Asmita Magazine

#

तीज : केही पक्ष केही विपक्ष

तीजैको बेलामा सबै जान्छन् माइत
आफ्नो माइती मुग्लान पारी छैन साइत

हाम्रो बाल्यकाल यही र यस्तै गीतहरू सुन्दै हुर्कियो, हाम्रो स्कुले जीवनका समकालीन पुस्ता आधा संस्कृति आधा परिवर्तनको संवाहक पर्वका रूपमा तीजलाई आत्मसात गर्न थालेका थियौँ । तीसको दशकको अन्तिमतिर हुनुपर्छ, जनताका गीतमा मिसिएर तीजका गीतहरूले केही नवीन भावहरू अभिव्यक्त गर्न प्रारम्भ गरे । महिलामुक्तिका आवाज पनि सँगसँगै मिसिएर आए । तीजमा देशैभरिका शिवालयहरू, गुफा र ओडारमा समेत व्रतालु महिलाहरूका पूजा आराधना र नाचगानले राताम्य बनेको दृश्यले प्रकृतिमा अरू जीवन भरिएको जस्तो पनि लाग्दथ्यो तर मेरो रुचि तीज गीतमा थियो, शब्दमा । ती शब्दहरू बढी आकर्षक लाग्थे, जहाँ महिलाहरूले समाजमा आफ्नो स्थान खोजिरहेको होस्, जहाँ महिलाका शरीरलाई बासना बनाएर होइन, मस्तिष्कको सुगन्धलाई टिपेर हृदयको लय बनाइएको होस् । यस्ता गीतहरू केही गाइन थालेका थिए, ती गाउनेहरू हाम्रै अघिल्ला पुस्ता थिए, स्कुलका माथिल्ला कक्षामा पढ्दै गरेका हाम्रै दिदी पुस्ताहरू । मैले तीजलाई कहिल्यै आफ्नो पर्व ठानिनँ, मलाई त यो पर्व टाढाबाट माइत आउने र टाढाको माइत जान नपाउने दिदीहरू र भाउजूहरूको जस्तो लाग्थ्यो, म यी दुवै वर्गमा पर्दिनथेँ र अहिले पनि म आफूलाई यो वर्गबाट बाहिरै भएको महसुस गर्छु । मेरो लागि तीज दाइलाई र मलाई उसरी नै आएको पर्व हुन्थ्यो, आमाले दर खाने दिन राति उठाएर हामीलाई दर खुवाउँदा त्यहाँ लैङ्गिक सवाल कहिल्यै उठेन, समान किसिमले भाग मिल्यो र भोलिपल्ट समान व्यवहारले स्कुल गयौँ । म पढ्न छुटाएर शिवालय अघिको लाममा कहिल्यै उभिइँन, न त महिनाबारीलाई पाप ठान्दै अछुत भनिएकोलाई सहेर बसेँ । न त सप्तऋषिसँग क्षमा याचना गर्ने पूजामा सरिक भएँ । यस्ता संस्कृतिले तीजलाई महिलाको प्राकृतिक हकको उपहास गरेको मात्र बोध भइरह्यो, म तीजसँग भावनात्मक रूपले गाँसिन नसक्नुको पछाडि यिनै विभेदका आँखाहरू थिए, जसलाई मैले स्कुल जान थालेदेखि बोध गर्नथालेँ र महिनाबारीको उमेर भएदेखि विद्रोह र प्रतिरोध गरेँ । तीज मेरो निम्ति कहिल्यै खास भएन ।

सत्यम् शिवम् सुन्दरम्‌को आत्मबोध पठन संस्कृतिबाट प्राप्त गर्ने बानी परेपछि बाहिरका आडम्बरी संस्कृतिमा म फस्न सकिनँ र मलाई कसैले दबाव पनि दिएन । तीजका बन्धनहरूबाट म स्वतन्त्र छु, तर अहिले यसको समाजशास्त्रीय विश्लेषण हुनु जरुरी ठान्छु ।

साउनको सोमबार शिवको पूजाका निम्ति अपरान्हसम्मै मन्दिर छेउ लामबद्ध उभिएका महिलाहरूलाई हेरेर यसपालि एकजना कलेजकी छात्राले भनिन्, “हेर्नुहोस् त म्याम ! हाम्रो देशमा महिलाहरू कति बेरोजगार छन् ? अनि महिलाहरू कसरी आत्म निर्भर हुनु ?” फेरि भदौ लाग्दा नलाग्दै महिलाहरूले अर्को पर्वका निम्ति विशेष तयारी सुरु गरेको देखियो । जुन चाडको आरम्भ आजबाट हुँदैछ, अर्थात् विगतमा दर खाने दिन भनेर तीजको व्रतको अघिल्लो दिनलाई मात्र मान्ने चलन कति उत्साहप्रद थियो तर आज एक महिनाअघिदेखि अनेक काम छाडेर महिलाहरू दर खाने बहानामा यताउता पार्टी प्यालेस र चोक चौरको खाली जग्गामा भेला भई तँछाड र मछाड गर्न थालेको दृश्यले यो विज्ञापनमुखी संस्कृतिको बदलिँदो स्वरूपले आगामी दिनमा सामाजिक मूल्य र मान्यता, संस्कृति र जीवनशैलीलाई कुन अवस्थामा पुर्याउने हो भन्ने बारे निकै गम्भीर बनाएको छ ।

संस्कृति जीवनको आधार हो । संस्कृतिसँग दैनिक जीवनका उपक्रमदेखि विशेष अवसरमा मनाइने अनेक चाडपर्वहरूका क्रमिक शृङ्खलाहरू जोडिएका हुन्छन् । पट्यारलाग्दो जीवनको एकरसताबाट नवीन सोच र सिर्जना शक्ति उमार्न अनि गतिशील र ऊर्जाशील भविष्यतिर आकर्षित गर्न पर्वहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसैले पनि हाम्रा सनातन पर्वहरू जीवनका विपरीत होइनन्, बरु जीवनलाई रङ्गीन बनाउने तरल अनुभूतिका पक्ष पोषक र उन्नत अवसरहरू हुन् । यसरी सोच्दा तीज नेपाली महिलाहरूका लागि एउटा महत्त्वपूर्ण उत्सव हो । यसको कथा हिन्दूधर्मसँग जोडिएको भए पनि समाजमा सांस्कृतिक आदानप्रदान र एकताको कारणले तीजको आनन्द सबै समुदायका महिलाका लागि हुने गरेको छ । चाहे प्रत्यक्ष रूपमा सहभागी हुन् या नहुन् तीजे गीतको लयमा कम्मर मर्काउने रहर सबैमा देखिन्छ ।

कथाअनुसार विष्णुकी विवाहित हुनु नपरोस् र आफ्ना प्रियतम शिवलाई नै पति वरण गर्न पाऊँ भन्ने चाहना हिमालयकी पुत्री पार्वतीको थियो । यही उद्देश्य प्राप्तिका निम्ति पार्वतीलाई आफ्ना सङ्गीनीहरूले लुकाएर जङ्गलमा पुर्‌याएपछि पार्वतीले गरेको तपस्या र शिवप्राप्तिको कथासँग जोडिएको यो पर्व हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन व्रत बसी आफ्ना पतिको दीर्घायू हुने विश्वासका साथ विशेष गरी विवाहित महिलाहरूले मनाउने पर्वका रूपमा प्रसिद्ध छ । तीजको ऐतिहासिक महत्त्व संस्कृतिसँग जोडिएको छ । यो संस्कृतिको आरम्भगर्भ वा यसको पृष्ठभूमि खोज्दै जाँदा आफूले चाहेको प्रेमीलाई पति पाऊँ भन्ने मनोकामना लिएकी हिमालय पुत्री पार्वतीको तपस्या र वरका रूपमा शिवको प्राप्तिको प्रसङ्गले पवित्र प्रेमको प्राप्तिसँग यसको सम्बन्ध रहेको देखाउँछ । यो कथाको समाजशास्त्रीय विश्लेषण गर्ने हो भने मानव सभ्यताको विकास हुनुपूर्व देवताको समयमा पनि महिला आफ्नो जीवनसाथी छनोट गर्ने सन्दर्भमा स्वतन्त्र थिएनन् र त्यसका निम्ति सङ्घर्ष अपरिहार्य थियो । विवाहपूर्व असल र आफूले रोजेको पति पाउन गरिएको तपस्याको कथासँग जोडिएको यो प्रेम र समर्पणको इतिहास बोकेको तीज पर्व मानव सभ्यताको विकाससँगै पौराणिक कालबाट भने विवाहित महिलाको सौभाग्य जोगाउने सन्दर्भमा परिभाषित हुन थाल्यो ।

Source : www.himalayanexplortion.com

तीजलाई दूषित विचारहरूको विरेचन गर्ने अभूतपूर्व स्वतन्त्रता बोकेको चाडका रूपमा लिने हो भने यो पर्वको ऐतिहासिक मूल्य वर्तमानसँगै कायम रहँदै जानेमा कुनै शङ्का छैन । विचारको स्वतन्त्रता मानिसको नैसर्गिक अधिकारभित्र पर्दछ तर सबैभन्दा बढी दमन भएको पनि यही पक्ष छ । महिलाका हकमा यो अझै डरलाग्दो परम्पराबाट गुज्रिएको अनुभव हामीसँग छँदैछ । यस अर्थमा महिलाहरू सदियौंदेखिको पितृसत्ताको दासताबाट वर्षमा एकदिन भए पनि मुक्तिबोध गर्ने अवसर पाइन्छ र यो मुक्तिबोधमा केवल आफ्नो निम्ति जिम्मेवारीका शारीरिक र मानसिक सारा भारबाट पर गीत, सङ्गीत र नृत्यको रोमाञ्चक अनुभूतिले दुःखका गाँठालाई स्वतन्त्रपूर्वक फुकाउन सकिन्छ भन्ने अभिलाषा राख्दै आएका हुन् । पुरुष समाजले यसका निम्ति स्विकृति दिए पनि अर्कातिर कतिपय समाजमा महिलालाई निराहार उपवास बस्नुपर्ने र यसका कठिन सीमाहरू तोकी यो पर्वलाई वाध्यात्मक बनाएको कारण नयाँ पुस्ताका महिलामा तीजप्रतिको सांस्कृतिक आकर्षण घट्नु र उपभोक्तामुखी सोच बढ्नुले अनेक किसिमका विकृतिहरूले जन्म लिएका छन् ।

अज्ञानता र अशिक्षाले जेलिएका अधिकांश महिलाहरूलाई धार्मिक अन्धविश्वासको पर्दाभित्र अल्मलाउन सजिलो भएकै कारण पुरुष समाजबाट पहिले तीजका सीमाहरू प्रसारित भए । यसलाई महिला समाजबाटै विस्तारित गर्दै लगियो । त्यसैले पानीसम्म नखाई व्रत बस्ने र अनेक शारीरिक कमजोरीको सिकार हुने अवस्थाबाट हाम्रा हजुरआमा र आमाहरूले निकै पीडा भोग्नुभयो । वैज्ञानिक युग र युगीन चेतनाले अहिले यस्ता धर्मान्धले ढाकिएका धेरैजसो सांस्कृतिक कर्मप्रति व्यस्त महिलाहरूको रुचि कम हुँदै गएको छ तर पछिल्लो समय धर्म र संस्कृतिभन्दा पर गएर व्रतलाई भन्दा दर खाने विषयलाई अतिशयोक्तिपूर्वक बढावा दिई धनको आडमा भड्किलो शैलीको तीज मनाउने प्रचलन बढ्दै गएको प्रति विभिन्न क्षेत्रका महिला तथा चेतनशील नागरिक समुदायबाट चासो राख्न थालिएको देखिन्छ । यो वर्षको तीजको संघारमा यस्तो चेतनाको जागरण एउटा राम्रो सङ्केत हो भन्ने अनुभव भएको छ ।

समस्याको कारणतिर फर्किने हो भने हिन्दू धर्ममा विवाहित महिलाका निम्ति घर नै संसार र पति नै परमेश्वर हो भन्ने धारणाले गहिरो जरो हाल्यो । यसको प्रभावले आज पनि  कतिपय समाजमा व्यवहारिक जीवनमा महिला अत्यन्त कठोर भोगाइ स्विकारेर बाँच्न विवश बनाइएकै छन् ।

वास्तवमा विवाहपछि महिलाको गन्तव्यलाई नयाँ जीवन भनेर अर्थ लगाइए पनि उसका प्राकृतिक जिम्मेवारी र पितृसत्ताको लक्ष्मणरेखाले उसका स्वतन्त्रताहरू जकडिँदै गएका छन् । घरका सबैलाई मिठो मसिनो खुवाई सधैँ आफूले मिठो खान र मनका कुरा निर्धक्क भन्नका लागि तीज पर्खिनुपर्ने वाध्यताले विगतमा जतिसुकै कष्टकर भए पनि तीजलाई महिलाहरूद्वारा विशेष पर्व मान्ने गरिएको हो । यसै पनि माइतीले आफ्ना चेलीलाई जन्मघरको आँगनमा रमाएको हेर्ने यो एउटा अवसर भावनात्मक सम्बन्धसँग गाँसिएको छ । तर आज समय, जीवनशैली र सोचमा परिवर्तन आउन थालेको छ । यसर्थ तीजको जुन ऐतिहासिक महत्त्व हिजो थियो, आज त्यो विस्थापित हुने स्थितिमा पुगेको छ । यसको खास कारण तीजलाई धार्मिक रूपले वाध्यताको पर्व बनाइनु पनि हो, जहाँबाट सांस्कृतिक रूपले कुरुप बनाउने अभियानको आरम्भ भएको छ ।

तीजबाहेक जन्मघरमा जाने निश्चित अवसरको विकल्प रहेन र यो अवस्थामा तीज पर्व प्रेमको प्राप्तिका लागि गरिने आराधनामा मात्र सीमित नरही विवाहित महिलाको माइत जाने अवसर र मनका अनुभूतिहरू माइती र साथी सम्बन्धीसँग साँटेर मनका पिर र भोगाइका दुखाइहरू बिर्सिने प्रयत्नका लागि ठान्न थालियो । पितृसत्ताले महिलाका निम्ति संस्कृतिलाई कहिल्यै संस्कृतिकै रूपमा मनाउन दिएन । प्रकृतिपरक विशुद्ध तरिकाले अँगाल्न आजसम्म पनि दिएको छैन । उसका निम्ति हरेक संस्कृति धर्मसँग जोडिदिएर उसका पाउमा एउटा डोरी बाँधिपठाउने र त्यो धर्मको डोरी भने सधैँ पुरुषकै हातमा हुने हुँदा उसले चाहने बित्तिकै महिला पशुले झैँ त्यही डोरी पछ्याउन विवश बनिरहे । जब आधुनिक समाजमा महिलाहरू शिक्षित र सचेत हुँदै आए, त्यसपछि तीजप्रतिको दृष्टिकोण पनि परिवर्तन हुँदै आयो । यहाँ एकथरी महिला पितृसत्ताको पृष्ठपोषण गर्ने पर्व भनी तीजको पूरै विरोधी भएका छन् भने अर्काथरी महिला तीजको सामाजिक–सांस्कृतिक महत्त्वलाई वास्तै नगरी आफूले पाएको स्वतन्त्रता र अवसरको दुरुपयोग गरी समाजमा संस्कृतिका नाममा विकृति ल्याउनमा ज्ञात अज्ञात दुवै प्रकारले सहभागिता दिन थालेका छन् ।  तीज पर्वका नाममा यस्ता नकारात्मक पक्षहरू आज यसरी झाङ्गिदै गइरहेछ, तीज पर्व भन्ने बित्तिकै गरगहना, महङ्गा साडी र महिनौं अघिदेखिको खानपान र साजसज्जाको विलासितामा चुर्लुम्मै डुब्न थालेको दृश्य आँखा अघि उभिन्छ । विगतमा आफूले सहेका अनेक दमन र हीनताबोधको नजाँनिँदो प्रतिशोधी मनोविज्ञान बोकेका महिलाहरूले तीजलाई आफ्नो परिचय स्थापित गर्ने पर्वका रूपमा गलत तरिकाले प्रयोग गरिरहेका छन् । आज अधिकांश महिलाहरू अलिकति खुकुलो महसुस हुने बित्तिकै तीजलाई विकृत बनाउने बाटोमा अग्रसर हुनुका पछाडि निकै हदसम्म पुरुषसत्ताकै हात छ तापनि महिलाहरूले आफूले आर्जेको स्रोत, शक्ति र समयलाई बाह्य क्षणिक सौन्दर्यको प्रवद्र्धनमा खर्चिनु र भोजभतेरका निम्ति अनावश्यक रूपमा संलग्न हुनु निश्चय पनि महिलाको अस्तित्व र पहिचानकै रक्षाका निम्ति बाधक साबित हुँदै गइरहेका छन् ।

तीज एउटा सामाजिक पर्व हो । एकता र सद्भावका निम्ति तीजको पौराणिक मात्र होइन, समकालीन महत्त्व पनि उच्च छ । महिलाहरू एउटै थलोमा जम्मा भएर समकालीन भोगाइका कुराहरूलाई व्यक्तिगत हुँदै सामूहिक अनुभूतिमा साँट्दै आएको परम्परा स्वस्थ समाजको निर्माणतिर अग्रसर परम्परा हो । आज सचेत महिलाहरू यही प्रश्न उठाइरहेछन्, जसरी पुरुष सामूहिक भेटघाट, छलफल र सम्वादमा जुटिरहन्छन्, त्यो अवसरबाट बञ्चित महिलाहरू कसरी विचारको प्रवाहमा पुरुषका समकक्षी हुन सक्छन् ? त्यो प्रश्नले तीजको सामाजिक महत्त्वलाई अझै थप गरेको छ । हामी महिलाहरू एउटै थलोमा जुटेर विचार र चिन्तनका समान ऊर्जाहरूमा धार लगाउने अवसरको खोजीमा छौं भने आफूले पाइआएको तीज पर्वको यो सुनौलो अवसरलाई किन सुनका काँडाको बार लगाएर छेक्न खोजिरहेका छौं ?

व्यक्तिगत रूपमा तीज मेरालागि कहिल्यै वाध्यात्मक भएन । बाल्यकालदेखि नै मैले तीजलाई घरबाट भन्दा स्कुलका झ्यालहरूबाट चियाएँ । यसरी सोच्दा म तीजको पात्र कम र दर्शक बढी भएँ । स्कुलसँगै जोडिएको देवलमा शिवजीको मन्दिरमा असङ्ख्य महिलाहरूको नाचगान हुन्थ्यो र म व्रतको दिन पनि स्कुल छाड्दैनथेँ । त्यही स्कुलको दिन महिलाहरूले गाएका गीतका शब्दहरूले मलाई निकै आकर्षित गथ्र्यो तर तिनको पहिरनमा आएको रातो रङबाहेक अरू कुनै कुराले मलाई कहिल्यै लोभ्याएन । कहिले भगवान्को नाममा त कहिले सासु बुहारीका सम्बन्ध र परपीडाका कथा गाउँदै तीजे गीतको स्वरूप बदलिँदै गएको पाएँ । अब तीजका गीतले जनताका भावहरू गुन्जाउन थालेका थिए । शोषण र अन्यायका विरोधमा गुन्जिने तीजे गीत आजको सन्दर्भमा समाज, राजनीति, वेरोजगारीका समस्याभित्र मात्र सीमित नरही स्व पहिचानको समस्यामा समेत निर्धक्क गाइन थालिएको छ । यसरी हेर्दा तीजे गीत नेपाली समाजका लागि ज्ञान र चेतना विस्तारको एक प्रभावकारी माध्यम हो । तीज र यसको सांस्कृतिक सामाजिक महत्त्वलाई नकार्नु भनेको स्व पहिचान गुमाउनु हो भन्ने पक्षमा हामी महिला स्पष्ट हुनु आवश्यक छ । प्रेम र हार्दिकता, विश्वास र गतिशीलताको पर्वमा महिलाका सामूहिक जिम्मेवारीलाई गर्वका साथ पूरा गर्न उपयोग गर्न सकिने स्वतन्त्र समय हो यो ।

तीज पर्व आज अनेक सन्दर्भहरूको फ्युजन हुन पुगेको छ । एकातिर शृङ्गारका अतिशय महङ्गा सामग्रीहरूको व्यापारिक प्रयोजन छ भने अर्कोतिर तीज साजसज्जा र प्रदर्शनीको विशिष्ट मञ्च बन्न पुगेको छ । महिना दिन अघिदेखि खाइने दरमा अल्कोहल समेतको सेवनले स्वच्छ र पवित्र पर्वको नाममा अराजक गतिविधि बढाउन थालिएको छ ।

यसका निम्ति पुरुष मनोवृत्ति र व्यवहार जिम्मेवार पनि छ । रातदिन मादक पदार्थ सेवन गर्ने र परिवारमाथि दमनको भाषा बोल्ने पुरुषप्रवृत्तिप्रतिको नजानिँदो प्रतिरोध र प्रतिशोधका साथै आकर्षणको परिणाममा महिलाले पर्वका नाममा यस्ता वस्तुहरूलाई समावेश गरेको पाइन्छ । कथित आधुनिकताको नियति पनि हो यो । सामाजिक सद्भावको यो पर्व आज आएर सामाजिक प्रतिस्पर्धाको समारोहमा परिणत भइसकेको छ । तीजमा कसले बढी खर्च गर्न सक्छ, कसले कति उपहारहरू बाँड्न सक्छ र कसले कति प्रकारका भेराइटीहरू राखी खुवाउनसक्छ भन्ने चिन्तातिर यो पर्वको सारा सौन्दर्य पखालिँदै गएको छ । हुनेखानेका निम्ति तीज वैभवको आत्मप्रदर्शनी भएको छ भने हुँदा खानेका निम्ति तीज निरीहताको आत्मग्लानी बन्दै गएको छ । यतिबेला हाम्रो दायित्व दुवैतिरबाट मुक्त स्वस्थ संस्कृतिको निर्माणमा जुट्नु भएको छ । अतः तीजको कथानकसँग जोडिएर तीजसँग छुट्दै गएको यो समय तीजको सांस्कृतिक महत्त्वको पुनर्मूल्याङ्कन गर्नुपर्ने समय हो । हिन्दु र किराँत संस्कृतिको संयुक्त परिवेशबाट कथानक टिपेर आस्थाको लयबद्ध धुन पक्रिएको यो पर्वले रातो रङ र लोक सङ्गीतको उत्कर्षलाई क्रान्ति, परिवर्तन र शक्तिको प्रतीकका रूपमा जोगाउँदै ल्याएकाले आज यससँग पूर्णतः असहमत हुने र पूर्णतः सहमत हुने स्थिति देखिएको छैन । तीजको सांस्कृतिक सौन्दर्यलाई तथाकथित धर्मको दासताबाट मुक्ति दिएर महिलाले नै आफ्नो चेतनाको फराकिलो आकाशबाट नेपाली धर्तीलाई स्पर्श गर्नु आवश्यक छ । तीजको वास्तविक धर्म सद्भाव कायम राख्नु हो । सद्भावका लागि सत्कर्म जरुरी छ । आज नेपालमा मात्र होइन, विश्वभर फैलिएर तीज मनाइरहेका हामीले एकपटक सोचेर हेरौं, हामीले गरिरहेको कर्मले समाजलाई कस्तो सन्देश दिइरहेको छ ?

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के