म अक्सर आफैंलाई प्रश्न गर्छु– विद्यार्थीलाई कक्षाकोठामा लेक्चर दिँदा ममा जति खुसीको सञ्चार हुन्छ, भान्छामा पकाउँदै गरेको तरकारीको स्वादले त्यो खुसी किन दिँदैन ? एक समीक्षकको भूमिकामा मलाई जति आनन्द आउँछ, आफैंले धोएर सुकाएका लुगाको सुगन्धमा त्यो आनन्द किन महसुस गर्न सक्तिनँ ? कक्षाकोठामा यत्रतत्र छरिएका पत्रपत्रिका, ओछ्यानभरि पल्टिरहेका पुस्तक, टेबलमा नमिलाई छाडिएका पुस्तक अनि कम्प्युटर र डायरी नै म हराउने संसार कहिलेदेखि बन्यो ? किन मलाई प्यारो छ यही संसार ?
आजकल लाग्न थालेको छ, आफ्नो छनोटको पेशाले नै आफ्नो रुचिलाई निश्चित आकार प्रदान गर्दोरहेछ । त्यसैले गर्दाेरहेछ बेग्लै संसारको निर्माण । रुचिले नै आत्मविश्वासको किल्ला खडा गर्दाेरहेछ । र, विस्तारै आत्मविश्वासलाई जतनले जोगाउने पर्खाल निर्माण गर्नेरहेछ ।
जब जब म आफ्ना स्वभाव, इच्छा र रुचिबारे घोत्लिन्छु, आफूलाई सधैं असमञ्जसको घेराभित्र पाउँछु । सोच्छु, म समाजले थोपरेको यो घेरा तोडेर बाहिर निस्किन सायद जीवनपर्यन्त नै असमर्थ छु । समाजले मलाई प्रदान गरेको निश्चित भूमिका र मेरो व्यक्तिगत रुचिमा पटक्कै छैन तादम्यता । लाग्छ, ती भूमिकाका लागि बिल्कुलै अयोग्य पात्र हुँ म ।
०००
समय बित्दै जाँदा अनुभू्त गरें, पितृसत्ताले छुट्याइदिएको सिमाना बेवास्ता गर्दै वा त्यो भत्काउँदै अगाडि बढ्नु मेरो पेशाले मसँग राखेको पहिलो सर्त थियो । थाहा पाउँदै गएँ, मेरो घरको अक्सर नमिलाईकन छोडिएको कोठा, स्याहार नपुगेको आँगन र करेसाबारी देखेर मेरा आफन्त, साथीभाइ, छरछिमेकी र घरमा आएका पाहुनाले मबारे के धारणा बनाउँछन् ? सोच्छन् पक्कै कति अल्छी र लापरवाह महिला हुँ म ? उनीहरू भेला भएर मेरो अस्तव्यस्त कोठा र करेसाबारीको चर्चा गर्छन् । आफ्नो ज्ञान र सीपलाई गोडमेल गर्नु, आफ्नो बौद्धिक बिरुवालाई लगन र परिश्रमले मलजल गर्नु नै मेरो पेशाले मलाई सिकाएको पाठ थियो । मैले बुझें, यिनै मागलाई दैनिकीको केन्द्रमा राखेको खण्डमा मात्रै सङ्घर्षको पथ सहज बन्नेछ ।
पितृसत्तामा महिलाको सङ्घर्र्ष सहज हुँदैन । चाहेर, नचाहेर आदर्श गृहिणीको भूमिका निर्वाह गर्नुपर्छ । विवाहको एक महिनाअघि क्याम्पस पढाउन सुरु गरेको हुनाले विवाहलगत्तै क्लास लिन जानु, नयाँ परिवेशमा नवदुलही र गृहिणीको भूमिकामा फिट हुने प्रयास गर्नु मेरो पेशामा आएको पहिलो चुनौती थियो । क्रमशः चुनौतीहरू थपिए । कहिलेकाहीँ लाग्थ्यो, चुलिँदै चुलिँदै बनेका चुनौतीका पहाड छिचोल्न सक्ने तागत र आत्मविश्वास दुवैले अब घुँडा टेक्छन् । विवाहअघि म भातभान्छा गर्न पोख्त थिइनँ । त्यसैले विवाहपछि खाना पकाएर, कक्षाको तयारी गरेर, क्वाटरदेखि हिँड्दै ट्याम्पू स्ट्याण्ड सम्म पुग्न हम्मेहम्मे पथ्र्याे मलाई । त्यसमाथि नियुक्तिपत्र दिँदै क्याम्पस प्रमुखले भन्नुभएको थियो, ‘पढाउन आउँदा सारी लगाएर आउनु, आइ.ए. पढ्ने भन्न पनि नसुहाउने फुच्चीजस्ती देखिन्छौं, फेरि विद्याथीर्ले पत्याउँदैनन्, हेप्छन् ।’ साडी लगाउने आदत नभएकी मलाई साडी लगाएर करिब आधा घण्टाको बाटो हिँड्नु सकस थियो । अहिले सोच्छु, महिलाका निम्ति मर्यादित भनेर थोपरिएको वस्त्रले पनि उसको सङ्घर्षमा थप जटिलता थप्ने काम गरेको छ । सङ्घर्ष गर्दा आउने कठिनाइ आर्थिक पाटोमा पनि उसैगरी गाँसिएको हुन्छ । पेशाबाट यदि राम्रो आम्दानी हुन्थ्यो भने सङ्घर्ष केही सहज अवश्य हुन्थ्यो होला, तर मेरो कुरा भिन्नै थियो । क्याम्पसले मजस्तो ज्यालादारीमा राखेको शिक्षकलाई दिएको न्यूनतम ज्याला क्याम्पससम्म पुग्न, रिक्सा/ट्याम्पुको भाडा तिर्न पनि अपुग थियो ।
पत्नी प्लस गृहिणीको भूमिका निर्वाह गर्दै सङ्घर्र्ष–पथमा पाइला चाल्दै गरेकी एक महिलाको कदम अझै बोझिलो हुन जान्छ, जब उसमा आमा हुनुको जिम्मेवारी थपिन्छ । सुरुसुुरुमा अध्यापन पेशा एकदमै चुनौतीपूर्ण हुनेगर्छ, निकै तनावपूर्ण पनि । तनावले हो वा रिक्सामा ओहोरदोहोर गर्दाको खराब बाटो ? मेरो बच्चा गर्भमै तुहियो । फेरि ‘आमा बन्न सकिन्छ कि सकिन्न ?’ को भयानक तनावबिच मैले आफ्नो पेशालाई निरन्तरता दिइरहेँ । आखिर जीवनको नाम चल्नु रहेछ । केवल हिँड्नु र हिँडिरहनु । मेरो पेशाको अप्ठयारो भनेकै पढाउँदै गरेको ‘कोर्स’ बिचमै छोड्न वा अलपत्र पार्न मिल्दैन । किनकि निश्चित अवधिका लागि भए पनि विद्यार्थीको शैक्षिक भविष्य एक प्राध्यापकको हातमा हुन्छ । त्यसैले मैले आफ्नो कामलाई निरन्तरता दिएँ ।
०००
प्रिय पाठक, यहाँसम्मको मेरो जिन्दगीको मध्यभाग थियो सायद । अबका केही उबडखाबड सुनाउँछु है । केही महिनापछि म गर्भवती भएँ । डाक्टरको सल्लाह अनुसार, गर्भवती हुँदाको दौरान मैले आराम गरेँ । बच्चा एक वर्षको भएपछि फेरि क्याम्पस जान सुरु गरेँ । परिश्रम र लगनशिलता नै प्राध्यापन पेशाको कडी हो । कक्षा दशसम्म जम्मा एउटा मात्रै अङ्ग्रेजी पुस्तक पढेकी मजस्ताका निम्ति यो पेशामा टिकिरहनसक्ने एक मात्र उपाय थियो– अङ्ग्रेजी भाषामा राम्रो दख्खल बनाउनु । मैले मेरो समय छोरी र आफ्नो अध्ययनको निम्ति बाँड्नुपथ्र्याे । छोरीसँग समय बिताउँदै गर्दा कता कता के छुटिरहेछ, केही बितिरहेछ भन्ने आभाष हुन्थ्यो । फेरि अध्ययनका बेला छोरीलाई समय दिन पाइन भन्ने अपराधबोधले मन पोल्थ्यो । यही दौरान मैले अनुभूति गरेँ, आफ्ना इच्छामाथि नियन्त्रण गर्दै अध्ययनलाई प्रमुख रुचि बनाउनु मेरो पेशाको प्रमुख सर्त हो । त्यसैले मैले सिनेमा, सिरियल हेर्ने, गीत सुनिबस्ने मेरा रुचिलाई थाँती राखें र अङ्ग्रेजीमा राम्रो दख्खल बनोस् भनेर मैले घण्टांै सि.एन.एन. र बि.बि.सि. हेरें, अङ्ग्रेजी अखबार पढें, लाइब्रेरीको रिफ्रेन्समा भएका अङ्ग्रेजी उपन्यास पढें । तिनमा भएका अप्ठ्यारा शब्दको डिक्स्नेरीमा अर्थ खोजें ।
०००
सफलताको शिखर चढ्न सङ्घर्र्षको निरन्तरता जरुरी हुन्छ । अक्सर बिरामी भइरहने छोरीलाई काखमा लिएर रातैभर जागै बस्नु, बिहान क्याम्पस गएर कक्षा लिनु मेरो जीवनको तालिकाको प्रमुख हिस्सा थियो । दोस्रो बच्चा गर्भमा बोकेका बेला आफूले टेक्ने भुइँसमेत नदेखिनेगरी ठूलो पेट लिएर खलखली पसिनामा भिजेर क्लास छिर्दा मेरा सहकर्मी मेरो हालत देखेर डराउँथे । क्याम्पसले ज्यालादारीमा राखेको प्राध्यापकले करार सेवा प्रवेशका निम्ति प्राध्यापनलाई निरन्तरता दिन जरुरी थियो । त्यसैले सबै अप्ठ्याराका बाबजुद पनि बच्चा डेलिभरीका लागि हस्पिटल भर्ना हुने अघिल्लो दिनसम्म कक्षा लिइरहेँ । पहिलो बच्चा सिजरियनपछि निकालिएको थियो । बच्चा उल्टो बसेको हुनाले दोस्रो पनि सिजरियन गर्नुपर्छ भनिएको थियो र सिजरियन गरेरै निकालियो । लगत्तै दशैं र तिहारको बिदा परेकाले एक महिना आराम गर्न पाएँ । छुट्टी सकिँदा म एक महिनाको सुत्केरी थिएँ । बिहान ६ बजे कक्षा पुगिसक्नुपथ्र्याे । शारीरिक रूपमा कमजोर थिएँ, ‘त्यसैले एउटा मात्रै कक्षा लिन पाए हुन्थ्यो’ लागेको थियो, तर त्यसबेला विद्यार्थीको चाप धेरै हुन्थ्यो– सहायक क्याम्पस प्रमुखले कक्षा भार वृद्धि गरिदिए । अब बिहानी सत्रमै तीनवटा कक्षा लिनुपर्ने भो । त्यसमा पनि बिचमा खाली पिरियड भएकाले बिहान ६ बजेदेखिको ड्युटी एघार बजे मात्रै सकिन्थ्यो । जाडो बिदा नभइन्जेल माइतीमै बसेँ । क्याम्पस माइती नजिकै भएकोले नानीलाई स्तनपान गराउन पनि सहज भो ।

www.freepik.com
०००
पेशामा दह्रो उभिन व्यक्तिगत जीवनमा आएका कठिनाई पन्छाएर अघि बढ्नुपर्छ । चेतनालाई वाह्य कुराबाट डगमगाउन दिनुहुँदैन । दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि समाजले ममाथि देखाएको चिन्ता र सहानुभूति उदेकलाग्दो थियो । समाजका भलाद्मीको डरमर्दो प्रश्न थियो– दोस्रो सन्तान पनि कसरी छोरी ? भ्रुण जाँच नगराएको, यत्ति पढेलेखेको दम्पत्ती भएर पनि ? यस्ता प्रश्नको उत्तर दिनु र दिइरहनु अब दिनचर्या बन्यो । कोही थिए, जो दुःखी भएर ‘ला च्वच्व’ गर्थे, मानौं मेरो जीवनमा कहिल्यै नपुरिने खाडल प¥यो वा अब मेरो जीवन नै अर्थहिन बन्यो । अब अर्को प्रश्न र नमागिएको सुझावको लहर चल्यो, समुद्री लहरझैं जो उठिरहन्थ्यो– त्यसपछि छोरा कहिले पाउने ? श्रीमान्ले तिमीलाई केही भन्दैनन् ? एउटा छोरा त चाहिन्छ है, बेलैमा छोरा जन्माउ बरु काम केही समयको लागि छाडे पनि हुन्छ, छोरी मात्रै हुने दम्पत्ती त छोरीको बिहेपछि एक्ला हुन्छन्, सम्पत्ति पनि के का लागि कमाउनु ? छोरी मात्र भो भनेर श्रीमान्को मन परिवर्तन होला नि । उफ् ! कसरी सहनु ? तर, चुपचाप जलन हुनु र सहनु नै हिँडिरहनुभित्रको अर्को यात्रा–कथा रहेछ ।
०००
पढाइमा, काममा ध्यान दिनुपर्ने मलाई यस्ता प्रश्न र सुझावले असाध्यै पोल्थे, डिस्टर्ब गर्न खोज्थे । त्यति मात्रै हो र ? छोरा जन्माएकाहरू (अझ विशेषगरी जो कामकाजी महिला थिएनन्) लाई मसँग तुलना गर्थे र आफ्नो श्रेष्ठता देखाउँथे । तर, खुसी लाग्थ्यो, कमसेकम म र मेरा छोरीहरू उनीहरूको आत्मसन्तुष्टि र प्रशन्नताको कारक त बन्यौं । छोरीहरूको सुरक्षालाई लिएर म हरबखत चिन्तित रहन्थें– कक्षा सकेर घर आइपुगुन्जेल दोस्रो तलाबाट तल खसे कि ? भर्याङबाट लडे कि ? गाडी वा बाइकले पो ठक्कर दियो कि ? मन फतक्कै गलेको हुन्थ्यो । घर पुगेर तिनलाइै देखेपछि मात्रै मन शीतल हुन्थ्यो ।
मैले उनीहरूलाई सानैदेखि ‘अरूलाई माफ गर्नुपर्छ, करुणाभाव राख्नुपर्छ, मिहिनेत गर्नुपर्छ’ सिकाएँ । सिकाएँ, ‘आफूलाई प्रेम गर्नुपर्छ’ भनेर अनि सिकाएँ ‘हाम्रो खुसीको स्रोत स्वतन्त्रता हो’ ।
‘परनिर्भरताको जीवन दुःखमय हुन्छ’ भनिरहेँ । तर, सिकाइनँ समाजले छोरीको निम्ति तय गरेको विभेदयुक्त संस्कार । मेरा छोरीहरू भोको नपरुन् भनेर खाना पकाउन सिकाएँ– अरूको घरमा जानुपर्छ, काम सिक्नुपर्छ भन्ने हेतुले होइन । ती टिनएज टेक्दै गर्दा नै स्कुटी चलाउन सिकाएँ, मार्सल आर्टको क्लास भर्ना गरिदिएँ– दुवै ब्ल्याक बेल्टसम्म पुग्न सफल भए । ‘जीवन रङ्गीन र उल्लासमय बनोस्’ सोचेर नृत्य कक्षामा भर्ना गरिदिएँ । नारायण गोपाल, लता, रफी र किशोरका गीत गाउन सिकाएँ । अहिले दुवैजना एम.बि.बि.एस. अध्ययनरत छन् । दुवैलाई आमाले समाजप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी छिन् भन्ने अनुभूति छ ।
०००
काम गर्ने दौरान थाहा पाएँ– पितृसत्तामा महिलाले आफूलाई स्थापित गर्न मेहनतले मात्रै पुग्दैन, आफ्नो अस्तित्वबोध गराउन सफल भएरै देखाउनुपर्छ । र, त्यो सफलता आफ्नै बलबुताको हो भनी प्रमाण समेत पेश गर्नुपर्छ । एउटा महिला प्राध्यापक हुनु भनेको कक्षाकोठामा कैयौं पुरुष विद्यार्थीलाई (महिला र लैङ्गिक अल्पसङ्ख्यकसहित) ज्ञान प्रदान गर्नु हो । ‘एउटी महिलाले यसो गर्न सक्छन्’ भन्ने कुरा पितृसत्तात्मक सोचले ग्रसित पुरुषले सोच्न चाहँदैन । तर, तिनलाई गरेर देखाउनु छ, कदापि हारेर होइन, कदापी प्रतिरोध गरेर पनि होइन, कामले । समानताको भावनाले । किनकि म त्यहाँ कुनै जाति, लिङ्ग, वर्ग र समुदायका निम्ति पढाइरहेकी हुन्नँ, म त तमाम विद्यार्थीका निम्ति समान उभिएकी हुन्छु । त्यसैले पनि शिक्षण मेरा निम्ति त्यसबेला ज्यादा चुनौतीपूर्ण थियो ।
आफू काम गर्ने ठाउँमा सुरुमै कलेज प्रमुखले भनेका थिए, ‘तपाईलाई विद्यार्थीले हेप्न सक्छन्, नटेर्न सक्छन्, त्यस्तो भएको खण्डमा हामीलाई भन्नुहोला ।’ त्यसैले आत्मविश्वास डगमगाउन नदिन मैले थप सङ्घर्ष गरें ।
पितृसत्तात्मक समाजमा महिला प्राध्यापक हुनु के हो ?
महिलालाई आदेशपालकको रूपमा, पारिवारिक संरचनाको तल्लो तहमा देख्न अभ्यस्त विद्यार्थीमाझ दक्षता प्रदर्शन गर्नु हो । प्राज्ञिक सफलतामाथिको अविश्वासपूर्ण नजरको सामना गर्नु पनि हो । ‘मेरो सफलता मेरै मेहनतको परिणाम हो, यो कसैको कृपा होइन’ भन्ने प्रमाणित गर्नु पनि हो । मेरो मेहनत देख्न नसक्ने मानसिकता बोकेकालाई सहानुभूतिको नजरले हेर्दै प्राज्ञिक कार्यलाई लगनसाथ अघि बढाउनु पनि हो । आफ्नो कदम डगमगाउन नदिई अझै अठोटले अनि बढ्नु पनि हो । मैले पारिवारिक, आफन्तजनको जमघट बेवास्ता गर्दै उत्सव र भेलामा अनुपस्थित भएर किताबलाई नै आफ्नो संसार बनाएको देख्न असमर्थ मानिसको भीडबाट आफूलाई, आत्मसम्मानलाई जोगाउनु पनि हो । यस्ता अविश्वासका छालहरूबाट आफूलाई भिज्न नदिनु हो ।
पी.एच.डी गरिसकेपछि पनि सँगैको पुरुष सहकमीलाई ‘डा.’ सम्बोधन गर्ने तर मेरो विद्यावारिधिबारे थाहा नपाएजस्तो व्यवहार गर्ने मनोविज्ञानलाई उपेक्षा गर्नुपर्ने परिस्थिति अर्को विडम्बना हो । पुरुषलाई मात्र प्रशासनिक पदमा देख्ने र तिनलाई मात्रै आसन ग्रहण गराउन बानी परेकाहरूलाई महिलाले पनि प्रशासनिक पदभार सम्हाल्छन् भन्ने सत्यलाई ग्रहण गर्न असमर्थ तीतो वास्तविकतालाई नियाल्नु हो । पितृसत्ताको ढुसीलाई नस्वीकार्नु पनि महिलाको सङ्घर्र्षको एक अभिन्न अङ्ग हो । असङ्ख्य सङ्घर्षबाट थाहा पाएँ– महिलाको कार्यलाई हेर्नसक्ने दृष्टिमा जहिल्यै पितृसत्ताको बाक्लो जालो लागेको हुन्छ ।
०००
महिलाको सङ्घर्ष जीवनपर्यन्त रहन्छ । उसले बाहिरी समाजसँग जति सङ्घर्ष गर्नुपर्छ, मनमा उठेका ‘म दोषी हुँ’ को भावनासँग उति नै पौँठेजोरी खेल्नुपर्छ । जब–जब उसको व्यस्तता बढ्दै जान्छ— घरलाई, छोरीहरू (सन्तान) लाई समय दिन सकिनँ भन्ने भावनाले आफूलाई अपराधी नै करार गरिदिन्छ ।
एकातिर मैले मेरो जीवनको स्वर्णिम समय, उमेरको ठूलो हिस्सा परिवार र छोरीहरूका निम्ति दिइसकेँ । अबको महत्त्वपूर्ण समय मैले मेरा निम्ति खर्चनुपर्छ । यो मेरो जीवन हो, यसलाई मेरो हिसाबले मेरै खुसीमा केन्द्रित गर्नुपर्छ भन्ने भावना आउँछ आजकल । फेरि अर्काे क्षण सोच्छु, त्यस्तो सोच्नु त स्वार्थी हुनु हो । यो पनि सायद पितृसत्ताले थोपरेको आदर्श नारीको छविबाट बाहिर निस्कन नसक्ने अवस्था हो । आदर्श नारीको छविमा रुमल्लिएको मेरो व्यक्तित्व कार्यव्यस्तताकै कारण परिवारलाई समय दिन नपाउँदा निराशाको दलदलमा भास्सिन्छ । आफूले प्रेम गरेको पुस्तकमा बेसार र तेलका दाग लाग्दा मन भक्कानिन्छ । विभिन्न साहित्यिक गतिविधिमा, प्राज्ञिक कार्यमा दरिलो उपस्थिति देखाउँदा पनि खुसीको अनुभूति गर्न सक्दिन । पितृसत्तात्मक सोचले म पनि त जानीनजानी आंशिकरूपमा प्रभावित छु । सायद त्यसैको परिणामस्वरूप म आफूलाई एउटा आदर्श नारीको भूमिकाबाट मुक्त गर्न सक्दिनँ ।
त्यस भूमिकामा आफूलाई अटाउन नसक्दा अपराधबोधबाट ग्रसित हुन्छु । आफ्नो जीवनलाई चाहेको लयमा हिँडाउने आँट गर्न नसकिरहेको भान हुन्छ । पूरै परिवारको सफलता मात्रै मेरो सफलता हो भन्ने सोच्छु । केवल त्यसमा ‘म खुसी हुनुपर्छ’ ठान्छु । आफ्नो मात्रै सफलता सेलिब्रेट गर्नु भनेको स्वार्थी हुनु हो भन्ने समाजले स्थापित गरिदिएको मान्यता तोडेर स्वतन्त्रताको उडान भर्न अझै मैले मेरा पखेटाहरुलाई बानी पार्न सकेकी छैन । जुन दिन म स्वतन्त्रता सेलिब्रेट गर्नेछु, सायद त्यही दिन म पूर्ण स्वतन्त्र नारी बनुँला !!