Asmita Magazine

#

इल्या भट्टराईका कथामा नारी उत्पीडन र सत्ता

विषयप्रवेश

इल्या भट्टराई (२०१२) नारी संवेदनालाई आख्यानात्मक स्वरूपमा सजीवता दिने कथाकार हुन् । उनका हालसम्म मन मनै त हो …(२०६०) अनि… (२०६२), निःशब्द प्रश्नहरू (२०६३), जीवनका रङ्गहरू २०६८) र त्यो एउटा बिहान (२०७४) गरी पाँच वटा कथा सङ्ग्रहहरू प्रकाशित छन् । नारीजीवन भोगाइका विशिष्ट परिस्थितिहरू, तज्जन्य आवेग, संवेग तथा उद्वेगहरू, नैराश्य र कुण्ठामात्र होइन; विद्रोह एवम् प्रतिरोध चेतका अनुभूतिहरूले पनि उनका कथाहरूमा संरचनात्मक स्वरूप धारण गरेका छन् । साथै, पुँजीवादको व्यक्तिवादिताले प्रश्रय पाएको वर्तमान समाजका पत्नी पीडित पुरुषका कथा व्यथाले पनि उनका कथाहरूमा स्थान पाएका छन् तथापि नेपाली समाजको मूल चरित्र भने महिला उत्पीडनकारी नै भएको यथार्थको उद्घाटनमा यिनका कथाहरू केन्द्रित छन् । नारी सङ्केन्द्रणमा सिर्जित ती कथाहरू नारीवादी चेतका कोणबाट पनि विश्लेष्य रहेका छन् । त्यसैले उनका कथाहरूमा अभिव्यक्त नारीउत्पीडन र सत्ताका परिप्रेक्ष्यमा उद्बुद्ध नारीवादी चेतको विश्लेषण र मूल्याङ्कनमा प्रस्तुत लेख केन्द्रित छ ।

अध्ययनको आधार

‘नारीउत्पीडन र सत्ता’ सम्बन्धी अवधारणा नारीवादी साहित्यिक समालोचनासँग सम्बद्ध छ । साहित्यिक समालोचनामा ‘नारीवाद’ नारी विषयक चिन्तनका कोणबाट साहित्यलाई पर्गेल्ने पद्धति विशेष हो । नारीवादी चिन्तनको परम्परामा सन् १९६० अघिको अवधि पहिलो लहरका रूपमा परिचित छ जुन पितृसत्ताको लैङ्गिक विभेदलाई प्रस्ट पार्नमा केन्द्रित देखिन्छ र उदार नारीवादमा आधारित छ । यस परिप्रेक्ष्यमा नारीवादी सामाजिक तथा राजनीतिक आन्दोलन अनि लेखनका सन्दर्भमा सिमोन दि बुभायरको द सेकेन्ड सेक्स (सन् १९४९) महत्त्वपूर्ण प्राप्ति बनेर रहेको छ । नारीवादी चिन्तनको दोस्रो लहरले भने सन् १९६० र ७० को दशकमा व्याप्ति पाउँदछ । यस दोस्रो लहरमा पितृसत्ताद्वारा नारीमाथि भए/गरेका दमन र उत्पीडनलाई गहनताका साथ हेरिनुका साथै नारीमुक्तिका स्वरले पनि महत्त्व प्राप्त गर्दछ । यस अवधिमा प्रकाशित उल्लेख्य कृतिहरू बेट्टी फ्रिडनको द फेमिनिन मिस्टिक (सन् १९६३) तथा केट मिलेटको द सेक्सुअल पोलिटिक्स (सन् १९७०) रहेका छन् । प्रस्तुत अवधिमा विशेषतः आमूल नारीवादको बोलवालासँगै माक्र्सवादी नारीवाद पनि स्थापित भएको छ ।

पितृसत्तात्मक लैङ्गिक विभेद तथा पुँजीवादका विरुद्ध एकीकृत सङ्घर्षको आवश्यकता बोध गर्दै सत्तरी र असीको दशकमा माक्र्सवादी नारीवादको विकसित रूप समाजवादी नारीवाद देखापर्दछ (मास्के, २०८०, पृ.१३) । बिस्लेका अनुसार आमूल नारीवाद र माक्र्सवादी नारीवादबिच आआफ्ना स्थापित मान्यताका आधारमा लैङ्गिक विभेद परिप्रेक्ष्यको सामाजिक असमानताबारेको तर्कवितर्कले समाजवादी नारीवाद जन्मने आधार तयार भएको हो (सन् १९९९, पृ.६२) । सन् १९८० पछि सुरु भएको नारीवादको तेस्रो लहर भने व्यापक सन्दर्भसँग सरोकार राख्दै बहुल आयाममा विस्तारित भएको छ । यस अवधिमा समाजवादी नारीवादले पनि अझ व्यापकता लिन्छ । मुख्यतः आमूल नारीवादको अतिवादिताको विरोध गर्दै र धार्मिक–सांस्कृतिक भिन्नता तथा विविधताका परिप्रेक्ष्यसँग जोडिँदै यो लहरमा नारीवादका विभिन्न उपधाराहरू देखा पर्दछन् । स्थानीय, आदिवासी, सीमान्तकृत, औपनिवेशिक संस्कृति आदिको सम्बोधन, पुस्तान्तर विभेद अनि नारी–नारीबिचको पार्थक्यलाई सम्बोधन जस्ता प्रयोगगत बहुलता पछ्याउँदै यस अवधिमा देखापरेका उत्तर आधुनिक नारीवाद, उत्तर संरचनावादी नारीवाद, मनोविश्लेषणात्मक नारीवादसँग प्रभावित रहँदै; काला नारीवाद, समलैङ्गिक नारीवाद, तेस्रो विश्व नारीवाद, उत्तर औपनिवेशिक नारीवाद, पृथकतावादी नारीवाद आदि उपविधाहरू फस्टाउँछन् । पछिल्लो समयमा इन्टरनेट प्रविधिसँग जोडिँदै र साइबर संस्कृतिसमेतका परिप्रेक्ष्यमा अझ विविधतासहित नारीवादले चौथो लहरमा प्रवेश गरिसकेको छ ।

यसप्रकार नारीवादी आन्दोलनले विभिन्न लहरमा बहुविध स्वरूपमा आफ्ना स्वरलाई सशक्त प्रवाह गरिरहेको  छ । सामन्तवादी पितृसत्ता र पुँजीवाद अन्तरर्घुलित भएको वर्तमान नेपाली समाजमा नारीउत्पीडन र सत्ताको स्थितिलाई नारीवादी चिन्तनका बहुआयामिक कोणबाट साहित्यमार्फत पनि अध्ययन गर्न सकिने अवस्था रहेको छ । यसै मान्यताका आधारमा प्रस्तुत लेखमा इल्या भट्टराईका कथाहरूमा केन्द्रित रहेर नारीलेखनमा नारीका कोणबाट प्रस्तुत नारीवादी चिन्तनको अध्ययन गरिएको छ ।

पुरुषसत्ता र नारीउत्पीडन

आजका नेपाली नारीले भोगेको उत्पीडनका कथाव्यथा इल्याका कथाहरूमा प्रमुख विषयसन्दर्भ बनेको छ । कथाहरूमा मूलतः देशभित्रको तथा देशबाहिरको नेपाली सहरी समाज एवम् आंशिक रूपमा ग्रामीण समाजका महिलाहरूको जनजीवन केलाइएको छ । सामन्तवादी पितृसत्ताको सतत प्रवाह रहेको र त्यसमा वर्तमान पुँजीवादी प्रभावसमेत मिसिएको परिप्रेक्ष्यमा नेपाली महिलाहरूले अझ दोहोरो–तेहरो उत्पीडन बेहोरिरहेको अवस्था कथाहरूमा प्रकट छ ।

इल्याको ‘वेथलेन्थ’ कथामा पत्नी/नारी व्यक्तित्वको अवमूल्यन गर्ने, उसलाई आफ्नो समकक्षमा राखेर हेर्र्नै नचाहने, उसका रायसल्लाह मूल्यहीन ठान्ने नारीद्वेषी पति/पुरुष प्रवृत्तिले सशक्त प्रस्तुति पाएको छ । यसै परिप्रेक्ष्यमा आफ्नो व्यक्तित्व नगण्य ठान्ने र आफूसँग वेथलेन्थ नमिलेको अभिव्यक्ति बारम्बार प्रकट गरिरहने पतिप्रदत्त मानसिक उत्पीडनको सहन पत्नी अर्थात् ‘म’ पात्रका लागि दुष्कर बनेको छ । घरबाहिर कार्यक्षेत्रमा ‘कर्मी’, घरभित्र ‘स्वास्नी’ र ‘आमाको’ भूमिकामा मात्र होइन; ‘भान्छे’ ‘नोकर्नी’, ‘माली’ त्यस्तै, छोराछोरीको गृहकार्यको ‘शिक्षक’, ‘नर्स’, लोग्नेसँग बाहिरिँदा ‘अप्सरा’ बन्नुपर्ने अवस्थामा मूल्याङ्कनहीन अगणित कामको शृङ्खलामा बाँडिदै र हेलिँदै संसार भ्याउने नारी/पत्नीले घरकाम केही नजान्ने असहाय पतिसँग वेभलेन्थ नमिलेको अनुभूति सँगालेकी छ (२०६०, पृ.४८) । यसरी नै पितृसत्तागत उत्पीडन राम्ररी ठम्याउने तर प्रतिरोधचेतलाई मुखर गर्न नसक्ने र सहनको संस्कृतिमै अभ्यस्त रहने आम नारी प्रतिनिधिका रूपमा ‘मन मनै त हो’ (२०६०) कथाकी नारीपात्र नीतिलाई पनि प्रस्तुत गरिएको छ ।

आजको पुँजीवादी समाजमा जीवन धान्न अर्थोपार्जनका लागि कामकाजी बन्नु महिलाको आवश्यकता र बाध्यता दुवै हो । त्यस परिप्रेक्ष्यमा महिला सन्तानको दायित्वसहितको घरायसी तथा बाहिरी जिम्मेवारीको दोहोरो तेहोरो श्रमको उत्पीडन झेलिरहेका हुन्छन् । यस परिप्रेक्ष्यलाई ‘मेरो एक दिन’ कथाले समेटेको छ । निजी कम्पनीमा नियमित कार्यबोझका साथै अतिरिक्त समयसमेत दिइरहनु पर्ने दबाब झेलेर र घर आएपछि पनि घरधन्दाको व्यस्तता सकेर मध्यरातमा ढल्कन खोज्दा पतिको बोलावटले बिछ्यौनामा पत्नीधर्म निर्वाह गर्न बाँकी नै रहेको हठात् स्मरणले कथाकी ‘म’ पात्रले यस्तो अनुभूति सँगालेकी छ, “ओहो, अब कतिबेर लाग्ने  हो ! अझै कति बेरपछि सुत्न पाउने हो कुन्नि !” (२०६८, पृ.६६) । यसरी जीवनका नैसर्गिक आवश्यकतालाई पनि घरको काम महिला एक्लैले सम्हाल्नुपर्ने अवस्थाको अति कार्यबोझमा झन्झट ठान्नुपर्ने नारीअवस्था प्रस्तुत कथामा अभिव्यक्त छ ।

पुरुषको बहुविवाहलाई प्रोत्साहित गर्ने परिवार/समाजको मनोवृत्ति पितृसत्तागत दोष भएको तथ्यले इल्याका कथाहरूमा प्रमुखताका साथ प्रस्तुति पाएका छन् । ‘विश्वासको प्रत्युत्तर’ कथामा दाम्पत्य जीवनमा पत्नी क्षयरोगले ग्रस्त भएर पतिको शारीरिक आवश्यकता पुरा गर्न असमर्थ हुँदा पत्नीलाई दिनुपर्ने मानसिक साथभन्दा परिवारको दबाब भन्दै दोस्रो विवाहका लागि उद्धत हुने पतिका कारण मानसिक उत्पीडन झेलिरहेकी पत्नी र कान्छी पत्नी भनी ‘घरकी सुसारे’ र ‘पतिकी भोग्या’का रूपमा भित्र्याइएकी ग्रामीण किशोरी दुवै नारीहरू वर्चस्वशाली पुरुषसत्तामा उत्पीडित रहेको देखाइएको छ (२०६०, पृ.८८) । त्यसै गरी, ‘कठै इन्दिरा’ (२०६०) कथामा पनि माइतमा सानिमा र घरमा सौता झेल्ने बाध्यतामा पिल्सिएकी नारीको कथाव्यथा प्रस्तुत छ । पुरुषप्रभुत्वको समाजमा सङ्घर्षरत रही उच्च शिक्षाको आर्जन गर्दै आफ्नो सुन्दर भविष्य बनाउने अभिलाषालाई पूर्णता दिन इन्दिरा निरन्तर सक्रिय रहेकी छ तर सामाजिक प्रपञ्चका कारण अन्ततः उसले मानसिक सन्तुलन गुमाउन पुगेकी छ ।

पुरुषको नारीचरित्रप्रतिको शङ्कालु प्रवृत्ति पनि पारिवारिक विघटनका कारणमध्ये एक प्रमुख कारण बनेको यथार्थ इल्याका कथाहरूमा प्रस्तुत छ । पत्नीको आफ्नोभन्दा बढी कार्यगत सक्षमताप्रतिको जलन र उसको अति सुन्दर रूपमा सहकर्मी पुरुषको आँखा लाग्ने आशङ्का बोकेको सङ्कीर्ण मनका कारण पत्नीप्रति घोर असहिष्णु बन्दै पतिले पारपाचुके दिएको कथ्यसन्दर्भ इल्याको ‘कुनै दिन त शिरीष ढकमक्क फुल्ला’ कथाको रहेको छ । त्यस परिप्रेक्ष्यमा बाबुआमाका कारण सन्तानले झेल्ने मानसिक उत्पीडन र आफू बाबु वा आमा कोसित रहने भन्नेमा ज्यादै अशान्त र उद्वेलित रहने मनोदशा कथामा किशोरावस्थाकी छोरीको यस उद्गारले प्रस्ट पारेको छ, “तर….मामुको कुरा पनि ठिकै हो । रक्सी खाएरै होसै हराउने बाबुकी छोरी यो समाजको क्रुर पञ्जाबाट कति दिन बच्ली र ! फेरि निर्दोष मामुलाई नचाहिँदा आरोप लाएर हाम्रो सुखी घरमा आगो लगाउने काम बुबाले नै गरेको त हो नि !” (२०६०, पृ.२४) । यसरी पितृसत्तामा पत्नी वा छोरी जुनै रूपमा पनि नारीले भोग्नुपर्ने विशिष्ट उत्पीडनलाई प्रस्तुत कथाले सम्बोधन गरेको छ ।

नारीलाइ ‘भोग्या’ ठान्ने पितृसत्तागत दोषको व्याप्तिलाई दसबर्से जनयुद्धको समयसन्दर्भमा संरचित कथाहरूमा पनि प्रस्तुत गरिएको छ । जनयुद्धकालीन समयमा विद्रोही वा राज्य कुनै पनि पक्षबाट किशोरावस्थाका महिलाले भोग्नुपरेको यौनहिंसाजन्य शारीरिक उत्पीडनको कहालीलाग्दो अवस्थाको चित्रण ‘विप्लवी’ कथामा गरिएको छ । क्रान्तिका नाममा युद्धमा जबरजस्ती सहभागी गराइएकी किशोरावस्थाकी नारीको चरम उत्पीडित अवस्था कथामा यसप्रकार अभिव्यक्त छ,

तर उसले गर्नुपर्ने क्रान्ति अलि बेग्लै खालको रहेछ ।… खाली पेट र खाली मनले मान्छेले युद्ध गर्न सक्दैन रे, त्यसैले आफ्ना योद्धाहरूको पेटको तृप्तिका लागि उसले उनीहरूको भान्सा बस्नुप¥यो । त्यसै गरी उनीहरूको शरीरको तृप्तिका लागि पनि उसले उनीहरूको ओछ्यान ओछ्यानमा पस्नुप¥यो ।    (२०६२, पृ.८८)

यसरी युद्धमा होमिएका वा जबरजस्ती लगिएका मात्र होइनन्; परिवारमै रहेका महिलाले भोग्नुपरेको यौनउत्पीडन र दुष्परिणाम ‘निःशब्द प्रश्नहरू’ कथामा प्रस्तुत छ । सद्यः विवाहित प्रहरी जवान जनयुद्धमा मारिएपछि उसकी पत्नीले परिवार र समाजबाट भोग्नुपरेको कहर कथाको विषयसन्दर्भ बनेको छ । सासू महिनावारीको समयमा गोठमा सुत्न गएको अवसर छोपेर ससुराद्वारा बलात्कृत भएपछि बुहारीको जबर्जस्ती गर्भपतन गराइनु र समाजमा त्यो कुरा खुलेपछि बुहारीको परपुरुषसँगको कुकृत्य भनी उसैलाई फसाइनु जस्ता सन्दर्भहरू पुरुषसत्ताको समाजमा पटक पटक भइरहने महिलाउत्पीडनका प्रतिनिधि घटना हुन् । जेलमा सजाय भोगिरहेकी ‘म’पात्रभित्रको विद्रोहचेत कथामा यसप्रकार प्रस्तुत छ, “दिदी, ज–जसले अपराध गरे, मेरो जीवनलाई दुःखको खाडलमा जाकिदिए, ती सबै के हुन् ? अनि गर्दै नगरेको सजाय भोग्नका लागि म कसरी अपराधी भएँ ? दिदी, तपाईँ नै भन्नुस् न साँच्चिकै अपराधी को हो ?” (२०६३, पृ.८९) । यसरी पुरुषप्रधान समाजमा नारीउत्पीडनको दर्दनाक अवस्थाले कथामा सशक्त प्रस्तुति पाएको छ ।

पितृसत्तामा पुँजीवाद सङ्क्रमित भएर रहेको वर्तमान सहरी समाजको महिलालाई भोग्याका रूपमा व्यवहृत गर्ने प्रवृत्ति अझ सघन रूपमा विस्तार हुन थालेको अवस्थाले पनि इल्याका कथाहरूमा अभिव्यक्ति पाएका  छन् । यसै परिप्रेक्ष्यको स्वार्थसिद्धिमा पुरुषद्वारा प्रयोग कुटिलता पनि उनका कथाहरूमा यत्रतत्र अभिव्यक्त   छन् । उनको ‘माया भनेको के हो ?’ कथामा श्रीमतीको आमा सामान्य बिरामी भएको अवस्थालाई जटिल बताउँदै उसलाई गाउँमा आमासमक्ष पठाएर परस्त्री गमनको प्रपञ्च रच्ने पतिको दुष्प्रवृत्ति प्रकट छ । अगाडि पत्नीलाई असाध्यै माया दर्साउने तर भित्रभित्रै अरू नारीलाई मायाका नाममा भोग्या बनाउने पुरुषको द्वैध चरित्र कथामा प्रस्तुत छ (२०६२, पृ.५५) । यसप्रकार खुला पुँजीवादी समाजमा पद, पैसा र प्रतिष्ठाको उचाइसँगै भोगविलासतर्फको बढ्दो आकर्षणमा महिलालाई भोग्य वस्तुका रूपमा व्यवहृत गर्ने पुरुषप्रवृत्ति इल्याको ‘जीवन एउटा सम्झौता रहेछ’ कथामा पनि प्रस्तुत छ । प्रस्तुत कथाकी ‘म’ पात्र मातृत्वलाई विजयी बनाउन पराजित पत्नीत्वमा सम्झौता गर्न पुगेकी छ । यो सन्दर्भ कथामा यसप्रकार अभिव्यक्त छ :  “तिमी त्यो आईमाईलाई छोड्न सक्दैनौ भने नछोड तर बिन्ती छ तिमी मलाई र मेरो सन्तानलाई नछोड । हामीलाई आफ्नो जीवनबाट अलग्ग नपार” (२०७४, पृ.९२) । यसप्रकार पितृसत्ताको प्रभुत्व कायम समाजमा अर्थपहुँचमा समेत पुरुषकै एकाधिकार हुने भएकाले पनि नारीले सम्झौतामा जीवन अड्याउँदै सहनको संस्कृतिमा अभ्यस्त रहने परम्परालाई नारीले निरन्तरता दिएको देखिन्छ ।

पुँजीवादी जीवनशैलीको अवलम्बनमा अर्थव्यवस्थाको पिरलो र त्यस मेसोमा परदेसिनुको बाध्यता पुरुषको मात्र नभई महिलाको पनि बन्दै गएको वर्तमानको जल्दोबल्दो सन्दर्भ पनि इल्याका कथामा समेटिएको छ । त्यसै परिप्रेक्ष्यमा नारीको विवाहोत्तर सम्बन्धलाई सूक्ष्म ढङ्गबाट केलाउने काम उनको ‘चक्रव्यूहमा अल्झिएको जीवन’ कथामा भएको छ । परदेशमा एकातर्फ निरन्तर कामको हुट्हुटी र एक्लोपनको अत्यासमा जीवन झेल्दै गर्दा आफ्नै जस्तो पीडा भोगिरहेको प्रवासी अब्दुलसँग ‘म’ पात्रको सान्न्ध्यिता कायम हुन्छ । त्यसपछि अब्दुलबाट शारीरिक तुष्टिसमेतलाई पूरा गर्दै ऊ आफ्नो मानसिक सन्तुलन कायम राख्न पनि धेरै हदसम्म सफल भएकी छ तथापि त्यस सन्दर्भमा लैङ्गिक भिन्नताको नेपाली सामाजिक संरचनाको स्मरण उसका लागि कहालीलाग्दो छ । ‘म’ पात्रले ढिलोचाँडो सामना गर्नुपर्ने त्यस यथार्थ परिस्थितिलाई उसले चक्रव्यूहमा फसेको अभिमन्युको स्थितिको तुल्यतामा हेरेकी छ (२०६२,पृ.७) । अतः जहाँ रहे पनि पितृसत्तासँग जोडिएर नारीले भोग्ने मानसिक उत्पीडनलाई प्रस्तुत कथाले सशक्त अभिव्यक्ति दिएको छ ।

त्यस्तै ‘नियो’ कथामा उच्च शिक्षाका लागि परदेसिएकी नारी नियोले त्यहाँको बसाइमा पनि आफ्नो बाल्यजीवनको तिक्त अनुभव स्मरण गर्न पुगेकी छ । पितृसत्तात्मक सामाजिक संरचनामा बाबुआमाबाटै भएको लैङ्गिक विभेदमा साँचेका अनुभूति उसलाई स्वदेश फर्कन मनमा उत्साह नउमार्ने कारण बनेको छ । साथै, विपरीत लिङ्गप्रतिको उमेरजन्य लगावका कारण पनि त्यहाँको खुला समाजमा ऊ हैरीप्रति आकर्षित छ; विवाहेतर सम्बन्धमा छ तथापि पुरुषप्रभुत्वको सामना उसले त्यहाँ पनि गरेकी छ । आफ्नो ‘स्वत्व’, ‘निजीपन’ र सन्तुष्टिलाई प्राथमिकता दिँदै विकास गरिएको यौनसाथी हैरीसँगको सम्बन्धमा उसले आफ्नो रूप, सौन्दर्य र शैलीप्रति पटक पटक हेपाइका दंश खेप्नुपरेको अनुभूति सँगालेकी छ (२०६८, पृ.७९) । यसप्रकार पितृसत्तात्मकता वा पुँजीवादिताको प्रबलता रहेको जुनै समाजमा पनि नारीले मानसिक उत्पीडन झेलिरहेकै हुने अवस्थालाई उनका कथाले प्रस्तुत गरेको छ ।

नारीजीवन भोगाइका पृथक् पृथक् परिस्थितिमा नारी ‘स्व’सँग जोडिएका संवेदनाका वैविध्य स्वरूपले पनि इल्याका कथाहरूमा सहज प्रस्तुति पाएका छन् । ‘नसिमा अकस्मात पराई भइन्’ कथामा धर्म र संस्कृतिका आडमा गरिने विभेदका सन्दर्भमा नारीमनोदशालाई केलाइएको छ । बा¥हजना नेपालीको इराकमा विभत्स हत्या भएको समयसन्दर्भ बनाइएको प्रस्तुत कथामा सांस्कृतिक अन्तरघुलनमा भिजेका नारीहरूले जातीय विभेदका नाममा कुनै पनि बेलामा बेहोर्नुपर्ने विषम परिस्थितिजन्य मानसिक उत्पीडनका संवेगप्रतिको लेखकीय सूक्ष्म चेत कथामा यसप्रकार प्रस्तुत छ, “सडकमा उभिरहेकी नसिमालाई डर, त्रास, लाज, रिस आदिको संवेगले एक्कासि छोप्यो । आफ्नो टोलमा सबै आफ्नाहरूमा माझ उभिरहेकी उसलाई परिस्थितिले अचानक पराइ बनाइदियो ।…अनि आफ्नो सुरक्षाको लागि ऊ घरभित्र पसी र मूल ढोका बलियोसँग लगाई” (२०६३, पृ.१२) । यसरी जीवनको त्यो कालखण्डसम्म ऐक्यभावमा बसेको समुदायमा नितान्त एक्लो हुनुको अनुभूतिसँगै नारी भएकैले यौनसिकार हुनबाट समेत जोगिनुपर्ने पिरलो पनि त्यहाँ समाहित छ ।

इल्याको ‘एउटा अनुभव’ कथामा सपत्नी पार्टीमा उपस्थित रहेको पतिले एकाएक पूर्व प्रेमिकालाई सामना गर्न पुग्दा उसको विचलित मनोदशालाई नियालिरहेकी पत्नीले सँगालेका अनुभूतिको अभिव्यक्ति रहेको छ । पतिको अझै पनि पूर्व प्रेमिकाप्रतिको आशक्ति देख्दा पतिप्रतिको आफ्नो प्रेम, सेवा र पत्नीधर्मप्रतिको निष्ठामाथि    उसले चोटको अनुभूति साँचेकी छ (२०६३, पृ.८३) पतिप्रति आक्रोशको भाव निःसृत भए पनि त्यत्तिखेर पतिको पूर्व प्रेमिकाप्रति भने ईष्र्या, रिस वा क्रोधरहित हुनसक्नु उसमा निहित नारीवादी चेतको परिपक्वताको स्थिति हो । उनको ‘संवेदना’ कथाले नारी संवेदनाका आयाम देश, काल र परिस्थितिका सापेक्षमा बेग्लाबेग्लै स्तरमा र फरक फरक स्वरूपमा हुने कुरालाई उठान गरेको छ । अझ ग्रामीण नेपाली समाजमा कडा शारीरिक श्रममा महिलाहरूको पाठेघर खस्ने समस्या तथापि बेइज्जती सामना गर्नुपर्ने डरले रोग लुकाउने अवस्था, श्रीमान्ले सौता हुल्ने डरले श्रीमान्लाई यौनसन्तुष्टि दिँदा झेल्ने शारीरिक उत्पीडन आदिका परिप्रेक्ष्यमा महिलाले बेहोर्ने दोहोरो–तेहोरो उत्पीडनका कहरसँग गाँसिएको संवेदनाको स्तरलाई यस कथामा पुरुषसत्ताका परिप्रेक्ष्यमा सूक्ष्म चित्रण गरिएको छ (२०६२, पृ.४८) । त्यसै गरी जुनसुकै संस्कृतिमा संरक्षित पितृसत्ताका सन्दर्भमा नारीले भोग्ने यौनउत्पीडनलाई ‘डोल्मा’ (२०६३) कथाले समेटेको छ भने उनको ‘म के गरूँ (२०७४) कथामा परस्त्री गमन गर्ने पुरुषचरित्रका कारण सिर्जित पारिवारिक तनावलाई कथ्यकेन्द्रमा राखिएको छ । त्यसै गरी उनको ‘एउटा माया यो, एउटा माया त्यो’ (२०६८) कथामा विवाहोत्तर सम्बन्धका लागि पत्नी तथा सन्तान छोडी हिँड्ने पुरुषका कारण नारीले भोग्नुपरेका पीडा–वेदनालाई अभिव्यक्ति दिइएको छ । एकल आमा बनेर आर्थिक कठिनाइमा सन्तान हुर्काउनुको कहर, समाजले पतिद्वारा परित्यक्त नारीलाई हेर्ने हेयपूर्ण दृष्टिकोण, कामकाजी अवस्थामा नाबालक सन्तान बिरामी हुँदा पनि समय दिन नसक्नुको नारीपीडालाई प्रस्तुत कथामा मार्मिक अभिव्यक्ति दिइएको छ ।

उनका कथाहरूमा मूलतः सामन्तवादी पितृसत्ताको महिलालाई भोग्य वस्तुका रूपमा व्यवहार गरिने र खुलेआम बहुपत्नी राख्ने परम्परा पुँजीवाद मिश्रित अद्र्धसामन्तवादी नेपाली सामाजिक संरचनामा आइपुग्दा त्यही रूपमा नभएर फरक आयाममा र अझ गहन रूपमा विस्तार भएको यथार्थ प्रकट छ ।

नारीविद्रोह र उन्मुक्तिको स्वर

इल्याका कथाहरूमा नारीउत्पीडनका कहर र दुःखेसोका मार्मिक प्रस्तुति मात्र नभई पितृसत्तागत नारीद्वेषी पुरुषआचरणप्रतिको नारीविद्रोह र उन्मुक्तिका स्वरले पनि सशक्त अभिव्यक्ति पाएका छन् । उनले कथाहरूमा पुरुषप्रधान समाजद्वारा उत्पीडित नारीस्वरलाई प्रस्तुति दिएकी छन् र पुरुषको निरङ्कुश तथा पाशविक प्रवृत्तिको घोर विरोधसँगै नारीअस्मिताको रक्षामा पनि जोड दिएकी छन् (श्रेष्ठ ,२०७०, पृ.३५६) । यसप्रकार नारीको स्वत्व खोजीका विविध प्रसङ्गमा निःसृत संवेगहरू इल्याका कथाहरूमा विषयसन्दर्भ बनेका छन् जसमा उनको नारीवादी स्वर पनि मिसिएको छ ।

इल्याको ‘कुनै दिन त शिरीष ढकमक्कै फुल्ला’ कथा (२०६०) मा सहरी समाजको सम्पन्न परिवारमै पनि क्षमतावान् नारीले प्रबुद्ध व्यक्तित्व निर्माणका क्रममा पढाइलाई निरन्तरता दिन र कार्यक्षेत्रमा उत्रनका लागि परिवारभित्रै निरन्तर सङ्घर्ष गर्नुपरेको यथार्थलाई प्रस्तुत गरिएको छ । सुन्दर पत्नीमा अरू कसैको आँखा लाग्छ कि भनी अत्यधिक सशङ्कित पतिद्वारा जब पत्नीलाई सहकर्मी पुरुषसँग सल्केको मिथ्या आरोपमा छोडपत्रमा हस्ताक्षर गराउन खोजिन्छ तब नारीचरित्रप्रतिको यस चोटिलो प्रहारमा पत्नीले विद्रोहस्वरूप हस्ताक्षर गर्दै पतिलाई त्यागेकी छ । साथै, पितृसत्तावादी परिवार र समाजमा उसलाई छोरोभन्दा छोरी हुर्काउने पिरलो बढी भएकाले छोरी आफ्नै साथमा राख्न पाउने कानुनी उपचारमा उसले गरेको सङ्घर्षमा प्रकट उसको जुझारुपनको प्रस्तुति कथाको सबल पाटो बनेको छ ।

पुँजीवादमा गरिएको नारीको वस्तुकरण अनि नारी स्मार्टनेसको भाष्यसँगै जीवित पितृसत्तागत दोष महिलालाई अधीनस्थ राख्ने सन्दर्भमा बारम्बार प्रकट हुन्छ । यस यथार्थलाई इल्याको ‘अनुवाद’ कथामा राम्ररी सम्बोधन गरिएको छ । पत्नीलाई खुला सहरी समाजको कथित ‘स्मार्ट’ स्वरूपमा देख्न चाहने पतिका आकाङ्क्षाहरू जस्तै, आधुनिक पहिरनमा सजिनुपर्ने, पौडीमा पोख्त, कुशल घोडसवार र गाडी चालक बन्नुपर्ने सुन्दा सुरुमा त कथाकी ‘ऊ’ पात्र रोमाञ्चित भएकी छ । पत्नी रूपप्रतिको नभई पूर्व प्रेमीकाप्रतिको आशक्ति बोकेका पतिका एकपछि अर्को प्रस्तावको अन्तर्य ठम्याएपछि भने जुर्मुराएको ऊभित्रको नारीअस्मिता कथामा यसरी प्रस्तुत छ, “यो विचारको झड्काले उसको आत्मालाई  हल्लाउँछ । ओहो ! उसको लोग्ने उसलाई हैन उसको साटिएको व्यक्तित्वद्वारा उसकी प्रेमिकालाई नै माया गर्ने बाटोको खोजी गर्दै रहेछ । उसलाई माध्यम बनाएर आफ्नो सन्तुष्टि खोज्दै रहेछ” (२०६०, पृ.३०) । यसरी कथामा पुरुषको हातबाट सञ्चालित कठपुतली बनेर, कसैको व्यक्तित्त्वमा अनूदित भएर आफ्नो अस्मितालाई ओझेलमा नपार्ने उसको द¥हो निर्णयको प्रस्तुतिमा पुरुष हैकमप्रतिको प्रतिरोधचेत सशक्त रूपमा प्रकट भएको छ ।

इल्याको “आज पनि हामी राम बेहोर्दैछौँ” कथामा त्रेतायुगदेखि वर्तमानसम्म नै पितृसत्ताको नारीउत्पीडनले सतत प्रवाह पाइरहेको हुँदा त्यसप्रति नारीविद्रोहको आवश्यकतालाई औँल्याइएको छ । सीताका माध्यमले आजका नारीले उसले झैँ सहनको संस्कृतिलाई सर्वोपरितामा राख्न नहुने र त्यसलाई भत्काउनु पर्ने नारीवादी स्वर प्रवाह गरिएको छ । त्यस्तै, उनको ‘आज म उन्मुक्त छु’ कथामा राजधानी परिवेशको सम्भ्रान्त महिलाले आफूभित्रको स्वतन्त्र नारीत्वको परितृप्तिका लागि एकदिन नै भए पनि पितृसत्तागत बन्धनबाट उन्मुक्त रहेर समय व्यतीत गरेको सन्दर्भको घतलाग्दो प्रस्तुति छ । सहरको नाम चलेको रेस्टुरेन्टमा अनजान पुरुष बसेको टेबुल सेयर गर्न कथाकी ‘म’ पात्र पुगेकी छ । नारी अवमूल्यनमा अभ्यस्त पुरुषका लागि ‘म’ पात्रका ती गतिविधि उत्सुकतापूर्ण र विस्मयको विषय बनेको छ । यसप्रकार ‘म’ पात्रले ‘नारीस्व’को खोजी र तुष्टिको परीक्षणमा दिन समर्पण गर्नु, पतिको इच्छा विरुद्ध सुगा रङ्को ठुलो टीकामा सजिनु जस्ता गतिविधिहरूद्वारा उसले पितृसत्ताप्रतिको प्रतिरोधचेत कार्यान्वयन तहमै उतार्न सकेको कुरा कथामा अभिव्यक्त छ । नारीको मेकअप र पहिरनमा ‘नारीचरित्र’ मापन गर्ने नारीद्वेषी पुरुष मानसिकताबाट ग्रसित त्यस पुरुषले सुरुमा त त्यो नारी आफूलाई फसाउन आएकी ‘नगरवधु’ हुनसक्ने सोच्न पुगेको छ तर कुरा गर्दै गएपछि त्यस नारीको निर्धक्कपन, स्पष्टवादिता, विद्यमान लैङ्गिक सत्ताप्रतिको आलोचनात्मक चेतबाट प्रभावित पनि भएको छ र यसरी अभिव्यक्त भएको छ, “स्वतन्त्रताको आजको सम्पूर्ण सिङ्गो दिनको सफलताको लागि शुभकामना छ तपार्इँलाई” (२०७४, पृ.१०४) । यसरी पुरुषसत्तालाई अस्वीकार गर्दै प्रतिरोधचेतले डोरिएर कदम उठाएकी नारीप्रति पुरुषको सद्भाव देखिनुले नारीपुरुषको सहअस्तित्वको भाव सञ्चारमा प्रस्तुत कथा लक्ष्यित देखिन्छ ।

पुँजीवादी जीवनशैलीप्रतिको चर्को आकर्षणसँगै अमेरिका गमन गर्ने सपनालाई इल्याका कथाहरूमा सजीव चित्रण गरिएको पाइन्छ । यसै परिप्रेक्ष्यमा संरचित ‘विडम्बना’ कथा (२०६२) ले पुस्तान्तर विभेदका परिप्रेक्ष्यमा नारीवादी चेतलाई प्रस्तुत गरेको छ । प्रस्तुत कथामा अमेरिका पुग्नु र छोराछोरीलाई उच्च कोटिको शिक्षा दिलाउन पाउनुलाई गर्वको विषय बनाएकी सुमित्राले बढ्दो उमेरका सन्तान अझ छोरी अमेरिकी रहनसहनमा अभ्यस्त भएको भने पचाउन सकेको देखिँदैन । त्यहाँनेर आमाका पुरातन सोचविचार भने छोरीका लागि अग्राह्य बनेको छ र पुस्तान्तर द्वन्द्व चर्किदै गएको छ । यसरी छोरीको आधुनिक ‘गर्ली कल्चर’तर्फको स्वाभाविक झुकावसँगै पछिल्लो पुस्तामा विकसित नारीवादी चेत पनि कथामा प्रस्तुत छ जसमा नारीवादको तेस्रो लहरमा देखिएको पुस्तान्तर विभेदको परिप्रेक्ष्य मूर्त बनेको छ ।

अमेरिकाली नेपाली समाज व्यक्तिवादी र अर्थपरस्त बन्दै गएको परिप्रेक्ष्य इल्याको ‘उनी एक्ली हुने छैनन्’ कथामा पनि प्रस्तुत छ । यस कथामार्फत् आफ्नो नाता, सम्बन्ध र तिनप्रतिको दायित्वप्रति आँखा चिम्लने तर अर्थलोलुपतामा पैतृक हक छोड्न भने नचाहने व्यक्तिस्वार्थमा लिप्त सन्तानप्रवृत्तिलाई उद्घाटन गरिएको छ । त्यसै परिप्रेक्ष्यमा निःसृत विद्रोहचेतका साथमा नारीवादी स्वाभिमान कथामा यसरी प्रकट भएको छ, “हो अब उनी यस घरबाट विस्थापित हुनेछिन् तर उनी यो घर छाडेर त्यहाँको कुनै वृद्धाश्रममा बस्न जाने छैनन् । बरु यो घर बेचेर सबै पैसा लिएर उनी आफ्नै ठाउँमा फर्किने छिन्” (२०६८, पृ.१२१) । यसरी पतिको मृत्युपछि छोराबाट आडभरोसा केही नपाएकी र एक्लिएकी सुचित्राले आफ्नो ‘स्वत्व’ र ‘निर्णयअधिकार’लाई सर्वोपरितामा राख्दै नेपाल फर्कने र आफैँले सम्पत्ति परिचालन गर्ने निर्णय गरेकी छ । यहाँनेर बाबुद्वारा निर्मित घर बेचाएर रकम हात पार्ने छोराको प्रवृत्तिप्रति आमाले गरेको यो विद्रोह सम्पत्तिमा पुरुष एकाधिकारलाई संरक्षण गर्ने पितृसत्तागत प्रवृत्तिसँगको पनि विरोध हो ।

‘नारी भोग्या हुन्’ भन्ने पितृसत्तात्मक मान्यताविरुद्धको नारीविद्रोहका चेत इल्याका कथामा मुखरित छन् । ‘नियति’ कथामा आफ्नो पहिलो पतितर्फका किशोरावस्थाकी छोरीमाथि दोस्रो पतिको वासनात्मक कुदृष्टि अनुभूत गर्दै आएकी ‘म’ पात्रले जब खुलेरै ‘तेरी छोरी मलाई दे’ भन्ने हाकाहाकी पतिआदेश बेहोर्दछे तब विद्रोहजन्य अनुभूति साँच्दै ऊ निर्णायक मोडमा पुगेकी छ (२०६०, पृ.७५) । यसरी आफूले वैवाहिक सम्बन्ध, घरसम्पत्ति सबै त्यागेर पनि पितृसत्ताको नारीलाई यौनदासी बनाउने सांस्कृतिक विदू्रपताबाट छोरीलाई जोगाउँदै उसले छोरीको सुरक्षित भविष्य खोजी गर्ने सङ्कल्प बोकेकी छ । त्यस्तै, नारीलाई वासनापूर्तिको साधन मात्र बनाइने/बनाइएको पुरुषप्रवृत्तिलाई ठम्याएपछि उनको ‘तिमी’ कथाकी ‘म’ पात्रको पनि पुरुषसँगको त्यस सम्बन्धप्रतिको मोहभङ्ग भएको देखाइएको छ । अन्ततः ‘म’ पात्रमा उदाएको नारीवादी विद्रोहचेत कथामा यसरी मुखरित भएको छ, “जे होस् तिमीसँग दुई कदम हिँडेका त्यो पाइलाको चिनोलाई पनि नामेट पार्दै आज म तिमीसँग छुट्टिएको घोषणा गर्दछु । बिहे हुनुभन्दा पहिले नै तिम्रो र मेरो सम्बन्धको पारपाचुके गरेको घोषणा गर्दछु” (२०६८, पृ.८७) । यसरी आत्मिक प्रेमविनाको वासनात्मक सम्बन्धको नाजुकता ठम्याएर त्यसमा अल्मलिएर बस्न नहुने ठम्याइका साथमा आफूलाई ‘निरीह’ रूपमा होइन ‘निर्णयकर्ता’को रूपमा ‘म’पात्र नारीपहिचानसहित प्रस्तुत भएकी छ ।

इल्याको ‘जीवनको अर्थ खोज्दै’ कथामा पतिका द्वैध चरित्रलाई बुझेपछि ‘म’ पात्र पनि नारीस्वसँग जोडिएको सन्तुष्टि ‘चित्रकारिता’प्रतिको आफ्नो समर्पणमा पहिल्याउँदै कथामा यसरी अभिव्यक्त भएकी छ, “अब अरूको इच्छामा निर्देशित हुने छैन म । अरूले चाहेको भरमा खुसी हुने अनि उसले चाहेकै भरमा आफू दुःखी हुन अब मलाई मञ्जुर छैन” (२०७४, पृ.३५) । यसप्रकार ‘म’ पात्रले अनपेक्षित रूपमा आफ्नो जीवनसँग जबरजस्ती जोडिएका दुवै पुरुष पति र प्रेमीबाट छुट्कारा प्राप्त गर्दै आफ्नै मनको स्वतन्त्र आवाजमा आफ्नो जीवनको खुसी ठम्याएकी छ । त्यस्तै, उनको ‘एक चोइटो माया’कथामा सम्बन्धविच्छेद भएलगत्तै पुरुषले अर्को विवाह गरिसकेको अवस्थामा पूर्व पति–पत्नी दुवै पछुताउँदै समाजबाट लुकीछिपी पारस्परिक सम्बन्ध कायम राखेको र त्यस असहज स्थितिबाट प्राप्त मानसिक उत्पीडनबाट उन्मुक्ति लिन नारीले पनि नयाँ घरजमको निर्णय गरेको देखाइएको छ (२०६२, पृ.२५) । त्यस परिप्रेक्ष्यमा नारीले पितृसत्ताको समाजमा खुलेर दोस्रो विवाह गर्न आफूलाई तयार गरेको र अर्को पुरुषको सुसाथ पाएको जस्ता कथामा अभिव्यक्त परिदृश्य समाजमा नारीअधिकारको चेतले प्रश्रय पाउन थालेको दृष्टान्तको प्रस्तुति हो ।

लैङ्गिक समभावमा बाँचिरहेको दाम्पत्य जीवनको कुनै पनि बेला दुःखद मोड प्राप्त गर्न सक्छ र त्यसो हुनुमा एउटा प्रमुख कारण सुषुप्त अवस्थामा रहेको पितृसत्ता प्रदत्त पुरुष हुनुको अहङ्कारको जागृति पनि हो । समाजको यो तीतो यथार्थ इल्याको ‘जीवन कसरी मोडियो’कथामा अभिव्यक्त छ । कथामा सुन्दर घरगृहस्थीमा रमाइरहेको दाम्पत्य जीवन अचानक पतिको परस्त्री गमनका कारण घरबार छोडेको पतिले पारपाचुकेको निर्णय सुनाउन पत्नी भेट्दा उसलाई नाजुक अवस्थामा देखेपछि विगत जीवनलाई पुनरावलोकन गर्दै आत्मालोचना गर्न  थाल्दछ । यसरी जीवनका हर सुखदुःखमा पूर्ण साथ र सहयोग दिने पत्नीप्रति ऊ संवेदित भएको छ (२०६८, पृ.२८) र नारीपुरुषको सहअस्तित्व बोधमा संचेतनाको जागृतिले ऊ जीवनलाई सही दिशामा मोड्न प्रवृत्त भएको छ । पुरुषले यसरी नै बाटो बिराएर पनि पहिलेकै दाम्पत्य जीवनमा पुनः प्रवेश पाउने सन्दर्भको महिलाउदारतालाई भने इल्याको ‘छोडेर आएको समय कथा’ (२०६८) ले समेटेको छ । पतिद्वारा परित्यक्ताका रूपमा आफूलाई पाउँदा कत्ति पनि आत्मबल घट्न नदिई, सन्तानको जिम्मेवारीसहितको गृहस्थी सम्हाल्दै पनि आफ्नो खुबी निखार्दै अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा मधुलिकाले आफूलाई स्थापित गर्न सफल भएकी छ । यसरी पहिले श्रीमान्को व्यक्तित्वले थिचिएर आफ्नो व्यक्तित्व ओझेलमा परेको स्थितिबाट उन्मुक्ति लिँदै ऊ निरन्तर अघि बढेकी छ । कथामा प्रस्तुत त्यस परिघटनासँगै विवाहोत्तर सम्बन्धमा चुर्लुम्म डुबेर बिदेसिएको पुरुषले त्यस सम्बन्धमा ठक्कर पाउनु, हृदयघात बेहोर्नु जस्ता परिस्थितिबाट पश्चातापी बन्दैरहेको अवस्थामा पूर्वपत्नीको आफूप्रतिको क्षमाशीलता बुझेपछि आत्मलोचना गरेको छ; नारीपुरुषको सहअस्तित्व बोधलाई राम्ररी ठम्याउन सकेको छ र घरफर्कने परिकल्पनाले तरङ्गित भएको छ ।

लैङ्गिक समतालाई मुख्य कथ्य सन्दर्भ बनाइएको इल्याको अर्को कथा ‘दुई दिनको जीवन मायामा बितोस्’ पनि हो । आफ्नो चाहना खुसी र सन्तुष्टिसहितको ‘नारी स्वत्व’ निर्माणमा प्रस्तुत कथाकी ‘दिदी’ पात्रको भूमिका उल्लेख्य रहेको छ । पितृसत्ताको समाजमा बहिनीको अभिभावकत्व लिएकी दिदीले उच्च शिक्षाका लागि बाहिरिनु पर्दा बहिनीको विवाह आफ्नै प्रेमीसँग गरिदिनु, त्यस परिस्थतिका कारण दिदी बहिनी र राजेश तीन जनाले नै झेल्नु परेको मनोद्वन्द्वलाई ‘दिदी’ पात्रको नारीवादी चेतका आलोकमा सशक्त प्रस्तुति दिइएको छ ।  अन्ततः विदेशबाट बहिनी र ज्वाइँसँग सल्लाहका लागि नै आएकी दिदीले जब आफूले घरजम गर्ने निर्णय सुनाउँछे तब तीनै जनाको मनको द्विविधा मेटिएर सम्बन्ध सङ्लिएको अवस्था कथामा प्रस्तुत छ । यसरी नारीस्वतन्त्रता र बराबरी लैङ्गिक हैसियतसहितको समाजको निर्माणमा नारीपुरुष दुवैको समान सहभागिताको सन्दर्भले पनि कथामा अभिव्यक्ति पाएको छ । कथामा प्रस्तुत यस तहको चेतना नारीवादी तेस्रो लहरमा उद्बुद्ध चेतनासँग सम्बद्ध छ । यसप्रकार नारीनिर्णयमा सकारात्मक बन्ने, हरतरहको साथ र सहयोग गर्ने, समयानुकूल आफूलाई ढाल्न सक्ने पुरुषपात्र राजेशको चरित्र निर्माण कथामा निक्कै अर्थपूर्ण रहेको छ ।

इल्या पुरुषसत्ताको लैङ्गिक विभेदजन्य उत्पीडनका नारीवेदनाका साथै विभेद विरुद्धको प्रतिरोधचेतलाई सशक्त  अभिव्यक्ति दिने कथाकार हुन् । उनका प्रायः कथाहरूमा नारी अस्तित्वप्रतिको सचेतता, उत्पीडनबाट मुक्ति र नारीसत्ताको स्थापनामा नारीपात्रहरू पुरुषद्वेषी भएर होइन लैङ्गिक समभाव र लैङ्गिक ऐक्यको खोजीमा प्रवृत्त रहेको देख्न सकिन्छ ।

निष्कर्ष

कथाकार इल्या भट्टराई नारीअनुभूति र संवेदनालाई कथ्यकेन्द्र बनाउने कथाकार हुन् । सतत प्रवाहित सामन्तवादी पितृसत्तामा पुँजीवादसमेतको सम्मिश्रणले वर्तमान जटिल समाजमा महिलाउत्पीडन सघन रूपमा र अझ बहुविध आयाममा प्रस्तुत भइरहेको तथ्यलाई उनका कथाहरूले प्रकट गरेका छन् । उनका कथाहरूमा मूलतः देशभित्र तथा बाहिरको समसामयिक नेपाली सहरी समाज र अंशतः ग्रामीण समाज कार्यपीठिकाका रूपमा रहेको छ । पुरुषप्रधान नेपाली सामाजिक संरचनामा मूलतः प्रेम, विवाह अनि पुरुषको विवाहोत्तर सम्बन्धका कारण वैवाहिक सम्बन्धविच्छेद आदिसँग सम्बद्ध रहँदै उनका कथामा नारीले भोग्ने उत्पीडनका बहुविध सन्दर्भहरू व्यक्त भएको पाइन्छ । उनका कथाहरूमा नारीचरित्रप्रति शङ्कालु दृष्टिकोण राख्ने, नारीलाई भोग्याका रूपमा यौनशोषण गर्ने, आर्थिक अधिकार एवम् सबै खाले निर्णयाधिकारबाट वञ्चित गर्ने, नारीअस्तित्वको अवमूल्यन गर्ने जस्ता पुरुष दुष्प्रवृत्तिको तीव्र विरोध गरिएको छ र पुरुषविरोधी नभई नारीपुरुषको सम्बन्धमा सहअस्तित्वको खोजी गरिएको छ । यसप्रकार कथाहरूमा नारीअस्मिताको, नारी स्वतन्त्रताको, नारीको निर्णयअधिकारको रक्षाका परिप्रेक्ष्यमा उदारवादी एवम् तेस्रो लहरमा विकसित नारीवादी स्वरलाई सशक्त प्रवाह गर्दै पुरुष प्रधानतामा निःसृत नारीउत्पीडन विरुद्धको प्रतिरोधचेत र नारीसत्ता स्थापनाको सचेततालाई कार्यान्वयन रूप दिन सक्ने नारी पात्राधार सिर्जना गर्नु उनको कथागत वैशिष्ट्य हो । उनी मूलतः नारीवादी कथाकार हुन् ।

सन्दर्भसूची

भट्टराई, इल्या (२०६०), मन मनै त हो…, काठमाडौँ :  दीपक भट्टराई ।

भट्टराई, इल्या (२०६२), अनि…, काठमाडौँ :  दीपक भट्टराई ।

भट्टराई, इल्या (२०६३), निः शब्द प्रश्नहरू, ललितपुर :  साझा प्रकाशन ।

भट्टराई, इल्या (२०६८), जीवनका रंगहरू, काठमाडौँ :  ‘गुञ्जन’ साहित्यिक संस्था ।

भट्टराई, इल्या (२०७४), त्यो एउटा बिहान, ललितपुर :  साझा प्रकाशन ।

मास्के, महेश (२०८०), ‘पारिजात र नारीवाद’, अस्मिता,  १/१, पृ. ९–१६ ।

श्रेष्ठ, दयाराम (२०७०) नेपाली कथा र कथाकार, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।

Besly Chris (1999), What is Feminism ?, London thousand oaks – New Delhi : SAGE Publication.

Author

  • ‘सामाजिक यथार्थवादी नेपाली उपन्यासमा अनुभूतिको संरचना’ शीर्षकमा विद्यावारिधि अनुसन्धान पूरा गरेकी विदुला घिमिरे पेशाले प्राध्यापन गर्छिन् । समाजका विभिन्न विषयहरूमाथि चिन्तन गर्दै साहित्य समालोचनाका माध्यमबाट नारी चेतनाको विस्तार गर्नमा उनको उल्लेखनीय योगदान रहेको छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के