Asmita Magazine

#

दुर्गादेवी कार्की घिमिरेः महिला अधिकार वकालतको बिरासत

दक्षिण एसियाका बहुसङ्ख्यक युवतीहरूका निम्ति वैधव्य आजीवन दुःखको सागर हो । यसमा नेपाल पनि पर्छ, जहाँ मैले उल्लेख गर्न चाहेकी दुर्गादेवी कार्की घिमिरे विधवा भए तापनि उनले कानुनी लडाइँमा उल्लेखनीय सफलता हासिल गरेकी थिइन् ।  जे जति गरिन् ती सब उनले अघिल्लो शताब्दीको प्रारम्भमा आफ्नै बलबुतामा गरेकी थिइन् ।

विशेषतः युवावस्थामा नै वैधव्यको मार पर्नु अति नै कष्टप्रद हुन्छ । उच्च जातीय हिन्दु परिवारमा आफ्नो वागदत्तासँग सहवासपूर्व नै विधवा हुनु भनेको कठोर आजीवन कारावासको सजायँ भोग्नु सरह हो । पुनर्विवाह वर्जित भएका कारण उनीहरू वालबच्चाविहिन हुन्छन् र अरूको अनुग्रहप्रति निर्भर हुन पुग्छन् । हुन त यो प्रथा हाल आएर गैरकानुनी भइसक्यो तथापि विधवाहरू चाहे जवान हुन् या वृद्घा, छोराहरू नभएका सबैले नै अत्यधिक कष्टको सामना गर्छन् । ती महिला, जो न्यायिक विकल्प खोज्छन्, उनमा सीप र दृढ सङ्कल्प हुनु नै पर्छ । साथमा दीर्घकालीन सङ्घर्षका निम्ति सदैव तयार पनि रहनुपर्छ ।

दुर्गादेवी प्रवेश

उनी भोजपुर जिल्लाको पालीकोट गाउँमा सन् १९१८ मा जन्मेकी हुन् । प्रखर रूपमा न्यायका निम्ति लागिपरेकी उनी जुझारूपनाका साथ भिन्न कर्ममा होमिइन् । सहयोग प्राप्त गर्नेका निम्ति उनी ‘विजयी देवी’ थिइन् भने कतिपयले भने उनलाई ‘समस्या’ का रूपमा लिन्थे । हालै मण्डला बुक्स, नेपाल तथा अमेजनमा अनावरण गरिएको  ‘योगमाया र दुर्गा देवी’ नामक पुस्तकमा मैले उनको युवावस्था तथा उनले विजय हासिल गरेका अभियानहरूको वर्णन गरेकी छु । दुर्गादेवीको जीवनका केही विशेषताहरू सङ्क्षिप्तमा यहाँ समावेश गर्न सान्दर्भिक ठान्छु ।

जीवनकालभर अभियानमा रहेकी दुर्गादेवी कलिलै उमेरमा अन्यायसँग भएको साक्षात्कारबाट प्रेरित थिइन् । पतिको निधनपश्चात् हिन्दु धर्ममा चलिआएको प्रथाले वैधव्य लादेर उनको जीवनलाई नै सत्यनाश पारिदिएको थियो; त्यति मात्र नभई पतिको घरगृहस्थीमा समेत उनको साझेदारी नकारिएको थियो ।

विधवा महिलाको पुनर्विवाह माथिको प्रतिवन्धका विरोधमा उनले किन कटाक्ष गरिनन् ? त्यसबारे हामी अनविज्ञ छौँ । हुन त उनले एउटा बाटो निर्धारित गरिसकेकी थिइन्ः आफ्नो सम्पति हत्याउने सहमति कसैलाई पनि नदिने साथै सङ्खुवासभामा अवस्थित त्यस मारवा घरगृहस्थीको कागजातमा कहिल्यै पनि हस्ताक्षर नगर्ने उनको प्रतिज्ञा थियो ।

वास्तवमा उग्रतापूर्वक लागीपर्नु दुर्गादेवीको निम्ति निकै खतरापूर्ण थियो; उनकै जेठाजु तथा देवरहरूले कडा विरोध जनाएका थिए । तर दुर्गादेवीले  उनीहरूको विरोधलाई चुनौती दिंदै आफ्नो दावी अदालतसम्मै पुर्याउने अठोट गरिन् । उनले गरेरै देखाइन् । यसरी आफ्नो अधिकारका लागि लडेर सबैलाई चकित पारिन् । त्यस पश्चात् अपमानित जेठाजु/देवरहरूले त्यस समस्याको जड अर्थात् दुर्गालाई सदाको निम्ति पन्छाउने हेतुले अन्य पुरुषसँग विवाहबन्धनमा बाँधिदिने गुप्त षडयन्त्र रचे । त्यसको विरुद्ध पनि उनी लडिन् । पुनः सफलता प्राप्त गरिन् ।

आफ्नो स्वतन्त्र जीवन बाँचिरहेकी दुर्गादेवीले आफ्नो ध्यान वरपर दैनिकी घट्ने अपराधहरूतिर पनि केन्द्रित पारिन् । प्रहरीद्वारा बेवास्ता गरिएका ग्राहक ठग्ने व्यापारीहरूको विरुद्घ उजुरी हालिन्, सरसल्लाह अथवा अनुमतिपत्र माग्न आउने सोझासाझा किसानहरूको निवेदन हाँसोमा उडाउने आलसी सहरी कारिन्दाहरूका विरोधमा होहल्ला मचाइन् । मदिरा सेवन गरी पत्नी चुट्ने पुरुषहरू विरुद्घ बोलिन् । एक पक्षीय निर्णयले दोस्री स्वास्नी भित्र्याउने पुरुषहरूको ज्यादतीका विरोधमा आवाज बुलन्द गरिन् । एक श्रवणशक्ति विहिन बेसहारा किशोरी बलात्कृत भएको जानकारी पाए लगतै दुर्गा एक्लै उक्त किशोरीको उद्घार गर्न अघि सरिन् र खलपात्रको पहिचान नभईन्ज्याल त्यस क्षेत्रको छान मारिन् । तत्पश्चात् ती प्रताडित किशोरी लगायत शिशुको निमित्त आर्थिक सहयोगको पनि प्रबन्ध मिलाइदिइन् ।

दुर्गादेवीले विरोध जनाएका स्थितिहरूले जो कोहीलाई पनि उत्प्रेरित गर्नुपर्ने हो तर अन्यायलाई चुनौती दिंदै समाधान खोज्ने उनी एक मात्र महिला थिइन् । व्यक्तिगत हिसाबले जे जति सहेकी थिइन्, त्यसको लेखाजोखा मात्र गरिरहेकी भए यस महिलाको विजय असंभवप्रायः नै हुन्थ्यो । एउटी विधवाको हकमा उनको दायित्व केवल ससुराली घरको इच्छामा सहमति जनाउनु हुन्थ्यो, घरजग्गाको प्रबन्ध मिलाउनुपर्ने हुन्थ्यो र घरपरिवारले जे जस्तो टुक्रा मिल्काउँछ सहर्ष स्वीकार गर्नुपर्ने हुन्थ्यो । स्वयम्लाई यसैमा सीमित राखेकी भए उनी जनमाझ न त चिनिन्थिन्, न त सुनिन्थिन् नै ।

सय वर्षपूर्वको नेपाली समाज हामीले बिर्सनुहुन्न । तिनताका दुर्गादेवी तथा अन्य बालिकाहरूको विद्यालयमा पहुँच थिएन । यतिसम्म कि विश्वव्यापी शिक्षामा नेपालले आफ्नो परिचय बनाउँदा समेत (सन् १९७०, दुर्गा देवीको निधन को तीन वर्षपूर्व) प्राथमिक कक्षाहरूमा केवल केही बालिका मात्र भर्ना हुन्थे ।  १९९० सम्म पनि  प्रजातन्त्रको अस्तित्व थिएन । निरङ्कुश राजतन्त्रद्वारा शासित नेपालमा सामन्ती समाज विद्यमान थियो । स्वतन्त्ररूपले भेला हुन निषेध थियो भने राजनैतिक विरोधका स्वरहरूलाई दबाइन्थे । जिल्ला न्यायालयको अतिरिक्त नागरिकको आवश्यकता सम्बोधन गर्ने कुनै प्रतिनिधिमूलक संस्था थिएन । प्रहरीले घुसखोर कर्मचारी र जमिन्दारसँग हातमा हात मिलाएर काम गथ्र्याे । खासमा हिन्दु धार्मिक अधिकारको व्यापकता थियो ।

विश्वका अरू देशहरूमा जस्तै नेपालमा पनि दुव्र्यवहारमा परेका तथा शोषित महिलाहरू कुनै पनि समाधानको उपाय फेला पार्न नसकेर, प्रायसः पलायन हुने गर्छन् । कतिपयले धार्मिक आश्रय स्थलहरूमा शरण लिन्छन् । कतिपयले त जीवनबाट नै हात धुन पुग्छन् ।

यदि दुर्गादेवीले सारा विकट परिस्थितिहरूले पैदा गरेका बाधाहरूलाई पराजित गरी अघि बढेकी थिइन् भने उनी वेसक सामाजिक सम्मान र पहिचानको भागेदार हुन् । विश्वभरका अन्य वीर महिला (हिरोइन) जो बिर्साइ र ओझेलका बाबजुद अभियानकर्ता तथा नागरिक अधिकारकर्मीहरूको प्रयासबाट ढिलै भए पनि पहिचान प्राप्त गरेका छन्, उनले पनि पाउनेछिन् । जब उनको जीवनक्रम पूर्णरूपेण उद्घाटित हुन्छ, दुर्गादेवी पनि ती अभियन्ताहरू जस्तै भौतिक शास्त्री, मिलेमा मारिक (आइन्टाइनकी प्रथम पत्नी) तथा अमेरिकन गणितज्ञ डोरथी भौग्यान सरह अन्तर्राष्ट्रिय व्यक्ति विशेषको गणनामा आउनेछिन् । अन्तत्वगत्वा जब प्रकाशपुञ्ज (स्पटलाइट) दुर्गादेवीतिर फर्किन्छ, उनताका अर्थात् एक शताब्दीपूर्व पनि नेपालमा महिलाहरूले के कति  गर्न संभव भएको रहेछ भन्ने तथ्य प्रस्टिन्छ ।

हुन त आफ्नो जीवनको विकासक्रमका सङ्कटपूर्ण क्षणहरूमा दुर्गादेवी मात्र एक्ली अभियानकर्ता  भएको बुझिन्छ; तथापि उनले सर्वप्रथम उनका पिताबाट र पछि सासूबाट सहयोग प्राप्त गरेकी थिइन् ।

दुर्गादेवीका पिता शेरबहादुर कार्कीले आफ्नो एक्लो छोराको निधनपश्चात् छोरीलाई नै आफ्नो छद्म उत्तराधिकारी (स्युडो एयर) बनाउने मनसाय राखेका थिए । छोरीलाई जग्गाजमीन दिन त सकेनन् तर लेखपढ गर्न र सक्षम बनाएर आफ्नो कानुनी प्रक्रियाको पछि आफै लाग्न समर्थ तुल्याएर छोडे । कैयौँको विचारमा उनीहरू भोजपुर अदालत ओहोर दोहोर गर्दै एक पछि अर्को विजयको आनन्द लिंदै हिड्ने बाबुछोरीको एउटा विष्मयकारी टोली थियो ।

विवाह भएर गएकी दुर्गादेवीले रहँदाबस्दै केही समयको अन्तरालमा कसो कसो आफ्नी सासूको माया र विश्वास जितिन् । कानुनी दावीको निम्ति पछि लाग्न सहज होस् भन्ने उद्देश्यले दुर्गादेवीलाई यिनै सासूले घरगृहस्थीको जग्गाजमीन सम्बन्धी कागजातको जानकारी दिएकी थिइन् । जब दुर्गादेवीलाई पन्छाउन उनकै देवर र जेठाजुहरूले अर्कैसँग विवाह गरेर पठाइदिने योजना बुने, त्यस बखत पनि सासूकै पूर्व सूचनाले दुर्गादेवी उम्कन सफल भएकी थिइन् । यी महिलाद्वय एकअर्काका यस्ता सहयोगी प्रमाणित भए कि सासूले आफ्नो मृत्यु संस्कार समेत छोराहरूबाट नभई बुहारी दुर्गादेवीबाटै सम्पन्न गरियोस् भन्ने इच्छा राखेकी थिइन् । वर्षौंपश्चात् जब दुर्गादेवीको अन्तिम समय नजिकियो, त्यही नदी किनारमा उनले आफ्ना परिवारलाई बोलाइन् र आफ्नो सम्पत्ति भागवण्डाको लिखित इच्छापत्र पढेर सुनाइन् ।

केही मानिसहरूका मनमा उनका असाधारण कार्यहरूको स्पष्ट सम्झना छँदाछँदै पनि उनी केही दशकसम्म उसै विस्मृतिमा नै बिलाइन् । आफ्ना शव्दवाणी र कार्यले स्थापित मान्यताहरूलाई भत्काउँदै संस्थापन पक्षलाई समेत थर्काउन सक्ने यस्ता  खुङ्खार (यो नकारात्मक अर्थ दिने शब्द भएकोले यसको सट्टा के राख्न सकिएला) व्यक्तिविशेषहरूका निम्ति यो असाधारण अन्त होइन । आज, दुर्गादेवीको नामले न असहज मौनता न त आक्रोश नै उराल्छ ।

यस अद्भूत महिलाप्रति मेरो ध्यानाकर्षण हुनु पनि एक विशुद्घ अवसरको खेल थियो । त्यस विष्मयकारी दुरदराजको अरु्णा नदी किनारमा बास बस्ने वृद्घा विधवाहरूसँग मैले अनजानमै एउटा प्रश्न गरेकी थिएँः

“तपाईंहरू बस्नुभएको जग्गा कसको हो ?”

“दुर्गा देवीले हाम्रोनिम्ति किनिदिएकी हुन् । उनले फलफुलका विरुवाहरू पनि लगाइन् । मनकामनाको मन्दिर बनाइन् र यहाँको बाटो पनि उनैले खोलिन् ।”

(प्रकाशितः शनिवार, १२ भाद्र २०७८, नयाँ पत्रिका, झन् नयाँ)

Authors

  • वरिष्ठ मानवशास्त्री डा. बारबारा निम्री अजिज लेखन तथा पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँको योगमाया एण्ड दुर्गादेवी : रेवेल उमन अफ नेपाल (सन् २०२०) लगायतका पुस्तकहरू प्रकाशित छन् ।

    View all posts
  • नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर काम गरिरहनुभएका लेखक कुमारी लामा महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्नुहुन्छ । उहाँको उज्यालो अन्धकार (२०७१), दर्ज्यु संलाप (२०८१) निबन्ध संग्रह प्रकाशित छन् ।

    View all posts
  • शिक्षा र समाजसेवामा समर्पित सुकन्या वाइबा अमृत माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुनुहुन्छ । उहाँको म किट्टी बिरालो (२०७९) तथा अनुवाद पुस्तकहरू प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के