Asmita Magazine

#

नेपालको अर्थतन्त्रमा ‘आधा आकाश’

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार यच हासमीले केही दिनअघि नेपालको एक राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा भनेका थिए— नेपालको एक उत्कृष्ट पक्ष भनेको महिला सहभागिता हो, जुन दक्षिण एसियामै सबैभन्दा बढी छ ।

कसैले तर्क गरेर दक्षिण एसियाका मुलुकहरूमा पाकिस्तान, बङ्गालादेश र मालदिब्सको जनसङ्ख्यामा मुस्लिम समुदायको बाहुल्य भएको हुनाले यी देश भन्दा नेपाल त्यसै माथि हुने भयो भन्न सक्लान् किनभने, फ्रान्स या अस्ट्रेलिया जस्ता विकसित मुलुकमा बसोबास गर्ने मुस्लिम समुदायले समेत अझै पनि आफ्ना परम्परागत मान्यतालाई छाडेका छैनन् । ती समुदायमा महिला कामकाजी भन्दा घरकाजी बढी छन् । तर, दक्षिण एसियामा पर्ने अन्य मुलुक भारतमा हिन्दु बहुसङ्ख्यक छन् भने श्रीलङ्कामा बुद्ध धर्मावलम्बीहरू । यसकारण यी मुलुकसँगको तुलना गर्दा पनि नेपालको स्थान अघि हुनु हाम्रा लागि गर्वको विषय हो ।

सन् २०१८ तिर यो पङ्क्तिकार काठमाडाँै विश्वविद्यालयमा प्राध्यापन गर्दथ्यो । उसको र आगन्तुक प्राध्यापक सूर्यमान शाक्यको अगुवाइमा स्नातकोत्तर तहमा अध्ययन गर्ने ६ जना बिद्यार्थी सहित ८ जनाको टोली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतको हैदरावाद पुगेको थियो । समूहमा दुई छात्रा पनि थिए । सम्मेलनको रात्री भोज हैदराबाद सहरको एक पार्टी प्यालेसमा आयोजना गरिएको थियो । लगभग २०० को हाराहारीमा उपस्थित विभिन्न देशबाट आएका अतिथिलाई सेवा दिन ३५ जना जति कर्मचारीको टोली सक्रिय थियो । टोलीमा दुई जना मात्र युवती थिए, जो मङ्गोलियन मूलका जस्ता देखिन्थे । नेपाली टोलीले उनीहरूलाई नेपाली मूलकी चेली ठानेर सोधे—

“बहिनीहरू नेपालबाट हो ?”

उनीहरूले नेपाली बोलेनन्, अङ्ग्रेजीमा जवाफ फर्काए ।

“वी आर नट फ्रम नेपाल ।”

उनीहरू भारतको उत्तरपूर्वी राज्य मनिपुरका बासिन्दा रहेछन् । उनीहरू कामकै लागि हैदरावाद आएका । सेवा–प्रदायक टोलीका पुरुषहरू भने हैदरावादकै स्थानीय जस्ता देखिन्थे । आर्थिक विकासको द्रुत गतिमा हिँडिरहेको भारतमा महिला सहभागिताको यो नगण्य उपस्थिति देखेर नेपाली टोली आश्चर्यचकित भएको थियो । कुल जनसङ्ख्याको एक तिहाई मात्र मुस्लिम जनसङ्ख्या रहेको हैदराबादमा देखिएको एक प्रतिनिधि उदाहरणले पनि समग्र भारतको भन्दा नेपालको स्थिति राम्रो देखायो ।

नेपालमा अहिले च्याउ झैँ उम्रिएका होटेल, कफी सप र रेष्टुरेन्टहरूमा महिला सहभागिता उच्च रहेको त्यहाँ सेवा लिन जाने जो कोहीले पनि अनुभूति गरेको हुनुपर्छ । काठमाडौँमा ५ वटा शाखा रहेको र बुटवल लगायत नेपालका प्रमुख सहरहरूमा विस्तार गर्ने क्रममा रहेको ‘हाइल्यान्ड विन कफी’ का सञ्चालक अर्जुन क्षेत्रीका अनुसार उनका लगभग ५० जना कर्मचारी मध्ये ५० प्रतिशत भन्दा बढी महिला रहेका छन् । यस्तै कफीलाई आधार बनाएको चेन रेष्टुरेन्ट ‘हिमालयन जाभा कफीका नेपालमा ५० वटा भन्दा बढी शाखा रहेका छन् । त्यहाँ पनि लगभग ६०० को हाराहारीका कर्मचारीमध्ये आधा सङ्ख्या महिलाको नै रहेको पाइयो ।

कफी पसल वा रेष्टुरेन्ट र ठुला होटेलहरूको सञ्चालनमा केही तात्विक भिन्नता हुन्छ । उदाहरणको लागि होटेलहरू रात्रीकालीन समयमा पनि सन्चालन हुन्छन् । रेष्टुरेन्टहरू प्रायः दिउँसो मात्र सञ्चालन हुने भएकाले महिलालाई तुलनात्मक रूपमा काम गर्न सजिलो छ । यही भएर होला ‘सोल्टी’ लगायतका अन्य तारे होटलमा महिला कामदारको सङ्ख्या कफी सप र रेष्टुरेन्टका तुलनामा अलि कम पाइयो । तर पनि, ‘होटेलमा महिलाले काम गर्ने’ विषयलाई गर्व र गौरवको दृष्टिकोणले नहेर्ने इतिहास भएको हाम्रो समाजमा होटेल व्यवसायमा समेत महिलाको सहभागिता ३०–४० प्रतिशतको हाराहारीमा हुनु राम्रो सङ्केत हो ।

सन २०१९ मा विश्वविख्यात पत्रिका ‘दि इकोनोमिस्ट’ ले भियतनामका महिला कामदारको विषयमा ‘आधा आकाश भन्दा बढी’ शीर्षक राखेर एक आलेख छापेको थियो । लेखका अनुसार समग्र भियतनाममा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी महिलाको सङ्ख्या ७९ प्रतिशत रहेको थियो । समकक्षी पुरुषको त्यो आँकडा भने ८६ प्रतिशत थियो । भियतनामका ‘आधा आकाश’ समूहको यो तात्कालीन उपलब्धि ‘ओइसिडी’ भनेर समूह बनाएका विकसित मुलुकहरू मध्ये आइसल्याण्ड, स्विडेन र स्विटजरल्याण्डबाहेक अरू मुलुकको दाँजोमा उच्च थियो । भियतनामले हासिल गरेको अर्थतन्त्रमा महिला सहभागिताको यो उपलब्धि अहिले संसारमा द्रुत आर्थिक विकासको तहल्का मच्चाएको देश मित्रराष्ट्र चीनको भन्दा पनि १० प्रतिशत प्वाइन्टले बढी थियो । चीन, भियतनाम र नेपाल दुवैको छिमेकी हो ।

महिलालई समाजले हेर्ने दृष्टि, महिला नायकत्वको सिँढीको सिरानमा रहेको तगारो अर्थात् ‘सिसाको सिलिङ’ तथा घरधन्दा र बालबच्चाको स्याहार गर्ने परिपाटी रुढीवादी शैलीमै व्यापक भए तापनि यो फड्को मार्नुमा भियतनामलाई अन्य मुलुकसँगको लडाईँको दर्दनाक इतिहासले सिकाएको पाठ, कन्फ्युसियस र बुद्ध दर्शनको आन्तरिकीकरण र वर्तमानमा नेतृत्वको चामत्कारिक योगदानलाई प्रमुख मानिएको छ ।

दक्षिण एसिया लगायत विश्वका धेरै मुलुकका तुलनामा भियतनामको जस्तो नभए तापनि नेपालमा पनि अर्थतन्त्रमा महिला सहभागिता ह्वात्तै बढेको छ । प्रश्न उठ्छ, यो कसरी सम्भव भयो होला ?

माथि उल्लिखित भियतनामको जस्तो १५ देखि ६४ वर्ष उमेर समूहलाई नेपालमा पनि अर्थतन्त्रमा योगदान गर्ने सक्रिय समूह मान्न सकिन्छ । वि.सं. २०८० लाई आधारवर्ष मान्दा त्यो उमेर समूहको जनसङ्ख्या वि.सं. २०१७ सालदेखि २०६५ का बिचमा जन्मेको हुन्छ । यस बिषयलाई केन्द्रविन्दु बनाएर केही दिन अघि उठेको अर्को एक प्रसङ्ग यहाँ सान्दर्भिक हुन्छ ।

कोटेश्वर भाटभटेनी सुपरमार्केट नजिकको लक्ष्मीनारायण मन्दिरमा प्रातःकालीन योग–साधना सत्रमा सहभागीहरू बिच यस्तै विषयमा छलफल भयो । साधना सत्रमा १६–१७ जनाको उपस्थिति थियो । आधा भन्दा बढी महिला थिए । समूहका सहभागीले नेपालको पूर्वी जिल्ला पाँचथरदेखि पश्चिमको स्याङ्जा जिल्लामा जन्म भई अहिले काठमाडौँमा बसोबास गर्ने पृष्ठभूमि बोकेका थिए । सभामा एक प्रश्न सोधियो—

“तपाईंले कक्षा ३ कुन विद्यालयमा पढ्नु भयो र प्रवेशिका परीक्षा दिनु भएको भए कति सालमा दिनुभयो ?”

यो प्रश्नको उत्तर सबैले दिए । सहभागीले प्रवेशिका परीक्षा दिएको साल २०३४ देखि २०५५ सम्मको पाइयो । यसको अर्थ त्यहाँ वि.सं. २०१७ साल भन्दापछि जन्मेका व्यक्तिहरू थिए । छलफलको रोचक निचोड के निस्कियो भने सहभागी पुरुषहरू सबैले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । महिलाहरूमा एक जनाबाहेक अरूले विद्यालय जाने मौका पाएका थिए । केहीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए भने केहीले थिएनन् ।  विद्यालय नै जाने मौका नपाएकी ती महिलालाई सोधियो–

“तपाईँले किन विद्यालय जान पाउनु भएन ?”

“म परिवारकी जेठी छोरी थिएँ । हामी सन्तान धेरै थियौँ । जेठो छोरो अर्थात् मेरो दाइ र मैले पढ्न पाएनौँ । अरूले पढे ।”

“तपाईं मोबाइल चलाउन जान्नु हुन्छ ?”

उनले स्मार्ट फोन नै देखाइन् । र, आत्मविश्वासका साथ भनिन्—

“मोबाइल त चलाउँछु ।”

“तपाईंको फेसबुक खाता पनि छ ?”

“छ त ।”

पञ्चायती शासनको अनेक सीमितता बिच पनि २०१७ सालदेखि २०४६ साल सम्मको पुस्ताले जेनतेन विद्यालय भने जान पाएको देखिन्छ । मुलुकका विभिन्न स्थानमा विद्यालय खोल्ने कार्य राणाशासन कालमै सुरु भए तापनि पञ्चायती व्यवस्थामा त्यसले तिब्रता पायो । निजी विद्यालय थिएनन् । सबै सरकारी विद्यालयमा सरकारले निर्धारण गरेका पाठ्यपुस्तक पढिन्थे । पाठ्यक्रम निर्माण, विद्यालयको गतिविधि र शैक्षिक कार्यक्रमहरूको निरीक्षण हुन्थ्यो । अहिले राजनीतिक होस् या व्यवसायिक, नेतृत्व तहमा पुगेका अधिकांश व्यक्तिहरू त्यही कालखण्डका उपज हुन् । त्यस समयमा महिलाहरूले पनि शिक्षाको अवसर (पुरुषका तुलनामा कम रहेको भए पनि) पाएको हुँदा नेपाली महिलाको अवस्था अन्य केही मुलुकका तुलनामा अग्रगामी नै रहँदै आएको मान्न सकिन्छ । यहाँनेर कुन कुरा चाहिँ सत्य हो भने राज्यले शिक्षामा समान अवसर भने तापनि पिछडिन बाध्य पारिएका समुदायबाट महिलाका निम्ति शिक्षामा लगानी र सहभागिता निकै कम रहन गयो, अहिले आएर यो अवस्थामा माथिल्लो परिणाम आइसकेको छ, धेरै ठाउँमा शिक्षित महिलाको उल्लेख्य उपस्थिति रहनु र समाज परिवर्तनको गतिमा महŒवपूर्ण योगदान हुनु नेपाली महिलाको समुन्नत पक्ष रहेको छ ।

महिला साक्षरतासँगै सन्तानको शिक्षामा महिलाको सकारात्मक सोच बढेर गयो । शिक्षित आमाले छोरा र छोरीको भेद नगरी आफ्ना सन्तानलाई पढाउने जिम्मेवारी लिइदिँदा शिक्षामा महिलाको पहुँच बढ्न सहयोग पुर्यायो । महिला सशक्तीकरणको एउटा आयाम हुन यो पनि हुनगयो भन्दा दुई मत नहोला ।

अर्थतन्त्रको आकाशमा ‘आधा आकाश’ ले गर्विलो उपस्थिति जनाउनुको दोस्रो कारण, विश्वव्यापीकरण भएको भेदनकारी प्रविधि अर्थात् डिसरप्टिभ टेक्नोलोजीको प्रभाव हो । अहिले आफ्नो बाल्यकालमा विद्यालय जान नपाएका व्यक्तिले पनि स्मार्ट फोन चलाएको छ । भर्खरै सम्प्रेषण भएको खबर ऊ अनलाइनमा पढ्छ । सामाजिक सञ्जालको उपयोग गर्न सक्छ । जिपियस जडित इन ड्राइभर वा पठाओ जस्ता मोबाइल एपहरू चलाउन सक्छ ।

कोभिड महामारी सुरु हुनुपुर्व यो पङ्तिकार नेपालगञ्जको सीमावर्ती बजार रुपेडिया गएको थियो । रुपेडिया लगायत सीमावर्ती सहरमा किनमेलका लागि नेपाली सर्वसाधारणको भीड लाग्ने गर्छ । साडी बिक्री हुने अधिकांश पसलमा नेपाली चेलीहरू बिक्रेताका रूपमा भेटिए । उनीहरू सबै नेपालगञ्जमा बसोबास गर्दा रहेछन् । साइकल चढेर बिहान ९ बजे रुपेडिया पुग्दा रहेछन् र बेलुकी ५ बजेपछि फेरि साइकलबाटै फिर्ता हुँदा रहेछन् ।

साडी भन्दा अन्य सरसामान पाउने पसलहरूमा भने स्थानीय पुरुषहरूकै उपस्थिति ज्यादा देखियो । एउटा पसलमा संयोगवश भेटिएकी पसल सञ्चालककी धर्मपत्नीलाई यो पङ्तिकारले यसै विषयमा जानकारी लिने उद्देश्यले गरेको कुराकानी रोचक छ ।

“आपका दुकान मे कौन रहता है ?”

“मेरे पति और देवर ।”

“आप नहीँ रहती ?”

“नहीँ । मै तो कविकवार हि निकलती हुँ । मेरा तो अन्दरका ही काम होता है ।”

रुपेडिया भनेको उत्तर प्रदेशको एक सानो सहर हो तर त्यहाँ महिलाको व्यवसायिक सहभागिताको आँकलन गर्नका निम्ति यो माथिको संवाद नै किन उत्तर प्रदेश लगायतका भारतका सहरमा पनि व्यापार व्यवसाय गर्ने वा होटेलमा काम गर्ने महिलाहरूको सङ्ख्या न्यून वा नगण्य रूपमा रहेको छ भन्ने कुराको रहस्य खोतल्न प्रतिनिधि उत्तर थियो । तर, नेपाली नारीले “महिलाले बाहिर काम नगर्ने” भन्ने त्यो परम्परागत कुरीतिको घेरा तोडेका कैयौँ दृष्टान्त छन् । अझ पछिल्लो राजनीतिक परिवर्तनपछि त महिलाहरूका निम्ति पितृसत्ताले बनाएको श्रम र साहसका सीमाहरू भत्किएर गएका छन् । बाध्यता हुन् वा आवश्यकता, नेपाली महिलाहरू समान श्रम र साहसिक सहभागिताका निम्ति तत्पर हुँदै गएका छन् । नेपाली समाजमा महिलाका सफलतामा गर्व गर्ने पारिवारिक र सामाजिक दुवै मानसिकता निर्माण हुन थालेका छन् ।

महिला अघि बढ्नुको अर्को कारक तत्व बसाइँ सराइ पनि हो । अन्य मुलुकका तुलनामा नेपालमा बसाइँ सराइको प्रकृया व्यापक छ । बसाइँ सराइ गरेर तराईका अधिकांश सहर, काठमाडाँै र पोखराजस्ता ठाउँमा लाखौँको सङ्ख्यामा सर्वसाधारणहरूले बसोबास गरेका छन् । यसरी आएका व्यक्तिहरूको नेतृत्व लिने र जोखिम मोल्ने क्षमता स्थानीयको भन्दा बढी हुन्छ ।

 

महिला सहभागिताको अर्को एक उदाहरण कर्णाली प्रदेश अन्तर्गत रुकुमकोटमा पनि केही हप्ताअघि गरिएको एक भ्रमणमा पाइयो । त्यहाँको एक मात्र पेट्रोल पम्प सञ्चालक महिला र उनका पति रहेछन् । आफ्ना कलिला दुई सन्तानलाई पम्प छेउको टहरामा राखेर आएका सवारी साधनमा इन्धन भर्नु ती महिलाको दिन चर्या बनेको रहेछ । महिलाको उमेर  तीस–बत्तिसको हुँदो हो । श्रीमान् र उनी भएर त्यो पम्पको दैनिक सञ्चालन कार्यको जिम्मेवारी लिएका रहेछन् । २५ लाखको सेयर लगानी पनि रहेछ उनीहरूको त्यस व्यवसायमा । पम्प सञ्चालन गरेवापत दुवैले संयुक्त रूपमा ३० हजार बराबरको पारिश्रमिक लिँदा रहेछन्, तर महिलाले विरक्तिएकी स्वरमा आफ्नो वेदना एकै सासमा भनिन् :

“तीस हजार पाएर के गर्नु ? २५ हजार त यिनकै फि तिर्नु पर्छ ।”

“कहाँ पढ्छन र ?”

“बोर्डिङ् स्कुलमा ।”

“एक जनाको एघार सय त बस भाडा नै तिर्नु पर्छ ।”

यसरी राज्यको उपस्थिति शून्य भएको अर्थात् राज्यले रणनीति बनाउन नसकेको आभाष यस्ता दृष्टान्तहरूले दिन्छन् । अन्य मुलुकहरूको उदाहरण हेर्दा के देखिन्छ भने एउटा परिवारमा श्रीमान् र श्रीमती दुवैको मासिक आय आर्जनले उनीहरूका दैनिक जीवनका आवश्यकता पुरा गरी केही वचत समेत हुनु जरुरी छ । रुकुमकोटकी पेट्रोल पम्पकी सञ्चालक लगायतका सर्वसाधारण जनताका छोराछोरीलाई सरकारी विद्यालयमा निःशुल्क वा केही शुल्क लिएर राम्रो पठनपाठनको ग्यारेन्टी गर्ने हो भने उनको व्यवसायप्रतिको लगाव र जीविकोपार्जन स्थायी हुने थियो ।

अर्थतन्त्रमा महिला सहभागिताको अर्को ज्वलन्त उदाहरण नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा देख्न पाइन्छ । प्रस्थान कक्षमा र आगमन कक्ष दुवैमा राहदानी जाँच आदिको प्रकृया पुरा गर्न अधिकृतहरू बसेका हुन्छन् । केही दशक अघिसम्म त्यहाँ महिला अधिकृतको नाम निशाना हुँदैनथ्यो । तर, आजभोलि विदेश यात्रा गर्ने जो कोहीले पनि त्यहाँ उपस्थित उल्लेख्य महिला अधिकृतको सेवा लिन पाएका छन् । कतिपय महिला अधिकृतले त यात्रुलाई अभिवादन गर्ने गरेको पनि पाइएको छ । अध्यागमन विभागका सूचना अधिकृतका अनुसार अहिले १०० भन्दा बढी अधिकृतको दरबन्दी विभागमा रहेको छ । त्यसमध्ये १० प्रतिशतको हाराहारीमा महिला छन् । त्यसो त नेपाल सरकारको निजामति सेवामा अहिले १५ प्रतिशतको हाराहारीमा महिला छन् । यो सूचक कतिपय मन्त्रालय वा विभागमा औसत भन्दा अधिक छ । उदाहरणका लागि कृषि विभागमा महिलाको सङ्ख्या २० प्रतिशतको हाराहारीमा छ ।

अर्थतन्त्रमा महिलाको उल्लेख्य उपस्थिति गराउन मित्रराष्ट्र जापानको सरकारले लिएको रणनीति यहाँ सान्दर्भिक ठहर्छ । विगतका दशकमा जापानको जन्मदर स्वाट्टै घटेको छ । यसको कारण त्यहाँको जनसङ्ख्यामा जेष्ठ नागरिकको सङ्ख्या अधिक र श्रममा क्रियाशील जनसङ्ख्याको प्रतिशत न्यून भयो । यसको सिधा असर अर्थतन्त्रमा पर्यो । क्रियाशील जनसङ्ख्याको आयआर्जनको ठुलो अंश जेष्ठ नागरिकको रेखदेख र विमा आदिमा खर्च गर्नुपर्ने भयो ।

यो समस्याबाट चिन्तित जापान सरकारले विज्ञहरूलाई अनुसन्धान गर्न लगायो । समस्यालाई सम्बोधन गर्ने केही उपायहरू निस्किए । क्रियाशील उमेर भएका महिला गृहिणी भएर घरमै बस्ने जापानी परम्परालाई तोड्ने नीति ल्याउन सके केही राहत हुने पूर्वानुमान गरियो । यस्तै भयो । गर्भवतीले लामो विदा पाउने तर संलग्न जागिर या काम छोड्नु नपर्ने, नवजात शिशु र विद्यालय जाने उमेर नभएका बालबालिकालाई हेरदेख गर्न शिशु स्याहार केन्द्रको स्थापना गर्ने र कार्यस्थलमा महिलाप्रति हुने दुव्र्यवहारप्रति राज्य कठोर हुने नीति आदि ल्याइए ।

नेपालमा पनि आरक्षण लगायतका केही नीतिहरू नभएका होइनन् । तर, आरक्षणको नीति लगाइएको सरकारी क्षेत्रमा भन्दा आरक्षण नभएको व्यापार र व्यवसायका क्षेत्रमा महिला सहभागिता अत्यधिक बढी भएको चर्चा माथि भइसकेको छ । यसर्थ महिलाको शतप्रतिशत जनसङ्ख्यालाई मूलधारको अर्थतन्त्रमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा थप छलफल गरी राज्यको नीतिलाई अझ सशक्त बनाउन जरुरी देखिन्छ । यसले आरम्भमा पाकिस्तानका राजदूतले भनेको जस्तो नेपालका आधा आकाशले उचालेको आर्थिक धर्ती अझै माथि उचालिने पक्का छ ।

Author

  • विद्यावारिधि गर्नुभएका नवराज खतिवडा पेसाले इन्जिनियर हुनुहुन्छ अध्यापन र अनुसन्धान दुवैमा संलग्न उहाँले नेपाल सरकार र काठमाडौँ विश्वविद्यालय लगायतका निकायमा रहेर काम गर्नुभएको छ । हाल नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध उहाँका दुई कृति प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के