Asmita Magazine

#

अस्मिता हाम्रो अन्तरसंवाद (२०८०) : सचेतनताको लागि समावेशिता, समावेशिताको लागि सचेतनता

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०८०) का सन्दर्भमा अस्मिता हाम्रोले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग गरेको अन्तरसंवादको सम्पादित अंश । यस अन्तरसंवादमा डा. गीता त्रिपाठीले सहजीकरण गर्नुभएको थियो ।

गीता त्रिपाठी (सम्पादक, अस्मिता हाम्रो)

अहिले ८ मार्चका सन्दर्भमा विगतका वर्षहरूमा झैँ महिला सशक्तीकरणका विभिन्न शीर्षकहरूमा कार्यक्रमहरू भइरहेका छन् । यस दिनलाई विशेष रूपमा स्मरण गर्नका निम्ति सन् १९१० मा क्लारा जेटकिनले प्रस्ताव गरेपछि सन् १९११ देखि जर्मनी, डेनमार्क, अष्ट्रिया हुँदै अन्तर्राष्ट्रिय रूपमा नै यस दिनलाई उत्सवका रूपमा मनाउने प्रचलनमा विस्तार भयो । संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा मान्यता दिएर विभिन्न कार्यक्रमहरू ल्याएपछि नेपालमा पनि २०३७/०३८ सालबाट श्रमिक महिला दिवस मनाउन थालिएको पाइन्छ । आरम्भमा श्रमिक महिला दिवस भनिए पनि यो दिनलाई घरानियाँ भनिएका परिवारका महिलाहरूको मनोविनोदको पर्वजस्तोमा मात्र यसको स्वरूप थियो । विस्तारै यसले विस्तार पाउन थालेको देखिन्छ । यो वर्ष पनि ‘इन्सपायर इन्क्लुजन’ शीर्षकको नारा लिएर यो दिनलाई सम्झने र परीक्षण गर्ने योजनाहरूसहित कार्यक्रमहरू भइरहेका छन् । हामी पनि सचेतनता र समावेशिताको विषयलाई स्पष्ट पार्नका निम्ति यहाँहरूसँगको सम्वादमा जुटेका छौँ । समावेशिताको कुरा उठिरहँदा व्यवहारमा यस शब्दको मर्म कस्तो छ ? महिलाभित्रको विविधताको सवालसँगै विभिन्न निकायले समावेशितालाई कसरी व्यवस्थापन गरेका छन् ? समावेशिता कार्यान्वयनका लागि सम्भावना तथा चुनौतीहरू के कस्ता छन् ? भन्ने सन्दर्भमा आआफ्ना धारण राखिदिनु हुन म यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा स्वागतसहित अनुरोध गर्दैछु । विराटनगरदेखि आउनुभएकी मधु राईज्यूबाटै आजको यस छलफलको आरम्भ गर्न चाहेँ ।

मधु राई (लेखक, सामाजिक अभियन्ता)

अहिले नारी दिवस मनाउने चलन एकदमै बढेको छ । समावेशिताका विषयमा मैले विराटनगरको अभ्यास हेर्दा विभिन्न सङ्घसंस्थाले गर्ने कार्यक्रममा महिला दिवसको अवसरमा बोलाउँछन् तर मञ्चमा बस्ने र बोल्ने प्रायः पुरुषहरू नै हुन्छन् । कताकता के के नमिलेको जस्तो अनुभव हुन्छ । समावेशी मञ्च प्रायः देखिँदैन । आजकल त दिदीबहिनीहरूले आफ्नो ठाउँबाट धेरै काम गर्नुभएको छ तर पनि उहाँहरूको कामलाई नजर अन्दाज गर्छन् । हरेक क्षेत्र र पेशामा महिलाहरूको महत्‍वपूर्ण उपस्थिति बाक्लो हुँदै छ ।

आज आएर महिलाका निम्ति चुनौती छन् तर सम्भावना पनि थुप्रै छन् । म आफै पनि विगत लामो समयदेखि लेखपढमा छु । करिब तीन दशक यसै क्षेत्रमा काम गरेको । यतिबेला म तीनवटा क्षेत्रमा सँगसँगै काम गर्दै छु— शिक्षा, वातावरण र सहरी कृषि (कौसी खेती) । अहिले म कौसी खेती गरिरहेको छु । नमुना कौसी खेती बनाएको छु । आजकल महानगरपालिकाबाट पनि मान्छेहरू हेर्न आउँछन् । आफूले जानेका र गरिरहेका काममा दिदीबहिनीहरूलाई पनि कसरी समावेश गर्न सकिन्छ भनेर केही योजनासहित अघि बढ्दै छु । उहाँहरूको योग्यता र रुचि अनुरूपको काममा लाग्न सहयोग गर्ने निधो गरेको छु ।

अबका दिनमा दिदीबहिनीहरूलाई पाक्षिक, मासिक अथवा साप्ताहिक नै भए पनि भेला गराएर स्कुल अन्तर्गतमा नै कुकिङ क्लास लगायतको प्रशिक्षणको काम गर्न खोजेको छु । म सकेसम्म धेरै दिदीबहिनीहरूको भेट होस् भन्ने चाहन्छु । म उहाँहरूको क्षमतालाई प्रोत्साहन हुने किसिमको आपसी भेटघाट र कुराकानीको वातावरण बनाउनका लागि प्रयासरत छु । मैले लेख्न थालेको पनि २७ वर्ष भइसकेछ । म महिलाहरूलाई लेखन पठनका लागि पनि प्रोत्साहन गर्न खोज्छु । आफ्ना लेखहरू धेरै जनासँग सेयर गर्छु । साथै अभिभावक साक्षरता, आमा साक्षरता लगायत कक्षा पनि चलाउनुपर्छ कि भन्ने लागिरहेको छ । हामीले यस समाजबाट पाएको कुरा समाजलाई फर्काउनुपर्छ । कसैले समावेश गरेन भनेर बस्नु भन्दा आफ्नो काममा निरन्तर लागिरहनुपर्छ । आजका महिलाले गर्न सक्ने धेरै ठाउँहरू छन् ।

गीता त्रिपाठी

धन्यवाद ! मधुजीलाई । समावेशिताको व्यवहारिक पक्षमाथि प्रकाश पारिदिनुभयो र सकारात्मक हुन प्रेरित पनि गर्नुभयो । अब म सोफिया थापाजीतर्फ आउँदैछु । यहाँले गीतका माध्यमबाट समाजमा जागृति ल्याउन, विभेद र लैङ्गिक हिंसाको विरुद्ध आवाज उठाउने काम जारी गर्नुभएको छ । गीत यस्तो विधा हो, जसले प्रत्यक्ष रूपमा धेरैलाई छिटो प्रभाव दिन सक्छ । गीत सङ्गीतको क्षेत्रबाट अगाडि बढ्दा समाज परिवर्तनका चुनौतीहरू के कस्तो पाउनु भएको छ ? आफ्नो अनुभवलाई जोडेर समावेशिताको अवस्थाबारे आफ्ना तार्किक विचार राखिदिनुहोस् न ।

सोफिया थापा (कलाकार, अध्यापक, लेखक)

नेपाललाई लोकतान्त्रिक राष्ट्र तथा समावेशिताको सिद्धान्त अपनाउँदै अघि बढेको देशका रूपमा परिभाषित गरिए तापनि धेरै कम महिलाहरूलाई मात्र समावेशिताबारे थाहा छ जस्तो मलाई लाग्छ । जानकारहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएको पनि देख्दिनँ । म आफै चाहिँ सचेत छु । म गीत गाउँछु, लेखहरू लेख्छु, महिलाको अधिकार तथा हिंसाका विषयलाई गीत तथा लेखहरूका माध्यमबाट उठाउँछु । म आफै काम गर्ने कार्यालयमा पुरुष साथीहरूबिचको अनुभव सुनाउँछु ः पुरुष मित्रहरू राम्रो पदमा हुनुहुन्छ । उहाँहरू सबैलाई थाहा छ, महिला अघि आउनुपर्छ । म पनि यस विषयमा कुरा उठाउँछु तर उहाँहरूले वहसमा र व्यवहारमा आउनै दिनुहुन्न । ती पदमा रहनुभएका पुरुष मित्रहरू र म उही क्षमता, शैक्षिक योग्यताका छौँ । एकै तरिकाले काममा भिडिरहेका पनि छौँ तर, उहाँहरू भन्नुहुन्छ— “तपाईं धेरै माथि जान सक्ने मान्छे हो तर धेरै बोल्नुहुन्छ । अलिक साइलेन्ट बस्नुस्न ।” अब उहाँहरूलाई म के जवाफ दिऊँ ? म हाँस्छु । उहाँहरूलाई परिवर्तन गर्न सकिँदैन । त्यसकारण समावेशिता भनेको माइन्डसेट पनि हो । जबसम्म पितृसत्तात्मक मनोविज्ञान हावी रहिरहन्छ, समावेशिता हुँदैहुदैन । त्यसलाई कसरी हटाउने, त्यो चाहिँ एउटा च्यालेन्ज छ ।

गीता त्रिपाठी

सोफियाजी, यहाँले स्विकारेको चुनौती र त्यसको प्रभावका अनुभव पनि साझा गर्नुहोस् न !

सोफिया थापा

म त सचेत पनि छु तर समाज अझै बेग्लै छ । हामीले बोल्दा केही आइपर्यो भने साथ दिनेहरू पनि हुन्नन् । अझ अज्ञानता र बुझ्न नचाहने विष्मयपूर्ण कुरा त गीत सङ्गीत क्षेत्रकालाई ‘मनोरञ्जनको क्षेत्रका’ रूपमा मात्रै हेर्ने गरिनुमा छ । हाम्रो समाजले यसलाई बौद्धिक क्षेत्रको रूपमा अझै हेर्दैन । मैले महिलाको समानता, अधिकार र छाउपडीसम्बन्धी तीनवटा गीत गाएँ । व्रत लिएर पुरुषको आयु बढ्दैन भन्ने भावको तीजको गीत ‘नो व्रत प्लीज !’ गाउँदा सबैतिरबाट प्रहार भयो । छाउपडीसम्बन्धी गीत गाउँदा पनि ‘छाउपडी’ शब्दले अछामको बदनामी भयो भनी खेदो गरे । त्यसमा मैले पनि प्रतिरोध गरेँ । कहिलेदेखि म अछामको भइनँ ? कहिलेदेखि म वीरगञ्जको भइनँ ? म त यही देशको हो, अनि यही देशको विषय उठाउँदा कहिलेदेखि त्यो ठाउँको बेइज्जत हुन थाल्यो ? र, त्यति भनेपछि भने “ए ! यो त बोल्न सक्दिरहिछ, अलिकति लेख्न पनि सक्दिरहिछ भनेर ती मान्छेहरू पछि हटे । यस्तै छ अवस्था । एकदमै धेरै चुनौती छन् महिलाका निम्ति । तर, हामी सबै सचेत व्यक्तिहरूले सचेतनाको निम्ति आआफ्नो ठाउँबाट आवाज उठाउँदै अघि बढ्नुपर्छ ।

गीता त्रिपाठी

आफ्ना संवेदनशील अनुभूतिहरू सुनाउनुभयो, सोफियाजीलाई धन्यवाद ।  गीत नै यस्तो विषय हो, जसले समाजलाई  सबैभन्दा छिटा प्रभावित र जागरुक बनाउँछ । कलामार्फत सचेनता जगाउने प्रयास गर्नुभयो, विरोध खेप्नु भयो र त्यसको प्रतिरोधका लागि प्रश्न गर्ने क्षमता राख्नुभयो । त्यसको निम्ति पनि हार्दिक आभार । अब म सोना खटिकजी तिर जान्छु । महिलाको सचेतनता र समावेशिताको सन्दर्भलाई नै जोडेर आफ्नो भोगाइ र अनुभवहरू राखिदिनुहोला ।

सोना खटिक (अभियन्ता, दलित समुदायबाट)

समावेशिताको कुरा उठाउँदाका मेरो अनुभव सुनाउँछु, पहिला एकजनाले भन्नु’भो— “यहाँ त थुप्रो महिला हुनुहुन्छ, महिलावादीहरू हुनुहुन्छ ।” तब मैले भनेँ— “समावेशिताको कुराले महिलाभित्र पनि को ? भन्ने कुरा उठाउँछ । कुन महिला ? कहाँको महिला ? कुन समुदाय र कुन वर्गको महिला ? त्यो पक्कै ख्याल गर्नुहोला ।” हाम्रो कुराकानी सकिसकेपछि उहाँहरूले “हामीले यसरी त सोचेकै थिएनौँ” भन्नु’भो । हामी “महिलाको सहभागिता धेरै रहेछ” भनेर मख्ख त हुन्छौ तर मक्ख हुनुपर्ने स्थिति नै छैन । जहिले कस्तो देख्छौं भने, महिला विशेष प्रोग्राम आउँछ, अघि मधु म्यामले भन्नुभएको जस्तै अगाडिको मञ्च महिलाले भरिन्छ, त्यसपछि महिलाको खडेरी हुन्छ । त्यसपछिको प्रायः कार्यक्रमको मञ्च पुरुषले भरिन्छ । प्रायः सधैँ यस्तै नै भइरहेको छ । चाहे त्यो सङ्घसंस्थाको कार्यक्रम होस् या पार्टीको । चाहे हिंसा विरुद्ध अभियानमा होस् या आठ मार्चमा होस्, स्टेज महिलाले भरिराख्दा कुन समुदायको महिला, कुन क्षेत्र, कुन वर्गको महिलाले ठाउँ पाएको छ भनेर विचार गरेको देखिन्न । समावेशिताको सचेतनाको सन्दर्भमा हामी सचेतनासम्बन्धी काम गर्नेले नै पहिला त आफै सचेत हुनुपर्छ । हामीले आफैबाट सुरु गर्नुपर्छ भन्ने लाग्छ । हामी बाहिर बाहिर ठुलो गफ त गर्र्र्छांै तर हाम्रै नियत कस्तो छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । म समावेशी बनाउन मेरो दायित्व के हो भनेर सोच्ने गर्छु । फेरि म खटिक हुँ भने खटिक जातिलाई मात्रै भर्ने पनि होइन । म आफैले नै फेरि मेरै नातागोतालाई भर्ने त होइन ? भन्ने चिन्ता छ । म आफू कसरी परिवर्तन हुन सक्छु भन्ने मैमाथि प्रश्न छ ।

हामीले काम गरिरहेको संस्थामा समावेशी गर्नुपर्छ भन्ने लाग्छ । दलित हो भन्दैमा एउटै जात भर्ने होइन । एउटै क्षेत्रको मात्रै पनि भर्ने होइन । समावेशिताका लागि मैले अघि नै भनेँ पहिला हाम्रो  नीति भन्दा पनि हाम्रो नियत सुध्रिनुपर्छ । नीति त छ, केही न केही त छ । हामीसँग नीति छ तर भा’कोलाई नै हामी नियतमा बदल्न सकिरहेका छैनौं भने अब न’भाको नीति बनाएर हामीले कसरी कार्यान्वयनमा ल्याउन सक्छौ ? हामी आफै पनि सहभागिताको लागि तयार हुनुपर्छ । मैले रेडियो कपिलवस्तुमा कार्यालय सहयोगी भएर सुरुवात गरेको थिएँ । त्यहाँ रेडियोमा सबैजना गैर–दलित नै हुनुहुन्थ्यो तर पछि म म्यानेजर पनि भएँ । उहाँहरूको नीतिमा महिला म्यानेजर हुनुपर्छ भन्ने नै थिएन तर उहाँको नियत चाहिँ राम्रो थियो । उहाँहरूले नै महिला म्यानेजर बनाउनुपर्छ, अझ मधेसी समुदायको दलित महिला हामीले हामीसँग छ भने त किन नबनाउने भनेर मलाई नेतृत्व गर्न दिनुभयो । त्यसको लागि मलाई उहाँहरूले नै तयार पार्नुभयो । समावेशी गर्छु भनेर मात्र हुँदैन । त्यसका लागि मान्छे तयार पार्नुपर्छ, लगानी गर्नुपर्छ । यहाँहरू सबैलाई थाहा छ, एउटा सक्षम जनशक्ति तयार गर्न दशक नै लाग्न सक्छ । म यति बोल्न र काम गर्न १५ वर्ष लाग्यो । समावेशिताका लागि यस्तै धेरै काम गर्न बाँकी छ ।

गीता त्रिपाठी

निश्चय नै सोनाजी ! उत्तराधिकारी या आफूपछि काम गर्न सक्षम व्यक्ति तयार पार्नु हामी सबैको जिम्मेवारी हो । सोनाजीलाई धन्यवाद । अब म इल्या भट्टराई दिदीतर्फ जान चाहन्छु । अनौपचारिक छलफलमा दिदीले भन्नुभएको सुनेको छु, “म पनि चाहन्थेँ पढेर बाहिर निस्कनको लागि तर मेरो परिवार भित्रको कथा अर्कै थियो ।” दिदीलाई आफ्नो अनुभव र अनुभूतिहरू राख्न अनुरोध छ ।

इल्या भट्टराई (साहित्यकार)

धन्यवाद गीता बहिनी र अस्मिता हाम्रो परिवारलाई ! वास्तवमा मेरा पिताजी मदनमणि दीक्षितले विशेषगरी नारीहरूकै विषय उठाएर लेख्नु’भो तर मेरै घरमा अत्यन्तै विभेद खपेको मान्छे चाहिँ म नै हुँ । मेरा चारजना दाजुहरू, म एउटै छोरी र त्यो पनि कान्छी छोरी । कान्छी छोरीको नाताले मैले माया त प्रशस्तै पाएँ तर पनि छोरी हुनुको विभेद चाहिँ सक्षम परिवारभित्रै पनि मैले निकै भोगेँ । त्यो पनि मेरो मुवाँबाट । मेरो बुवा पीएचडी गर्दागर्दै छोडेर आउनुभएको हो । उहाँले पैसा कमाउने काम गर्नुभएन । राजनीति र त्यसपछि पत्रकारितामा लाग्नुभो । मेरो आमाको माइती चाहिँ एकदम धनी जमिन्दार । मेरो आमालाई पनि बाजेले धेरै खेतहरू दिनुभएकाले त्यताबाट मेरो आमाको आम्दानी हुन्थ्यो र त्यसैबाट घर चल्थ्यो । उहाँले पढ्नुभएको त थिएन तर आमा बोलेपछि बुवा बोल्न सक्नुहुन्थेन किनभने आमाले घरपरिवार चलाइदिएर नै बुवाले बाहिरको काम गर्न, लेख्नपढ गर्न पाउनुभएको थियो । बुवा पहिला पहिला त कम्युनिस्ट पार्र्टीमा लागेर भूमिगत भइरहनुहुन्थ्यो । आमा एक्लैले हो हामीलाई हुर्का’को । बुवालाई हाम्रो उमेर पनि थाहा हुन्थेन प्रायः । कतिमा पढ्छन् पनि थाहा हुन्नथ्यो । यस्तो अवस्थामा हामी हुकियौँ ।

गीता त्रिपाठी

आफूमाथि परिवारभित्रै विभेद भइरहेको कुरा त्यसबेला त बुझ्नुभएन होला, बुझेको भए विद्रोह गर्नुहुन्थ्यो होला ! त्यो परिवेशलाई अहिले कसरी सम्झनुहुन्छ ?

इल्या भट्टराई

म भन्दा तीन वर्ष जेठा हुन् मेरा कान्छा दाजु । आमाले म र मेरा दाजुमा एकदम विभेद गर्ने । दाजु कतिन्जेल बाहिर गए पनि वास्ता छैन तर म कलेजबाट फर्किँदाखेरि पनि समयभन्दा अलिकति यता उता भयो भने छटपट गरेर बाटैमा उभिराख्नुहुन्थ्यो । मैले  ठुलो अपराध गरेजस्तो गर्नुहुन्थ्यो । मेरो चारैजना दाइहरू रुस पढ्न जानु’भो । पटना युनिभर्सिटीमा मनोविज्ञानमा मास्टर्स गर्ने अवसर पाउँदा पनि आमाले “बिहे गर्ने छोरी कहाँ पढ्न जानेर” भन्दै पठाउनु भएन । बिहा भएपछि मेरो श्रीमान् त्यतिखेरको जल्दोबल्दो इन्जिनियर, त्यसै दबाउने । श्रीमान्को अगाडि म त एकदम दबिएँ । उहाँले मलाई मान्छे जस्तो नगन्र्ने । म पनि एकदम कुण्ठित भएँ । त्यसपछि मैले लेख्न थालेँ । जब ६० सालमा मेरो पहिलो पुस्तक आयो, त्यतिखेर बुवाको नामले गर्दाखेरि पनि होला, सबले चासो दिनुभयो । मेरो पहिलो पुस्तकबाटै म नेपाली साहित्यमा चिनिएँ । किताब निस्केपछि मेरो इज्जत त एकदम माथि नै उचालियो । किताब आउनुअघि मेरा श्रीमान्ले मलाई त केही न केही जस्तो गर्नुहुन्थ्यो, किताब आएपछि त उहाँले पनि मलाई एकदम महत्‍व दिन थाल्नु’भो । “ए, ऊ त केही रैछ” भन्न थाल्नु’भो । मेरा बच्चाहरूले पनि पहिला त केही जस्तो मान्थेनन् पछि त “मा त केही रैछ” भन्न थाले । त्यसपछि भने मैले मान इज्जत पाउन थालेँ । त्यसअघि पनि म स्कुलमा पढाउथेँ तर पनि मेरो महत्‍व थिएन । त्यसकारण मेरो विचारमा हमीले माग्ने मात्र होइन, आफू पनि सक्षम हुने बाटो खोज्नुपर्छ । साथै मलाई लाग्छ, सबैभन्दा ठुलो कुरा त शिक्षा नै हो । शिक्षा र सक्षमता बढाएसँगै महिलाहरू धेरै अगाडि बढ्नेछन् ।

गीता त्रिपाठी

धन्यवाद दिदीलाई ! आफ्नोे व्यक्तिगत भोगाइ र अनुभवमार्फत महिला सशक्तीकरणको फरक तर विशिष्ट पाटोलाई उजागर गरिदिनुभयो । हामी मामm साइकोलोजिस्ट चाँदनी घिमिरे हुनुहुन्छ । अब उहाँलाई मनोविज्ञानसँग जोडिएका आफ्ना भोगाइ तथा सचेतनाका विषयमाथि आफ्नोे कुरा राखिदिनुहुनको लागि अनुरोध गर्छु ।

चाँदनी घिमिरे (मनोविद्)

नमस्कार । सबैमा मेरो अभिवादन ! मेरोबारे भन्नुपर्दा १३ वर्षको हुँदा अरूले नसुन्ने नदेख्ने अनेक कुराहरू देख्न र सुन्न थालेको थिएँ । मेरो अवस्था बिग्रँदै गयो । बोल्दा र्याल चुहिन्थ्यो । बोल्न पनि सक्दिनथेँ । मलाई पढ्न गाह्रो हुन्थ्यो । आँखाबाट आँसु आउँथ्यो । दिदीले पढिदिन्थ्यो, अनि मैले सुनेर याद गर्ने कोसिस गर्थेँ । मामुहरूले अस्पतालदेखि धामी झाँक्री सबै कुरा गर्नुभयो तर ठीक भएन । औषधीको कारण म सधैँ लट्ठ हुन्थँे । छरछिमेकले अनेक कुरा काट्थे । दुई वर्षपछि थोरै ठिक भएँ । यसरी मलाई बाँच्न मन थिएन । यसै बिच मेरो पढाइ छुट्यो । १४ वर्षको उमेरमा पोखरा गएर चार महिना बसेँ । एसएलसी पास गरिसकेको छु भनी ढाँटेर रिसेप्सनिस्टको रूपमा काम गरेँ । त्यही बेला म पामेतिर गएर ध्यान पनि गर्न थालेँ, जसले मेरो मानसिक स्वास्थ्यलाई फाइदा गर्यो । त्यसपछि म काठमाडौँ फर्किएँ । धेरैले मलाई पागल नै भन्थे । म नेपाल बस्न सकिनँ । सिङ्गापुर गएँ । जीवन राम्रै चलिरहेको थियो तर मलाई पढाइ छुटेकोमा सधैँ चिन्ता थियो । त्यसैले मैले आमासँग नेपालबाट किताब मगाएर पढेँ । मेरो पढ्ने कुरा परिवारलाई मन परेको थिएन, राती १२ बजेदेखि ३ बजेसम्म मैले कक्षा दशको परीक्षा दिएँ । त्यसपछि मलाई आफैमाथि आत्मविश्वास बढ्यो । म मेरालागि के हो ? र भन्ने नै मेरो लागि महत्‍वपूर्ण भयो । मैले एघार, बाह्रको परीक्षा दिनेबेला पनि बाहिर नै थिएँ । त्यसपछि सबै छाडेर म नेपाल आएर बाँकी पढाइहरू अगाडि बढाएँ । साथै मैले मेरो मन मस्तिष्क या इन्टरनल क्लाइमेट पनि अझ ज्यादा बुझ्ने समय पाएँ । अरूको लागि भन्दा पनि आफ्नै लागि म को हो भन्ने कुरा बुझ्न आवश्यक छ भन्ने पनि लाग्छ ।

अहिले म विद्यालयमा बालबालिकाहरूसँग नजिक भएर उनीहरूको मनोविज्ञान र इमोसनल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेको छु । जसरी मलाई घर परिवार, छरछिमेक र शिक्षकहरूले गलत बुझिदिए, अथवा मेरो समस्याको बारेमा उहाँहरूलाई थाहा भएन त्यस्तो अवस्था अबको नानीहरूले भोग्न नपरोस् भन्ने चाहन्छु । आत्मविश्वास भयो भने हामी सबै समस्या पार गरेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ । भाव संस्थासँग आबद्ध रहेर अहिले म लगायत हाम्रो टिमले स्कुले बालबच्चादेखि किशोर उमेर हुँदै उच्च माध्यमिक तहसम्मका विद्यार्थीका निम्ति काउन्सिलिङको व्यवहारिक कोर्स निर्माण गरिरहका छौँ र स्कुलहरूमा गएर काम पनि गरिहेका छौँ ।

गीता त्रिपाठी

चाँदनीजीले बिलकुलै फरक परिस्थितिबाट अघि बढेको एक प्रेरणादायी अन्तःचेतनाको स्वअनुभव सुनाउनु’भो, हार्दिक धन्यवाद । अब म परशुराम तामाङज्यूलाई आजको महिलाको अवस्था र समावेशिताकै विषयमा आफ्नो धारणाहरू राखिदिनुहुन अनुरोध गर्छु ।

परशुराम तामाङ (समाजविज्ञ, संस्कृतिविद्)

सबभन्दा पहिला त यहाँहरूलाई धन्यवाद । हामी सात दाजुभाइ, दिदीबहिनी नभएकाले आमा र बजु मात्रै । म सात दाजुभाइ भएको घरको एउटा सदस्य । दिदीबहिनीसँग बसेको भए चाहिँ उनीहरूको धेरै कुरा सुनिन्थ्यो होला । सानोमा दिदीबहिनीको धेरै कुरा सुन्नबाट बन्चित भइयो । यहाँहरूको अनुभव, अनुभूतिको कुरा सुनिसकेपछि भने म केही कुरा राख्न चाहन्छु ।

पहिलो कुरा हिजो ५ प्रतिशत महिला संसदमा पुग्यो भने त्यो निकै ठूलो तहल्का हुन्थ्यो अहिले स्थानीय तहमा ४० प्रतिशत पुगिसकेका छन् । माथिल्लो तह प्रदेश र सङ्घमा ३५ प्रतिशत त ग्यारेन्टी छ । त्यसकारण हिजो र आजका बिचमा त निकै फरक देखिन्छ । दोस्रो कुरा चाहिँ— सहभागिता भयो, तर गुणतात्मक या अर्थपूर्ण सहभागिता भयो भएन भन्ने चाहिँ आजको प्रश्न हो । अवसर त पाइयो तर अवसर पाइसकेपछि नेतृत्वको कुरा आउँछ । सहभागी हुनु र नेतृत्व गर्नु चाहिँ दुइटा फरक कुरा हुन् । अब समाज र देशले आशा गर्ने भनेको त्यस्तो महिला सँग हो, जो समाजलाई नेतृत्व गरेर अगाडि जान सक्छ । महिलाहरूले अब सहभागी मात्र हुने हैन, नेतृत्वदायी र निर्णयकारी भूमिकामा हुनुपर्छ । अवसर चाहिँ दिने होइन, त्यो त लुटेर लिने हो । त्यसको लागि सङ्घर्ष, एक्टिभिज्म, चेतना अभिवृद्धि सबैको आवश्यकता हुन्छ । अझै पनि धेरै महिलाहरू नेतृत्वले जे भन्छ, त्यसमा अङ्गुठा छाप लगाएर हिँड्नुपर्ने अवस्थामा छन् भन्ने कुरा सुनिन्छ, त्यस अवस्थाको अन्त गर्नुपर्छ ।

२०४६ साल पछाडिको समयलाई हेरौँ न— प्रजातन्त्र ल्यायौँ ।  माओवादीको उदय भयो । दोस्रो जनआन्दोलनपछि देश गाणतन्त्रमा गयो । यी राजनीतिक परिवर्तनले हिजोको तुलनामा चेतनाको दृष्टिकोणले हामी धेरै माथि पुगेका छौँ तर चेतना त्यतिमै अड्किनु भएन । अबको दिनमा महिला नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ । त्यसका लागि समावेशिताको कुरा मात्र नभई समानुपातिक समावेशिताको विषय अगाडि बढाउन आवश्यक छ ।

गीता त्रिपाठी

धन्यवाद परशुराम तामाङज्यू । यहाँका भनाइबाट समावेशिताका निम्ति सचेतनता कति आवश्यक छ र सचेतनताका निम्ति स्वअनुभवको भूमिका कति रहन्छ भन्ने व्यवहारिक पक्ष उद्घाटित भएको छ । यहाँले उठाउनुभएको समानुपातिक समावेशिताको कुरा मनन योग्य छ । म देख्दै छु, महेश मास्के डा.साब केही भन्न चाहनुहुँदैछ । आजको यस आयोजनाको परिकल्पनाकारका रूपमा म डा.साबलाई आजको यस अन्तक्र्रियालाई सम्बोधन गरिदिनुहुन अनुरोध गर्छु ।

डा. महेश मास्के (प्रधान सम्पादक, वामपन्थ)

आजको दिन यहाँहरूले अस्मिता हाम्रोको अफिससम्म आएर जुन महत्‍वपूर्ण विचारहरू बाँड्दै हुनुहुन्छ, यसका लागि विशेष धन्यवाद यहाँहरूलाई । ८ मार्चको सन्दर्भमा यहाँहरूले आफ्ना विगत र वर्तमानका व्यक्तिगत अनुभवहरूलाई, पितृसत्ताका विभेदयुक्त सामाजिक मानसिकता र समावेशिताका सवालमा खुलेर आफ्ना धारणाहरू राख्दैहुनुहुन्छ । यसले गर्दा यहीँनेर केही आफ्ना कुरा राख्न म पनि इच्छुक भएँ । यहाँहरू सबैका विचारहरू महत्‍वपूर्ण छन् । म आफू स्वयम् पनि एउटा डाक्टर भएकाले चाँदनी घिमिरे त्यस्तो स्थितिमा भएको मान्छे, अहिले जुन स्थितिमा देखिनुहुन्छ, त्यो त मलाई म्याजिकल नै लाग्यो । चाँदनीजी, तपाईँ अहिले जुन अवस्थामा आइपुग्नुभएको छ, त्यो निकै उपलब्धिपूर्ण रहेको छ । आफ्ना असहजताहरू र त्यसबाट यहाँसम्म आउन ‘सेल्फ’लाई जगाउनुभएको अनुभवलाई सहजतापूर्वक राखेर यहाँले आजको विषयलाई समाज र मानसिक स्वास्थ्यसँग जोड्नुभयो, यहाँलाई धन्यवाद ! औपचारिक शिक्षा प्राप्तिका निम्ति यहाँले गर्नुभएको सङ्घर्षको कथा र आजको यो सफलताको स्थिति निकै प्रेरणादायी छ । आगामी दिनमा अस्मितासँग मिलेर यहाँले सहकार्य गर्नसक्नुहुनेछ । यसतर्फ पनि सोच्नुहोला ।

अर्को कुरा, यहाँ तपाईँहरूका कतिपय पुरुष मानसिकतासँग सन्दर्भित महिलामाथि भइरहेका विभेदका कुरा सुन्दाखेरि हामी पुरुषलाई कस्तो लाग्छ ? हामी यी कुराप्रति किन नजिक हुँदै सहकार्यमा आइरहेका छौं ? कुनै त्यस्ता पुरुषहरू, जो यसप्रति संवेदनशील छैनन् र त्यस्ता पुरुषहरू जो यसप्रति संवेदनशील छन्, के कारणले छन् ? लगायतका प्रश्नहरू मनमा उठ्छ । केही सन्दर्भसहित म यस विषयलाई यहाँ जोड्छु ।

भारतको दरभङ्गामा मैले इन्टर्नसिप गर्दा त्यस अस्पतालमा एउटी महिलाले तेस्रो सन्तान पनि छोरी जन्माएपछि लोग्नेले अब घर नफर्किनु भनेछन्, त्यसपछि त्यहाँ रातभर रुवाबासी चलेको थियो । अर्को घटना स्मृति इरानीले आठ मार्चकै सन्दर्भको एक कार्यक्रममा सुनाएको एउटी महिलाको कथा छ— त्यस महिलाले पनि तेस्रो सन्तान छोरी जन्माएपछि त्यसलाई ‘मार्नु’ भन्ने लोग्नेको उर्दी रहेछ । उनले रातभर त्यस तीन दिनको बच्चालाई नाङ्गै राखेर मार्ने प्रयास पनि गरिछन् तर बच्चा नमरेपछि उनलाई चेत खुलेछ । भर्खर जन्मेको बच्चा त आफ्नोे जीवनको लागि यत्रो सङ्घर्ष गर्न सक्दोरहेछ, म मेरो लोग्नेसँग किन नलड्ने ?

यी दुई घटनालाई केलाउँदा केही प्रश्नहरू उठ्छन्— एउटा पुरुषले किन÷कसरी आफ्नै सन्तान ‘मार्’ भन्न सक्छ ? त्यस्तो पुरुष कसरी निर्माण हुन्छ ?

अघि इल्याजीले जुन पितृसत्ता भनेर भनिरहनुभएको थियो, त्यो पिता नभई उहाँको आमासँग जोडिएको देखिन्छ । यदि त्यो दरभङ्गामा भएको महिला इल्याजीको आमा जस्तो भएको भए तपाईंको बुबामा त्यस्तो हिम्मत हुन्थ्यो होला त्यसो भन्नलाई ? त्यसकारण उसको सामाजिक आर्थिक स्थिति पनि र उसको आफ्नै व्यक्तित्वहरूको पनि त त्यहाँ कारण होला । किन यस्तो असमानता समाजमा रहन्छ ? किन थिचोमिचो हुन्छ ? किन शोषण हुन्छ ? त्यो स्थिति कसरी बन्छ ? यावत् प्रश्नतिर पनि हाम्रो ध्यान जानुपर्छ । त्यो स्थिति राजनीतिक कारणले, संस्कृति या धर्मको कारणले हुन्छ कि व्यक्ति स्वयम् मात्र यसको दोषी हो ?

एउटा मान्छेको निर्माणमा स्वास्नी मान्छेको धेरै ठूलो भूमिका देखिन्छ । उसले नौ महिना आमाबाट जीवन पाउँछ । चाहे छोरा होस् या छोरी, गर्भबाट निस्किसकेपछि पनि एक दुई वर्ष आमामाथि नै निर्भर हुन्छ । यसैले महिलाको ठुलो भूमिका छ । यो छलफलमा आएका, यी आफ्नै अनुभूतिबाट आएका कुराहरू, यसका जुन राजनीतिक, आर्थिक र सामाजिक पक्षहरू छन्, सोचनीय पनि छ । किन एउटा पुरुषले त्यस्तो व्यवहार गर्छ ? भन्ने कुरालाई बुझ्न चाहिँ एकदमै आवश्यक हुन्छ । किन एउटा पुरुषले त्यस्तो व्यवहार गर्दैन ? भन्ने बुझ्नलाई पनि यी आयामहरूलाई बुझ्न जरुरी हुन्छ ।

गीता त्रिपाठी

धन्यवाद डाक्टर सा’ब ! यहाँले किन बारम्बार यस्तो भइरहेको छ भन्ने विषयको कारणतिर जानुपर्छ भन्ने विशिष्ट धारणा राख्नुभयो । “कोसिस जारी छ, तर भइरहेको छैन” भनेपछि त्यहाँ पक्कै पनि केही कुराहरू छन्, जहाँ हामी पुग्न सकेका छैनौँ भन्ने सोचबाट वास्तविकता खोतल्न जरुरी छ । यस्तो अभ्यासले दीर्घकालीन परिवर्तनको बाटो पहिल्याउन सहयोग पुर्याउनेछ । सत्यको अर्को पाटोसम्म पुग्न तथ्यकै विश्लेषण गर्नु आवश्यक छ । अतः व्यवहारिक पक्षबाट अध्ययन गर्नुपर्ने यहाँको तर्क स्वअस्तित्वसहितको स्वस्थ र सन्तुलित समाज बनाउनमा विचारनीय रहेको छ । अब म नुनुताजीलाई आफ्नोे कुरा राख्न अनुरोध गर्छु ।

नुनुता राई (पत्रकार)

हामीले हाम्रै कुराहरू राख्न यसरी छलफल गर्नुपर्छ । अब महिलाको सहभागिता त गर्नुपर्छ, हुनुपर्छ तर अझै पनि कति धेरै गर्नुपर्ने कामहरू छन् । पत्रकारहरू भित्रै पनि धेरै विभेद र असमानता छन् । म नयाँ पत्रिकामा सुरुमा काम गर्दाखेरिै महिला म मात्रै थिएँ । पछि बिस्तारै थपिँदै जानुभयो । म अनलाइन खबरमा आउँदाखेरि पनि म एक्लो महिला थिएँ । काम गर्न पनि गाह्रो थियो । काम गर्दै जाँदाखेरि अब अहिले अलिकति महिला सहभागिता पहिलाको तुलनामा बढेको छ । महिला सहभागिता बढे पनि हामीले महिलाभित्र पनि समावेशिताको कुरा उठाउनुपर्छ । जो विभिन्न कार्यक्रममा मञ्चमा गरिने सहभागितामा पनि त्यत्तिकै लागु हुन्छ ।

समावेशी सहभागिताको मामिलामा हामी संवेदनशील हुनुपर्छ । अघि सोनाजीले पनि भन्नुभएको जस्तै विभिन्न जातीय समुदायबाट फरक फरक दृष्टिकोण आउँछ, ती दृष्टिकोणहरूले हामीलाई अझ हाम्रो मुद्दाहरू सङ्गठित र सशक्त रूपले उठाउन सहयोग मिल्छ । हामीले सहभागिता समावेशिताको कुराहरू गर्दा अस्मिता पत्रिकामा नै आउने लेखको सन्दर्भमा पनि समावेशी होस् भन्ने अनुरोध छ । सकेसम्म विविध भौगोलिक, जातीय, वर्गीय, लैङ्गिक समूहका विषय आउनुपर्छ । समावेशिताको सन्दर्भमा एउटा सुझाव— हाम्रो समाजले स्वीकार गरेको महिलाभन्दा बाहेक, जसलाई समाजले स्वीकार गरेको छैन तर आफूलाई महिला भनेर चिनाउन चाहनुहुन्छ, उहाँहरूको कुरा पनि समेटियोस् । उहाँहरूलाई पनि सहभागी गराइयोस् ।

पत्रकारहरूले पनि कतिपय कुरा समावेशी र संवेदनशीलतापूर्वक उठाएको पाइँदैन । पहिला पहिला लाग्थ्यो पत्रकारहरू भनेको त एकदम संवेदनशील हुन्छन् । उनीहरू त सबै कुरा बुझेका हुन्छन् । तर काम गर्दै जाँदाखेरि त त्यो खालको नहुँदो रहेछ । शिक्षादीक्षाले मात्र यो समावेशी सहभागिताको कुरा अथवा विशेषगरी महिलाको मुद्दालाई नबुझिने रहेछ । त्यसलाई बुझ्न मान्छेमा संवेदनशीलता अथवा हामी त्यस विषयमा कति संवेदनशील छौँ भन्नेमा पनि भर पर्ने रहेछ । कतिपय कुरा चाहिँ हाम्रो समाज र हुर्काइले पनि फरक पार्छ । हामीभित्र कति कुरा जरा गाडेर बसेको छ, त्यसलाई फाल्न खोजेर पनि सकिरहेका देखिन्नन् । मेरा केही मित्रहरू काठमाडौँमै जन्मी हर्की बुझ्ने अवसर पाएको भए पनि अझै छाउपढीको शैलीमा महिनावारी बार्छन् । केही कट्टरता अझै छन् । सोफियाजीको केस सम्झिरहेको थिएँ । उहाँले तीजको व्रतमा खुट्टाको पानी नखाऊ भन्ने गीत गाउँदा त्यत्रो आक्रमण भयो । तर उहाँमाथि पुरुषले मात्र आक्रमण गरेका थिएनन् । उहाँलाई आक्रमण धेरै त महिलाबाटै भएको थियो होला । त्यसैले हाम्रो हुर्काइले पनि फरक पार्छ । यो व्रतहरूको विषय अलिकति समुदायगत पनि होला । हाम्रो समुदायमा त्यस खालको व्रत आदि हुँदैन । म राई परेँ । गाउँ, भोजपुरमा पनि राईकै माझ हुर्कें । मेरा अरू, क्षेत्री बाहुन समुदायका साथीहरू थिएनन् । धरानमा पढ्दा पनि राई लिम्बू साथीहरू भए । हाम्रोमा त एउटै खालको प्रचलन हुन्छ । यति धेरै विभेद घरभित्र भोग्नु परेन । बरु काठमाडौँमा अरू समुदायका साथीहरूसँग सङ्गत गरेपछि पो विभेदका थुप्रै विषयहरूबारे थाह पाएँ । जे होस् बोल्न जरुरी छ । समानता, सहभागिता र समावेशिताका लागि सबैले आवाज उठाउनु आवश्यक छ ।

गीता त्रिपाठी

हो, नुनुताजी । यहाँले आफ्नो अनुभवसहित समावेशिताका पक्षमा राम्रो सुझाव राख्नुभयो । वास्तवमा सिद्धान्त र व्यवहारबिचको अन्तराललाई समाप्त गर्न आवाज उठाउनु जरुरी छ भन्ने यहाँको विचारको निष्कर्ष रहेको छ, यहाँलाई धेरै धन्यवाद । यहाँ हामीसँग आज कवि÷कलाकार नरेन्द्रबहादुर श्रेष्ठ पनि सहभागी हुनुभएको छ । यहाँले जरा–शिल्पका माध्यमबाट नेपाली नौलो र अर्थपूर्ण कलाकारिता प्रस्तुत गर्दै आउनुभएको छ । यहाँका जराचित्रमाथि थुप्रै कविहरूबाट कविता रचना गरिएका छन्, तिनले विचार र चिन्तनका धरातललाई चौडा बनाउनका निम्ति पृष्ठभूमि पनि दिएका छन् । आज ८ मार्चका सन्दर्भमा यहाँ हाम्रोे निम्तोलाई स्विकारेर आउनुभएको छ, यस दिनको सन्दर्भ महिला समावेशिता र सचेतनतामाथिको आफ्ना अनुभव, अनुभूति र विचारहरू राखिदिनुहुन अनुरोध गर्छु ।

नरेन्द्रबहादुर श्रेष्ठ (कवि, कलाकार)

मेरो परिचय दिँदाखेरि म साहित्यिक पत्रकार सङ्घको पूर्व अध्यक्ष हुँ र म रूखको जरामा अर्थ खोज्छु । ‘जरामा अर्थ खोज्दै’ भन्ने कृतिमा मेरो जराकलामाथि ३५ जना कविहरूले कविता लेख्नुभएको छ । ‘मातृत्व’ शीर्षकमा उषा शेरचनले लेख्नुभएको छ ।

वास्तवमा आजको विषयमा बोल्न म त्यति तयारीको अवस्थामा रहेको छैन । आजको मेरो सहभागिता अकस्मात्जस्तो भए पनि यहाँ आएपछि साहित्यधर्मका आधारमा यहाँ मेरा जातिका व्यक्तित्वहरूले भेट्न पाएँ । यहाँ वक्ताहरूको कुरा सुन्दै जाँदा यो कार्यक्रम अस्मिता पत्रिकाले आयोजना गरेको थाह पाएपछि म ४० वर्ष अघिको अस्मिता र त्यसको महत्त्वपूर्ण दस्तावेजहरूलाई सम्झन पुगेँ । २०४७ सालमा जनआन्दोलन सफल भइसकेपछि कामना पत्रिकाले केही व्यक्तित्वलाई तस्वीरसहित प्रकाशन गरेर सम्मान व्यक्त गरेको थियो र त्यसबेला विभिन्न क्षेत्रका व्यक्तित्वहरू छनोटमा परेका थिए, त्यो पङ्क्तिमा अस्मिताको संस्थापक सदस्यहरू दुईजनामध्ये सुसन मास्केको तस्वीर छापिएको थियो, त्यो पत्रिका अझै पनि मसँग छ । अस्मिताले गरेको काम कस्तो थियो ? भन्ने प्रश्नको उत्तर यस चयनले पनि बताउँछ ।

अघिदेखि नै म यहाँहरूजस्तो सचेत महिलाहरूको अनुभव, अनुभूति र विचारहरू सुनेर आफ्नो आमालाई सम्झिरहेको छु । महिलाको कुरा गर्दाखेरि म निकै भावुक भइरहेको थिएँ । कुुरा के छ भने दुई तोलाको जिब्रो पड्काउन त जसले पनि जानेको छ, आफूलाई ठुलो देखाउन जसले पनि यो गर्ला । तर २३÷२४ वर्षको उमेर थियो आमाको । बुबा २००४ सालमा बित्नुभयो । त्यसको अढाई महिनापछि जन्मिएको म गर्भे टुहुरोलाई आमाले नै हुर्काउनुभएको हो, अनुकूल वातावरण दिएर हुर्काउनुभयो । आजको नरेन्द्रबहादुर श्रेष्ठ बनाउनुमा मसँग कुनै पुरुषको आशीर्वाद थिएन । मेरो जिन्दगी आमाको औँला समातेरै अघि बढेको हो । मेरी आमाले परिवार र समाज दुवैतर्फ योगदान दिनुभएको म सम्झन्छु । आमा कहिलेकाहीँ कविता पनि लेख्नुहुन्थ्यो । उहाँका कविता नै उहाँको आत्मकथाजस्तो लाग्ने । म आमाका केही पङ्क्ति यहाँ सुनाउन चाहन्छु :

 विवाह पुतलीको म गर्दथेँ, दिनहुँ रमिता म यसको हेर्दथेँ

भयो विवाह मेरो, म खुसी भएँ, ठाने म सौभाग्यवती बनेँ

आमाको थिएँ नेत्र तारा, अतिप्रिय आर्य पुत्रद्वारा

आफ्नै थिए परिवार सारा नीति नै थियो मेरो सारा

तर असमयमा सूर्य अस्त भो, संसार मेरो सब नष्ट भो

स्नेही नभई घर बिरानो भो,  परिवार सारा पराइ भो… ।

लेखनमा म आमाबाट प्रभावित छु । आमाले आफ्नो गर्वको  शिशुलाई पत्र लेखेको कल्पना गरेर मैले एउटा कविता रचेको थिएँ । कुरा गोमा हुँदाखेरिको हो, उहाँ नारी साहित्य सेवा केन्द्रको कोषाध्यक्ष  हुनुहुन्थ्यो । ‘आमाको पत्र गर्वको बच्चालाई’ शीर्षकको त्यो कविता मैले ८ मार्च अर्थात् महिला दिवसको दिनमा सुनाउँदाखेरि गीतकार छिन्नलता आएर मलाई अँगालो मार्नु’भो । उहाँले भन्नुभयो, “नरेन्द्रजी तपाईँलाई त मैले बाउ सम्झेको थिएँ तर तपाईं त आमा हुनुहुँदो रहेछ भन्ने आजदेखि थाह पाएँ ।” उहाँले भन्नुभएको कुरामा मेरो असहमति छैन किनकि म प्रकृति र मेरो बिचको साझेदारीमा काम गर्छु ।

आज हामी जुन महिला समावेशिता र सशक्तीकरणको कुरा गरिरहेका छौँ,  समावेशिता भन्ने कुरा जुन हामी भन्छौ,ं चालिसौँ वर्षदेखि यो नारामा सीमित छ तर व्यवहारमा छैन । आधा आकाश भनेर भाषण निकै गरिन्छ, अघि परशुरामजीको पनि मैले सुनेँ । मलाई त्यसको जवाफ दिन मन लागिरहेको थियो किनभने कुनै पनि संविधान विधान बनाउँदाखेरि हामी कुनै पनि नराम्रो पाउँदैनौँ तर व्यवहारमा हुनुपर्यो नि ! लेखेर मात्र हुने होइन नि ! व्यवहारमा त छैन । अघि तपाईंले भन्नुभयो महिला कुलपति उपकुलपतिका निम्ति योग्य ठहरिँदैनन्, योग्यताको कसी के हो ? पुरुषलाई स्थान हुन्छ तर महिलालाई किन हुँदैन ? प्रायः मञ्चहरूमा सातजना आठजना पुरुष बसिरहेको हुन्छ तर एक जना महिलालाई समेत स्थान दिइएको हुँदैन । कसैले टीका लगाइदिएर प्राप्त भएको पदमा बसेर महिलाको योग्यता र योगदानको अवमूल्यन गर्ने हक कसैलाई छैन । म महिला समावेशिताको व्यवहारिक स्वरूप हेर्न चाहन्छु ।

गीता त्रिपाठी

धन्यवाद नरेन्द्रबहादुर श्रेष्ठज्यू ! आकस्मिक निम्तोलाई ग्रहण गरी यस विमर्श कार्यक्रमको आवश्यकतालाई आत्मसात गरिदिनुभयो साथै आफूभित्र समाहित भएको मातृत्व र नारीत्वका मननीय सन्दर्भसहित व्यवहारिक समावेशिताका पक्षमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो ।

अब हामी यस विमर्श कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ । अब अस्मिता हाम्रोका अर्का सम्पादक कुमारी लामाजीले आफ्नो भनाइसहित धन्यवाद ज्ञापन गर्नुहुनेछ :

कुमारी लामा (सम्पादक, अस्मिता हाम्रो)

अब पहिले त सबैजनालाई धन्यवाद नै हो मैले भन्ने  । अपरान्ह चार सवा ४ बजे आउनु भएर साँझ ७ बजेसम्म हामीलाई साथ दिनुभयो, यो त एकदमै लामो समय हो । हामीले आजको विषयमा मात्रै कुरा गर्न पायौं किनभने यो विषय नै ठुलो छ । हामीले यस विषयमा धेरै दिनसम्म छलफल गर्न सक्छौँ । त्यसले गर्दा एक राउन्ड मात्रै बोल्न सक्दा पनि यहाँ धेरै कुराहरू आएका छन् । आजको विषयमा यहाँहरू सबैले आआफ्नो भनाइहरू दिनुभएको छ । समग्र विचार र सुझावहरू महत्त्वपूर्ण छन् । सोना खटिकजीले उठाउनुभएको कुरा अत्यन्त महत्त्वपूर्ण छ । सोनाजीले आफ्नो कुराबाट हामीलाई नै प्रश्न गर्नुभएको छ । “तपाईँहरूले कसरी तयार गर्दै हुनुहुन्छ त अब लेखनका लागि नयाँ पुस्ता ? तपाईँहरूले हस्तान्तरण गर्नका लागि आजबाटै सुरु गर्नुपर्यो ।” सोनाजीले उठाउनुभएको खास विषय थियो यो, एकदमै धन्यवाद त्यसको निमित्त । त्यसैगरी नुनताजीले “हामी न्युज रूमभित्र समावेशिताको प्रयास गरिरहेका छौं,” भन्नुभयो । हामी पनि यस पत्रिकामा त्यसका निम्ति एकदमै प्रयासरत छौँ । मधु राई म्याडम विराटनगरदेखि आउनुभएर पनि हाम्रो कार्यक्रममा सक्रिय सहभागिता दिनुभयो, समय दिनुभयो त्यसको लागि धन्यवाद । यहाँले जुन किसिमको काम त्यहाँ गरिरहनुभएको रहेछ, त्यो एकदमै अनुकरणीय छ । सोफियाजीले गीतको माध्यमबाट समाज परिवर्तनको लागि महिलाका मुद्दाहरू बारम्बार उठाइरहनुभएको छ, कन्ट्रोभर्सी पनि आइराखेको  छ,  उहाँलाई गाह्रो पनि भइराखेको छ तर पनि काम गर्न छोड्नुभएको छैन । इल्या भट्टराईज्यूले कथा र नियात्राका माध्यमबाट काम गरिरहनुभएको छ । डाक्टर साहबले उठाउनुभएको कुरा, समग्रमा यो अलिकति आफैंलाई गर्ने प्रश्न भन्नुभएको छ । कतिपय पुरुषहरू महिलाका विषयमा किन संवेदनशील छन् र कति चाहिँ किन संवेदनशील छैनन् भन्ने प्रश्न उहाँले राख्नुभएको फेरि पनि अर्को महत्त्वपूर्ण कुरा भयो । त्यसले गर्दा हामी सबैजनाले विषयहरूमा अझै गहन रूपमा मनन गर्दै हाम्रो तर्फबाट के के परिवर्तनहरू गर्न सक्छौँ, त्यतातिर नै अगाडि बढ्नुपर्छ । अब अन्तिममा लक्ष्मी रुम्बाजीको पनि केही आवाज सुनौँ न !

लक्ष्मी रुम्बा (सम्पादक, अस्मिता हाम्रो)

सबैजनालाई नमस्कार ! सबैजनाले राख्नुभएको कुरा एकदमै महत्‍वपूर्ण छ । जुन भोगाइका कुराहरू यहाँहरूले सुनाउनुभएको छ, ती आफैमा सङ्घर्ष र समावेशिताका लागि अग्रसर भइराखेको स्थिति हो र टेको बनिरहेको अवस्था पनि हो । सङ्घर्षशील र प्रेरणादायी कथा जस्तो भोगाइका कुराहरूलाई हामी अस्मिता हाम्रोमार्फत आम पाठकसम्म पुर्याउने छौँ, र धेरै जनाले  यहाँहरूको सङ्घर्षको कथा सुनेर प्रेरणा लिनुहुनेछ भन्ने हामी आशा राख्छौ । आगामी दिनमा अब  समावेशी ढङ्गबाट सबै वर्ग, लिङ्ग र समुदायलाई समेटेर अघि बढ्ने हाम्रो योजना पनि छ । महिला मुक्तिको कुरा गर्दा सर्वहारा वर्गको मुक्ति नभई महिलामुक्ति हुनु सम्भव छैन । महिला स्वतन्त्रतासहितको हाम्रो सहअस्तित्वतर्फको अग्रसरता चुनौतीपूर्ण भए पनि.यहाँहरू हामीसँगै हुनुहुनेछ भन्ने विश्वास राखेका छौँ ।

गीता त्रिपाठी

धन्यवाद यहाँहरू सबैलाई । ८ मार्चको सन्दर्भमा अस्मिता हाम्रोसँग सम्वादमा जुट्नुभयो । हामीले आरम्भ गरेको यस सम्वादले सचेतनता जगाउनुको साथै सहकार्यका निम्ति एकबद्ध रहन सहयोग पुर्याउनेछ भन्ने हाम्रो अपेक्षा छ । आगामी दिनमा विविधताभित्रको समावेशी सहभागिता हाम्रो पहिलो प्रयत्न रहने कुरामा प्रतिबद्ध हुँदै आजको यस अन्तरसंवादलाई हामी यहीँ समापन गर्दछौँ ।

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के