Asmita Magazine

#

“नो” सङ्घर्ष

कोभिडको समय, लकडाउन लाग्यो । लकडाउनमा सबैजना घरभित्र थुनिएका थिए  । तीज नजिकिँदै थियो । त्यही समयमा मैले “नो” गीत सार्वजनिक गरेँ। मैले प्रचलित मान्यताहरूसँग असहमति जनाउँदै यो गीत सार्वजनिक गरेको थिएँ । सायद महामारीको डरभन्दा पनि मानिसहरू संस्कार र संस्कृतिको चिन्तामा थिए । गीत सार्वजनिक भएलगत्तै यसलाई हटाउन धम्की आउन थाल्यो, हाम्रो धर्म संस्कृति नासिन्छ भनेर । धर्मको आडमा महिलालाई दबाउने पितृसत्ताको भारी बोकेकाहरूको मानसिकतामाथि सायद ढ्याङ्ग्रो ठोकेको थियो गीतले । संस्कृतिको ठेक्का बोक्नेहरूले मेरो गीतलाई ब्यान्ड गर्नुपर्छ भनेर उग्र आवाज उठाए । गायिका (मलार्ई) लाई भौतिक कारवाहीका लागि सञ्चार मन्त्रालयसम्म पुगे, फोटो जलाउने र ज्यान मार्ने धम्कीसम्म आए । गीतकै कारणले मानसिक यातना दिनेहरूको कमी भएन । मेरो घरपरिवार असुरक्षाका कारणले चिन्तित बने । मैले माफी माग्नुपर्ने आवाज उठ्यो । मैले मेरो आधिकारिकता, राष्ट्रियता, धर्म, नैतिकताको स्पष्टिकरण दिनुपर्ने भयो ।  विदेशमा पढेर आएको हुँदा कृश्चियन मिसनअन्तर्गत डलर खाएर गीत गाएको भन्ने आरोप लाग्यो । योजनाबद्ध तरिकाले मलाई प्रत्येक दिन मानसिक रूपमा विक्षिप्त बनाउने मेसेज आए । मैले प्रशासनमा उजुरी पनि गरेँ तर यथेष्ट प्रमाण नभएकाले कारवाही हुन सकेन ।

मेरो विरुद्धको दबाव झेल्न नसकेर देशको ठुलो युट्युब च्यानलले गीतलाई हटायो । त्यसै मेसोमा सङ्‌गीतका केही संस्थाले कलाकारले आफ्नो धर्म, संस्कार विरुद्ध केही गीत गाए ब्ल्याक लिस्टमा राख्ने घोषणा गरे । केही सङ्‌गीतका स्रष्टाले हामी चिन्दैनौँ त्यसैले बोल्न मिल्दैन भने, कसैले आफ्नो संस्थाको सदस्य नभएकोले गीतबारे केही भन्न नसकिने आशय व्यक्त गरे । कोही  तै चुप मै चुपको अवस्थामा रहे । मैले आफ्नो नियत र आवाजलाई जोगाउने सङ्घर्षका निम्ति आफ्नै युट्युबमा गीतलाई राखेँ ।

वैचारिक तह र सचेतना उच्च भएको मेरो परिवारभित्र मैले कुनै विभेद, कुरीति विरुद्ध लड्न परेन । सम्पूर्ण कुरा मैले सहज र स्वतन्त्रपूर्वक पाएँ । पढाइ र कामका लागि म बुटवलदेखि काठमाडौँ आएँ । काठमाडौँदेखि बेलायतको क्याम्ब्रिजसम्म पुगी पढाइ सकाएर फेरि नेपालमा नै फर्कें ।  ती सम्पूर्ण कामको निर्णय अधिकार मेरो परिवारले मलाई दिएको थियो । म जहाँ गएँ, एक्लै गएँ । मलाई कहिल्यै केही कुराको डर लागेन । मैले आधारभूत कुराका लागि कहिल्यै पनि सङ्घर्ष गर्नुपरेन र कसैसँग डराउनु परेन । तर जब “नो” गीत गाएँ, मैले जीवनमा कहिले नबिर्सने सङ्‌घर्ष गर्नु पर्‌यो । त्यसो त जुन दिनदेखि मैले सङ्‌गीत सिक्न थालेँ, त्यही बेलादेखि धेरैलाई जवाफ दिनुपरेको थियो । कारण, सङ्‌गीतलाई कला साहित्य र संस्कृतिका रूपमा हेरिँदैनथ्यो, यसलाई मनोरञ्जनको हिसाबले मात्र हेरिन्थ्यो । १५ बर्षअघि महिला ब्याण्ड खोलेर गिटार बोकेर कन्सर्ट गर्नु बरु त्यति अफ्ठ्यारो थिएन मलाई, जति “नो” गीत विरुद्ध लड्नु पर्‌यो । आस्था, अनुशासन, सकारात्मक सोच, परम्परा संस्कृतिको नाम दिएर मान्छेलाई यहाँ “यस” (“हुन्छ”) भनेर मौन बस्न लगाइने रहेछ ।

संसार पिँजडामा थियो लकडाउनमा, त्यसो त महिलाहरू पितृसत्ता स्थापना भएदेखि नै पिँजडामा थिए । छोटो समयका लागि घरबाट बाहिर निस्कन नपाउँदा उकुसमुकुस भएको अनुभव गर्नेहरूले महिलाहरूको स्थायी उकुसमुकुस कहिल्यै महसुस गर्छन् कि गर्दैनन् होला ? शासन, सत्ता र शक्तिले महिलाहरूलाई एउटा सीमामा बाँधेर बस्नुपर्छ भन्ने धारणा निर्माण गरेको छ । उनीहरूलाई  सहानुभूति देखाउने बहानामा दबाएको छ, सत्य यही हो  । राज्यका नीति नियमहरू पनि महिलाप्रति प्रायः अनुदार नै छन् । महिलाहरूले म मानव हुँ र मानव मात्रले पाउने अधिकार मैले’नि पाउनुपर्छ भन्न सधैँ युद्ध नै गर्न परिरहेको छ,  महिलाहरूलाई सधैँ दोस्रो दर्जाको रूपमा प्रस्तुत गरिँदै आएको छ  । यो अवस्था विरुद्धको सानो रूप “नो” गीत थियो/मैले सामाजिक र सांस्कृतिक कुरीति विरुद्ध “नो” भनेको थिएँ । म आफ्नो विचारमा अडिग बनँे । विभिन्न ठाउँ र व्यक्तिहरूबाट गीतले उठान गरेको विषयलाई समर्थन गर्ने आवाज  पाएँ । मलाई त्यसले उग्रवाद विरुद्ध लड्ने साहस दियो । गीत विरुद्ध आएका सङ्‌घर्षले मलाई पहिचान दिलायो । औसत गीत विशेष बन्यो र मेरो लागि “नो ब्रत प्लिज” गीतले मलाई एक फरक धारकी गायिकाका रूपमा परिचित गरायो । गीतले तीजको परम्परागत शैलीमाथि प्रश्न उठायो । सचेत वर्गबाट सार्वजनिक रूपमा बहससमेत छेडियो । सांस्कृतिक विद्रोह गर्ने, जनचेतना फैलाउने खालका गीत गाउने अठोट मेरो मनमा आयो । गीत सङ्‌गीतका माध्यमबाट तत्काल परिवर्तन नभए पनि व्यापक मान्छेहरूलाई परिवर्तनका निम्ति आह्वान गर्नसक्ने सशक्त माध्यमलाई मैले पहिचान गरेँ । तीजमा पानी पनि नपिईकन व्रत बस्नुपर्ने संस्कारलाई “नो” भन्नेको जमात बढाउन सहयोग मिल्नु मेरा लागि उपलब्धि भयो ।

हामी सम्पूर्ण कुरा सहज रूपमा हासिल होस् भन्ने चाहन्छौँ। हाम्रो सामुदायिक धारणा के हो भने जीवनमा सङ्‌घर्ष गर्न नपरोस् तर के सङ्‌घर्ष बिना जीवन अर्थपूर्ण र रोमाञ्चक हुन्छ ? आफूले सङ्‌घर्ष गर्नुपर्दा धेरैको मनमा आउने प्रश्न हो, “मैले नै किन यति धेरै दुःख झेल्न परेको ? जीवनमा सङ्‌घर्ष भएन भने सङ्‌घर्षका आयाम खोज्दै हिँड्छौँ, सङ्‌घर्ष गर्नुपरे दुःखी हुन्छौँ । मानिसको विरोधाभासपूर्ण मनोविज्ञान पनि मैले अवलोकन गर्न पाएँ । हामी विरोधाभासपूर्ण समाजमा रहेछौँ । अर्को कुरा, अरूका बारे टिप्पणी गर्न कति हतारिन्छौँ, आफ्नाबारे कसैले केही भन्यो भने सहन सक्दैनौँ । यस्तो विरोधाभासले समाजका नागरिकले उत्कृष्ट विचार सम्प्रेषण गर्नै सक्दैनन् र भाष्य निर्माण पनि गलत भइदिन सक्छ । विचार निर्माण नै सही नभएपछि त्यसले नेतृत्वका लागि सही आवाज पनि उठाउन सक्दैन । विचार निर्माणको प्रक्रिया कष्टकर रहेछ यहाँ ।

“नो” सङ्‌घर्षले मलाई चर्चा दियो, जुन गौण थियो । बरु मैले सङ्‌घर्षको स्वरूप, हाम्रो संरचना मूल्य मान्यता नजिकबाट बुझ्ने अवसर पाएँ । अझ भनौँ, ती सम्पूर्ण व्यक्तित्व र संस्था, जसले मेरो आवाज दबाउन चाहे, उनीहरूले मलाई सङ्‌घर्षको वास्तविक मर्म बुझ्ने अवसर दिए । यो यात्राले सङ्‌घर्षको महत्त्वलाई बुझायो ।

उनीहरू मलाई दबाउन उग्र नभएको भए मैले मेरो गीतले उठाएको वास्तविक अर्थ र महत्त्व नै थाहा पाउँदिनथिएँ होला । गीत सङ्‌गीत त सशक्त माध्यम रहेछ भनेर यसैमा झन् दृढ भएर लाग्ने आँट साहस मलाई ती सम्पूर्णले दिएका हुन्, जसले मलाई विरोध गरेर प्रतिकारको सामथ्र्य मभित्र उम्रन मद्दत गरे ।

सङ्‌घर्ष आखिर “नो” र “यस”को टकराव रहेछ । परापूर्व कालदेखि चलिआएको मूल्य, मान्यता र अवधारणालाई मानिस “यस” भन्छ र कुनै प्रश्न बिना आत्मसाथ गर्छ । “नो” भन्दा आस्था र भावनामा पीडा हुनु स्वाभाविक हो । तर इतिहासदेखि अहिलेसम्म आइपुग्दा विभिन्न रीतिरिवाज हाम्रा संस्कारहरू तर्कसङ्गत नदेखिएर त्यस विरुद्ध “नो” भनेर नै आजको यो बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक समाजमा बस्न लायक भएको हो । ऐतिहासिक शृङ्खलाको एक घटनाको संवाहक “नो”  गीत थियो÷ आजको समाज हिजोको केही मानिसको “नो” को सङ्‌घर्षले भएको हो । वास्तवमा जब मानव हितका लागि आवाज उठ्छ, हामी सधैँ “यस” भन्नुपर्छ  र मानव अधिकारका विरुद्ध काम भए हामी सधैँ “नो” भन्नु पर्छ । “यस” र “नो” को सहअस्तित्व यो सङ्‌घर्षमा मैले बुझेँ; यो समाजले स्थापित भाष्य र मूल्य मान्यतामा ‘यस’ भने सकारात्मक  भइने रहेछ अनि ‘नो’ भने नकारात्मक। ‘नो’ लाई समाजले नकारात्मक, उच्छृङ्‌खल अनि संस्कार भड्काउनेको रूपमा देख्दो रहेछ।  यो समाजले प्रश्न नगरोस् भन्छन् र ‘नो’ नभनोस् भन्ने चाहने रहेछ । “नो ! खुट्टाको पानी महिला पुरुष बराबरी”, यसको भावले विवाह, माया साझेदारी रूपमा बुझाउँथ्यो तर मानिसले माया सम्बन्धलाई स्वामित्वको रूपमा हेर्ने रहेछन् ।

एउटा पुस्ताले भाष्यलाई परिमार्जन गर्न र परिवर्तन गर्न सङ्‌घर्ष गर्नै पर्छ। भइरहेका मूल्य मान्यताहरू मानिसको मन मस्तिष्कको अर्धचेतसम्म पुगेका हुन्छन, सबै ठिक नै लाग्न पनि सक्लान् । हामीले चिन्तन गर्नै पर्छ हामी साँच्चै धर्म संस्कारका अनुयायी हौँ कि कुनै कुरीतिका ! आफैलाई अवलोकन गर्ने क्रममा मैले आफूसँग भएका ढोङ र विश्वास प्रणालीसँग पनि साक्षात्कार भएँ र अरूको ढोङसँग पनि । कति मान्यताहरू भत्काउनै पर्ने र कतिलाई परिमार्जन गर्नुपर्ने देखेँ । उग्रहरू त स्पष्ट देखिन्छन्, आफ्ना नियतमा । ढोँगी, जो बाहिर आदर्श र बौद्धिकताको लेप लगाएर हिँड्छन्, तिनीहरूलाई चिन्न भने मलाई निकै कठिन लाग्यो । अतिवाद विरुद्ध त आवाज उठाउन सकिने रहेछ तर ढोँगी विरुद्ध अति कठिन । रूढिवादीको जग हल्लिने रहेछ, एउटा गीतले पनि तर ढोँगीको जग हुने रहेनछ,  तिनीहरू त नाफा र स्वार्थमा चल्ने रहेछन्।यो अनुभव मैले अन्य गीत ‘छाउपडी’ र ‘आवाज’ निर्माण गर्दा पनि भयो । रूपान्तरण भनेको विस्तारै हुने चीज हो, तिमी गलत छौ भनेर केहीले मलाई सम्झाइरहँदा “म गलत हुँ ?” भनेर मैले आफैलाई प्रश्न गरेँ । आफैभित्र पीडाको ज्वालामुखी बल्यो । आफै विरुद्ध गएर आफै साक्षी भएर हेरेँ ।

यो “नो” को सङ्‌घर्षबाट मैले सिकेको मूल मन्त्र  के हो भने बाहिरी समाजसँग सङ्‌घर्ष गर्नुअघि आफूभित्रको सङ्‌घर्षलाई पार गर्नु पर्ने रहेछ । दुबै सङ्‌घर्ष एकै पटक गर्न गाह्रो हुन्छ । बाहिरको युद्धभन्दा  भित्रको युद्ध लड्न झन् कठिन भएको पाएँ ।यसपछि मलाई बाह्य समाजसँगको सङ्‌घर्षबाट आफूभित्रको सङ्‌घर्षको बृहत् रूपसँग साक्षात्कार हुने मौका मिल्यो । आफ्नो  विपक्षी स्व. र अहम्‌सँग लडेपछि बाहिर उठ्न कुनै डर नै हुँदैन भन्ने ज्ञान प्राप्त भयो । यहीँबाट मैले सिकेँ कि जीवनलाई बुझ्ने सबैभन्दा उत्कृष्ट माध्यम सङ्‌घर्ष नै हो । सङ्‌घर्ष गर्न डराउनु हुँदैन । जब आफ्नो अहम्‌लाई जितिन्छ, बाहिर जित्नुपर्ने आवाजहरू सजिलै जित्न सकिने रहेछ । घृणा, अपमान, स्वीकृति, अस्वीकृतिका बिचबाट मैले आफूलाई शुद्धीकरण गर्ने मौका पाएँ । यो “नो” सङ्‌घर्षको सौन्दर्य भनेको मैले आफूलाई चिन्न पाएँ । मेरो लागि “नो” सङ्‌घर्षको सबैभन्दा ठूलो उपलब्धि भनेको आफूसँगको वैचारिक स्पष्टताको लडाइँ लडी सङ्‌गीतको उद्देश्य भेट्नु हो । यो “नो” गीतको सङ्‌घर्षमा मैले कहिल्यै हार अनुभव गरिनँ किनकि सङ्‌घर्ष आफैमा जित हो। सङ्‌घर्षमा हार हुँदैन, सङ्‌घर्ष नै जित हो ।

Author

  • समाजमा विद्यमान् अनेकन विकृतिलाई गीतमार्फत उजागर गर्नुहुने सोफिया थापा एक सचेत सङ्गीतकर्मी हुनुहुन्छ । विभिन्न सिनेमामा गीत गाउनु भएका उहाँले एकल एल्बम पनि ल्याउनु भएको छ । प्राध्यापन पेशामा संलग्न थापाका समसामयिक विषय केन्द्रित लेख/रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के