विगतमा हराउन पुगेछु । माइजू बाँकी कुरा सुन्न उत्सुक हुनुहुन्थ्यो— मेरो अगाडिको कुर्सीमा ऊ त्यसैगरी घोसेमुन्टो लगाएर बसिरहेको थियो । किन उठेर हिँडिहाल्न सकेन कुन्नि ? चाहुरिन सुरु गरेको अनुहारमा अनेक रङ आउँदैजाँदै गरेको मैले देखेँ । पक्कै पनि उसलाई मेरो यो स्वरूप स्विकार्न धेरै धेरै गाह्रो भइरहेको हुँदो हो । मैले यत्तिका वर्षपछि पनि उभित्रको कुरुपतालाई बिर्सिन सकेकी रहिनछु, बरु आजको परिवेशले मेरो सुन्दरतामा निखार ल्याइरहेकोजस्तो अनुभव गर्नपुगेँ । माला र खादाले सजिएर मञ्चासीन भएकी म, ऊ मेरो सम्मुख ओइलाएको पूmल झैँ लत्रक्क परिरहेको थियो । उसको त्यस राक्षसी कद क्रमशः सानो सानो हुँदै त्यतै कतै बिलाएको जस्तो मलाई लागिरहेको थियो ।

“……..प्रमुख जिल्ला अधिकारीजस्तो गौरवशाली पदमा उहाँ आसीन हुनु भनेको हामी सम्पूर्ण नारीजातिका लागि गर्वको कुरा हो । उहाँ यस समाज तथा राष्ट्रकै गहना हुनुहुन्छ र सम्पूर्ण नारीजातिका लागि प्रेरणाकी स्रोत हुनुहुन्छ । यहाँसम्मको यात्रा उहाँले कसरी पार गर्नुभयो, कस्ता कस्ता चुनौतीसँग लड्नुभयो भन्ने कुराले पक्कै पनि हामी छात्राहरूलाई प्रेरणा दिनेछ । त्यसैले आफ्नो सङ्घर्ष तथा प्रगतिका बारेमा आफ्ना कुरा राखिदिन हुन आजका हाम्रा प्रमुख अतिथि श्री पूर्णिमा थापाज्यूलाई अनुरोध गर्दछु ।”

म माइकतिर बढेँ । एक नजर सबैतिर डुलाएँ । छात्रछात्राहरू तथा उपस्थित सबैको उत्सुक नजर ममा अडिएको थियो । मेरो भने उसमा आएर अडियो । लाग्थ्यो, लज्जा र ग्लानीले ऊ सेतीको साँगुरो सुरुङ झैँ भासिँदै थियो अनि आत्मसम्मान र स्वाभिमानले म माछापुच्छ्रे झैँ प्रतिविम्बित हुँदै थिएँ ।

माइजूका आँखा फेवाजस्तै टिलपिल भइरहेका थिए । उहाँले एउटा अतीतको स्मृतिमा मलाई डोर्‌याउनुभयो, “तिम्रा बुबा प्रायः मेरी छोरी हाकिम बन्छे” भन्नुहुन्थ्यो । आजसम्म बाँचिरहनुभएको भए कत्ति गर्व गर्नुहुन्थ्यो होला तिमीप्रति !” हामी दुवै त्यसपछि एकअर्कालाई हेर्दै मौन भयौँ ।

Author

  • नेपाली भाषा साहित्य विषयमा दर्शनाचार्यसम्मको अध्ययन गरी अध्यापन पेशामा संलग्न पूनम अधिकारीका विभिन्न पत्रपत्रिकामा कथा , कविता ,पुस्तक समीक्षा , संस्मरण तथा समालोचना प्रकाशित छन् । मूलत: नारी स्वतन्त्रता र सहअस्तित्वको केन्द्रीयतामा कलम चलाउँदै आउनुहुने अधिकारीको मुख्य विधा कथा सिर्जना रहेको छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के