Asmita Magazine

#

न्यायसङ्‌गत, समावेशी समाजको निर्माण : मर्यादित महिनावारी आधार

हरेक व्यक्तिको जीवन सङ्घर्षमय हुन्छ किनभने सङ्घर्षको पनि आफ्नै आयाम हुन्छ, दृष्टान्त हुन्छ | परिस्थिति हुन्छ | पङ्क्तिकार जीवनमा उनले जान्नेसुन्ने भएदेखि आजसम्म सङ्घर्षको किताबका पाना जति पढेँ, देखेँ, बुझेँ, अनुभव गरेँ, त्यो सामान्य मानिसको असामान्य अनुभूति रह्यो भन्ने लाग्छ | आफ्नो, अर्काको भन्ने जान्ने भएर बाख्रे गोठालेको जीवनदेखि आजसम्म के गरिन्, के गरिनन्, के देखिन्, के देखिनन् । जति नै पुस्तक लेखे पनि सकिँदैन होला | तथापि हरेकको, व्यक्ति-व्यक्तिको सङ्‌घर्षको चुरो कुरो दुनियाँले सोचे जस्तो रहेनछ, दुनियाँले दाबी गरेभन्दा पनि अझ गहिरो र फराकिलो रहेछ भन्ने लागिरहन्छ | त्यसो त कोही पङ्क्तिकारका भनाइमा असहमत हुन् स्वतन्त्र छन् |   

यो लेख लेख्न आग्रह गरिरहँदा अछाममा एक जना १६ वर्षे किशोरी छाउगोठमा बलात्कार भएको समाचार छ्याप्छ्याप्ती भइसकेको थियो (असार ४ २०८१)  र पङ्‌क्तिकारलाई यही विषयमा लेखे पनि हुन्छ भन्ने अनुरोध पनि | अरू विषय नै नभए झैँ सधैँ महिनावारीका बारेमा लेख्ने/बोल्ने भनेर अग्रजको पगरी गुथेकाहरूबाट आरोप, प्रत्यारोप लागिरहेका बेला महिनावारीकै विषयमा लेख्न अनुरोध गर्दा अलिकति नै सही बिहानी सुर्यको किरणमा उज्यालिएका हिमालका लहर झैँ पङ्‌क्तिकारको एक्लै उभिरहेको अनुहारमा मुस्कान र शरीरमा उत्साहको रक्तसञ्चार महसुस भएको थियो |

माथिको घटनामा `छाउगोठमा बलात्कार किन भयो ? प्राथमिक प्रश्न नै यही हो ?

सरकारले सन् २०१९ बाट किशोरीहरूको सुरक्षा, विद्यालयमा निरन्तरताका नाममा महिनावारी प्याड बाँडेको छ | तर पनि किशोरीहरू गोठ वा अन्य कुनै ठाउँमा सुत्न जान किन उत्प्रेरित हुन्छन् ? उनीहरूलाई सधैँ सुतिरहेको ओछ्यान छोड्न के कुराले बाध्य पार्छ ? छाउगोठ वा खुल्ला आकाश वा दाउराको घार वा गुफा वा त्रिपाल आदि ओछ्यान भन्दा अन्य कुनै ठाउँ सुरक्षित छैन भन्ने जान्दाजान्दै ज्यानकै जोखिम मोल्न के कुराले बाध्य वा प्रेरित गर्छ ? 

जवाफ सजिलो छ | महिनावारी प्राकृतिक प्रक्रियामा झन्डै ३ लाख बर्ष यता एक किसिमको मौनता छ | अज्ञानता पनि | राज्यको तहबाट विद्यालय तह वा गैरसरकारीस्तरबाट प्रकाशित गरिएको पाठयपुस्तक तथा पठन सामग्रीमा महिनावारीको रगत सफा र शुद्ध रगत हो भनेर लेखिएकै छैन | सामाजिक मूल्य मान्यता र शैक्षिक पद्दति वा माग र पूर्तिको खाडल गहिरो र फराकिलो दुवै छ | विश्वविद्यालयमा  विशेषगरी नर्सिङ , चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा पनि महिनावारी (महिनावारी र रजोनिवृत्ति)  विभेद र यसका जटिल तथा बहुआयामिक प्रकृतिलाई विश्लेषण र सम्बोधन गरिएको छैन | जे जति छलफल गरिएका छन्, ती छलफल महिनावारी र मेनोपज कसरी हुन्छ, के के रोग लाग्न सक्छ, रोग लागे अस्पतालमा कसरी व्यवस्थापन गर्ने, व्यवसायिक किसिमले ल्याइएका  औषधी र महिनावारी सामग्रीको प्रयोग कसरी गर्ने भन्ने जस्ता विषयमा केन्द्रित छन् | जातीय र धार्मिक प्रतिस्पर्धा गरेर जनजाति वा क्रिस्चियनहरूले महिनावारी विभेदको अभ्यास गर्दैनन् भन्ने भाष्य तयार गरिएको छ | गैर सरकारी स्तरबाट महिनावारी विभेदलाई `हानिकारक अभ्यास मा राखेर मौनता र अज्ञानताको तहलाई थप बलियो बनाइएको छ अनि महिनावारी व्यवस्थापन वा  वास (खानेपानी र सरसफाइको) बिषय मात्र हो झैँ `इन्जिनियरिङ सोच गरेर संरचनामा लागेर महिनावारीको अभ्यासको गहनतालाई दबाइएको वा लुकाइएको वा बेवास्ता गरिएको अवस्था छ | यसरी घर, विद्यालय, समुदाय, राज्य सबैले महिनावारीलाई हाउगुजी वा डरै डरको कोकोनमा राखेर योजनाबद्ध तरिकाले संरक्षण गरिरहेका छन् |

विभिन्न अनुसन्धानका अनुसार महिनावारी हुने (मिन्सुरेटर वा पाठेघर र अन्डासय लिएर जन्मिएको व्यक्ति-किशोरी, महिला, ट्रान्सम्यान, क्विर) र महिनावारी नहुने (नन मिन्सुरेटर पाठेघर र अन्डाशय लिएर नजन्मिएको व्यक्ति- पुरुष) ले यो दुनियाँको जुनसुकै भूगोलमा जन्मे पनि करिब ६-९ वर्षको उमेरमा घर परिवारको चालचलन, सञ्चार माध्यमका विज्ञापन वा सिनेमा वा पसल आदिका मार्फत महिनावारीसम्बन्धी केही न केही सोच र व्यवहार सिक्दछन् | सिक्ने क्रममा मिन्सुरेटरहरू आफूलाई कमसल, निम्छरो, हीनता महसुस मात्र गर्दैनन् कि उनीहरू आफै नन-मिन्सुरेटरहरूलाई शक्तिशाली, आफूभन्दा असल, बलिया, पवित्र पनि ठान्न थाल्छन् | यही उमेरमा नन मिन्सुरेटरले आफूलाई बलियो, राम्रो, शक्तिशाली, पवित्र महसुस गर्न थाल्छन् | यसरी मिन्सुरेटर र नन मिन्सुरेटर बिच असमान शक्ति सम्बन्धसँगै पितृसत्ताको निर्माण र सामाजीकरण हुन्छ | विभेदकारी महिनावारी अभ्यासले बिना क्लास (बर्ग), मसल, अध्ययन, कुनै पद बिना नै नन मिन्सुरेटरलाई शक्तिशाली प्रमाणित गर्न मद्दत गर्छ | यो निर्माण र सामाजीकरण कुनै उमेरमा नरोकिएर बढ्दै, मजबुत हुँदै जान्छ र जीवनचक्रभर रहन्छ ।  एउटा भिसियस सर्कल बन्छ  | अर्थात् खुट्टाउन नै नमिल्ने गरेर जीवनका हरेक क्षण जकडिएर विभिन्न सोच, बानी, व्यवहारमा मेनिफेस्ट गर्छ वा देखिन्छ | अर्थात् पाठेघरमा भ्रुण बनेदेखि चिहानमा पुग्दासम्म वा केही संस्कृतिमा त मृत्युपछि पनि देखिन्छ | त्यसरी निर्माण र सामाजिकीकरण भएको मिन्सुरेटर र नन मिन्सुरेटरले गर्ने हरेक सोच र व्यवहारलाई धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यतासँग अन्तरघुलन गरेर  नया  परम्परामा देखिन्छ जसले सिंगो समाजलाई नियन्त्रण गरेको हुन्छ वा महिनावारी विभेदको बिना कुनै प्रश्न अभ्यास गर्न बाध्य बनाउँछ | त्यसैले मिन्सुरेटरले के खाने, के लगाउने, के गर्ने, के नगर्ने जस्तै कपाल पाल्नुपर्ने, लामो लुगा लगाउनुपर्ने आदि नियमहरू लादिएका हुन्छन् | यी नियमहरूलाई विगतमा राजनीतिक वा सामाजिक तहमा, नारीवाद वा मार्क्सवाद वा मानव अधिकारका छलफलमा छुट्टाछुट्टै बुझ्ने र बुझाउने प्रयत्न भयो, जहाँ महिनावारी सोच र अभ्यास गौण रह्यो | जस्तो बाल अधिकार वा बाल विवाह न्यूनीकरण अभियान वा मानव बेचबिखन वा जलवायु परिवर्तन वा यौन तथा प्रजनन् स्वास्थ्य वा शिक्षा आदि |

सबै क्षेत्रमा विभेदित महिनावारी अभ्यासको असन्तुलित शक्ति सम्बन्ध र पितृसत्ता निर्माण र सामाजीकरणमा मुख्य भूमिका रहने तथ्यलाई आत्मसात नगरेकाले समस्त न्यायिक अभियान सोचेजस्तो सलल बगेको छैन | देखाउन वा देखासिखी नीति नियम वा कानुन त छन् महिनावारी विभेदलाई चुनौती वा बाधाका रूपमा स्वीकारिएका छैनन् | त्यसैले ती अभियान एकाङ्‌गी त छँदैछन् । असमानता र विभेदको मूल जरोलाई उखेल्न असफल छन्, जसको परिणाम हामी अहिले भोगिरहन बाध्य छौँ |

इमान्दारीका साथ भन्ने हो भने विकास वा मानव अधिकार वा नारीवाद वा गणतान्त्रिक राजनीतिको आयु दशकौ हुँदा पनि विशेषत मिन्सुरेटरहरू जोखिममा छन् | चाहे उनीहरू जहाँ सुकै जस्तो घर, स्कुल, कार्यक्षेत्र, अस्पतालको बेड, बाढी पीडितको शिविर वा महामारीको क्वारेन्टाइन  वा अपाङ्‌गता भएका मिन्सुरेटर वा ट्रान्समेन | आजको दिनमा नन मिन्सुरेटर वा अधिकांश परिवारकै पुरुष सदस्यबाट मिन्सुरेटर धेरैजसो किशोरी, महिला घरमा नै सुरक्षित छैनन् | पुरुषहरूबाट आफू पनि महिनावारी रगतले जन्मिएको, यो शुद्ध र पवित्र रगत हो, महिनावारी हुनु कुनै कमजोरी वा रोग होइन भन्ने बुझेको वा बुझाउने प्रयत्न भएका भए घर मात्र हैन, सिङ्‌गो समाजमा नै अन्य विभेद र हिंसा कम हुन्थ्यो | कुनै पनि किशोरी गोठमा सुतोस् कि घरमा, बाटोमा सुतोस् कि पिढीमा, जङ्‌गलमा सौच गरोस कि घर बाहिर सबै ठाउमा सुरक्षित हुन्थे  | अपवादमा मनोरोगीहरूले बाहेक एउटा मानव देख्थे | आफूजस्तै सोच्थे | मान्छे भएर बाँच्न पाउँथे |  पाठेघर भएको कारण आफू भन्दा पनि धेरै शक्ति वा गुण भएको, धेरै अधिकार (संवैधानिक र मानव अधिकार जस्तो सुरक्षित मातृत्व सेवा, खोप आदि) भएको मानव देख्थे अनि न विभेद न हिंसा न बलात्कार नै हुन्थ्यो | घर, विद्यालय, कार्यक्षेत्र मर्यादित त हुन्थ्यो नै, समाजका अन्य बेथिति र विभेदहरूले अन्त्य गर्न अनुकूलित वातावरणको निर्माण हुन्थ्यो | उदाहरणका लागि जातीय विभेद | जतिबेलादेखि जातीय विभेदको अभ्यास सुरु गरियो, त्यति बेलादेखि नै जातीय र राजनीतिक सङ्‌घ सङ्‌गठनमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् तर परिणाममा नेपालको सन्दर्भमा करिब १३% जनसङ्ख्या भएको दलित समुदाय सबैभन्दा पिँधमा छ, धेरै विभेद र हिंसा खेप्नुपरेको छ, न्याय उसैले पाउँदैन, किन ?

किनभने जातीय विभेद महिनावारी विभेद जस्तै विभिन्न बहाना जस्तो धर्म, संस्कृति, परम्पराको आडमा संस्थागत छ, जसरी महिनावारी विभेद जमेर रहेको छ | व्यक्ति कुनै जात, धर्म, राजनीति, देशभन्दा पहिले मानव हो, ऊ महिनावारीबाट जन्मिएको हो, कुनै पनि बहानामा महिनावारी विभेद गर्नु गराउनु हिंसा र मानव अधिकारको हनन् हो भन्ने बहस चलेको भए जातीय विभेद अन्त्य नै नभए पनि अर्थपूर्ण तहले न्यून हुन्थ्यो किनभने विभेदकारी सोच र व्यवहारका पर्खाल जस्तो धर्म, संस्कृति, परम्परा आदिको जग हल्लिसकेको हुन्थ्यो |  मानिसहरूलाई धर्म, संस्कृति, परम्पराको पर्खालमाथि धावा बोल्न वा भत्काउन एजेन्सी वा आत्म विश्वासको विकास भइसकेको हुन्थ्यो | फेरि महिनावारी विभेद साझा सबाल (महिनावारीको रगतले सबै जन्मिने यतार्थ ) पनि हो भने जातीय विभेद केवल करिब १३ % का लागि (साझा सबाल नस्विकारिएको अबस्था)  

त्यसैगरी राजनीतिमा महिलाहरूको सहभागिता सरल र सजिलो हुन्थ्यो | पहिलो राजनीतिक मञ्च वा संसद भान्सा वा बैठक कोठामा महिनावारी भएकै कारणले सहभागिता हुन नसकेका वा नपाएका मिन्सुरेटरहरू स्कुल व्यवस्थापन समितिमा सहभागी हुन सक्दैनन्, कुनै सर्तले त्यहाँ पुगे पनि बोल्न सक्दैनन् भने ३३% सहभागिता संबिधानमा लेखिँदैमा के महिला वा मिन्सुरेटरको अर्थपूर्ण राजनीतिक सहभागिता सम्भव होला र ? चाहे जलवायु परिवर्तनको असर होस् वा कुपोषण वा शिक्षा वा यौन तथा प्रजनन् स्वास्थ्य सबै तहमा छुटेको मुख्य वा अन्तर्निहित कुरा `महिनावारी विभेद को पहिचान र यसको असमान शक्ति सम्बन्ध र पितृसत्ताको निर्माण र सामाजिकीकरणमा भूमिका  नै हो |  

तर भूगोल, अर्थतन्त्र, प्रविधिका कारण महिनावारी विभेदमा आएको फरकपनलाई विश्लेषण गर्नुको सट्टा यो क्षेत्र वा धर्म वा जातमा महिनावारी विभेद हुँदैन भन्ने भाष्य निर्माण गरेर समस्यालाई पहिचान र सम्बोधन गर्नुको साटो गरिबी, शिक्षा, धर्म, भूगोल, जातलाई दोषारोपण गरेर महिनावारी मौनतालाई थप पेचिलो र जटिल बनाउँदै लगियो | त्यसैगरी एउटा महिनावारी विभेदित अभ्यास र धेरै विभेदित महिनावारी अभ्यासले दिने अन्तर्निहित मनोवैज्ञानिक सन्देश वा असर असमान शक्ति सम्बन्ध र पितृसत्ता निर्माण र सामाजिकीकरणमा भूमिकालाई नजर अन्दाज गरियो | महिनावारी भएको करिब ५ दिन र महिनावारी नभएको करिब २५ दिनमा २४ सै घण्टा गरिने गतिविधिको तुलना लगायत बाबु छोरी, आमा छोरा, छोराछोरी बिच खुलमखुला महिनावारीका बारेमा छलफल हुन्छ कि हुँदैन भन्ने बहसतिर नगएर कुन जात र धर्म सभ्य र असभ्यको नामकरणमा व्यस्त रह्यौ |

वास्तवमा मुख्य धर्म हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन धर्ममा, धनी र गरिब देशमा फरक नाम, स्वरूप र गाम्भीर्यतामा महिनावारी विभेद छ र यसले जीवनचक्रभर नै असर गरिरहेको छ, लैङ्‌गिक मूल्य मान्यताले महिनावारी विभेद हैन, महिनावारी विभेदले लैङ्‌गिक मूल्य मान्यता निर्माण र सामाजीकरण गरेको छ भन्ने कुरा बुझ्न र आत्मसात गर्न नै ढिलो हुनु नै समस्याको जड हो | अझै स्पष्टसँग भन्ने हो भने जेन्डर भन्ने शब्द नै समस्याग्रस्त छ, जहाँ समावेशिताका लागि छुट्टै आन्दोलन गर्न बाध्य पारेको छ | यदि जेन्डरको सट्टा महिनावारी भनेर बहस सुरु गरिएको भए वर्तमान पुस्ताले बाम्ठेजोरी खेलिरहेको चट्टानभन्दा कडा असमानता र पितृसत्ताको जग हल्लिसकेको हुन्थ्यो |  

नेपालले सन् १९९५ वा बेजिङ्‌ग सम्मेलनबाट महिला अधिकारसम्बन्धी विश्वव्यापी सभा समारोहमा सहभागिता गर्दै आएको छ भने सन् २०१९ बाट हालसम्म  नेपालले सिडअको सदस्यमा प्रतिनिधित्व गरेको अवस्थामा महिनावारी विभेदलाई `हानिकारक अभ्यास भित्र व्याख्या गर्नु र `छाउपडी भन्ने शब्दावली बारम्बार प्रयोग गर्नु नै माथि उल्लेखित घटनाको अर्को लुकेको तर महत्त्वपूर्ण कारण हो | संसारभर पाठेघर लिएर जन्मिएका व्यक्तिहरूले प्रत्यक्ष र पाठेघर नलिएर जन्मने व्यक्तिहरूले अप्रत्यक्ष रूपमा अभ्यास गर्ने महिनावारी विभेदलाई केही निश्चित धर्म, क्षेत्र वा जातीयतामा अभ्यास गरिने `हानिकारक अभ्यास भित्र राखेर व्याख्या गर्नु समस्या र यसको जडलाई गोल्मोटल पार्नु त हुँदै हो महिनावारी विभेदलाई संस्थागत गर्न भूमिका पनि खेल्नु हो | स्थानीय भाषा (अछामी) मा छाउपडी भनेको महिनावारी हुनु हो | पृथ्वीमा आधा भन्दा बढी जनसङ्ख्या जुन पाठेघर लिएर जन्मिन्छ अनि देखिने र नदेखिने महिनावारी अभ्यास गर्छ, त्यो कसरी बोक्सी  वा यौनाक्षेदन (Female Genital Mutulation) वा बहुपति बिबाह जस्तो हानिकारक अभ्यास हुनसक्छ ? तर दुर्भाग्य नेपालका विभिन्न क्षेत्रका अगुवा भनाउँदाहरूले नै नेपाल छाउपडीको देश भनेर स्थापित गरिरहेका छन् | सिडअको रिपोर्टमा छाउपडी भनेर आजका दिनमा पनि लेखिनुपर्छ भनेर बहस गर्ने राजनैतिक, सामाजिक र प्राज्ञिक अभियन्ताहरूको झुण्ड ठुलै छ |  नदेखिने किसिमका महिनावारी विभेदको अभ्यास काठमाडौँ वा बेलायत (नेपाली, गैर नेपाली ) ले गरिरहन्छ तर त्यसलाई महिनावारी विभेद भनेर मान्न यो समाज तयार छैन | कोही अभियन्ता वा अनुसन्धानकर्ता प्रश्न उठाउँदैन किनकि त्यसरी नै ऊ सेलीब्रेटी बन्न र संस्था चलाउन बानी जो परेको छ | विद्यालयका पाठ्यक्रम सामाजिक चाल चलन पठन पाठन गर्ने उद्देश्य नै भए  पनि मजिउ (नेवारीमा महिनावारीलाई गरिने सम्बोधन, छुन नहुने भनेको), पन्छिने, बाहिर सरेको जस्ता विभेदित शब्द नलेखेर, नराम्रो अर्थमा जोडेर महिनावारीको पर्यायवाची शब्द छाउपडी लेखेर आञ्चलिकतालाई नै हेपिएको छ |  

कतिवटा चर्पी बन्यो वा खानेपानीका धारा बने भन्ने तथ्यांकले महिनावारी विभेद हटाउँदैन | त्यो चर्पी र खानेपानी धारा मिन्सुरेटरले महिनावारी भएका बेला आफ्नो आवश्यकता अनुरूप, मर्यादापूर्वक उपयोग गर्न पायो कि पाएन भन्ने प्रश्न मूल प्रश्न हो | मिन्सुरेटरले प्रयोग गर्न नपाउँदा उसको संवैधानिक र मानव अधिकार के भयो ? वैकल्पिक पानी र चर्पीको प्रयोग गर्दा उसमा मानसिक, शारीरिक, सामाजिक अवस्थामा के के असर गर्‌यो/पर्‌यो भनेर पाठेघर नभएका व्यक्तिहरूले नेतृत्व गरेको इन्जिनियरिङ क्षेत्रमा विश्लेषण र सम्बोधन भएको छैन |  

सङ्‌घीय मन्त्रालय शिक्षा, स्वास्थ्य, महिला, खानेपानी मन्त्रालय होस् वा प्रदेश वा पालिका तहमा महिनावारीलाई मर्यादित बनाउनका लागि बहस गर्न जाने हो भने सबैको साझा जवाफ हो सरकारले महिनावारी प्याड वितरण गरेको छन् नि | 

के महिनावारी प्याडले ती किशोरीहरूलाई महिनावारी नहुने दिनहरू (करिब २५ दिन) मा  नुहाउने धारा, सधैँ प्रयोग गर्ने भाडा, लुगा प्रयोग गर्न दियो  | उनीहरूलाई स्कुल जान हतार भएका बेला खाना आफै झिकेर खान दियो, उनीहरूलाई तिर्खा लागेका बेला स्कुलको पानीको गाग्रोबाट आफैले पानी झिकेर पिउन दियो, उनीहरूलाई  सधैँ सुत्ने ओच्छ्यानमा सुत्न दियो, उनीहरूलाई  लुगा सधैँ झैँ धुन दियो, धोएको लुगा सधैँ झैँ सँगै सुकाउन पनि दिएन | के के दिएन दिएन | सरकारले बाँड्ने महिनावारी प्याडले संविधानको मौलिक हकहरू झन्डै झन्डै केही पनि दिएन | 

बदलामा सरकारले वितरण गरेको प्याड कुहिनको लागि झन्डै २००-१००० वर्ष लाग्ने प्लास्टिक दियो | जलाए हावालाई, गाडे माटोलाई, पानीमा फाले पानीका जीव जन्तुलाई विष दियो | पुस्तौँ पुस्तालाई बोझ दियो | जलवायु परिवर्तनको असरलाई बढायो | पहिले पहिले आमा भाउजूहरूले लगाउने लगुँटी, कपडाको टालो लगाउनु गलत हो भन्ने सोच र संस्कार दियो (संसारमा भएका कुनै पनि महिनावारी प्याड  लगायत महिनावारी सामग्री सुरक्षित छैनन्, सबै सावधानीपूर्वक लगाउनुपर्छ) | सरकारको प्याडले सर्प पनि मरेन, लाठी पनि भाँचियो | साउन २४, २०८० मा छाउगोठमा मृत्युवरण गरेकी  बैतडीकी किशोरी र असार ४, २०८१ मा अछामकी बलात्कृत किशोरीले सरकारले वितरण गरेको प्याड लगाएका थिए, बैतडीकी किशोरी मरिन्, अछामकी किशोरी बलात्कारमा परिन् | बैतडीकी किशोरी  मरेको हो कि मारिएको ? अछामकी किशोरी बलात्कारमा परेको कि पारिएको ?  

वास्तवमा बैतडीकी किशोरीलाई राज्यले नै मारेको हो अनि अछामकी किशोरीलाई राज्यले नै बलात्कार | 

मन्त्रालयको आदेश भनेर रातारात किशोरीहरूलाई प्याड बाँडियो, किशोरीहरू पनि धुन पर्दैन भनेर मख्ख परे | मिडियामा सरकारलाई धन्यवाद भने तर सरकारको प्याडले उनीहरूलाई न मान्छे भएर बाँच्न सिकायो न काल वा बलात्कारबाट जोगायो न वातावरण जोगायो | दुवै किशोरीका आफ्नै सपना थिए | राज्यको हेलचेक्र्याइ र मौनताका कारण एक पछि अर्को घटना भइरहेका छन्? उनीहरूका सपना चकनाचुर भइरहेका छन् | जो बाँचिरहेका छन्, उनीहरू पनि पल पल मरिरहेका छन्, महिनावारी विभेदका कारण अमानवीय जीवन बाँचिरहेका छन् वा जिउन बाध्य पारिरहेका छन् |

सरकारले बाँडेको प्याडले अन्य (झन्डै १० प्रकारका) महिनावारी सामग्रीको फाइदा, बेफाइदा पनि सिकाउदैन | बजारमा अझै स्थानीय स्तरमा हाम्रै आमा, काकीहरूको समूहले पुनः प्रयोग गर्न मिल्ने, कुहिने महिनावारी प्याड भ्याई नभ्याई, सकी नसकी बनाएका छन् तर ती महिनावारी प्याड विद्यालय-विद्यालय पुग्दैनन् | यी माथि उल्लेख गरिएका दृष्टान्त महिनावारी विभेदका केही आयाम मात्रै हुन् |

लैङ्‌गिक समानता र सामाजिक समावेशीमा थुप्रै शोध गरिए पनि, महिनावारी हुँदै गर्दा र महिनावारी सुक्दै गर्दा अभ्यासमा रहेका विभेदका पाटोमा कुनै पनि नीतिले सम्बोधन गर्दैन | त्यस्तै `मर्यादित काम’ का वैश्विक र राष्ट्रिय नीतिहरूले पनि औपचारिक र अनौपचारिक कार्यक्षेत्रमा देखिएका/गरिएका महिनावारी हुँदै र महिनावारी सुक्दै गर्दा अभ्यासमा रहेका विभेदका पक्षमा मौन छ | अझै भावनामा डुबेर, सतही विश्लेषण वा सार्वजनिक खपतका लागि महिला अधिकारकर्मीहरू नै महिनावारीलाई  अमर्यादित बनाउन`महिनावारी बिदा’ का नाममा होड गरेको तितो सत्य हामीकहाँ विद्यमान छ |

राजनीतिक, प्राज्ञिक र सामाजिक अगुवाहरू पनि पत्रकार जस्तै किशोरीहरूको मृत्यु र बलात्कारका समाचार कुरेर बसेको भान पछिल्लो समय यो पक्तिकारलाई हुन्छ | सतही विश्लेषण गर्न हतारो देखिन्छ | सर्पले टोकेर सप्तरी वा चितवन वा बाँकेका किशोरी किन मर्दैनन्, बैतडी र दैलेखका किशोरी किन मर्छन् भनेर सामान्य विश्लेषण नगरेको भान हुन्छ | सर्पले टोकेपछि अस्पताल नगएर धामी झाक्री बोलाउने, एम्बुलेन्स बोलाउने संयन्त्रको प्राप्यता नहुनु, मोटरसाइकल वा एम्बुलेन्स गुड्ने बाटो नहुनु कसको कमजोरी हो ? राज्यले यस्ता कारणहरूको जिम्मेवारी लिनु पर्दैन ?? त्यसको लागि खबरदारी कसले गर्ने ? कि सर्पले रगत सुँघेर किशोरी छानी छानी टोकेको भन्ने भाष्य निर्माण र स्थापित गर्ने ? महिनावारी भएकै कारण सर्पले टोक्ने भए सन् २०२१, डिसेम्बर २५ का दिन भारतको पानभेलको गार्डेनमा भारतीय सुपरस्टार सलमान खानलाई किन टोक्यो ? उसलाई ६ घण्टा मुम्बईको कामोथे अस्पतालमा किन उपचार गर्नुपर्‌यो? 

यसरी महिनावारी-विभेद जटिल र बहुआयामिक सवाल भएकाले यसलाई एकाङ्‌गी र सिधा तरिकाले सम्बोधन गर्न खोज्नु हत्केलाले सूर्यलाई छेक्न प्रयत्न गर्नु जस्तै हो | सामाजिक, प्राज्ञिक, राजनीतिक सबै तहका नेतृत्वले महिनावारी विभेदलाई एउटा जब्बरजस्त चुनौतीका रूपमा लिदै `मर्यादित महिनावारी को बिगुल फुक्न ढिलो भएको छ | पङ्क्तिकारले विभिन्न माध्यमबाट व्यक्त गरे झैँ ४३ बर्ष पछि पनि धनी र सहरका किशोरीहरू पनि अमर्यादित, अपहेलित भएर बाँच्न बाध्य भएका छन् | पङ्क्तिकारले झैँ जीवनबाट नै छुट्कारा लिने (आत्महत्या) सम्मको सोच लिएर बाँच्न बाध्य भएका कथाहरू अनगन्ती छन् | उनीहरूमा उन्मुक्तिको गहिरो चाह छ, उनीहरू विद्रोह गरिरहेका छन् तर अपवादमा बाहेक अल्पमतमा छन् | विद्यालय, विश्वविद्यालय, राजनीतिक नेतृत्व र पार्टी, सञ्चार माध्यम आदिबाट सहयोग तथा सहजीकरण छैन | उनीहरू एक्लै परिरहेका/पारिएका छन् |  

पङ्क्तिकारले पनि महिनावारीलाई मर्यादित बनाउनुपर्छ भन्ने अभियान नेतृत्व गर्दै गर्दा अभियन्ता, राजनीतिक नेतृत्व, गैर सरकारीस्तरबाट (नेपाल र नेपाल बाहिर) धेरैपटक लडाउने, एक्लै पार्ने, धर्मद्रोही, समाज भडुवा लगायत ज्यानै मार्ने धम्की सहन नपरेको हैन | महिनावारी रगत पापको फल, र सबै महिलाहरू पापी भन्ने भाष्यले पङ्क्तिकारको सात बर्षको बालसुलभ मस्तिष्कलाई कति गहिरो चोट पर्‌यो र त्यसले जीवन नै टुङ्‌ग्याउने जुन प्रयत्न गर्‌यो, त्यो एक्लो र पहिलो प्रयत्न थिएन। भलै ती मर्मस्पर्शी कथाहरू भनिएनन् र लेखिएनन् पनि | सन् २०१७ देखि महिनावारी प्याड निशुल्क बाँडिरहेको केन्यामा १४ वर्षकी किशोरीले आफ्नै स्कुलका साथी र शिक्षकले जिस्काएपछि सन् २०१९ मा आफैले इहलिला प्राप्त गर्ने बाटो तय गरिन् | यो दुनियाँ चाहे जहाँको होस्, पाठेघर लिएर जन्मिएकाहरूको अस्तित्व स्वीकार्न तयार छैन अनि मृत्युको समाचार गिद्दले सिनो ढुके झैँ ढुकेर बसिरहन्छ |

पल पल मरेको वा मृत्यु भएको देख्दैन किनकि महिनावारी विभेदबाट सिञ्चित पितृसत्ता `म बाट महिनावारी, चलिरहेछ संसार भएर महिनावारी’ भन्न/गाउन तयार छैन | आइन्स्टाइन विज्ञानका ज्ञाता हुन् भन्छ तर आइन्स्टाइन विज्ञानका ज्ञाता हुन् भन्नु भन्दा पहिले महिनावारीको रगतले जन्मिएका हुन् भन्न तयार छैन | महिनावारी प्याड वितरण सजिलै देखिने र चुनावी भोटका माध्यमका रूपमा स्वीकार्छ राज्य र नेतृत्व तर यो संग जोडिएको विभेदका लागि आफै महिनावारी विभेदको अभ्यास गरेर धर्म र संस्कृतिको जगेर्ना गर्ने पहरेदार टोपलिन्छ |

संयुक्त राष्ट्रसङ्‌घ मानव अधिकार र लैङ्‌गिक हिंसाको परिभाषा गर्छ तर महिनावारी विभेदलाई न मानव अधिकार हनन ठान्छ, न लैङ्‌गिक हिंसा | यदि मान्थ्यो भने तीन जनामा एक जनाले मात्र लैङ्‌गिक हिंसा अनुभव गरेको हुन्छ भनेर कसरी तथ्याङ्‌क प्रकाशन र प्रयोग गर्न सक्छ ? 

विषम परिस्थिति रहँदारहँदै, पङ्क्तिकारले आर्थिक सहायता जिरो हुँदाहुँदै, देशभित्र र बाहिर चरम विरोध खेप्दाखेप्दै महिनावारीलाई मानव अधिकारको चस्माले  विश्लेषण र सम्बोधन गर्न जुन बहसको उठान गरिन्, यो आफैमा जसको सबाल उसको नेतृत्व हो भन्दा फरक पर्दैन | अझै मर्यादित महिनावारीमा झन्डै दर्जन किताब लेखिनु, अन्तर्राष्ट्रिय स्तरका किताबमा मर्यादित महिनावारी सम्बन्धी झन्डै ९ वटा च्याप्टर लेखिनु महिनावारी विभेदमा पिल्सिएकाहरूको सङ्‌घर्षको सौन्दर्य हो भन्दा अतिशयोक्ति नहोला | अझ नेपालमा दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको स्थापना गर्दै, मर्यादित महिनावारीको विश्वव्यापी  अभियानको नेतृत्व गर्नाले विकास, नारीवाद  र मानव अधिकारको औपनिवेशिक धारलाई धक्का दिएको छ | जसको ज्वलन्त उदाहरण कोलोम्बो प्लानले आफ्नो ७३ औँ वार्षिकोत्सवमा १३ वटा देशका २४ जना सहभागीलाई मर्यादित महिनावारीमा साताव्यापी तालिम गर्दै मर्यादित महिनावारीसम्बन्धी दुईवटा किताब विमोचन गर्नु नेपालका लागि झनै गौरवको क्षण हो  | त्यसैगरी हालै मात्र फ्रान्स सरकारले नेपालको सिकाइलाई अवलम्बन गर्दै दक्षिण गोलार्द्धका दश देशमा मर्यादित महिनावारीको कार्यक्रम सुरु गरेको छ | फ्रान्स सरकार र कोलोम्बो प्लानले झैँ हरेक तह र तफ्तामा मर्यादित महिनावारीलाई मूलप्रवाहीकरण गर्नु आजको अपरिहार्य आवश्यकता हो, जहाँ न्यायोचित, समावेशी र मानव अधिकार मैत्री समाजको निर्माण सम्भव छ |  

Author

  • राधा पौडेल महिनावारीलाई मर्यादित बनाउनुपर्छ वा `मर्यादित महिनावारी’ को अवधारणा, सैद्धान्तीकरण र विश्वव्यापीकरणको विश्वमा नै अग्रणी व्यक्ति हुनुहुन्छ | लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १४ औँ दिन वा डिसेम्बर ८ लाई `अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’ सुरुवात पनि उहाँले नै गर्नु भएको हो | भई-खाई आएको सरकारी र पछि गैरसरकारी जागिर छोडेर यो अभियानलाई सशक्त बनाउन जीवन नै उत्सर्ग गर्नुभएको छ | उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा तालिम प्रशिक्षण, शिक्षण, अनुशिक्षण, गोष्ठी, अनुसन्धान आदिमा नेतृत्व गर्दै आउनु भएको छ | झन्डै १० वटा पुस्तक मर्यादित महिनावारीमा अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशन भएका छन् | यसै सवालमा उहाँले यसै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ | सर्जिकल मेनोपज उहाँको अनुवादित पुस्तक हो भने उहाँले लेखेको खलङ्गामा हमलाले २०७० सालको मदन पुरस्कार पाएको हो | उहाँ कर्णाली क्षेत्रको खस भाषाको देउडा र उखानको सह-सङ्कलक पनि हुनुहुन्छ |

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के