कोभिडको समय, लकडाउन लाग्यो । लकडाउनमा सबैजना घरभित्र थुनिएका थिए । तीज नजिकिँदै थियो । त्यही समयमा मैले “नो” गीत सार्वजनिक गरेँ। मैले प्रचलित मान्यताहरूसँग असहमति जनाउँदै यो गीत सार्वजनिक गरेको थिएँ । सायद महामारीको डरभन्दा पनि मानिसहरू संस्कार र संस्कृतिको चिन्तामा थिए । गीत सार्वजनिक भएलगत्तै यसलाई हटाउन धम्की आउन थाल्यो, हाम्रो धर्म संस्कृति नासिन्छ भनेर । धर्मको आडमा महिलालाई दबाउने पितृसत्ताको भारी बोकेकाहरूको मानसिकतामाथि सायद ढ्याङ्ग्रो ठोकेको थियो गीतले । संस्कृतिको ठेक्का बोक्नेहरूले मेरो गीतलाई ब्यान्ड गर्नुपर्छ भनेर उग्र आवाज उठाए । गायिका (मलार्ई) लाई भौतिक कारवाहीका लागि सञ्चार मन्त्रालयसम्म पुगे, फोटो जलाउने र ज्यान मार्ने धम्कीसम्म आए । गीतकै कारणले मानसिक यातना दिनेहरूको कमी भएन । मेरो घरपरिवार असुरक्षाका कारणले चिन्तित बने । मैले माफी माग्नुपर्ने आवाज उठ्यो । मैले मेरो आधिकारिकता, राष्ट्रियता, धर्म, नैतिकताको स्पष्टिकरण दिनुपर्ने भयो । विदेशमा पढेर आएको हुँदा कृश्चियन मिसनअन्तर्गत डलर खाएर गीत गाएको भन्ने आरोप लाग्यो । योजनाबद्ध तरिकाले मलाई प्रत्येक दिन मानसिक रूपमा विक्षिप्त बनाउने मेसेज आए । मैले प्रशासनमा उजुरी पनि गरेँ तर यथेष्ट प्रमाण नभएकाले कारवाही हुन सकेन ।
मेरो विरुद्धको दबाव झेल्न नसकेर देशको ठुलो युट्युब च्यानलले गीतलाई हटायो । त्यसै मेसोमा सङ्गीतका केही संस्थाले कलाकारले आफ्नो धर्म, संस्कार विरुद्ध केही गीत गाए ब्ल्याक लिस्टमा राख्ने घोषणा गरे । केही सङ्गीतका स्रष्टाले हामी चिन्दैनौँ त्यसैले बोल्न मिल्दैन भने, कसैले आफ्नो संस्थाको सदस्य नभएकोले गीतबारे केही भन्न नसकिने आशय व्यक्त गरे । कोही तै चुप मै चुपको अवस्थामा रहे । मैले आफ्नो नियत र आवाजलाई जोगाउने सङ्घर्षका निम्ति आफ्नै युट्युबमा गीतलाई राखेँ ।
वैचारिक तह र सचेतना उच्च भएको मेरो परिवारभित्र मैले कुनै विभेद, कुरीति विरुद्ध लड्न परेन । सम्पूर्ण कुरा मैले सहज र स्वतन्त्रपूर्वक पाएँ । पढाइ र कामका लागि म बुटवलदेखि काठमाडौँ आएँ । काठमाडौँदेखि बेलायतको क्याम्ब्रिजसम्म पुगी पढाइ सकाएर फेरि नेपालमा नै फर्कें । ती सम्पूर्ण कामको निर्णय अधिकार मेरो परिवारले मलाई दिएको थियो । म जहाँ गएँ, एक्लै गएँ । मलाई कहिल्यै केही कुराको डर लागेन । मैले आधारभूत कुराका लागि कहिल्यै पनि सङ्घर्ष गर्नुपरेन र कसैसँग डराउनु परेन । तर जब “नो” गीत गाएँ, मैले जीवनमा कहिले नबिर्सने सङ्घर्ष गर्नु पर्यो । त्यसो त जुन दिनदेखि मैले सङ्गीत सिक्न थालेँ, त्यही बेलादेखि धेरैलाई जवाफ दिनुपरेको थियो । कारण, सङ्गीतलाई कला साहित्य र संस्कृतिका रूपमा हेरिँदैनथ्यो, यसलाई मनोरञ्जनको हिसाबले मात्र हेरिन्थ्यो । १५ बर्षअघि महिला ब्याण्ड खोलेर गिटार बोकेर कन्सर्ट गर्नु बरु त्यति अफ्ठ्यारो थिएन मलाई, जति “नो” गीत विरुद्ध लड्नु पर्यो । आस्था, अनुशासन, सकारात्मक सोच, परम्परा संस्कृतिको नाम दिएर मान्छेलाई यहाँ “यस” (“हुन्छ”) भनेर मौन बस्न लगाइने रहेछ ।
संसार पिँजडामा थियो लकडाउनमा, त्यसो त महिलाहरू पितृसत्ता स्थापना भएदेखि नै पिँजडामा थिए । छोटो समयका लागि घरबाट बाहिर निस्कन नपाउँदा उकुसमुकुस भएको अनुभव गर्नेहरूले महिलाहरूको स्थायी उकुसमुकुस कहिल्यै महसुस गर्छन् कि गर्दैनन् होला ? शासन, सत्ता र शक्तिले महिलाहरूलाई एउटा सीमामा बाँधेर बस्नुपर्छ भन्ने धारणा निर्माण गरेको छ । उनीहरूलाई सहानुभूति देखाउने बहानामा दबाएको छ, सत्य यही हो । राज्यका नीति नियमहरू पनि महिलाप्रति प्रायः अनुदार नै छन् । महिलाहरूले म मानव हुँ र मानव मात्रले पाउने अधिकार मैले’नि पाउनुपर्छ भन्न सधैँ युद्ध नै गर्न परिरहेको छ, महिलाहरूलाई सधैँ दोस्रो दर्जाको रूपमा प्रस्तुत गरिँदै आएको छ । यो अवस्था विरुद्धको सानो रूप “नो” गीत थियो/मैले सामाजिक र सांस्कृतिक कुरीति विरुद्ध “नो” भनेको थिएँ । म आफ्नो विचारमा अडिग बनँे । विभिन्न ठाउँ र व्यक्तिहरूबाट गीतले उठान गरेको विषयलाई समर्थन गर्ने आवाज पाएँ । मलाई त्यसले उग्रवाद विरुद्ध लड्ने साहस दियो । गीत विरुद्ध आएका सङ्घर्षले मलाई पहिचान दिलायो । औसत गीत विशेष बन्यो र मेरो लागि “नो ब्रत प्लिज” गीतले मलाई एक फरक धारकी गायिकाका रूपमा परिचित गरायो । गीतले तीजको परम्परागत शैलीमाथि प्रश्न उठायो । सचेत वर्गबाट सार्वजनिक रूपमा बहससमेत छेडियो । सांस्कृतिक विद्रोह गर्ने, जनचेतना फैलाउने खालका गीत गाउने अठोट मेरो मनमा आयो । गीत सङ्गीतका माध्यमबाट तत्काल परिवर्तन नभए पनि व्यापक मान्छेहरूलाई परिवर्तनका निम्ति आह्वान गर्नसक्ने सशक्त माध्यमलाई मैले पहिचान गरेँ । तीजमा पानी पनि नपिईकन व्रत बस्नुपर्ने संस्कारलाई “नो” भन्नेको जमात बढाउन सहयोग मिल्नु मेरा लागि उपलब्धि भयो ।
हामी सम्पूर्ण कुरा सहज रूपमा हासिल होस् भन्ने चाहन्छौँ। हाम्रो सामुदायिक धारणा के हो भने जीवनमा सङ्घर्ष गर्न नपरोस् तर के सङ्घर्ष बिना जीवन अर्थपूर्ण र रोमाञ्चक हुन्छ ? आफूले सङ्घर्ष गर्नुपर्दा धेरैको मनमा आउने प्रश्न हो, “मैले नै किन यति धेरै दुःख झेल्न परेको ? जीवनमा सङ्घर्ष भएन भने सङ्घर्षका आयाम खोज्दै हिँड्छौँ, सङ्घर्ष गर्नुपरे दुःखी हुन्छौँ । मानिसको विरोधाभासपूर्ण मनोविज्ञान पनि मैले अवलोकन गर्न पाएँ । हामी विरोधाभासपूर्ण समाजमा रहेछौँ । अर्को कुरा, अरूका बारे टिप्पणी गर्न कति हतारिन्छौँ, आफ्नाबारे कसैले केही भन्यो भने सहन सक्दैनौँ । यस्तो विरोधाभासले समाजका नागरिकले उत्कृष्ट विचार सम्प्रेषण गर्नै सक्दैनन् र भाष्य निर्माण पनि गलत भइदिन सक्छ । विचार निर्माण नै सही नभएपछि त्यसले नेतृत्वका लागि सही आवाज पनि उठाउन सक्दैन । विचार निर्माणको प्रक्रिया कष्टकर रहेछ यहाँ ।
“नो” सङ्घर्षले मलाई चर्चा दियो, जुन गौण थियो । बरु मैले सङ्घर्षको स्वरूप, हाम्रो संरचना मूल्य मान्यता नजिकबाट बुझ्ने अवसर पाएँ । अझ भनौँ, ती सम्पूर्ण व्यक्तित्व र संस्था, जसले मेरो आवाज दबाउन चाहे, उनीहरूले मलाई सङ्घर्षको वास्तविक मर्म बुझ्ने अवसर दिए । यो यात्राले सङ्घर्षको महत्त्वलाई बुझायो ।
उनीहरू मलाई दबाउन उग्र नभएको भए मैले मेरो गीतले उठाएको वास्तविक अर्थ र महत्त्व नै थाहा पाउँदिनथिएँ होला । गीत सङ्गीत त सशक्त माध्यम रहेछ भनेर यसैमा झन् दृढ भएर लाग्ने आँट साहस मलाई ती सम्पूर्णले दिएका हुन्, जसले मलाई विरोध गरेर प्रतिकारको सामथ्र्य मभित्र उम्रन मद्दत गरे ।
सङ्घर्ष आखिर “नो” र “यस”को टकराव रहेछ । परापूर्व कालदेखि चलिआएको मूल्य, मान्यता र अवधारणालाई मानिस “यस” भन्छ र कुनै प्रश्न बिना आत्मसाथ गर्छ । “नो” भन्दा आस्था र भावनामा पीडा हुनु स्वाभाविक हो । तर इतिहासदेखि अहिलेसम्म आइपुग्दा विभिन्न रीतिरिवाज हाम्रा संस्कारहरू तर्कसङ्गत नदेखिएर त्यस विरुद्ध “नो” भनेर नै आजको यो बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक समाजमा बस्न लायक भएको हो । ऐतिहासिक शृङ्खलाको एक घटनाको संवाहक “नो” गीत थियो÷ आजको समाज हिजोको केही मानिसको “नो” को सङ्घर्षले भएको हो । वास्तवमा जब मानव हितका लागि आवाज उठ्छ, हामी सधैँ “यस” भन्नुपर्छ र मानव अधिकारका विरुद्ध काम भए हामी सधैँ “नो” भन्नु पर्छ । “यस” र “नो” को सहअस्तित्व यो सङ्घर्षमा मैले बुझेँ; यो समाजले स्थापित भाष्य र मूल्य मान्यतामा ‘यस’ भने सकारात्मक भइने रहेछ अनि ‘नो’ भने नकारात्मक। ‘नो’ लाई समाजले नकारात्मक, उच्छृङ्खल अनि संस्कार भड्काउनेको रूपमा देख्दो रहेछ। यो समाजले प्रश्न नगरोस् भन्छन् र ‘नो’ नभनोस् भन्ने चाहने रहेछ । “नो ! खुट्टाको पानी महिला पुरुष बराबरी”, यसको भावले विवाह, माया साझेदारी रूपमा बुझाउँथ्यो तर मानिसले माया सम्बन्धलाई स्वामित्वको रूपमा हेर्ने रहेछन् ।
एउटा पुस्ताले भाष्यलाई परिमार्जन गर्न र परिवर्तन गर्न सङ्घर्ष गर्नै पर्छ। भइरहेका मूल्य मान्यताहरू मानिसको मन मस्तिष्कको अर्धचेतसम्म पुगेका हुन्छन, सबै ठिक नै लाग्न पनि सक्लान् । हामीले चिन्तन गर्नै पर्छ हामी साँच्चै धर्म संस्कारका अनुयायी हौँ कि कुनै कुरीतिका ! आफैलाई अवलोकन गर्ने क्रममा मैले आफूसँग भएका ढोङ र विश्वास प्रणालीसँग पनि साक्षात्कार भएँ र अरूको ढोङसँग पनि । कति मान्यताहरू भत्काउनै पर्ने र कतिलाई परिमार्जन गर्नुपर्ने देखेँ । उग्रहरू त स्पष्ट देखिन्छन्, आफ्ना नियतमा । ढोँगी, जो बाहिर आदर्श र बौद्धिकताको लेप लगाएर हिँड्छन्, तिनीहरूलाई चिन्न भने मलाई निकै कठिन लाग्यो । अतिवाद विरुद्ध त आवाज उठाउन सकिने रहेछ तर ढोँगी विरुद्ध अति कठिन । रूढिवादीको जग हल्लिने रहेछ, एउटा गीतले पनि तर ढोँगीको जग हुने रहेनछ, तिनीहरू त नाफा र स्वार्थमा चल्ने रहेछन्।यो अनुभव मैले अन्य गीत ‘छाउपडी’ र ‘आवाज’ निर्माण गर्दा पनि भयो । रूपान्तरण भनेको विस्तारै हुने चीज हो, तिमी गलत छौ भनेर केहीले मलाई सम्झाइरहँदा “म गलत हुँ ?” भनेर मैले आफैलाई प्रश्न गरेँ । आफैभित्र पीडाको ज्वालामुखी बल्यो । आफै विरुद्ध गएर आफै साक्षी भएर हेरेँ ।
यो “नो” को सङ्घर्षबाट मैले सिकेको मूल मन्त्र के हो भने बाहिरी समाजसँग सङ्घर्ष गर्नुअघि आफूभित्रको सङ्घर्षलाई पार गर्नु पर्ने रहेछ । दुबै सङ्घर्ष एकै पटक गर्न गाह्रो हुन्छ । बाहिरको युद्धभन्दा भित्रको युद्ध लड्न झन् कठिन भएको पाएँ ।यसपछि मलाई बाह्य समाजसँगको सङ्घर्षबाट आफूभित्रको सङ्घर्षको बृहत् रूपसँग साक्षात्कार हुने मौका मिल्यो । आफ्नो विपक्षी स्व. र अहम्सँग लडेपछि बाहिर उठ्न कुनै डर नै हुँदैन भन्ने ज्ञान प्राप्त भयो । यहीँबाट मैले सिकेँ कि जीवनलाई बुझ्ने सबैभन्दा उत्कृष्ट माध्यम सङ्घर्ष नै हो । सङ्घर्ष गर्न डराउनु हुँदैन । जब आफ्नो अहम्लाई जितिन्छ, बाहिर जित्नुपर्ने आवाजहरू सजिलै जित्न सकिने रहेछ । घृणा, अपमान, स्वीकृति, अस्वीकृतिका बिचबाट मैले आफूलाई शुद्धीकरण गर्ने मौका पाएँ । यो “नो” सङ्घर्षको सौन्दर्य भनेको मैले आफूलाई चिन्न पाएँ । मेरो लागि “नो” सङ्घर्षको सबैभन्दा ठूलो उपलब्धि भनेको आफूसँगको वैचारिक स्पष्टताको लडाइँ लडी सङ्गीतको उद्देश्य भेट्नु हो । यो “नो” गीतको सङ्घर्षमा मैले कहिल्यै हार अनुभव गरिनँ किनकि सङ्घर्ष आफैमा जित हो। सङ्घर्षमा हार हुँदैन, सङ्घर्ष नै जित हो ।